शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५५८ - हक सफा

भाग: २४ साल: २०३९ महिना: भाद्र अंक:

निर्णय नं. १५५८    ने.का.प. २०३९ अङ्क ५

 

फुलबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०३७ सालको दे.फु.नं. २६

फैसला भएको मिति  : २०३९।५।२२।३ मा

निवेदक/वादी : जि.पर्वत कुस्मा सिवालय गा.पं.वडा नं.४ बस्ने बलभद्र गिरी

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी : ऐ.ऐ.माझ गाउँ बस्ने धनसरी सन्यासीनी, ऐ.ऐ.कुस्मा बगैंचा बस्ने खर्गा      सन्यासीनी, ऐ.ऐ.माझ गाउँ बगैंचा बस्ने खडानन्द गिरी

मुद्दा : हक सफा

(१)                लेनदेन व्यवहारको ११ नं.मा कसैले आफ्नो हक पुग्ने चल अचल गै¥ह बिक्री गरेकोमा निजको कुनै हकवालाले सो सम्पत्ति निखनी लिन चाहेमा सो बेचे किनेको लिखत रजिष्ट्रेशन भएको मितिले र रजिष्ट्रेशन गर्न नपर्नेमा दाखिल खारेज भएको मितिले ६ महिनासम्ममा थाहा पाएको ३५ दिन भित्र सो हकवालाले निखनी लिन पाउँछ सो म्याद नाघेपछि किने बेचेको पक्का हुने ।

(प्रकरण नं. १४)

निवेदक वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ 

विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३५।९।१०।२ को निर्णय दोहर्‍याई पाउँ भन्ने बलभद्र गिरीको न्यायिक समितिमा परेको बिन्तिपत्रमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उपर्युक्त मुद्दा दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम प्रमांगी बक्स भई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

२.    मुद्दाको तथ्य यस प्रकार छ : खारपानी भन्ने पाखो खरवारी कित्ता १ ऐ.जग्गामा बनेको खरको छाना भएको ३ तले कच्चि घर १ र धनसार घर २ सदेवारी भन्ने जग्गा कित्ता १ समेत विपक्षी धनसरी निजको छोरा खडानन्दले उक्त घरमा बसी जग्गा कमाउन लागेछन् भन्ने २०३०।५।३० गते खवर पाएको । खडानन्द समेतलाई तिमीहरुले के व्यहोराबाट कमाएका हौ, यो घरमा तिमीहरु बस्ने गरेको छौ के कसो भन्दा हरिकृष्णबाट राजीनामा लिई हक हुन आएबाट घरमा बसी जग्गा समेत कमाई गर्न लागेका छौं भनी जवाफ दिएको हुँदा के कति मोलमा लिएको हो साहु को हो, थैली कति हो भन्दा साहु मिति यो हो थैली यति हो भन्ने भनी रहन खाँचो छैन भन्ने जवाफ गरेको हुँदा थैली यकिन ठहर भएपछि धरौट राख्नेछु ०३०।१।२० गते राजीनामा पारित गरेको भन्ने कुरा ०३०।६।१ मा सुनी थाहा पाएको हुँदा थैली यकिन ठहर गरी गराई साहु ठहरिएका विपक्षीलाई बुझाउन लगाई लेनदेन व्यवहारको ११ नं.बमोजिम गरी पाउन अनुरोध गर्दछु। हक इन्साफ भई लेखिएका घर जग्गाको थैली यकिन ठहर गरी लेनदेन व्यवहारको ३७ नं.बमोजिम समेत गरी पाउँ भन्ने समेत वादी बलभद्रको फिरादपत्र ।

३.    वादीको छोरा समेत बसी मोल गरी खारपानी भन्ने र सदेवारी भन्ने जग्गा र घर धनसारको थैली रु.१९,०००।मोल गरी हरिकृष्णलाई दिई ०३०।१।१० मा रजिष्ट्रेशन पारित गराई म धनसरीले लिई सोही दिन बेलुका सो घर जग्गामा प्रवेश गरी छोरा षडानन्द समेतका परिवार त्यहाँ छोडी भारत आसाम गरमपानीमा गएका हुन । वादीको र हाम्रो एकै गाउँ पञ्चायत एकै ठाउँ भएको पारित गर्ने अड्डा समेत एकै पञ्चायतमा हुँदा थैली मिति साहु थाहा नहुने सम्भवै नहुने । राजीनामा लिएको जमीन एकै ठाउँ पञ्चायत वार्डको हुँदा वादीलाई मौकै ०३०।१।१० गते थाहा भएको वादीले थाहा पाइन भनी झुठ्ठा उजुर दिएको, वादीको झुठ्ठा दावीबाट फुर्सत गरी पाउँ भन्ने धनसरी १, खडानन्द १ समेतको संयुक्त प्रतिवादी ।

४.    प्रतिवादी खर्गा सन्यासीले सुरु म्यादै गुजारी बसेको ।

५.    एकै गाउँ पञ्चायत वार्ड भित्रको जग्गा भएको र उक्त घर जग्गाबाट वादीको घर १२० गज भन्दा फरक छैन भनी बकेबाट देखिन सकिने अवस्थाको कुरो वादीलाई मौकैमा उसै बखत थाहा थिएन भन्न नसकिने भई थाहा पाएको ३५ दिन भित्र उजूर दिनु पर्नेमा सो नदिएकोले लेनदेन व्यवहारको ११ नं.अनुसार किने बेचेको पक्का हुन्छ । हक सफा गर्न पाउने ठहर्दैन भन्ने समेत ०३६।५।७ को पर्वत जिल्ला अदालतको फैसला ।

६.    उक्त इन्साफमा चित्त बुझेन भन्ने वादी बलभद्र गिरीको पुनरावेदन ।

७.    शुरु जि.अ.ले १२० गज जति फरक हुँदा थाहा पाएको भन्ने उल्लेख गरेकोमा थाहा पाएको किटानी सबूत नभएको हुँदा थाहा हुन पनि नसक्ने, मौकामा थाहा पाएको तथ्य सबूत बेगर थाहा पाएको अनुमानित भन्न नसकिने, सुरुले हक सफा गर्न नपाउने ठहराएकोले इन्साफ मिलेको नदेखिएकोले तथ्यहिन सबूदको बेगर आधार लिई मौकैमा थाहा पाएको भन्न नमिल्ने भई यिनै वादी प्रतिवादीको जालसाजी मुद्दा आजै जालसाजी गरेको नठहरी फैसला भएकोले बिगो रु.१९०००।कायम भएकोले नपुग थैली रु.४०००।ऐनको म्यादभित्र दाखिल गरे निखनाई लिन पाउने ठहर्छ भन्ने ०३३।१।३० को पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

८.    क्षेत्रीय अदालतको फैसला उपर प्रतिवादी धनसरी सन्यासीनीको यस अदालतमा परेको पुनरावेदन विपक्षी वादीले थैली थाहा हुन सक्ने अवस्था छ, छैन भन्ने तर्फ विचार गर्दा रजिष्ट्रेशनको ३९ नं.मा कसैले अड्डामा रहेको रजिष्ट्रेशन भएको लिखतको नक्कल लिन वा हेर्न आएमा दिनु पर्छ भन्ने व्यवस्था भएकोले लिखत वा नक्कल सार्ने वा हेर्ने विपक्षी वादीलाई हक भएको र सो अनुसार लिखतको नक्कल सार्ने वा हेर्ने हकको उपभोग गरी लिखत बमोजिमको थैली दर्खास्त धरौट राखी रजिष्ट्रेशन भएको वा साहु रहेको इलाकाको रजिष्ट्रेशन गर्ने अड्डामा गई निखन्न जानु पर्ने हुन्छ । यस स्थितिमा लेनदेन व्यवहारको १६ नं.को अवस्था पर्ने भएन । उक्त रजिष्ट्रेशनको ३९ नं.बमोजिम रजिष्ट्रेशन भएको लिखतको नक्कल सार्ने वा हक उपभोग गरेको छ भन्ने कुरा फिरादमा उल्लेख गरेको र भन्न सकेको पनि देखिँदैन । यसरी अड्डामा गई रजिष्ट्रेशन पारित भएको लिखतको नक्कल सार्ने वा हेर्ने हकको उपभोग गर्ने प्रयास नगरी थैली थाहा नभएको भनी अदालतमा प्रवेश गर्छ भने त्यस्तोमा लेनदेन व्यहारको १६ नं.को सुविधा पाउँ भन्नेलाई प्राप्त हुन्छ भन्न मिल्ने देखिएन ।

९.    उपुर्यक्त कारणबाट थैली थाहा पाउने श्रोत रजिष्ट्रेशनको ३९ नं.को लिखतको नक्कल सार्ने वा हेर्ने हकको उपभोग गरी थैली पत्ता लगाई थैली पत्ता लागेपछि मुख मिलेमा ऐन बमोजिम लिखत रजिष्ट्रेशन भएको वा साहु रहेको ईलाकाको रजिष्ट्रेशन गर्ने अड्डामा धरौट राख्ने र सो थैलीमा मुख नमिलेमा ऐन बमोजिम अदालतमा नालेस गर्ने कार्यविधि सुरु गर्नु पर्नेमा सो नगरी अदालतमा प्रवेश गर्छ भने लेनदेन व्यवहारको १६ नं.को सुविधा प्राप्त हुन नसक्ने भएको हुनाले हक निखनी पाउँ भन्ने प्रस्तुत मुद्दाको वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने यस अदालत डिभिजनबेञ्चको फैसला

१०.    सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णयमा निखन्ने व्यक्तिले निखन्न खोजेको सम्पत्तिको लागि हालिएको थैली प्रयास गरी पत्ता लगाउनु पर्ने र रजिष्ट्रेशनको महलको ३९ नं.अन्तर्गत हेरी वा नक्कल सार्ने हकको उपभोग गरेमा थैली पत्ता लाग्ने भन्ने विषयमा विचारगर्दा जहाँसम्म निखन्ने व्यक्तिले थैली पत्तालगाउनु नै पर्ने अनिवार्यता देखाईएको छ । यो कानूनको मनसाय अनुरुपको देखिन आउँदैन । मुलुकी ऐन लेनदेन व्यवहारको महलको १६ नं.अन्तर्गत निखन्न पाउँ भनी माग दावी गर्दा थैली थाहा भएकोमा थैली धरौट राख्नु पर्ने सम्मको व्यवस्था देखिन्छ । थैली पत्ता लगाउनु पर्ने बाध्यता देखिँदैन । थैली थाहा हुन नसक्ने पनि अवस्था पर्छ भन्ने व्यवहारिकता बुझी थैली थाहा नभएकोमा थैली धरौट राख्नु पर्ने र थैली थाहा नभएकोमा प्रतिउत्तरका लागि पर्खनु पर्ने व्यवस्था बाँधेको देखिन्छ । जहाँसम्म थैली पत्ता लगाउनका लागि रजिष्ट्रेशनको महलको ३९ नं.को हकको उपभोग गर्नु पर्ने भनी निर्णयमा उल्लेख भएको छ । यो अवस्था पनि लिखित सम्बन्धमा पूरा हुलिया ज्ञात हुन आएमा मात्र उपभोग गर्न सकिने हुँदा र फेरि रजिष्ट्रेशनको २८ नं.बमोजिम अचल सम्पत्तिको रजिष्ट्रेशन अधिराज्यको जुनसुकै रजिष्ट्रेशन कार्यालयमा हुन सक्ने हुँदा नक्कल सार्न जाने कुरा यकिन गर्न कठिन पर्ने देखिन्छ । यस स्थितिमा निखन्न पाउँ भन्ने व्यक्तिले थैली पत्ता लगाई निखन्न आउनु पर्ने भनी व्यवस्था गरी दिंदा कानूनले बाध्यता नगरेकोमा पनि कठोर र अव्यवहारिक व्यवस्था कायम हुन जाने देखिन्छ।

११.    निखनाई पाउनका लागि निखन्न पाउँ भन्ने व्यक्ति थैली थाहा भएको अवस्थामा पनि थैली धरौट राखी अदालतमा जान सक्ने र थैली थाहा नभएकोमा त अदालतमै जानु पर्ने कानूनी व्यवस्था भएकोमा थैलीको अंक थाहा भएन भनी अदालतमा उजुर गर्न आएको प्रस्तुत मुद्दाको फिराद दावी भएकोमा थैली थाहा पाउने श्रोत रजिष्ट्रेशनको ३९ नं.अन्तर्गत लिखत हेर्ने वा नक्कल सार्न पाउने हकको उपभोग गरी थैली पत्ता लगाई थैली पत्ता लागेपछि मुख मिलेमा ऐन बमोजिम लिखत रजिष्ट्रेशन भएको वा साहु रहेको इलाकाको रजिष्ट्रेशन गर्ने अड्डामा धरौट राख्ने र थैलीमा मुख नमिलेमा ऐन बमोजिम अदालतमा नालिस गर्ने कार्यविधि सुरु गर्नु पर्नेमा सो नगरी अदालतमा प्रवेश गर्छ भने लेनदेन व्यवहारको १६ नं.को सुविधा प्राप्त हुन सक्ने भएको हुनाले निखनाई पाउँ भन्ने प्रस्तुत मुद्दाको वादी दावी पुग्न नसक्ने भनी डिभिजनबेञ्चले गरेको निर्णयमा कानूनको व्यवस्था बस्तुतः मूलभूत रुपमा कानूनको विपरीत भएको देखिन्छ भन्ने समेत न्यायिक समितिको पर्चा ।

१२.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक वादी तर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले ०३० साल बैशाख १० गते भएको राजीनामा ०३०।५।३० मा थाहा पाई ०३०।६।१०।४ मा मुद्दा गरेकोले म्यादभित्र उजूर गरेको मेरो पक्षलाई सुरुमा थैली थाहा छैन र सो थैली थाहा नभएको कारणले वा थैली पत्ता लगाई प्र.लाई थैली बुझाई निखनी लिई पाउँ भनी फिराद दायर भएको छ । प्रतिउत्तर परेको कुरा ०३०।१०।१० मा मेरो पक्षले थाहा पाई ०३०।१०।१४ मा रु.१५०००।धरौटी राखी बाँकी ४ हजार थैलीलाई जालसाजी नामाकरण गरी सोही मितिमा जालसाजी मुद्दा गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय अदालतले ०३३।१।३० मा थैली जालसाजी गरेको ठहर नगरेपछि सो फैसला भएको मितिले ३५ दिन भित्रै पर्वत जिल्ला अदालतमा मेरो पक्षले बाँकी रु.४०००।समेत धरौट राखेको छ । प्रस्तुत मुद्दा कृष्णराज उपाध्याय तथा पिताम्बर भूसालको मुद्दामा प्रतिपादित सिद्धान्तसँग मिल्दैन। सो मुद्दामा वादीलाई पहिले नै थैली थाहा छ । तर, प्रस्तुत मुद्दामा मेरो पक्षलाई थैली थाहा छैन । प्रस्तुत मुद्दा लेनदेन व्यवहारको दोश्रो वाक्यांशसँग सम्बन्धित छ । थैली थाहा पाउन कोशिश नगरेको भन्ने डिभिजनबेञ्चको तर्क कानून सम्मत नभएको हुँदा सो निर्णय बदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो । प्रत्यर्थी प्रतिवादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले ०३०।१।१० मा भएको राजीनामाको कुरा वादीलाई ०३०।५।३० मा थाहानभई अघि नै थाहा भएकोले वादीको म्यादभित्र उजूर परेको छैन । थैली थाहा भएकोमा जालसाजी मुद्दा दिंदैमा थैली धरौट राख्नु पर्ने दायित्वबाट वादी उन्मुक्त हुन सक्दैनन् । थैली भनेको खण्ड थैली नभई रजिष्ट्रेशनको पूरै थैली मान्नु पर्छ । विवादित जग्गा, वादी प्रतिवादीको घर जग्गा र रजिष्ट्रेशन अड्डा समेत एउटै गा.पं.भित्र छ सो जग्गाको थैली पत्ता लगाई हक सफा गर्न वादी रजिष्ट्रेशन गर्ने अड्डामा जानु पर्ने हो वादीले थैली पत्ता लगाउने कोशिश गरेका छैनन् । तसर्थ प.क्षे.अ.को इन्साफ बदर गरेको डिभिजनबेञ्चको इन्साफ सदर हुनु पर्छ भन्ने समेत बहस गर्नु भयो ।

१३.   विद्वान वरिष्ठ अधिवक्ताहरुको बहस समेत सुनी निर्णय तर्फ विचार गर्दा वादी दावी नपुग्ने ठहराएको डिभिजनबेञ्चको ०३५।९।१० को इन्साफ मनासिव बेमुनासिव के हो भन्ने विषयमा निर्णय दिनु पर्ने हुन आएको छ ।

१४.   त्यस तर्फ विचार गर्दा निखन्न पाउनु पर्ने हो वा होइन सो सम्बन्धमा विचार गर्नु भन्दा अघि प्रस्तुत मुद्दा म्यादभित्र दायर भएको हो होइन भन्ने प्रश्नमा सर्वप्रथम निर्णय गर्नु पर्ने देखिन आयो, कारण वादीको भनाई म्यादभित्र उजूर गरेको हो, प्रतिवादीको भनाई म्यादभित्र उजूर गरेको होइन । ०३०।१।१० मा भएको राजीनामाको कुरा ०३०।५।३० मा थाहा पाएको भन्ने वादीले निखनाई पाउँ भनी दिएको मुद्दाको फिरादमा उल्लेख गरेको देखिन्छ । जालसाजी मुद्दामा वादीले ०३०।१०।१४।१ मा दिएको फिरादको प्रकरण ४ मा हरिकृष्णको ०३०।१।२५ गते परलोक भई आफ्नो इज्जत आमद मुताविक दाहसंस्कार अन्त्यदान भयो । आखिर हरिकृष्णको घर धनसारमा विपक्ष धनसरीका परिवार प्रवेश   गरे । श्रीमतीहरु छोरीका घर तर्फ लागे भनी उल्लेख भएको देखिन्छ । जालसाजी मुद्दाको प्रतिउत्तरको प्रकरण ४ मा वादीको र सो घर जमीन एउटै गाउँ पञ्चायतको अतिरिक्त एउटै वार्ड नं.४ त्यसमा वादीले गाई वस्तु लैजाने ल्याउने, दिशा जाने हिंड्ने एकमात्र सोही घर जग्गाको पूर्व तर्फ समिपको बाटो हुँदा राजीनामा पारित गरीघरमा प्रवेश गरेको दिन ०३०।१।१२ गते नै वादीले देख्नु थाहा पाउनु भएको हो भनी उल्लेख गरेको देखिन्छ । वादी प्रतिवादी दुवै तर्फका साक्षीहरुको कथनबाट पनि वादीको घर र विवादको घर जग्गा समेत एउटै पञ्चायतमा भएको वादीको घरको १००१२० गजको समिपमा भएको देखिन आउँछ । लेनदेन व्यवहारको ११ नं.मा कसैले आफ्नो हक पुग्ने चल अचल गैहृ बिक्री गरेकोमा निजको कुनै हकवालाले सो सम्पत्ति निखनी लिन चाहेमा सो बेचे किनेको लिखत रजिष्ट्रेशन भएको मितिले र रजिष्ट्रेशन गर्नु नपर्नेमा दाखिल खारेज भएको मितिले ६ महिनासम्ममा थाहा पाएको ३५ दिनभित्र सो हकवालाले निखनी लिन पाउँछ । सो म्याद नाघेपछि किने बेचेको पक्का हुन्छभन्ने उल्लेख भएकोमा लिखत रजिष्ट्रेशन भएको मितिले ६ महिनासम्ममा थाहा पाएको ३५ दिनभित्र हकवालाले निखनी लिन पाउने हो । सो म्याद नाघेपछि किने बेचेको पक्का भई उजूर लाग्ने व्यवस्था भएको देखिन्न । विवादको घर जग्गाको लिखत ०३०।१।१० मा रजिष्ट्रेशन पारित भएको र सो घर जग्गामा वादीले जालसाजी मुद्दामा स्वयं उल्लेख गरे बमोजिम प्रतिवादी धनसरीले ०३०।१।२५ गते हरिकृष्ण परलोक भई आफ्नो  इज्जत आमद मुताविक दाह संस्कार अन्त्यदान भयो । आखिर हरिकृष्णको घर धनसारमा विपक्षी धनसरीका परिवार प्रवेश गरे भनी भनेको देखिनाले ०३०।१।२५ मा हरिकृष्णको मृत्यु भएको निजको दाहसंस्कार अन्त्य दानपछि धनसारीका परिवार प्रवेश गरेको कुरा वादीले स्वयं स्वीकार गरेकोबाट हरिकृष्णको परलोक भएको तत्कालै अर्थात त्यसै ताकादेखि प्रतिवादीले सो घर जग्गा चलन गरी रहेको देखिन आएकोले अब राजीनामा भएको कुरा ०३०।५।३० मा सुनें भनी वादीको कथन तथ्यपूर्ण देखिन आउँदैन । परिणामस्वरुप प्रतिवादीको चलनबाट विवादको घर जग्गामा प्रतिवादीको भोग चलन भैसकेको कुरा अघि नै थाहा भएको प्रष्ट छ ।

१५.   तसर्थ विवादको घर जग्गा राजीनामा भई भोगचलन गरेको ०३०।३।१ मा मात्र सुनी थाहा पाई ३५ दिनभित्र फिराद गर्न आएको छु भन्ने कुरा वादीकै भनाई अनुसार नै तथ्ययुक्त देखिन नआएकोले प्रस्तुत फिराद ऐनका म्यादभित्र परेको भन्न नमिल्ने भई प्रस्तुत मुद्दामा यसरी म्याद नाघेको फिरादपत्रबाट गरेको कारवाई कानूनी नहुँदा प्रस्तुत फिरादपत्रबाट गरेको कारवाई खारेज हुने ठर्हछ ।

१६.    माथि उल्लेख गरे बमोजिम हदम्याद नाघी उजुर परेकोमा कारवाई  गर्न नपर्ने भई वादी प्रतिवादीको अरु जिकिर तर्फ विचार गर्न परेन । म्याद नाघी परेको फिरादमा इन्साफ गर्न नपर्नेमा इन्साफ गरेको डिभिजनबेञ्चको निर्णय सो हदसम्म नमिलेको देखिन्छ । कोर्ट फी रहेकोले केही गर्नु परेन ।

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या.हरगोविन्द सिंह प्रधान

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०३९ साल भाद्र २२ गते रोज ३ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु