निर्णय नं. ११२३७ - अंश चलन

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
माननीय न्यायाधीश श्री नहकुल सुवेदी
फैसला मिति : २०७९।७।१८
०७३-CI-०५७३
मुद्दा:- अंश चलन
पुनरावेदक / प्रतिवादी : भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं.१५ बस्ने गणेशबहादुर फाँजु
विरूद्ध
प्रत्यर्थी / वादी : भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं.१५ बस्ने लक्ष्मीभक्त फाँजु
साहुले ऋण असुल भइसकेपछि आसामीको तर्फबाट ऋण चुक्ता गर्न जाने अंशियारले भनेबमोजिम तमसुकमा कैफियत बेहोरा लेखिदिन सक्ने तथ्यलाई न्यायको रोहमा सजगतापूर्वक हेर्नुपर्ने । प्रतिवादीले सगोलको सम्पत्तिबाट ऋण तिरेका नभई निजी आर्जनबाट तिरेको भन्ने स्वतन्त्र प्रमाणको अभावमा सगोलमा पिताको नाममा लिएको ऋण सगोलको पैतृक सम्पत्तिबाटै तिरे बुझाएको भनी मान्नुपर्ने । घरसारको बन्डापत्रबमोजिमको सम्पत्ति दाखेल खारेज नभई बन्डापत्र कार्यान्वयन नै नभएको र सोही कारण वादी प्रतिवादीबिच अंशबन्डा भएको मान्न नसकिएको अवस्थामा मानो छुट्टिएको मितिपूर्व पिताका नाममा भएको ऋण चुक्ता गरी निखनी आएको सम्पत्ति एकजना अंशियारले मात्र पाउने भन्नु न्यायोचित नदेखिने ।
(प्रकरण नं. ४)
मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. ले मानो नछुट्टिई सँगै बसेको अंशियारहरूबिच सगोलको सम्पत्तिबाट बढेबढाएको सगोलको आर्जन मात्र बन्डा लाग्ने । मानो छुट्टिई आ-आफ्नो खतीउपती हुने गरी भिन्न बसेका अंशियारहरूको हकमा मानो छुट्टिएपछि कमाएको धन वा लगाएको ऋण अंशियारहरूलाई बन्डा लाग्न नसक्ने ।
(प्रकरण नं. ५)
पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल र श्री युवराज भण्डारी तथा विद्वान् अधिवक्ता श्री गंगाबहादुर फाँजु
प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा र श्री देवीप्रसाद दाहाल तथा विद्वान् अधिवक्ता श्री सपना सुवेदी
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू फैसला गर्ने:
मा. जि. न्या. श्री बालेन्द्र रूपाखेती
भक्तपुर जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:
मा. न्या. श्री टेकराज नेपाल
मा. न्या. श्री शारङ्गा सुवेदी
पुनरावेदन अदालत पाटन
फैसला
न्या. नहकुल सुवेदी : साबिक न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने भई प्रतिवादीको पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:-
संक्षिप्त तथ्य
बाबु हर्षबहादुर फाँजु र आमा दातीमाया फाँजुका ३ छोराहरूमा जेठो विपक्षी गणेशबहादुर, माइलो म लक्ष्मीभक्त र कान्छो पानबहादुर भएकोमा बाबु हर्षबहादुर र आमा दातीमायाको तथा कान्छो भाइ पानबहादुर अविवाहित अवस्थामा नै परलोक भएको, हामी वादी प्रतिवादीबिच हालसम्म अंशबन्डा नभई सगोलमा नै बस्दै आएको र बाबु आमा र भाइको मृत्युपश्चात् काजक्रियासमेत सगोलबाटै गरेको हो । सम्पूर्ण श्रीसम्पत्ति एकासगोलमा नै भएको कारण घर व्यवहार चलाउन असजिलो भएकोले रीतपूर्वक अंश भाग गरौँ भन्दा उल्टै गाली गलौज गरी धाक धम्की दिई इन्कार गरेकोले एकासगोलको सम्पूर्ण श्रीसम्पत्ति प्रतिवादीकै कब्जामा भएकोले उक्त सम्पत्तिको तायदाती फाँटवारी प्रतिवादीबाट दाखिल गराई उक्त सम्पत्तिलाई २ भाग लगाई १ भाग मेरो अंश भाग छुट्याई चलनसमेत चलाइपाउँ भन्नेसमेत बेहोराको लक्ष्मीभक्त फाँजुका तर्फबाट परेको फिराद दाबी ।
विपक्षीको पुस्तेवारी अपूर्ण छ । किनकि बाबु आमा हर्षबहादुर र दातीमायाका ४ सन्तानमा, जेठो गणेशबहादुर, माइलो लक्ष्मीभक्त हो भने कान्छो पानबहादुर अविवाहित अवस्थामा नै मिति २०६२।१२।३ मा र बाबु, आमाको पनि परलोक भएको, छोरी सन्तमाया अंशबन्डा हुँदा अविवाहित रहेको, हाल विवाहित हुनुहुन्छ । हामीहरूबिच अंशबन्डा नभएको भन्ने विपक्षीको दाबी झुठ्ठा हो । माता दातीमायाको २०२२ सालमा परलोक भएपश्चात् पिता हर्षबहादुर जीवितै अवस्थामा हुँदा गणेशबहादुर, लक्ष्मीभक्त र पानबहादुरबिच मिति २०२४।९।१०।२ मा जियजियै अंशबन्डा भएको र बहिनी सन्तमाया फाँजुलाई जिउनीबापत दुवाकोट पञ्चायत वडा नं. १(घ), कि.नं.७४३ को जग्गा छुट्याएको पछि निजको विवाहपश्चात् उक्त जिउनी भाग बाँकी अंशियार तथा पैतृक सम्पत्तिमध्येको पुर्ख्यौली घर हर्षबहादुरको जिम्मामा रहने, पिताको मृत्युपछि निजको जिम्मामा भएको सम्पत्ति अंशियार छोराहरूले बराबर भाग पाउने र सो बन्डापत्रअनुसार नै रू.१,५५०।- साहु तिरी गणेशबहादुरले खानु भनी पिता हर्षबहादुरको नाममा ज.ध.कायम भ.पु.जि.कटुन्जे पञ्चायत वडा नं. ७(ख), कि.नं.३३१, ३३२, ३३३ र ३३४ को जग्गाहरूमा ऋण तिर्ने दायित्व भई सोहीबमोजिम २०२८ सालमा साहु तिरी उक्त जग्गा मेरो हकभोगमा आएको हो । विपक्षीको विवाह खर्चको ऋण बन्डापत्रबमोजिम मैले २०२८ र २०३३ सालमा मात्र उक्त ऋण चुक्ता गरेको, उक्त ऋण लिँदाको लिखतमा विपक्षीले समेत सहीछाप गरेको छ । उक्त बन्डापत्रबमोजिम २१ नं. नखेल मौजाको पञ्चायत वडा नं.९(ख), कि.नं.५५२ को जग्गा पनि मेरो नाममा नामसारी भइसकेको छ । मिति २०२४।९।१० सालमा विपक्षीसमेतले सहीछाप गरी रीतपूर्वक अंशबन्डा भइसकेको अवस्थामा विपक्षीले मिति २०६६।५।१९ मा भक्तपुर न.पा. ४(क), कि.नं.५४९ र ६२४ तथा भक्तपुर नगरपालिका १७(घ), कि.नं.१७२ को जोत नामसारी लागि भू.सु.का. भक्तपुरमा निवेदन गरेको र मेरो हक भोगको भक्तपुर नगरपालिका १७(घ), कि.नं.१७९ को जग्गा नामसारीको लागि मिति २०६५।२।१२ मा ज.ध.को मन्जुरीसाथ भू.सु.का.मा निवेदन परी कारबाहीयुक्त अवस्थामा तामेलीमा रहेको स्थितिमा छ । मुद्दा पर्नुअघि विभिन्न मितिमा परेको निवेदन बेहोरामा बन्डापत्रको मितिसमेत उल्लेख गरी बन्डापत्रलाई पूर्ववत् स्वीकार गरी आएको हुँदा एक पटक अंशबन्डाको लिखत खडा गरी अंश लिनु दिनु गरिसकेपछि दोहोरो अंशमा दाबी गर्न नपाइने हुँदा विपक्षीको फिराद दाबी खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिउत्तर पत्र ।
प्रतिवादीबिच कानूनबमोजिमको अंशबन्डा हुन बाँकी नै रहेको देखिन आएकोले वादी प्रतिवादीबाट पेस हुन आएका घर जग्गामध्ये मोही नामसारी हुन बाँकी रहेको हकमा कानूनबमोजिम मोही नामसारी हुने भएमा नामसारी भई मोही हिस्सा छुट्टिएका बखत, वादी प्रतिवादीको नाउँमा मोही जनिएका जग्गाको हकमा समेत मोही हिस्सा प्राप्त भएका बखत र दर्ता बाँकी जग्गाका हकमा कानूनबमोजिम दर्ता हुने भएका बखत बन्डा हुने गरी अन्य बाँकी घर जग्गाको हकमा वादी प्रतिवादीहरू दुई अंशियार, मात्र रहेको हुँदा वादी लक्ष्मीभक्त फाँजुले २ भागको १ भाग अंश छुट्याई लिन पाउने ठहर्छ भन्ने सुरू भक्तपुर जिल्ला अदालतको मिति २०७०/१०/६ को फैसला ।
मेरो पति लक्ष्मीभक्त फाँजुले तायदाती फाँटवारी दिँदा अंशबन्डा नलाग्ने भनी जिकिर लिई मेरो नाउँमा दर्ताको कित्ता नं. ८४ को घर जग्गा देखाई फाँटवारी पेस गरेकोमा सुरू अदालतबाट मलाई अ.बं. १३९ बमोजिम बुझी मेरो बयान बेहोरा लेखाउँदा कि.नं. ८४ को घर जग्गा बन्डा लाग्ने होइन भनी सो निजी आर्जनको भएकोले उक्त कित्ता बन्डा नलाग्ने भनी मेरो स्रोत प्रमाण देखाई बयान गरेको अवस्थामा र वादी प्रतिवादीले मेरो दाबीलाई अन्यथा नमानी स्वीकार गरिरहेको अवस्थामा मेरो सबुद प्रमाणका कागजातहरूको समुचित मूल्याङ्कन र विश्लेषण नगरी हचुवाको भरमा प्रचलित कानूनको प्रतिकूल हुने गरी र प्रतिपादित नजिर सिद्धान्तसमेतको विपरीत हुने गरी भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा बदर भागी छ । मूल अंशियार जेठाजु गणेशबहादुर फाँजुसँग मेरा पति लक्ष्मीभक्त फाँजु मिति २०२४।९।१० मा मानो चुल्हो छुट्टिई अलग भिन्न भएपछि मेरो पतिले भक्तपुर नगरपालिका वडा नं. १५ इटाछें टोल बस्ने रामकृष्ण भुजुसँग रू.३००१।– मा तत्कालीन भूमि प्रशासन कार्यालयबाट र.नं. ५२४ मिति २०२८।१।२६ को फार्छे पत्र लिखतबाट प्राप्त गरेको हो, २०४१।०४२ सालमा सहरी क्षेत्रको नापी नक्सा भई उक्त घर जग्गा भ.पु.जि.भक्तपुर नगरपालिका वडा नं. १५ कि.नं. ८४ को क्षे.फ. ०-०-२-२ हालको कित्ता कायम भएको अवस्थामा वादी प्रतिवादीबिच बन्डा लाग्ने ठहर गरेको सो फैसला सो हदसम्म नमिली त्रुटिपूर्ण भएकोले दाबीको जग्गा बन्डा नलाग्ने गरी फैसला गरी सुपथ न्याय पाउँ भन्नेसमेत बेहोराको अ.बं. १३९ नं.बमोजिम बुझिएकी प्रतिवादी कृष्णमाया फाँजुको पुनरावेदन जिकिर ।
हालसम्म विधिपूर्वक अंशबन्डा नभएको ठहर गरी मिति २०२४।९।१० लाई मानो छुट्टिएको मिति कायम गरिएको छ । वादी प्रतिवादीबाट पेस गरिएको तायदाती फाँटवारीमा उल्लिखित घरजग्गाहरूमध्ये कि.नं. ८४ र १६७ को घर जग्गाबाहेक मोही नामसारी हुन बाँकी रहेको जग्गाहरूको हकमा कानूनबमोजिम नामसारी भई हक हिस्सा छट्टिएका बखत र दर्ता हुन बाँकी जग्गाहरूको हकमा दर्ता भएका बखत बन्डा हुने गरी फैसला भएको छ । अंशबन्डाको १८ नं. ले मानो नछुट्टिई सँगै बसेका अंशियारहरू हुन् भने अंशियारले बढाएको धन र लाएको ऋण धन सबै अंशियारालाई भाग बन्डा लाग्छ भन्ने कानूनी व्यवस्था भएको सोअनुरूप भएको छैन मानो छुट्टिई भिन्न बसेको वा खतीउपती आफ्नो आफ्नो गरी आफ्नो हिस्सासँग मात्र राखी खानु पिउनु गरेकोमा एकै ठाउँमा भए पनि मानो छुट्टी भिन्न भएको ठहर्याई प्रत्यर्थीसँग मानो छुट्टिई अलग भिन्न भएपछि दाबीको कि.नं. ८४ को जग्गा रामकृष्ण भुजुसँग रू. ३००१।- मा तत्कालीन भूमि प्रशासन कार्यालयबाट र.नं. ५२४ मिति २०२८।१।१६ मा फार्छे पत्र प्राप्त गरी २०४१।०४२ सालको नापी नक्सा भई कि.नं. ८४ को क्षे.फ. ०-०-२-२ भई मिति २०४२।६।२४ मा मेरी श्रीमती कृष्णमाया फाँजुका नाउँमा एकलौटी दर्ता प्रमाणित भएको उक्त घर जग्गालाई बन्डा नगर्नुपर्ने र प्रत्यर्थीको श्रीमती गोपाथकु फाँजुका नाममा दर्ता भएको कि.नं. १६७ को घर जग्गा कानूनबमोजिम मूल अंशियार वादी प्रतिवादीलाई अंश भाग ठहर गर्नुपर्नेमा सो नगरी भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त हदसम्मको फैसला मिलेको नहुँदा बदर गरी न्याय इन्साफ पाउँ भन्नेसमेत बेहोराको पुनरावेदक वादी लक्ष्मीभक्त फाँजुको पुनरावेदन जिकिर ।
पिताको जीवनकालमा मैले मोहीको हैसियतले जग्गा जोत कमोद गरी मोहियानी हकको प्रमाण पत्रसमेत पाई मेरो स्वआर्जनको मोहियानी हक भएको भक्तपुर जिल्ला नरेखल गा.वि.सं. वडा नं. ९(ख), कि.नं. ५५२ को जग्गाको मेरो मोही हकबाट प्राप्त भएको जग्गालाई समेत बन्डा गर्ने गरी भएको फैसला बेमनासिब र त्रुटिपूर्ण छ । कटुन्जे गा.वि.सं. वडा नं. ७(ख) कि.नं. ८३, १०४, ११३ दुवाकोट गा.वि.सं. वडा.नं. १(ख) कि.नं. १३१, १४१, १५८ १६३ ऐ. १(घ) कि.नं. १०४५ को जग्गामा पनि बन्डा लाग्ने होइन, उक्त जग्गाको हकै नभएका व्यक्तिको नाममा नामसारी भई उनाउ व्यक्तिको नाममा हक हस्तान्तरण भएकोमा सोउपर मुद्दा परी तहतह अदालतबाट अन्तिम फैसलाबमोजिम म पुनरावेदकका नाममा २०३९ सालमा मालपोत कार्यालयबाट दा.खा. खारेज भएको हो मानो छुट्टिएको मिति २०२४ सालमा बन्डापश्चात् मुद्दा मामिला म पुनरावेदकले एकलौटी बेहोरी २०३९ सालमा दा.खा. निर्णयले मेरो हक भएको हुनाले उक्त कित्ता जग्गाहरू बन्डा नलाग्नेमा सोसमेत बन्डा लाग्ने ठहर गरेको हदसम्मको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी मेरो प्रतिउत्तर जिकिरबमोजिमको फैसला गरी इन्साफ पाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी गणेशबहादुर फाँजुको पुनरावेदन जिकिर ।
भक्तपुर जिल्ला अदालतबाट वादी प्रतिवादी दुई अंशियार कायम गरी २ भागको १ भाग वादीले अंश पाउने ठहर्याई मिति २०७०।१०।६ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनबाट मिति २०७१।१२।१६ मा भएको फैसला ।
विपक्षी वादीले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी अंशमा दाबी लिई फिराद दायर गरेकोमा म निवेदक प्रतिवादीले मिति २०२४।९।१० मा घरसारमा बन्डा पत्र भई आ-आफ्नो भागशान्तिअनुरूप गरी अलगअलग व्यवहार गरी आएको भनी प्रतिउत्तर पेस गरेकोमा मिति २०२४।९।१० लाई मानो छुट्टिएको मितिसम्म कायम गरी बन्डा लाउने ठहर गरी भएको फैसला त्रुटिपूर्ण छ । यथार्थमा वादी प्रतिवादीका पिता हर्षबहादुरको जीवनकालमा सबै अंशियारबिच २०२४।९।१० गते कानूनबमोजिम बन्डापत्र खडा गरी सहीछापसमेत गरी जियजियैको अंशबन्डापत्र भएको हो । तत्काल सगोलमा भएको बन्डा गर्नुपर्ने सम्पूर्ण सम्पत्ति अंशीबिचमा बन्डा भइसकेकोमा त्यस्तो बन्डापत्र घरसारको भए पनि कानूनी मान्यता पाउने नै हुन्छ । अर्को कुरा बन्डापत्रमा उल्लेख भएको बेहोराअनुरूप नै पिताको अंशको सम्पत्ति पछि नामसारी दाखिला खारेजसमेत भइसकेको अवस्थामा अंशबन्डाको ३० नं. अनुरूप पुन: अंशबन्डा गर्नुपर्ने भन्न मिल्ने हुँदैन । विपक्षीलाई उक्त बन्डापत्र देखाई सुरू भक्तपुर जिल्ला अदालतसमक्ष मिति २०६९।८।१२ मा बयान गराउँदा उक्त बन्डापत्रलाई अन्यथा भन्न सकेका छैनन् । २०२४ सालको बन्डापत्र घरसारको भएको भए पनि सो बन्डापत्र मुलुकी ऐन सातौं संशोधन अर्थात् अंशबन्डाको ३० नं. ले कानूनी मान्यताविहीन हुन सक्तैन । यसर्थ पिता जीवित हुँदाकै अवस्थामा मिति २०२४।९।१० मा भएको बन्डापत्रबाट छुट्टिई भिन्न भएको अवस्थामा उक्त बन्डापत्रको न्यूनतम दृष्टिपात नगरी भएको सम्मानित पुनरावेदन अदालत पाटनसमेतको फैसला अंशबन्डाको ३० नं. को प्रतिकूल छ ।
२०२४ सालमा पिता जीवित छँदा नै पिताको जीवनकालमा भएको बन्डापत्रको कार्यान्वयनसमेत भइसकेको अवस्था छ । किनकि पिता हर्षबहादुरको परलोक भएपश्चात् पिताको अंश भागमा परेको खेत र घर तीन जना छोराहरूले बराबर पाउने भनी बन्डापत्रमा उल्लेख भएबमोजिम पिताको अंश भागमा परेको भक्तपुर नगरपालिका वडा नं. १७(ङ), कि.नं. १३४, १४९ र १७० को जग्गा पिताको परलोक भएपश्चात् विपक्षी तथा निवेदक प्रतिवादीसमेतका ३ छोराहरूको नाममा २०४२।२।३२ मा संयुक्त नामसारी दर्ता भएको छ । त्यसैगरी पिताको अंश भागमा परेको बन्डामा उल्लिखित स्ववासी घर पिताको परलोकपश्चात् नाप नक्सा भएकोले तीन जना छोराको नाममा भक्तपुर नगरपालिका वडा नं.१५ कि.नं ३४ को घर जग्गा दर्ता भएको छ । यस्तै गरी बन्डापत्रमा म निवेदक वादीको भागमा परेको ऋण तिरी खानु भनी उल्लेख भएको कटुन्जे वडा नं. ७(ख), कि.नं. ३३१ र ३३३ को जग्गा ऋण रू.१५५०।- तिरी निवेदकले हक प्राप्त गरेको हो । निवेदक वादीलाई २०२४ सालमा भाग लागेको ऋण तिरेको प्रमाणको मूल्याङ्कन नगरी भएको फैसला त्रुटिपूर्ण छ । यसका अतिरिक्त २०२४ सालकै बन्डापत्रमा सन्तमायाको जिउनी भागमा परेको भक्तपुर जिल्ला, दुवाकोट पञ्चायत वडा नं.१(घ), कि.नं. ७४३ को जग्गाको मोहियानी हकको जग्गा सन्तमायाको विवाहपश्चात् सबै अंशीले खाने भनी उल्लेख भएकोमा सन्तमायाको विवाह भएपछि ज.ध.ले बाँडफाँट निवेदन दिँदा बन्डापत्रसहित संयुक्त हुनुपर्ने दाबी भू.सु.समक्ष रहेको छ । यस प्रकार २०२४ सालको बन्डापत्रलाई अंशियारले स्वीकार गरी कार्यान्वयनसमेत भएको अवस्थामा सो बन्डापत्रलाई घरसारको संज्ञा दिई पुनरावेदन अदालत पाटनसमेतबाट भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३,५४ र अ.बं. १८४, १८५ समेतको प्रतिकूल छ ।
पिताको जीवनकालमा मैले मोहीको हैसियतले जग्गा जोत कमोद गरी मोहियानी हकको प्रमाण पत्रसमेत पाई मेरो स्वआर्जनको मोहियानी हक भएको भ.पु.जि.नंखेल गा.वि.सं., वडा नं. ९(ख), कि.न. ५५२ को जग्गाको मोहियानी हक बन्डा लाग्ने गरी भएको फैसला भु.सं.ऐन, २०२१ को दफा २५,२६ र अंशबन्डाको १८ नं.समेतको प्रतिकूल
छ । सम्मानित पुनरावेदन अदालत पाटनबाट भक्तपुर नगरपालिका वडा नं. १५ को कि.नं. १६७ को जग्गा दर्ता स्रेस्ता जनिई आएको बखत बन्डा लाग्ने भनी सुरू अदालतबाट भएको फैसलाबाट देखिएको भन्दै सो जग्गा बन्डा लाग्ने भनी तर्क गरी भएको फैसला त्रुटिपूर्ण छ । किनकि सुरू जिल्ला अदालतबाट उक्त कि.नं. १६७ को जग्गा बन्डा लाग्ने भनी फैसलामा उल्लेख नै छैन । जबकि उक्त कि.नं. १६७ बन्डा लाग्ने सम्पत्ति नै होइन । सुरू भ.पु.जि.अ. ले फैसलामा उल्लेख नै नगरेको कुरा सुरू फैसलामा देखिएको भनी भएको फैसला त्रुटिपूर्ण छ । अत उपर्युक्तानुसार पुनरावेदन अदालत पाटनसमेतको फैसला त्रुटिपूर्ण भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याउने निस्सा प्रदान गरी पुनरावेदन अदालत पाटनसमेतको फैसला उल्टी गरी प्रतिउत्तर जिकिरबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको गणेशबहादुर फाँजुले यस अदालतमा पेस गरेको निवेदन पत्र ।
यसमा, मिति २०२४/०९/१० को बन्डापत्रलाई मानो छुट्टिएको मितिसम्मलाई मान्यता दिएको तर बन्डापत्रमा अचल सम्पत्तिसमेत बन्डा गरेकोलाई मान्यता नदिनुपर्ने अन्य कानूनी आधार नभएको, साथै कि.नं.३३१ र ३३३ को जग्गा गणेशबहादुर फाँजुले ऋण तिरी खानु भन्ने कुरा बन्डापत्रमै उल्लेख भई सो निजले तिरिसकेको लिखत प्रमाण निजले मिसिल सामेल राखेको देखिएको अवस्थामा पनि उक्त कि.नं.का जग्गाहरूसमेत बन्डा गर्ने गरेको पुनरावेदन अदालत पाटनबाट मिति २०७१/१२/१६ मा भएको फैसलामा मुलुकी ऐन, अंशबन्डाको ३० नं.को व्याख्यात्मक त्रुटि तथा ने.का.प.२०४४ माघ महिना नि.नं.३२३८, पृष्ठ १०४७ मा प्रतिपादित सिद्धान्तसमेतको विपरीत भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेर्न निस्सा प्रदान गरिदिएको छ । प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भनी यस अदालतबाट मिति २०७३।०५।२० मा भएको आदेश ।
सुरू भक्तपुर जिल्ला अदालतले वादी दाबी र प्रतिउत्तर जिकिरबाट मुख नमिलेका कुराहरूमा जे जो बुझ्नुपर्ने प्रमाणहरू बुझी ती प्रमाणपत्रहरूको समुचित र यथोचित मूल्याङ्कन गरी वादी प्रतिवादीबिच मिति २०२४।९।१० लाई मानो छुट्टिएको मिति कायम गरी तायदाती फाँटवारी माग्ने आदेश गरी वादी प्रतिवादीबाट पेस भएको तायदाती फाँटवारी एवं उजुरी निवेदनमा परेको सम्पूर्ण घरजग्गामध्ये मोही नामसारी हुन बाँकी रहेको हकमा कानूनबमोजिम मोही नामसारी भई मोही हिस्सा छुट्टिएका बखत दर्ता बाँकी घरजग्गाहरूको हकमा कानूनबमोजिम दर्ता भएका बखत र अन्य बाँकी घरजग्गाको हकमा वादी प्रतिवादी र २ अंशियारबिच बराबर अंश भागबन्डा गरी वादीले २ भागको १ भाग अंश पाउने ठहर गरी मिति २०७०।१०।६ मा भएको सुरू फैसला नै सदर हुने ठहर गरेको पुनरावेदन अदालत पाटन (हालको उच्च अदालत पाटन) को मिति २०७१।१२।१६ को फैसलामा कुनै कानून र नजिरको त्रुटि विद्यमान नभएको उक्त फैसला न्याय तथा कानून दुवै दृष्टिकोणबाट मिलेको कानूनसङ्गत फैसला भएको र यस अदालतको मिति २०७३।५।२० को निस्सा प्रदान गर्ने आदेश गम्भीर रूपमा त्रुटिपूर्ण भएकोले विपक्षी प्रतिवादीको झुट्टा तथा बनावटी तथ्यमा आधारित निवेदन/पुनरावेदन जिकिर खारेज गरी उक्त सुरू फैसला नै सदर हुने ठहर गरेको पुनरावेदन अदालत पाटन (हालको उच्च अदालत पाटन) को फैसला नै सदर कायम गरी पूर्णरूपमा न्याय इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको लक्ष्मीभक्त फाँजुले यस अदालतमा पेस गरेको लिखित प्रतिवाद ।
यस अदालतको ठहर
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सुरू मिसिलसहितको पुनरावेदन पत्र अध्ययन गरी पुनरावेदक प्रतिवादी गणेशबहादुर फाँजुको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल र श्री युवराज भण्डारी तथा विद्वान् अधिवक्ता श्री गंगाबहादुर फाँजुले वादी प्रतिवादीबिच पिताकै जीवनकालमा २०२४ सालमा अंशबन्डा भई बन्डापत्रको कार्यान्वयनसमेत भइसकेको अवस्था छ । पिता हर्षबहादुरको भागमा परेको खेत र घर तीन जना छोराहरूले बराबर पाउने भनी बन्डापत्रमा उल्लेख भएबमोजिम २०२४ सालको बन्डापत्रमा पिताको अंश भागमा परेको भ.पु.न.पा. वडा नं. १७(ङ) कि.नं. १३४, १४९ र १७० को जग्गा पिता परलोक भएपश्चात् पुनरावेदक प्रतिवादीसमेतका ३ छोराहरूको नाममा मिति २०४२।२।३२ मा संयुक्त नामसारी दर्ता भएको छ । त्यसैगरी पिताको अंश भागमा परेको बन्डामा उल्लिखित कि.नं.३४ को स्ववासी घर पिताको परलोकपश्चात् तीन जना छोराको नाममा संयुक्त दर्ता भएको छ । पुनरावेदक प्रतिवादीले वादीको भागमा परेको ऋण रू.१५५०।– तिरेको देखिएको लगायत २०२४ सालको घरसारको बन्डापत्र कार्यान्वयन नै भइसकेकोलाई घरसारको संज्ञा दिई पुनरावेदन अदालत पाटनबाट भएको फैसला नमिलेको हुँदा उल्टी गरी पुनरावेदन मागबमोजिम गरिपाउँ भनी बहस गर्नुभयो ।
त्यस्तै विपक्षी वादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा र श्री देवीप्रसाद दाहाल तथा विद्वान् अधिवक्ता श्री सपना सुवेदीले सुरू भक्तपुर जिल्ला अदालतले वादी प्रतिवादीबिच मिति २०२४।९।१० लाई मानो छुट्टिएको मिति कायम गरी तायदाती फाँटवारी माग्ने आदेश गरी वादी प्रतिवादीबाट पेस भएको तायदाती फाँटवारी एवं उजुरी निवेदनमा परेको सम्पूर्ण घरजग्गामध्ये मोही नामसारी हुन बाँकी रहेको हकमा कानूनबमोजिम मोही नामसारी भई मोही हिस्सा छुट्टिएका बखत दर्ता र बाँकी घरजग्गाहरूको हकमा कानूनबमोजिम दर्ता भएका बखत तथा अन्य बाँकी घरजग्गाको हकमा वादी प्रतिवादी २ अंशियारबिच बराबर अंश भागबन्डा गरी वादीले २ भागको १ भाग अंश पाउने ठहर गरी गरेको फैसला सदर गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला सदर कायम गरिपाउँ भनी बहस गर्नुभयो ।
यसमा हामी वादी प्रतिवादी दाजुभाइ नाताका अंशियारहरू भएको, हामी वादी प्रतिवादीबिच रीतपूर्वक अंशबन्डा नभएको, हाल जो भएको अंशबन्डा गर्नुपर्ने श्रीसम्पत्ति विपक्षी प्रतिवादीकै जिम्मा एवम् कब्जामा समेत भएकोले यस सम्मानित अदालतबाट विपक्षी प्रतिवादीलाई म्याद जारी गरी झिकाई जो भएको अंश भागबन्डा गर्नुपर्ने श्रीसम्पत्तिको तायदाती फाँटवारी निज विपक्षी प्रतिवादीबाटै दाखिल गराई प्रस्तुत फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी नरम गरम मिलाई २ भागको १ भाग मेरो अंश भाग दिलाइपाउँ भन्ने वादी र २०२४ सालमा नै घरसारमा लिखत गरी अंशबन्डा भएको भन्ने प्रतिवादी भएको प्रस्तुत मुद्दामा वादी प्रतिवादीबिच कानूनबमोजिमको अंशबन्डा हुन बाँकी नै रहेको देखिन आएकोले वादी प्रतिवादीबाट पेस हुन आएका घर जग्गामध्ये मोही नामसारी हुन बाँकी रहेको हकमा कानूनबमोजिम मोही नामसारी हुने भएमा नामसारी भई मोही हिस्सा छुट्टिएका बखत, वादी प्रतिवादीका नाउँमा मोही जनिएका जग्गाको हकमा समेत मोही हिस्सा प्राप्त भएका बखत र दर्ता बाँकी जग्गाका हकमा कानूनबमोजिम दर्ता हुने भएका बखत बन्डा हुने गरी अन्य बाँकी घर जग्गाको हकमा वादी प्रतिवादीहरू दुई अंशियार मात्र रहेको हुँदा वादी लक्ष्मीभक्त फाँजुले २ भागको १ भाग अंश छुट्याई लिन पाउने ठहर्याई जिल्ला अदालतबाट फैसला भएकोमा उक्त फैसलाउपर चित्त नबुझाई वादी प्रतिवादीहरू दुवैको तर्फबाट तत्कालीन पुनरावेदन अदालत पाटनमा पुनरावेदन परेकोमा, उक्त अदालतबाट जिल्ला अदालतकै फैसला सदर हुने ठहर गरी फैसला भएकोमा प्रतिवादी गणेशबहादुर फाँजुका तर्फबाट यस अदालतमा मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदन परी दोहोर्याई हेर्न निस्सा प्रदान भई पुनरावेदनको रोहमा पेस हुन आएको देखिन्छ ।
उपर्युक्तानुसारको तथ्य, बहस र पुनरावेदन जिकिर भएको प्रस्तुत मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन
आयो ।
२. अब निर्णयतर्फ विचार गर्दा, पुनरावेदक प्रतिवादी गणेशबहादुर फाँजु तथा प्रत्यर्थी वादी लक्ष्मीभक्त फाँजु बाबु हर्षबहादुर फाँजु र आमा दातीमाया फाँजुका छोराहरू रहेको तथ्यमा विवाद भएन । कान्छो छोरा पानबहादुर फाँजुको परलोक भइसकेको अवस्था छ । बाबु हर्षबहादुर फाँजु, आमा दातीमाया फाँजु र कान्छो छोरा/भाइ पानबहादुर फाँजुको निधन भइसकेको हुँदा जीवित अंशियारमा पुनरावेदक प्रतिवादी दाजु गणेशबहादुर फाँजु र प्रत्यर्थी भाइ वादी लक्ष्मीभक्त फाँजु दुई जना मात्र देखिन्छन् । पिता हर्षबहादुर जीवित नै रहेको अवस्थामा प्रतिवादी गणेशबहादुर, वादी लक्ष्मीभक्त र भाइ पानबहादुरबिच मिति २०२४।९।१०।२ मा घरायसी बन्डापत्र तयार गरेको देखिन्छ । सोही बन्डापत्रबाट हामीहरू छुट्टी भिन्न भई अलगअलग बसेको भन्ने प्रतिवादीको कथन देखिए तापनि उक्त बन्डापत्रबमोजिमको सम्पत्ति वादीले आफ्नो नाउँमा दाखेल खारेज गराई भोग बिक्री व्यवहार गरेकोसमेत नदेखिँदा उक्त बन्डापत्रलाई वादी प्रतिवादीबिच अंशबन्डा भएको आधार प्रमाणका रूपमा ग्रहण गर्न मिल्ने देखिएन । उक्त मितिबाट चुलो भान्सा अलग गरी बसेकोसम्म देखिँदा सो मितिलाई मानो छुट्टिएको मिति कायम गरी दुई भागको एक भाग अंश वादीले पाउने ठहराएको हदसम्म सुरू तथा पुनरावेदन अदालतको फैसलालाई अन्यथा भन्नुपर्ने देखिँदैन ।
३. सुरू जिल्ला अदालतले वादी प्रतिवादीबाट पेस भएको तायदातीमा उल्लिखित सम्पत्तिमा वादीको २ भागको १ भाग अंश हक लाग्ने ठहर गरेकोमा वादीले २०२८ सालमा किनेको श्रीमती कृष्णमायाको नाउँको कि.नं. ८४ समेत बन्डा लगाएको मिलेन भनी र प्रतिवादीले तह तह मुद्दा परी सर्वोच्च अदालतको फैसलाबाट जिती पाएको विभिन्न कित्ता जग्गासमेत बन्डा गरेको सुरू फैसला नमिलेको भनी पुनरावेदन अदालत पाटनमा पुनरावेदन गरेकोमा सो अदालतले कृष्णमाया फाँजुको नाउँमा रहेको कि.नं. ८४ को जग्गा स्ववासीको देखिएको भनी बन्डा लाग्ने ठहराएउपर वादीको पुनरावेदन परेको देखिँदैन । सोबाहेक सुरू जिल्ला अदालतले दर्ता हुन बाँकी तथा मोही नामसारी हुन बाँकी कि.नं.१६७, ३३१ र ३३३ समेतको जग्गामा दर्ता नामसारी भई तथा मोही हिस्सा प्राप्त भएका बखत वादीले आफ्नो हिस्सा छुट्याई लिन पाउने ठहर गरेको फैसला सदर गरेकोमा प्रस्तुत पुनरावेदनको रोहबाट प्रतिवादीको पुनरावेदन जिकिरबमोजिम उक्त कित्ता जग्गा बन्डा लाग्ने हो वा होइन भनी यकिन गर्नुपर्ने हुन आयो ।
४. अब कटुन्जे वडा नं. ७(ख) कि.नं. ३३१ र ३३३ को सम्बन्धमा विचार गर्दा, उक्त कित्ता जग्गा पैतृक स्रोतको भन्ने तथ्यमा विवाद छैन । २०२४ सालको बन्डापत्रअनुसार ऋण तिरी खाएको भन्ने पुनरावेदक प्रतिवादीको जिकिर देखिन्छ । मिसिल संलग्न बन्डापत्रको बेहोरा हेर्दा "भ.पु. इताछे टोल बस्ने हर्षबहादुर फाँजुको नाउँमा भ.पु.माल्मा दर्ता भएको कतुञ्जे पञ्चायत वार्ड नं. ७ (ख) कि.नं.३३१ र ३३३ कित्ता २ को अ. खेत रोपनी १/९// को खेत नेरू १५५०/ ऋण तिरी गनेस बाहादुरले खानु" भन्ने उल्लेख भएको देखिन्छ । लिखतको पिठमा"यो तमसुकबमोजिमको रूपैयाँ आजका मितिमा आसामी हर्षबहादुर फाँजुको भिन्न भएका छोरा भ.पु. ईताछे टोल बस्ने गणेशबहादुर फाँजुसँग म साहु न्हुछेबहादुर पोतिले बुझिलिई तमसुकमा दरपित गरी दिय" भन्ने बेहोरा जनिएको देखिए तापनि पिताको नाममा २०२१ सालमा नापी भएको सम्पत्ति प्रतिवादीले ऋण तिरेको भनी एकलौटी खाँदा पैतृक सम्पत्तिको असमान बन्डा हुन जाने अवस्था देखिन्छ । सगोलमा हुँदा ऋण लिएको तथ्यमा विवाद भएन । लिखत सगोलको पिताको नाममा भएको देखिन्छ । यस अवस्थामा अंशियारबाहेकको उनाउ व्यक्ति साहुले "अषामी हर्ष बहादुर फाँजूको भिन्न भएको छोरासङ्ग बुझिलिएको" भनी पिठमा जनाइदिएकै आधारमा यी वादी प्रतिवादी सोही बखत भिन्न भएको मानिने वा लिखतबमोजिमको रकम प्रतिवादीले एकलौटी बुझाएका रहेछन् भनी मान्न मिल्ने देखिएन । साहुले ऋण असुल भइसकेपछि आसामीको तर्फबाट ऋण चुक्ता गर्न जाने अंशियारले भनेबमोजिम तमसुकमा कैफियत बेहोरा लेखिदिन सक्ने तथ्यलाई न्यायको रोहमा सजगतापूर्वक हेर्नुपर्ने हुन्छ । प्रतिवादीले सगोलको सम्पत्तिबाट ऋण तिरेका नभई निजी आर्जनबाट तिरेको भन्ने स्वतन्त्र प्रमाणको अभावमा सगोलमा पिताको नाममा लिएको ऋण सगोलको पैतृक सम्पत्तिबाटै तिरे बुझाएको भनी मान्नुपर्ने देखिन आयो । घरसारको बन्डापत्रबमोजिमको सम्पत्ति दाखेल खारेज नभई बन्डापत्र कार्यान्वयन नै नभएको र सोही कारण वादी प्रतिवादीबिच अंशबन्डा भएको मान्न नसकिएको अवस्थामा मानो छुट्टिएको मितिपूर्व पिताका नाममा भएको ऋण चुक्ता गरी निखनी आएको सम्पत्ति एकजना अंशियारले मात्र पाउने भन्नु न्यायोचित देखिएन । अंशबन्डा गर्दा अंश पाउने सबैको बराबर अंश गर्नुपर्ने अंशबन्डासम्बन्धी कानूनको आधारभूत मान्यता हो । घरायसी बन्डापत्रको वैधानिकताको प्रश्न उठ्दा अंशियारहरूबिच पैतृक सम्पत्तिको समानुपातिक रूपमा बन्डा भए नभएको तथ्यलाई समेत विचार गर्नुपर्ने हुन्छ । यस पृष्ठभूमिमा पिताको जीवनकालमा लिएको र निजकै जीवनकालमा भुक्तान भएको पिताको नामको ऋण निखनी ल्याएको सम्पत्ति वादीलाई बन्डा नलाग्ने प्रतिवादीको निजी आर्जनको भन्न निजी आर्जनबाट ऋण तिरेको विश्वसनीय प्रमाणको अभाव देखिन आयो । उल्लिखित कित्ता जग्गा वादी प्रतिवादीका बाबु हर्षबहादुरको हिस्सा भई पैतृक स्रोतबाट प्राप्त भएको देखिँदा मोहीको हिस्सामा पुनरावेदक प्रतिवादी गणेशबहादुरको हिस्सामा आउने सम्पत्ति बन्डा लाग्ने प्रकृतिको देखिँदा मोही हिस्सा छुट्टिएका बखत वादीले बन्डा लिन पाउने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला सो हदसम्म मनासिब देखिँदा यस अदालतबाट मिति २०७३।५।२० मा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गर्दा लिएका आधारसँग सहमत हुन सकिएन ।
५. अब पुनरावेदक प्रतिवादी गणेशबहादुर फाँजुको श्रीमति गोपाथकु फाँजुको नाममा रहेको कि.नं.१६७ का हकमा विचार गर्दा, उक्त कित्ता जग्गा मिति २०३२।१।१२ मा निज गोपाथकु फाँजुले र.नं. ५६६ बाट नारायणबहादुर कायस्थबाट रू.३,०००।- मा फार्छे गरी लिएको मिसिल संलग्न फार्छे राजीनामाको लिखतबाट देखिन्छ । माथिको प्रकरणमा गरिएको विवेचनाबाट वादी प्रतिवादीहरूबिच घरसारको बन्डापत्र भएको मिति २०२४।९।१० लाई मानो छुट्टिएको मिति कायम गरिएको हुँदा सो मितिपश्चात् प्रतिवादीकी श्रीमतीले खरिद गरी प्राप्त गरेको उक्त कि.नं. १६७ को घर मानो छुट्टिएको मितिपश्चात् खरिद गरेको देखिन आयो । मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. ले मानो नछुट्टिई सँगै बसेको अंशियारहरूबिच सगोलको सम्पत्तिबाट बढेबढाएको सगोलको आर्जन मात्र बन्डा लाग्ने हो । मानो छुट्टिई आ-आफ्नो खती उपति हुने गरी भिन्न बसेका अंशियारहरूको हकमा मानो छुट्टिएपछि कमाएको धन वा लगाएको ऋण अंशियारहरूलाई बन्डा लाग्न सक्दैन । यस स्थितिमा वादी प्रतिवादीहरू २०२४ सालमा नै मानो छुट्टिएकोमा २०३२ सालमा खरिद गरी प्राप्त गरेको प्रतिवादीको श्रीमतीको नाउँको सम्पत्तिबाट वादीले बन्डा पाउन नसक्नेमा सो घरसमेत बन्डा लाग्ने ठहराएको तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सो हदसम्म मिलेको देखिएन । पुनरावेदक प्रतिवादीको जिकिरबमोजिम नै उक्त घर वादीलाई बन्डा नलाग्ने प्रतिवादीको एकलौटी कायम हुने देखियो ।
६. तसर्थ; माथि उल्लिखित आधार, कारण र कानूनी व्यवस्थासमेतको आधारमा पुनरावेदक प्रतिवादीको श्रीमती गोपाथकु फाँजुको नाउँको भक्तपुर नगरपालिका वडा नं. १५ को कि.नं. १६७ को जग्गा प्रतिवादीको निजी भई बन्डा नलाग्ने र सोबाहेकका अन्य सम्पत्तिमा वादीले २ भागको १ भाग अंश पाउने ठहर्याउनुपर्नेमा उक्त कि.नं. १६७ को घरजग्गासमेत बन्डा लाग्ने ठहर्याएको तत्कालीन पुनरावेदन अदालत पाटनको मिति २०७१।१२।१६ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई वादीले उक्त कि.नं.१६७ बाहेकको सुरू तथा पुनरावेदन अदालत पाटनको फैसलामा उल्लिखित अन्य सम्पत्तिबाट मात्र दुई भागको एक भाग अंश पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला केही उल्टी भई श्रीमती गोपाथकु फाँजुको नाउँको भ.न.पा.१५ कि.नं. १६७ को जग्गा प्रतिवादीको निजी भई बन्डा नलाग्ने ठहेरेकोले वादीले तदनुरूप बन्डा गरिपाउँ भनी ऐनका म्यादभित्र दरखास्त दिए बन्डा छुट्याइदिनु भनी सुरू भक्तपुर जिल्ला अदालतमा लेखी पठाइदिनू ...........१
सरोकारवालाले फैसलाको नक्कल माग गरे कानूनको रीत पुर्याई नक्कल दिनू ...................................२
प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइदिनू ............................३
उक्त रायमा सहमत छु ।
न्या. सपना प्रधान मल्ल
इजलास अधिकृत:- हिरा डंगोल
इति संवत् २०७९ साल कार्तिक १८ गते रोज ६ शुभम् ।