निर्णय नं. १११४६ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०८०।०२।०९
मुद्दाः- कर्तव्य ज्यान
०७७-CR-०९३८
पुनरावेदक / प्रतिवादी : रामबहादुर थापाको छोरा, साबिक जिल्ला प्युठान, धर्मावती गा.वि.स. वडा नं.२ घर भई जिल्ला दाङ, राप्ती गाउँपालिका, वडा नं.१ बस्ने हाल कारागार कार्यालय ओखलढुङ्गामा थुनामा रहेको संजितकुमार थापा
विरूद्ध
प्रत्यर्थी / वादी : रामबहादुर कार्कीको जाहेरीले नेपाल सरकार
०७५-CR-११७५
पुनरावेदक / वादी : जिल्ला ओखलढुङ्गा, मोलुङ गाउँपालिका, वडा नं.३ बस्ने रामबहादुर कार्कीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला प्युठान, ओखलढुङ्गा धर्मावती गा.वि.स. वडा नं.२ घर भई हाल दाङ जिल्ला, राप्ती गाउँपालिका, वडा नं.१ बस्ने रामबहादुर थापाको छोरा हाल कारागार कार्यालय ओखलढुङ्गामा थुनामा रहेको संजितकुमार थापा
निर्दयतापूर्वक कसैले कसैलाई हारगुहार र भाग्न उम्कनसमेत नपाउने गरी पूर्णरूपमा आफ्नो नियन्त्रणमा लिई जोखिमी हतियारले हानी, घोची, रोपी, करेन्ट लगाई, तेजाव खन्याई, आगो लगाई, विष खुवाई, मृतकलाई मानसिक पीडा पुग्ने काल्पनिक झुठा कुरा सुनाइ वा अरू कुनै तरिकाबाट मृतकलाई शारीरिक वा मानसिक रूपमा पीडा पुर्याई कुनै व्यक्तिलाई मार्नुअघि वा पछि शरीरका विभिन्न अङ्ग वा भागहरू छुट्याई टुक्रा पारी पासविक ढङ्गले उल्लिखित कुनै वा सबै कार्य गरी निर्ममतापूर्वक ज्यान मारेमा “क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको” भनी मान्नुपर्ने ।
कसुरदारले कसैको हत्या गरिसकेपछि गरिने हिंस्रक प्रकृतिको कसुरजन्य कार्यले पनि त्यस्तो कसुर क्रूर अमानवीय हो वा होइन भन्ने कुरा निर्धारण हुने । कसैको मृत्यु क्रूर यातनाबाट वा निर्ममतापूर्वक भएको हो, होइन भनी छुट्याउन मृतकको शरीरमा लागेको घाउचोटको संख्याको आधारमा मात्र नभई कसुर गर्ने व्यक्तिले हिंसात्मक रूपमा र क्रूरतापूर्वक ज्यान मार्ने मनसाय राखी सोअनुसारको क्रियाकलाप गरेको छ वा छैन भन्ने कुरा हेर्नुपर्ने ।
(प्रकरण नं.५)
कुनै कसुरदारले चरम क्रूरता वा निर्ममतापूर्वक हत्या गर्ने योजना बनाएको थियो वा थिएन भन्ने कुरा कसुरको परिणाम र कसुरदारको उत्तेजक अवस्थालाई सुषुप्त रहेको वा प्रकट भएको अवस्थामा थियो भन्ने कुरालाई ध्यान दिई निर्क्यौल
गर्नुपर्ने ।
मृतकको शरीरमा लागेको घाउचोटको संख्याको आधारमा मात्र क्रूर हत्या हो भनी भन्न सकिने अवस्था नहुने । सामान्यतयाः मृतकको नजिकका नाता सम्बन्धका आमा वा श्रीमतीलगायतको आँखाअगाडि छुराजस्तो धारिलो हतियार प्रहार गरेर वा अन्य कुनै तरिकाबाट एकै चोटमा प्रहार गरी हत्या गरिएको छ भने पनि त्यस्तो हत्यालाई क्रूरता वा निर्ममतापूर्वक गरिएको हत्या भनी मान्न सकिने । यथार्थमा कसुरदारको क्रूरता वा निर्ममतापूर्वक कसुर गर्ने मनसायको उपल्लो हद देखिने गरी गरिएको हत्यालाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१(क) को अवस्था र सजाय हुने परिस्थितिको रूपमा हेरिनुपर्ने ।
(प्रकरण नं.६)
क्रूरतापूर्ण ढङ्गले हत्या गर्ने उद्देश्य राखी समाजले कुनै पनि रूपमा स्वीकार गर्न नसक्ने गरी मानिसलाई भाग्न उम्कन नदिई घरमा आगो लगाई जिउँदै जलाउने, नियन्त्रणमा लिई अमानवीय तरिकाले यातना दिई हत्या गर्ने, शरीरका अङ्गहरू काटी, छिनाली, पीडा दिई हत्या गर्ने, मनसायपूर्वक एकभन्दा बढी व्यक्तिहरूको विभत्स हत्या गर्ने वा निर्दोष बालक, महिला, वृद्ध वा कुनै त्यस्तै अवस्थामा रहेको व्यक्तिलाई निर्ममतापूर्वक गरिएको हत्या जस्ता कार्यलाई क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको भनी
मान्नुपर्ने ।
(प्रकरण नं.७)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री श्यामप्रसाद दाहाल
प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री लोकेन्द्रबहादुर ओली
अवलम्बित नजिर :
ने.का.प.२०७३ अङ्क ८ नि.नं ९६५५
सम्बद्ध कानून :
मुलुकी अपराध संहिता, २०७४
फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४
सुरू तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री दलबहादुर के.सी.
ओखलढुङ्गा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री सत्यमोहन जोशी थारू
माननीय न्यायाधीश श्री किरणकुमार पोखरेल
उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गा
फैसला
न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः-
तथ्य खण्ड
जिल्ला ओखलढुङ्गा मोलुङ गाउँपालिका वडा नम्बर ३ स्थित पूर्वमा हर्कपुर जाने गोरेटो बाटो, पश्चिममा जयबहादुर कार्कीको मूल घर, उत्तरमा रामपुर आवतजावत गर्ने बाटो, दक्षिणमा जयबहादुर कार्कीको बारी यति चार किल्लाभित्र ढुङगा माटोको गारो ढुङ्गाको छानो उत्तर मोहोडा भएको बुईंगले मतान रहेको सो मतान घरको भुइँ तलामा दुईवटा कोठा रहेका सोमध्ये पश्चिमतर्फको कोठाको बाहिर बरन्डाको भुइँमा तथा गारोमा रगतका छिटाहरू देखिएका, सो कोठाको उत्तरतर्फको खुल्ला ढोकाबाट भित्र प्रवेश गरी हेर्दा मृतकको टाउको उत्तर पश्चिम, खुट्टा पूर्व दक्षिण, दाहिने घोप्टो अनुहार पूर्वतर्फ फर्किएको, दाहिने हात सिधा भुइँमा, बायाँ हात कुहिनाबाट खुम्ची टाउकोतर्फ रहेको, भेस्टको पछाडि १० ठाउँमा काटी छियाछिया भएको अवस्थामा सन्तोष कार्कीको लास रहेको, मृतकको अनुहारमा २ वटा, गर्धनमा १ वटा, छातीमा ३ वटा, हातमा ५ वटा, ढाडमा १० वटा, खुट्टामा १ वटा गरी २२ वटा, साना ठुला काटिएका चोटहरू रहेका भन्नेसमेत बेहोराको मिति २०७५।०५।०६ गतेको घटनास्थल लास जाँच मुचुल्का ।
जिल्ला ओखलढुङ्गा मोलुङ गाउँपालिका वडा नं.३ स्थित पूर्वमा भोर्लो घारी, पश्चिममा जयबहादुर कार्कीको घर, उत्तरमा चोक्टीबारी र दक्षिणमा चौर ढुङ्गा रहेको यति चार किल्लाभित्र घटनास्थलदेखि पूर्व ४६ फिट लम्बाइको दुरीमा Fashion लेखिएको निलो जाली भएको चप्पल १ जोर, सो चप्पलदेखि १२७ फिट पूर्वको दुरीमा स्टिलको चक्कु थान १ (एक), सो चक्कुदेखि १५० फिट पूर्वको दुरीमा सेतो बुट्टा भएको सर्ट थान १ (एक) र कालोमा २ ओटा धर्का भएको क्याप टोपी खटी आएका प्रहरी टोलीले हाम्रो सामुन्नेमा बरामद गरी लगेको भन्नेसमेत बेहोराको मिति २०७५।०५।०६ गतेको बरामदी मुचुल्का ।
जिल्ला ओखलढुङ्गा मोलुङ गाउँपालिका वडा नम्बर २ स्थित पूर्वमा गणेशबहादुर सुनुवारको घर, पश्चिममा गोपाल फुयालको घर, उत्तरमा पेसलकुमार खतिवडाको घर र दक्षिणमा जङ्वु शेर्पाको घर, यति चार किल्लाभित्र हरियो रङ लगाएको पक्की दक्षिण मोहोडा गरेको २ तले घर, सो घरको दोस्रो तलाको पूर्व उत्तरतर्फको कोठाको चाबी तोडी भित्र प्रवेश गरी हेर्दा खाटमाथि कालो रङ भएको झोला रहेको, सो झोलालाई खानतलासी गर्दा खुकुरीको दाप थान १, सो दापमा साना कर्दहरू थान २ (दुई), छाता थान १ (एक), मोलुङ ३ लेखेको कागज थान १ (एक), झोला थान १ (एक), हाफपेन्ट थान १ (एक), टिसर्ट थान १ (एक), सर्ट थान १ (एक), मल्टीप्लक थान १ (एक), मोबाइल चार्जर थान १ (एक), साबुन थान १ (एक), जिलेट रेजर विलेट थान १ (एक), बट्टा थान १ (एक), मन्जन थान १ (एक), पुष्टकारी प्याक थान १ (एक), गुदपाक प्लास्टिकमा थान १ (एक), खुर्सानीको बियाँ, पानीको बोतल थान १ (एक), कालो चस्मा थान १ (एक), ताल्चा थान १ (एक), कपडा थान १ (एक), टिसर्ट थान १ (एक) र टाउजर थान १ (एक) खटी आएका प्रहरी टोलीले हाम्रो सामुन्नेमा बरामद गरी लगेको भन्नेसमेत बेहोराको मिति २०७५।०५।०७ गतेको खानतलासी तथा बरामदी मुचुल्का ।
The cause of death is sharp force injuries (stab wounds) to chest, abdomen and neck भन्नेसमेत बेहोराको मृतक सन्तोष कार्कीको शव परीक्षण प्रतिवेदन ।
मिति २०७५।०५।०५ गते मेरो काका जयबहादुर कार्कीको छोरा वर्ष २७ को सन्तोष कार्की घरमा एक्लै बसेको थियो । त्यसै क्रममा दिउँसो १६:४५ बजेको समयमा बहिनीहरू स्कुलबाट घरमा आई घरभित्र छिर्दा कोठामा रगतमा मुछिएर लडेको मृत दाजुलाई देखी हल्लाखल्ला गर्दा हामीलगायत सबैजना भेला भई हेर्दा भाइ सन्तोष कार्कीलाई धारिलो हतियारले चोट लागी अङ्ग अङ्गमा काटिई मृत अवस्थामा रहेको । मृतक मेरो भाइलाई हत्या गरेको शंका लागेको मानिस मिति २०७५।०५।०४ गते बेलुका जिल्ला ओखलढुङ्गा मोलुङ गाउँपालिका वडा नं. २ रामपुरमा बास बसी सन्तोष कार्कीको घर कहाँ हो भनी सोध्दै आएको निलो जाली चप्पल लगाएको कालोमा सेतो धर्का भएको सर्ट लगाएको अन्दाजी २५/३० वर्षको देखिने अगाडि चुस्स दारी पालेको, रातो वर्णको आर्मीकट कपाल काटेको व्यक्ति थियो भन्नेसमेत बेहोराको रामबहादुर कार्कीको जाहेरी दरखास्त ।
मिति २०७५।०५।०५ गते करिब १०:०० बजेको समयमा खाना खाई दिउँसो काका काकी खेतमा धान गोड्न जानुभएको र छोरा सन्तोष कार्की घरमा नै बसिरहेको अवस्थामा अभियुक्त संजितकुमार थापाले हर्कपुर कार्की गाउँको सन्तोष कार्कीको घर कुन हो भन्दै बाटोमा हिँड्ने बटुवाहरूलाई सोध्दै मेरो काकाको घरमा गई मेरो भाइ एक्लै घरमा बसिरहेको समयमा नाङ्गो चक्कु बोकी घरभित्र प्रवेश गरी सन्तोष कार्कीको शरीरको विभिन्न भागमा धारिलो हतियार चक्कुलगायतले रोपी, घोपी, अमानवीय हिसाबले क्रूर यातना दिई निर्ममतापूर्वक घटनास्थलमै मारी चप्पल, चक्कु, सर्ट घटनास्थलमा छोडी भागी फरार भएको हुँदा निजलाई कानूनबमोजिम आवश्यक अनुसन्धान गरी कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको रामबहादुर कार्कीको किटानी दोस्रो जाहेरी दरखास्त ।
मिति २०७५।०५।०५ गते दिउँसो अन्दाजी ४:०० बजेको समयमा जिल्ला ओखलढुङ्गा मोलुङ गाउँपालिका वडा नम्बर ३ बस्ने जयबहादुर कार्कीको छोरा वर्ष २७ को सन्तोष कार्की आफ्नै घरमा बसिरहेको बेला अभियुक्त संजितकुमार थापाले धारिलो हतियारले प्रहार गरी मारी वारदातस्थलबाट भागी फरार भएको हुँदा कर्तव्य ज्यान मुद्दाको अनुसन्धान तथा कारबाहीको सिलसिलामा मिति २०७५।०५।१३ गते बिहान १०:०० बजेको समयमा जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थितमा लुकीछिपी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरी आवश्यक कारबाहीको लागि पेस गरेको भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन ।
मेरो श्रीमती रश्मी डंगोल र जिल्ला ओखलढुङ्गा मोलुङ गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष २७ को सन्तोष कार्कीबिच नराम्रो सम्बन्ध रहेको थाहा पाएपछि मैले निजलाई पटकपटक सम्झाइबुझाइ गर्दासमेत उल्टै धम्की दिएकोले मिति २०७५।०४।३० गते दुबईबाट नेपाल आई सन्तोष कार्कीको घरमा गएर एक पटक भेटेर सम्झाउँछु भनेर सो दिन बालाजु बसपार्कमा बास बसी सोको भोलिपल्ट भालुवाङ आफ्नो घर गएँ । त्यसको भोलिपल्ट पुन: काठमाडौं जाने भनेर भालुवाङबाट चनौटा हुँदै बुटवल आई दिउँसो खाना खाएर काठमाडौंको लागि बस चढेर त्यसको भोलिपल्ट बिहान ६:०० बजेतिर काठमाडौं पुगी सो दिन काठमाडौंमा नै बसी मिति २०७५/०५/०३ गतेका दिन बिहान १०:०० बजेको समयमा बसपार्कमा गाईघाट लेखेको काउन्टरमा गई ओखलढुङ्गा जाने टिकट पाइन्छ भनी सोधी गाईघाटको लागि टिकट लिएर सोको भोलिपल्ट गाईघाट पुगेँ । म त्यहाँ पुगेपछि गाईघाट र भोजपुर नजिकै पर्छ जस्तो लाग्यो । मलाई पहिलादेखि नै भोजपुरे खुकुरी साह्रै मन पर्दथ्यो । गाईघाट बजारको पुरानो बसपार्क नजिकै रहेको पसलबाट रू.२,४००।- मा एक थान भोजपुरे खुकुरी किनेको हो । त्यसपछि ओखलढुङ्गा जाने गाडी कहाँ पाउँछ भनी सोध्दा त्यहाँका मानिसहरूले यहाँबाट बस चढेर मिर्चैया जानु त्यहाँबाट ओखलढुङ्गा जाने गाडी पाउँछ भनेर भन्दा म गाईघाटबाट बसमा चढेर मिर्चैया आइपुगेको १० मिनेटपछि पूर्वबाट ओखलढुङ्गा जाने बस आयो र म सो बसमा चढेर बेलुका अन्दाजी ०५:३० बजेको समयमा ओखलढुङ्गाको रमाइलो डाँडा आइपुगेको हो । मसँगै बसको सिटमा बसेको मान्छेलाई मोलुङ हर्कपुर जानलाई कहाँको गाडी चढ्नुपर्दछ भनी सोध्दा निजले मलाई रमाइलो डाँडामा झर्नु र रामपुर जाने बसमा चढेर जाँदा पुगिन्छ भनी भन्नुभएको
थियो । त्यसकारण रमाइलो डाँडामा झरी रामपुर जाने बस पर्खी बसेकोमा अन्दाजी २५ मिनेटपछि रामपुर जाने बस आयो र सो बसमा चढेर रामपुर गएको हो । रामपुर पुग्दा रात परिसकेको हुँदा बजारमा रहेको नाम नदिएको डोल्मा तामाङ भन्ने दिलमाया तामाङको होटलमा खानपान गरी राति बास बसेको हो ।
भोलिपल्ट मिति २०७५/०५/०५ गते बिहान अन्दाजी ०७:०० बजेको समयमा उठेर नुहाई धुवाई कपडाहरू सरसफाइ गरेर होटल धनीलाई फेरि फर्केर आउँछु भनेर रू.१,०००।- दिएर मैले बोकेको ठुलो झोला त्यही होटलमा छाडेर सानो झोला बोकेर निस्किन लाग्दा होटलवालीलाई कार्की गाउँ कता पर्दछ भनेर सोध्दा निजले मलाई यो डाँडाबाट सटकट बाटो छ त्यहाँबाट छिटो कार्की गाउँ पुगिन्छ भनेपछि म सरासर सो बाटो हुँदै कार्की गाउँतर्फ गएको हो । मोलुङखोलाको झोलुङ्गे पुल तरेपछि बाटो हिँड्ने मान्छेलाई कार्की गाउँ कता पर्छ भनेर सोध्दा निजले तपाइँ यो बाटोबाटै जानु डाँडामा कार्की गाउँ पर्छ भन्दा म त्यो बाटो नछोडी हिँड्दै बाटोमा भेटेको मानिसहरूलाई सोध्दै कार्की गाउँमा पुगेर निज सन्तोष कार्कीले मलाई दिएको डर धम्कीको कारण निजको घरमा जाउँ कि नजाउँ भनेर म बाटोमा बसिराखेकोमा केही समयपछि म यत्रो टाढाबाट यहाँसम्म आएको हुँ । निज सन्तोष कार्की र मेरो श्रीमतीबिचमा के सम्बन्ध छ त अब बुझेर जानुपर्यो भनेर सन्तोष कार्कीको घरनजिक रहेको कुलोमा एकजना महिलालाई डोको बोकेको देखेर मैले बहिनी यहाँ सन्तोष कार्कीको घर कुन हो भनेर भन्दा निजले मलाई दाइ सन्तोष कार्कीको घर त्यही हो भनेर देखाएपछि म सन्तोष कार्कीको घरमा पुगेको हो । म मान्छेहरूलाई सोध्दै निजको घरमा दिउँसो ३:०० बजेको समयमा पुग्दा निज सन्तोष कार्की घरमा एक्लै सुतेको देखेर मैले सन्तोष भनी २/३ पटकसमेत बोलाउँदा नबोलेपछि हातले उठाउन खोज्दा सन्तोष कार्कीले अनुहारमा मेकअप गरेको जस्तो देखेर मैले यो कोठामा केटी सुतेको छ कि भनेर म कोठाबाहिर निस्केर फेरी सन्तोष भनेर बोलाउँदा सन्तोष कार्की कोठाबाहिर आएपछि मैले सन्तोष तिमीलाई सन्चो छैन भनेर सोध्दा निजले मलाई कुनै जवाफ नदिएपछि मैले पुन: सन्तोष तिमीसँग केही कुरा गर्न आएको छु भन्नासाथ कुनै जवाफ नदिई एक्कासि निजले के कुन हतियार लिई मलाई प्रहार गर्न खोज्दा मैले दाहिने हातले रोक्न खोज्दा मेरो दाहिने हातको चोरी औंलामा गहिरो काटी रगत आउन थालेपछि मैले आफ्नो आत्मरक्षाको लागि बाध्य भई आवेशमा आई आफूसँग झोलामा रहेको धारिलो हतियार चक्कु निकाली प्रहार गर्दा त्यहाँ हाम्रो दोहोरो भिडन्त हुँदा बाहिरबाट लडाईं गर्दै कोठाभित्र गएपछि निजले मेरो छातीमा दुवै हातले समातेपछि मैले चक्कुले निजको पछाडि अन्धाधुन्द प्रहार गर्दा निजले आफ्नो गल्ती स्वीकार गरे, रश्मी डंगोल र निजको आमाले मलाई आफ्नो स्वार्थको लागि प्रयोग गरे र रश्मीको कोखबाट जन्मेको छोरी मेरो हो मैले बिहे गर्न सकेको छैन र छोड्न पनि सकेको छैन भनी मलाई छोडी कोठाभित्र रगताम्य भई भुइँमा लड्नुभयो । निज सन्तोष कार्कीलाई हेर्दा मरे जस्तो लागेर म कोठा बाहिरबाट निस्कँदा कोही कतै नदेखेपछि त्यहाँबाट जंगलको बाटो हुँदै मैले वारदातको समयमा प्रयोग गरेको चक्कु, रगत लागेको सर्ट, चप्पल र टोपी घरदेखि करिब १५० मिटर पर फालेर जंगलको गोरेटो बाटो हुँदै भाग्दै गएको हो भन्नेसमेत बेहोराको मिति २०७५।०५।१९ गतेको प्रतिवादी संजितकुमार थापाले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
मिति २०७५।०५।०५ गते बिहान अन्दाजी १०:३० बजेको समयमा जिल्ला ओखलढुङ्गा मोलुङ गाउँपालिका वडा नम्बर ३ स्थित डुडकुले भन्ने स्थानमा म धानको भारी बोकेर आउँदै गर्दा सन्तोष कार्कीको घर कहाँ पर्छ भनी सोध्ने व्यक्तिले लगाएको फुल बाउला भएको सर्ट र निलो रङको चप्पल देखाउँदा मैले हेरी पहिचान गरी सनाखतसमेत गरेँ । वारदात स्थलमा बरामद भएको दसी मृतक सन्तोष कार्कीको घर सोध्दै हिँड्ने मानिसले लगाएको दसी हो भनी सनाखत गरिदिएको भन्नेसमेत बेहोराको मिति २०७५।०५।२५ गतेको गंगामाया सुनुवारले गरिदिएको दसी सनाखत मुचुल्का ।
मिति २०७५।०५।०५ गते बिहान अन्दाजी ०९:०० बजेको समयमा म कोदोको भारी बोकेर खेतबारीतर्फ जाँदै गर्दा मैले कहिल्यै नदेखेको गहुँगोरो वर्ण अग्लो उचाइ मोटो मोटो ज्यान भएको मानिसले मलाई त्यो पहिरो गएको ठाउँलाई के भन्छ भनेर भन्दा मैले त्यसलाई हर्कपुर भन्छ भनेपछि निजले तल्लो गाउँलाई त कार्की गाउँ भन्छ नि है भन्दा मैले हजुर भनेर म त्यहाँबाट हिँडेको हो भने निज व्यक्ति पनि कार्की गाउँतिर गएको हो । मैले टाउकोमा भारी बोकेकोले निज व्यक्तिको अनुहार राम्रोसँग हेर्न
पाइन । निजले निलोमा जाली भएको चप्पल र कालोमा सेतो बुट्टा भएको सर्ट लगाएका थिए । सोही दिन राति ०७:३० बजेको समयमा गाउँकै सन्तोष कार्कीलाई मारेर मुटु कलेजो झिकेर लगेको छ रे भन्ने सुनेको
हो । मिति २०७५।०५।०६ गते बिहान ०७:०० बजेको समयमा म घटनास्थलमा गई हेर्दा सन्तोष कार्कीलाई शरीरको विभिन्न भागमा धारिलो हतियारले घोपी, रोपी, रगताम्य अवस्थामा देखेको हुँ । अनुसन्धानको क्रममा प्रहरीले निलो रङको चप्पल र कालोमा सेतो बुट्टे सर्ट घटनास्थलमा देखी नजिकै फालेको अवस्थामा बरामद गरेपछि मलाई कार्की गाउँ सोध्दै आउने व्यक्तिले नै सन्तोष कार्कीको हत्या गरेको पूर्ण विश्वास भइसकेको थियो । हाल बुझ्दै जाँदा मलाई कार्की गाउँ सोध्ने व्यक्ति अभियुक्त संजितकुमार थापा रहेछन् । मलाई घटनास्थलबाट बरामद भई आएको निलोमा जाली भएको चप्पल र कालोमा सेतो बुट्टे सर्ट देखाउँदा मलाई कार्की गाउँ सोध्ने व्यक्तिले लगाएको मैले देखेको हुँदा सनाखत गरिदिएको छु । निज अभियुक्तले मृतकको घरमा कोही नभएको मौका छोपी सन्तोष कार्कीलाई धारिलो हतियारले शरीरको विभिन्न भागमा घोपी, रोपी, अमानवीय हिसाबले क्रूर यातना दिई निर्ममतापूर्वक हत्या गरेको हुँदा निज अभियुक्तलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको निसा सुनुवारले अनुसन्धान अधिकारीसमक्ष कागज ।
मिति २०७५।०५।०४ गते साँझ १९:०० बजेको समयमा तत्काल नाम, थर, वतन थाहा नभएका पुरूष मानिस मेरो होटलमा बास बसी मिति २०७५।०५।०५ गते बिहान निज व्यक्ति उठेर मलाई रू.१,०००।- (एक हजार) रूपैयाँ दिई म काठमाडौंबाट मोलुङ गाउँपालिकाको कार्यालयमा केही काम परेर आएको हो । २/३ दिन यही होटलमा आएर
बस्छु । यहाँ मलाई कार्की गाउँमा पनि काम छ । कार्की गाउँ यहाँबाट कता पर्छ भनेर सोध्दा मैले निजलाई मोलुङखोला पारी डाँडामा पर्छ भन्दा निजले केही नबोली कोठाको चाबीसमेत लिई मोलुङ खोलातर्फ जानुभएको हो । सोही दिन दिउँसो १७:०० बजेको समयमा जिल्ला ओखलढुङ्गा मोलुङ गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष २७ को सन्तोष कार्कीलाई अज्ञात व्यक्तिले हत्या गरी फरार भएको कुरा सुनेको
हो । सो दिन मेरो होटलमा बास बसेका व्यक्ति नआएपछि मैले मिति २०७५।०५।०६ गते बिहान प्रहरीलाई जानकारी दिई प्रहरी मेरो होटलमा आई निज व्यक्ति बसेको कोठाको ताल्चा फुटाई भित्र हेर्दा कालो झोला र सो झोलाभित्र भएको सामानहरूसमेत बरामद गरी लगेको हो । घटनाको बारेमा बुझ्दा मेरो होटलमा बास बसेको व्यक्तिले नै सन्तोष कार्कीलाई हत्या गरेको
रहेछ । हाल अनुसन्धानको क्रममा पक्राउ परेका प्रतिवादी संजितकुमार थापाले मृतक सन्तोष कार्कीलाई घरमा एक्लै भएको मौका पारी धारिलो हतियारले शरीरको विभिन्न भागमा घोपी, रोपी, अमानवीय हिसाबले क्रूर यातना दिई निमर्मतापूर्वक हत्या गरेको हुँदा निज अभियुक्तलाई कानूनबमोजिम हदैसम्मको कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको दिलमाया तामाङले अनुसन्धान अधिकारीसमक्ष गरेको कागज ।
प्रतिवादी संजितकुमार थापासँग मिति २०७२ साल माघ महिना ०९ गते मागी विवाह भई हामी श्रीमान् श्रीमतीको सहवासबाट एक जना छोरीको जायजन्म भएको हो । हामी दुई जनाको सम्बन्ध धेरै नै राम्रो थियो । म र सन्तोष कार्की पशुपति बहुमुखी क्याम्पस चाबहिलमा सँगै पढ्दा हाम्रो चिनजान भएकोले मेरो साथी हो । मेरो सन्तोष कार्कीसँग बिहे हुनुअगाडिदेखि नै चिनजान भएकोले हामीबिच त्यस्तो कुनै नराम्रो सम्बन्ध थिएन । हामीले साथीको नाताले बिहे हुनुअगाडिदेखि कहिलेकाहीँ फेसबुकमा बोल्ने गरेका थियौँ । प्रतिवादी संजितकुमार थापासँग मेरो बिहे भएपछि मैले सन्तोष कार्कीसँग बोलेको छैन । मेरो श्रीमान्ले मबाट सन्तोष कार्कीको फेसबुक आईडी लिई निजहरूबिचमा कहिलेकाहीँ कुराकानी गर्नुहुन्थ्यो
अरे । म घरमा बस्दा मेरो सासूआमा र श्रीमान्ले मलाई सन्तोष कार्कीसँग नराम्रो कुराको आक्षेप लगाई मेरो घरबाट कहिले जान्छौं गइहाल भन्दै मानसिक यातना दिए तापनि म सो कुरा सही खपी बस्दै आएको थिएँ । श्रीमान्ले सन्तोष कार्कीसँग मेरो नराम्रो सम्बन्ध देखाई फोन सम्पर्क गर्न छोडेपछि मिति २०७५।०४।२० गते म माइतीघरमा आई आमा बुबासँग छोरीको पालन पोषण गरी बस्दै आएको थिएँ । मिति २०७५।०५।०६ गते सन्तोष कार्कीको मृत्यु भएको कुरा थाहा पाएको
हो । मिति २०७५।०५।०७ गते सन्तोष कार्कीलाई अज्ञात व्यक्तिले धारिलो हतियारले प्रहार गरी हत्या गरेको फेसबुकबाट थाहा पाएको हो । मिति २०७५।०५।१० गते मेरो श्रीमान् संजितकुमार थापाले मैले नै सन्तोष कार्कीको हत्या गरेको कुरा स्वीकार गरी फेसबुकमार्फत पोष्ट गर्दा मात्र थाहा भएको भन्नेसमेत बेहोराको रश्मी डंगोलले अनुसन्धान अधिकारीसमक्ष गरेको कागज ।
मिति २०७५।०५।०४ गते राति मेरो होटलमा बास बसी मिति २०७५।०५।०५ गते बिहान अन्दाजी ७:०० बजे मेरो होटलमा छोडी गएका सामानहरू अनुसन्धानको क्रममा बरामद भएको खुकुरीको दाप थान १ (एक), सँगै रहेका साना कर्दहरू थान २ (दुई), छाता थान १ (एक), मोलुङ ३ लेखेको कागज थान १ (एक), झोला थान १ (एक), हाफपेन्ट थान १ (एक), टिसर्ट थान १ (एक), सर्ट थान १ (एक), मल्टी पल्क थान १ (एक), मोबाइल चार्जर थान १ (एक), साबुन थान १ (एक), जिलेट रेजर बिलेट थान १ (एक), बट्टा थान १ (एक), मन्जन थान १ (एक), पुष्टकारी प्याकेट थान १ (एक), गुदपाक प्लास्टिमा थान १(एक), खुर्सानीको बियाँ, पानीको बोतल थान १ (एक), चस्मा थान १ (एक), ताल्चा थान १ (एक), तन्ना (कपडा) थान १ (एक), टिसर्ट थान १ (एक) र टाउजर थान १ (एक) अभियुक्त संजितकुमार थापाको नै हो भनी सनाखत गरिदिएको भन्नेसमेत बेहोराको दिलमाया तामाङले अनुसन्धान अधिकारीसमक्ष गरिदिएको दसी सनाखत मुचुल्का ।
रामबहादुर कार्कीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी संजितकुमार थापा भएको कर्तव्य ज्यान मुद्दाको अनुसन्धान तथा कारबाहीको सिलसिलामा कसुर गर्ने व्यक्तिलाई कानूनबमोजिम सनाखत गर्न जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा मलाई उपस्थित गराइएकोमा पाँच जना व्यक्तिमध्ये बायाँबाट क्रमश: ४ नम्बरमा रहेका व्यक्तिलाई सो घटना घट्दाको अघिल्लो दिन मिति २०७५।०५।०४ गते राति मेरो होटलमा बास बसेको बखत मैले देखेको र निजको शारीरिक बनावट, रूप रंग र आकृतिबाट चिनेकोले निज सोही व्यक्ति हो भन्नेसमेत बेहोराको मिति २०७५।०५।२६ गतेको दिलमाया तामाङले गरिदिएको सनाखत मुचुल्का ।
मिति २०७५।०५।०५ गते दिउँसो १६:०० बजेको समयमा म स्कुलबाट दाइ सन्तोष कार्कीको घरमा आइपुग्दा दाइ कोठाभित्र भुइँमा रगताम्य भई लडेको अवस्थामा देखेपछि मैले दाइलाई के भयो भनेर कोठाभित्र गई दाइको हात उचाल्दा हातमा गहिरो काटिएको अवस्थामा देखेपछि म घरका अरू मानिसलाई बोलाउँछु भनेर बाहिर आई चारैतिर हेर्दा कोही कसैलाई नदेखेपछि दाइको टाउको मेरो हातमा राखेर हेर्दा दाइको छातीको दाहिने साइडबाट फोक्सो निस्केको थियो भने शरीरको विभिन्न भागमा धारिलो हतियारले रोपी, घोपी, मारेको जस्तो लागेर म ठुलो बुबा र ममीलाई बोलाउनुपर्यो भनेर जाँदै गर्दा बाटोमा गाउँकै धनबहादुर कटवाललाई भेटेपछि म बेहोस भई भुइँमा लडेँ । निज धनबहादुर कटवाल घटनास्थलतर्फ जानुभयो । म लडेको ठाउँमा गाउँकै विनोद कार्की आएर मलाई के भयो भन्दै उठाउनुभयो । म उठेपछि विनोद कार्कीसँगै घरमा आउदा धनबहादुर कटवाल पनि आइसकेका रहेछन् । म घरमा रूँदै बसिरहेँ भने धनबहादुर कटवालले दाइ रामबहादुर कार्कीलाई फोन गरेर घरमा बोलाउन खोज्दा दाइ सोलाखर्कतर्फ जानुभएकोले तत्काल आउन सक्नुभएन । त्यसपछि गाउँ समाजका मानिसहरू घरमा आउन थालेपछि मैले १०० मा फोन गरेर प्रहरीलाई घटनाको बारेमा जानकारी गराएको हो । मैले जानकारी गराएको २ घण्टापछि घटनास्थलमा प्रहरी आएपछि दाइ सन्तोष कार्कीलाई अज्ञात व्यक्ति आएर हत्या गरेको कुरा सबैलाई थाहा भई मिति २०७५।०५।०६ गते बिहान दाइलाई मार्ने व्यक्तिलाई खोज्दै जाने क्रममा घरदेखि १५० मिटरको दुरीमा रगत लागेको अवस्थामा चक्कु, सर्ट, चप्पल र क्याप फेला परेको अरूले सुनाए । हाल बुझ्दै जाँदा अभियुक्त संजितकुमार थापाले मेरो दाइ सन्तोष कार्कीलाई ज्यान मार्ने पूर्वयोजना बनाई घरमा कोही नभएको मौका पारी धारिलो हतियारले शरीरको विभिन्न भागमा घोपी, रोपी, अमानवीय हिसाबले क्रूर यातना दिई निर्ममतापूर्वक हत्या गरेको हुँदा निज अभियुक्तलाई कानूनबमोजिम कडा कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको सिता कार्कीले अनुसन्धान अधिकारीसमक्ष गरेको कागज ।
मिति २०७५।०५।०५ गते बिहान म गाईवस्तु बाँध्ने गोठमा घाँस हाल्न गएको थिएँ । मेरो श्रीमतीले बिहानको खाना गोठमा नै ल्याइदिएपछि मैले खाना खाई श्रीमान् श्रीमती गोठमा नै बसिराखेका थियौं भने छोरी स्कुल पढ्न गएको र छोरा सन्तोष कार्की घरमा सुतिराखेको कुरा श्रीमतीले बताएकी थिइन् । सोही दिन दिउँसो अन्दाजी १६:३० बजेको समयमा छोरी सविता कार्की गोठमा आएर मलाई दाजु दाजु भनेर अरू केही बोल्न नसकेपछि मैले छोरी के भयो तिमीलाई भन्दा छोरीले दाजु कोठाभित्र लड्नुभएको छ भनेपछि मैले भुइँमा लडेको छ कि खाटमा भनी सोध्दा छोरीले भुइँमा भनेपछि मैले छोरा गयो भनेर म बेहोस भएर खेतमा नै ढलेँ । बेलुका अन्दाजी १८:०० बजेको समयमा गाउँका मानिसहरूले मलाई बोकेर घरमा लगेका हुन् । म घरमा पुगेर छोरालाई ढोका बाहिरबाट हेर्दा शरीरको विभिन्न भागमा धारिलो हतियारले रोपी, घोपी रगताम्य भुइँमा घोप्टो परी मृत अवस्थामा
थियो । मिति २०७५।०५।०६ गते बिहान घरदेखि १५० मिटर जंगलमा छोरालाई हत्या गरी भागेको व्यक्तिले फालेको चक्कु, सर्ट, चप्पल र क्याप रगत लागेको अवस्थामा फेला परेको हो । हाल बुझ्दै जाँदा अभियुक्त संजितकुमार थापाले मेरो छोरा सन्तोष कार्कीलाई ज्यान मार्ने पूर्वयोजना बनाई घरमा कोही नभएको मौका पारी धारिलो हतियारसमेतले शरीरको विभिन्न भागमा घोपी, रोपी, अमानवीय हिसाबले क्रूर यातना दिई निमर्मतापूर्वक हत्या गरेको हुँदा कानूनबमोजिम कडाभन्दा कडा कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जयबहादुर कार्कीले अनुसन्धान अधिकारीसमक्ष गरेको कागज ।
रामबहादुर कार्कीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी संजितकुमार थापा भएको कर्तव्य ज्यान मुद्दाको अनुसन्धान तथा कारबाहीको सिलसिलामा कसुर गर्ने व्यक्तिलाई कानूनबमोजिम सनाखत गर्न जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा मलाई उपस्थित गराइएकोमा पाँच जना व्यक्तिमध्ये बायाँबाट क्रमश: २ (दुई) नम्बरमा रहेका व्यक्तिलाई सो घटना घट्दाको पछिल्लो दिन मिति २०७५।०५।०६ गते राति मेरो होटलमा बास बसेको बखत मैले देखेको र निजको शारीरिक बनावट, रूप रंग र आकृतिबाट चिनेकोले निज सोही व्यक्ति हो सनाखत गरिदिएको छु भन्नेसमेत बेहोराको इन्दिरा अधिकारीले गरिदिएको मानिस सनाखत मुचुल्का ।
मिति २०७५।०५।०५ गते दिउँसो अन्दाजी १६:०० बजेको समयमा सन्तोष कार्कीलाई अज्ञात व्यक्तिले हत्या गरी भागेको कुरा थाहा भएपछि घटनास्थलमा गई हेर्दा कोठाभित्र भुइँमा सन्तोष कार्की शरीरको विभिन्न भागमा धारिलो हतियारले घोपी, रोपी, रगताम्य भई मृत अवस्थामा घोप्टो परेर लडेका
थिए । मिति २०७५।०५।०६ गते बिहान हत्या गरी फरार भएका अज्ञात व्यक्तिलाई खोजतलास गर्दै जाने क्रममा मृतकको घरदेखि अन्दाजी १५० मिटरको दुरीमा रगत लागेको अवस्थामा फालिएको चक्कु, सर्ट, चप्पल र क्याप फेला पारेको हो । हाल बुझ्दै जाँदा अभियुक्त संजितकुमार थापाले मृतक सन्तोष कार्कीलाई हत्या गरेको कुरा थाहा पाएको हो । उक्त घटनाको प्रकृति हेर्दा निज अभियुक्तले ज्यान मार्ने पूर्वयोजना बनाई साथमा धारिलो हतियारसमेत लिई सन्तोष कार्की घरमा एक्लै भएको मौका पारी धारिलो हतियारसमेतले शरीरको विभिन्न भागमा घोपी, रोपी, अमानवीय हिसाबले क्रूर यातना दिई निमर्मतापूर्वक हत्या गरेको हुँदा निज अभियुक्तलाई कानूनबमोजिम हदैसम्मको कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको रूद्रकुमार फुयाल, दत्त सिंह कार्की, ध्रुवराज खत्रीसमेतका व्यक्तिहरूले एकै मिलान हुने गरी अनुसन्धान अधिकारीसमक्ष खुलाई लेखाइदिएको वस्तुस्थिति मुचुल्का ।
मिति २०७५।०५।०५ गते दिउँसो १६.३० बजेको समयमा सिता कार्कीले सन्तोष दाइ कोठाभित्र लडिराख्नुभएको छ भनेपछि आई हेर्दा कोठाभित्र भुइँमा सन्तोष कार्की रगताम्य भई घोप्टो परी लडिरहेको अवस्थामा देखेको हो । मिति २०७५।०५।०६ गते बिहान हत्या गरी फरार भएका अज्ञात व्यक्तिलाई खोजतलास गर्दै जाने क्रममा घरदेखि अन्दाजी १५० मिटरको दुरीमा रगत लागेको अवस्थामा फालिएको चक्कु, सर्ट, चप्पल र क्याप फेला पारेको हो । हाल आएर बुझ्दा अभियुक्त संजितकुमार थापाले सन्तोष कार्कीको हत्या गरेको कुरा थाहा पाएको हो । निज अभियुक्तले सन्तोष कार्कीलाई ज्यान मार्ने पूर्वयोजना बनाई साथमा धारिलो हतियारसमेत लिई घरमा आई एक्लै भएको मौका पारी धारिलो हतियारले शरीरको विभिन्न भागमा घोपी, रोपी, अमानवीय हिसाबले क्रूर यातना दिई निर्ममतापूर्वक हत्या गरेको हुँदा निज अभियुक्तलाई कानूनबमोजिम हदैसम्मको कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७५।०५।३१ गतेको विनोद कार्की, धनबहादुर कटवालसमेतले एकै मिलान हुने गरी अनुसन्धान अधिकारीसमक्ष खुलाई लेखाइदिएको कागज ।
जिल्ला कपिलवस्तु शिबराज नगरपालिका वडा नम्बर १ स्थित पूर्वमा बेलौती शिवपुर जाने भित्री पक्की सडक, पश्चिममा ओम भण्डारीको धानखेत, उत्तरमा ओम भण्डारीको एक तल्ले पक्की घर र दक्षिणमा युवराज गिरीको खाली खेत रहेको यति चार किल्लाभित्र हिमालय जि.सि. को पूर्व मोहोडा भएको खरले छाएको एक तल्ले कच्ची घर, उक्त घरभित्र प्रवेश गरी हेर्दा तीनवटा कोठाहरूमध्ये पूर्व दक्षिणतर्फको कोठाभित्र रहेको पलङको बिस्तारा उल्टाई पल्टाई हेर्दा NCELL लेखेको सिमकार्ड रहेको उक्त सिमकार्ड मोबाइलमा राखी चेक गर्दा ९८१८४३७००१ नम्बरको रहेको र कालो रंगको झोला, adidas लेखेको खैरो रंगको टिसर्ट, LP लेखेको छिर्केमिर्के खैरो रंगको सर्ट, जिन्स पाइन्ट, कालो सेतो रंगको जुत्ता १ जोर र पहेलो रंगको जुत्ता १ जोर खटी आएको प्रहरी टोलीले हाम्रो सामुन्नेमा बरामद गरी लगेको भन्नेसमेत बेहोराको खानतलासी तथा बरामदी मुचुल्का ।
अभियुक्त संजितकुमार थापा नाताले मेरो सहोदर जेठान हुन् । निज आजभन्दा करिब डेढ वर्षअगाडि वैदेशिक रोजगारीको सिलसिलामा दुबई जानुभएको थियो । निजले ओखलढुङ्गा मोलुङ ३ हर्कपुर निवासी सन्तोष कार्कीलाई सम्झाउँदा ममाथि हातपात गरेकोले भदौ ५ गते धारिलो हतियार प्रयोग गरी अन्तिम विकल्प स्वरूप उसलाई दण्ड मैले दिएकै हुँ भन्ने बेहोरा लेखी फेसबुकमा पोष्ट गरेकोले घटना बारेमा थाहा पाएको हुँ । मिति २०७५।०५।१० गते दिउँसो अन्दाजी १२:३० बजेको समयमा निज जेठान जिल्ला कपिलवस्तु शिबराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटा बजारमा आई मेरो श्रीमती चन्द्रकला थापासँग सम्पर्क गरी मेरो नाममा रहेको ९८०६९४७१५५ नम्बरको सिमकार्ड एकछिन मलाई देउ भनी मागी एकान्त ठाउँमा गई को कससँग के कुरा गरी सिम फिर्ता गरिदिएका थिए । निजले आफूसँग रहेको मोबाइलबिनाको ९८१८४३७००१ नम्बरको सिमकार्ड र कपडा भएको झोला तिमीले राख म इन्डिया जान्छु भनी बहिनीसँग बिदावारी भएको भन्नेसमेत बेहोराको हिमालय जि.सी.ले अनुसन्धान अधिकारीसमक्ष गरेको कागज ।
काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नम्बर ९ स्थित होटल श्रीअन्तु प्रा.लि. सञ्चालन गरी बसेको छु । एयरपोर्टबाट ट्याक्सीमा राखेर संजित थापालाई होटलमा ल्याएको हुँ । उनी १०९ नम्बरको कोठामा बसेका हुन् । मोबाइल नम्बर ९८१८४३७००१ इन्ट्री गराएका हुन् तर सिमकार्ड कहाँ कोबाट कसरी लिएका हुन् मलाई थाहा भएन । भोलिपल्ट बिहान खाना खाएर होटलबाट गएका हुन् भन्नेसमेत बेहोराको आशिष खतिवडाले अनुसन्धान अधिकारीसमक्ष गरेको कागज ।
सन्तोष कार्कीलाई अन्तिम पटक सम्झाउन भदौ ५ गते उनको घरमा पुगेको थिएँ तर उल्टै ममाथि हातपात गर्न पुग्दा धारिलो हतियार प्रयोग गरी अन्तिम विकल्प स्वरूप दण्ड दिँदा आवश्यकताभन्दा धेरै प्रहार गरेको हुँ र मबाट गल्ती भएकै हो भन्नेसमेत बेहोराको प्रतिवादी संजितकुमार थापाको फेसबुक पोष्टका माध्यमबाट गरिएको स्वीकारोक्ति ।
जिल्ला ओखलढुङ्गा मोलुङ गाउँपालिका वडा नम्बर ३ स्थित पूर्वमा ठुलो ढाँड खरबारी जंगल, पश्चिममा हर्कपुर गाउँ र कार्की गाउँबिचको डाँडा थुम्को, उत्तरमा कार्की गाउँ टोल र दक्षिणमा ढाँड पाखा टोल ढाँड पाखा खरबारी यति चार किल्लाभित्र मृतक सन्तोष कार्कीको घरदेखि अन्दाजी ५०० मिटर दक्षिण पश्चिम गोरेटो बाटोबाट अन्दाजी ३ मिटर पूर्व ढाँड पाखा खरबारी जंगलको सखुवा रूख नजिक सिन्धुरे बनमारा घारीभित्र भुइँमा कलेजी रंगको साइड ब्याग, कालो रंगको छालाको मनि ब्याग (पर्स), कालो रंगको जिन्स पेन्ट र सिमकार्ड थान ३ खटी आएका प्रहरी टोलीले हाम्रो सामुन्नेमा बरामद गरी लगेको भन्नेसमेत बेहोराको बरामदी मुचुल्का ।
मिति २०७५।०५।०५ गते दिउँसो १६:०० बजेको समयमा म र बहिनी सिता कार्की स्कुलबाट घरमा आइपुग्दा बहिनीले दाइ सन्तोष कार्की कोठाभित्र भुइँमा रगताम्य भई लडेको अवस्थामा देखेपछि बहिनी कोठाभित्र गइन् भने मैले ढोका बाहिरबाट हेर्दा दाइको शरीरको विभिन्न भागमा धारिलो हतियारले रोपी, घोपी मारेको जस्तो लागेर म बुबा ममीलाई बोलाउन गएको हो । हामी घरमा आइपुग्दा गाउँ समाजलगायत प्रहरी टोली घरमा आइसकेको थियो । मिति २०७५।०५।०६ गते बिहान दाइलाई मार्ने अज्ञात व्यक्तिलाई खोज्दै जाने क्रममा घरदेखि अन्दाजी १५० मिटरको दुरीमा चक्कु, सर्ट, चप्पल र क्याप रगत लागेको अवस्थामा फेला परेको कुरा सुनेको हुँ । हाल बुझ्दै जाँदा अभियुक्त संजितकुमार थापाले मेरो दाइ सन्तोष कार्कीलाई ज्यान मार्ने पूर्वयोजना बनाई घरमा कोही नभएको मौका पारी धारिलो हतियारले दाइको शरीरको विभिन्न भागमा घोपी, रोपी अमानवीय हिसाबले क्रूर यातना दिई निर्ममतापूर्वक हत्या गरेको हुँदा निज अभियुक्तलाई कानूनबमोजिम कडा कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको सविता कार्कीले अनुसन्धान अधिकारीसमक्ष गरेको कागज ।
आफ्नो सुरक्षाको लागि धारिलो हतियार चक्कु र नाङ्गो खुकुरी बोकेर सन्तोष कार्कीको घरतिर रामपुरबाट बिहान ०७:०० बजेको समयमा हिँडे पनि उनको हत्या गर्नुभन्दा अगाडि गाउँको गोरेटो बाटोमा हिँडेको भन्नेसमेत बेहोराको अभियुक्त संजितकुमार थापाको ततिम्बा बयान ।
विभिन्न स्थानबाट बरामद भई आएका दसीका सामानहरू झोला थान १ (एक), साइड ब्याग थान १ (एक), सिमकार्ड थान ४ (चार), मनिब्याग थान १ (एक), जिन्सपेन्ट थान २ (दुई), पेन्टी थान १(एक), सर्ट थान १ (एक), टिसर्ट थान १ (एक) र जुत्ता २ जोर अनुसन्धान अधिकारीबाट मलाई आज देखाउँदा उक्त दसीका समानहरू मेरो नै हो भनी सनाखत गरिदिएको छु भन्नेसमेत बेहोराको प्रतिवादी संजितकुमार थापाको सनाखत मुचुल्का ।
चक्कुमा Develop भएका औंठाछापमा रेखाका विशेषताहरू अपर्याप्त तथा अस्पष्ट भएकोले प्रतिवादी संजितकुमार थापासँग लिएको औंठाछापसँग तुलनात्मक परीक्षण गर्न नसकिने भन्ने बेहोराको औंठाछाप परीक्षण प्रतिवेदन ।
There is no divergence between the questioned and standard writings. Both the writings have been written freely with natural variation between them. The aforesaid similarities are significant and sufficient and will not accidentally coincide in the writing habits of two different persons and when considered collectively they lead me to the conclusion of their common authorship भन्ने बेहोराको हस्तलेखन परीक्षण प्रतिवेदन ।
Human blood was detected on exhibit nos 1, 2, 3 and 4. Blood group of exhibit nos 1, 2, 3, and 4 could not be detected भन्ने बेहोराको रगत परीक्षण प्रतिवेदन ।
No definite opinion could expressed: on the questioned signature marked Q1 when compared with the blue enclosed specimen signatures marked S1, as the questioned signature is not clear and as there are not significant and sufficient comparable characteristics present in the questioned signature which make them suitable and sufficient for comparison with the specimen signatures भन्ने बेहोराको हस्ताक्षर परीक्षण प्रतिवेदन ।
मिसिल संलग्न घटनास्थल लास जाँच मुचुल्का, रेखा चित्रण, बरामदी मुचुल्का, खानतलासी तथा बरामदी मुचुल्का, मृतकको पोष्टमार्टम प्रतिवेदन, जाहेरी दरखास्त, किटानी जाहेरी दरखास्त, प्रतिवादीको साबिती बयान, दसी तथा मानिस सनाखत कागज, ततिम्बा बयान र परीक्षण प्रतिवेदनहरूसमेतको आधार प्रमाणहरूबाट मिति २०७५।०५।०५ गते दिउँसो अन्दाजी १६:०० बजेको समयमा अभियुक्त संजितकुमार थापाले सन्तोष कार्कीलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १७७ को उपदफा (१) र दफा ४१ को खण्ड (क) बमोजिमको कर्तव्य ज्यानको कसुर गरेको हुँदा सोही ऐनको दफा १७७ को उपदफा (२) र दफा ४१ बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको अभियोग माग दाबी ।
मिति २०७२/१०/०९ गते मेरो रश्मी डंगोलसँग विवाह भयो । हाम्रो विवाह भएको १ महिनापछि म विदेश फर्किएँ । सोही सालको भ्यालेन्टाइन्सको दिन सन्तोषलाई मेरो श्रीमती रश्मीले खादा माला ओडाएको फोटो मलाई पठाउनेको नम्बर याद भएन इमोमा पठाइयो । त्यसपछि मैले उसको बारेमा फेसबुकमा खोजेर चिनेको हुँ । वारदातभन्दा अघि निज सन्तोषसँग प्रत्यक्ष भेटघाट भएको थिएन । सन्तोष र मेरो श्रीमतीबिचको सम्बन्धको बारेमा मैले थाहा पाएर निज सन्तोषलाई फेसबुकमार्फत रश्मी मेरो श्रीमती हो भनी बारम्बर सम्झाएको हुँ । मैले फेसबुकमार्फत जति सम्झाउँदा पनि उसले उल्टै मलाई तँलाई विदेशबाट अहिल्यै झिकाएर काट्छु मार्छु भनी धम्की दिइरहन्थ्यो । निजसँग पूर्वरिसइवी थिएन । मिति २०७५।०५।०५ गते रामपुरमा रहेको होटलको नाम थाहा भएन । बिहान अन्दाजी ७ बजेको समयमा उठेर नुवाई धुवाई गरेँ । कपडा धोएँ । कपडा धोइसकेपछि साहुनीलाई एक हजार रूपैयाँ दिएर कार्की गाउँ कहाँ पर्छ भनेर सोधेँ । साहुनीले कार्की गाउँ बताइदिनुभयो । त्यसैको आधारमा बाटो लागेँ । बाटोमा एकजना बटुवा भेटिनुभयो । मैले उहाँलाई सोधेँ । उहाँले बताएअनुसार कार्की गाउँको बाटोतर्फ लागेँ । गाउँको नजिक एकजना मानिस भेटिनुभयो । मैले उहाँलाई पनि त्यही गाउँको बारेमा सोधेँ । गाउँ सानो थियो । कार्की गाउँ यही हो भन्ने थाहा भयो । तर सन्तोष कार्कीको घर यही नै हो भनेर जानकारी थिएन । यसैक्रममा एकजना बहिनी डोको बोकेर आउनुभयो । उहाँसँग सन्तोष कर्कीको घर कहाँ पर्छ भनेर सोधेँ । उहाँले त्यहीँनिर पर्छ भनेर देखाइदिनुभयो । त्यसैको आधारमा सन्तोष कार्कीको घरतर्फ लागेँ ।
मलाई सन्तोषको घरमा को-को छन् भन्ने कुराको जानकारी थिएन । सन्तोष घरमा छ या छैन भन्नेसम्म पनि जानकारी थिएन । बाटोमा भेटिएकी बहिनीले बताएअनुसार म उसको घरमा पुगेँ । म उसको घरमा पुग्दा ढोका खुल्ला थियो । ढोकाबाट घरभित्र हेर्दा पहिला सन्तोषको फोटो भित्तामा टाँगिएको
देखेँ । फोटो देख्नासाथ मलाई पक्का भयो कि सन्तोषको घर यही रहेछ । कोठामा चिहाएर हेर्दा सन्तोष कोठामै सुतिरहेको थियो । कोठाभित्र गई सन्तोष सन्तोष भनी बोलाएँ तर उ बोलेन । फेरि उसको अनुहारमा हेरेँ । मेकअप गरेको जस्तो लाग्यो र म झस्किँदै महिला पो हो कि जस्तो लागेर म कोठाबाट बाहिर निस्किएँ । फेरि ढोकाबाट चिहाएर हेर्दै सन्तोष सन्तोष भनी बोलाएँ । सन्तोष उठेर बाहिर आए । बाहिर आइसकेपछि मैले सन्तोषलाई फेस बिग्रेको जस्तो देखेर तिमीलाई सन्चो छैन भनी २/३ पटकसम्म सोधेँ । तर सन्तोषले मलाई चिनिसकेकाले मेरो प्रश्नको जवाफ दिएनन् । मेरो कुराको जवाफ नदिएपछि मैले नै तिमीसँग केही छलफल गर्नुछ भनेरभन्दा उसले ममाथि एक्कासी आक्रमण
गर्यो । पहिला के ले मलाई आक्रमण गर्यो भन्ने मलाई याद भएन । मेरो दाहिने हातको चोरी औंलाबाट रगत बग्यो । उसले मलाई आक्रमण गरी नै रह्यो । मलाई एकोहोरो आक्रमण गरेपछि आत्मरक्षाको लागि मैले पनि प्रतिकार गरेँ । हामीबिच एकछिन दोहोरो भिडन्त
भयो । उसले पहिलेदेखि नै मलाई काट्छु मार्छु भनेकाले मैले आफ्नो रक्षाको लागि खुकुरी र चक्कु साथमा बोकेर गएको थिएँ । हामीहरूबिच दोहोरो भिडन्त हुँदा म आवेशमा आई मैले आफूसँग भएको चक्कु कति बेला झिकी निजलाई प्रहार गरेँ म आफैँलाई थाहा भएन । हामी लडाइँ गर्दै कोठाभित्र गयौं । उसले मलाई
पक्रियो । मलाई प्रहार पनि गरिरह्यो । मैले पनि आबेगमा आई उसको शरीरको कुन कुन भागमा प्रहार गरेँ मलाई याद भएन । हामीहरूबिच दोहोरो भिडन्तको क्रममा मैले बारम्बार सम्झाउँदा बुझाउँदा पनि मलाई किन दुःख दिएको भन्दा उसले मलाई त्यसबेला ३ वटा कुरा भनेको छ । एउटा उसले मैले तपाइँलाई दुःख दिएको हो भनी स्वीकार गर्यो । दोस्रो आमा छोरीले आफ्नो स्वार्थको लागि मलाई प्रयोग गरेका हुन् । तेस्रो कुरा छोरी मेरी
हो । न त बिहे गर्न सक्थेँ न त म छोड्न नै सक्थेँ । निजले यति कुरा भनेपछि मैले निजलाई प्रहार गर्न छोडेँ । ऊ भुइँमा ढल्यो । त्यसपछि मसँग कुनै विकल्प त थिएन तै पनि मैले यसलाई बचाइ देउ भगवान् भनी विन्ती गर्दै हातमा भएको चक्कुलाई आफ्नो घाँटीमा लगेँ । चक्कु उल्टो परेछ । दोहोर्याएर चक्कुलाई आफ्नो घाँटीमा फेरि लान सकिनँ । किनकि सन्तोषबाट सबै कुरा सुनिसकेपछि मलाई पनि बाँच्ने चाहना थिएन । यति भइसकेपछि सन्तोष भुइँमा लडिरहेको थियो । म आफू मर्न नसकेर आफ्ना सामानहरूमध्ये सर्ट, चप्पल, चक्कु र टोपी छाडी एउटा झोला बोकेर करेसाबारी हुँदै भागेँ ।
भाग्दै जाने क्रममा जंगलमै एकछिन बसेँ । मैले लगाएको पाइन्ट रगताम्मे भएकोले खोलेर त्यहीँ
फालेँ । मैले बोकेको झोलामा रहेको जुत्ता लगाएर जंगली जनावरको डरले हातमा खुकुरी बोकेर रात परेपछि म त्यो जंगलबाट जंगलै जंगल हिँडे । उक्त रात मैले जंगलमै बिताएँ । जंगलै जंगल हिँड्दै जाँदा कहिले माथि पुग्थेँ, कहिले तल यस्तै क्रममा बिहानको ४ बजेतिर हातमा भएको खुकुरी फालेर फेरि अगाडि
हिँडे । जाँदा जाँदै अर्को दिन दिनको १२ बजेतिर झोलुङ्गे पुल तरेर पारी हिँड्दै जाँदा खेतमा काम गरिरहेका एक जना दाइलाई देखी वरिपरिका गाउँहरूको बारेमा सोधेँ र ओखलढुङ्गा बजार त्यही हो भनेपछि डाँडै डाँडा हिँड्दै आउँदा थापाचौरबाट पिकअप गाडी चढेर ओखलढुङ्गा बजार आइपुगेँ । त्यसपछि कपडा किनेँ । कपडा किनिसकेपछि बसको लहानसम्मको टिकट लिएपछि होटल खोजी गरी बास बसी अर्को दिन बिहान लहानको गाडी चढेर लहानतर्फ प्रस्थान गरेँ र यहाँसम्म जाँदा आउँदासम्म जुनसुकै ठाउँमा पनि मैले आफ्नो सही नाम सही ठेगाना दिएको छु । किनकि म यहाँ आउनुको कारण निज सन्तोषलाई मार्नु कल्पनासम्म थिएन । यदि म मार्ने उद्देश्यले आएको भए मैले जुनसुकै ठाउँमा पनि सही ठेगाना र नाम भन्ने थिइनँ । म लहानबाट बुटवलको गाडीमा चढेर बुटवल गएँ । बुटवलमा त्यो दिन होटलमै बसेँ । भोलिपल्ट बिहान बुटवलबाट भैरहवा जाने बसमा चढी भैरहवा
गएँ । त्यो दिन र रात पनि भैरहवामा होटलमै बसेँ । अर्को दिन बिहान मैले फेसबुक हेर्दा निज सन्तोष कार्कीको मृत्यु भएको कुरा थाहा पाएँ र मैले प्रतिक्रिया स्वरूप फेसबुकमा स्टाटस लेखेँ । त्यसबेलासम्म सन्तोषको मृत्युको कुरा मबाहेक मेरा आफन्त कसैले पनि थाहा पाएका थिएनन् । मैले फेसबुकमा स्टाटस लेखेपछि मात्र अरूले थाहा पाएका हुन् ।
भैरहवाबाट म फेरि बुटवल फर्केँ । त्यस दिन रक्षा बन्धन थियो । बुटवलबाट कपिलवस्तुको चन्द्रौटा भन्ने ठाउँमा पुगेँ । त्यहाँ पुगेर रक्षा बन्धन भएकोले चन्द्रौटा नजिकै रहेकी बहिनीलाई फोन
गरेँ । केहिछिनपछि बहिनी ज्वाइँ आए । बहिनी आएर मलाई देख्ने बितिक्कै दाजु किन यस्तो गरेको भनी रून थालिन् । मैले आज रक्षा बन्धन भएकोले मैले तिमीहरूलाई भेट्न मात्र आएको हो । अब म इन्डिया जान्छु भन्दा बहिनीले नमानेर आफ्नो घर लगिन् । म बहिनीको घरमा एकछिन बसेर ज्वाइँको सिम मागेर कपिलवस्तुको कृष्णनगर हुँदै म इन्डियातिर लागेँ । त्यसपछि मेरो अङ्कलको छोरा भाइ काठमाडौंमा पढ्दै गरेकोले उसँग आत्मसमर्पणको बारेमा केही सोधुपछ गरेँ । भाइले हुन्छ म बुझेर एकछिनपछि फोन गर्छु भन्यो । एकछिनपछि उसले दाइ कोहलपुर इलाका प्रहरी कार्यालयमा मेरो साथी इन्सपेक्टर छ । त्यहाँ गएर आत्मसमर्पण गर्दा राम्रो हुन्छ भनी सल्लाह दियो । कहाँ गएर आत्मसमर्पण गर्दा के कस्तो छुट हुन्छ भन्ने मलाई जानकारी थिएन । बोर्डरबाट प्रहरीको गाडी चढेर सिधै कोहलपुर इलाका प्रहरी कार्यालयमा आयौं । म इमान्दारसाथ आत्मसमर्पण गरेको मानिसलाई कोहलपुर प्रहरीले मलाई बसपार्कमा पक्रिएको भनेर झुट्टा समाचार जनमानसमा फैलाई पक्राउ गरेको भनी पक्राउ पुर्जी दिइयो । म आफूले आत्मसमर्पण गरेको मानिसलाई किन पक्राउ पुर्जी दिनुभयो भनी सोध्दा यो त्यतिकै लेखेको हो भन्नुभयो र ममाथि विश्वासघात भयो । यदि मैले लुक्न चाहेको भए नेपाल प्रहरीले धेरै समयसम्म पनि भेट्न सक्दैन थियो । किनकि म नेपालको बोर्डर पार गरी इन्डिया पुगिसकेको र त्यहाँको धेरै ठाउँ राम्ररी चिन्दथेँ साथै त्यहाँ मेरा आफन्तहरूसमेत धेरै जना हुनुहुन्छ । त्यहीँ लुकेर बस्न सक्थेँ । मलाई कोहलपुरबाट गाडीमार्फत नेपालगन्ज ल्याइयो । नेपालगन्जबाट काठमाडौं प्लेनमार्फत ल्याएपछि काठमाडौंबाट फेरि गाडीमार्फत ओखलढुङ्गा ल्याइएको हो । मैले प्रयोग गरेको चक्कुमा नारायण लेखिएको थियो । बरामद भई आएको चक्कुमा उक्त कुरा देखिँदैन र चक्कु पनि मेरो होइन जस्तो लाग्यो । अरू सामग्री मेरै हुन् भनी अभियुक्त संजितकुमार थापाले गरेको बयान ।
घटनास्थलमा प्रयोग गरेको चक्कु देखी
पाएँ । पूर्णरूपमा पहिले जस्तो देखिनँ तर बिँडको कलर, आकार मिलेकै हुँदा मैले प्रयोग गरेको चक्कु यही हुनुपर्छ भनी प्रतिवादी संजितकुमार थापाले मिति २०७५/६/९ मा गरेको ततिम्बा बयान ।
मैले आबेगमा आई उसको शरीरको कुन कुन भागमा प्रहार गरेँ मलाई याद भएन भन्दै मृतक सन्तोष कार्कीलाई चक्कु प्रहार गरी हत्या गरेकोमा प्रतिवादी संजितकुमार थापा साबित रहेको देखियो । वारदातस्थलमा बरामद भएको चक्कुलाई प्रतिवादीले सनाखत गरिदिएको देखियो । रूम्जाटार अस्पतालबाट मिति २०७५।०५।०६ मा भई आएको मृतक सन्तोष कार्कीको शव परीक्षण प्रतिवेदन (Autopsy Report) बाट मृतकको शरीरमा २२ ठाउँमा चक्कु प्रहारको चोट (Stab Wounds) रहेको भन्ने र मृतकको मृत्युको कारण: Sharp force injuries (stab wounds) to chest, abdomen and neck भन्ने उल्लेख भएकोसमेत तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी कसुरदार देखिएकोले पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी प्रतिवादी संजितकुमार थापालाई कानूनबमोजिम थुनुवा पुर्जी दिई मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा ६७ अनुसार पुर्पक्षका निमित्त थुनामा राख्न कारागार कार्यालय ओखलढुङ्गामा पठाइदिनु भनी सुरू जिल्ला अदालतबाट मिति २०७५/०६/०९ मा भएको थुनछेक आदेश ।
मृतकको विभिन्न भागमा धेरैवटा चोट भए पनि मृत्युको मुख्य कारण चाहिँ पेटमा भएको गम्भीर चोटबाट अधिक रक्तस्राव भएको, छातीमा फोक्सो बाहिर निस्केको र घाँटीमा भएको चोटको कारणबाट मृत्यु भएको हो भनी मृतक सन्तोष कार्कीको शव परीक्षण गर्ने डाक्टर सोनी गुरूङले सुरू अदालतमा गरेको बकपत्र ।
निज प्रतिवादीले सन्तोष कार्कीलाई धारिलो हतियार प्रयोग गरी निर्ममतापूर्वक कर्तव्य गरी मारेको हुँदा कानूनबमोजिमको कडा सजाय हुनुपर्छ भनी घटना विवरण कागज गर्ने मानिस दत्तसिंह कार्कीले सुरू अदालतमा गरेको बकपत्र ।
निज मृतकसँग कलेज पढ्दा साथीको सम्बन्ध थियो । प्रतिवादीले भने जस्तो यदि सन्तोष र मेरोबिचमा अवैध सम्बन्ध भएको भए उहाँले सन्तोष र मलाई सामुन्नेमा राखेर छलफल गर्नुपर्थ्यो । यदि सन्तोषले प्रतिवादीलाई प्रहार गरेको भए प्रतिकार गर्दा झुल तन्ना च्यातिनुपर्ने हो । त्यस्तो देखिएन भनी घटना विवरण कागज गर्ने मानिस रश्मी डंगोलले सुरू अदालतमा गरेको बकपत्र ।
म आफू होटल व्यवसायी भएकोले निज प्रतिवादी मेरो होटलमा आई एक रात बसेर जानुभएको हो । घटनाको बारेमा मलाई केही थाहा थिएन भन्ने बेहोराको घटना विवरण कागज गर्ने मानिस आशिष खतिवडाले सुरू अदालतमा गरेको बकपत्र ।
मेरो भाइ सन्तोष कार्की आफ्नै घरमा सुतिरहेको अवस्थामा मारिएको कुरा बहिनीबाट थाहा पाएको हुँ । उक्त घटना हुँदा म ३ घण्टाको दुरीमा थिएँ । जानकारी हुनासाथ मोटरसाइकलबाट आउँदा घरमा गाउँलेहरू जम्मा भइसकेका थिए । घरमा पुगी हेर्दा भाइ भुइँमा लडिरहेको अवस्थामा
थियो । म पुगेको केही समयपछि सुरक्षाकर्मीको टोली
आउनुभयो । घटनास्थल हेर्दा हत्या गरेको जस्तो देखिन्थ्यो । भोलिपल्ट सुरक्षाकर्मीले घटनास्थलनजिकै चप्पल, क्याप, चक्कु र सर्ट फेला पारेको हो । त्यसपछि भाइको हत्या भएको कुरा प्रमाणित भयो । प्रहरीले कानूनी प्रक्रिया पूरा गरेपछि लासको अन्तिम संस्कार गरियो । दशीको सामानका आधारमा अनुसन्धान गर्दै जाँदा प्रतिवादी संजितकुमार थापाले क्रूर यातना दिई निर्ममतापूर्वक हत्या गरेको कुरा पत्ता लागेपछि मिति २०७५/०५/०८ र मिति २०७५/०५/१३ मा जाहेरी दरखास्त दिएको हो । निज प्रतिवादीलाई कानूनबमोजिम सजाय होस् भनी जाहेरवाला रामबहादुर कार्कीले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीले आत्मरक्षाको लागि मात्र प्रहार गर्न खोजेको भए मृतकको शरीरको विभिन्न भागमा चोट पुर्याउनु हुँदैन थियो । घाइते बनाएर छोड्न सक्नुपर्थ्यो । त्यस्तो देखिँदैन । पूर्वयोजना बनाएर नै हत्या गर्नु भएकोले कानूनबमोजिमको सजाय हुनुपर्छ भनी घटना विवरण कागज गर्ने मानिस सीता कार्कीले सुरू अदालतमा गरेको बकपत्र ।
निज प्रतिवादीले विदेशबाट योजना बनाइ आएर तड्पाई तड्पाई क्रूर हत्या गरी मारेका
हुन् । निज प्रतिवादीले मेरो परिवार, उनको श्रीमतीको परिवार र आफ्नै परिवारको समेत उजाड बनाएका
छन् । मैले यो कुरा थाहा पाएको भए यो घटना हुन दिन्न थिएँ । त्यसैले निज प्रतिवादीलाई आजीवन काराबासको सजाय हुनुपर्छ भनी घटना विवरण कागज गर्ने मानिस जयबहादुर कार्कीले सुरू अदालतमा गरेको बकपत्र ।
निज प्रतिवादी र सन्तोषबिच झगडा भएको जस्तो देखिँदैन । यदि सम्झाउन मात्र जानुभएको भए साथमा खुकुरी चक्कु लिएर विदेशबाट आउनुपर्ने अवस्था थिएन । घटना हुँदा म आफू त्यहाँ
थिइनँ । योजना बनाएरै मृतकको हत्या गर्नुभएकोले कानूनबमोजिम सजाय हुनुपर्छ भनी घटना विवरण कागज गर्ने मानिस सबिता कार्कीले सुरू अदालतमा गरेको बकपत्र ।
निज प्रतिवादीले धारिलो हतियार प्रयोग गरी हत्या गरेकोले निजलाई अभियोग माग दाबीमोजिम सजाय हुनुपर्ने हो भनी घटना विवरण कागज गर्ने मानिस निशा सुनुवार र दिलमाया तामाङले सुरू अदालतमा गरेको बकपत्र ।
म घटनाको प्रत्यक्षदर्शी होइन । सुनेअनुसार प्रतिवादीले मृतकलाई मार्नुको मुख्य कारण निज प्रतिवादीको श्रीमती रश्मी डंगोलसँग मृतकको अनैतिक सम्बन्ध भएको र बारम्बार सुध्रन भनी सम्झाउँदा बुझाउँदा उल्टै विदेशबाट झिकाई ज्यान मार्ने धम्की पटकपटक फेसबुकबाट दिनु हो । दोहोरो भिडन्तको क्रममा आत्मरक्षाको लागि चक्कु प्रहार गर्दा मृतकको मृत्यु हुन गएको हो । त्यसैले निज प्रतिवादीलाई कमभन्दा कम सजाय गरी सजायमा छुट होस् । आजीवन काराबास नहोस् भनी प्रतिवादीका साक्षी हिमाल जि.सी.ले गरेको बकपत्र ।
सुरू अदालतबाट मिति २०७६/०२/०१ मा वादी नेपाल सरकारको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालयमार्फत र प्रतिवादीका तर्फबाट रहनुभएका विद्वान् अधिवक्ताबाट लिखित बहसनोट दाखिल गराई नियमानुसार पेस गर्नु भनी सुरू अदालतबाट भएको आदेशबमोजिम दुवै पक्षबाट पेस भएको लिखित बहसनोट सुरू मिसिल संलग्न रहेको ।
प्रतिवादी संजितकुमार थापाले मृतक सन्तोष कार्कीको हत्या गर्ने पूर्वयोजना बनाई धारिलो हतियार चक्कु र नाङ्गो खुकुरीसमेत साथमा लगी घरमा कोही नभएको मौका पारी सन्तोष कार्कीको घरमा गई निजको शरीरको विभिन्न भागमा पटक-पटक गरी २२ (बाइस) ठाउँमा धारिलो हतियार चक्कुले घोची, रोपी घटनास्थलमै हत्या गरेको भन्ने अभियोग दाबी पुष्टि हुन आयो । प्रतिवादीको उल्लिखित कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ को उपदफा (१) बमोजिमको कसुर भएकोले प्रतिवादी संजितकुमार थापालाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ को उपदफा (२) बमोजिम जन्मकैदको सजाय हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू ओखलढुङ्गा जिल्ला अदालतबाट मिति २०७६।०८।०२ मा भएको फैसला ।
जिल्ला अदालतले प्रतिवादीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७०(१) बमोजिमको कसुरदार कायम गरी सजाय गरेको हुँदा वारदातमा प्रतिवादीको संलग्नताको सम्बन्धमा थप विवेचना गरिरहन परेन । प्रतिवादी संजितकुमार थापाको श्रीमतीसँग मृतक सन्तोष कार्कीको सम्बन्ध भएको भन्ने आधारमा खुकुरी र चक्कुसमेत लिई मृतकको घरमा गएको भन्ने बयान बेहोराबाट देखिएको, १/२ पटककै प्रहारबाट मृतकको मृत्यु हुने हतियार खुकुरी हुँदाहुँदै पनि पटक / पटक चक्कु प्रहार गरी मृतकलाई क्रूर यातना दिई अमानवीय तवरबाट ज्यान मारेको तथ्य पुष्टि भएको, शव परीक्षण प्रतिवेदनमा देखिएका २२ वटा काटिएका चोटहरूसमेतबाट प्रतिवादीले मृतकलाई क्रूर यातना दिई ज्यान मारेको पुष्टि हुँदाहुँदै क्रूर यातना दिई ज्यान मारेकोतर्फ नबोली प्रतिवादीलाई कर्तव्य ज्यानतर्फ मात्र सजाय हुने ठहर गरी भएको सुरू फैसला त्रुटिपूर्ण रहेको हुँदा उक्त फैसला बदर गरी अभियोग मागदाबीबमोजिम नै प्रतिवादीलाई सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।
मेरी श्रीमतीसँग प्रतिवादीको के कस्तो सम्बन्ध हो भनी मृतक सन्तोष कार्कीको घरमा म बुझ्न जाँदा मृतक सन्तोष कार्कीले ममाथि उल्टै ज्यान मार्ने नियत लिई धारिलो हतियार प्रहार गरेको हुँदा मैले आत्मरक्षाको लागि प्रतिकार गर्दा मृतकको ज्यान गएको, मैले जीवन रक्षाको खातिर प्रहार गर्दा मृतकको ज्यान गएको हुँदा उक्त घटनालाई क्षम्य घटना मानी साथै उक्त घटनापश्चात् म आफैँले प्रहरीसमक्ष आत्मसमर्पण गरी न्याय सम्पादनमा सहयोग पुर्याएको हुँदा मलाई मुलुकी अपराध अपराध संहिता, २०७४ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ समेतले व्यवस्था गरेबमोजिम कानूनी आधार र सिद्धान्त लिई सुरू अदालतबाट भएको कैद सजायमा न्यूनतम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी संजितकुमार थापाको पुनरावेदनपत्र ।
यसमा सुरू ओखलढुङ्गा जिल्ला अदालतबाट मिति २०७६।०८।०२ मा भएको फैसलाउपर वादी नेपाल सरकार र प्रतिवादीसमेत दुवै पक्षको पुनरावेदन परेको देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) को प्रयोजनार्थ वादी/प्रतिवादी दुवैको पुनरावेदन एक अर्कालाई देखाई सुनाई यो आदेश र पुनरावेदनको जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने मिति २०७६।१०।२६ गते उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासबाट भएको आदेश ।
प्रतिवादीसँग खुकुरी हुँदाहुँदै खुकुरीभन्दा पनि निजले अधिकांशत: चक्कु प्रहार गरेको भन्ने देखिन्छ । प्रतिवादीले पनि सन्तोष कार्कीसँग छलफलको क्रममा झगडा भई लड्ने क्रममा चक्कु प्रयोग गरेको कुरालाई अस्वीकार गरेको पाइँदैन । The cause of death is sharp force injuries (stab wounds) to chest, abdomen and neck भन्ने मृतक सन्तोष कार्कीको शव परीक्षण प्रतिवेदनले समेत सन्तोष कार्कीको मृत्यु धारिलो हतियार चक्कुको प्रयोगबाट भएको कुरालाई नै स्थापित गरेको देखिन्छ । साथै प्रतिवादी र सन्तोष कार्की दुवै युवा अवस्थाका सवल रहेकाले निजहरूबिच दोहोरो भिडन्त भएको थियो भन्ने प्रतिवादीको भनाइ तथ्यगत रूपमा पुष्टि नभए पनि यी प्रतिवादीले एकतर्फी रूपमा क्रूरतापूर्वक नै मारेको थिए भन्ने वादी जिकिर आधारभूत प्रमाणको अभावमा विश्वासलायक मान्न सकिएन । त्यस्तै प्रतिवादीले सन्तोष कार्कीलाई मार्ने नियत थिएन बरू सम्झाउनेसम्मको उद्देश्य थियो भनी जिकिर लिएको देखिए तापनि निजले आफ्नो झोलामा खुकुरी र चक्कु जस्ता जोखिमी हतियारसमेत बोकेर गएको देखिएबाट विश्वसनीय मान्न मिल्ने देखिँदैन । सन्तोष कार्कीले पहिलेदेखि नै म प्रतिवादीलाई काट्छु मार्छु भनेकोले आफ्नो रक्षाका लागि खुकुरी र चक्कु साथमा बोकेर गएको थिएँ भन्ने भनाइ पनि युक्तियुक्त मान्न सकिने अवस्थाको देखिँदैन । साथै प्रतिवादीले आत्मसमर्पण गरेको थिए भनी लिएको जिकिर यी प्रतिवादीले आत्मसमर्पण गर्ने नियत भए वारदातस्थलबाट भागी जानुपर्ने अवस्था हुँदैनथ्यो । निजले यसै जिल्लामा आत्मसमर्पण गर्नुपर्ने हुन्थ्यो । यी प्रतिवादी मिति २०७५।०५।१३ गते बिहान १०:०० बजेको समयमा जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० बाट निज लुकीछिपी हिँडेको अवस्थामा पक्राउ परेको हो भन्ने प्रहरी प्रतिवेदनसमेतबाट देखिएको हुँदा प्रतिवादीले आत्मसमर्पण गरेको भनी लिएको पुनरावेदन जिकिरसमेत पुग्न सक्ने देखिन आएन । यी प्रतिवादीले नियतपूर्वक नै सन्तोष कार्कीलाई मारेको पुष्टि भएको आधारमा सुरू अदालतले प्रतिवादीलाई जन्मकैदको सजाय गरेको फैसला अन्यथा भन्न मिल्ने नदेखिएकोले सुरू ओखलखुङ्गा जिल्ला अदालतबाट मिति २०७६।०८।०२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासको मिति २०७७।०६।२८ को फैसला ।
मैले कुन परिस्थिति र परिबन्धबाट वारदात घटाएको भन्ने सम्बन्धमा सुरू अदालतको मिसिलबाट स्पष्ट भइराखेकै छ । कोही कसैको हत्या नै गर्छु भनी सोच विचार राखी मैले उक्त वारदातको अन्जाम दिएको होइन । उक्त वारदात म पुनरावेदकले नचाहँदा नचाहँदै पनि तत्कालीन परिस्थिति र घटनाक्रमले सिर्जना गराएकोसम्म हो । उक्त वारदातबाट मैले पूर्ण उन्मुक्ति पाउनुपर्दछ भनेर यसभन्दा अघि कहीँकतै जिकिर लिएको पनि छैन । अहिले पनि मेरो पुनरावेदन जिकिर सजायबाट पूर्ण रूपमा उन्मुक्ति पाउनुपर्दछ भन्ने पनि कदापि होइन । यदि मैले कसुरबाट बच्न चाहेको भए म मुलुक छोडेर भाग्न सक्थे । वारदातपश्चात् म भारतको बाटो हुँदै नेपाल जानुको साटो विदेश दुबई जान पनि सक्थेँ । कसुर गर्दाका प्रकृति र परिस्थितिअनुसार सजाय होस् भनेर नै म सार्वजनिक भएको थिएँ । कानूनको मर्म र भावनाअनुरूप मैले गरेको कसुरको पृष्टभूमि र परिस्थितिसमेतलाई विचार गरेर मलाई गरिएको सजायको मात्रा कम हुनुपर्दछ भन्नेसम्मको मेरो जिकिर रहेको छ । मैले आफूले गरेको कसुरलाई स्वीकार गर्दै अनुसन्धान अधिकारी र अदालतसमक्ष एउटै बेहोराको बयान दिएको छु । जसले गर्दा अनुसन्धान र न्याय निरूपणमा मैले सहयोग पुर्याएको भन्ने कुरा मिसिलबाट प्रस्ट छ । मलाई आफूले गरेको कार्यको पश्चाताप भएर आफूलाई सम्बन्धित अधिकारीसमक्ष आत्मसमर्पण गर्ने अठोटसहित मिति २०७५/५/१०१ मा फेसबुकमा स्टाटस राखी आफूले नै उक्त कसुर गरेको र कसुरबापत कानून सजाय भोग्न तयार रहेको जानकारी दिँदै उपयुक्त स्थानमा आत्मसमर्पण गर्ने बाचा गरेको थिएँ । सोही बाचाअनुरूप मैले मिति २०७५|५|१३| गते भारतको रूपैडिया हुँदै नेपाल आएर मेरो काकाको छोरा विकास थापासँग साथ लागी नेपालगन्ज हुँदै कोहलपुरको इलाका प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेको वास्तविकता बुझ्नेतर्फ अदालतहरूले कुनै चासो देखाउने र सो सम्बन्धमा बुझ्ने सामान्य चेष्टासम्म नगरी मलाई अधिकतम सजाय तोक्ने कार्य भएको छ । मलाई मेरो पूर्वयोजना बिना, आबेगमा आएर र अकस्मात गरेको कार्यअनुरूप सजाय नगरी सजायसम्बन्धी कानून व्यवस्था र सिद्धान्तसमेतको विपरीत कठोर सजाय गर्ने गरी फैसलाहरू गरिएका छन् जो बिल्कुलै त्रुटिपूर्ण र कानून र न्यायको मर्म र भावनासमेतको विपरीतको भएको हुँदा र आफूले आत्मरक्षाको लागि प्रहार गर्दा सन्तोष कार्कीको मृत्यु भएको आफूले अनुसन्धान र अदालतलाई न्याय निरूपण गर्ने कार्यमा सहयोग गरेको हुँदा घटी सजाय हुने गरी फैसला गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी संजितकुमार थापाको
पुनरावेदनपत्र ।
प्रतिवादीले मृतक सन्तोष कार्कीको हत्याको लागि दुबईदेखि योजना बनाई हत्या गरी घटनास्थलबाट फरार भई आफ्नो फेसबुक स्टाटसबाट हत्या गरेको स्वीकार गरी भारततर्फ भाग्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बाँकेद्वारा पक्राउ परेको हुँदा प्रतिवादीको क्रूरता उसको गतिविधिबाट नै प्रमाणित भएको अवस्था रहेको, मृतकको भेष्टको पछाडि १० ठाउँमा काटी छियाछिया भएको अवस्था छ भने निज मृतकको अनुहारमा २ वटा, गर्धनमा १ वटा, छातीमा ३ वटा, हातमा ५ वटा, ढाडमा १० वटा, खुट्टामा १ वटा गरी जम्मा २२ वटा काटिएका चोटहरू रहेको भन्ने बेहोराको मृतकको लास जाँच एवं घटनास्थल मुचुल्कालाई मृतकको शव परीक्षण प्रतिवेदन र मिसिल संलग्न मृतकको फोटोहरूले समर्थित गरेको अवस्था छ । धारिलो हतियारको एक प्रहारबाट नै मानिस मर्न सक्ने प्रचुर सम्भावना हुनेमा माया, ममता, मानवीयता धैर्यता जस्ता पक्षहरूको एकरति पनि हेक्का नराखी पशुजन्य व्यवहारको प्रदर्शन गरी ज्यान मार्ने नियतभन्दा माथिको क्रियाकलाप देखाई मृतकलाई आत्मरक्षा गर्न सक्ने अवस्थाको सिर्जनासमेत हुन नदिई मृतकको फोक्सोसमेत बाहिर निस्किने गरी तड्पाइ तड्पाइ २२ ठाउँमा प्रहार गरी मृतकलाई प्रतिवादीले मारेको देखिएबाट निज प्रतिवादीको उल्लिखित कार्य क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको प्रस्ट रूपमा देखिँदादेखिँदै सोतर्फ नजरअन्दाज गरी भएको प्रस्तुत फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबमोजिम प्रतिवादीलाई सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनपत्रसहितको मिसिल संलग्न कागज प्रमाणको अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री श्यामप्रसाद दाहालले खुकुरीसमेत साथै राखेर मृतकको घरमा गई पटक / पटक धारिलो हतियार चक्कुले प्रहार गरी क्रूरतापूर्वक यातना दिई हत्या गरेको तथ्य प्रतिवादीको अनुसन्धान अधिकारीसमक्षको बयान तथा निजको अदालतमा भएको बयानसमेतबाट पुष्टि भएको छ । मिसिल संलग्न प्रमाणहरूसमेतबाट प्रतिवादीको साबिती बयान पुष्टि भएकोले निज प्रतिवादीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ को खण्ड (क) बमोजिमको कसुरमा आजीवन कैद सजाय गरिनुपर्नेमा क्रूरतापूर्वक हत्या गरेको भन्ने कुरा विश्वसनीय नभएको भन्दै जन्मकैदको सजाय गरेको सुरू फैसला सदर गर्ने गरी भएको उच्च अदालत विराटनगर, ओखलढुङ्गा इजलासको फैसला त्रुटिपूर्ण हुँदा प्रत्यर्थी झिकाई प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने भनी बहस प्रस्तुत गर्नुभयो ।
पुनरावेदक प्रतिवादी संजितकुमार थापाको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री लोकेन्द्रबहादुर ओलीले प्रतिवादीको श्रीमतीसँग मृतक सन्तोष कार्कीको नाजायज सम्बन्ध रहेको आशंका लागी सो सम्बन्धमा सत्य तथ्य बुझ्न मृतकको घरमा जाँदा मृतक सन्तोष कार्कीसँग कुराकानीको क्रममा निज मृतकले नै प्रतिवादीलाई ज्यान मार्ने नियतले धारिलो हतियार प्रहार गर्दा औंलामा चोट लागेपछि प्रतिवादीले आत्मरक्षाको लागि प्रतिकार गर्दा दोहोरो झडपमा सन्तोष कार्कीको ज्यान गएको हो । निजको ज्यान गएपछि घटनास्थलबाट टाढा पुगिसकेको र कसैले थाहा नपाएको अवस्थामा स्वयं प्रतिवादीले कसुर कबुल गरी न्याय सम्पादनमा सहयोग पुर्याएको हुँदा मुलुकी अपराध संहिता, २०७४ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ ले व्यवस्था गरेका कानूनी व्यवस्था र सिद्धान्तहरूसमेतका आधारमा प्रतिवादीलाई न्यूनतम सजाय गरिनुपर्नेमा सोतर्फ समुचित विचार नगरी सुरू अदालतले प्रतिवादीलाई जन्मकैदको सजाय गरेको फैसला सदर गर्ने गरी उच्च अदालत विराटनगर, ओखलढुङ्गा इजलासको फैसला त्रुटिपूर्ण हुँदा प्रत्यर्थी झिकाई पुनरावेदन जिकिरबमोजिम फैसला हुनुपर्ने भनी बहस प्रस्तुत गर्नुभयो ।
उपर्युक्तबमोजिमको तथ्य र बहस जिकिर भएको प्रस्तुत मुद्दामा उच्च अदालत विराटनगर, ओखलढुङ्गा इजलासको फैसला मिलेको छ वा छैन र वादी प्रतिवादीको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के रहेछ सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
निर्णयतर्फ विचार गर्दा, घटनास्थल लास जाँच मुचुल्का, रेखा चित्रण, खानतलासी तथा बरामदी मुचुल्का, मृतकको पोष्टमार्टम प्रतिवेदन, किटानी जाहेरी दरखास्त, प्रतिवादीको साबिती बयान, मानिस सनाखत कागजसमेतबाट प्रतिवादी संजितकुमार थापाले क्रूरतापूर्वक ज्यान मारी मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ को उपदफा (१) र दफा ४१ को खण्ड (क) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निज प्रतिवादीलाई सोही ऐनको दफा १७७ को उपदफा (२) र दफा ४१ बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको अभियोग मागदाबी भएको प्रस्तुत मुद्दामा प्रतिवादीलाई जन्मकैदको सजाय गरेको सुरू फैसला सदर गर्ने गरी उच्च अदालत विराटनगर, ओखलढुङ्गा इजलासबाट मिति २०७७।०६।१८ मा भएको फैसलाउपर चित्त नबुझाई वादी र प्रतिवादी दुवै पक्षको यस अदालतमा पुनरावेदन पर्न आएको
देखियो ।
पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदनमा प्रतिवादी संचितकुमार थापाले मृतक सन्तोष कार्कीलाई कर्तव्य गर्ने योजना बनाई कर्तव्य गरी घटनास्थलबाट फरार भई भारततर्फ भाग्दै गर्दा प्रहरीद्वारा पक्राउ परेको अवस्था छ । मृतकको शरीरमा २२ वटा काटिएका घाउ चोटहरू रहेको भन्ने मृतकको लासजाँच एवं घटनास्थल मुचुल्का शव परीक्षण प्रतिवेदनबाट देखिएबाट निजले क्रूर यातना दिई ज्यान मारेको भन्ने पुष्टि भइरहेको अवस्थामा अभियोग दाबीबमोजिम सजाय गर्नुपर्नेमा निर्ममतापूर्वक ज्यान मारेको तर्फ नजरअन्दाज गरी जन्मकैदको सजाय गरेको सुरू फैसला सदर गर्ने गरी उच्च अदालत विराटनगर, ओखलढुङ्गा इजलासबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी जिकिर लिएको देखिन्छ । त्यस्तै पुनरावेदक प्रतिवादीको पुनरावेदन हेर्दा मैले कुन परिस्थिति र परिबन्धबाट वारदात घटाएको भन्ने सम्बन्धमा सुरू अदालत र उच्च अदालतको फैसलामा विवेचना गरेको अवस्था छैन । सजायबाट पूर्ण रूपमा उन्मुक्ति पाउनुपर्दछ भन्ने मेरो जिकिर पनि होइन । मृतकलाई मार्ने मेरो मनसाय थिएन । मेरो श्रीमती र मृतकको नाजायज सम्बन्ध रहेको बुझिएकोले निजलाई सम्झाउने उद्देश्यले निजको घर गएकोमा निजले मलाई एक्कासि हतियारले आक्रमण गर्दा आत्मरक्षाको लागि चक्कु प्रहार गर्दा निजको मृत्यु भएको हो । मैले अनुसन्धान र अदालतमा समेत सत्य तथ्य बयान गरी न्यायिक प्रक्रियामा सहयोग पुर्याएको छु । घटना घटेपश्चात् प्रहरीमा आफैँ हाजिर हुन गएको अवस्था छ । यस अवस्थामा मलाई न्यूनतम सजाय गर्नुपर्नेमा अधिकतम सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा न्यूनतम सजाय गर्ने गरी फैसला गरिपाउँ भनी जिकिर लिएको देखियो ।
२. सो सन्दर्भमा विचार गर्दा, मिति २०७५।०५।०५ गतेका दिन मृतक सन्तोष कार्की एक्लै घरमा बसेको मौका पारी प्रतिवादी संजितकुमार थापाले पटकपटक चक्कु प्रहार गरी सन्तोष कार्कीलाई कर्तव्य गरी मारेको भन्ने रामबहादुर कार्कीको किटानी जाहेरीबाट प्रस्तुत मुद्दाको अनुसन्धान तहकिकात भएको देखिन्छ । जिल्ला ओखलढुङ्गा, मोलुङ गाउँपालिका वडा नं ३ स्थित मृतकको आफ्नै घरको भुइँतलामा दुईवटा कोठा रहेका, पश्चिमतर्फको कोठाको बाहिर बरन्डाको भुइँमा तथा गारोमा रगतको छिटाहरू देखिएको, कोठाको उत्तरतर्फको मूल ढोकाबाट भित्र मृतकको टाउको उत्तर पश्चिम, खुट्टा पूर्व दक्षिण, अनुहार पूर्वतर्फ फर्किएको, दाहिने हात सिधा भुइँमा, बायाँ हात कुहिनाबाट खुम्ची टाउकोतर्फ रहेको, मृतकको अनुहार, गर्धन, छाती, हात, ढाड, खुट्टासमेतमा २२ वटा साना ठुला काटिएका चोटहरू रहेको भन्ने लासजाँच तथा घटनास्थल मुचुल्का रहेको देखिन्छ । मृतकको शव परीक्षण प्रतिवेदन हेर्दा The cause of death is sharp force injuries (stab wounds) to chest, abdomen and neck भनी उल्लेख भएको देखिएबाट मृतक सन्तोष कार्कीको मृत्यु कर्तव्यबाट भएको भन्ने तथ्यमा विवाद देखिएन ।
३. अब यी प्रतिवादीको वारदातमा संलग्नता रहे नरहेको सम्बन्धमा हेर्दा, मिति २०७५।०५।०५ गतेका दिन यी प्रतिवादी संजितकुमार थापाले सन्तोष कार्की घरमा एक्लै रहे बसेको अवस्थामा धारिलो हतियार चक्कुले शरीरको विभिन्न भागमा प्रहार गरी घटनास्थलमा नै कर्तव्य गरी मारेको भन्ने रामबहादुर कार्कीले मौकामा किटानी जाहेरी दरखास्त दिएको देखिन्छ । जाहेरी बेहोरालाई समर्थन हुने गरी निज जाहेरवालाले अदालतमा उपस्थित भई बकपत्रसमेत गरेको देखिन्छ । प्रतिवादीले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मेरो श्रीमती रश्मी डंगोल र सन्तोष कार्कीबिच नाजायज सम्बन्ध रहेको थाहा पाएपछि सन्तोष कार्कीलाई पटकपटक सम्झाएको थिएँ । मैले सम्झाउँदा निजले मलाई उल्टै ज्यान मार्ने धम्की दिएका थिए । यसै क्रममा दुबईबाट फर्किएपछि यस विषयमा सन्तोष कार्कीसँग कुरा गर्ने उद्देश्यले मिति २०७५।०५।०४ गतेका दिन ओखलढुङ्गा जिल्लास्थित रामपुर भन्ने ठाउँमा बास बसी भोलिपल्ट मिति २०७५।०५।०५ गतेका दिन गाउँघरका मानिसहरूसँग सोधखोज गर्दै सन्तोष कार्कीको घरमा पुगेको हो । यसरी सन्तोष कार्कीको घरमा पुगी हेर्दा निज आफ्नो कोठामा सुतिरहेको देखी बोलाई बिउँझाई तिमीसँग केही कुरा गर्नुछ भन्ने बित्तिकै निजले के कुन हतियारले मलाई प्रहार गर्दा मेरो दाहिने हातको कान्छी औंलामा गहिरो चोट लागी रगत बग्न थालेकोले मैले पनि साथमा रहेको चक्कु झिकी आत्मरक्षाको लागि प्रहार गरेको हो । सन्तोष कार्की र मेरोबिचमा घरको कोठाभित्र र बाहिर लामो समयसम्म भिडन्त भएको हो । बाहिरबाट लडाइँ गर्दै कोठाभित्र पुगेपछि सन्तोष कार्कीले मेरो छातीमा दुवै हातले समातेपछि मैले निजको पछाडि ढाडमा चक्कुले अन्धाधुन्ध प्रहार गरेपछि निज भुइँमा ढलेका हुन् । पछि सन्तोष कार्कीलाई हेर्दा मरेको जस्तो लागेकोले आफू त्यहाँबाट जंगलको बाटो हुँदै भागेको हो भनी आरोपित कसुरमा साबित भई बयान गरेको देखिन्छ । त्यस्तै निजले अदालतमा उपस्थित भई बयान गर्दासमेत सोही बेहोरा उल्लेख गरी बयान गरेको देखिन्छ । मृतक र प्रतिवादीबिच दोहोरो भिडन्त भएको भन्ने कुरा प्रतिवादी स्वयम्ले स्वीकार गरेका छन् । घटनास्थल मुचुल्कामा कोठाभित्र र बाहिर बरन्डामा पनि रगत लागेको देखिनु र मृतकको शरीरमा यत्रतत्र चोट लाग्नुले पनि निजहरूबिच दोहोरो भिडन्त भएको भनी भन्न सकिने अवस्था देखिन्छ ।
४. घटनास्थलभन्दा केही पर फेला परेको रगत लागेको चक्कु, सर्ट, चप्पल, क्याप र प्रतिवादी बास बसेको होटलबाट बरामद भएको झोला, सिमकार्ड, जुत्तालगायतका सरसामानहरू आफ्नो भएको भनी यी प्रतिवादीले सनाखत गरेको देखिन्छ भने प्रतिवादी बास बसेको होटलको साहुनी दिलमाया तामाङलाई मानिस सनाखत गराउँदा मिति २०७५।०५।०४ गते राति मेरो होटलमा बास बस्ने यिनै व्यक्ति हुन् भनी सनाखत गरेको देखिन्छ । बरामद भएको रगत लागेको चक्कु परीक्षण गराउँदा चक्कुमा लागेको रगत मानव रगत हो भन्ने केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाबाट प्रतिवेदन प्राप्त भएको अवस्था छ । जाहेरवालालगायत मौका अनुसन्धानमा कागज गर्ने मानिसहरूले अदालतमा उपस्थित भई बकपत्र गर्दा यिनै प्रतिवादीको कर्तव्यबाट मृतकको मृत्यु भएको भनी लेखाइदिएको देखिन्छ । वारदातपश्चात् प्रतिवादी स्वयम्ले आफूलाई दुःख दिने सन्तोष कार्कीलाई दण्ड स्वरूप आफूले कर्तव्य गरी ज्यान मारेको कुरा स्वीकार गरी आफ्नो फेसबुक पेजमा स्टाटस राखेको देखिएको छ । मृतकको शव परीक्षण प्रतिवेदनमा The cause of death is sharp force injuries (stab wounds) to chest, abdomen and neck भनी उल्लेख भएको पाइन्छ । यसरी प्रतिवादीउपरको किटानी जाहेरी, सो जाहेरी दरखास्तलाई समर्थन गर्ने घटनास्थल तथा लास जाँच मुचुल्का, मौका अनुसन्धानमा कागज गर्ने मानिसहरूको कागज बेहोरा, प्रतिवादीको अनुसन्धान र अदालतसमक्षको साबिती बयान, शव परीक्षण प्रतिवेदन, दशी तथा मानिस सनाखत कागजसमेतका सङ्कलित प्रत्यक्ष वा परिस्थितिजन्य प्रमाणहरूको मालाकार कडीबाट यी प्रतिवादी संजितकुमार थापाको कर्तव्यबाटै मृतक सन्तोष कार्कीको मृत्यु भएको भन्ने पुष्टि हुन आयो ।
५. प्रतिवादी संजितकुमार थापालाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७(२) बमोजिम जन्मकैदको सजाय गरेको सुरू जिल्ला अदालतको फैसला पुनरावेदन तहबाट सदर भएको देखिन्छ । वादी नेपाल सरकारको पुनरावेदन हेर्दा प्रतिवादीले क्रूर यातना दिई निर्ममतापूर्वक ज्यान मारेको अवस्था छ, मृतकको शरीरमा २२ वटा साना ठुला चोटहरू रहेको कुरा लास जाँच मुचुल्काबाट देखिएको छ । यसरी चक्कुद्वारा पटकपटक प्रहार गरी निर्ममतापूर्वक कर्तव्य गरेको देखिँदा प्रतिवादीलाई मुलुकी अपराध संहिताको दफा ४१ बमोजिम मृतक सन्तोष कार्कीलाई क्रूरतापूर्वक यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको कसुरमा जीवित रहेसम्म कैद सजाय गर्नुपर्नेमा जन्मकैद मात्र गरेको फैसला त्रुटिपूर्ण छ भनी जिकिर लिएको
देखियो । सो सम्बन्धमा हेर्दा कस्तो / कस्तो कार्य गरी कर्तव्य गरेमा “क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको” मान्नुपर्ने भन्ने सम्बन्धमा प्रचलित कानूनमा स्पष्ट परिभाषा गरेको देखिएन । “क्रूर” शब्दको अर्थ निर्दयी र यातना शब्दको अर्थ “कष्ट पीडा” भन्ने हुन्छ । सामान्यतयाः निर्दयतापूर्वक कसैले कसैलाई हारगुहार र भाग्न उम्कनसमेत नपाउने गरी पूर्णरूपमा आफ्नो नियन्त्रणमा लिई जोखिमी हतियारले हानी, घोची, रोपी, करेन्ट लगाई, तेजाव खन्याई, आगो लगाई, विष खुवाई, मृतकलाई मानसिक पीडा पुग्ने काल्पनिक झुठा कुरा सुनाइ वा अरू कुनै तरिकाबाट मृतकलाई शारीरिक वा मानसिक रूपमा पीडा पुर्याई कुनै व्यक्तिलाई मार्नुअघि वा पछि शरीरका विभिन्न अङ्ग वा भागहरू छुट्याई टुक्रा पारी पासविक ढङ्गले उल्लिखित कुनै वा सबै कार्य गरी निर्ममतापूर्वक ज्यान मारेमा “क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको” भनी मान्नुपर्ने
हुन्छ । प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा ४१(क) मा क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको कसुरमा प्रतिवादीलाई जीवित रहेसम्म कैद सजाय गर्नुपर्ने भन्नेसम्म उल्लेख भएको देखिए पनि यो यस्तो कार्य गरी ज्यान मारेमा “क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको” हुन्छ भनी उल्लेख भएको देखिँदैन । “फिरौती लिने योजना बनाई VOW म्यागजिनको लागि अन्तरवार्तामा छानिएको भनी गफलत र झुक्यानमा पारी अपहरण गरी पुतलीसडकबाट ट्याक्सीमा राखी प्रतिवादी बिरेन श्रेष्ठको डेरा वारदात स्थलमा पुर्याई कफी र स्लाइसमा लठ्याउने औषधी राखी खान दिई निद्रा लागेको अवस्थामा डोरीले हात खुट्टा बाँधी मुखमा टेप लगाउँदा मृतक कराउन खोज्दा फलामको रडले टाउकोमा प्रहार गरी बल प्रयोग गरी मृतक ख्याति श्रेष्ठलाई मारिसकेपश्चात् अपराधबाट बच्न मृत लासलाई टुक्राटुक्रा पारी हात खुट्टा, टाउको अलगअलग छुट्याई विभिन्न ठाउँमा फालेको कार्यलाई क्रूर यातना दिई ज्यान मारेको” भनी यस अदालतबाट व्याख्या भएको पाइन्छ । यसबाट कसुरदारले कसैको हत्या गरिसकेपछि गरिने हिंस्रक प्रकृतिको आपराधिक क्रियाकलापले पनि त्यस्तो अपराध क्रूर अमानवीय हो वा होइन भन्ने कुरा निर्धारण हुने देखिन्छ । कसैको मृत्यु क्रूर यातनाबाट वा निर्ममतापूर्वक भएको हो होइन भनी छुट्याउन मृतकको शरीरमा लागेको घाउचोटको संख्याको आधारमा मात्र नभई अपराध गर्ने व्यक्तिले हिंसात्मक रूपमा र क्रूरतापूर्वक ज्यान मार्ने मनसाय राखी सोअनुसारको क्रियाकलाप गरेको छ वा छैन भन्ने कुरा हेर्नुपर्ने देखिन्छ ।
६. वस्तुतः मनसायप्रेरित हत्या एक गम्भीर अपराध हो । तर चरम क्रूरतासहित गरिएको हत्याले एक अत्यन्त खतरनाक स्थितिको उजागर
गर्दछ । क्रूरतापूर्वक वा निर्ममतापूर्वक गरिएको हत्याले पीडितलाई पीडा दिने मात्र नभई समाजलाई नै त्रसित र आतङ्कित बनाएको हुन्छ । कुनै कसुरदारले चरम क्रूरता वा निर्ममतापूर्वक हत्या गर्ने योजना बनाएको थियो वा थिएन भन्ने कुरा अपराधको परिणाम र कसुरदारको उत्तेजक अवस्थालाई सुषुप्त रहेको वा प्रकट भएको अवस्थामा थियो भन्ने कुरालाई विशेष ध्यान दिई निर्क्यौल गर्नुपर्ने हुन्छ । मृतकलाई जिउँदै जलाउने, शरीरमा भएका घाउहरूमा प्रहार गर्ने, पीडितका आफन्तहरूलाई नैतिक क्षति पुर्याउने, पानीमा डुबाउने, पीडितको नजिकका आफन्तहरूको उपस्थितिमा हत्या गर्ने जस्ता कार्य क्रूर वा निर्ममतापूर्वक हत्याका उदाहरण हुन
सक्छन । मृतकको शरीरमा लागेको घाउचोटको संख्याको आधारमा मात्र क्रूर हत्या हो भनी भन्न सकिने अवस्था हुँदैन । सामान्यतयाः मृतकको नजिकका नाता सम्बन्धका आमा वा श्रीमतीलगायतको आँखाअगाडि छुरा जस्तो धारिलो हतियार प्रहार गरेर वा अन्य कुनै तरिकाबाट एकै चोटमा प्रहार गरी हत्या गरिएको छ भने पनि त्यस्तो हत्यालाई क्रूरता वा निर्ममतापूर्वक गरिएको हत्या भनी मान्न सकिन्छ । यथार्थमा कसुरदारको क्रूरता वा निर्ममतापूर्वक कसुर गर्ने मनसायको उपल्लो हद देखिने गरी गरिएको हत्यालाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१(क) को अवस्था र सजाय हुने परिस्थितिको रूपमा हेरिनुपर्दछ ।
७. भारतीय सर्वोच्च अदालतले Macchi v. State of Punjab भएको मुद्दामा पनि कस्तो कस्तो कार्य गरी ज्यान मारेमा क्रूर यातना दिई निर्ममतापूर्वक ज्यान मारेको भनी मान्नुपर्ने भन्ने सम्बन्धमा व्याख्या गरेको पाइन्छ । When the murder is committed in an extreme brutal, ridiculous, diabolical, revolting, or reprehensible manner so as to awaken intense and extreme indignation of the community:
When the victim’s house is set on fire with the intention to bake him alive,
When the victim is tortured to inhuman acts in order to bring about his/her death,
When the body of the victim is mutilated or cut in pieces in a brutal manner,
When total depravity and cruelty are the motives behind a murder.
When the proportion of the crime is massive, for instance, in cases of multiple murders,
When the murdered victim is an innocent child, a helpless woman or person (due to old age or infirmity), a public figure, etc”. भनी उल्लेख भएको देखियो । यसबाट क्रूरतापूर्ण ढङ्गले हत्या गर्ने उद्देश्य राखी समाजले कुनै पनि रूपमा स्वीकार गर्न नसक्ने गरी मानिसलाई भाग्न उम्कन नदिई घरमा आगो लगाई जिउँदै जलाउने, नियन्त्रणमा लिई अमानवीय तरिकाले यातना दिई हत्या गर्ने, शरीरका अङ्गहरू काटी छिनाली, पीडा दिई हत्या गर्ने, मनसायपूर्वक एकभन्दा बढी व्यक्तिहरूको विभत्स हत्या गर्ने वा निर्दोष बालक, महिला, वृद्ध वा कुनै त्यस्तै अवस्थामा रहेको व्यक्तिलाई निर्ममतापूर्वक गरिएको हत्या जस्ता कार्यलाई क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको भनी मान्नुपर्ने देखिन्छ ।
८. प्रस्तुत मुद्दाको सन्दर्भमा हेर्दा, यी प्रतिवादी संजितकुमार थापा मृतक सन्तोष कार्कीको घरमा पुगी निजलाई बोलाई केही कुरा गर्नुछ भन्दा मृतकले नै प्रतिवादीलाई पहिले प्रहार गरी घाइते बनाएको भन्ने प्रतिवादीको बयानबाट खुलेको छ । निजको सो भनाइ सङ्कलित प्रमाणबाट खण्डित भएको देखिँदैन । मृतक र प्रतिवादीबिच लामो समयसम्म कोठाभित्र र कोठा बाहिरसमेत दोहोरो भिडन्त भएको भन्ने देखिन्छ । जुन कुरा घरको कोठा बाहिर बरन्डामा र गारोमा रगतका छिटाहरू देखिएको भन्ने घटनास्थल मुचुल्काबाट पुष्टि हुन्छ । दुईजना वयस्क पुरूष दोहोरो भिडन्त गर्ने क्रममा यी प्रतिवादीले आफ्नो साथमा भएको चक्कु निकाली मृतकलाई यत्रतत्र पटकपटक प्रहार गर्दा मृतकको शरीरमा साना ठुला गरी २२ वटा चोट लागेको भन्ने लासजाँच मुचुल्का तथा शव परीक्षण प्रतिवेदनबाट देखिएको छ । मृतकलाई हारगुहार गर्न र भागी उम्की जान पाउने अवस्था नभए नरहेको भन्ने
देखिँदैन । दिउँसोको समयमा गाउँ घर तथा बाटो घाटोमा मानिसहरूको आवागमन भइरहेको अवस्थामा वारदात भएको देखिन्छ । मृतकका परिवारका सदस्यहरू घरमा नभएको मौका छोपी निर्ममतापूर्वक ज्यान मारेको भनी जिकिर लिएको देखिए पनि यी प्रतिवादी मृतकको गाउँ घरसँग बिल्कुलै अपरिचित व्यक्ति हुन् र पहिलो पटक मृतकको घरमा गएको भन्ने देखिन्छ । मृतकको परिवारमा को-को छन् र ती व्यक्तिहरू घरमा छन् वा छैनन् भन्ने सम्बन्धमा यी प्रतिवादी अन्जान रहेको देखिन्छ । मृतक सन्तोष कार्की पनि घरमा भए नभएको सम्बन्धमा प्रतिवादीलाई हेक्का रहेको देखिँदैन । “प्रतिवादीले अनुसन्धान र अदालतसमक्ष गरेको बयानमा र आफ्नो फेसबुक स्टाटसमा समेत आफूले मृतकको घरमा पुगी निजलाई सम्झाउन खोजेकोमा मृतकले आफूलाई के कुन हतियारले प्रहार गरेपछि आत्मरक्षाको लागि आवश्यकताभन्दा बढी आफूले प्रहार गरी निजलाई दण्ड दिएको भनी उल्लेख गरेको देखिँदा प्रतिवादीको मनसाय मृतकलाई मारिहाल्ने भन्दा पनि सम्झाउने र आवश्यक परे प्रहार गर्ने भन्ने मनसायले हतियारसमेतको बन्दोबस्त गरी वारदात स्थलमा पुगेको देखिन्छ” । प्रस्तुत मुद्दाका मिसिल संलग्न तथ्य प्रमाणहरूबाट मुद्दामा सजाय घटाउन नमिल्ने उच्चतम तहको उत्तेजक तत्त्वहरू विद्यमानता भए पनि घरमा कोही नभएको मौका छोपी क्रूरता वा निर्ममतापूर्वक गरिएको कर्तव्य भनी मुलुकी अपराध संहिता, २०७४ को दफा ४१(क) का तत्त्वहरू विद्यमान भई जीवित रहेसम्म कैदमा बस्नुपर्ने जस्तो उच्च तहको कसुर गरी ज्यान मारेको भनी भन्न मिल्ने अवस्थाको विद्यमानता देखिँदैन ।
९. प्रस्तुत मुद्दामा घटनाको प्रत्यक्षदर्शी कुनै व्यक्ति रहे भएको भन्ने देखिँदैन । प्रतिवादी स्वयंको अनुसन्धान र अदालतसमक्षको साबिती बयानको आधारमा सजाय निर्धारण भएको पाइन्छ । प्रतिवादीले मृतकलाई कोठामा निदाइरहेको अवस्थामा फेला पारे पनि निजलाई निन्द्राबाट बिउँझाई बोलाई कुरा गर्ने सन्दर्भमा दुवै जना आपसमा भिडन्त गरेको र तत्काल उत्पन्न परिस्थितिबाट यी प्रतिवादीले पटकपटक चक्कु प्रहार गर्दा मृतकको मृत्यु भएको अवस्था छ । दुवैजना परस्पर भिडन्त गर्दा आफ्नो हातमा भएको चक्कुले मृतकलाई कुन कुन ठाउँमा कतिपटक प्रहार गरेको भन्ने जानकारी प्रतिवादीलाई छैन । क्रूरतापूर्वक ज्यान मारेको कसुर कायम हुनको लागि कसुरदारले मृतकलाई धरपकड गरी भाग्ने उम्कने मौका नदिई पूर्णरूपमा आफ्नो नियन्त्रणमा लिई बाँधछाँद गरी शारीरिक वा मानसिक यातना दिई मृतकको ज्यान मारेको अवस्था हुनुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा दुवैजना परस्पर भिडन्त गर्दागर्दैको अवस्थामा पटकपटक चक्कु प्रहार भएको देखिन्छ । यसरी दोहोरो भिडन्त गर्दा मृतकको शरीरमा लागेको घाउचोटको संख्याको आधारमा मात्र “क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको” भनी भन्न सकिने अवस्था हुँदैन । बदलाको भावनाबाट प्रेरित भई हिंसात्मक वा क्रूरतापूर्वक ज्यान मार्ने उद्देश्यसमेत राखी जोखिमी हतियार प्रयोग गरी वा अन्य कुनै तरिकाबाट मृतकलाई शारीरिक वा मानसिक यातना दिई भाग्न उम्कन नदिई क्रूरतापूर्वक समाजले कुनै पनि रूपमा स्वीकार गर्न नसक्ने गरी ज्यान मारेको अवस्था भए त्यस्तो कार्यलाई क्रूरतापूर्वक गरिएको हत्या भनी भन्न सकिने अवस्था रहन्छ । प्रस्तुत मुद्दामा दोहोरो भिडन्तको क्रममा प्रतिवादीले मृतकलाई चक्कुले शरीरका विभिन्न अङ्गहरूमा प्रहार गर्दा सोही चोटहरूका कारण मृतकको ज्यान गएको देखिएबाट त्यस्तो कार्यलाई मुलुकी अपराध संहिताको दफा ४१(क) बमोजिम “क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको” कसुर ठहर गरी सजाय हुनुपर्ने भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर तर्कसङ्गत देखिएन ।
१०. अब प्रतिवादी संजितकुमार थापाको पुनरावेदन जिकिर सम्बन्धमा हेर्दा, निजले मृतकलाई मार्ने मेरो कुनै योजना र मनसाय थिएन । मेरो श्रीमती र मृतकबिचको नाजायज सम्बन्धको बारेमा वास्तविकता पत्ता लगाउन मृतकको घरमा गएको र मृतकसँग कुरा गर्न लाग्दा मृतकले आफूलाई हतियार प्रहार गरी घाइते बनाएको कारण दोहोरो भिडन्त भएको हो । भिडन्तको क्रममा मैले आवेशमा आई निजको शरीरका विभिन्न अङ्गहरूमा चक्कु प्रहार गर्दा मृतकको मृत्यु भएको हो । मैले अनुसन्धान अधिकारी र अदालतमा समेत कसुर स्वीकार गरी न्याय निरूपणमा सहयोग गरेको छु । यस अवस्थामा आफूलाई भएको सजाय चर्को परेकोले कानूनबमोजिम न्यूनतम सजाय गरिपाउँ भनी जिकिर लिएको देखिन्छ । यी प्रतिवादी संजितकुमार थापा वैदेशिक रोजगारको लागि दुबईमा रहँदा आफ्नो श्रीमती र मृतक सन्तोष कार्कीबिच नाजायज सम्बन्ध रहेको थाहा पाई यी प्रतिवादीले फेसबुक तथा म्यासेन्जरबाट कुराकानी गर्दा सन्तोष कार्कीले ज्यान मारिदिने धम्कीसमेत दिने गरेका थिए भनी आफ्नो बयानमा उल्लेख गरेको देखिन्छ । यसबाट मृतक र प्रतिवादीबिच पूर्वरिसइवी रहेको भन्ने
देखियो । दुबईबाट मिति २०७५।०४।३० गते नेपाल आई मिति २०७५।०५।०४ गतेका दिन यी प्रतिवादी मृतक सन्तोष कार्की रहे बसेको ओखलढुङ्गा जिल्ला स्थित रामपुर भन्ने ठाउँमा बास बसी भोलिपल्ट सन्तोष कार्कीको घरमा पुगेको भन्ने देखिएको छ । काठमाडौंबाट ओखलढुङ्गा जाने क्रममा यी प्रतिवादीले उदयपुरमा रू. २,४००।- मा भोजपुरे खुकुरी किनेको भन्ने कुरा स्वयंले स्वीकार गरेका छन् । मिति २०७५।०५।०५ गतेका दिन सन्तोष कार्कीको घर जाँदा आफू बास बसेको होटलमा आफ्नो झोला तथा लत्ताकपडा छाडी खुकुरी र चक्कु साथमा लिएर गएको देखिन्छ । सन्तोष कार्की मात्र घरमा रहेको अवस्थामा यी प्रतिवादी पुगेका र निजहरू दुवै जनाबिच लामो समयसम्म भिडन्त भएको भन्ने देखिएको छ । भिडन्तको क्रममा प्रतिवादीले आफ्नो साथमा रहेको धारिलो हतियार चक्कु झिकी मृतकलाई अन्धाधुन्ध प्रहार गरेको कारण सन्तोष कार्कीको घटनस्थलमै मृत्यु भएको अवस्था
छ । वारदातपश्चात् यी प्रतिवादीले आफूले प्रयोग गरेको हतियार तथा रगत लागेको लुगा कपडा फाली जंगलको बाटो हुँदै घटना स्थलबाट फरार भई लुकीछिपी विदेश भारत जान लागेको अवस्थामा मिति २०७५।०५।१३ गतेका दिन बाँके जिल्लाको नेपालगन्जबाट निजलाई प्रहरीले पक्राउ गरेको भन्ने देखिन्छ । आफू स्वयम्ले प्रहरीमा आत्मसमर्पण गरेको भनी प्रतिवादीले जिकिर लिए पनि लुकीछिपी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको भन्ने प्रहरी प्रतिवेदनबाट देखिएको छ । घटित भएको अपराधबाट भाग्ने उम्कने उद्देश्य नरहेको भए यी प्रतिवादीले अपराध घटित भएको क्षेत्राधिकारभित्रकै नजिकको प्रहरी कार्यालयमा आफूलाई समर्पण गर्न सक्नुपर्नेमा सो नगरी तत्काल घटनास्थलबाट फरार भई नेपालगन्ज पुगेको अवस्था देखिन्छ ।
११. यी प्रतिवादीले आत्मरक्षाको लागि प्रतिकार गर्दा मृतकको ज्यान गएको अवस्था हुँदा आफूलाई न्यूनतम सजाय हुनुपर्ने भनी जिकिर लिएको देखिन्छ । ज्यान लिनको लागि कसैले जोरजुलम गर्न लागेमा त्यस्तालाई पक्राउ गर्न वा हारगुहार गरी मद्दत माग्न नसकिने अवस्था भएमा र भागी उम्की ज्यान बचाउनसमेत फुर्सद नपाउने अवस्थामा आफूले केही नगरे ज्यान रहँदैन भन्ने विश्वास भई ज्यान बचाउनको लागि केही गर्दा जुलुमीको ज्यान मर्न गएको अवस्था भएमा आत्मरक्षाको सुविधा प्राप्त गर्न सकिने हुन्छ । प्रस्तुत मुद्दामा वारदातस्थलको कोठाभित्र र बाहिर बरन्डामा पनि रगत लागेको भन्ने देखिएको भनी घटनास्थल मुचुल्कामा उल्लेख भएबाट हारगुहार गरी मद्दत माग्न नसक्ने वा भागी उम्की ज्यान बचाउनसमेत फुर्सद नपाउने अवस्थाको विद्यमानता रहे भएको देखिँदैन । मृतक सन्तोष कार्कीलाई मार्नेसमेतको मनसायका साथ जोखिमी हतियारसहित यी प्रतिवादी मृतकको घर गएको अवस्था छ । मृतक र प्रतिवादी दुवैको भिडन्त हुँदा यी प्रतिवादीले मृतकलाई शरीरका विभिन्न अङ्गहरूमा चक्कु प्रहार गरेको कारणबाट मृतकको मृत्यु भएको देखिन्छ । प्रतिवादीले आत्मरक्षाको लागि प्रतिकार गर्दा मृतकको ज्यान मरेको भन्ने मिसिलबाट देखिँदैन ।
१२. प्रतिवादीले अनुसन्धान र अदालतमा समेत सत्य तथ्य बेहोराको बयान गरी न्यायिक प्रक्रियामा सहयोग पुर्याएकोले आफूलाई घटी सजाय हुनुपर्ने भनी जिकिर लिएको अवस्था देखिन्छ । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७क मा कम सजाय तोक्ने र राय पेस गर्ने शीर्षकको उपदफा (१) मा "प्रचलित कानूनबमोजिम जन्मकैद गर्नुपर्ने मुद्दाको अभियुक्तले कसुर गरेको कुरामा अदालतमा साबित भएको र मिसिल संलग्न प्रमाणबाट त्यस्तो साबिती साँचो देखिएमा निजलाई जन्मकैदको सजाय दिँदा त्यस्तो कसुर गर्दाको परिस्थितिलाई विचार गर्दा न्यायको रोहमा बढी पर्ने भई न्यायाधीशले घटी सजाय गर्न उपयुक्त देखेमा सोको कारण खुलाई रायसहितको फैसला गर्न सक्ने छ" भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । उल्लिखित कानूनी व्यवस्थाअनुसार कसुर गर्दाको अवस्था र परिस्थितिलाई विचार गर्दा कानूनबमोजिम सजाय गर्दा चर्को पर्न जाने देखिएमा न्यायाधीशले घटी सजाय गर्न सक्ने देखियो । यसरी सजाय घटाएर फैसला गर्दा प्रतिवादीले पूर्वरिसइवी राखी ज्यान मार्ने मनसायले योजना बनाई ज्यान मारेको हो वा होइन, अपराधको प्रकृति कस्तो छ, अपराधीको उमेर अवस्था र सामाजिक मनोविज्ञानलाई समेत ध्यानमा राखी निर्णय गर्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीले आफ्नो श्रीमतीसँग नाजायज सम्बन्ध राखेको भन्ने पूर्वरिसइवीबाट मृतकको ज्यान मार्नेसमेत मनसाय र योजना गरी मृतकको घरमा नै गएर धारिलो हतियार चक्कुले पटकपटक प्रहार गरी ज्यान मारी फरार भई लुकीछिपी विदेश भारत प्रवेश गर्न लागेको अवस्थामा प्रहरीद्वारा पक्राउ परेको अवस्था देखिएको छ । यस्तो अवस्थामा आफूले कसुर स्वीकार गरी न्यायिक प्रक्रियामा सहयोग पुर्याएको भन्ने आधारमा मात्र निजलाई घटी सजाय हुनुपर्ने भन्ने प्रतिवादीको पुनरावेदन जिकिर मनासिब देखिएन ।
१३. अर्कोतर्फ आफूले कसुर स्वीकार गरी अदालत र अनुसन्धानमा सहयोग गरेकोले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७क बमोजिमको सुविधा पाउनुपर्छ भनी दाबी गर्न पाउने प्रतिवादीको कानूनी अधिकार
होइन । यो विशुद्ध रूपमा मुद्दा हेर्ने न्यायाधीशको स्वविवेकीय अधिकारको विषय हो । अपराध गर्दाको अवस्था, परिस्थिति, प्रतिवादीको उमेर अवस्था, आर्थिक सामाजिक परिवेशसमेतको आधारमा प्रतिवादीलाई यस्तो सुविधा दिने वा नदिने कुराको निर्धारण हुँदै आएको छ । स्वविवेकीय अधिकार “न्यायकर्ताले इन्साफको रोहमा हेर्दा सबुत प्रमाणबाट दोषी देखिएको व्यक्तिलाई कानूनबमोजिमको सजाय गर्दा सजाय चर्को पर्ने चित्तले देखेको अवस्थामा शुद्ध विवेक Conscience प्रयोग गर्न दिएको कानूनसम्मत अवस्था हो । कानूनको यो सुविधा मुद्दाका पक्षले माग गरेको आधारमा दिने र माग नगरेको अवस्थामा नदिने भन्ने हुँदैन । कानूनले न्यायकर्तालाई गरेको यस प्रकारको विश्वासलाई सावधानीका साथ प्रयोग गर्नुपर्दछ । विवेक प्रयोग गर्ने पर्याप्त आधार हुनुपर्छ । आधारबिना गरिएको विवेकले न्यायिक अराजकता ल्याउनसक्ने हुन्छ” भनी यस अदालतबाट व्याख्यासमेत भएको पाइन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीले ज्यानसम्म पनि मार्ने मनसायको साथ पूर्वतयारी गरी मृतककै घरमा गई धारिलो हतियार चक्कुले मृतकको शरीरमा पटकपटक प्रहार गरी ज्यान मारेको अवस्था देखिन्छ । प्रतिवादीको यस्तो कार्यबाट परिवार र समाजलाई त्रसित बनाएको र परिवारमा अपूरणीय क्षति भएको देखिन्छ । यस अवस्थामा कसुर स्वीकार गरी अनुसन्धान र अदालतमा बयान गरेको भन्ने आधारमा मात्र प्रतिवादीलाई घटी सजाय गर्दै जाने हो भने आम मानिसको न्याय र अदालतप्रतिको धारणामा नै परिवर्तन आउन सक्ने कुरालाई नजरअन्दाज गर्न मिल्दैन । उल्लिखित आधार र कारणबाट पुनरावेदक प्रतिवादीमाथि विवेक प्रयोग गरी घटी सजाय गर्न मिल्ने देखिएन ।
१४. यसर्थ, प्रतिवादीउपरको किटानी जाहेरी, घटनास्थल लास जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदन, प्रतिवादीको अनुसन्धान र अदालतसमक्षको साबिती बयान, मौका अनुसन्धानमा बुझिएका मानिसहरूले अदालतमा उपस्थित भई गरेको बकपत्रसमेतका सङ्कलित कागज प्रमाणबाट प्रतिवादीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७(२) बमोजिम जन्मकैदको सजाय गरी मृतकका परिवारले क्षतिपूर्तिसमेत भराइपाउने ठहर गरेको सुरू फैसला सदर गर्ने गरी उच्च अदालत विराटनगर, ओखलढुङ्गा इजलासबाट मिति २०७७।०६।१८ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । आजीवन कैद सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको र न्यूनतम सजाय गरिपाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको विद्युतीयप्रति प्रविष्ट गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.डा.आनन्दमोहन भट्टराई
इजलास अधिकृत: लालबहादुर कार्की
इति संवत् २०८० साल जेठ ९ गते रोज ३ शुभम् ।