शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४२६८ - उत्प्रेषण

भाग: ३३ साल: २०४८ महिना: जेष्ठ अंक:

निर्णय नं. ४२६८     ने.का.प. २०४८            अङ्क २,

 

संयुक्तइजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

२०४७ सालको रिट नं. १२४०

आदेश भएको मिति: २०४७।१०।९।४ मा

निवेदक      : दमक न.पा. वडा नं. ३ बस्ने माकुलाल धिमाल

विरुद्ध

विपक्षी : मालपोत कार्यालय झापासमेत

विषय : उत्प्रेषण

(१)    मालपोत कार्यालयले गरेको निर्णय उपर चित्त नबुझेमा कानुनका म्याद ३५ दिनभित्र सम्बन्धित निकायमा उजूर गर्न जानु भनी रिट निवेदकलाई सूचना समेत दिएकोमा सो बमोजिम कानुनी उपचारको बाटो अवलम्बन नगरी प्रस्तुत रिटनिवेदन पर्न आएकोले अन्य उपचारको व्यवस्था भएकोमा रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं. ११)

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री बाबुराजा जोशी

प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान

आदेश

न्या.बब्बरप्रसाद सिंह

१.     नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्नआएको रिटनिवेदनको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ ।

२.    पिता गैनाको ३ छोरामा जेठा माकचे धिमाल, माहिला म माकुलाल धिमाल, कान्छा हर्कबहादुर धिमालको बीचमा मिति २०२०।२।२९ मा बण्डापत्र खडा गरी २०२०।३।७ मा मोरंग मालमा रजिष्ट्रेशन पारित भएको बण्डापत्र अनुसार मेरो भागमा परेको साविक रैति नम्बर १०४१ को जग्गा बिगहा ९५ मध्ये २०२१ सालमा नाप नक्शा हुँदा विभिन्न कित्ता कायम भई नाप नक्शा भएकोमा अरु कित्ताहरु ज.ध.प्र.पुर्जा पाइसकेकोमा सो ज.ध.प्र.पुर्जामा दमक न.पं. वडा नं. १ को कि.नं.७४१ र ७४४ को ज.ध.प्र.पुर्जामा छूट भएकोले म्याद भित्र निवेदन दिएकोमा कारवाही नभएकोले पुनः स्थानीय नगरपञ्चायतको सिफारिश साथ मैले सो छूट कित्ता जग्गा दर्ता गरिपाउँ भनी विपक्ष कार्यालयमा मिति २०३१।१।१७ मा द.नं. ८२४ मा निवेदन दिई कारवाही चलाई आएकोमा सो (साविक पेज नं. ९७) कारवाही मिसिल फेला नपरेकोले मिति २०४५।३।९ मा वन सुदृढीकरणमा समेत कारवाही चलाई आएको मिसिल फेला नपरेकोले पुनः विपक्षको कार्यालयमा छूट जग्गा दर्ता गरी पाउन सम्बन्धित न.पा.बाट मेरो हक भोगको हो भनी गरेको सर्जमिन सहितको सिफारिश, साविक रसिद, ७ नं. फाँटवारी समेत पेश गरी मिति ०४६।१०।५ मा निवेदन दिएको थिएँ ।

३.    मेरो निवेदनमा विपक्ष नं. १ ले मालपोत ऐन, ०३४ को दफा ७(२) अनुसार मेरो साविक दर्ता तिरो र भोगका सम्बन्धमा आवश्क छानविन गरी निर्णय गर्नु पर्नेमा विपक्षी नं. ३ कार्यालयबाट कुनै छानविन नै नगरी निवेदन माग दावीको जग्गा फिल्डबुकमा कि.नं. ७४४ को ज.वि. ०१२५ मा गाउँ र कि.नं. ७४१ को ज.वि. २१० मा कुलो लेखिएको हुँदा त्यस्तो जग्गा दर्ता गर्नलाई मालपोत ऐन, ०३४ को दफा २४ र विपक्ष नं. २ श्री ५ को सरकार मन्त्री परिषद्को निर्णय तथा विपक्ष नं. ३ मालपोत विभागको मिति २०४५।२।१३ को परिपत्र दफा (क) अनुसार फिल्ड बुकमा गाउँ र कुलो भनी लेखिएको जग्गा दर्ता गर्न नमिल्ने हुँदा कारवाही मिसिल तामेलीमा राखी दिने । यसमा चित्त नबुझे ३५ दिन भित्र सम्बन्धित निकायमा जानु भनी जनाउ दिने गरी मिति २०४६।११।१ मा विपक्षको कार्यालयबाट निर्णय गरी जानकारी २०४६।११।१६ मा दिइयो ।

४.    जग्गा (नाप जाँच) ऐन, ०१३ बमोजिम नाप नक्शा हुँदाको अवस्थामा खडा भएको फिल्डबुक र सोमा लेखिएको विवरण अन्तिम होइन । मेरो हक भोगको घर सहितको जग्गा फिल्डबुकमा गाउँ कुलो लेखिएको छ । मेरो घर सहितको जग्गा गाउँ कुलो भनी फिल्डबुकमा जनाएकोमा मैले मेरो साविक जग्गाको लगत, ७ नं. फाँटवारी, साविक रसिद र पञ्चायतको सिफारिश सहित दर्ताको लागि निवेदन गरेपछि विपक्ष नं. १ को कार्यालयबाट सो दर्ता विषयमा मलाई झिकाई प्रतिवादको मौका दिई निर्णय गर्नु पर्नेमा मेरो निवेदनमा कुनै छानविन नै नगरी प्रतिवादको मौका नै नदिई प्राकृतिक न्याय सिद्धान्त विपरीत निर्णय गरियो ।

५.    मालपोत ऐन, ०३४ को दफा २४ ले गाउँ र कुलो भनी फिल्ड बुकमा लेखिएको जग्गा दर्ता गर्न निषेध गरेको छैन । कानुनले जग्गा दर्ता गर्न निषेध नगरेको जग्गालाई विपक्ष नं. २ ले निर्णय गरी निषेध गर्न पाउने अधिकार विपक्षी मन्त्री परिषदलाई छैन ।

६.    अतः लेखिए अनुसार मालपोत ऐन, ०३४ को दफा २४ ले दर्ता गर्न बन्देज नलगाएको जग्गामा पनि विपक्ष नं. २ ले बन्देज लगाई दर्ता नगर्ने भनी गरेको निर्णय र सो बमोजिम विपक्ष नं. ३ ले गरेको परिपत्रको आधार मानी कानुन बमोजिम दर्ता गर्न निषेध नगरेकोमा दफा २४ बमोजिम र विपक्षी नं. २ को निर्णय र विपक्ष नं. ३ को परिपत्र अनुसार भनी मलाई प्रतिवाद गर्ने मौका समेत नदिई विपक्ष नं. १ को कार्यालयबाट मिति २०४६।११।१ मा गरेको निर्णय समेत उत्प्रेषणको आदेशले बदर गरी पुनः कानुन बमोजिम कारवाही किनारा गर्नु भनी विपक्ष नं. १ का नाउँमा परमादेशसहितको उपयुक्त आज्ञा, आदेश जारी गरीपाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन जिकिर ।

७.    यसमा के कसो भएको हो ? निवेदन माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? विपक्षीहरुबाट लिखितजवाफ झिकाई प्राप्त भएपछि पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।

८.    मालपोत ऐन, ०३४ को दफा ७(२) मा जग्गा (नाप जाँच) ऐन, ०३८ बमोजिम नाप नक्शा भएको जग्गाको दर्ता गर्नसम्म छूट भएकोमा मालपोत कार्यालयले दर्ता गर्न सक्नेछ भन्ने कानुनी व्यवस्था गरिएको छ । यो दफा अनुसार मालपोत कार्यालयले छूट जग्गा दर्ता गर्दा के कस्तो जग्गा दर्ता गर्न सक्ने र के कस्तो गर्न नसक्ने भन्ने विषयमा सार्वजनिक रीत समेतलाई दृष्टिगत गरी स्पष्टता ल्याउन श्री ५ को सरकार (मन्त्री परिषद) बाट निर्णय (साविक पेज नं. ९८) भएको छ । निवेदकले उल्लेख गर्नु भएका जग्गाहरु नापी हुँदा नक्शा तथा फिल्डबुकमा गाउँ ब्लक र कुलो पैनी कायम भएको छ । त्यस्तो गाउँ ब्लक र कुलो पैनी कायम भएको जग्गा दर्ता नगर्ने भनी श्री ५ को सरकार मन्त्री परिषदको निर्णयमा परेको र गाउँ ब्लक कुलो पैनी कसैको व्यक्तिगत सम्पत्ति हुन नसक्ने साथै मा.पो. ऐन, २०३४ को दफा ७(२) बमोजिम मा.पो.का.ले निवेदकको नाउँमा दर्ता गर्नपर्ने बाध्यता पनि नभएकोले मालपोत कार्यालय झापाबाट निवेदकले जिकिर लिनु भएका जग्गाहरु दर्ता नगर्ने र निजको निवेदन तामेलीमा राख्ने निर्णय कानुनसम्मत छ भन्ने श्री ५ को सरकार मन्त्री परिषद्को लिखितजवाफ ।

            सीमित रुपमा रहेको जग्गा जमीनको बढ्दो मूल्यलाई दृष्टिगत गरी सार्वजनिक रुपमा प्रयोग भएको पर्ति, खोला, कुलो जग्गालाई पनि बनावटी प्रमाणको आधारमा व्यक्ति विशेषले आफ्नो नाउँमा दर्ता गराउने प्रवृत्ति तिब्ररुपले बढ्दै आएको कुरा महशुस गरी यस्तो प्रवृत्तिको रोकथाम गर्न यस्ता जग्गा दर्ता नगर्ने श्री ५ को सरकार (मं.प.) ले नीति निर्धारण गरेकोले सोही अनुसार गर्न यस विभागबाट मिति ०४५।२।१३ मा निर्देशन पठाएको हो । सार्वजनिक रुपमा प्रयोग भएको जग्गा दर्ता गर्न मालपोत ऐन, ०३४ को दफा २४ ले प्रतिबन्ध लगाएको र त्यस क्षेत्रका सवै कृषकहरुले खेतिको समयमा सिंचाईको लागि प्रयोग गर्ने सार्वजनिक कुलो भएकोले र यस्ता सार्वजनिक सम्पत्ति श्री ५ को सरकारको स्वामित्व रहने भै श्री ५ को सरकारको नाममा दर्ता समेत भैसकेको हुँदा व्यक्ति विशेषका नाममा दर्ता गर्दा प्रचलित मालपोत ऐन नियम तथा नीति निर्देशन अनुकुल नहुने भै दर्ता गर्न नमिल्ने भनी मालपोत कार्यालय झापाले गरेको निर्णय ऐन नियम अनुकूल नै भएकोले रिटनिवेदन खारेज गरी पाउँ भन्ने मालपोत विभाग बबरमहलको लिखितजवाफ ।

९.    रिट निवेदकले निवेदनमा उल्लेख गर्नु भए अनुसार दमक वा.नं. १ कि.नं. ७४१ ज.वि. ०१२५ कि.नं. ४१ को ज.वि. २१० समेतको जग्गा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा पाउँ भनी यस कार्यालयमा निवेदन गर्नु भई कारवाहीको सिलसिलामा नापी शाखाबाट फिल्ड उतार मगाई हेरिंदा निवेदकले छूट जग्गा दर्ता गरी पाउँ भनी निवेदन माग गरेको कि.नं. मा गाउँ र कुलो भन्ने देखिएकोले यस्तो जग्गा दर्ता गर्नलाई मालपोत ऐन, ०३४ को दफा २४ र श्री ५ को सरकार मन्त्रीपरिषदको निर्णय तथा मालपोत विभागको मिति २०४५।२।१३ को परिपत्रको दफा (क) अनुसार यस कार्यालयबाट दर्ता गर्न नमिल्ने र यस निर्णयबाट चित्त नबुझेमा कानुनको म्याद ३५ दिन भित्र सम्बन्धित निकायमा उजूर गर्न जानु भनी मिति २०४६।११।१ मा यस कार्यालयबाट निर्णय भएको हो निवेदकको कुनै किसिमको हक अधिकार हनन् नभएको हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको मालपोत कार्यालय झापाको लिखितजवाफ ।

१०.    नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत विषयमा निवेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बाबुराजा जोशी तथा प्रत्यर्थी कार्यालयका तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधानले गर्नुभएको बहस जिकिर समेत सुनियो ।

११.    यसमा विवादको जग्गा ०२१ सालमा सर्भे नापी हुँदा दर्ता छूट भएकोले छूट जग्गा दर्ता गरी पाउँ भनी निवेदकले मालपोत कार्यालय झापामा मिति २०४६।१०।५ मा निवेदन दिई कारवाही शुरु गरेको देखिन्छ । जग्गा नाप जाँच ऐन, ०१९ बमोजिमको म्याद भित्र छूट दर्ताको लागि कारवाही चलाउनु पर्नेमा नचलाई २०४६ सालमा मात्र मालपोत कार्यालयमा छूट दर्ताको उजूरी पर्दा फिल्डबुकमा गाउँ कुलो भनि जनिएकोले मालपोत ऐन, ०३४ को दफा २४ र श्री ५ को सरकार मन्त्री परिषद्को ०४५।२।१३ को परिपत्र बमोजिम दर्ता गर्न (साविक पेज नं. ९९) नमिल्ने हुँदा तामेलीमा राखी दिने भनी मालपोत कार्यालय झापाले मिति २०४६।११।१ मा निर्णय गरेको देखिन्छ । सो निर्णय उपर चित्त नबुझेमा कानुनका म्याद ३५ दिन भित्र सम्बन्धित निकायमा उजूर गर्न जानु भनी रिट निवेदकलाई सूचना समेत दिएकोमा सो बमोजिम कानुनी उपचारको बाटो अवलम्बन नगरी प्रस्तुत रिटनिवेदन पर्न आएकोले अन्य उपचारको व्यवस्था भएकोमा रिट क्षेत्रबाट हेर्न नमिल्ने हुँदा प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

उक्त रायमा म सहमत छु । न्या.गजेन्द्रकेशरी बास्तोला

इतिसम्वत् २०४७ साल माघ ९ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु