निर्णय नं. १५५६ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

निर्णय नं. १५५६ ने.का.प. २०३९ अङ्क ५
फुलबेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हेरम्बराज गुरुघराना
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३७ सालको रि.फू नं. ४६
आदेश भएको मिति : २०३९।५।२९।३ मा
निवेदिका : का.जि.बसन्तपुर बस्ने केशवकुमारी शाह समेत
विरुद्ध
विपक्षी : का.जि.भगवनस्थान गा.पं.वडा नं.२ बस्ने,सु.बे.गोविन्दबहादुर लामिछाने
विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ
(१) कुनै पनि अधिकार प्राप्त निकायले निर्णय गर्दा जुन कुराको दावी उजुरवालाले लिएको छ सोही कुरामा सीमित रहेर निर्णय गर्नु पर्छ । वादी दावी भन्दा बाहिर गई गरिएको निर्णयलाई स्वीकार योग्य मान्न सकिदैंन ।
(प्रकरण नं. ११)
(२) सनदले प्रदान गरेको अधिकार क्षेत्र भन्दा बढी अधिकार प्रयोग गरेको देखिन आएकोले उक्त विषयमा अधिकार क्षेत्र नाघी निर्णय गरेको देखिन्छ । तसर्थ पशुपतिनाथ अमालकोट कचहरिले ०३१।८।६ मा विवादको घर जग्गा ओमकारनाथका नाउँमा लगत कस्ने गरी गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. १२)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
विपक्षी तर्फबाट : विद्वान अ.श्री शोभाकर उपाध्याय र वैतनिक अ.श्री विश्वराम खयरगोली
आदेश
न्या.धनेन्द्रबहादुर सिंह
१. सर्वोच्च अदालतबाट ०३७।१।२७ मा छिनिएको मिसिल झिकी त्यस अदालतम उपस्थित रहेका सबै न्यायाधीशहरुको फुलबेञ्चबाट दोहर्याई कानून बमोजिम गरी छिनी दिनु भन्ने श्री ५ महाराजाधिराजका विशेष जाहेरी विभाग मार्फत भई आएको हुकुम प्रमांगी बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ :
२. विपक्षी अमालकोट कचहरी कार्यालयमा सालको ठेक रु.१०४८।–बुझाउनु पर्ने सर्भे नापी अनुसार हुन आएको कि.नं.२१ को रोपनी ०–८–१ जग्गाको तत्कालिन जग्गाधनी श्री पशुपति अमालकोट र मोही ओमकारनाथ भएकोमा निज ओमकारनाथले मोहीको सोही मलाई गरी दिनु भएकोले घर समेत बनाई बसोबास भोग चलन गराई आएको ०२१ सालमा भूमिसुधार लागू हुँदा जोताहा अस्थाई निस्सा प्राप्त गरेकोमा उक्त ०–८–१ जग्गादेखि पश्चिमपट्टिको पर्ति जग्गामा बार बेर गरी आवाद गर्न खोज्नु भएको भनी विपक्षी चिरञ्जीवीप्रसादले श्री पशुपति अमालकोट कचहरीमा उजुर दिई अमालकोटबाट विपक्षी ओमकारनाथ र म निवेदकलाई झिकाईएकोमा मोही मेरै नाउँमा कायम हुनु पर्ने मेरो प्रतिवाद भएकोमा अमालकोटबाट उक्त ०–८–१ जग्गा साविक मोही ओमकारनाथका नाउँमा सलामी लिई नापी भएका सालदेखिको भू.बहाल बर्ष १ को रु.५।३० ले हुन आउने रकम आम्दानी बाँधी ओमकारनाथका नाउँमा लगत कसी दिने र आवाद गर्न नहुने जग्गामा आवाद गर्ने गोविन्दबहादुरलाई रु.५।–दण्ड गरी दिने समेत गरी ०३१।८।६ मा निर्णय भयो । प्रस्तुत मुद्दा हेर्ने अधिकार पशुपति अमालकोटलाई छैन । वादी दावी भन्दा बढ्ता गई निर्णय गरिएको छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ तथा नियम ६ समेतद्वारा मोहीको हक प्राप्त म निवेदकलाई अधिकार क्षेत्र नै नभएको कचहरीले दावी भन्दा बाहिर गई गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउा भन्ने समेत सु.वे.गोविन्दबहादुरको निवेदन ।
३. विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि पेशगर्नु भन्ने डि.बे.को ०३१।१२।८।६को आदेश।
४. अमालकोट कचहरीको दर्ताको भ.सु.नापीबाट ठहर भएको कि.नं.८१ को को ०–८–१ जग्गाको अघिदेखि दर्तावाला मोही ओमकारनाथले कमाई आएको भू.सु.नापी हुँदा मोही महलमा विपक्षीले आफ्नो नाम उल्लेख गर्दैमा निजको जोताहा हक सदर नहुने । उजुरी अनुसार विपक्षीले पर्ति जग्गा कमाई खाएको अपराध टुलुटुलु हेरी बस्नु १८७० को लाल मोहर र १९७४ को सनदले प्राप्त अधिकारको हनन् र कर्तव्यको दुरुपयोग हुने हुँदा चिरन्जीवीप्रसादको उजुरी बमोजिम कारवाई निर्णय गरेको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत अमालकोट कचहरी ।
५. ०१९।२० सालमा विपक्षी गोविन्दबहादुर ओमकारनाथको घरमा डेरा गरी बस्न आउनु भयो र क्रमशः एक दुई बर्षको फरक पारी ओमकारनाथकी बहिनी, छोरा परलोक हुनु भयो र ०२१।२२ सालमा नापीमा सो घर नापी गराउन असफल भएपछि विपक्षीले उपयुक्त पर्ति बाँझो गुठी जग्गा ०२३ सालतिर घर बनाउन जफत, मिचाई गर्नु भएकोले श्री पशुपतिनाथ अमालकोटमा मैले जाहेर गर्दा अवैध काम गरे वापत पैला पटक नसिहत दिई ०२४।५।८ मा सजाय भागी ठहर्नु भयो । फेरि ०२९ साल तिर उक्त पर्ति जग्गा बारबेर गरी घर बनाउन खोज्नु भएको हुँदा मैले पुनः अमालकोटमा उजुर गर्दा ०३१।८।६ मा दोश्रो पटक पनि सजाय भागी बनाई रु.५।–जरिवाना गरी पर्चा खडा भएको हुँदा आफ्नो हक अधिकारै नभएको व्यक्तिले धारा ७१ अन्तर्गत रिट क्षेत्रमा प्रवेश गर्न नसक्ने हुँदा रिट निवदेन खारेज गरी पाउँ भन्ने समेत चिरञ्जिवीप्रसाद गिरी ।
६. निवेदनमा गुठी संस्थानले यो यति कुरामा यसो गरे भनी किटानी साथ दावी लिई निवेदन गर्न नसकेको र आमकोट कचहरी तालकुको जग्गा जमीनमा गुठी संस्थानबाट कुनै कारवाई नहुने हुँदा रिट निवदन खारेज गरी पाउँ भन्ने गुठी संस्थान ।
७. तत्कालिन नियम कानून बमोजिम पशुपतिनाथको गुठी पर्ति जग्गा १९८३।८४ साल तिर श्री पशुपतिनाथ अमालकोट कचहरीबाट आवाद गरी घर बनाउन स्वीकृति पाई उक्त सालदेखि नै तिरो भरो चलाई मेरो नाममा दर्ता भएकोले घरबास गरी आज तक तिरो भरो मैले नै गरी आएको सहोदर बैनी र छोरालाई घरमा राखेको थिएँ । ०१९।२० सालमा गोविन्दबहादुरलाई डेरा गरी बस्न दिएको, ०२२ सालमा नापीमा आफ्नो नाम लेखाउनु भएछ । उक्त मेरो नामको घर जग्गा ०२२ सालको नापीमा भगवानस्थान आ.गा.पं.वडा नं.२ कि.नं.८१ को क्षेत्रफल ०–८–१ ठहर भएको सो जग्गा आफ्नो बनाउने प्रयास असफल भएपछि ०२३ साल तिर बार बेर गरी घर बनाउन खोज्नु भएछ । निवेदकको दावी बमोजिम विपक्षीलाई मोहीको सोही भनी कुनै किसिमले जग्गा छोडेको छैन । पशुपति अमालकोटको निर्णय कानून अनुरुप छ विपक्षीको कुनै हक अधिकार हनन् भएको छैन भन्ने समेत ओमकारनाथ भन्ने अभयानन्द ढुंगाना ।
८. निवदेक गोविन्दबहादुरले प्राप्त गरेको भन्ने ४ नं. जोताहा अस्थायी निस्सा र कि.नं.८१ को क्षेत्रीय किताबमा किसानको महलमा सुवेदार गोविन्दबहादुर लामिछानेको नाउँ उल्लेख भई घर जग्गाको तिरो रु.१।४८ लगेको जग्गा जनिएको छ । विवादास्पद घर जग्गा निवेदकको नाममा दर्ता नभएको, निजले तिरो बुझाएको रसिद भरपाई पनि दाखिल गर्न नसकेकोले सो घर जग्गामा निवदकको हकदैया भएको देखिएन । हकदैया नभएको सम्पत्तिको सम्बन्धमा हक प्रचलन गर्न नमिल्ने हुँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठर्हछ भन्ने समेत डिभिजनबेञ्चको ०३४।१।१०।६ को निर्णय ।
९. गोविन्दबहादुरका नाउँबाट दर्ता भई जोसमनी सन्त परम्परामा कायम हुनु पर्ने सत्य धर्म कुटीलाई यिनै गोविन्दबहादुरका नाउँमा अभयानन्द भन्ने का.जि.महांकाल बस्ने ओमकारनाथका नाउँमा दर्ता हुनु पर्ने भन्ने उजुर आई कारवाई हुँदा यो मठ जोसमनी सम्प्रदायले भन्ने नदेखिएकोले ओमकारनाथका नाउँमा दर्ता कायम रहन गएको र यस कचहरीले गरेको निर्णय सर्वोच्च अदालतले पनि सदर गरी फैसला समेत भई सकेकोले सर्वोच्च अदालतको निर्णय बदर गर्न यस कचहरीलाई अधिकार नभएकोले यो मठ जोसमनी सम्प्रदायका नाउँमा कायम राखी मठ सञ्चालकबाट भू–बहाल सम्म लिने व्यवस्था गरी पाउँ भन्ने समेत पशुपतिनाथ अमालकोटको र सोही व्यहोराको केशवकुमारी शाह समेतको विन्तिपत्र परी बक्स भई आएको हुकुम प्रमांगी बमोजिम फुलबेञ्च समक्ष पेश हुँदा पुशपतिनाथ अमालकोट कचहरीको उक्त ०३१।८।६ को पर्चा बदरभागी छ भनी सु.बे.गोविन्दबहादुरले यिनै जोहेरवाला पशुपति अमालकोट कचहरी समेत उपर रिट नं.१४०५ को रिट निवदेन दर्ता गरी कारवाई चलाएको पनि रहेछ । उक्त रिट निवदनमा विवादास्पद घर जग्गा निज सु.बे.गोविन्दबहादुरको नाउँमा दर्ता नभएकोले समेत निवेदकको हकदैया भएको देखिन्न । हकदैया नभएको सम्पत्तिको सम्बन्धमा हक प्रचलन गर्न नमिल्ने भनी ०३४।१।१० मा उक्त रिटमा डिभिजनबेञ्चबाट आदेश भएको समेत देखिन्छ । जोसमनी सम्प्रदायको यो जग्गा हो वा होइन भन्ने कुराको सर्वोच्च अदालतबाट निर्णय भएको देखिँदैन पशुपतिनाथ अमालकोटले मुद्दा हेर्ने बारेको अख्तियारी बेञ्चको समक्ष झिकाई हेर्दा अख्तियार भित्रको हो भनी अकालकोटले गरेको निर्णयको औचित्यमा विचार गर्न सम्बन्धित व्यक्तिहरुको यो पुनरावेदन वा फिरादपत्र परेको देखिएन । तसर्थ यस जाहेरी र त्यसको साथ साथैमा रहेको केशवकुमारी शाह समेतको निवेदनपत्रबाट समेत केही कारवाई गर्नु पर्ने देखिन आएन भन्ने समेत फुलबेञ्चको ०३७।१।२६।६ को निर्णय ।
१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश भई निवेदिका केशवकुमारी शाहको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुमन्द रेग्मी, गुठी संस्थानको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सोभाकर उपाध्याय र वैतनिक अधिवक्ता श्री विश्वराम खयरगोलीको ०३९।५।१५।२ मा बहस सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दा निर्णय तर्फ विचार गर्दा बक्स भई आएको हुकुम प्रमांगीमा व्यहोरा साँचो भए ०३७।१।२७ मा त्यस अदालतबाट छिनिएको उक्त रिट निवेदन सम्बन्धी मिसिल झिकी त्यस अदालतमा उपस्थित रहेका सबै न्यायाधीशहरुको फुलबेञ्चबाट दोहर्याई कानून बमोजिम छिनी दिनु भन्ने व्यहोरा परेको देखियो ।
११. कुनै पनि अधिकार प्राप्त निकायले निर्णय गर्दा जुन कुराको दावी उजुरवालाले लिएको छ सोही कुरामा सीमित रहेर निर्णय गर्नु पर्छ । वादी दावी भन्दा बाहिर गई गरिएको निर्णयलाई स्वीकार योग्य मान्न सकिँदैन । चिरञ्जिवी गिरीले पशुपतिनाथ अमालकोट कचहरीमा भगवानस्थान आदर्श गाउँ पञ्चायत वडा नं.२ भुराङखेलको पूर्व ओमकारनाथको घर जग्गा पश्चिम गौशालाबाट चावहिल जाने मूल सडक उपर मास्टर चिरञ्जिवीको घर जग्गा दक्षिण कृष्णमणीको घर जग्गा । यति ४ किल्ला भित्रको पशुपतिनाथ अमाल गुठीको अन्दाजी १०।१२ आना पर्ति जग्गामा ओमकारनाथको घरमा डेरा गरी बस्ने गोविन्दबहादुर समेतले निलकाँडाको बारबेर गरी आवाद गर्न लागेकोले पर्ति जग्गाको बारबेर उखेली सजाय समेत गरी पाउँ भनी उजुर दिएको । सो उजुरीको कुरामा सीमित रही निर्णय गर्नु पर्ने हुन्छ । तर, प्रस्तुत मुद्दामा सो परिधी नाघी ओमकारनाथका नाउँमा लगत कस्ने गरी श्री पशुपतिनाथ अमालकोट कचहरीबाट निर्णय गरेको देखिन्छ ।
१२. मुख्य कुरा उक्त अमालकोट कचहरीको मिसिल हेरिएमा रु.५।३० भू–वहाल लाग्ने जग्गा ओमकारनाथका नाउँमा लगत कसी दिने भन्ने ठहर भएको देखियो । अमालकोट कचहरीले आफूलाई मुद्दा हेर्ने सम्बन्धमा भएको अधिकार भनी देखाएको देउपाटन अमाल समेतका नाउँको १९७४।११।६।१ को सनदबाट पनि झगडा मुद्दा हेर्ने विषयमा ५०। रु.सम्मको विगोको मुद्दा हेर्न भन्ने भएको । माथि लेखिए बमोजिम तिरो रु.५।३० को जग्गाको अ.बं.७४ नं.बमोजिम ८८ रुपैयाँ ८० पैसा मोल बिगो हुने हुनाले उक्त सनदले प्रदान गरेको अधिकार क्षेत्र भन्दा बढी अधिकार प्रयोग गरेको देखिन आएकोले उक्त विषयमा अधिकार क्षेत्र नाघी निर्णय गरेको देखिन्छ। तसर्थ पशुपतिनाथ अमालकोट कचहरीले ०३१।८।६ मा विवादको घर जग्गा ओमकारनाथका नाउँमा लगत कस्ने गरी गरेको निर्णय सम्म उत्पे्रषणको आदेशद्वारा बदर हुन्छ । डिभिजनबेञ्चले ०३४।१।१०।६ मा र मिति ०३७।१।२७ मा फुलबेञ्चले रिट निवेदन खारेज गरेको मिलेन ।
हामीहरु सहमत छौं ।
न्या.नयनबहादुर खत्री, न्या.बासुदेव शर्मा,न्या.शुरेन्द्रप्रसाद सिंह, न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
श्री पशुपतिनाथ अमालकोटबाट निर्णय हुँदा दावी परेको भन्दा बढी कुरामा ठहर गरेको कारणले
उक्त निर्णय पर्चा बदर हुन्छ ।
न्या.श्री हेरम्बराज
हामीहरु सहमत छौं ।
न्या.गजेन्द्र केशरी बास्तोला
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०३९ साल भाद्र २९ गते रोज ३ शुभम् ।