शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४२७६ - उत्प्रेषण

भाग: ३३ साल: २०४८ महिना: जेष्ठ अंक:

निर्णय नं. ४२७६    ने.का.प. २०४८            अङ्क २,

 

एक न्यायाधीशको इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०४८ सालको रिट नं. १५२८

आदेश भएको मिति: २०४८।३।२७।५ मा

निवेदक      : ल.पु.जि. सुनाकाठी गा.वि.स. वार्ड नं. ७ बस्ने गोपाल महर्जन

विरुद्ध

विपक्षी : मध्यमाञ्चल क्षेत्रीय अदालतसमेत

विषय : उत्प्रेषण

(१)    अदालतमा मुद्दा परी कानुन बमोजिम कारवाही भइरहेको देखिएको, यसमा देखादेखी कुनै कानुनी त्रुटि रहेभएको देखिन नआएकोले निवेदक माग बमोजिम विपक्षीहरुबाट लिखितजवाफ मगाई रहन मिल्ने नदेखिने ।

(प्रकरण नं. ६)

आदेश

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत रही पर्न (साविक पेज नं. १३७) आएको प्रस्तुत रिट निवेदकको संक्षिप्त तथ्य, जिकिर एवं निर्णय आदेश यस प्रकार छ ।

२.    यसमा हामी वादी प्रतिवादी बीच अंशबण्डा नभएकोले ०४५।३।२७ लाई मानो छुट्टिएको मिति कायम गरी पाउँ भन्ने समेत व्यहोराको कुमार महर्जन र हरिगोविन्द महर्जनको फिराद दावा रहेकोमा विपक्षीहरुको पिता जितबहादुर कै पालामा पिता धनलालबाट अंश छुट्याई लिइसकेको हुँदा अंश गर्नुपर्ने होइन भन्ने व्यहोराको प्रतिउत्तर जिकिर रहेको अवस्थामा, पछि ठहरे बमोजिम हुने गरी हाल मानो छुट्टिएको मिति ०४५।३।२७ कायम गरी पाउँ भन्ने वादी दावी भए तापनि सो को प्रमाण पुर्‍याउन नसकेको हुँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी तायदाती फाँटवारी मागी पेश गर्नु भन्ने जिल्ला अदालतबाट आदेश भएको, सो आदेश कानुनसंगत नभएको बदर गरी पाउँ भनी अ.बं. १७ नं. अनुसार वागमती अञ्चल अदालत समक्ष दिएको निवेदनमा पनि कानुन बमोजिम गर्नु भन्ने आदेश भएको र सो आदेश उपर मध्यमाञ्चल क्षेत्रीय अदालत समक्ष दिएको निवेदन समेत ०४७।५।१६ मा कानुन बमोजिम गर्नु भन्ने आदेश हुन गएको छ ।

३.    वादीले प्रमाणार्थ पेश भएको शेषपछिको बकसपत्रलाई सद्दे साँचो भनी जिल्ला अदालत समक्ष बयान गरेका, त्यसबाट हामी बीच अघि नै बण्डा भइसकेको भन्ने देखिन आएको छ । यद्यपी बकसपत्र सम्बन्धी विवादको टुड्डो लागिसकेपछि मात्र प्रस्तुत अंश मुद्दामा तायदाती माग गर्नु पर्नेमा अंशबण्डाको १८ नं. प्रतिकूल बिना आधार ०४५।४।१५ लाई मानो छुट्टिएको मिति कायम गरी दिएको सो कानुनसंगत नहुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी वागमती महर्जनले वादीका बाबु जितबहादुरले हा.व. पारीत गरी लिएको अघिल्ला दिनलाई मानो छुट्टिएको मिति कायम गरी अर्को कागज गराई पाउँ भन्ने मुद्दा अन्तिम टुड्डो नलागेसम्म अंश मुद्दामा तायदाती तोक्ने कार्य स्थगित गरी दिनु भनी आदेश पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन जिकिर रहेछ ।

४.    नियम बमोजिम पेश भई आएकोमा निवेदकका माग बमोजिम विपक्षीहरुबाट लिखितजवाफ मगाउनु पर्ने हो होइन भनी हेर्दा यी रिट निवेदक प्रतिवादी र विपक्षी मध्येका केदार महर्जन समेत वादी भई चलेको अंश मुद्दा हाल ललितपुर जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको सोही मुद्दामा अदालतबाट तायदाती माग गर्ने आदेश भएको सो आदेश बदर गरी पाउँ भनी प्रस्तुत रिटनिवेदन पर्न आएको देखिन्छ ।

५.    यसमा वादी प्रतिवादी बीच चलेको अंश मुद्दामा अदालतबाट अंशको फाँटवारी माग गर्ने आदेश भएको सो आदेश बदर गरी पाउँ भनी यी निवेदकले अ.बं. १७ नं. अनुसार वागमती अञ्चल अदालत र क्षेत्रीय अदालत समेत समक्ष दिएको निवेदनमा कानुन बमोजिम गर्नु भन्ने आदेश भएको पाइन्छ । वादी अंशियार होइनन् हामी बीच बण्डापत्र भइसकेको भन्ने आधिकारिक सबूद प्रतिवादीले पेश गर्न नसकेको, अदालतबाट फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी फाँटवारी लिनु भन्ने अदालतको आदेशलाई अन्यथा भन्न नसकी केवल अर्को कागज गराई पाउँ भन्ने मुद्दा किनारा नलागेसम्म तायदाती तोक्ने काम स्थगित गरी पाउँ भन्ने निवेदकको दावी रहेको देखियो ।

६.    अदालतमा मुद्दा परी कानुन बमोजिम कारवाही भइरहेको देखिएको, यसमा देखादेखी कुनै कानुनी त्रुटि रहेभएको देखिन नआएकोले निवेदक माग बमोजिम विपक्षीहरुबाट लिखितजवाफ मगाई रहन मिल्ने देखिन आएन । रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार गरी बुझाई दिनु ।

इतिसम्वत् २०४८ साल आषाढ २७ गते रोज ५ शुभम् ।

 

(साविक पेज नं. १३८)

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु