निर्णय नं. ११२८२ - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०८०।०३।१७
मुद्दा : जबरजस्ती करणी
०७५-CR-०३५५
पुनरावेदक / वादी : परिवर्तित नाम केशरमानको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी : खोटाङ जिल्ला, नुनथला गा.वि.स. वडा नं.८ बस्ने परिवर्तित नाम २६क
०७५-CR-०६०१
पुनरावेदक : खोटाङ जिल्ला, नुनथला गा.वि.स. वडा नं.८ घर भई हाल कारागार कार्यालय, खोटाङ, कैदमा बस्ने परिवर्तित नाम २६क
विरूद्ध
प्रत्यर्थी / वादी : परिवर्तित नाम केशरमानको जाहेरीले नेपाल सरकार
जबरजस्ती करणीको कसुरमा पीडित, जाहेरवाला तथा वादीका साक्षीहरूले मौकाको बेहोरा तथा जाहेरी बेहोरा प्रतिकूल अदालतमा बकपत्र गर्न सक्ने अवस्था देखिने । न्यायकर्ताले न्यायिक मन प्रयोग गरी घटना, सङ्कलित प्रमाण तथा परिस्थितिको सूक्ष्म मनन गरी तथ्यको वस्तुनिष्ठ जाँच गरी विद्यमान कानून, न्यायिक सिद्धान्त र विधायिकी मनसायसमेतलाई शिरोधार्य गर्दै न्याय सम्पादन गर्नुपर्ने । जबरजस्ती करणीको कसुरमा मिसिल संलग्न सम्पूर्ण प्रमाणको मूल्याङ्कनबाट न्याय निरूपण हुन वाञ्छनीय भई प्रतिकूल बकपत्रकै भरमा फौजदारी कसुरबाट कसुरदारलाई छुटकारा दिन नमिल्ने ।
(प्रकरण नं. ११)
पुनरावदेक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सन्देश श्रेष्ठ
प्रत्यर्थीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रामप्रसाद ढुंगेल
अवलम्बित नजिर :
ने.का.प. २०७४, अङ्क ५, नि.नं.९८१२
ने.का.प २०७७, अङ्क १२, नि.नं.१०६०६
सम्बद्ध कानून :
बालबालिकासम्बन्धी ऐन, २०४८
प्रमाण ऐन, २०३१
सुरू फैसला गर्ने :
मा. जि. न्या. श्री ईश्वरीप्रसाद गौतम
खोटाङ जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
मा. न्या. श्री रमेशप्रसाद राजभण्डारी
मा. न्या. श्री शालिग्राम कोइराला
उच्च अदालत विराटनगर, अस्थायी इजलास
ओखलढुङ्गा
फैसला
न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-
तथ्य खण्ड
जिल्ला खोटाङ, नुनथला गा.वि.स. वडा नं. ८ गैरीचामखर्कस्थित पूर्वमा डिल्लीराम तामाङको घर, पश्चिममा खाली जग्गा, उत्तरमा जीवन शेर्पाको घर तथा दक्षिणमा जंगल यति चार किल्लाभित्र रहेको नव ज्योति प्रा.वि.को पूर्वपट्टिको ३ कोठे भवन सो भवनको बिचको कोठामा पछाडिपट्टिको खुल्ला झ्यालबाट पीडितालाई पीडकले भित्र छिराई योनिभित्र तिखो काठको टुक्राले घोचेर घाइते बनाएपश्चात् जबरजस्ती करणी गरेको, उक्त कोठाको भुइँमा रगतको थोपा देखिएको, घटनास्थलबाट पीडितको रगत लागेको निजले लगाएको खैरो रंगको फ्रकसमेत बरामद गरेको भन्ने घटनास्थलको चार किल्लाको विवरण कागज ।
मिति २०७१।०५।१७ को अं.१७.३० बजेको समयमा म आफ्नो घरमा काम गरिरहेको अवस्थामा अचानक छिमेकीले तपाइँको छोरीलाई के भयो ? रूँदै रगताम्य भएर स्कुलको बाटोमा आइरहेको छ भन्ने कुरा सुनाउने बित्तिकै म गएर के भयो भनेर सोध्दा निज छोरीले २६क परिवर्तित नामले मलाई खुल्ला झ्यालबाट स्कुलको कोठाभित्र पसाई आफू पनि पसी मेरो पिसाब फेर्नेमा आफ्नो पिसाब फेर्ने हुल्न खोज्दा मैले नमानेपछि मेरो पिसाब फेर्नेमा काठको टुक्राले घोचिदिएपछि जबरजस्ती आफ्नो पिसाब फेर्ने मेरो पिसाब फेर्नेमा हाली मेरो रगत निस्केको देखी निज झ्यालबाट निस्की फरार भएको भनी भनेकीले निज छोरीको यौनाङ्ग हेर्दा घाउ नै घाउ भई रगत निस्केको देखेपछि उपचारको लागि जिल्ला अस्पताल खोटाङमा ल्याई उपचार गराइरहेको छु । यसरी मेरी छोरी वर्ष ८ की ‘आर कुमारी’ लाई जबरजस्ती करणी गरी यौनाङ्गमा काठको टुक्राले घोचिदिने निज कानूनको विवादमा परेको बालक २६ क (परिवर्तित नाम) लाई कानूनबमोजिम कारबाही होस् भन्ने बेहोराको पीडिताको बुबा परिवर्तित नाम केसरमानले दिएको जाहेरी दरखास्त ।
वारदातको समयमा म आफ्नो घर नजिकको नवज्योति स्कुलमा साथीहरूसँग खेलिरहेकोमा साँझ परेपछि म आफ्नो घर आउने क्रममा स्कुलको पछाडि आइपुग्दा मेरो दाजु नाता पर्ने २६क परिवर्तित नामले मलाई फकाई दुवै हातले उचाली खुल्ला झ्यालबाट भित्र पस्न लगाई आफू पनि भित्र पसी मैले लगाएको फ्रक उचाली मेरो पिसाब फेर्नेमा आफ्नो हातले छामछुम गर्दा मैले आमालाई भनिदिन्छु भन्दा काठको टुक्राले मेरो पिसाब फेर्नेमा घोचिदिई आफ्नो लिङ्ग निकाली मेरो पिसाब फेर्नेमा पसाई मेरो पिसाब फेर्नेबाट रगत बगेको र म जोरले रून थालेपछि निजले मलाई त्यहीँ छाडी भागेपछि म रूँदै घर आउँदै गर्दा छिमेकीले देखी मेरो घरमा आमा बुबालाई खबर गरेपछि मलाई उपचारको लागि जिल्ला अस्पताल खोटाङमा ल्याइएको हो भन्ने पीडिताले गरिदिएको घटना विवरण कागज ।
Both the lower limbs were stained with blood, blood dots were present in the skirt, the victim was wearing, her vulva and penial area were stained with blood and blood was seen out of her vagina, infected wound present over her right knee joint and abrasion was present over the posterior aspect of right thigh भन्ने बेहोराको जिल्ला स्वास्थ्य कार्यालय, खोटाङबाट प्राप्त पीडिताको शारीरिक परीक्षण प्रतिवेदन ।
वारदातको समयमा म स्कुलको बाटो गइरहेकोमा मेरो काकाकी छोरी बहिनी नाता पर्ने पीडितालाई स्कुलको झ्यालमाथि निजले लगाएको फ्रक माथि सरेर निजको पिसाब फेर्ने अङ्ग बाहिरबाट देखिरहेको अवस्थामा बसिरहेको देखी निजलाई घर जाउभन्दा नमानेपछि मेरो हातमा भएको बाँसको लौरोले निजको पिसाब फेर्नेमा घोचिदिएपछि निज हाम फालेर कोठाभित्र पसेकोमा म पनि कोठाभित्र पसी निजलाई समातेर घर जाउ भनी बाहिर निकाल्न खोज्दा निजको पिसाब फेर्नेबाट भलभली रगत बगेको देखी म भागेर हिँडेपछि निज त्यहाँबाट निस्की बाटोमा जाँदै गर्दा निजको बुबा आमाले थाहा पाई उपचारको लागि दिक्तेल लगेको हो, मैले जबरजस्ती करणी गरेको होइन भन्ने बेहोराको कानूनको विवादमा परेको बालक २६क परिवर्तित नामले अधिकारप्राप्त अधिकारीसमक्ष गरिदिएको इन्कारी बयान ।
वारदातको समयमा म घरबाट गोठतिर जाँदै गर्दा बाटोमा मैले चिनेकी परिवर्तित नाम आर कुमारीलाई रुँदै आइरहेको देखी के भो भनेर सोध्दा मलाई २६ क (परिवर्तित नाम) ले स्कुलको कोठाभित्र लगेर मेरो फ्रक माथि उचाली मलाई जबरजस्ती करणी गर्न खोज्दा मैले नमानेपछि मेरो पिसाब फेर्नेमा लौरोले घोची जबरजस्ती करणी गरेपछि मेरो पिसाब फेर्नेबाट रगत बगेको देखी निज भागी फरार भएको कुरा मलाई सुनाएपछि मैले निजको आमा बुबालाई खबर गरेपछि निजहरू छोरीलाई लिन आई गम्भीर अवस्था देखी उपचारको लागि दिक्तेल लगेको हो । यसरी एउटा नाबालिकालाई जबरजस्ती करणी गरी यौनाङ्गमा लौरोले घोचिदिने कानूनको विवादमा परेको बालक २६क परिवर्तित नामलाई कानूनबमोजिम कडा कारबाही होस् भन्ने बेहोराको पवित्रा तामाङले गरिदिएको घटना विवरण कागज ।
वारदातको समयमा पीडित ‘आर कुमारी’ लाई २६क परिवर्तित नामले नवज्योति स्कुलको कोठाभित्र लगेर यौनाङ्गमा लौरोले घोच्नुको साथै जबरजस्ती करणी गरी फरार भएको कुरा सुनी थाहा पाएको
हौं । त्यसपछि पीडिताको अवस्था गम्भीर भएकोले उपचारको लागि दिक्तेल अस्पतालमा बोकेर ल्याउनमा सहयोग गरेको हुँ । यसरी एउटा नाबालिकालाई जबरजस्ती करणी गरी यौनाङ्गमा लौरोले घोचिदिने कानूनको विवादमा परेको बालक २६क परिवर्तित नामलाई कानूनबमोजिम कडा कारबाही होस् भन्ने बेहोराको प्रेम शेर्पाले गरिदिएको घटना विवरण कागज ।
मिति २०७१।०५।१७ को अं.१७:३० बजेको समयमा जाहेरवालाको छोरी वर्ष ८ की परिवर्तित नाम ‘आर’ कुमारीलाई गाउँकै २६ क (परिवर्तित नाम) ले गाउँ नजिकै रहेको नवज्योति स्कुलको कक्षा कोठामा लगी जबरजस्ती करणी गर्न खोज्दा नमानेपछि निजले पीडितको यौनाङ्गमा काठको टुक्राले घोचिदिई पीडितालाई जबरजस्ती करणी गरेको र पीडितको यौनाङ्गबाट रगत बगेको देखेपछि पीडक भागी फरार भएको पीडितको अवस्था आमा बुबाले देखेपछि उपचारको लागि दिक्तेल अस्पताल लगेको र त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं लगेको सुनी थाहा पाएको हौं । यसरी एउटा नाबालिकालाई जबरजस्ती करणी गरी यौनाङ्गमा लौराले घोचिदिने बाल बिज्याइँकर्ता २६ क (परिवर्तित नाम) लाई कानूनबमोजिम कडा कारबाही हुनुको साथै पीडितलाई क्षतिपूर्तिसमेत पीडकबाटै भराइयोस् भनी एकै बेहोरा मिलान हुने गरी सोमप्रसाद तामाङसमेतले गरिदिएको वस्तुस्थिति मुचुल्का कागजको बेहोरा ।
मिसिल संलग्न जाहेरी, घटनास्थल मुचुल्का, पीडितको कागज एवं स्वास्थ्य जाँच प्रतिवेदन एवं बुझिएका मानिसहरूको कागजसमेतका आधार, प्रमाणहरूबाट यी बालबिज्याइँकर्ता २६क ले आफ्नै काकाकी छोरी वर्ष ८ की परिवर्तित नाम आर कुमारीलाई उचाली झ्यालबाट स्कुलको कोठाभित्र पसाई आफू पनि पसी पीडिताको योनिमा छामछुम गर्दा पीडिताले आमालाई भनिदिन्छु भन्दा काठको टुक्राले पीडिताको योनिमा घोचिदिई बालबिज्याइँकर्ताले पीडिता आर कुमारीलाई जबरजस्ती करणी गरेको स–प्रमाण पुष्टि हुन आएको र बालबिज्याइँकर्ता २६क को उक्त कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. र २ नं.बमोजिमको कसुरजन्य कार्य भएको हुँदा निज बालबिज्याइँकर्तालाई मुलुकी ऐन जबरजस्ती करणीको महलको ३(१) नं.बमोजिम सजाय गरी हाडनातामा करणी गर्नेको महलको ३ नं.बमोजिम हुने सजायसमेत जबरजस्ती करणीको महलको २ नं.बमोजिम थपी सजाय गरिपाउन र मुलुकी ऐन, जबरजस्ती करणीको महलको १० नं.बमोजिम कानूनको विवादमा परेको बालकबाट पीडितलाई क्षतिपूर्ति भराइपाउनसमेत माग दाबी लिइएको छ । साथै बालबिज्याइँकर्ताको मिसिल संलग्न जाल्पा मा.वि. को पत्रबाट निजको जन्ममिति २०५६।११।१४ भन्ने देखिई वारदात मितिमा निजको उमेर १४ वर्ष ६ महिना रहेको भन्ने देखिँदा सजायको हकमा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम हुनसमेत अनुरोध छ भन्नेसमेत बेहोराको नेपाल सरकारको अभियोग पत्र ।
मिति २०७१।५।१६ को अं. १७:३० बजेको समयमा मेरो बडाबाबु रिमल शेर्पाको बारीको भित्तामा भएको कठेउरीको गोला पोल्न भनी हातमा बाँसको सिटा बोकी हेर्न जाँदा स्कुलमा पुग्दा निज पीडित स्कुलको ढोकामा बसिरहेको र फ्रक मात्र लगाएको कारण निजको योनि देखिइरहेको थियो । रात पर्न लागेकोले घर जाउँ भनी मैले हातमा बोकेको बाँसको सिटा चलाउँदा सिटाले निजको योनिमा घोच्न पुगेछ । मैले जानी जानी निजको योनिमा घोचेको र मैले पीडितालाई हाडनातामा जबरजस्ती करणी गरेको होइन । म निर्दोष भएको हुँदा मलाई अभियोग दाबीबमोजिम सजाय हुने होइन भन्नेसमेत बेहोराको बालबिज्याइँकर्ता २६क ले सुरू खोटाङ जिल्ला अदालतमा गरेको बयान ।
तत्काल प्राप्त आधार, प्रमाणबाट यी कानूनको विवादमा परेको बालक पूर्णरूपमा कसुरदार होइन रहेछन् भन्न मिल्ने अवस्था नदेखिएको र यी कानूनको विवादमा परेको बालकको उमेर १६ वर्षभन्दा मुनिको अर्थात् १४ वर्ष ६ महिना देखिएको र स्थानीय स्तरमा नाबालकहरूलाई राख्ने कुनै सङ्घ संस्था नभएकोले बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ५०(१) बमोजिम निज बालबिज्याइँकर्ता २६क को बाबु ........... लाई २६क लाई यस अदालतबाट खोजी भएका बखत उपस्थित गराउने सर्तमा निजको जिम्मा लगाइदिनु भन्नेसमेत बेहोराको यस अदालतको २०७१।०६।०७ को आदेशानुसार कानूनको विवादमा परेको बालकका बाबुले यस अदालतबाट खोजी भएका बखत उपस्थित गराउने सर्तमा बुझिलिएको रहेछ । साथै साक्षीहरू नियमानुसार बुझी पेस गर्नु भन्नेसमेत बेहोराको खोटाङ जिल्ला अदालतको मिति २०७१।०६।०७ को आदेश ।
मिति २०७१।०५।१६ गते बेलुका भएको समयमा म स्कुलको ग्राउन्डमा रहेकोमा २६क ले घर जा भनेर लौरोले हान्दा मेरो यौनाङ्गमा लागेको हो । म आफ्नो घरमा आएको हुँ । निज कानूनको विवादमा परेको बालकले मलाई जबरजस्ती करणी गरेको होइन भन्नेसमेत बेहोराको पीडित परिवर्तित ‘आर’ कुमारीले आमाको रोहबरमा खोटाङ जिल्ला अदालतमा गरेको बकपत्र ।
छोरीको योनिबाट खुन बगिरहेको देखी छोरीलाई के भएको हो भनी सोध्दा मलाई २६क दादाले म स्कुलको झ्यालमा बसिरहेको अवस्थामा लौराले हिर्काउँदा मेरो योनिमा २ पटक लागी रगत आएको भनेको सुनेको हुँ भन्नेसमेत बेहोराको जाहेरवाला परिवर्तित नाम केशरमानले सुरू खोटाङ जिल्ला अदालतमा गरेको बकपत्र ।
मैले घटना देखेको होइन, सुनेको मात्र
हो । २६क ले बाँसको सिटाले मेरो पिसाब फेर्ने ठाउँमा घोच्दा खुन आएको हो भनी पीडितले भनेको हुँदा घटनाको बारेमा थाहा भएको हो भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका मानिस रिमालकुमार शेर्पाले खोटाङ जिल्ला अदालतमा गरेको बकपत्र ।
कानूनको विवादमा परेको बालक नाबालिग देखिएकोले निजको वास्तविक नाम विशेष प्रकृतिको मुद्दामा गोपनीयता कायम राख्नेसम्बन्धी निर्देशिका, २०६४ बमोजिम गोपनीयता कायम राखेको नदेखिँदा निज कानूनको विवादमा परेको बालकको नाम गोपनीयता कायम राख्नु भन्ने बेहोराको सुरू खोटाङ जिल्ला अदालतको मिति २०७२।२।५ को आदेश ।
बालमनोविज्ञ र सामाजिक कार्यकर्ताबाट पेस भएको बालबिज्याइँकर्ताको अध्ययन प्रतिवेदन मिसिल संलग्न रहेको ।
केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला, सामाखुसी, काठमाडौंबाट प्राप्त भएको परीक्षण प्रतिवेदन मिसिल संलग्न रहेछ ।
स्वयम् पीडितले आफ्नो संरक्षकको रोबहरमा अदालतमा बकपत्र गर्दा आफूलाई बालबिज्याइँकर्ता २६क ले घर जा भनी लौराले हान्दा मेरो यौनाङ्गमा लागेको हो, निजले जबरजस्ती करणी गरेको होइन भनी बकपत्र गरेको र जाहेरवालाले पनि अदालतमा आई बकपत्र गर्दा पीडितउपर बालबिज्याइँकर्ता २६क ले जबरजस्ती करणी भएको भन्ने आफ्नो जाहेरी दरखास्तमा उल्लिखित बेहोरालाई इन्कार गरी बकपत्र गरिदिएको अवस्थामा शंकारहित तवरबाट ठोस एवं स्वतन्त्र रूपमा बालबिज्याइँकर्ता २६क उपर लगाइएको जबरजस्ती करणी जस्तो गम्भीर प्रकृतिको बालबिज्याइँ प्रमाणित हुन सक्ने अवस्था देखिएन । अत: कानूनको विवादमा परेको बालक २६ क (परिवर्तित नाम) ले अभियोग दाबीबमोजिमको बालबिज्याइँ गरेको कुरा पुष्टि हुन सकेको नदेखिँदा निज बालबिज्याइँकर्ता २६क परिवर्तित नामले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्ने सुरू खोटाङ जिल्ला अदालतको मिति २०७२।०२।११ को फैसला ।
कानूनको विवादमा परेको बालक २६क ले परिवर्तित नाम आर कुमारीलाई नवज्योति प्रा.वि. नुनथलाको बिचको कोठामा पछाडिपट्टिको खुला झ्यालबाट भित्र छिराई पीडिताको योनिमा काठको टुक्राले घोचेर घाइते बनाई जबरजस्ती करणी गरेको स्थान कोठामा भुइँमा रगतको थोपा देखिइएको भन्ने घटनास्थल मुचुल्काबाट देखिइरहेको छ । पीडितको फ्रकमा समेत रगत लागेको अवस्था रहेको र पीडितले मौकामा घटना विवरण कागज गर्दा सोही बेहोरा उल्लेख गरी मैले करणी गर्न नमानी रहेकीमा मेरो पिसाब फेर्ने ठाउँमा काठको टुक्राले घोची जबरजस्ती करणी गरेका हुन् भनी कागज गरिदिएकी छिन् । अदालतमा बकपत्र गर्दासमेत २६क ले लौराले हान्दा मेरो यौनाङ्गमा लागेको भनी बेहोरा लेखाइरहेको अवस्था विद्यमान देखिएको, पीडितको योनिसमेतमा लागेको चोट, घाउ तथा एकान्त कोठाभित्र रहेको वारदात र कानूनको विवादमा परेको बालकले समेत अनुसन्धानको क्रममा र अदालतमा समेत बयान गर्दा वारदातमा बाँसको लौराले हानेको स्वीकार गरी गरेको बयानलाई अनदेखा गरी विभिन्न प्रभावमा परी कानूनको विवादमा परेको बालकलाई कानूनी सजायबाट उन्मुक्ति दिने उद्देश्यले पीडित तथा जाहेरवालाले प्रतिकूल (Hostile) भई बकपत्र गरेकै आधारमा मात्र अपराध गर्ने व्यक्तिलाई जबरजस्ती करणी जस्तो गम्भीर प्रकृतिको बालबिज्याइँलाई प्रमाणको अपुग भएको भन्ने अनुमान गरी कानूनको विवादमा परेको बालक परिवर्तित नाम २६क लाई अभियोग मागदाबीबमोजिम सजाय गर्नुपर्नेमा नगरी सफाइ दिने गरी भएको सुरू खोटाङ जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी कानूनको विवादमा परेको बालकलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट तत्कालीन पुनरावेदन अदालत ओखलढुङ्गामा परेको पुनरावेदन पत्र ।
पीडितको यौनाङ्गमा लौरोको घाउ चोट लागेको देखिएको अवस्थामा पनि कानूनको विवादमा परेको बालकलाई सफाइ दिई भएको सुरू फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा छलफलका लागि अ.बं.२०२ नं. तथा उच्च अदालत नियमावली, २०७३ को नियम ११२ को प्रयोजनार्थ कानूनको विवादमा परेको बालकलाई झिकाई नियमानुसार पेस गर्नु भन्ने बेहोराको उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाको मिति २०७४।०१।२० को आदेश ।
सुरू खोटाङ जिल्ला अदालतको मिति २०७२।०२।११ को फैसला उल्टी भई पीडितको उमेर १० वर्षभन्दा मुनिको देखिँदा मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(१) बमोजिम कैद वर्ष १० (दश) कायम भई कानूनको विवादमा परेको बालकको उमेर वारदात हुँदाका अवस्था १४ वर्षभन्दा बढी १६ वर्षभन्दा मुनिको देखिएकोले बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) ले हुने सजायको आधा सजाय हुने हुँदा आधा सजाय गर्दा कैद वर्ष ५ (पाँच) हुने ठहर्छ । ऐ. महलको १० नं.बमोजिम कानूनको विवादमा परेको बालकबाट पीडितले रू.२५,०००।- (पच्चिस हजार रूपैयाँ) क्षतिपूर्तिसमेत भरिपाउने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत विराटनगर अस्थायी इजलास, ओखलढुङ्गाको मिति २०७४।१०।२५ मा भएको फैसला ।
प्रस्तुत मुद्दामा बिज्याइँकर्ता परिवर्तित नाम २६(क) लाई जबरजस्ती करणीतर्फ ठहर भइसकेकोले वारदात सम्बन्धमा विवाद
देखिएन । बालबिज्याइँकर्ता परिवर्तित नाम २६ (क) ले अधिकारप्राप्त अधिकारीसमक्षको बयान स.ज. १२ र अदालतसमक्षको बयानको स.ज.५ मा निज पीडित मेरी आफ्नै काकाकी छोरी बहिनी नाता पर्छ भनी लेखाइदिएको बेहोरा प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रमाणयोग्य रहेको र पीडितले मौकामा कागज गर्दा निज बिज्याइँकर्ता मेरो दाजु नाता पर्ने भनी लेखाइदिएको बेहोरासमेतलाई अनदेखा गरी हाडनाता करणीतर्फ दाबी नपुग्ने भनी भएको फैसला त्रुटिपूर्ण हुँदा बदरभागी छ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा दायर हुन आएको पुनरावेदन पत्र ।
वारदात भनिएको मिति समयमा म कानूनको विवादमा परेको बालक मात्र १३ वर्षको उमेर पुगी चौध वर्षमा प्रवेश गरेको । नाबालक मानिसलाई यौन उत्तेजना हुने यौन चाहना रहने कुनै सवाल नै
आउँदैन । पीडितलाई घर जाऊ भन्दा नमानेकोले सामान्य काठको टुक्राले प्रहार गर्दा अचानक गुप्ताङ्गमा लागी घाउसम्म हुन गएको हो । मैले पीडितलाई जबरजस्ती करणी गर्न कुनै प्रयत्न गरेको होइन । विधायिकाले कुटपिटको महलैको परिकल्पना गरी पीडितको आङ जिउमा लागेको घाउ चोट मुलुकी ऐन कुटपिटको घाउ चोट महलको दफा १ नं. को परिभाषाभित्रको पर्दछ । सो तथ्यलाई पीडित र जाहेरवालाले अदालतमा आई गरिदिएको बकपत्र बेहोराबाट पुष्टि गरिरहेको छ ।
प्रस्तुत मुद्दा जबरजस्ती करणीको परिभाषाभित्र पर्दैन । जाहेरवाला पीडितको स्वयं संरक्षक बाबु रहेका र अदालतमा आई बकपत्र गर्दा पीडितलाई बालबिज्याइँकर्ताले घर जा भनी लौराले गुप्ताङ्गमा हान्दा चोट लागेको हो भनी बकपत्र गरेको र पीडितले समेत संरक्षकको रोहबरमा सोही बेहोराको बकपत्र गरिदिएको आधारमा सुरू खोटाङ जिल्ला अदालतले सबुद प्रमाणको यथेष्ट मूल्याङ्कन गरी न्यायिक फैसला गरेको छ । प्रस्तुत मुद्दा कुटपिटको परिभाषाभित्र पर्ने हो वा करणीको परिभाषाभित्र पर्ने हो भन्ने कुरामा यकिन गरी ठहर गर्नुपर्ने कुरा र सम्बद्ध प्रमाणको प्रमाण ऐन, २०३१ को दफा ३(१) को उचित मूल्याङ्कन गरी इन्साफमा पुग्नुपर्ने अवस्था
छ । पीडित र जाहेरवालाले अदालतमा आई स्वतन्त्रपूर्वक गरेका बकपत्रसमेतको मूल्याङ्कन गरी सुरू खोटाङ जिल्ला अदालतले मलाई आरोपित कसुरबाट सफाइ दिई मिति २०७२।०२।११ मा गरेको फैसला बदर गर्ने गरी उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाबाट मिति २०७४।१०।२५ मा भएको फैसला पूर्ण रूपमा बदर गरी सुरू जिल्ला अदालतबाट गरेको फैसलालाई सदर गरी आरोपित कसुर अपराधबाट फुर्सद गराइपाउँ भन्नेसमेत बेहोराको कानूनको विवादमा परेको बालक परिवर्तित नाम २६क ले यस अदालतमा दायर गरेको पुनरावेदन पत्र ।
उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाको मिति २०७४।१०।२५ को फैसलाउपर वादी नेपाल सरकार र कानूनको विवादमा परेको बालक परिवर्तित नाम २६क दुवै पक्षको तर्फबाट दोहोरो पुनरावेदन परेको देखिँदा उक्त पुनरावेदन पत्रहरू मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा १४०(३) को प्रयोजनार्थ परस्परमा सुनाई महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७६।०९।२२ मा भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट उपस्थित हुनुभएका विद्वान् सहन्यायाधिवक्ता श्री सन्देश श्रेष्ठले पीडितको घटना विवरण कागज तथा निजको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट जबरजस्ती करणी भएको भन्ने तथ्य स्थापित भएको छ । यी कानूनको विवादमा परेको बालकले अदालतमा बयान गर्दासमेत पीडित काकाको छोरी बहिनी नाताकी हुन् भनी स्वीकार गरेको अवस्थामा नातातर्फ समेत अभियोग मागदाबीबमोजिम कानूनको विवादमा परेको बालकलाई सजाय हुनुपर्छ भनी गर्नुभएको बहस सुनियो ।
त्यस्तै, कानूनको विवादमा परेको बालक २६क परिवर्तित नामको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री रामप्रसाद ढुंगेलले यी कानूनको विवादमा परेको बालकले पीडितलाई जबरजस्ती करणी गरेको भन्ने शंकारहित तवरबाट पुष्टि हुन सकेको छैन । भवितव्य परी बाँसको सिटाले पीडितको योनिमा घोचिन पुगेकोसम्म हो । यस अवस्थामा कानूनको विवादमा परेको बालकले अभियोग मागदाबीबाट सफाइ पाउनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।
विद्वान् सहन्यायाधिवक्ता तथा कानून व्यवसायीहरूको बहससमेत सुनी उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाबाट मिति २०७४।१०।२५ मा भएको फैसला मिले, नमिलेको के रहेछ ? पुनरावेदक वादी नेपाल सरकार र कानूनको विवादमा परेको बालकको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? हेरी सोही विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, २६क परिवर्तित नामलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. र २ नं. को कसुरमा ऐ. महलको ३(१) नं.बमोजिम सजाय गरी हाडनाता करणी गर्नेको महलको ३ नं.बमोजिम सजायसमेत गरी, जबरजस्ती करणीको महलको २ नं.बमोजिम थप सजाय गरी एवं ऐ. महलको १० नं.बमोजिम कानूनको विवादमा परेको बालकबाट पीडितलाई क्षतिपूर्ति भराई, साथै कानूनको विवादमा परेको बालकको उमेर १४ वर्ष ६ महिना रहेको भन्ने देखिँदा सजायको हकमा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेकोमा सुरू खोटाङ जिल्ला अदालतबाट अभियोग दाबी पुग्न नसक्ने ठहर भई फैसला भएको रहेछ । सुरू फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परी उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाबाट खोटाङ जिल्ला अदालतको फैसला उल्टी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(१) नं.बमोजिम १० (दश) वर्ष कैद सजाय कायम भई तत्कालीन बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम ५ (पाँच) वर्ष कैद सजाय हुने र ऐ. महलको १० नं.बमोजिम कानूनको विवादमा परेको बालकबाट पीडितले रू.२५,०००।- (पच्चिस हजार रूपैयाँ) क्षतिपूर्तिसमेत भरिपाउने ठहर्याई भएको फैसलामा वादी नेपाल सरकार र कानूनको विवादमा परेको बालक दुवैतर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको रहेछ ।
३. वादी नेपाल सरकारको पुनरावेदन जिकिर हेर्दा, उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाको फैसलामा कानूनको विवादमा परेको बालकलाई मुलुकी ऐन, हाडनाता करणीको महलको ३ नं.बमोजिम हाडनाताको कसुरमा सजाय नगरेको हकमा मात्र चित्त नबुझाई सोही विषयमा केन्द्रित रही हाडनाताको कसुरमा समेत सजाय गरिपाउँ भनी पुनरावेदन गरेको देखिन्छ । अर्कोतर्फ कानूनको विवादमा रहेको बालकले आफूउपरको कसुर मुलुकी ऐन, कुटपिटको महलको १ नं.बमोजिमको कसुर भएको तर उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाबाट जबरजस्ती करणीको महलको १ नं. र २ नं. को सोही महलको कसुरमा ३(१) नं.बमोजिम सजाय गरी क्षतिपूर्तिसमेत भराउने ठहर गरेको फैसलामा चित्त नबुझाई आरोपित कसुरबाट सफाइ पाउँ भनी पुनरावेदन गरेको देखिन्छ । पुनरावेदक कानूनको विवादमा रहेको बालकले आरोपित कसुर मुलुकी ऐन, जबरजस्ती करणीको नभई मुलुकी ऐन, कुटपिटको महलबमोजिमको कसुर हो भनी पुनरावेदन जिकिर लिएको देखिँदा कानूनको विवादमा रहेको बालकको कार्य अभियोग दाबीबमोजिमको जबरजस्ती करणीको कार्य हो वा पुनरावेदन जिकिरबमोजिमको कुटपिटको कार्य हो भन्ने विषयमा नै सर्वप्रथम यकिन गर्नुपर्ने देखिन आयो ।
४. पीडितको बाबुको कानूनको विवादमा परेको बालकउपर किटानी जाहेरी परेबाट प्रस्तुत मुद्दा उठान भएको देखिन्छ । उक्त जाहेरी हेर्दा, २६क परिवर्तित नामले आफूलाई स्कुलभित्र हातले उचाली झ्यालबाट भित्र हाली आफू पनि भित्र पसी मेरो पिसाब फेर्नेमा उसको पिसाब फेर्ने हुल्न खोज्दा मैले नमानेको, भुइँमा भएको काठको तिखो टुक्राले मेरो पिसाब फेर्नेमा घोचेको, म रून थालेकोमा जबरजस्ती आफ्नो पिसाब फेर्ने अङ्ग लिङ्ग मेरो पिसाब फेर्ने (योनि) मा हाली रगत निस्केको देखेपछि आमालाई भनिदिन्छु भन्दा मलाई त्यहाँ छोडेर भागेको र पीडित छोरीलाई अस्पताल लगी उपचार गराइरहेको छु भन्ने बेहोरा उल्लेख रहेको देखिन्छ । सोही बेहोराको पीडित आर कुमारीको घटना विवरण कागज रहेको पाइन्छ । वरामदी घटनास्थल मुचुल्कामा जबरजस्ती करणी गरेको कोठाको भुँइमा रगतको थोपा देखिएको र पीडितले लगाएको रगत लागेको खैरो रङ्गको फ्रकसमेत प्रहरीले बरामद गरेको भन्ने देखिन्छ ।
५. यसैगरी पीडित आर कुमारीको जिल्ला स्वास्थ्य कार्यालय, खोटाङ दिक्तेलको मिति २०७१।०५।१९ को शारीरिक स्वास्थ्य परीक्षण प्रतिवेदन हेर्दा History of the case को महलमा According to the examinee when she was returning home from school a boy named ‘……’ forcefully took her inside the school and then assaulted her in her vagina with a sharp wooden bamboo stick. Following this the boy inserted his penis inside her vagina (the examinee said "उस्को छाडा मेरो दुलोमा पसायो"). Then started to bleed and then the boy wiped the blood and threatened her not to tell anything about this incident to her mother, otherwise he would repeatedly insert his penis in her vagina. त्यसैगरी सोही प्रतिवेदनको examination महलमा Both the lower limbs were stained with blood, blood clots were present in the skirt, she was wearing, her vulva and perineum area stained with blood and blood was seen ooziness out of her vagina. Mucosal tear was present at 4 O’clock in her hymen blood cuts were visualized high up in her vaginal canal, heavy infected would was present over her Right knee joint, abrasion was present over the posterior aspect of right thigh भन्ने बेहोरा उल्लेख भएको देखिन्छ ।
६. पीडित आर कुमारीको उक्त स्वास्थ्य परीक्षण प्रतिवेदनलाई सूक्ष्म रूपले हेर्दा, खुट्टामा रगतको दागहरू रहेको, निजले लगाएको फ्रकमा रगतको दाग लागेको, योनि वरिपरिको भागमा रगतको दाग रहेको तथा योनिबाट रगत तपतप चुहिरहेको (her vulva and perineum area stained with blood and blood was seen ooziness out of her vagina) भन्ने देखिन्छ । Mucosal tear was present at 4 O’clock in her hymen, blood cuts were visualized high up in her vaginal canal अर्थात् पीडितको कन्याजाली च्यातिको र योनि मार्गमा रगत देखिएको भन्ने देखिन्छ ।
७. तथापि, कानूनको विवादमा परेको बालकले पीडितले लाएको फ्रक माथि सरेकोले निजको योनि देखिइरहेकोमा निजको योनिमा आफूले घोचेको र निज कक्षा कोठामा पसेकोमा समाएर बाहिर निक्लँदा योनिबाट रगत आएको देखी भागेको हुँ भनी अनुसन्धान अधिकारीसमक्ष बयान गरेको देखिन्छ । निज कानूनको विवादमा रहेको बालकले सुरू अदालतमा सोही बेहोरामा बयान गरी आरोपित कसुरमा इन्कार रहेको देखिन्छ ।
८. यस स्थितिमा मिसिल संलग्न प्रमाण तथा परिस्थितिको मूल्याङ्कन गर्दा, वारदातको समय मिति २०७१।०५।१६ को १७:३० बजे साँझ विद्यालय बिदा भई सबै घर फर्किसकेको र पीडितसमेत घर फर्कने क्रममा रहेको अवस्था देखिन्छ । साँझको सुनसान समयमा विद्यालयको कोठामा झ्यालबाट प्रवेश गरेको गराएको अवस्था छ । पीडितको योनि पीडकले देखेको र योनिमा घोचेको कुरा पीडकले स्वीकार गरेको अवस्था छ । यसरी पीडकले योनि देखेको र पीडितलाई झ्यालबाट बोकेर कक्षा कोठामा लानुमा नै पीडकमा करणी गर्ने मनसाय रहेको देखिन आएको छ । पीडितको उल्लिखित स्वास्थ्य जाँच प्रतिवेदनमा कन्याजाली च्यातिएको तथा योनिबाट रगत तपतप चुहिरहेको अवस्था छ । विशेषज्ञ चिकित्सकले वैज्ञानिक प्रविधिबाट तत्काल पीडितको स्वास्थ्य जाँच गर्दा देखिएको घा चोटसमेतको विवरण वस्तुगत प्रमाण हुन् । जबरजस्ती करणीको कसुरको अपराधमा त्यस्तो प्रमाण महत्त्वपूर्ण र प्रमाणग्राह्य हुन्छ । विनाकारण पीडितको बाबुले जाहेरी दिनुपर्ने अन्य कुनै कारणसमेत देखिँदैन । अनुसन्धानको क्रममा तयार तथा सङ्कलित प्रमाण र परिस्थितिको क्रमबद्धता सिलसिलेवार रूपमा तादात्म्य भई करणीको कार्य २६क परिवर्तित नामबाट भएको देखिन आयो ।
९. यद्यपि, पीडित आर कुमारी र निजको बाबु जाहेरवालाले अदालतमा बकपत्र गर्दा जाहेरी बेहोरा र मौकाको बकपत्रको बेहोरा प्रतिकूल हुने गरी पीडकले करणी गरेको होइन भन्ने बेहोरा लेखाएको पाइन्छ । यस सन्दर्भमा सर्वोच्च अदालतबाट प्रतिपादित न्यायिक सिद्धान्ततर्फ दृष्टिगत गर्दा देहायबमोजिमको नजिर रहेको पाइन्छ । कुमार गुरूङ वि. नेपाल सरकार को मुद्दा, कानूनको विवादमा परेको बालकले साक्षीहरूलाई आश, त्रास वा प्रलोभनमा पारी अनुसन्धानका क्रममा मौकामा दिएको बयानमा अन्यत्र मोड्न Hostile बनाउन खोज्ने हुँदा Hostile भएकै आधारमा कानूनको विवादमा परेको बालकलाई आरोपित कसुरबाट सफाइ दिन नमिल्ने । मिसिल संलग्न रहेका प्राप्त प्रमाणहरूबाट कानूनको विवादमा परेको बालकले कसुर गरेको स्थापित हुन आएको स्थितिमा पीडित जाहेरवालाले कानूनको विवादमा परेको बालकले कसुर गरेको होइन भनी बकपत्र गरिदिँदैमा मिसिलबाट स्थापित तथ्यलाई अन्यथा गर्न नमिल्ने । अपराध हुँदाको परिस्थिति, समय र पक्षको भनाइ र मिसिल संलग्न प्रमाणहरूको विश्लेषण गरी कसुर भएको हो वा होइन भनी यकिन गरी कसुर गर्ने कानूनको विवादमा परेको बालकलाई सजाय दिनु न्यायको मान्य सिद्धान्त हुने भन्ने न्यायिक सिद्धान्त प्रतिपादन भएको देखिन्छ ।
१०. यसैगरी, साने भन्ने संगम सार्की वि. नेपाल सरकार को मुद्दामा जबरजस्ती करणी मुद्दामा वारदातको सम्बन्धमा पीडितको मौकाको बयान, किटानी जाहेरी, पीडितको स्वास्थ्य परीक्षण, घटनास्थल मुचुल्का, कानूनको विवादमा परेको बालकको अनुसन्धान अधिकारीसमक्ष भएको साबिती बयान तथा घटना सम्बन्धमा अन्य व्यक्तिले गरिदिएको कागजबाट जबरजस्ती करणी पुष्टि भइरहेको अवस्थामा पछि अदालतमा आएर जबरजस्ती करणी भएको होइन भनी कानूनको विवादमा परेको बालक, जाहेरवाला तथा स्वयं पीडितसमेतले बयान बकपत्र गर्दैमा जबरजस्ती करणी भएको होइन भनी निष्कर्षमा पुग्न नसकिने । अन्य प्रमाणबाट कसुर पुष्टि भइरहेको अवस्थामा जाहेरवाला, पीडित तथा अन्य व्यक्तिले अनुसन्धानको क्रममा आफूले भनेको भनाइविपरीत हुने गरी अदालतमा गरेको बयान बकपत्रको आधारमा मात्र कानूनको विवादमा परेको बालकलाई सफाइ दिनु न्यायोचित नहुने भन्ने नजिर सिद्धान्त रहेको देखिन्छ ।
११. वस्तुतः उल्लिखित न्यायिक सिद्धान्तलाई दृष्टिगोचर गर्दा, जबरजस्ती करणीजस्तो कसुरमा पीडित, जाहेरवाला तथा वादीको साक्षीहरूले अनुसन्धान क्रमको बकपत्र, मौकाको बेहोरा तथा जाहेरी बेहोरा प्रतिकूल अदालतमा बकपत्र गर्न सक्ने अवस्था देखिन्छ । यस स्थितिमा न्यायकर्ताले न्यायिक मन प्रयोग गरी घटना, सङ्कलित प्रमाण तथा परिस्थितिको सूक्ष्म मनन गरी तथ्यको वस्तुनिष्ठ जाँच गरी विद्यमान कानून, न्यायिक सिद्धान्त र विधायिकी मनसायसमेतलाई शिरोधार्य गर्दै न्याय सम्पादन गर्नुपर्ने देखिन्छ । जबरजस्ती करणीको कसुरमा मिसिल संलग्न सम्पूर्ण प्रमाणको मूल्याङ्कनबाट न्याय निरूपण हुन वाञ्छनीय हुन्छ । यस स्थितिमा प्रतिकूल बयानकै भरमा फौजदारी कसुरबाट २६क परिवर्तित नामलाई आरोपित कसुरबाट छुटकारा दिन मिल्ने पनि देखिँदैन ।
१२. यस स्थितिमा पीडकको कार्यलाई विद्यमान कानूनी व्यवस्थासँग तादात्म्य गरी हेर्दा, पीडित ‘आर’ कुमारीले वारदातको भोलिपल्ट अर्थात् मिति २०७१।०५।१७ मा घटना विवरण कागज गर्दा, मिति २०७१।०५।१६ अपराह्न १७:०० बजे स्कुलको प्राङ्गणमा साथीसँग खेलिरहेको थिएँ । साँझ परेपछि साथी आफ्नो घर लागे । म पनि आफ्नो घरतिर आउने क्रममा स्कुलको पछाडि आइपुग्दा मैले चिनेको दाजु नाता पर्ने २६क परिवर्तितले मलाई के गर्दै छौ भनेर सोध्दा मैले खेलेर घरतिर जाँदै छु भनेपछि निजले म पनि जान्छु एकछिन स्कुलको कोठामा हेर त के छ भनेर मलाई दुवै हातले उचाली स्कुलको कोठाको खुलै रहेको झ्यालबाट कोठाभित्र हालेर आफू पनि भित्र आई मैले लगाएको फ्रक उचाली मेरो पिसाब फेर्नेमा आफ्नो हातले छामछुम गर्न थालेपछि मैले आमालाई भनिदिन्छु भनेपछि निजले कोठामा रहेको सानो काठको टुक्राले मेरो पिसाब फेर्नेमा घोचिदिई मलाई अत्यन्त दुख्न थालेपछि निजले आफ्नो लिङ्ग निकाली मेरो पिसाब फेर्ने अङ्गमा पसाई मलाई दुख्न थालेपछि जोरले कराएपछि निजले मलाई चुप लाग भनेको र मेरो पिसाब फेर्ने अङ्गबाट अत्यन्त रगत बगेर लुगा कपडामा समेत लागी भुँइमा समेत बगेपछि मलाई दुखेर जोरजोरले रून थालेपछि निजले मलाई त्यहीँ छाडी झ्यालबाट हाम फालेर भागेको हो भनी उल्लेख गरेको पाइन्छ ।
१३. कानूनको विवादमा परेको बालकले अनुसन्धानको क्रममा अनुसन्धान अधिकारीसमक्ष गरेको बयान बेहोरा हेर्दा, २०७१।०५।१६ को बेलुकी १७:०० बजेको समयमा म स्कुलको बाटो हुँदै गैरहेकोमा स्कुलको झ्यालमा पीडित बसिरहेकी थिइन् । निजको फ्रक माथि सरेर पिसाब फेर्ने अङ्ग बाहिरबाटै देखिइरहेको थियो । यसरी म नजिक आएर घर जाउ भनेर पीडितलाई भन्दा नमानेपछि मेरो हातमा भएको बाँसको लौरोले निज पीडिताको पिसाब फेर्नेमा घोचिदिएपछि निज कोठाभित्र गएकोमा म पनि झ्यालबाट कोठाभित्र पसी निजलाई समातेर घर जाउँ भनेर बाहिर निकाल्न खोज्दा निजको पिसाब फेर्नेबाट रगत बगिरहेको देखेपछि डर लागी निज पीडितलाई त्यहीँ छोडेर म त्यहाँबाट भागेको हुँ । लौरोले घोचेपछि कोठाभित्र पसेर घर जानको लागि समात्न खोज्दा गुत्थम गुत्था भएको हो भन्ने बेहोरा उल्लेख गरेको देखिन्छ ।
१४. यस स्थितिमा, कानूनको विवादमा परेको बालकको कार्य विद्यमान कानूनी व्यवस्थासँग तादात्म्य गरी हेर्दा, मुलुकी ऐन जबरजस्ती करणीको महलको १ नं. मा कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ भन्ने कानूनी व्यवस्था रहेको छ । यसैगरी सोही ऐनको ३ नं. को देहाय (१) मा दश वर्षभन्दा मुनिकी बालिका भए दशदेखि पन्ध्र वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ । उल्लिखित कानूनी व्यवस्थाको रोहमा, पीडित आर कुमारीको उमेर ८ वर्ष भएको तथ्यमा विवाद छैन । कानूनको विवादमा परेको बालकको जम्ममिति निजले अध्ययन गरेको जल्पा माध्यमिक विद्यालयको पत्रबाट २०५६।११।१४ रहेको देखिई वारदातको समयमा निजको उमेर १४ वर्ष ६ महिना रहेको देखिन्छ ।
१५. तसर्थ, कानूनको विवादमा परेको बालकलाई जबरजस्ती करणीको महलको ३(१) नं.बमोजिम १० (दश) वर्ष कैद सजाय हुने भई वारदात मितिमा निजको उमेर १४ वर्ष ६ महिना रहेकोले बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम ५(पाँच) वर्ष कैद सजाय गर्ने गरी उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाबाट भएको फैसला अन्यथा भन्न मिलेन ।
१६. कानूनको विवादमा परेको बालकउपर मुलुकी ऐन, हाडनातामा करणी गर्नेको महलको ३ नं.बमोजिम समेत सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, कानूनको विवादमा परेको बालकले आफ्नै काकाकी छोरी (बहिनी) लाई जबरजस्ती गरेको भन्नेसम्म अभियोग पत्रमा उल्लेख गरेको देखिन्छ । वादी पक्षले पीडित र कानूनको विवादमा परेको बालकबिचको नाता सम्बन्धमा तथ्यगत सम्बन्धका बारे प्रमाण कागज पेस गरी पुष्टि गर्न सकेको देखिँदैन । पीडितको तर्फबाट मौकामा भएको घटना विवरण कागजमा दाजु नाता पर्ने भन्नेसम्म उल्लेख भएको पाइन्छ । मौखिक रूपमा व्यक्त भएको कुराबाहेक अन्य तथ्यबाट नाता सम्बन्ध रहे, भएको भन्ने मिसिल प्रमाणबाट पुष्टि भएको देखिएन । प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम जबरजस्ती करणीजस्तो फौजदारी कसुरमा प्रमाणको भार वादी नेपाल सरकारमा रहेको
पाइन्छ । यस अवस्थामा हाडनातातर्फ मौखिक प्रमाणबाहेक पुष्टि हुने अन्य प्रमाण वादी पक्षले पेस गर्न नसकेकोले हाडनातातर्फ थप सजाय हुनुपर्ने भन्ने अभियोग मागदाबी तथा वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
१७. जबरजस्ती करणीको महलको १० नं.बमोजिम कानूनको विवादमा परेको बालकबाट पीडितलाई क्षतिपूर्ति भराइपाउँ भनी अभियोग मागदाबी लिएतर्फ हेर्दा, यी कानूनको विवादमा परेको बालकले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा बुबासँग आरा काठ काट्नेलगायतको घरायसी खेतीपातीको काम गर्दछु भनी र अदालतसमक्ष बयान गर्दा जग्गा यति छ भन्ने थाहा छैन, अलिकति छ । गोरूले जोत्दा १ घण्टामा सकिन्छ । घरको आयस्ताले खान लगाउन पुग्दैन भनी बयानमा उल्लेख गरेको
देखिन्छ । उल्लिखित तथ्यबाट यी कानूनको विवादमा परेको बालकको आयस्रोत न्यून रहेको खान लगाउनसमेत नपुग्ने भन्ने तथ्य स्थापित भएको छ ।
१८. यस अवस्थामा कानूनको विवादमा परेको बालकबाट पीडितलाई क्षतिपूर्ति भराउन सक्ने आर्थिक हैसियत देखिँदैन । आर्थिक हैसियत न्यून भएका यी कानूनको विवादमा परेको बालकबाट पीडितलाई रू.२५,०००।- (पच्चिस हजार रूपैयाँ) क्षतिपूर्ति दिने भनी उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाबाट भएको फैसला सो हदसम्म मिलेको देखिएन । कानूनको विवादमा परेको बालकको आर्थिक हैसियत न्यून रहेको र पीडितलाई पर्न गएको शारीरिक तथा मानसिक पीडासमेतलाई विचार गरी पीडित राहत कोषबाट उचित र मनासिब क्षतिपूर्ति भराउन मिल्ने हुँदा निज पीडितले पीडित राहत कोषबाट रू.५०,०००।- (पचास हजार रूपैयाँ) क्षतिपूर्ति भराइदिनुपर्ने देखियो ।
१९. अतः माथि उल्लिखित आधार, कारण र तथ्यसहितका आधारमा सुरू खोटाङ जिल्ला अदालतबाट मिति २०७२।०२।११ मा कानूनको विवादमा परेको बालकलाई अभियोग दाबीबाट सफाइ दिने ठहर भएको फैसला उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाबाट मिति २०७४।१०।२५ मा उल्टी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(१) नं.बमोजिम १० (दश) वर्ष कैद हुने भई कानूनको विवादमा परेको बालकको उमेर वारदात हुँदाका अवस्था १४ वर्षभन्दा बढी १६ वर्षभन्दा मुनिको देखिएकोले बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम ५ (पाँच) वर्ष कैद सजाय हुने ठहर गरी भएको फैसला सो हदसम्म मिलेको देखिँदा सदर ठहर्छ । जबरजस्ती करणीको महलको १० नं. बमोजिम कानूनको विवादमा परेको बालकबाट पीडितले रू.२५,०००।- (पच्चिस हजार रूपैयाँ) क्षतिपूर्तिसमेत भरिपाउने ठहर्याई भएको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई निज पीडितले पीडित राहत कोषबाट रू.५०,०००।- (पचास हजार रूपैयाँ) क्षतिपूर्ति भराइपाउने ठहर्छ । हाडनातातर्फ थप सजाय हुनुपर्ने भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर र अभियोग दाबीबाट सफाइ पाउँ भन्ने कानूनको विवादमा परेको बालकको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरू कुरामा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम जबरजस्ती करणीको महलको १० नं.बमोजिम कानूनको विवादमा परेको बालकबाट पीडितले रू.२५,०००।- (पच्चिस हजार रूपैयाँ) क्षतिपूर्तिसमेत भरिपाउने ठहर्याई भएको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई निज पीडितले पीडित राहत कोषबाट रू.५०,०००।- (पचास हजार रूपैयाँ) क्षतिपूर्ति भराइपाउने ठहरी फैसला भएको हुँदा कानूनको विवादमा परेको बालकबाट पीडितले रू.२५,०००।- (पच्चिस हजार) क्षतिपूर्तिसमेत भरिपाउने भनी उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाको फैसलाअनुसार कायम भएको लगत कट्टा गरी यस फैसलाअनुसार निज पीडितलाई पीडित राहत कोषबाट रू.५०,०००।- (पचास हजार रूपैयाँ) नियमानुसार क्षतिपूर्ति भराइदिनु भनी सुरू खोटाङ जिल्ला अदालतमा लेखी पठाइदिनु र सोको जानकारी पीडित आर कुमारी परिवर्तित नामलाई समेत दिनू ---१
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टी गरी प्रस्तुत फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार बुझाइदिनू--------------------------------------------२
उक्त रायमा सहमत छु ।
न्या. हरिप्रसाद फुयाल
इजलास अधिकृत:- डोलनाथ न्यौपाने / कालिबहादुर साम्यू लिम्बू
इति संवत् २०८० साल असार १७ गते रोज १ शुभम् ।