शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११२१२ - जालसाजी

भाग: ६५ साल: २०८० महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई

माननीय न्यायाधीश डा. श्री कुमार चुडाल

फैसला मिति : २०७९।४।२४

०७४-CR-१६७६

 

मुद्दा:- जालसाजी

 

पुनरावेदक/वादी : भक्तपुर जिल्ला बालकोट गा.वि.स. वडा नं.४ हाल सूर्यविनायक नगरपालिका वडा नं.२ बस्ने बिभुत्सा खड्कासमेतको संरक्षक भई आफ्नो हकमा समेत टिकाबहादुरको छोरा ऐ. ऐ. बस्ने खगेन्द्र खड्का

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : भक्तपुर जिल्ला बालकोट गा.वि.स. वडा नं.४ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३ बाँसबारी बस्ने कल्पना के.सी.समेत

 

कुनै कानूनको व्याख्या गरेर वा कुनै कानूनी सिद्धान्तको आधारमा यस अदालतबाट निर्णय भएको छ भने पछिल्लो समान प्रकृतिको मुद्दामा त्यस्तो निर्णय अनुशरण गर्नुपर्ने । न्याय सम्पादनमा एकरूपता र निश्चितताको लागि अघिल्लो मुद्दामा प्रतिपादित नजिर सिद्धान्त पछिल्लो समान प्रकृतिको मुद्दामा प्रयोग र पालना गर्नु विधिशास्त्रीय मान्यता हुने । निर्णय अनुशरण गर्दा पहिले सिद्धान्त कायम भएको मुद्दाको तथ्यगत अवस्था र पछिल्लो मुद्दाको तथ्यगत अवस्था समान प्रकृतिको छ वा छैन भन्ने सम्बन्धमा अत्यन्त सावधानिकताको साथ हेरिनुपर्ने । 

न्याय एउटा अमूर्त कुरा भए तापनि अनुभूति गर्न सकिने किसिमको हुनुपर्ने । न्यायलाई निरपेक्ष ढङ्गले हेरिनु नहुने । मुद्दाको विषयवस्तु, अवस्था, परिस्थिति र सम्बद्ध कानूनको सापेक्षतामा न्याय खोज्नुपर्ने ।

(प्रकरण नं. ५)

 

पुनरावेदक/वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने र अधिवक्ता श्री तेजबहादुर कटुवाल

प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू  श्री माधव बास्कोटा, श्री हरिहर दहाल र श्री रामकृष्ण निराला

अवलम्बित नजिर :

सम्बद्ध कानून:

 

सुरू तहमा फैसला गर्ने

मा. जि. न्या. श्री विष्णुप्रसाद सुवेदी 

काठमाडौं जिल्ला अदालत 

पुनरावेदन तहमा फैसला गर्ने :

मा. न्या. श्री उमेशराज पौड्याल

मा. न्या. श्री मेघनाथ भट्टराई

उच्च अदालत पाटन 

 

फैसला

न्या. आनन्दमोहन भट्टराई: न्याय प्रशासन ऐन, २०७३ को दफा दफा १२(१) को देहाय (क) र (ख) को आधारमा मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनसरह दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ:-

 

तथ्य खण्ड

फिरादीहरूको हक लाग्ने फिरादी संयुक्त राष्ट्र संघको करिब १८ महिनाको शान्ति मिसन, स्वदेशको कमाइ, घर भाडा र अमेरिकाको ८ वर्षको दु:ख पसिनाले कमाइ गरी अन्यायी कल्पना के.सी. खड्काको नाममा खरिद गरेको भक्तपुर जिल्ला बालकोट गा.वि.स. वडा नं. १ को  कि.नं. ३८२ को क्षेत्रफल ०-११-२-० मध्ये उत्तरतर्फ कि.का. गरी कायम हुन आएको ऐ.को कि.नं. १३५५ को क्षेत्रफल ०-१-०-० जग्गा कि.नं. १३५८ र १३६२ मा प्लट मिलान हुने गरी र साबिक कि.नं. ३८२ मध्येबाटै कि.का. गरी कायम हुन आएको कि.नं. १३५६ को क्षेत्रफल ०-०-३-० बाटो प्रयोजनको लागि हक छोडिएको मालपोत कार्यालय भक्तपुरको मिति २०६६।०४।२८ मा पारित राजीनामाको लिखत मुलुकी ऐन, किर्ते कागजको महलको ३ नं.बमोजिम जालसाजी घोषित गरी उक्त लिखत बदर गरी विपक्षी प्रतिवादीहरूलाई किर्ते कागजको महलको १० नं.बमोजिम हदैसम्म सजाय गरिपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी ।

प्रचलित कानूनले लाग्नै नसक्ने प्रमाणले दाबी पुग्नै नसक्ने, हकदैयाविहीन विपक्षीको फिराद दाबी झुट्टा भएकाले त्यस्तो झुट्टा फिराद दाबी खारेज गरी या झुट्ठा फिराद दाबीबाट अलग फुर्सद दिलाई मालपोत कार्यालय भक्तपुरबाट र.नं. ३६७(क) मिति २०६६।४।२८ मा भएको राजीनामा लिखत सद्दे साँचो भएको हुँदा सदरै कायम राखिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी कल्पना के.सी. खड्काको प्रतिउत्तर 

जिकिर ।

कि.नं. ३८२ बाट कि.का. गरी कायम कि.नं. १३५५ को क्षेत्रफल ०-१-०-० जग्गा र कि.नं. १३५६ को क्षेत्रफल.०-०-३-० बाटो जनाई हक छोडिएको मालपोत कार्यालय भक्तपुरको मिति २०६६।०४।२८ को र.नं. ३६७(क) लिखत जालसाजीपूर्ण कार्य नभई विधिसम्मत भएको प्रस्ट छ । विपक्षीको हकदैया, हदम्यादविहीन तथा फरेव एवं गैरकानूनी फिराद दाबी खारेज गरी झुट्ठा फिराद गर्ने विपक्षी फिरादीलाई हदैसम्मको सजायसमेत गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी तुल्सीभक्त प्रधानको प्रतिउत्तर जिकिर ।

राजकुमारी प्रधानसमेतले संयुक्त रूपमा खरिद गरेको जग्गा प्लट मिलान गर्न भएको हक हस्तान्तरणले विपक्षीलाई कुनै नोक्सानी नभएको हुनाले उक्त कानूनबमोजिमको राजीनामाको लिखत बदर हुने होइन र प्रस्तुत मुद्दामा किर्ते कागजको ३,१०,१८ नं. आकर्षित नहुने हुँदा प्रस्तुत फिराद खारेज गरी इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी अञ्जना राजभण्डारीको प्रतिउत्तर जिकिर ।

यिनै वादीहरू वादी र प्रतिवादी कल्पना के.सी.समेत प्रतिवादी भई चलेको यसै लगाउको फौ.नं. १७३६ को जालसाजी मुद्दामा वादीको फिराद दाबी पुग्न नसक्ने ठहर भई आजै यसै इजलासबाट फैसला भएको, समान तथ्य र एउटै मितिमा भएको पारित राजीनामा लिखतउपर प्रस्तुत मुद्दामा वादीले पारित राजीनामा जालसाजी घोषित गरिपाउँ भन्ने दाबी लिएको लिखत हेर्दा प्लट मिलान र बाटो प्रयोजनसमेत उल्लेख भएको र यसै लगाउको फौ.नं. १७३६ को मुद्दामा वर्णित आधार र कारणहरूसमेतबाट र.नं. ३६४क मिति २०६६।४।२८ को राजीनामा लिखत जालसाजी घोषित गरिपाउँ भन्नेसमेतबाट वादीको फिराद दाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७१।०७।०२ को फैसला ।

विपक्षी कल्पना के.सी.को व्यवहार कारोबारले नाबालकसमेतको अहित भएको छ । नाबालकको अहित हुने काम कसैले पनि गर्न हुँदैन भन्ने बालबालिकासम्बन्धी ऐन र मुलुकी ऐन, लोग्ने स्वास्नीको ३(४) समेतमा कानूनी व्यवस्था छ । पुनरावेदकले छोरा छोरीसमेतका लागि भनी विदेशमा कमाएको धन सम्पत्ति विपक्षीहरूले लुकाएका र हिनामिना गरेका छन् । पुनरावेदक विदेश रहेको अवस्थामा मैले पठाएको पैसाले चाडपर्व मान्ने र छोरा छोरीको सामान्य खाने लाउने पढाई तथा औषधी खर्चसम्मको व्यवहार निज कल्पना के.सी.ले हेर्ने व्यवहार हो । मेरो खातामा भएको बयानब्बे लाखसम्मको रकम किर्ते गरी निकाल्ने र परिवारभन्दा बाहिरका अन्यत्र व्यक्तिलाई दिने खुवाउने व्यवहारलाई कानूनी व्यवहार भन्न मिल्दैन । पुनरावेदकको बुबा एकाघरको मुख्य व्यक्ति भएको अवस्थामा विपक्षी कल्पना के.सी. ले व्यवहार चलाएको भन्न मिल्दैन । वादी विदेश रहेको अवस्थामा विपक्षी कल्पना के.सी. ले सबै घर जग्गाहरू बिक्री गर्न पाउनेसम्मको व्यवहार गर्न पाउने भन्ने पनि हाम्रो कानूनी व्यवस्थामा छैन । पुनरावेदक विदेशबाट आएलगत्तै फिराद गरेको कारणले पनि हदम्याद गएको भन्न मिल्दैन । आफ्नो हक गएको कुरा थाहा पाएको मितिले ६ महिनाभित्र नालेस गर्न पाउने कानूनी व्यवस्था भएको र जालसाजीबाट अंशहकको संरक्षण हुने भन्ने नजिर भएकोले पनि सुरू र उच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको हुँदा बदर गरी फिराद दाबीबमोजिम हुने गरी फैसला गरिपाउँ भनी वादी खगेन्द्र खड्काले उच्च अदालत पाटनमा दिएको पुनरावेदन पत्र ।

यसमा यसै लगाउको दे.पु.नं. ०७१-DP-२८५८, ०७२-DP-१०५३, १०५५ को लिखत बदर मुद्दामा अ.बं. २०२ नं. को प्रयोजनको लागि पुनरावेदनको जानकारी गराउने गरी यसै इजलासबाट आदेश भएको र उक्त मुद्दासँग प्रस्तुत मुद्दा अन्तरप्रभावी भएको देखिँदा अ.बं. २०२ नं. को प्रयोजनार्थ प्रस्तुत मुद्दाको पुनरावेदनको जानकारी पुनरावेदन गर्ने प्रत्यर्थीलाई गराई र पुनरावेदन गर्ने प्रत्यर्थीबाहेकका प्रत्यर्थीलाई अ.बं. २०२ नं. एवं पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम झिकाई उपस्थित भएमा वा अवधि व्यतीत भएपछि नियमानुसार गरी पेस गर्नु भन्ने उच्च अदालत पाटनको मिति २०७२।९।६ को आदेश ।  

प्रस्तुत मुद्दाको वादीको मुख्य दाबी भनेको आफ्नोसमेत अंशहक लाग्ने जग्गा प्रतिवादीले बिक्री गरी आफ्नो अंश हकमा आघात पुर्‍याए भन्ने नै हो । मुलुकी ऐन लेनदेन व्यवहारको १० नं. लाई हेर्दा “अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडिदिँदा ऐनले आफूखुस गर्न पाउने, अरूको मन्जुरी लिन नपर्नेमा बाहेक अरूमा एकाघरसँगका अंशियार सबै साक्षी बसेको वा निजहरूले मन्जुरीको लिखत गरिदिएको भए मात्र पक्का ठहर्छ । साक्षी पनि नबसेको र मन्जुरीको लिखत पनि नभए मन्जुर नहुनेले रजिस्ट्रेसन भएको मितिले १ वर्षसम्ममा थाहा पाएको पैंतिस दिनभित्र उजुर गर्‍यो र निजको मन्जुरी ठहरिएन भने निजको हकजति सो सम्पत्ति निजलाई फिर्ता गराइदिनुपर्छ” भन्ने व्यवस्था रहेको देखियो । उक्त कानूनी व्यवस्थालाई दृष्टिगत गर्दा आफ्नो अंश हक लाग्ने सगोलको सम्पत्तिलाई प्रतिवादीमध्येका कल्पना के.सी. खड्काले अन्य प्रतिवादीलाई बेचबिखन गरेको कुरामा यी वादीको मन्जुरी नरहेको भए निजले विवादित लिखत खडा भएको १ वर्षसम्ममा थाहा पाएको ३५ दिनभित्र आफ्नो हकजति विवादित लिखतको सम्पत्ति फिर्ता गराई माग्न नालेस दिनसक्नुपर्ने थियो तर निजले कानूनद्वारा सुनिश्चित गरिएको हदम्यादभित्र विवादित लिखतको आफ्नो हकजति सम्पत्ति फिर्ता गराई माग्न नालेस नगरी निर्दिष्ट हदम्याद कटेपछि जालसाजीबाट किर्ते कागजको १८ नं.बमोजिमको हदम्याद देखाई फिराद दायर भएको देखिँदा वादी दाबी नपुग्ने ठहर गरेको सुरू फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत पाटनको मिति २०७३।०९।११ को फैसला । 

नाबालकसमेतको संरक्षक भई फिराद दायर भए पनि वास्तविक संरक्षक कल्पना के.सी. भएको फैसला आधार छ । विपक्षी कल्पना के.सी.को व्यवहार कारोबारले नाबालकसमेतको अहित भएको छ । करोडौंका सम्पत्ति लुकाउने बहानामा निजले अरूका नाममा राख्ने र बाहिर बाहिरै व्यवहार कारोबार गरेकी छन् । नाबालकको धन बिगार्नका लागि बेइमानी गरेको रहेछ भने निजबाट त्यसको बिगो भराई सो बिगोको सयकडा पच्चिस जरिवाना गर्नुपर्छ भन्ने मुलुकी ऐन लेनदेन व्यवहारको १८ समेतमा कानूनी व्यवस्था छ । निवेदक विदेश रहेको अवस्थामा मैले पठाएको पैसाले चाडपर्व मान्ने र छोराछोरीको सामान्य खाने लाउने पढाई तथा औषधी खर्चसम्मको व्यवहार निज कल्पना के.सी.ले हेर्न पाउने हो तर मेरो खातामा भएको बयानब्बे लाखसम्मको रकम किर्ते गरी निकाल्ने र परिवारभन्दा बाहिरका अन्यत्र व्यक्तिलाई दिने खुवाउने व्यवहारलाई कानूनी व्यवहार भन्न मिल्दैन । घरको मूली म निवेदकको बुबा एकाघरमा हुँदाहुँदै कल्पनाले व्यवहार चलाएको भन्न 

मिल्दैन । निवेदक विदेश रहेको अवस्थामा विपक्षी कल्पना के.सी.ले सबै घर जग्गाहरू बिक्री गर्न पाउनेसम्मको व्यवहार गर्न पाउने भन्ने पनि हाम्रो कानूनी व्यवस्थामा छैन । हदम्याद नाघेको फिराद भन्ने फैसलामा तर्क गरिएको छ । निवेदक विदेश भएको र नेपाल आएलगत्तै फिराद गरेको तथ्यमा विवाद 

छैन । सो कारणले पनि हदम्याद गएको भन्न 

मिल्दैन । आफ्नो हक गएको कुरा थाहा पाएको मितिले ६ महिनाभित्र नालेस गर्न पाउने कानूनी व्यवस्था भएको र जालसाजीबाट अंशहकको संरक्षण हुने भन्ने उल्लिखित नजिर भएकोले पनि सुरू र उच्च अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी फिराद दाबीबमोजिम हुने गरी फैसला गरिपाउँ वादी खगेन्द्र खड्काले यस अदालतमा दिएको निवेदन । 

यसमा यसैसँगको ०७४-RI-०४८४ र ०७४-RI-०४८५ नं. को मुद्दाको मिसिलमा न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) खण्ड (क) र (ख) बमोजिमको अवस्था विद्यमान भएको आधार र कारणले मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भएको हुँदा यसमा पनि मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरिदिएको छ । नियमानुसार गर्नु भन्नेसमेत बेहोराको यस अदालतको मिति २०७५/०२/११ को आदेश ।

ठहर खण्ड

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा मिति २०७९।१२।१३ गतेदेखि मिति २०७९।१२।१७ गतेसम्म निरन्तर सुनुवाइ गरी पुनरावेदक वादी खगेन्द्र खड्काको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने र अधिवक्ता श्री तेजबहादुर कटुवालले पुनरावेदक वादी खगेन्द्र खड्काले नेपाल प्रहरीमा सेवारत हुँदा यु.एन. शान्ति मिसनबाट आर्जन गरेको रकम र रोजगारीको सिलसिलामा अमेरिकामा रहँदा आर्जन गरेको रकमबाट प्रतिवादी कल्पना के.सी.को नाममा खरिद गरेको कि.नं. ३८२ को क्षेत्रफल ०-११-२-० जग्गा उत्तरतर्फबाट कित्ताकाट गरी कायम कि.नं. १३५५ को क्षेत्रफल ०-१-०-० र सोही कि.नं. ३८२ जग्गा कित्ताकाट गरी कायम कि.नं. १३५६ को क्षेत्रफल ०-०-३-० जग्गा प्लट मिलान हुने गरी पुनरावेदक वादी विदेशमा रहे बसेको अवस्थामा वादी र छोरा छोरीलाई समेत निरअंशी बनाउने उद्देश्यले प्रतिवादी शान्ता खड्का कटुवाल र तुलसीभक्त प्रधानलाई मिति २०६६।०४।२८ मा राजीनामा लिखत गरिदिएको अवस्था छ । यस अवस्थामा दाबीबमोजिम लिखत जालासाजी घोषित गर्ने गरी फैसला गर्नुपर्नेमा लेनदेन व्यवहारको १० नं.बमोजिमको हदम्याद व्यतीत भएपछि किर्ते कागजको १८ नं.बमोजिमको हदम्याद सिर्जना गरी फिराद दायर गरेको भनी दाबी नपुग्ने ठहर गरेको सुरू फैसला पुनरावेदन तहबाट पनि सदर भएको अवस्था छ । कानूनको कुन मार्ग अवलम्बन गर्दा आफूलाई न्याय प्राप्त हुन्छ सो कुरा वादी आफैँले तय गर्ने हो । प्रतिवादी वा अदालतको होइन । लिखत बदरमा हदम्याद कटेको कारणबाट जालसाज नहुने भन्न मिल्दैन भनी यस अदालतको पूर्ण इजलासबाट प्रेमबहादुर बानियाको मुद्दामा व्याख्यासमेत भइरहेको अवस्थामा वादी दाबी नपुग्ने ठहर गरेको सुरू फैसला सदर गर्ने गरी उच्च अदालत पाटनबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

प्रत्यर्थी प्रतिवादी कल्पना के.सी. को तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री माधव बास्कोटा, श्री हरिहर दाहाल प्रतिवादी अञ्जना राजभण्डारीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री रामकृष्ण निरालाले वादीले दाबी लिएको जग्गा प्रतिवादी कल्पना के.सी.ले आफ्नो पालामा आर्जन गरेको अंशबन्डाको १९ नं.बमोजिम आफूखुस गर्न पाउने जग्गा हो । वादी खगेन्द्र खड्काले विदेशबाट कमाएर पठाएको रूपैयाँबाट जग्गा खरिद गरेको 

होइन । वादी खगेन्द्र खड्का विदेशमा रहेको अवस्थामा प्रतिवादी कल्पना के.सी.ले घर व्यवहार चलाएको हो । आफ्नो पालामा आर्जन गरेको सम्पत्ति भए पनि वादी खगेन्द्रको सल्लाहबाटै दाबीको जग्गा शान्ता खड्का र तुलसीभक्त प्रधानलाई राजीनामा लिखत गरेको 

हो । वादीले छोरा छोरीको हकमा संरक्षक भई फिराद गरेको देखिए पनि छोरा छोरीहरू आमा कल्पना के.सी. को संरक्षकत्वमा रही निजहरूको पालन पोषण तथा शिक्षा दीक्षा कल्पनाले नै गरेको अवस्था छ । लेनदेन व्यवहारको १० नं.बमोजिमको हदम्याद व्यतीत भएपश्चात् जालसाजीमा फिराद परेको अवस्था हुँदा त्यस्तो फिरादबाट दाबीबमोजिम लिखत बदर हुने अवस्था नभएको र पुनरावेदक वादीतर्फबाट रहनुभएका विद्वान् कानून व्यवसायीहरूले पेस गर्नुभएको नजिर प्रस्तुत मुद्दामा आकर्षित नहुने हुँदा सुरू जिल्ला अदालतको फैसला सदर गर्ने गरी उच्च अदालत पाटनबाट भएको फैसला परिवर्तन गर्नुपर्ने अवस्था नहुँदा सदर गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

उपर्युक्तबमोजिमको तथ्य र बहस जिकिर भएको प्रस्तुत मुद्दामा उच्च अदालत पाटनको फैसला मिलेको छ वा छैन र पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के रहेछ, सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, फिरादीले संयुक्त राष्ट्र संघको करिब १८ महिनाको शान्ति मिसन, स्वदेशको कमाई घर भाडा र अमेरिकामा रोजगारी गर्दा कमाएको रूपैयाँ पैसाबाट श्रीमती कल्पना के.सी. खड्काको नाममा खरिद गरेको भक्तपुर जिल्ला बालकोट गा.वि.स. वडा नं. १ को  कि.नं. ३८२ को क्षेत्रफल ०-११-२-० जग्गा उत्तरतर्फबाट कित्ताकाट गरी कायम हुन आएको कि.नं. १३५५ को क्षेत्रफल ०-१-०-० र कि.नं. १३५६ को क्षेत्रफल ०-०-३-० जग्गाको प्लट मिलान र बाटो प्रयोजनको लागि भनी मेरो र छोरा छोरीको समेत हक मार्ने दूषित मनसायले मेरो स्वीकृति मन्जुरीविना प्रतिवादी कल्पना के.सी.ले मिति २०६६।०४।२८ मा प्रतिवादी शान्ता खड्का कटुवाल र तुलसीभक्त प्रधानलाई राजीनामा लिखत गरिदिएको र मेरोसमेत अंशहक मार्न गरिएको उक्त मितिको राजीनामा लिखतले कानूनी मान्यता नपाउने हुँदा वादीहरूको हकसम्मको लिखत जालसाजी घोषित गरी प्रतिवादीहरूलाई जालसाजीमा सजायसमेत गरिपाउँ भन्ने वादीको फिराद दाबी रहेको देखिन्छ । दाबीको जग्गामा वादीको हक छैन । वादीले पठाएको रूपैयाँ पैसाबाट खरिद गरेको पनि होइन भन्ने प्रतिवादी कल्पना के.सी.को प्रतिउत्तर जिकिर देखिन्छ भने प्रतिवादी अञ्जना राजभण्डारीको प्रतिउत्तरमा वादीको श्रीमती कल्पना के.सी. र मेरोसमेत संयुक्त नाम दर्ताको साबिक कि.नं. ३८२ को क्षेत्रफल ०-११-२-० जग्गा कित्ताकाट गरी कायम भएको कि.नं. १३५५ को क्षेत्रफल ०-१-०-० र कि.नं. १३५६ को क्षेत्रफल ०-०-३-० जग्गा प्लट मिलान र बाटोको प्रयोजनको लागि राजीनामा लिखत गरिदिएको हुँदा दाबीबमोजिम लिखत जालसाजी घोषित हुनुपर्ने होइन भनी जिकिर लिएको देखियो । उपर्युक्तबमोजिमको फिराद दाबी र प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा वादी दाबी नपुग्ने ठहर गरेको सुरू जिल्ला अदालतको फैसला सदर गर्ने गरी उच्च अदालत पाटनबाट मिति २०७३।०९।११ मा भएको फैसलाउपर चित्त नबुझाई वादी खगेन्द्र खड्काले मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी दिएको निवेदनमा यस अदालतबाट अनुमति प्रदान भई पुनरावेदनसरह दर्ता हुन आएको देखियो ।

३. वादी खगेन्द्र खड्काको पुनरावेदन हेर्दा, मूल रूपमा विपक्षी कल्पना के.सी.को कारोबारले नाबालक छोरा छोरीसमेतको अहित भएको छ । नाबालकको अहित हुने काम कसैले पनि गर्न हुँदैन भन्ने कानूनी व्यवस्था छ । मैले विदेश बसी कमाएको रूपैयाँ पैसाले निजको नाममा खरिद गरेको जग्गा मेरो स्वीकृति मन्जुरीविना राजीनामा गरेको अवस्थामा सुरू तथा उच्च अदालतले हदम्याद नाघेको फिराद भनी दाबी नपुग्ने गरी फैसला गरेको छ । दाबीको जग्गा बिक्री गर्दा आफू विदेशमा भएको र नेपाल आएलगत्तै फिराद गरेको तथ्यमा विवाद छैन । यस अवस्थामा हदम्याद गएको भन्न मिल्दैन । आफ्नो हक गएको कुरा थाहा पाएको मितिले ६ महिनाभित्र नालेस गर्न पाउने कानूनी व्यवस्था भएको र जालसाजीबाट अंशहकको संरक्षण हुने भन्ने सिद्धान्तसमेत प्रतिपादन भएको हुँदा वादी दाबी नपुग्ने ठहर गरेको सुरू फैसला सदर गर्ने गरी उच्च अदालत पाटनबाट भएको फैसला बदर गरी फिराद दाबीबमोजिम फैसला गरिपाउँ भनी जिकिर लिएको देखियो ।

४. सो सन्दर्भमा विचार गर्दा, आफ्नो र छोरा छोरीको समेत हक लाग्ने प्रतिवादी कल्पना के.सी. र अञ्जना राजभण्डारीसमेतको संयुक्त नाम दर्ताको भक्तपुर बालकोट गा.वि.स. वडा नं. १ कि.नं. ३८२ को क्षेत्रफल ०-११-२-० जग्गा उत्तरतर्फबाट कित्ताकाट गरी कायम कि.नं. १३५५ को क्षेत्रफल ०-१-०-० र कि.नं. १३५६ को क्षेत्रफल ०-०-३-० जग्गा प्लट मिलान र बाटो प्रयोजनको लागि भनी प्रतिवादी कल्पना के.सी.ले हाम्रो अंशहक मार्ने दूषित मनसायले जालसाजी गरी मिति २०६६।०४।२८ मा प्रतिवादी शान्ता खड्का कटुवाल र तुलसीभक्त प्रधानलाई राजीनामा लिखत पारित गरिदिएको कुरा मिति २०६८।०३।०७ मा लिखतको नक्कल सारी थाहा पाएको भनी मुलुकी ऐन, किर्ते कागजको महलको १८ नं.बमोजिमको हदम्याद देखाई आफ्नो र छोरा छोरीको हकमा समेत लिखत जालसाजी घोषित गराई माग्न वादी खगेन्द्र खड्काले मिति ०६८।०४।०४ मा फिराद दिएको देखिन्छ । वादीले यस अदालतमा दिएको पुनरावेदन पत्रमा समेत छोरा छोरीहरूको पालन पोषण शिक्षा दीक्षा आफूले गरी आएको र प्रतिवादी कल्पना के.सी.ले छोरा छोरीको अहित हुने काम गरेको भनी जिकिर लिएको अवस्था देखिन्छ । यी पुनरावेदक वादी खगेन्द्र खड्काले कल्पना के.सी. उपर र कल्पना के.सी.ले वादी खगेन्द्र खड्काउपर आपसमा अंश मुद्दा गरेको देखिन्छ । वादी खगेन्द्र खड्काले दिएको अंश मुद्दाको फिरादमा छोरा छोरीको हकमा निजले अंशको दाबी गरेको देखिँदैन । कल्पना के.सी.ले उसबखत नाबालक रहेका छोरा छोरीको हकमा संरक्षक भई अ.बं. ८३ नं.बमोजिम अड्डाको अनुमति लिई आफ्नो हकमा समेत यी पनरावेदक खगेन्द्र खड्काउपर अंशमा फिराद गरेको देखिन्छ । नाबालक रहेका छोरा छोरीहरूले आफूहरू आमा कल्पना के.सी. को सँगसाथमा रहेको र आफूहरूको पालन पोषण आमा कल्पना के.सी. ले नै गर्दै आएको भनी सुरू जिल्ला अदालतमा बयान कागज गरिदिएको देखिन्छ । कल्पना के.सी. भन्दा पहिले नै निजउपर अंशमा फिराद गर्ने खगेन्द्र खड्काले छोराछोरीको हकमा अंशमा दाबी नगरी आफ्नो हकमा मात्र दाबी गरेको देखिएको र छोरा छोरीहरूले आफूहरू आमाको सँगसाथमा रहेको भनी उल्लेख गरेको देखिएबाट छोरा बिभुत खड्का र छोरी बिभुत्सा खड्का यी पुनरावेदक वादी खगेन्द्र खड्काको सँगसाथमा रहेको भनी मान्न मिल्ने देखिएन ।

५. पुनरावेदक वादीले दाबी लिएको राजीनामा लिखत बदर गराउन लेनदेन व्यवहारको १० नं. ले निर्दिष्ट गरेको हदम्याद व्यतीत भएपश्चात् जालसाजीबाट हदम्याद सिर्जना गरी फिराद परेको देखिँदा वादी दाबी नपुग्ने ठहर गरेको सुरू फैसला उच्च अदालत पाटनबाट सदर भएको देखिन्छ । पुनरावेदक वादीले जालसाजीबाट पनि अंशहकको संरक्षण हुन सक्ने अवस्थामा दाबी नपुग्ने गरी भएको फैसला त्रुटिपूर्ण रहेको भनी जिकिर लिएको 

देखियो । पुनरावेदक वादीका तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूबाट समेत बहसको क्रममा “कानूनको कुन माग अवलम्बन गर्दा आफूलाई न्याय प्राप्त हुन्छ सो कुरा वादी आफैँले तय गर्ने हो । प्रतिवादी वा अदालतले होइन । लिखत बदरमा हदम्याद कटेको कारणबाट जालसाज नहुने भन्न मिल्दैन” भनी यस अदालतको पूर्ण इजलासबाट प्रेमबहादुर बलामीको मुद्दामा प्रतिपादित नजिर सिद्धान्तलाई प्राथमिकताको साथ उठान गरेको पाइयो । कुनै कानूनको व्याख्या गरेर वा कुनै कानूनी सिद्धान्तको आधारमा यस अदालतबाट निर्णय भएको छ भने पछिल्लो समान प्रकृतिको मुद्दामा त्यस्तो निर्णय अनुशरण गर्नुपर्ने हुन्छ । न्याय सम्पादनमा एकरूपता र निश्चितताको लागि अघिल्लो मुद्दामा प्रतिपादित नजिर सिद्धान्त पछिल्लो समान प्रकृतिको मुद्दामा प्रयोग र पालना गर्नु विधिशास्त्रीय मान्यता पनि हो । तर यसरी निर्णय अनुशरण गर्दा पहिले सिद्धान्त कायम भएको मुद्दाको तथ्यगत अवस्था र पछिल्लो मुद्दाको तथ्यगत अवस्था समान प्रकृतिको छ वा छैन भन्ने सम्बन्धमा अत्यन्त सावधानिकताको साथ हेर्नुपर्ने हुन्छ । जथाभावी र अन्धाधुन्ध रूपमा नजिरको अनुशरण गर्दा नजिरहरूको जंगलमा न्याय हराउन सक्ने कुरालाई नजरअन्दाज गर्न 

सकिँदैन । विद्वान् कानून व्यवसायीहरूले देखाउनु भएको प्रेमबहादुर बलामीको जालसाजी मुद्दामा सानुबहादुर बानियाले प्रेमबहादुर बलामीलाई जग्गा बिक्री गरेको देखिन्छ । उक्त जग्गा बिक्री गर्दा सगोलमा रहेका श्रीमती र नाबालक छोरालाई जानकारी 

छैन । निजले पैतृक सम्पत्ति पटक/ पटक बिक्री गरेको देखिन्छ । यसबाट श्रीमती र नाबालक छोरा निरअंशी हुन पुगेको अवस्था छ । तर प्रस्तुत मुद्दामा त्यस्तो स्थितिको विद्यमानता रहेको देखिँदैन । बालकोटस्थित घर जग्गा यद्यपि वादी खगेन्द्र खड्काकै नाममा रहेको देखिन्छ । कल्पना के.सी.को नाम दर्ताको जग्गाबाट पनि निजले अंश पाउने ठहर भएको देखिएको छ । यसै लगाउका लिखत बदर मुद्दाहरूमा कल्पना के.सी.ले बिक्री गरेका जग्गाहरू वादी खगेन्द्र खड्काको हकजतिको लिखत बदर भएको देखिन्छ । यसबाट पुनरावेदक वादी खगेन्द्र खड्का निरअंशी भएको भन्ने देखिँदैन । न्याय एउटा अमूर्त कुरा भए पनि अनुभूति गर्न सकिने किसिमको हुनुपर्दछ । न्यायलाई निरपेक्ष ढंगले हेरिनु हुँदैन । मुद्दाको विषयवस्तु, अवस्था, परिस्थिति र सम्बद्ध कानूनको सापेक्षतामा न्याय खोज्नुपर्ने 

हुन्छ । यस अवस्थामा प्रेमबहादुर बलामीको मुद्दाको तथ्य र प्रस्तुत मुद्दाको तथ्य अवस्थामा फरक भिन्नता रहेको देखिँदा उक्त मुद्दामा प्रतिपादन भएको सिद्धान्त यस मुद्दामा पनि अनुशरण हुनुपर्छ भन्ने विद्वान् कानून व्यवसायीहरूको बहस जिकिरसँग सहमत हुन 

सकिएन ।

६. पुनरावेदक वादीले दाबी लिएको भक्तपुर बालकोट गा.वि.स. वडा नं १ कि.नं. ३८२ को क्षेत्रफल ०-११-२-० जग्गा उत्तरतर्फबाट कित्ता काट गरी कायम कि.नं. १३५५ को क्षेत्रफल ०-१-०-० र कि.नं. १३५६ को क्षेत्रफल ०-०-३-० जग्गा प्लट मिलान र बाटो प्रयोजनको लागि प्रतिवादी कल्पना के.सी.ले मिति २०६६।०४।२८ मा शान्ता खड्का कटुवाल र तुलसीभक्त प्रधानलाई राजीनामा लिखत गरिदिएको देखिन्छ । उक्त मितिमा भएको राजीनामा लिखतलाई जालसाजी घोषित गराई माग्न वादी खगेन्द्र खड्काले मिति २०६८।०४।०४ मा फिराद गरेको अवस्था 

छ । जबकि खगेन्द्र खड्काले श्रीमती कल्पना के.सी.उपर मिति २०६८।०१।१३ मा अंश मुद्दा दायर गरेको देखिन्छ । अंश मुद्दामा पनि विदेशको कमाइ हिनामिना गरेको कुरा परेको छ । यसरी हिनामिना गरेको भनी दाबी लिने पक्षले समयमा नै कल्पना के.सी. ले गरेको कारोबारबारे जानकारी राख्ने, राख्नुपर्ने र जानकारी पाउने अवस्था हुन्छ । उसमा पनि विदेशबाट कमाएर पठाएको रकमको र श्रीमती कल्पना के.सी. को कारोबारबारेमा आफूले विदेशबाट कल्पनासँग बेलाबखत बुझ्ने गरेको थिएँ भनी वादी खगेन्द्र खड्काले आफ्नो पुनरावेदनपत्रमा नै उल्लेख गरेका छन् । यसरी आफूले पठाएको रकम र श्रीमतीको कारोबार सम्बन्धमा सोधखोज गरिरहने यी वादीलाई दाबीको जग्गा बिक्री गरेको सम्बन्धमा उसैबखत थाहा नभएको भनी मान्न मिल्ने देखिँदैन । साबिक मुलुकी ऐन, लेनदेन व्यवहारको १० नं. को कानूनी व्यवस्था हेर्दा “अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडिदिँदा ऐनले आफूखुसी गर्न पाउने अरूको मन्जुरी लिनु नपर्नेमा बाहेक अरूमा एकाघरसँगका अंशियार सबै साक्षी बसेको वा निजहरूले मन्जुरीको लिखत गरिदिएको भए मात्र पक्का ठहर्छ । साक्षी पनि नबसेको र मन्जुरीको लिखत पनि नभए मन्जुर नहुनेले रजिस्ट्रेसन भएको मितिले एक वर्षसम्ममा थाहा पाएको पैंतिस दिनभित्र उजुर गर्‍यो र निजको मन्जुरी ठहरिएन भने निजको हकजति सो सम्पत्ति निजलाई फिर्ता गराइदिनुपर्छ”  भनी उल्लेख भएको पाइन्छ । उपर्युक्त कानूनी व्यवस्थाबमोजिम आफूखुस गर्न नपाउने सम्पत्ति बिक्री गर्दा अन्य अन्य अंशियारको मन्जुरी लिनुपर्ने वा लिखत साक्षीमा राख्नुपर्ने र मन्जुर नहुने वा साक्षीमा पनि नबस्ने व्यक्तिले एक वर्षभित्र थाहा पाएको ३५ दिनमा नालेस गरेमा निजको हकजति फिर्ता गराइलिन पाउने भन्ने देखियो । यी वादी खगेन्द्र खड्का रोजगारीको सिलसिलामा अमेरिकामा रहँदा प्रतिवादी कल्पना के.सी.ले घर व्यवहार चलाएको भन्ने 

देखिन्छ । छोरा छोरीको पालन पोषण तथा शिक्षा दीक्षा निजले नै गरेको भन्ने सम्बन्धमा माथि विवेचना भइसकेको छ । कल्पना के.सी. कृषि विकास बैंकको कर्मचारी भएको र निजले घर जग्गाको कारोबार गर्ने गरेको भन्नेसमेत देखिन्छ । वादी खगेन्द्र खड्काले कमाएर पठाएको रूपैयाँबाट दाबीको घर जग्गा कल्पनाको नाममा खरिद गरेको देखिने वस्तुनिष्ट र निश्चयात्मक प्रमाण वादीले पेस गर्न सकेको 

देखिँदैन । वादीको समेत हक भएको जग्गा प्रतिवादी कल्पना के.सी.ले राजीनामा लिखत गरेको भए वादीले लेनदेन व्यवहारको १० नं.बमोजिम निर्दिष्ट हदम्यादभित्र नालेस गर्न सक्नुपर्नेमा तोकिएको हदम्याद व्यतीत भएपश्चात् मिति २०६८।०३।०७ मा नक्कल सारी थाहा पाएको भनी लाग्नै नसक्ने संशोधित किर्ते कागजको १८ नं.बमोजिमको हदम्याद देखाई नालेस गरेको अवस्था देखिँदा दाबीबमोजिम लिखत जालासाजी घोषित हुनुपर्ने भन्ने पुनरावेदक वादीको जिकिर कानूनसम्मत देखिएन ।

७. यसर्थ, माथि विवेचित आधार, कारणबाट वादी दाबी नपुग्ने ठहर गरेको सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने गरी उच्च अदालत पाटनबाट मिति २०७३।०९।११ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी कल्पना के.सी.ले गरिदिएको मिति २०६६।०४।२८ को राजीनामा लिखतलाई जालसाजी घोषित गरिपाउँ भन्ने पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको विद्युतीय प्रति अपलोड गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू । 

 

उक्त रायमा सहमत छु । 

न्या.डा.कुमार चुडाल

इजलास अधिकृत:- लालबहादुर कार्की

इति संवत् २०७९ साल चैत १७ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु