शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११२९१ - निर्णय दर्ता बदर

भाग: ६६ साल: २०८१ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कुमार रेग्मी

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल 

फैसला मिति : २०७९।८।२९

 

मुद्दा: निर्णय दर्ता बदर 

 

०७२-CI-११४३

पुनरावेदक / प्रतिवादी : काठमाडौ जि.का.म.न.पा.वडा नं. ६ बस्ने मनोहर महर्जनको श्रीमती वर्ष ५२ की ज्यानीमाया डंगोल

विरूद्ध

विपक्षी / वादी : ललितपुर जिल्ला ल.पु.उ.म.न.पा. वडा नं. ६ बस्ने भिमलालको छोरा अ.वर्ष ७३ को बाबुलाल श्रेष्ठसमेत

 

०७२-CI-१२१२

पुनरावेदक / वादी : ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. ६ सुनधारा चालाछे बस्ने बाबुलाल श्रेष्ठ

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. ६ सुनधारा ओकुबहाल ल.पु.जि. नख्खु कारागारमा कैद भुक्तान गरिरहेका बुद्धरत्न शाक्यसमेत 

 

रैकर जग्गा पूर्णतया व्यक्तिगत जग्गा भई यसको प्रयोजनको लागि निश्चित सर्तहरू तोकिएको हुँदैन भने निजी गुठी पारिवारिक वा सामूहिक रूपमा सञ्चालन गरिने भए पनि त्यस्को स्वामित्व र प्रयोजन रैकर जग्गा जस्तो नि:सर्त (unconditional) नभई सर्तबन्धनात्मक (conditional) रहने ।

(प्रकरण नं.४)

गुठियार सबैले सामूहिक रूपमा निर्णय गर्दासमेत गुठीको सम्पत्तिमा हानि नोक्सानी पुर्‍याउने गरी गुठीको उद्देश्यविपरीत हक हस्तान्तरण, बेचबिखन गर्न नपाउने र गुठी सञ्चालन गरी बाँकी रहेको शेष-कसर मात्र खान पाउने हुँदा केही गुठियार वा सम्पूर्ण गुठियारहरूले सहमति दिएको भए तापनि गुठीको जग्गा कसैको निजी रैकर जग्गामा परिणत हुन सक्ने गरी कानूनले मानेको नदेखिने ।

(प्रकरण नं.१०)

आफ्नो निजी वा आफूले भोग गर्न पाउने वा निर्णय खटन पटन गर्न सक्ने सम्पत्ति सामूहिक वा सार्वजनिक काममा लगाउन दान दिई सो कार्य चिरकाल पर्यन्त सोही कामका लागि कायम रहोस् भन्ने चाहनाका साथ गुठी स्थापना गर्ने कार्य नेपालको आफ्नो मौलिक पहिचानको उदाहरणीय पक्ष रहेको देखिने । यसले हाम्रा पूर्वजहरूमा परोपकारी कामबाट सामाजिक दायित्व निर्वाह गर्ने उत्कृष्ट मानवीय मूल्य विकसित भइसकेको दृष्टान्त पेस गर्ने । राज्यको मात्र मुख नहेरी तत्कालीन समाजको आवश्यकतानुसार धार्मिक तथा सांस्कृतिक रीति परम्पराको जगेर्नासँगै बाटा घाटा, पाटीपौवा, इनार, धारा, मठ मन्दिरको निर्माण तथा संरक्षण गरी आफ्नो र आफ्ना सन्ततिहरूको कृति राख्न गुठीमा आफ्नो अचल सम्पत्ति राखी त्यसको आयस्ताबाट ती कार्यहरू अघि बढिरहुन् भन्ने आफ्ना वा अरूका पुर्खाको सदिच्छालाई सम्मान गर्नुपर्नेमा पुर्खाको नासो मासेर आफ्ना व्यक्तिगत स्वार्थ र चाहना पूर्तिमा लाग्नु आफ्नै पूर्वजप्रतिको असम्मान मात्र नभई अवहेलनासमेत हुने ।

(प्रकरण नं.११)

परापूर्व कालदेखि सञ्चालन हुँदै आइरहेको गुठी प्रथा, धार्मिक, सांस्कृतिक परम्पराको साक्षी मात्र नभई ती सांस्कृतिक र परम्परालाई जीवन्त राख्ने उचित र अनुकूल अभ्यास पनि हुने । गुठी जग्गा यदि फिल्डबुकमा गरिएको केरमेट त्रुटि वा केही गुठियारहरू वा सम्पूर्ण गुठियारहरूले हकदाबी छोडिदिएको आधारमा मात्र रैकरमा परिणत गर्दै जाने हो भने गुठीको अस्तित्व मात्र नभई धार्मिक र सांस्कृतिक परम्पराको अस्तित्वसमेत समाप्त हुन सक्ने । निजी गुठीको सञ्चालन एवं भरणपोषणको दायित्व गुठियारहरूमा रहे पनि गुठी प्रथाको संरक्षण र संवर्द्धन गर्ने दायित्व अन्ततः नेपाल सरकार र यसअन्तर्गतका सरकारी निकायहरू मूलतः गुठी संस्थान र मालपोत कार्यालयमा रहेको देखिने । तसर्थः यदि कुनै जग्गालाई गुठी प्रयोजनको लागि छुट्याइएको छ भने उक्त जग्गा गुठीको नै रही गुठीको उद्देश्य परिपूर्तिका निम्ति नै प्रयोग गरिनुपर्ने ।

(प्रकरण नं.१४)

 

वादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री सुर्यलक्ष्मी महर्जन र श्री राजेन्द्र महर्जन

प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री ठाकुरप्रसाद न्यौपाने, श्री रामकुमार राई र विद्वान् अधिवक्ता श्री प्रकाशचन्द्र चापागाई

अवलम्बित नजिर :

ने.का.प.२०६४, अङ्क १०, नि.नं.७८८५

ने.का.प.२०७६, अङ्क ४, नि.नं.१०२३१

सम्बद्ध कानून :

गुठी संस्थान ऐन, २०३३

मालपोत ऐन, २०३४

 

सुरू तहमा फैसला गर्नेः 

मा.जिल्ला न्यायाधीश श्री खिलनाथ रेग्मी

ललितपुर जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः-

मा.न्या.श्री टेकराज नेपाल

मा.न्या.श्री नारायण प्रसाद श्रेष्ठ

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या.कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-

तथ्य खण्ड

नापी हुँदा कायम हुन आएको ललितपुर जिल्ला टिकाथली गा.वि.स. वडा न.१ ख को कि.नं. १२ को ६-४-०-० को जग्गाका साबिक पा.यनमुगल ६६/५६ नं. लगतका गुठियार हाम्रो बज्यै तथा जिजु बज्यै बेतिनानी श्रेष्ठ, त्रैलोकधर, काजीलाल श्रेष्ठसमेत ६(छ) जनाको गुठी जनिएको चतिपा भन्ने खेत रोपनी ३।। भएको जग्गा हो । उक्त जग्गाको मोही रत्नमान महर्जनले यो जग्गा ललितपुर जिल्ला इखालखु बस्ने सानु साहु, बुद्धरत्न र त्रैलोकधरसमेत ६ जनाको गुठीलाई ३ मुरी ९ पाथी कुत तिरी आएको कुरा फिल्डबुकको किसानको बेहोरामा उल्लेख भएको । साबिक मोही रत्नमान तथा निजको श्रीमती सानुचा महर्जनको मृत्यु भई उक्त जग्गा बाँझो भई २०३९ सालमा गुठियारहरूले मंगलदास महर्जनलाई कमाउन दिई सोही आयस्तबाट ब्राह्मण गुठियारहरू तथा भान्जा भान्जीहरूलाई भोज खुवाई सोह्रश्राद्ध गुठी हालसम्म सञ्चालन गरी रहेकोमा त्रैलोक्यधरसमेत ६ जनाको गुठी जग्गा हो भन्ने फिल्डबुकको किसानको बेहोराको केरमेट गरी जग्गाधनीको नाम, थर र वतन आफ्नो नामसँग जोडी मिलाई गरी गुठी भन्ने शब्द हटाई सच्चाएको फिल्डबुकको आधारमा साबिक दर्ता प्रमाण, तिरो तिरान, पोता रसिद खोज्दै नखोजी बेवास्ता गर्दै ल.पु.उ.म.न.पा. वडा नं. ६ को कार्यालय तथा टिकाथली गा.वि.स. को कार्यालयबाट विपक्षीहरूको नाउँमा दर्ता गरीदिनु भनी झुठ्ठा सिफारिस गराई पूर्णबहादुर शाक्य र लोकरत्न शाक्यले बुद्धरत्न शाक्यको नाउँमा हकदाबी छाडी, गोरखापत्रमा सूचनासमेत प्रकाशित नगरी, तत्कालीन मोही मंगलदास महर्जन र गुठियार गणेशधरसमेतलाई धाक धम्की तथा आर्थिक प्रलोभनमा पारी आफूहरूको कार्यलाई समर्थन गर्ने गरी मालपोत कार्यालयमा निवेदन पार्न लगाई, मालपोत नियमावली, २०३६ को दफा ४ (क) समेत तथा प्राकृतिक न्यायको सिद्धान्तविपरीत गैरकानूनी तरिकाले मालपोत कार्यालयले निर्णय गरेको र मालपोत कार्यालयमा नै हामीहरू तारेखमा बसी आइरहेकोमा विपक्षी बुद्धरत्न शाक्य नक्कली जग्गाधनी बनी किर्ते नामसारी दर्ता गरेकोले उक्त कित्ता रोक्का राखी विपक्षी बुद्धरत्नलाई सजाय गरिपाउँ भनी द.नं. २५६७ को मिति २०६६।०१।०४ विपक्षीमध्येका गुठियार सत्यमान श्रेष्ठले जिल्ला प्रशासन कार्यालय ललितपुरमा निवेदन दिएको र सोको आधारमा मालपोत कार्यलय, ललितपुरमा रोक्का गर्न लगाएकोबाट समेत उक्त जग्गा गुठी को हो भन्ने देखिन्छ । सोअघि नै उक्त जग्गा २०६५।१२।०५ मा बुद्धरत्न शाक्यले अन्यत्र बिक्री गरिसकेको र उक्त जग्गा विपक्ष बुद्धरत्न शाक्यकै हो भनी विपक्षीमध्येका सत्यमान, विष्णुधर, कुमुद, केशवधर श्रेष्ठसमेत चार जनाले मालपोत कार्यालय ललितपुरमा हकदाबी छोडेबापत रू.२१,००,०००।- बुझी लिएको मिति २०६६।०१।०९ को भरपाईसमेतको आधारमा उक्त जग्गा गुठीको हुँदा मालपोत कार्यालय ललितपुरबाट मिति २०६५।११।२३ मा विपक्ष बुद्धरत्न शाक्यको एकलौटी नाउँमा नामसारी दर्ता गरिदिने गरी भएको टिप्पणी आदेश र सोबमोजिम भएको निर्णय र सो निर्णयको आधारमा भएको दर्तासमेत बदर गरिपाउँ भन्नेसमेत बेहोराको बाबुलाल श्रेष्ठ र पुरूषोत्तम श्रेष्ठको मिति २०६६।०२।१२ को फिराद पत्र ।

नामसारी दर्ताको सम्बन्धमा मालपोत कार्यालय ललितपुरले मालपोत ऐन, २०३४ को परिच्छेद ३ को दफा ६ र ८ बमोजिम स्थानीय निकायको किटानी सिफारिस, स्थलगत सर्जमिन, मोही तथा अन्य हकदारको मन्जुरीले उल्लिखित ललितपुर जिल्ला टिकाथली गा.वि.स. वडा नं. १ख को कि.नं. १२ को क्षेत्रफल ६-४-०-० जग्गा बुद्धरत्न शाक्यको नाममा नामसारी दर्ता गर्ने गरी भएको निर्णय भई पछि बुद्धरत्न शाक्यबाट ज्यानीमाया डंगोलले खरिद गरी लिएको उक्त कार्यहरू कानूनसम्मत नै छ भन्ने बेहोराको प्रतिवादी मालपोत कार्यालय ललितपुरको प्रतिउत्तरपत्र ।

उक्त जग्गाको फिल्डबुकमा उक्त विवादित कि.नं. १२ को जग्गा गुठीको हो भनी जनिएको 

छैन । फिल्डबुकमा लेखिए जस्तो शाक्य, वाडा र श्रेष्ठ थरको एउटै गुठी हुन सक्दैन । विपक्षी वादीको जग्गा गुठीको हो भने तापनि आफूहरू गुठियारहरूको सन्तान हौं भनी प्रमाण पेस गर्न सकेका छैनन् । हकदैया नभएको व्यक्तिहरूले प्रस्तुत मुद्दा दायर गर्न मिल्ने नै होइन । हामीहरूले विपक्षीहरूलाई चिन्दा पनि चिन्दैनौं । फिल्डबुक, सर्जमिन, मोठ, स्रेस्ता, लगत, अन्य हकवालाहरूको कागज, हकदाबी छोडपत्र आदि मालपोत कार्यालयमा रेकर्ड प्रमाणलगायतका सम्पूर्ण कागजातहरूले उक्त जग्गा बुद्धरत्न शाक्यको नाममा दर्ता हुनुपर्नेमा कुनै विवाद नै छैन भन्नेसमेत बेहोराको प्रतिवादीहरू नक्कली महर्जन, गोविन्द महर्जन र रेश्मा महर्जनको संयुक्त प्रतिउत्तर पत्र । 

उक्त विवादित जग्गा गुठी जग्गा नभई रैकर जग्गा हो । उक्त जग्गाको फिल्डबुक बेहोरामा सानु साहु, त्रिलोकधर र बुद्धरत्न वाडा भन्नेसमेत ६ जनालाई तिरो तिरी खाई आएको जग्गा हो । साहु मलाई थाहा छैन भनी लेखिएको छ । गुठी सञ्चालन गर्न यसरी अलग अलग जाति र थरका तथा धर्म संस्कृति भएका व्यक्तिहरूलाई राखिँदैन । उक्त जग्गा हाम्रा बाजे बजै र बुबाको नाममा रहेको जग्गा हो । उक्त जग्गा मोही रत्नमान महर्जनको मृत्यु भएपश्चात् हामी निजका हकवाला नक्कली महर्जन तथा अन्य रोहबरमा बस्ने मानिसहरूले उक्त जग्गा जग्गाधनी सानु साहु, त्रिलोधर र बुद्धरत्न वाडासमेतको हो भनी लेखाइदिएका 

हुन् । उक्त जग्गा जोत कमोद गर्ने हकवालाहरूले समेत हाम्रो नाममा मन्जुरी दिइसकेका छन् । यसरी कानूनी प्रक्रियाबाट बुद्धरत्न शाक्यको नाउँमा दर्ता हुने भएर मात्र निजका नाउँमा जग्गा दर्ता भएको हो निज बुद्धरत्न शाक्यको नाउँमा दर्ता भएपश्चात् निजको एकलौटी हक भोगको उक्त जग्गा ज्यानीमाया डंगोलले खरिद गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादीहरू बुद्धरत्न शाक्य, लोकरत्न शाक्य, पूर्णबहादुर शाक्य, ज्यानीमाया डंगोलसमेतको संयुक्त प्रतिउत्तर पत्र । 

विभिन्न मोठ स्रेस्ता, फिल्डबुक, गा.वि.स.को सिफारिस, ल.पु.उ.म.न.पा. वडा नं. ६ को सिफारिस तथा मुचुल्का, मालपोत कार्यालयबाट भएको सर्जमिन मुचुल्का अन्य हकवालाहरूले जग्गाधनीमा किटानीसाथ गरेको कागज, हकदाबी छोडपत्र आदि मालपोत कार्यालयका रेकर्ड प्रमाणलगायत कागजातबाट हामी प्रतिवादीहरूको हक स्थापित हुन नसक्ने भएपश्चात् हामीहरूले आफ्नो हक दाबी छाडेका हौं । मोही नक्कली महर्जनले जग्गाधनीलाई बुझाउनुपर्ने कुतसमेत निज जग्गाधनीहरूलाई नै बुझाउँदै आएकोले निज पूर्णबहादुर, लोकरत्न र बुद्धरत्न शाक्यको नाउँमा दर्ता हुनुपर्ने उक्त जग्गाको विषयमा विपक्षीहरूले झुठ्ठा र मनगढन्ते फिराद दायर गरेकोले खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरू विष्णुधर श्रेष्ठ, सत्यमान श्रेष्ठ र कुमुद श्रेष्ठको प्रतिउत्तर पत्र । 

गुठियारमध्येको सत्यमान श्रेष्ठ र विष्णुधर श्रेष्ठसमेतले उक्त गुठी जग्गासम्बन्धी केही जानकारी नदिई विपक्षी बुद्धरत्न शाक्यसमेतसँग अन्तरिक गोप्य सम्झौता गरी रकम लिई मिति २०६६।०१।०६ मा हकदाबी छोडाई मिलाई झुक्यानमा पारी निवेदन हाल्न लगाएको हो । मैले कुनै किसिमको रकम लिएको छैन । गुठियार जग्गाधनी सत्यमान श्रेष्ठ उक्त गुठी जग्गा दर्ताको लागि तारेखमा बसी आइरहेको अवस्थामा बुद्धरत्न शाक्य नक्कली जग्गाधनी बनी किर्ते गरी नामसारी गरी जग्गा बिक्री गरेको हो । उक्त कुरा गुठियारका सत्यमान श्रेष्ठ र विष्णुधर श्रेष्ठसमेतलाई थाहा हुँदाहुँदै विपक्ष बुद्धरत्नसँग मिली गुठीलाई हानि नोक्सानी पारेको तथा प्रतिवादी लोकरत्न शाक्यले मेरो बाजे त्रैलोक्यधरको नामसँग जोडी त्रैलोक्यधर भन्ने लोकरत्न शाक्य भनी झुठ्ठा सिफारिस पारी झुक्याई मलाई हकदाबी छोडाएको निवेदन पारी गराएको उक्त जग्गा नामसारी दर्ता गरी उक्त लिखतको आधारमा तयार भएको ज्यानीमायाको नाउँमा हस्तान्तरण हुने गरी भएको स्रेस्तासमेत बदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी केशवधर श्रेष्ठको प्रतिउत्तर पत्र ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट गरेको निर्णयउपर विपक्षी ज्यानीमाया डंगोलको सर्वोच्च अदालतमा रिट निवेदन परी कारबाही भइरहेकोले विपक्षीको द.नं.४३०१ को निवेदनबमोजिम मिति २०६७।११।१० मा मुल्तबी रहेकोमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णय सदर हुने गरी विपक्षीले दायर गरेको रिट निवेदन खारेज हुने गरी श्री सम्मानित सर्वोच्च अदालतबाट फैसला भएपश्चात् वादी वा.स. का पुरूषोत्तम श्रेष्ठको निवेदन परी मिति २०६९।०५।०१ मा मुल्तबी जागी कारबाही चलेको प्रस्तुत मुद्दा फेरि मिति २०६९।०३।२६ को अदालतका आदेशानुसार पुनः मुल्तबीमा रही मिति २०६९।०५।०१ मा पुनः जगाई कारबाही सुचारू गरिएको । 

विवादित टिकाथली गा.वि.स. वडा नं. १ख कि.नं. १२ को ६-४-०-० जग्गा साबिक पा.यनमुगल ६६/५६ नं. लगतका गुठियार वादीका बज्यै जिजु बज्यै वेतिनानी श्रेष्ठ, त्रैलोक्यधर, काजीलाल श्रेष्ठसमेत ६ जनाको गुठी जनिएको चातपा भन्ने खेत रोपनी ३। । भएको जग्गा भन्ने देखिन्छ । मोही रत्नमान महर्जनले यो जग्गा ललितपुर इखालखु बस्ने सानु साहु, बुद्धरत्न, त्रैलोक्धरसमेत ६ जनाको गुठीलाई ३ मुरी ९ पाथी कुत तिरी आएको कुरा फिल्डबुकको किसानको बेहोबाट देखिन्छ । तर उक्त बेहोरालाई अन्यथा अर्थ लाग्ने गरी केरमेट सच्याएकोमा अविश्वास गर्ने ठाउँ छैन । जग्गा गुठीको भन्ने कुरा साबिक मोही रत्नमान महर्जनको कथन थियो भन्ने बेहोरासमेतले स्पष्ट 

पार्दछ । जग्गा कसैले दाबी छाडी अरू कसैले नाममा दर्ता गरिदिए हुने भनी गरिदिएको निवेदनबाट समेत पैतृक निजी गुठी जग्गालाई बलजफती रैकरमा परिणत गरी प्रतिवादीहरूले मिलुवालगतले एकलौटी दर्ता गर्न खोजेको प्रस्ट देखिन्छ । २०३९ साल अर्थात् ३० वर्ष अगाडि नै फागुनमा नन्दधर श्रेष्ठसमेतले मालपोत कार्यालय ललितपुरमा दिएको निवेदनमा साबिक दर्तावाला त्रैलोक्धर, काजीलाल, नन्दधर, गंगाधर, आशामान र वेतीनानीसमेत ६ जनाका नाउँ दर्ता भएको सो जग्गाको आयस्ताबाट आजसम्म गुठी चली आएको जग्गा हो । सो जग्गा हाल नापीमा टिकाथली गा.वि.स. वडा नं. १ख कि.नं. १२ को ६-४-०-० कायम भएको भन्ने मोहीबाट बुझिएको भन्ने देखिने प्रमाण मिसिलबाट रहे भएकोसमेतका आधारमा उक्त दाबीको जग्गा गुठी नै भन्ने देखिन्छ । यसरी गुठी जग्गालाई तोडमोड, गोल मोटल गरी आफ्नो निजी रैकर जग्गा भनी प्रतिवादीहरूले दाबी गरेअनुरूप मालपोत कार्यालयबाट भएको निर्णयलाई कानूनसम्मत मान्न मिलेन । तसर्थ धार्मिक परोपकारी कार्यका लागि राखिएको वादीहरूको साझा रूपको गुठी जग्गा प्रतिवादीका नाममा एकलौटी दर्तासमेत गर्ने गरी मालपोत कार्यालय लालितपुरबाट मिति २०६५।११।२३ मा भएको निर्णय कानून प्रतिकूल भएकाले वादी दाबीबमोजिम उक्त निर्णय बदर गरिदिएको छ । उक्त जग्गा गुठियारका नाममा फिराद दाबीअनुसार हुने ठहर्छ भन्ने सुरू ललितपुर जिल्ला अदालतको मिति २०६९।१०।२१ को फैसला । 

म लेखपढ गर्न नजान्ने, आँखा कमजोरी र कानूनको ज्ञान नभएको दैनिक ज्याला गरी जीविका निर्वाह गरी आएको व्यक्तिलाई आर्थिक प्रलोभनमा पारी आफ्नो मतलब स्वार्थ पूरा गर्न मलाई जघन्य अपराध कार्यमा फसाई गैरकानूनीसँग जग्गा दर्ता गरी मनोहर महर्जनले आफ्नो एकाघरको श्रीमती प्रतिवादी ज्यानीमाया डंगोलको नाउँमा पास गरेको हुँदा उक्त गैरकानूनी निर्णय बदर गरी ललितपुर जिल्ला अदालतबाट भएको फैसला यथावत् कायम राखिपाउँ भन्ने प्रतिवादी पूर्णबहादुर शाक्यको पुनरावेदन पत्र ।

टिकाथली गा.वि.स. वडा नं. ६ को कि.नं. १२ को ६-४-०-० जग्गा सुरू बुद्धरत्नका नाममा दर्ता भएको दर्ता लिखत बदर गर्ने सुरू फैसला भएकोमा म एउटा गा.वि.स. का कर्मचारीका हैसियतमा रहेको व्यक्तिको स्थानीय स्तरबाट काम कारबाही गर्दा तथा सम्बन्धित कानूनको दायरामा रही ऐनको व्यवस्थाअनुरूप जन्म दर्ता, विवाह दर्ता सिफारिस, सर्जमिन मुचुल्का तथा एउटा पञ्जिकाधिकारीले गर्ने काम र अधिकारलाई मध्यनजर गरी जन्म दर्ता सिफारिस, सर्जमिन तथा अन्य मुचुल्का कानूनबमोजिम नै दिएकोले सो सिफारिस कानूनतः तथा प्रमाणका आधारमा सद्दे भएको हुँदा सम्मानित ललितपुर जिल्ला अदालतबाट भएको फैसला बदर गरी उल्टी गरिपाउँ भन्ने प्रतिवादी विष्णु भक्त श्रेष्ठको पुनरावेदन पत्र । 

हकदैयाविहीन व्यक्तिले दिएको निवेदनको आधारमा गुठीको जग्गा भनिएको तर गुठी भनिएको अस्तित्व र उद्देश्य खुल्दैन । जग्गाको बारेमा दर्ता स्रेस्ता तथा मिसिलमा भएको वस्तुनिष्ठ सबुद प्रमाणको मूल्याङ्कन नै गरिएको छैन । मालपोत कार्यालयबाट कानूनबमोजिमको सम्पूर्ण प्रक्रिया बुझी हेरी प्राप्त भएको रेकर्ड र हकवालाको मागदाबीअनुसार भएको निर्णयलाई सदर गर्नुपर्नेमा सुरू जिल्ला अदालतबाट गलत कुरालाई आधार बनाई बदर गरिएको हुँदा उक्त त्रुटिपूर्ण फैसला बदर गरी विपक्षीहरूको फिराददाबीसमेत खारेज गरी मालपोत कार्यालयको निर्णय सदर गरी हाम्रो प्रतिउत्तर र पुनरावेदन जिकिरअनुसार गरिपाउँ भन्ने प्रतिवादीहरू बुद्धरत्न शाक्य, लोकरत्न शाक्यसमेतको संयुक्त पुनरावेदन पत्र ।

विवादित कित्ता जग्गाको फिल्डबुक, २ नं. अनुसूची साबिक दर्ता प्रमाण तथा भू-सूचना तथा अभिलेख विभागको पत्रसमेतको आधारमा वादी तथा प्रतिवादी केशवधर श्रेष्ठसमेतको हक लाग्ने निजी गुठीको जग्गा हो । उक्त कित्ता जग्गाको फिल्डबुकको किसानको बेहोरामा १ मुरी ३ पाथी कुत बुद्धरत्न बाडालाई बुझाइरहेको उल्लेख भइरहेको र मिसिलसाथ संलग्न भरपाई कबुलियतका आधारमा उक्त कित्तामध्ये दक्षिण पश्चिमतर्फ १-०-०-० जग्गा रैकर जग्गा छुट्याई बाँकी गुठी जग्गा कायम गरी ललितपुर जिल्ला अदालतबाट भएको फैसला यथावत् कायम गरी न्याय पाउँ भन्ने प्रतिवादी केशवधर श्रेष्ठको पुनरावेदन पत्र । 

मालपोत कार्यालयको मिति २०६५।११।२३ को निर्णयमा र निर्णय गराउने कार्यमा समेत हामीहरूको कुनै पनि प्रकारको संलग्नता नभएको वादीहरूले समेत हामीहरूको संलग्नता पुष्टि गर्न नसकेको अवस्थामा केवल प्रतिवादी मात्र बनाएको कारणबाट हामीहरू विरूद्ध दर्ता नै हुनु नपर्ने फिराद दर्ता गरी भएको त्रुटिलाई समेत संलग्न गरी गराई सम्मानित अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा हामीहरूको हकसम्म उक्त फैसला बदर गरी न्याय इन्साफ गरिपाउँ भन्ने प्रतिवादीहरू कुमुद श्रेष्ठसमेतको संयुक्त पुनरावेदन । 

यसमा प्रत्यर्थी मालपोत / नापी कार्यालयका तर्फबाट प्रतिरक्षा / बहस पैरवी गर्नका लागि पुनरावेदन सरकारी वकिल कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०७२।०२।१७ को आदेश ।

सामान्यता गुठीको जग्गा सम्बन्धित गुठीको नाममा रही गुठियारहरू प्रमाणअनुसार निर्धारित हुने स्थिति रहने हुन्छ । यसरी दाबीको जग्गा गुठीको भएको र गुठियारहरू प्रमाणअनुसार कायम हुने भएको अवस्था विद्यमान रहेको देखिएको हुँदा दाबीको जग्गा गुठियारहरूले गुठियार कायम हुनको लागि प्रमाण प्रस्तुत गरेमा गुठियार जनिने अवस्था भएकोले मिति २०६९।१०।२१ मा ललितपुर जिल्ला अदालतबाट दाबीको जग्गा फिराद दाबीअनुसार वादी गुठियारहरूको नाममा दर्ता हुने गरी भएको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई दाबीको गुठीको जग्गामा गुठियार भएको प्रमाणअनुसार गुठियार जनिने र अरूमा सुरू अदालतको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । सुरू अदालतको फैसला पूरै उल्टी गरिपाउँ भन्ने पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनबाट मिति २०७२।०४।२४ गते भएको फैसला ।

मालपोत कार्यालयको दर्ता स्रेस्ता लगतबाट उक्त जग्गा गुठीको नभई व्यक्ति विशेषको रैकर रहेको भनी प्रमाणित भई उक्त जग्गाको मोही रत्नमान महर्जनको मृत्यु भएपश्चात् निजका हकवालाहरूसमेतले उक्त जग्गाको जग्गाधनी सानु साहु, त्रिलोधर र बुद्धरत्न वाडा हो भनी लेखाई स्थानीय व्यक्तिहरूले सरजमिन मुचुल्का र स्थानीय निकायको सिफारिसमा सोही कुरा लेखिएकोमा सोविपरीत गुठीको जग्गा कायम गरेको फैसला बदरयोग्य छ । वादीहरूले दाबीमा देखाएको जग्गाको लगत पा.यनमुगल अर्थात् सुन्धाराको हो र चतिपात र पतिप अर्थात् वागडोलतर्फको एरिया 

हो । यसरी जग्गाको लगत अलग अलग हुँदाहुँदै सोतर्फ प्रमाण नै नबुझी उक्त जग्गा गुठीको कायम गरी भएको जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालतबाट भएको फैसला बदर गरिपाउँ भन्नेसमेत बेहोरा ज्यानीमाया डंगोलको मिति २०७२।१०।१३ मा यस अदालतमा परेको पुनरावेदन ।

विवादित उक्त कित्ता वादी दाबीबमोजिम प्रमाणहरूको आधारमा गुठी जग्गा ठहर्‍याइने निर्णयमा विवाद छैन । प्रस्तुत मुद्दामा संलग्न भएको प्रत्यर्थी वादी बुद्धरत्न शाक्यलाई सरकारी कागज किर्ते मुद्दामा किर्ते गरेको ठहराई ललितपुर जिल्ला अदालतबाट मिति ०६९।१२।०६ मा फैसला भई नख्खु कारागारमा कैद भुक्तानी गरिरहेको अवस्थामा नैतिक पतन देखिने सरकारी किर्ते जस्तो फौजदारी अपराध रहेको विपक्षी बुद्धरत्नको वारेस भई प्रतिवादी ज्यानीमाया डंगोलको एकाघरको पति मनोहर महर्जनले विपक्षी बुद्धरत्न शाक्य, लोकरत्न शाक्य, नक्कली महर्जन तथा ज्यानीमाया डंगोलसमेत ४ जनाको मिति २०७०।०७।२५ मा संयुक्त वारेसनामा लिई निर्णय दर्ता बदर र लिखत दर्ता बदर मुद्दाहरूमा पुनरावेदन अदालत, पाटनमा पुनरावेदन दर्ता गरेको र उक्त अदालतबाट ललितपुर जिल्ला अदालतको फैसलामा केही उल्टी गरी गरेको फैसलाउपर यस अदालतमा पुनरावेदन दर्ता गरेको कार्य मुलुकी ऐन, अ.बं. को ६८(२) नं. ले प्रतिबन्ध लगाएको हुँदा विपक्षी बुद्धरत्न शाक्यबाट मिति २०७०।०७।२५ मा मनोहर महर्जनले संयुक्त वारेसनामा लिई पुनरावेदन अदालत, पाटनमा पुनरावेदन दिएको वारेसनामा दूषित कारबाही भई यस अदालतमा पुनरावेदन दर्ता गरी तारेखमा छन् । तसर्थ दूषित वारेसनामाको आधारमा पुनरावेदन अदालतमा दर्ता गरेको पुनरावेदन तथा निर्णयसमेतको आधारमा यस अदालतमा विपक्षीले पुनरावेदन दिएको समेत दूषित ठहर्‍याई बदर गरी ललितपुर जिल्ला अदालतको मिति २०६९।१०।२१ को फैसला कायम गरी न्याय पाउँ भन्ने बाबुलाल श्रेष्ठको मिति २०७२।१०।२८ मा यस अदालतमा दर्ता गरेको पुनरावेदन ।

प्रस्तुत मुद्दामा साबिक पुनरावेदन अदालत पाटनको मिति २०७२।०४।२४ गतेको फैसलाउपर यी पुनरावेदक तथा विपक्षीहरूको परस्पर दोहोरो पुनरावेदन परेको देखिएकोले मुलुकी ऐन, अ.बं. २०२ नं. तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २१३ को उपदफा (३) को प्रयोजनार्थ उपस्थित पक्षहरूलाई एकअर्काको पुनरावेदनपत्र परस्पर सुनाई उक्त पुनरावेदन अदालत पाटनको मिति २०७२।०४।२४ गतेको फैसलाबमोजिमका अनुपस्थित पक्षहरूलाई म्याद दिई झिकाई नियमानुसार पेस गर्नु भन्ने  मिति २०७६।०३।२३ को यस अदालको आदेश ।

विवादित उक्त कित्ता मसमेतको हकभोग भएको रैकर जग्गा नभई निजी गुठीको जग्गा 

हो । प्रतिवादी ज्यानीमाया डंगोलको पति मनोहर महर्जनले मलाई आर्थिक प्रलोभनमा पारी उक्त कित्ता गैरकानूनीसँग विपक्ष बुद्धरत्न शाक्यको नाउँमा दर्ता गरी बुद्धरत्न शाक्यबाट बिना रकम ज्यानीमाया डंगोलको नाउँमा राजीनामा गरिदिएको हो । निज मनोहर महर्जनले मेरो वारिसनामा लिई कुन बेहोराबाट प्रतिउत्तर दिएको हो, मलाई थाहा भएन । पुनरावेदन म्याद आएपछि मात्र थाहा भयो । उक्त कित्तामध्ये क्षेत्रफल १-०-०-० जग्गा ललितपुर जिल्ला नकबहिल बस्ने निलरत्न शाक्यको हक लाग्ने रैकर जग्गा हो । नापी हुँदा उक्त कित्तामा गाभी नापी भएको हो । उक्त कित्ता दर्ताको लागि निवेदन दिई कारबाही हुँदा गुठीको हक तथा रैकर जग्गा छुट्याई कित्ताकाटसमेत गरी दर्ता गरिपाउँ भनी गुठियारहरूले मालपोत कार्यालय, ललितपुरमा दिएको निवेदन मालपोत कार्यालय, ललितपुरको मिसिलमा संलग्न भइरहेको छ । निर्णय दर्ता बदर मुद्दामा प्रतिवादी गुठियार केशवधरले पुनरावेदन अदालत पाटनमा पुनरावेदन दिएको छ । उक्त कित्ता प्रतिवादी बुद्धरत्न शाक्यको हकभोग भएको रैकर जग्गा होइन वादीसमेतको हक लाग्ने निजीगुठी जग्गा हो भनी स्वीकारी पुनरावेदन दिने पूर्णबहादुर शाक्य र केशवधर श्रेष्ठसमेत २ जनालाई सफाइ दिई किर्तेको ३ नं.बमोजिम अभियुक्त बुद्धरत्न शाक्य तथा ज्यानीमाया डंगोललाई फाइदा पुर्‍याई प्रमाण पुर्‍याउन उक्त कित्ता गुठीको होइन भनी झुठ्ठा बेहोराको प्रतिउत्तर तथा पुनरावेदन दिई जालसाजी कार्य गर्न मतियार भई सहयोग गर्ने विपक्षीहरूलाई किर्तेको १ नं. को परिभाषाबमोजिम बात लाग्ने कानूनी व्यवस्था हुँदा किर्तेको १० नं.बमोजिम सजायसमेत गरी उक्त कित्ता म वादीसमेतको हकलाग्ने निजी गुठी कायम गरी वादी दाबीबमोजिम न्याय पाऊँ । यो लिखित बहस नोट सम्पूर्ण लगाउ मुद्दामा प्रमाणसमेत लगाइपाउँ भन्नेसमेत बेहोराको गणेशधर श्रेष्ठद्वारा मिति २०७५।११।२६ गते यस अदालतमा पेस भएको बहसनोट बेहोरा ।

यसमा आफ्नो पनि सरोकार रहेकोले सुनुवाइमा सरिक हुन पाउँ भनी मिति २०७७।०८।२४ गते निवेदक इन्द्र बदन श्रेष्ठ तथा सूर्यधर श्रेष्ठले दिएको ०७७-FN-०२१४ को निवेदन पेसीमा चढेको नदेखिँदा उक्त निवेदनसमेत पेसीमा चढाई लगाउका मुद्दाहरूसमेत साथै राखी नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको मिति २०७९।०३।२९ गते यस अदालतबाट भएको आदेश । 

यसमा पुनरावेदकहरू र प्रत्यर्थीहरू दुवैको तर्फबाट मिति २०७९।०८।२३ गतेसम्म बहस नोटको साथ प्रमाण कागजातहरूसमेत पेस गर्नू । साथै मिति २०७९।०८।२९ मा निर्णय सुनुवाइको लागि पेस राखी नियमानुसार गर्नु भन्नेसमेत बेहोराको मिति २०७९।०७।२३ गते यस अदालतबाट भएको आदेश ।

यस अदालतको आदेशबमोजिम पुनरावेदन / प्रतिवादी तथा विपक्षी वादीका तर्फबाट मुकरर हुनुभएका विद्वान् कानून व्यवसायीहरू तथा सरोकारवालाले पेस गर्नुभएको बहसनोटको सारंश निम्नबमोजिमको रहेको छ ।

क. विवादित जग्गाको फिल्डबुक बेहोरामा सानु साहु, त्रिलोधर र बुद्धरत्न बाडासमेत ३ जवानलाई तिरो तिरी खाई आएको जग्गा हो भनी लेखिएको 

छ । मालपोत कार्यालयको दर्ता स्रेस्ता लगतमा उक्त जग्गा गुठीको नभई व्यक्ति विशेषको रहेको दर्ता स्रेस्ता लगतबाट प्रमाणित भएकोमा उक्त जग्गा गुठीको नभई रैकर जग्गा भएको पुष्टि हुन्छ । उक्त जग्गाको मोही रत्नमान महर्जनको मृत्युपश्चात् निजका हकवालाहरूले समेत उक्त जग्गाको जग्गाधनी सानु साहु, त्रिलोधर र बुद्धरत्न बाडासमेतको हो भनी लेखाइदिएका छन् भने स्थानीयहरूले समेत सोही बेहोराको सर्जमिन गरेको र स्थानीय निकायले सिफारिससमेत गरेको छ । विपक्षी वादीले पेस गरेको बिर्ता पोता नं. ४८६ को चतपा ३॥ खला लगतवाला कैलाश श्रेष्ठको नामको देखिन्छ भने २०११ सालको लगत नं. ६६/५६ लगत मिति २०४९।०७।०४ को टिप्पणी निर्णयले यसमा शिरपाना नभएकोलाई २००० सालको लगतबमोजिम गरी बेहोरा तथा नाम थप भनिएको भनी उल्लेख भएबाट त्यस्तो विवादित अस्पष्ट लगतको आधारमा विवादको जग्गा विपक्षी वादीको निजी गुठीको जग्गा हुन सक्दैन । उक्त लगतको आधारमा अन्य जग्गाहरूसमेत भिडी दर्ता भइसकेको उक्त लगत बेहोराबाट देखिन्छ । अर्कोतर्फ गुठियार सत्यमान श्रेष्ठ, विष्णुधर श्रेष्ठ, कुमुद श्रेष्ठ र केशवधर श्रेष्ठसमेत जना ४ ले विवादको जग्गाको प्रतिवादी ज्यानीमायाको दाता बुद्धरत्न शाक्यको हक लाग्ने जग्गा हो, गुठीको जग्गा होइन भनी मालपोत कार्यालय, ललितपुरको निर्णयबमोजिम रैकर गरी दर्ता भएकोमा मन्जुर छ, कुनै किसिमको हकदाबी गर्ने छैन भनी मालपोत कार्यालयमा निवेदन दिई सनाखतसमेत गरी हकदाबी छोडेको अवस्थामा विवादित जग्गा विपक्षी वादीले पेस गरेको उक्त लगतभित्रको जग्गा नभएको स्वतः पुष्टि हुन्छ । अतः उल्लिखित आधारमा विवादको कि.नं. १२ को क्षेत्रफल ६-४-०-० जग्गा निजी गुठीको जग्गा नभई प्रतिवादी पुनरावेदन ज्यानीमायाको दाता बुद्धरत्न शाक्यले पेस गरेको लगतभित्रको रैकर जग्गा भएकोले ललितपुर जिल्ला अदालत र श्री पुनरावेदन अदालतको फैसला बदर उल्टी गरी मालपोत कार्यालय, ललितपुरको मिति २०६५।११।२३ को निर्णय सदर कायम गरी पाउन अदालतसमक्ष सादर निवेदन गर्दछौं भन्नेसमेत बेहोराको पुनरावेदक / प्रतिवादी ज्यानीमाया डंगोलको तर्फबाट निजका कानून व्यवसायीहरू विद्वान् वरिष्ठ अधिवक्ता श्री राम कुमार राई र विद्वान् अधिवक्ता श्री प्रकाशचन्द्र चापागाईको मिति २०७९।८।२१ मा यस अदालतमा पेस भएको बहस नोट ।

ख. उक्त कि.नं. १२ को जग्गा तत्कालीन जोताहा ल.पु. सानगाउँ थसी टोल, बस्ने रत्नमान महर्जनले लगतवाला त्रिलोकधरसमेत जना-६ को गुठी जनाई नापजाँच गराई फिल्डबुकमा नै गुठी जनिइरहेको छ । मोही रत्नमान परलोक भई निजका हकदार नभएकोले ल.पु. सानागाउँ गा.पं. वडा नं. १ बस्ने मंगलदासलाई जोतकमोद गर्न दिई निजबाट बाली बुझी आएकोमा नापीमा कि.नं. १२ कायम सो जग्गा उक्त पा.यन.मुगल ६६/५६ नं. साबिक लगत भिडाई दर्ता गरी जग्गाधनी प्रमाण पुर्जाको लागि संयुक्त रूपमा द.नं. ८७७१ को मिति २०३९।१२।२२ को निवेदन गरी सोमा निरन्तर तारेखमा रही आएको उक्त जग्गा फिरादीको पूर्वजले राखेको गुठीको हो भन्ने प्रस्ट छ । लगतवाला त्रिलोकधरसमेत जना-६ वादीको पूर्वज 

हुन् । उक्त नाताभित्रको मूल पुरूष कैलाशधर कैली श्रेष्ठको तेस्रो पुस्तामा ४ हाँगा भई उक्त ४ हाँगामध्येको पहिलो चक्रधरको हाँगाको त्रिलोकधर-१, दोस्रो गोपीधरको हाँगाको काजीलाल-१, तेस्रो नारायणधरको हाँगाको गंगाधर र नन्दधर, चौथो गिरीधरको हाँगाको बेटीनानी र आशाकाजीको नाउँमा पा.यम मुगहल ६६/५६ को लगत २०११ सालमा कायम भएको हो । सो जना-६ मध्येको बेटीनानी-१ चौथो गिरीधर हाँगाको भिमधरको श्रीमती भई निज भिमधर र बेटीनानीको एक मात्र छोरा भिमलाल, भिमलालको २ भाइ छोरामा जेठा भवानीलाल-१ र कान्छा बाबुलाल-१ भई भवानीलाल र सूर्यदेवीको एक मात्र छोरा पुरूषोत्तम-१ हुँदा लगतवालामध्येका बेटीनानी फिरादीको जिजुबजै हुनुहुन्थ्यो भन्ने प्रस्ट भइरहेको छ । प्रतिवादी कायममध्येका विष्णुधर, कुमुदधर, केशवधर-त्रिलोकधर हाँगाका हुन् भने गणेशधर काजीलाल हाँगाका हुन् । उक्त लगतको २०३६।०६।१२ मा मालपोत कार्यालयबाट नक्कल लिँदा त्रिलोकधर, काजीलालसमेत जना ६ जनिएकोमा पछि सो लगतको शिर बेहोरा नभएको भन्ने थाहा भई लगतवालामध्येका त्रिलोकधरतर्फको विष्णुधरले लगतको शिर बेहोरा कायम गरी पाउन दिएको निवेदनमा कारबाही हुँदा कार्यालयबाट लिएको रीतपूर्वकको नक्कल, जुन पुनरावेदन अदालतमा पेस भएको देखिएको छ, सोको शिर बेहोरामा त्रिलोकधरसमेत जना-६ उल्लेख भइरहेको र मौ.पा.यन मुगल २००० सालको मोठ ल.नं. ७१/६६ मा त्रिलोकधरसमेत जना-६ को नाउँ कायम देखिएको आधारमा २०११ सालको लगतको शिर बेहोरा कायम जनाउने मा.पो. का बाट २०४९।०७।०४ मा निर्णय भई हालसम्म उक्त ६६/५६ नं. को लगत कायम छ । मिति २०६५।११।२३ मा दूषित तवरले बुद्धरत्नको एकलौटी दर्ता गराई ज्यानीमायालाई बिक्री गरेपछि पनि आफ्नो दूषित काम कारबाहीमा हाल जग्गा जोतभोग गरी आउने मंगलदासको समर्थन रहेको प्रमाण जुटाउन निज मंगलदासलाई मिति २०६५।१२।२७ मा र प्रतिवादी सत्यमानसमेतलाई २०६६।०१।०६ मा जग्गा दर्ता गरी लिने प्रतिवादी बुद्धरत्न नै जग्गाधनी हो भन्ने निवेदन मन्जुरी मा.पो.का मा गर्न लगाएबाट उक्त जग्गाको ज.ध. विपक्षीहरू होइनन् भन्न पुष्टि भइरहेको छ । दूषित दर्ता तथा राजीनामा विरूद्ध गुठियार हकदार सत्यमानसमेतले जि.प्र.का. मा मिति २०६६।०१।०४ मा निवेदन गरेकोमा, २ दिनपछि उनले उनाउ व्यक्तिको जग्गा हो भनी निजहरूले आफ्नो निवेदन प्रतिकूलको निवेदन मिति २०६६।०१।०६ मा गरेपछि वादीसमेतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरेको उजुरीका आधारमा फिल्डबुकको बेहोरा भू-सूचना तथा अभिलेख विभागको माइक्रोफिल्ममा आयोगले हेर्दा गुठी शब्द रहेको, केरमेट भएको नपाइएको अवस्था रही, बुद्धरत्नले गराइलिएको दर्ता कानूनसम्मत नभएकोले पूर्ववत् निजी गुठीमै कायम गरी मिति २०६५।११।२३ को दर्ता निष्क्रिय गर्न मा.पो.का. लाई लेखी पठाउने, अभिलेखमा लापरबाही गर्नेलाई विभागीय कारबाही गर्न र नापीको रेकर्ड सच्याइएको विषयमा अनुसन्धान गर्न लेखी पठाउने गरी मिति २०६६।०५।१५ मा भएको निर्णयले समेत गुठी शब्द केरमेट गरी हटाई फिल्डबुकको नक्कल उतारी विपक्षीले दूषित दर्ता गरेको प्रस्ट छ । अ.दु.आ. को उक्त निर्णयउपर ज्यानीमायाले यसै अदालतमा ०६६-WO-१००५ को उत्प्रेषण मिश्रित परमादेशको रिट दायर गरेकोमा, आयोगको निर्णय कार्यान्वयन हुने अवस्था नरहेको र विचाराधीन निर्णय बदरसमेतका मुद्दाको इन्साफमा प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित हुने गरी रिट क्षेत्रबाट बोल्न नमिल्ने भनी २०६८।०३।०१ मा रिट खारेज भएको छ । गुठी शब्द हटाई फिल्डबुकको नक्कल लिई जग्गा दर्ता गरेउपर नेपाल सरकार वादी भई चलेको सरकारी छाप दस्तखत किर्ते (२०६८-CR-००४३) मुद्दामा सुरू अदालतबाट मिति २०६९।१२।६ मा प्रतिवादी बुद्धरत्नबाट रू. ३२,००,०००।– बिगो भराई, बिगोबमोजिमको जरिवाना र १ वर्ष कैद सजाय गर्ने ठहर भई मिति २०७२।१२।१५ मा सुरू सदर भई अन्तिम भएको हो । मिति २०६५।११।२३ को मा.पो.का. को निर्णय कानून प्रतिकूल भएकोले बदर गरी उक्त जग्गा गुठियारका नाउँमा फिराद दाबीअनुसार दर्ता हुने ठहर गरेको २०६९।१०।२१ को सुरू अदालतको फैसला पूर्णतः कानूनसम्मत छ । उक्त फैसलाउपर विपक्षी प्रतिवादीमध्येका लोकरत्न-१, बुद्धरत्न-१, ज्यानीमाया-१ र नक्कली महर्जन-१ जना-४ को ज्यानीमायाका पति मनोहर महर्जनले मिति २०७०।०७।२५ मा वारेसनामा लिई पुनरावेदन अदालत पाटनमा संयुक्त पुनरावेदन गरेको हो । २०७१।१०।२५ सम्म बेरूजु रही पछि पक्राउ परी कैदमा रहेको प्रतिवादी बुद्धरत्नको कैदमै रहँदा २०७२।०८।०४ मा परलोक भएको हो । यसरी किर्तेमा सजाय पाई वारेस लिनदिन कानूनले प्रतिबन्धित रहेका विपक्षीले झुटा बेहोरा लेखिदिएको वारेस लिई दायर पुनरावेदनसमेत कानूनतः दूषित 

छ । सुरू फैसलामा मिसिल संलग्न प्रमाण कागजातको मूल्याङ्कन तथा विवेचना गरी फिल्डबुकमा अन्यथा अर्थ लाग्ने गरी केरमेट गरिएकोलाई अविश्वास गर्ने अवस्था नरहेको, फिल्डबुकमा त्रिलोकधरसमेत जना-६ को गुठी जनिएको देखिएको, पायनमुगलको ६६/५६ को लगतवालामध्येका बेटीनानी वादीको पूर्वज रहेका देखिएको, सो लगतको चतिपात खेत ३।। वादी दाबीको हालसम्म चलिआएको गुठीको देखिएको र सो जग्गा दर्ताका लागि ३० वर्ष अगाडिदेखि नै कारबाही थालेको देखिएको भन्नेसमेतका आधारमा मा.पो.का को मिति २०६५।११।२३ को निर्णय दर्ता बदर गरी दाबीबमोजिम गुठियारका नाउँमा जग्गा दर्ता गर्ने ठहर भएको पूर्णतः कानूनसम्मत रहेको छ । त्यस्तोमा कानून प्रतिकूलको वारेसनामा र सोका आधारमा दायर पुनरावेदन कानूनतः दूषित तथा अमान्य रहेका र मिसिल संलग्न प्रमाण कागजातबाट वादी नै उक्त गुठीको गुठियार देखिई रहेकोमा दाबीबमोजिम गुठियारका नाउँमा दर्ता गर्ने ठहर गरेको हदसम्म सुरू फैसला उल्टी हुने गरेको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला मिलेको छैन । वादी पुनरावेदकको फिराद तथा पुनरावेदन जिकिरबमोजिम सुरू सम्मानित अदालतको फैसला सदर कायम हुनुपर्ने अवस्था छ । साथै यसै लगाउको लिखत बदर ०७२-CI-१२१३ मुद्दामा समेत प्रस्तुत निर्णय दर्ता बदर ०७२-CI-१२१२ मुद्दामा भएको पुनरावेदन फैसलाको आधारमा सुरू फैसला केही उल्टी हुने पुनरावेदन अदालत पाटनबाट फैसला भएको हुँदा उक्त लिखत बदर ०७२-CI-१२१३ मुद्दाको पुनरावेदन फैसलासमेत त्रुटिपूर्ण हुँदा मिलेको छैन । सो हुँदा वादीको फिराद दाबी तथा पुनरावेदन जिकिरबमोजिम हुने गरी सुरू ललितपुर जिल्ला अदालतको मिति २०६९।१२।२१ को फैसला सदर कायम हुने गरी इन्साफ दिलाइपाउँ भन्नेसमेत बेहोराको विपक्षी / वादी बाबुलाल श्रेष्ठको कानूनी व्यवसायीहरू विद्वान् अधिवक्ता श्री सुर्यलक्ष्मी महर्जन र श्री राजेन्द्र महर्जनको मिति २०७९।०८।२३ मा यस अदालतमा पेस भएको बहसनोट ।

ग. मैले मिति २०५२।०८।१५ मा ल.पु. नापी शाखा कार्यालयमा निवेदन दर्ता गरी सारेको टिकाथली वडा नं. १ ख कित्ता नं.१२ क्षेत्रफल ६-४-० को साबिक मोही ल.पु. सानागाउँ धसीटोल सानागाउँ बस्ने रत्नमान महर्जनले किसानको बेहोरामा यो जग्गा साना साहु ल.पु. इखालखु १ मुरी १४ पाथी र बुध रत्न बाडालाई १ मुरी ३ पाथी र त्रिलोक्य धर श्रेष्ठसमेत ६ जवानको गुठीको जग्गा हो मैले ६ मुरी ४ पाथी तिरी ३ तलसीको जग्गा जोती खाई आएको छु साँध थाहा छैन भन्ने बेहोरा उल्लेख भएकोमा साना साहु ल.पु. इखालखु वडा नं. १९ मा पर्दछ । बुद्धरत्न वाडा शाक्य ल.पु. नकबहिल वडा नं. १६ मा पर्ने र मेरो ३ पुस्ते बाजे त्रैलोक्यधर श्रेष्ठ ल.पु. चालाछें सुन्धारा वडा नं ६ ठेगाना भएकोमा थर ठेगाना नमिल्ने व्यक्ति त्रैलोक्यधर भन्ने लोक रत्न शाक्य एकै हुन् भनी सिफारिस बनाई मेरो बाबु, बाजेको नाम ठेगाना ढाँटेको र अर्को बुद्धरत्न शाक्य नकबहिल १६ बाडाको हुनुपर्नेमा नाम मिल्ने ल.पु. १२ को बुद्धरत्न शाक्यले वास्तविक ठेगाना ढाँटी नापी कार्यालयको सक्कल फिल्डबुक रजिस्टरमा आफू र नापी कर्मचारीसमेतको मिलेमतोमा गुठी शब्द मेटाई सच्याई ल.पु. मालपोतबाट ज.ध. प्रमाण पुर्जा प्राप्त गरेको पछि ज्यानीमाया महर्जनलाई बेचेकोमा निज नक्कली बुद्धरत्न शाक्यले किर्ते जालसाजी गरेको ठहर भई ललितपुर जिल्ला अदालतको च.नं. ५४४३ मिति २०७१।१०।२६ पत्रानुसार नख्खु कारागारमा कैद सजाय भुक्तान गर्दा गर्दै परलोकसमेत भएको 

छ । ललितपुर मालपोत कार्यालयमा दर्ता रहेको साबिक दर्तावाला व्यक्तिहरू पा.यनमुगल २०११ सालको पोता लगत ६६/५६ र पुस्तावारीमा देखिएको त्रैलोकधरसमेत जवान ६ भनेको त्रैलोकधर, काजिलाल, गंगाधर, आशाकाजी, बेटीनानी, नन्दधर श्रेष्ठसमेत ६ जना हुन् । अन्य व्यक्ति साना साहु र बुद्धरत्न वाडा शाक्य छुट्टाछुट्टै कवलको हाम्रो परिवार बाहिरका 

हुन् । मैले कानून व्यवसायी नियुक्त गरेको छैन । मसँग भएको प्रमाण कागजातपत्रहरूको आधारबमोजिम सत्य तथ्य बेहोरा लेखी पेस गरेको छ भन्नेसमेत बेहोराको केशवशधर श्रेष्ठको मिति २०७९।०८।२३ मा यस अदालतमा पेस भएको बहसनोट ।

 

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ आज यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा वादी प्रतिवादी तथा सरोकारवाला पक्षका कानून व्यवसायीहरूले पेस गर्नुभएको बहसनोटका अलावा इजलाससमक्ष बहसका क्रममा पुनरावेदक / प्रतिवादीतर्फबाट रहनु भएका विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री ठाकुरप्रसाद न्यौपाने, श्री राम कुमार राई र अधिवक्ता श्री प्रकाशचन्द्र चापागाईले विवादित जग्गा गुठीको जग्गा नभई रैकर जग्गा भएको, उक्त जग्गाको फिल्डबुक बेहोरामा सानु साहु, त्रिलोधर र बुद्धरत्न बाडासमेत तीन जवानलाई तिरो तिरी खाई आएको भनी लेखिएको र उक्त जग्गाको दर्ता स्रेस्ता लगतबाट सो जग्गा व्यक्ति विशेषको रहेको भन्ने प्रमाणित भई जग्गाका मोहीका हकवालाहरूसमेतबाट उक्त जग्गा बुद्धरत्न वाडाको हो भनी लेखाइदिएका छन् । गुठियार सत्यमान श्रेष्ठ, विष्णुधर श्रेष्ठ, कुमुद श्रेष्ठ र केशवधर श्रेष्ठसमेतले विवादको जग्गा प्रतिवादी ज्यानीमायाको दाता बुद्धरत्न शाक्यको हक लाग्ने जग्गा हो, गुठीको जग्गा होइन भनी मालपोत कार्यालय, ललितपुरको निर्णयबमोजिम रैकर गरी दर्ता भएकोमा मन्जुर छ, कुनै हकदाबी छैन भनी मालपोत कार्यालयमा निवेदन दिई सनाखतसमेत गरिदिएको अवस्थामा विवादित जग्गा निजी गुठीको जग्गा नभई रैकर जग्गा भएकोले सुरू जिल्ला अदालत र पुनरावेदन अदालतको फैसला बदर उल्टी गरी मालपोत कार्यालयको निर्णय सदर कायम गरिपाउँ भनी आफ्नो बहस प्रस्तुत गर्नुभयो ।

पुनरावेदक / वादीको तर्फबाट रहनुभएका विद्वान् अधिवक्ताद्वय श्री सुर्यलक्ष्मी महर्जन र श्री राजेन्द्र महर्जनले विवादित जग्गाको फिल्डबुकमा गुठी शब्द हटाई फिल्डबुकको नक्कल लिई अन्य उनाउ विपक्षीसँगको मिलोमतोमा साबिक लगत दर्ता तिरोको प्रमाणबेगर दूषित रूपमा जग्गादर्ता गराई लिएको हो, गुठी शब्द हटाई फिल्डबुकको नक्कल लिई जग्गा दर्ता गरेउपर सरकारी छाप दस्तखत किर्ते मुद्दामा सुरू जिल्ला अदालतबाट बुद्धरत्नलाई कैद सजाय तथा जरिवाना भएको र सुरू अदालतबाट ठहर भई निजको नाउँमा एकलौटी दर्ता गर्ने गरी मालपोत कार्यालयबाट मिति २०६५।११।२३ मा भएको निर्णय बदर गरेको सुरू अदालतको फैसला कानूनसम्मत रहेकोले उक्त फैसला नै सदर कायम हुनुपर्छ भनी आफ्नो बहस प्रस्तुत गर्नुभयो ।

उपर्युक्तानुसारको तथ्य रहेको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पक्ष विपक्षबाट रहनुभएका विद्वान् कानून व्यवसायीहरूले गर्नुभएको बहस सुनी बहसनोटसमेत अध्ययन गरी निर्णयतर्फ विचार गर्दा पुनरावेदन मागबमोजिमको आदेश जारी हुने वा नहुने के हो ? भन्ने विषय केन्द्रित रही निम्न प्रश्नहरूको निरूपण गर्नुपर्ने देखियोः- 

क. विवादित जग्गा रैकर वा निजी गुठी के हो ?

ख. गुठियारमध्येका केही व्यक्तिहरूले हकदाबी छोडिदिएको आधारमा गुठीको जग्गा रैकरमा परिणत हुने हो वा होइन ? 

ग. पुनरावेदन अदालतको फैसला मिलेको छ वा छैन ?

 

२. निरूपण गर्नुपर्ने पहिलो प्रश्नतर्फ विचार गर्दा रैकर र गुठी भनेको के कस्तो जग्गालाई बुझाउँछ भन्नेमा प्रस्ट हुनुपर्ने देखियो । सारांशमा यस सम्बन्धमा चर्चा गर्दा, राज्य र कर दुई शब्दहरूको संयोजनबाट "राज्यकर" शब्द बनेको मानिन्छ । जुन शब्द पछि "रैकर" बनेर भूमिसम्बन्धी व्यवस्थामा उपयोग भएको पाइन्छ । यही परिप्रेक्ष्यमा रैकर जग्गा भन्नाले राज्यको स्वामित्वमा रहेको जग्गामा निश्चित करको व्यवस्था गरी व्यक्तिहरूलाई आवादी गर्न र उपयोग गर्न दिइएको जमिन भन्ने बुझ्न सकिन्छ । त्यसैगरी रैकर जग्गा भन्नाले रैती अर्थात् जनताले सरकारबाट स्वतन्त्रपूर्वक हकभोग र किनबेच गर्न पाउने गरी प्राप्त गरेको जग्गालाई पनि जनाउँदछ । रैकर जग्गा भोग गरेबापत राज्यले वार्षिक कुत, तिरो वा मालपोत लिने व्यवस्था रहेको पाइन्छ । विगतमा व्यक्तिहरूबाट सरकारी तिरो वा मालपोत असुल गर्ने काम जमिनदार, तालुकदार, जिम्मावाल, मुखियाहरूले गरी निश्चित रकम आफैँले लिई बाँकी रकम सरकारी कोषमा जम्मा गर्ने व्यवस्था रहेको पाइन्छ । वि.सं. २०१६ सालको बिर्ता उन्मूलन ऐन र वि.सं. २०१७ सालको राज्य रजौटा उन्मूलन ऐनपश्चात् ठुला ठुला निजी भूमिहरूसमेत रैकर जग्गामा परिणत भएको पाइन्छ ।

३. धार्मिक, सामाजिक, सांस्कृतिक तथा सार्वजनिक उद्देश्य पूर्तिको लागि राखिएका जग्गालाई गुठी जग्गा भनिन्छ । संस्कृत भाषाको "गोष्ठी" शब्दबाट "गुठी" शब्दको विकास भएको हो भन्ने धारणा रहेको पाइन्छ । प्रामाणिक अभिलेखको रूपमा गुठी व्यवस्थाबारे चाँगुनारायणमा रहेको विक्रम संवत् ५२१ को अभिलेखमा उल्लेख भएको पाइन्छ । यसबाट नेपालमा गुठीको सञ्चालन लिच्छवीकाल पूर्वदेखि नै भएको भन्ने देखिन्छ । विशेष गरी धार्मिक कार्य पूजा-अर्चना, पुण्य प्राप्ति एवं खास धार्मिक सांस्कृतिक पर्वहरू सञ्चालन गर्ने र तिनीहरूलाई चिरस्थायी दिने अभिप्रायले गुठी सञ्चालन गर्ने गरिएको देखिन्छ । गुठी संस्थान ऐन, २०३३ को दफा २(ग) मा "गुठी" भन्नाले कुनै मठ वा कुनै देवी देवताको पर्व, पूजा, जात्रा चलाउने वा कुनै धार्मिक वा परोपकारी कामको लागि कुनै मन्दिर, देवस्थल, धर्मशाला, पाटी पौवा, इनार, पोखरी, तलाउ, धारा, पियाउ, बाटो, घाट, पुल, चौतारा, गौचरन, बाग बगैँचा, जङ्गल, पुस्तकालय, पाठशाला, औषधालय, चिकित्सालय, घर, इमारत वा संस्था बनाउने, चलाउने वा त्यसको संरक्षण गर्न कुनै दाताले आफ्नो चल अचल सम्पत्ति वा आयास्ता आउने अरू कुनै सम्पत्ति वा रकममा आफ्नो हक छाडी राखेको गुठीसमेतलाई सम्झनुपर्छ भनी उल्लेख भएको छ । ऐनअनुसार गुठी तीन प्रकारका रहेको देखिन्छः राजगुठी, छुट गुठी र निजी गुठी / गुठी संस्थानको हक दायित्व भई गुठी संस्थानले बन्दोबस्त र सञ्चालन गरी आएको गुठीलाई राजगुठी भनिन्छ भने आयस्ताबाट गुठीको पूजा, पर्व इत्यादि दानपत्र लिखतबमोजिमको काम चलाई बाँकी रहेको गुठीको शेष कसर वा सलामीसम्म राजगुठीमा बुझाउने गरी वा गुठी चलाउनेले नै शेष खाने गरी गुठी संस्थान ऐन, २०२१ प्रारम्भ हुनुअगावै सरकारी गुठी लगतमा गुठी दर्ता गराई वा दर्ता गराउनुपर्ने गरी त्यस्तो गुठीको जग्गाको नेपाल सरकारमा बुझाउनुपर्ने मालपोत वा तिरो बुझाउनु नपर्ने गराई र गुठीको दर्ता गुठियारले नै गुठी चलाउन पाउने गरी छुट पाएको गुठीलाई छुट गुठी भनिन्छ । राज गुठी र छुट गुठीबाहेकका गुठीलाई निजी गुठी भनिन्छ । निजी गुठी भन्नाले व्यक्तिगत र पारिवारिक रूपमा राखिएको गुठी भए पनि निजी गुठीको लगत गुठी संस्थानमा दिने र आवश्यकताअनुसार निजी गुठीको बन्दोबस्त र सञ्चालन हुन सक्ने कानूनी व्यवस्था रहेको पाइन्छ । निजी गुठीको सञ्चालन गुठियारहरूले गरे पनि लिखित अनुरोध दिएमा संस्थानले गर्न सक्ने छन् भने सामाजिक हितका लागि राखिएको निजी गुठीका गुठियारले शिलापत्र, धर्मपत्र, दानपत्र आदिमा लेखिएबमोजिम गुठीको सञ्चालन नगरी गुठीको सम्पत्ति हिनामिना गरेको देखिएमा त्यस्तो गुठीको जिम्मा गुठी संस्थानले लिन सक्ने भनी ऐनमा उल्लेख भएको पाइन्छ । यसबाट निजी गुठीको उद्देश्यबमोजिम व्यवस्थापन र सञ्चालन हुन नसकेमा गुठी संस्थानले त्यसको जिम्मा लिने सक्ने कानूनी व्यवस्था भएका कारण निजी गुठीसमेत जथाभावी वा अव्यवस्थित ढङ्गले सञ्चालन गर्न नसकिनेमा कानून प्रस्ट रहेको छ ।

४. उल्लिखित विश्लेषणको रोहमा हेर्दा रैकर जग्गा र गुठीको जग्गाबिच मुख्यतया दुई प्रमुख कुराहरूमा भिन्नता रहेको हुन्छ । जग्गाको स्वामित्व र त्यसको प्रयोजन । व्यक्तिगत प्रयोजनका लागि व्यक्तिको पूर्ण स्वामित्व रहने जग्गा रैकर जग्गा भन्ने देखिन्छ भने व्यक्तिगत, पारिवारिक एवं सार्वजनिक प्रयोजनार्थ सञ्चालन भई संस्थानको स्वामित्वमा रहेको जग्गा राज गुठी र गुठी संस्थानको स्वामित्वमा नरहेको गुठी निजी गुठी भन्ने देखिन्छ । निजी गुठीको स्वामित्व गुठियारहरूमा निहित रहे पनि दुई अवस्थामा गुठीको स्वामित्व संस्थानले लिन सक्ने भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ; गुठियारहरूले लिखित निवेदन दिएमा वा सार्वजनिक हितको लागि राखिएको निजी गुठी लेखिएबमोजिम सञ्चालन नभएको अवस्थामा निजी गुठीको जिम्मा संस्थानले लिएमा दाता गुठियारहरूको सबै अधिकार समाप्त भई राजगुठीमा परिणत हुने भन्नेसमेत कानूनी व्यवस्था रहेको पाइन्छ । यसै परिप्रेक्ष्यमा, रैकर जग्गा पूर्णतया व्यक्तिगत जग्गा भई यसको प्रयोजनको लागि निश्चित सर्तहरू तोकिएको हुँदैन भने निजी गुठी पारिवारिक वा सामूहिक रूपमा सञ्चालन गरिने भए पनि त्यस्को स्वामित्व र प्रयोजन रैकर जग्गा जस्तो नि:सर्त (unconditional) नभई सर्तबन्धनात्मक (conditional) रहने हुन्छ ।

५. माथि गरिएको विवेचनाको आधारमा विवादित जग्गाको सम्बन्धमा हेर्दा, पुनरावेदक / प्रतिवादी ज्यानीमाया डंगोलले अर्का प्रतिवादी बुद्धरत्न शाक्यले मालपोत कार्यालय ललितपुरको मिति २०६५।११।२३ को निर्णयबमोजिम एकलौटी नामसारी गराइलिएको टिकाथली गा.वि.स. वडा नं. १ (ख) कि.न. १२ को क्षेत्रफल ६-४-०-० जग्गा मिति २०६५।१२।०५ मा राजीनामा पास गरी लिएको जग्गा गुठीको जग्गा नभई रैकर जग्गा हो । उक्त जग्गाको फिल्डबुक बेहोरामा साना साहु, त्रिलोकधर र बुद्धरत्न वाडासमेत ६ जनालाई तिरी खाई आएको जग्गा हो, साँध मलाई थाहा छैन भनी लेखिएको छ । यसरी फिल्डबुकमा उक्त जग्गा गुठीको नभई रैकरको जग्गा प्रमाणित हुँदाहुँदै गुठीको जग्गा कायम गर्ने गरी जिल्ला अदालतले गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला सो हदसम्म बदरयोग्य भन्ने जिकिर कानूनसम्मत छ, छैन भन्ने नै प्रस्तुत विवादको निरूपण हुनुपर्ने मुख्य प्रश्न रहेको देखिन्छ । मिसिल संलग्न कागजात अध्ययन गरी हेर्दा उल्लिखित विवादित जग्गाको सम्बन्धमा पुनरावेदक / प्रतिवादीले विवादित जग्गा रैकर हो भनी दाबी लिएको समर्थनमा पेस गरिएको मे. नापी शाखाको फिल्डबुक उतारमा जोताहा महलमा रत्नमान महर्जनको नाम उल्लेख छ भने किसानको बेहोरामा यो जग्गा साना साहु ललितपुर इखालकु १ मुरी १४ पाथी र बुद्धरत्न वाडालाई एक मुरी ३ पाथी र त्रिलोकधरसमेत ६ जवानको जग्गा हो, मैले ३ मुरी ९ पाथी तिरी यी तीन तलसिंहको जग्गा जोती खाएको छु, साँध थाहा छैन भन्ने उल्लेख भएको देखिन्छ । यो फिल्डबुक बेहोरा किर्ते गरी तैयार पारिएको हो र विवादित जग्गा गुठीको हो, गुठीको जग्गालाई फिल्डबुक किर्ते गरी रैकर देखाइएको भन्ने प्रत्यर्थी / वादीको दाबी रहेको छ । सो दाबी समर्थित हुने गरी प्रमाणको रूपमा मिसिल संलग्न रहेको सोही जग्गाको सम्बन्धमा भू-सूचना अभिलेख विभागबाट प्राप्त माइक्रोफिल्म प्रिन्ट उतारबाट प्राप्त फिल्डबुक हेर्दा उक्त जग्गा प्रस्टसँग गुठीको जनिएको 

देखिन्छ । सोबमोजिम फिल्डबुकको किसानको महलमा "यो जग्गा साना साहु ललितपुर इखालखु एकमुरी १४ पाथी र बुद्धरत्न वाडालाई १ मुरी ३ पाथी र त्रिलोकधरसमेत ६ जवानको गुठीको जग्गा हो । मैले ३ मुरी ९ पाथी तिरी यी तलसिंहको जग्गा जोती खाएको छु साँध मलाई थाहा छैन" भनी जोताहाको महलमा उल्लिखित रत्नमान महर्जन ललितपुर इखालखु सानागाउँ धमीटोड वडा नं. ४ लेखिएको देखिन्छ । यसबाट भू-सूचना अभिलेखबाट प्राप्त फिल्डबुक सक्कली फिल्डबुक रहेको देखिएको र सो फिल्डबुकमा विवादित जग्गा गुठीको भन्ने प्रस्ट उल्लेख भएको देखियो ।

६. त्यसैगरी सोही जग्गाको सम्बन्धमा भूमिसुधार कार्यालय ललितपुरको चलानी नं. ७२२०, मिति २०६६।०२।०७ को गणेशधर श्रेष्ठलाई सम्बोधन गरेको "२ नं. अनुसूची उतार गरिदिएको" विषयक पत्रमा "ललितपुर जिल्ला टिकाथली गा.वि.स वडा नं. १(ख) कि.नं. १२ क्षेत्रफल ६-४-०-० जग्गाको मोही रत्नमान महर्जन वसीटोल सानागाउँ र जग्गाधनी बुद्धरत्न साना साहुसमेत ६ जनाको गुठी जनिएको २ नं. बाट देखिएको बेहोरा खुलाई अनुरोध गरिन्छ" भनिएको छ । विवादित जग्गा गुठीको जग्गा हो भन्ने सम्बन्धमा मिसिल संलग्न अर्को प्रमाणमा मंगलदास महर्जनले सो जग्गा बिर्ता जग्गा भएको र जग्गाधनीहरूले रैकरमा परिणत नगरेको हुँदा रै.प. गरी मोहीको नाउँमा दर्ता गरिपाउँ भनी मिति २०५०।०२।०८ मा मालपोत कार्यालय ललितपुरमा दर्ता गरेको निवेदनमा मिति २०५०।०३।०८ मा मालपोत कार्यालयबाट मोठ स्रेस्ता प्रमाणित गर्दा "यसमा पेस भएको साबिक रसिदको मि.नं. तथा निवेदनमा माग भएको साबिक ल.न.बमोजिम लगत हेर्दा मौज २०११ सालको लगत पा.यनमुगल ६६।५६ का लगतमा दर्ता रहेको जग्गामध्ये माग भएको गुठी जनिएको चतिपात ३॥S गुठी दर्ता देखिन्छ । रै.प. भएको देखिएन" भनिएबाट समेत सो जग्गा गुठीको रहेकोमा विवाद देखिएन । यसबाट पुनरावेदक / प्रतिवादीले विवादित जग्गा रैकर हो भन्ने दाबी समर्थित फिल्डबुक असली फिल्डबुक नरहेको प्रस्ट हुनुको अलावा दाबीको जग्गा गुठीको हो भन्ने तथ्य निर्विवादित रूपमा प्रमाणित भएको 

देखियो ।

७. मालपोत कार्यालय, ललितपुरले उल्लिखित टिकाथली १ ‘ख’ कि.नं १२ को क्षेत्रफल ६-४-०-० को जग्गा बुद्धरत्न शाक्यको नाममा रैकर भनी नामसारी गर्दा उठाएको मिति २०६५।११।२३ को टिप्पणी र आदेश हेर्दा साबिकको भोग, लगत, तिरोको आधारमा निर्णय भएको देखिँदैन । अप्रमाणित स्वघोषित जग्गाधनी भनी उल्लेख गरिएका व्यक्तिहरूले हकदाबी छाडिदिएको र टिकाथली गाउँ विकास समिति र ललितपुर उपमहानगरपालिकाको वडा नं. ६ को कार्यालयको सिफारिसको आधारमा बुद्धरत्न शाक्यको नाममा जग्गा नामसारी दर्ता गर्ने निर्णय भएको देखिन्छ । यसरी नामसारी गर्दा सो जग्गा कसरी साबिक दर्तावालाको नाममा जग्गा दर्ता भएको हो भन्ने कुनै आधार, प्रमाण मालपोत कार्यालयको निर्णयमा उल्लेख गरिएको छैन । मालपोत ऐन, २०३४ को दफा ६ र ७ को कुनै प्रक्रिया पूरा गरी साबिक जग्गाको दर्ता, तिरो र भोगको सम्बन्धमा प्रमाणित बेहोरा उल्लेख भएको देखिँदैन । साबिक दर्तावाला भनिएका व्यक्तिहरूको नाममा भएको दर्ता, तिरो, भोग र त्यसको स्रोत नै उल्लेख नभएको अवस्थामा त्यस्तो जग्गा निजहरूले हकदाबी छाडिदिएको भन्ने आधारमा नामसारी हुन सक्ने अवस्था रहँदैन । मालपोत कार्यालय, ललितपुरको मिति २०६५।११।२३ गतेको निर्णय आदेशको मोठ स्रेस्ताको बेहोरा खण्डमा मोठ कायम छ भनिएको बेहोरा नै खण्डित भई सो मोठ जनिएको बेहोरा किर्ते गरी सच्याइएको भनी सरकारी छाप दस्तखत किर्ते (०६८-CR-००४३) मुद्दामा ललितपुर जिल्ला अदालतबाट "विवादित जिल्ला ललितपुर टिकाथली गा.वि.स. वडा नं. १(ख) कि.नं. १२ क्षेत्रफल ६-४-०-० को जग्गाको भू-सूचना अभिलेख विभागबाट प्राप्त माइक्रोफिल्म प्रिन्ट उतार हेर्दा उक्त जग्गा गुठी भनी जनिएकोमा सक्कल फिल्डबुक हेर्दा गुठी भन्ने शब्द केरमेट गरी मसी चुहिएको अवस्था देखिँदा सच्चा लिखतमा लेखिएको बेहोरा उडाई अर्कै मतलब निस्कने कार्य भएको र सोहीबमोजिम विवादित जग्गा प्रतिवादी बुद्धरत्न शाक्यले दर्ता गरी बिक्री गरेकोसमेत देखिँदा सरकारी कागजात फिल्डबुक उतारमा केरमेट गरी सरकारी लिखत किर्ते भएको ठहर्छ" । भनी बुद्धरत्न शाक्यलाई १ वर्ष कैद र ३२ लाख जरिवाना भएको निर्णय निजको हकमा अन्तिम भएर बसेको देखिएबाट समेत मालपोत कार्यालयबाट उल्लेख भएको मोठ किर्ते गरी खडा भएको गलत मोठ रहेको देखियो । त्यसैगरी मालपोत कार्यालयले मिति २०६५।११।२३ गते गरेको निर्णयको जग्गाधनी दर्ता प्रमाण पुर्जाको बेहोरा र मालपोतमा बुझाएको रसिद नं. को बेहोरा खाली रहेको देखिन्छ । यसरी व्यक्तिको रैकर जग्गा हो भन्ने स्रोत नखुलेको, दर्ता तिरो भोग केही नरहेको गुठीको जग्गा व्यक्तिको दर्ताको रैकरसरहको जग्गा मानी बुद्धरत्न शाक्यको नाममा नामसारी गरिएको मालपोत कार्यालय, ललितपुरको मिति २०६५।११।२३ को निर्णय र सोही आधारमा बुद्धरत्न शाक्यले जग्गाधनी प्रमाणपत्र बनाई पुनरावेदक प्रतिवादी ज्यानीमाया डंगोललाई मिति २०६५।१२।०५ मा राजीनामा पास गरी बिक्री गरेको कार्य कानूनविपरीतको रहेको देखियो ।

८. विवादित ललितपुर टिकाथली गा.वि.स वडा नं. १ ‘ख’ कि.नं. १२ को क्षेत्रफल ६-४-०-० जग्गा रैकर जग्गा नभई गुठीको जग्गा हो भन्ने सम्बन्धमा फिल्डबुक बेहोरा तथा माथि विवेचित प्रमाण, आधार, कारणबाट स्पष्ट देखिएको छ । मिसिल संलग्न कागजात हेर्दा २०११ सालको पा. यनमुशल ६६/५६ नं. लगतको प्रतिलिपिबाट त्रिलोकधन, काजीलालसमेत ६ जना गुठी भनी चतिपात ३।। को जग्गा भनी उल्लेख भएको देखिन्छ । वादीहरूको दाबीको हकको स्रोतको रूपमा यही लगतको जग्गा पछि नापी हुँदा ललितपुर जिल्ला टिकाथली गा.वि.स. वडा नं. १ 'ख’ को कि.न. १२ को क्षेत्रफल ६-४-०-० को जग्गामा मोही रत्नमान महर्जन कायम भएको देखिन्छ । यो गुठीको जग्गा परम्परादेखि ललितपुर सुन्धारा चालाछें बस्ने त्रिलोकधर, काजीलाल कैल्हा श्रेष्ठसमेतले आगम कूल देवतासमेतको धार्मिक गुठी, पूजा आजाको र चाडपर्वका धार्मिक कार्यहरू सञ्चालन गरी चलाई गुरू पुरोहित, बाह्मण, बाह्मणीहरू, आचार्य, गुठियार फुकी दाजुभाइ, भान्जा भान्जीहरू सबैलाई मूल पुर्खाका पालादेखि भोज खुवाउने खाने कामका लागि आयस्ताको रूपमा राखिएको निजी गुठी हो भन्ने देखिन्छ । यसरी लामो समयदेखि आफ्ना पूर्वजहरूले मान्दै चलाउँदै आएको कुल धर्मअनुसारको सामाजिक रीतिथिति, चाडपर्व, सांस्कृतिक, धार्मिक कार्य सञ्चालन गर्न ललितपुर सुन्धारा चालाछेंका कैल्हा श्रेष्ठहरूको निजी गुठीको रूपमा उल्लिखित जग्गा राखिएको देखियो । यसबाट शाक्य जाति र श्रेष्ठ जातिको दुई थरीको कुलपूजा रीतिथिति मान्ने एउटै गुठी हुन नसक्ने हुँदा यो रैकर जग्गा हो भन्ने पुनरावेदक / प्रतिवादीको दाबीसमेत प्रमाणित भएको देखिएन ।

९. अब, निरूपण हुनपर्ने दोस्रो प्रश्नतर्फ विचार गर्दा, गुठियारमध्येका केही व्यक्तिहरूले हक दाबी छोडिदिएकै आधारमा मात्र गुठीको जग्गा रैकरमा परिणत हुने हो वा होइन भन्ने सम्बन्धमा कानूनी व्यवस्था हेर्दा गुठीको जग्गा सरकारी रैकरमा परिणत हुन सक्ने देखिँदैन । यसै अदालतको विशेष इजलासको मिति २०६४।१०।१० को फैसला (ने.का.प २०६४ अङ्क १०, नि.नं. ७८८५) अघिसम्म कायम रहेको गुठी संस्थान ऐन, २०३३ को दफा ३६ र दफा २५(२)(ग) को प्रावधानले गुठी जग्गा कमाउने दर्तावाला मोहीले सो जग्गा गुठीमा नगदी पोत बुझाउने गरी आफ्नो नाउँमा गुठी रैतान नम्बरी जग्गा परिणत गरी दर्ता गराउन चाहेमा तोकिएको रकम तोकिएबमोजिम संस्थानमा बुझाएमा सो जग्गा संस्थानले निजको नाममा गुठी रैतान नम्बरी जग्गामा दर्ता गरिदिने व्यवस्था रहेको पाइन्छ । यसरी दर्ता भएका गुठी रैतान नम्बरी जग्गामा जग्गावालाको हक र हैसियत प्रचलित कानूनबमोजिम सरकारी रैकर जग्गाको जग्गावालाको सरह हुने व्यवस्था रहेको देखिन्छ । उल्लिखित विशेष इजलासको फैसलाले उल्लिखित कानूनी व्यवस्थालाई साबिक संविधानको धारा १८ को संस्कृतिसम्बन्धी हक र धारा १९ को धर्मसम्बन्धी हकले प्रदान गरेको धर्म संस्कृतिको जगेर्ना गर्ने गुठीसम्बन्धी व्यवस्थाको विपरीत रहेको मानी बदर र अमान्य घोषित गर्दै भनेको छ, "गुठी संस्थान ऐनका उल्लिखित प्रावधानहरूले परापूर्वकालदेखि विभिन्न उद्देश्य राखी दाताहरूबाट राखिएका गुठी जग्गाहरू विभिन्न प्रक्रियाबाट रैतान नम्बरीमा परिणत हुँदै जाने अवस्थाको सिर्जना भएको पाइएको हुँदा संस्कृतिको संरक्षण र संवर्द्धन तथा धार्मिकस्थल र धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्ने संविधान प्रदत्त हकमा नै आघात पुग्न जाने अवस्था देखिएको छ । त्यस्तो अवस्था सिर्जना हुन नदिई संस्कृतिको संरक्षण र संवर्द्धन तथा धार्मिक स्थल र धार्मिक गुठीको सञ्चालन र संरक्षणको संवैधानिक हकको सुनिश्चितताका लागि गुठी संस्थान ऐन, २०३३ को दफा २५ को उपदफा (२) को खण्ड (ग) र ऐ. दफा ३६ नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७ को उपधारा (१) बमोजिम आजैका मितिदेखि लागु हुने गरी अमान्य र बदर घोषित गरिदिएको छ" । त्यसैगरी साबिकमा रहेको कानूनी व्यवस्थाविपरीत मालपोत विभाग र भूमि सुधार तथा व्यवस्था मन्त्रालयले निजी गुठी सट्टासट्टा गरी वा अक्षयकोष राखी रैकरमा परिणत गर्न मिल्ने अवस्थाको समेत सोही फैसलाले अन्त गर्दै सोही निर्णयमा भनिएको छ, "गुठी सट्टापट्टा गर्ने सम्बन्धमा मालपोत विभागबाट मिति २०४५।०६।३० मा भएको परिपत्र र भूमि सुधार तथा व्यवस्था मन्त्रालयबाट अक्षयकोष राखी निजी गुठीका गुठियारहरूले आफ्नो नाममा दर्ता गर्न सक्ने गरी भएको मिति २०४९।०८।२२ को निर्णयसमेत गुठी संस्थान ऐन, २०३३ का कुनै पनि प्रावधानबाट समर्थित देखिँदैन । तसर्थ, ऐनद्वारा समर्थित नरहेका र संस्कृतिको संरक्षण र संवर्द्धन तथा धार्मिक स्थल र धार्मिक गुठीको सञ्चालन र संरक्षणका लागि गरिएको संवैधानिक हकसमेतको प्रतिकूल रहेको उल्लिखित निर्णयहरू र त्यसका आधारमा भए गरेका परिपत्रहरूसमेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ" । यो निर्णयपछि कुनै पनि नामका गुठीका जग्गा रैतान नम्बरीमा परिणत गरी गुठीमा पोत तिर्ने र रैकरसरहको हुने सम्पूर्ण अवस्थाको अन्त भएको 

छ । मिति २०६४।१०।१० मा यस अदालतको विशेष इजलासको उक्त निर्णय हुनुअगाडि गुठीको दर्तावाला मोहीले तोकिएबमोजिम रकम बुझाई र निजी गुठीको हकमा सट्टापट्टा वा अक्षयकोष खडा गरी गुठियारहरूले कतिपय गुठीको जग्गा गुठी रैतान नम्बरी गराउन सक्ने व्यवस्था रहे भएको देखिए पनि सोको समेत अन्त भई सोहीबमोजिम गुठी संस्थान ऐनमा समेत व्यवस्था भइसकेको छ । यसबाट गुठीमा दर्ता रही गुठीमा नगदमा पोत बुझाई गुठी रैतान नम्बरी गर्नसक्ने अवस्थाको समेत अन्त भइसकेको छ भने गुठीको जग्गा सरकारी रैकरमा सिधै परिवर्तन गर्न सक्ने कानूनी व्यवस्था सो अघि वा पछिसमेत रहेको पाइँदैन ।

१०. प्रस्तुत विवादित जग्गाको सम्बन्धमा पुनरावेदक / प्रतिवादीले आफ्नो सुरू प्रतिउत्तरपत्र र यस अदालतमा दर्ता गरेको पुनरावेदनमा समेत उल्लिखित जग्गाको जग्गाधनी जनिएका (गुठियार) त्रिलोकधरका हकवाला प्रतिवादीहरूमध्येका विष्णुधर श्रेष्ठ, सत्यमान श्रेष्ठ, कुमुद श्रेष्ठ र केशवधर श्रेष्ठसमेतले आ-आफ्नो हक पुग्न नसक्ने कारण बुद्धरत्न शाक्यकै नाममा मिति २०६६।०१।०६ मा हकदाबी छाडिसक्नु भएको छ भन्ने बेहोरा उल्लेख गरेको देखियो । सो बेहोरा समर्थन हुने गरी उल्लिखित चार जनाले दिएको संयुक्त निवेदन मिसिल संलग्न रहेको 

देखिन्छ । सोमध्येका विष्णुधर श्रेष्ठ, सत्यमान श्रेष्ठ र कुमुद श्रेष्ठले सोहीबमोजिमको प्रतिउत्तर फिराएको देखिन्छ भने केशवधर श्रेष्ठले मिति २०६६।०५।०९ मा छुट्टै प्रतिउत्तर फिराई गुठी जग्गासम्बन्धी केही जानकारी नदिई विपक्षी बुद्धरत्न शाक्यसमेतसँग आन्तरिक गोप्य सम्झौता गरी रकम लिई उक्त मिति २०६६।०१।०६ मा मालपोत कार्यालयमा हकदाबी छाडिएको निवेदनमा मलाई झुक्याई सहीछाप दस्तखत गराएको हो भन्दै ज्यानीमायाको नाउँको दर्ता स्रेस्ता र जग्गाधनी प्रमाण पुर्जासमेत बदर गरी उक्त कित्ता यथावत् गुठी कायम गरिपाउँ भन्ने बेहोरा उल्लेख भएको देखिन्छ । गुठियारहरू गुठी राखिएको सम्पत्तिका सञ्चालक र संरक्षकसम्म हुने हुँदा उनीहरूले गुठीको सम्पत्ति नासी मासी खाने नैतिक र कानूनी कुनै पनि हैसियत राख्दैनन् । गुठी संस्थान ऐन, २०३३ को दफा २ (छ) मा गुठियार को परिभाषामा "गुठियार" भन्नाले छुट गुठी र निजी गुठीका दाता वा दाताका हकवाला गुठी चलाउन वा गुठीको शेषकसर खान पाउने हक भएका व्यक्ति र त्यस्ता गुठीको सालबसाली दरबन्दीको महन्त र पुजारीलाई सम्झनुपर्छ" भनिएको छ । यसबाट गुठियार सबैले सामूहिक रूपमा निर्णय गर्दासमेत गुठीको सम्पत्तिमा हानि नोक्सानी पुर्‍याउने गरी गुठीको उद्देश्यविपरीत हक हस्तान्तरण गर्न नपाउने, बेचबिखन गर्न नपाउने र गुठी सञ्चालन गरी बाँकी रहेको शेषकसर मात्र खान पाउने हुँदा केही गुठियार वा सम्पूर्ण गुठियारहरूले सहमति दिएको भए तापनि गुठीको जग्गा कसैको निजी रैकर जग्गामा परिणत हुन सक्ने गरी कानूनले मानेको देखिँदैन र गुठीको जग्गा रैकरमा परिणत हुन सक्ने पनि देखिँदैन । त्योसँगै गुठीको उद्देश्यविपरीत धर्मलोप गर्ने गुठियारलाई जरिवाना गरी त्यस्तो गुठियारलाई खारेज गरी अर्को व्यक्ति नियुक्त हुनसक्ने व्यवस्था ऐ.ऐनको दफा ५७ मा गरिएको छ । तसर्थ, गुठियार त्रिलोकधरका केही हकवाला सन्तानहरूले बुद्धरत्न शाक्यको पक्षमा हकदाबी छाडिदिएको हुँदा आफ्नो दाता / प्रतिवादी बुद्धरत्न शाक्यको एक्लो हकको जग्गा आफूले राजीनामा पास गरी लिएको सम्पत्ति गुठी कायम गर्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला बदर गरी रैकर कायम गरी आफ्नो हक सुरक्षित गराइपाउँ भन्ने पुनरावेदक / प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन ।

११. आफ्नो निजी वा आफूले भोग गर्न पाउने वा निर्णय खटन पटन गर्न सक्ने सम्पत्ति सामूहिक वा सार्वजनिक काममा लगाउन दान दिई सो कार्य चिरकाल पर्यन्त सोही कामका लागि कायम रहोस् भन्ने चाहनाका साथ गुठी स्थापना गर्ने कार्य नेपालको आफ्नो मौलिक पहिचानको उदाहरणीय पक्ष रहेको देखिन्छ । यसले हाम्रा पूर्वजहरूमा परोपकारी कामबाट सामाजिक दायित्व निर्वाह गर्ने उत्कृष्ट मानवीय मूल्य विकसित भइसकेको दृष्टान्त पेस गर्दछ । राज्यको मात्र मुख नहेरी तत्कालीन समाजको आवश्यकतानुसार धार्मिक तथा सांस्कृतिक रीति परम्पराको जगेर्नासँगै बाटा घाटा, पाटीपौवा, इनार, धारा, मठ मन्दिरको निर्माण तथा संरक्षण गरी आफ्नो र आफ्ना सन्ततिहरूको कृति राख्न गुठीमा आफ्नो अचल सम्पत्ति राखी त्यसको आयस्ताबाट ती कार्यहरू अघि बढिरहुन भन्ने आफ्ना वा अरूका पुर्खाको सदिच्छालाई सम्मान गर्नुपर्नेमा पुर्खाको नासो मासेर आफ्ना व्यक्तिगत स्वार्थ र चाहना पूर्तिमा लाग्नु आफ्नै पूर्वजप्रतिको असम्मान मात्र नभई अवहेलना हो भन्ने हामीले बुझ्न जरूरी छ । धर्म, संस्कृति र परम्परालाई असमानता र पछौटेपनको कारकको रूपमा मात्र दुष्प्रचार गरी यसले सिकाएका शाश्वत सत्य, असल विचार, असल उद्देश्य र असल कर्म, सबैको उन्नति र भलाई, दान र पुण्यकर्म गर्न दिएको सन्देशलाई ओझेलमा पारिनाले धर्म संस्कृतिको संरक्षणका लागि राखिएका गुठीका अनगन्ती सम्पत्ति आज तहसनहस पारिएका छन् । हाम्रै पुस्ताले काठमाडौं उपत्यकाको झण्डै टोलटोलमा देखेको गुठी संरक्षित खुला ठाउँभित्रका नेपाली कलाले भरिएका मठ-मन्दिर, पाटी, सत्तल र ढुङ्गेधाराहरू व्यक्तिगत घरपसलको अतिक्रमणमा परी हराएका वा छोपिएका छन् ।

१२. नेपालको गुठी व्यवस्थाअन्तर्गत परापूर्वकालदेखि पछिल्ला शताब्दी हुँदै केही दशकअघिसम्म सार्वजनिक हितका लागि राजा महाराजा, साहु महाजन, सर्वसाधारण व्यक्तिहरूले राखेको सम्पत्तिहरूको चरम दुरूपयोग र शोषण भएकाले सो अवस्थाको अन्त गरी यसको संरक्षण गरिनुपर्दछ भनी पटकपटक आवाज उठेको छ र सोबमोजिम आवश्यक कानूनी व्यवस्था हुँदै आएको पाइन्छ तर यो पर्याप्त भइसकेको पाइँदैन । यसै सन्दर्भमा "राष्ट्रको धार्मिक, सांस्कृतिक अवस्थाको उत्थान गरी सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरूको संरक्षण एवं सेवाभावलाई व्यापक पारी देशको विकासमा सबैले सहयोग पुर्‍याउनु पर्दछ भन्ने कुराको प्रेरणाको साथै तिनको अभिवृद्धिमा गुठीले गर्दै आएको योगदानलाई हेर्दा गुठी व्यवस्थालाई हरहालतमा संरक्षण, संवर्द्धन गर्नुपर्ने आवश्यक छ" भन्ने ठम्याई अत्यन्तै मननीय छ ।

१३. विश्वका कुनै पनि देशको अलग पहिचान र अस्तित्व देखाउने मुख्य आधार भनेकै त्यस देशको मौलिक कला र संस्कृति नै हो । त्यो कला र संस्कृति त्यो देशमा रहेको मौलिक धर्महरूसँग अन्योन्याश्रित रूपमा जोडिएको हुन्छ । नेपाल हेर्न आउने मानिसहरूले हाम्रो प्राकृतिक सम्पदासँगै नेपाल र नेपालीले सदियौंदेखि बचाइराखेको मौलिक कला, भेषभूषा, भाषा, गीत सङ्गीत, धर्म र सांस्कृतिक धरोहरको अवलोकन गर्न चाहन्छन् । आधुनिक सिमेन्टले बनेका कङ्क्रिट घर र बाटा नेपालमा भन्दा धेरै विकासित रूपमा अन्य विकसित देशहरूमा नै उपल्ब्ध रहेकाले त्यसको अवलोकन गर्ने रूचि उनीहरूमा रहन्न । उनीहरूका लागि सयौं वर्षदेखि बाँचेको नेपाली शैलीका मौलिक नेपाली वास्तुकला र संस्कृतिको अवलोकन अविस्मरणीय हुन जान्छ । यस्ता धरोहर रहेको मन्दिर, गुम्बा, चैत्यहरूको संरक्षण गुठी व्यवस्थाबाट सदियौंदेखि भइरहेको हुँदा त्यसको अझ प्रभावकारी व्यवस्थापन गरिनुपर्ने देखिन्छ ।

१४. परापूर्व कालदेखि सञ्चालन हुँदै आइरहेको गुठी प्रथा, धार्मिक, सांस्कृति परम्पराको साक्षी मात्र नभई ती सांस्कृति र परम्परालाई जीवन्त राख्ने उचित र अनुकूल अभ्यास पनि हो । गुठी जग्गा यदि फिल्डबुकमा गरिएको केरमेट त्रुटि वा केही गुठियारहरू वा सम्पूर्ण गुठियारहरूले हकदाबी छोडिदिएको आधारमा मात्र रैकरमा परिणत गर्दै जाने हो भने गुठीको अस्तित्व मात्र नभई धार्मिक र सांस्कृतिक परम्पराको अस्तित्वसमेत समाप्त हुने अवस्था आउन सक्दछ । निजी गुठीको सञ्चालन एवं भरणपोषणको दायित्व गुठियारहरूमा रहे पनि गुठी प्रथाको संरक्षण र संवर्द्धन गर्ने दायित्व अन्ततः नेपाल सरकार र यसअन्तर्गतका सरकारी निकायहरू मूलतः गुठी संस्थान र मालपोत कार्यालयमा रहेको छ । तसर्थः यदि कुनै जग्गालाई गुठी प्रयोजनको लागि छुट्याइएको छ भने उक्त जग्गा गुठीको नै रही गुठीको उद्देश्य परिपूर्तिका निम्ति नै प्रयोग गरिनुपर्दछ । यस विषयमा यस अदालतबाट पटक-पटक विवेचना भई विभिन्न नजिरहरूसमेत प्रतिपादन भएका छन् । सुन्दरलाल थारू विरूद्ध श्री गोरक्ष पात्रदेव सिद्ध रत्ननाथ मठ चौधेरा दाङसमेत रहेको मुद्दामा, "हाम्रो देशको सन्दर्भमा गुठी स्थापनाको प्रमुख उद्देश्य धर्म र संस्कृतिको रक्षा नै हो । धर्म र संस्कृतिकै रक्षाको अभीष्ट राखी राजादेखि रङ्कसम्मबाट विभिन्न काल खण्डमा विभिन्न जग्गा गुठी राखिएका हुन् । त्यसैले गुठी जग्गा धर्म संस्कृतिको रक्षा गर्ने एउटा सशक्त माध्यम हुने" भनी व्याख्या भएको पाइन्छ । जुन यस मुद्दाको हकमा समेत मननीय देखिन्छ ।

१५. अब पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन भन्ने तेस्रो प्रश्नतर्फ विचार गर्दा, पुनरावेदन अदालतको फैसला पूरै बदर गरी मालपोत कार्यालय, ललितपुरको मिति २०६५।११।२३ को निर्णयबमोजिम विवादित जग्गा रैकर कायम गरिपाउँ भन्ने पुनरावेदक / प्रतिवादी ज्यानीमाया डंगोलको मुख्य पुनरावेदन जिकिर रहेको छ भने सो निर्णय बदर गरी गुठी कायम गरी गुठियारहरूको नाउँमा साबिक दर्ता हुने गरी भएको ललितपुर जिल्ला अदालतको मिति २०६९।१०।२१ को फैसला सदर गरी सोलाई केही उल्टी गरी प्रमाण पुर्‍याएका बखत गुठियार कायम हुने गरी गुठीको नाममा दर्ता हुनेगरी भएको पुनरावेदन अदालत पाटनबाट मिति २०७२।०४।२४ मा भएको फैसला सो हदसम्म बदर गरिपाउँ भन्नेसमेतको पुनरावेदन / वादी बुद्धलाल श्रेष्ठसमेतको यस अदालतमा  पुनरावेदन परेको देखिन्छ ।

१६. यस सम्बन्धमा, माथिका प्रकारणहरूमा उल्लिखित तथ्य, प्रमाण तथा कानूनको आधारमा ललितपुर जिल्ला टिकाथली १ ‘ख’ कि.न. १२ को क्षेत्रफल ६-४-०-० को सम्पूर्ण जग्गा गुठीको रहेको फिल्डबुक बेहोरालगायतका प्रमाणहरूबाट प्रमाणित भएको हुँदा सोहीबमोजिम गुठी कायम हुनुपर्नेमा सोविपरीत रैकर मानी बुद्धरत्न शाक्यको नाउँमा नामसारी दर्ता गर्ने मालपोत कार्यालय ललितपुरको मिति २०६५।११।२३ को निर्णय तथा सोहीबमोजिम बुद्धरत्न शाक्यले पुनरावेदक / प्रतिवादी ज्यानीमाया डंगोललाई राजीनामा पास गरी बिक्री गरेको मिति २०६५।१२।०५ को कार्य कानूनविपरीत भनी बदर गर्ने गरी सुरू जिल्ला अदालतले गरेको निर्णय पुनरावेदन अदालतले सदर गरेको कानूनसम्मत हुँदा सदर हुने ठहर्छ । अब, गुठियारको नाउँमा दर्ता हुने वा गुठियारको प्रमाण पुर्‍याई आएपछि ठहर्ने गरी गुठीको नाउँमा मात्र दर्ता हुने भन्ने सम्बन्धमा सुरू जिल्ला अदालतले उक्त जग्गा गुठियारका नाउँमा फिराद दाबीअनुसार दर्ता हुने ठहर्छ भनेकोमा पुनरावेदन अदालत, पाटनको फैसलामा फिराद दाबीअनुसार वादी गुठियारहरूको नाउँमा दर्ता गर्ने गरी भएको सुरू अदालतको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई वादी दाबीको गुठीका जग्गामा गुठियार भएको प्रमाणअनुसार गुठियार जनिने र अरूमा सुरू अदालतको फैसला मिलेकोले सदर हुने ठहर्छ भनिएको छ । पुनरावेदक / प्रतिवादी ज्यानीमाया डंगोलको पुनरावेदक जिकिर नपुग्ने गरी पुनरावेदन अदालतको फैसला सदर हुने ठहर भइसकेपछि अर्का पुनरावेदक / वादीको सुरू जिल्ला अदालतको फिरादपत्रबमोजिम गुठियारहरूको नाममा गुठीको जग्गा दर्ता गर्ने गरी भएको फैसला केही उल्टी गरी गुठीको नाममा मात्र कायम गर्ने गरी भएको पुनरावेदन अदालतको फैसला सो हदसम्म नमिलेको हुँदा बदर गरी सुरू अदालतको फैसला कायम गरिपाउँ भन्ने सम्बन्धमा हेर्दा मिति २०६६।०२।१२ मा दुई जना गुठियार बाबुलाल श्रेष्ठ र पुरूषोत्तम श्रेष्ठको मात्र फिराद परेको देखिन्छ । गुठियार भनिएका सत्यमान श्रेष्ठ, विष्णुधर श्रेष्ठ र कुमुद श्रेष्ठले प्रतिवादी बुद्धरत्न शाक्यसँग मिलेमतोमा गुठीको हकदाबी छाडी जग्गा प्रतिवादीको नाउँमा दर्ता गरिदिए हुन्छ भन्नेसमेतको कागज मालपोत कार्यालयमा लेखी दिई गुठी विरूद्धको धर्मलोपमा साथ सहयोग पुर्‍याएको समेत देखिन्छ । अतः ललितपुर जिल्ला, टिकाथली १ ‘ख’ कि.नं. १२ को क्षे.फ. ६-४-०-० को सम्पूर्ण जग्गा लतिलपुर, सुन्धारा चालाछेंका कैल्हा श्रेष्ठहरूले आफ्ना पूर्वजहरूले चलाई आएको कुलपूजा, सोह्र श्राद्धलगायतका धर्म संस्कृति परम्पराको संरक्षण र निरन्तरताको लागि गुठीमा राखेको देखिएको र उल्लिखित गुठी जग्गाको आयस्ताबाट चलिआएको धर्म, संस्कृति, रीति परम्परा बचाउने के कति गुठियार रहेका छन् भन्ने प्रस्ट नखुलेको अवस्थामा गुठियारको नाउँमा गुठीको जग्गा दर्ता गरिदिनु भन्ने अवस्था रहेको नदेखिएको हुँदा सुरू अदालतको गुठियारको नाममा दर्ता गर्ने भन्ने फैसला सो हदसम्म नमिलेको हुँदा केही उल्टी गरी गुठियार प्रमाणित भई आएका बखत कायम भई सोहीबमोजिम गुठियार जनिने गरी हाल गुठीको कायम हुने गरी पुनरावेदन अदालत पाटनबाट भएको मिति २०७२।०४।२४ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ ।

१६. साथै, यसमा उल्लिखित निजी गुठीका कतिपय गुठियारले गुठी जग्गा मास्ने प्रयत्नमा सहयोग पुर्‍याएको र हाल के-को कति गुठियार छन् वा रहने हुन् भन्ने सम्बन्धमा प्रस्ट खुलेको नदेखिएको हुँदा आवश्यक सहजीकरण गरी गुठी संस्थान ऐन, २०३३ को दफा १९ ‘क’ बमोजिमको विवरण प्राप्त गर्न र आवश्यक परेमा दफा २० बमोजिमको निर्णय गरी धर्म, संस्कृति, परम्परा, रीतिथितिको रक्षा गर्न गुठी संस्थान प्रधान कार्यालयले अग्रसरता देखाउनुपर्ने भएको देखिँदा सोबमोजिम गर्न गुठी संस्थानलाई निर्देशन दिइएको छ । प्रस्तुत फैसलाको जानकारी गुठी संस्थान प्रधान कार्यालयसमेतलाई दिई फैसलाको प्रति विद्युतीय प्रणालीमा प्रविष्ट गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. हरिप्रसाद फुयाल

 

इजलास अधिकृत : मेजुमी गुरूङ / विकेश महर्जन 

इति संवत् २०७९ साल मङ्सिर २९ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु