निर्णय नं. ४२७५ - उत्प्रेषण

निर्णय नं. ४२७५ ने.का.प. २०४८ अङ्क २, ३, ४
एक न्यायाधीशको इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०४७ सालको रिट नं. १३९३
आदेश भएको मिति : २०४८।१।१७।३ मा
निवेदक : मोरङ, टंकीसुनवारी गा.वि.स.वा.नं. ९ बस्ने शनिलाल माझी थारु
विरुद्ध
विपक्षी : पूर्वाञ्चल क्षेत्रीय अदालत, धनकुटासमेत
विषय : उत्प्रेषण
(१) मोहीले जग्गाधनीलाई कानुनले निर्दिष्ट गरेको म्यादभित्र कूतबाली नबुझाएको कूतबाली बुझाएको छु भन्ने जिकिरसम्म लिन नसकेको, जग्गाधनी आफूले म्याद भित्र प्राप्त गर्नुपर्ने कूतबाली प्राप्त गर्न सदैव न्यायिक निकायको शरणमा गइरहन पर्ने स्थिति विद्यमान रहे भएको देखिन आउँदा २०४५ सालको कूतबाली जग्गाधनीलाई निवेदक मोहीबाट भराई मोहीहरुबाट समेत निष्काशन हुने ठहराएको भूमिसुधार कार्यालयको निर्णयलाई सदर गरेको अञ्चल अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी परेको निवेदनमा अनुमति दिन नमिल्ने भनी गरेको क्षेत्रीय अदालतको (साविक पेज नं. १३५) आदेश कानुनसंगत नै देखिँदा यसबाट निवेदकको मौलिक हकमा आघात परेको नदेखिने ।
(प्रकरण नं. ६)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारी
आदेश
न्या.सुरेन्द्रप्रसाद सिंह
१. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत रही पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य, जिकिर एवं निर्णय आदेश यस प्रकार छ ।
२. जिल्ला मोरङ अमाही इकाई गाउँको कि.नं. ९५ को, अभिनारायण नाम दर्ताको ज.वि. १–०–० को म मोही रहे भएकोमा विवाद थिएन । २०४५ सालको कूतबाली दिलाई भराई, मोही निष्काशन गरी पाउँ भनी विपक्षीबाट भूमिसुधार कार्यालय मोरङमा उजूरी परेको रहेछ । २०४४ सालको कूतबाली दिलाई भराई पाउँ भनी विपक्षीले म उपर दिनु भएको मुद्दामा, मोही निष्काशन नहुने ठहरी ०४६।९।१३ मा फैसला भई अन्तिम रुपमा रहेको छ । यसै अवस्थामा भूमिसुधार कार्यालयमा परेको उजूरीमा कूतबाली दिन मञ्जूर छु भनी प्रतिवाद गरेको थिएँ । यतिकैमा अन्य थप प्रमाणहरु केही पनि बुझ्दै नबुझी, म्यादभित्र कूतबाली नबुझाएको धरौटी पनि नराखेको हुँदा, २०४५ सालको कूतबाली जग्गाधनीलाई बुझाई मोही निष्काशन समेत हुने ठहर्छ, भनी उक्त कार्यालयबाट ०४६।११।२३ मा फैसला भयो । उक्त फैसला बदर गरी पाउँ सो परेको पुनरावेदनमा सोही निर्णयलाई सदर कायम राखी कोशी अञ्चल अदालतबाट फैसला भएकोमा, पुनरावेदनको लागि अनुमति पाउँ भनी परेको निवेदनमा, अनुमति प्रदान गर्न मिलेन भनी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट आदेश भएको छ ।
३. कूत दिलाई मोही निष्काशन विषयमा परेको उजूरीमा छानविन हुँदा, गर्दा मोही निष्काशन गर्ने व्यवस्था तजबिजी हो, यस्तो विवेकीय शक्तिको प्रयोग गर्दा, वास्तविक तथ्यलाई पनि विशेष ध्यान दिनु पर्दछ । वास्तविक स्थिति अवस्थालाई ध्यानमा नै नराखी केवल १ वर्षको कूतबाली नबुझाएको भन्ने आधार प्रमाणबाट कूतबाली बुझाई मोही समेत निष्काशन हुने ठहराएको निर्णयबाट मेरो साम्पत्तिक हकमा आघात पर्न गएको छ । ०४६।११।२३ को भूमिसुधार कार्यालयको निर्णय, त्यसलाई सदर गरेको कोशी अञ्चल अदालतको ०४७।७।१९ को फैसला र पू.क्षे.अ.को ०४७।१०।२५ को आदेश समेत, उत्प्रेषणको आदेशद्वारा बदर गरी उक्त निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी भूमिसुधार कार्यालयका नाउँमा अन्तरिम आदेश समेत जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन जिकिर रहेछ ।
४. नियम बमोजिम पेश भई आएकोमा निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारीले गर्नुभएको बहस जिकिर समेत सुनियो ।
५. निवेदक माग बमोजिम विपक्षीहरुबाट लिखितजवाफ मगाउन पर्ने हो होइन भनी हेर्दा, यसमा अभिनारायण तावेदार नाम दर्ताको जि.मोरङ अमाही इकाई गा.पं. वार्ड नं. ७, कि.नं. ९५ को ज.वि. १–०–० जग्गाको, यि निवेदक मोही भएको कुरामा तत्काल विवाद रहेको देखिन आएन । निवेदक मोहीले २०४५ सालको कूतबाली जग्गाधनीलाई कानुनले निर्देशित म्याद भित्र नबुझाएको हुँदा कूतबाली भराई मोहीबाट समेत निष्काशन गरी पाउँ भनी अभिनारायण तावेदारले दिएको उजूरीमा, जग्गाधनीलाई म्याद भित्र कूतबाली नबुझाएको कुरामा सावित भई यी निवेदकले प्रतिवाद गरेको देखिन्छ । २०४४ सालको यही विवादित जग्गाको कूतबाली नदिएको, नबुझाएको विषयमा पनि मोरङ जिल्ला अदा (साविक पेज नं. १३६) लत समक्ष फिराद दायर भएको, कूतबाली निवेदकले जग्गाधनीलाई बुझाउनु पर्ने, मोही निष्काशन भने नहुने गरी उक्त अदालतबाट निर्णय भएको पाइन्छ । यसबाट निवेदक मोहीले जग्गाधनी प्रति पूरा गर्नुपर्ने कानुनी कर्तव्य बारम्बार पूरा नगरेको स्पष्ट हुन्छ । मोहीले कूतबाली नबुझाएको भन्ने विषयमा उजूरी परी कारवाही हुँदा म्याद भित्र कूतबाली नबुझाएकोमा सम्बन्धित ठाउँमा धरौट पनि नराखेको भए तोकिएको अधिकारीले मोही निष्काशनको आदेशसमेत दिनसक्ने कानुनी व्यवस्था भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ (१) मा रहेको पाइन्छ ।
६. निवेदक मोहीले जग्गाधनीलाई कानुनले निर्दिष्ट गरेको म्याद भित्र कूतबाली नबुझाएको, कूतबाली बुझाएको छु भन्ने जिकिरसम्म लिन नसकेको, जग्गाधनी आफूले म्यादभित्र प्राप्त गर्नु पर्ने कूतबाली प्राप्त गर्न सदैव न्यायिक निकायको शरणमा गइरहन पर्ने स्थिति विद्यमान रहे भएको देखिन आउँदा २०४५ सालको कूतबाली जग्गाधनीलाई निवेदक मोहीबाट भराई मोही हकबाट समेत निष्काशन हुने ठहराएको भूमिसुधार कार्यालय मोरङको ०४६।११।२३ को निर्णयलाई सदर गरेको कोशी अञ्चल अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी परेको निवेदनमा अनुमति दिन नमिल्ने भनी गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको आदेश कानुनसंगत नै देखिँदा यसबाट निवेदकको मौलिक हकमा आघात परेको देखिन आएन । अतः निवेदक माग बमोजिम विपक्षीहरुबाट लिखितजवाफ मगाई रहन परेन । रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार गरी बुझाई दिनु ।
इतिसम्वत् २०४८ साल बैशाख १७ गते रोज ३ शुभम् ।