शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४३५२ - उत्प्रेषणयुक्त परमादेश

भाग: ३३ साल: २०४८ महिना: पौस अंक:

निर्णय नं. ४३५२    ने.का.प. २०४८   अङ्क ९, १०

पूर्णइजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

सम्वत् २०४७ सालको रिट पूर्णइजलास नम्बर ५३

आदेश भएको मिति : २०४८।९।१८।५ मा

निवेदक/रिट निवेदक : का.जि.का.न.पा. वडा नं. ३२ डिल्लीबजार बस्ने डा.सरस्वती एम.पाध्ये

विरुद्ध

विपक्षी/प्रत्यर्थी : श्री लोकसेवा आयोग कमलपोखरीसमेत

विषय : उत्प्रेषणयुक्त परमादेश

(१)    रिट निवेदिकाले रा.प.प्रथम श्रेणीको पदमा बढुवा पाइसकेकोबाट रिट निवेदिकाको हक प्रचलन गराउनु पर्ने अवस्था बाँकी नरहेको हुँदा यस स्थितिमा रिटनिवेदनको औचित्यमा प्रवेश गरी निर्णय गरी रहन नपर्ने ।

(प्रकरण नं. १४)

(२)   रिट निवेदिकाले बढुवा पाइसकेको हुँदा रिटनिवेदन पत्रको औचित्यमा विचार गर्न नपरेको स्थितिमा निवेदिकाको पछि हुने बढुवाको लागि सम्भाव्य उम्मेदवार हुँदाको अवस्था रिटनिवेदनमा उल्लेखित शैक्षिक योग्यता वा त्यसको मान्यताको सम्बन्धमा प्रश्न उठेमा सोही अवस्था विचार हुन सक्ने नै हुँदा तत्काल त्यस सम्बन्धमा विचार गरी रहन नपर्ने ।

(प्रकरण नं. १५)

                        ने.का.प. भाग ३१, अङ्क ११, पृष्ठ ११०३ मा अघिल्लो पूर्णइजलासको निर्णय प्रकाशित

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री राजेन्द्र अधिकारी

प्रत्यर्थीतर्फबाट : विद्वान का.मु.मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट

आदेश

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     श्री ५ महाराजाधिराज सरकारका जुनाफमा सर्वोच्च अदालत पूर्णइजलासबाट मिति २०४६।११।३० गतेमा भएको निर्णय दोहराई पाउँ भनी न्यायिक समिति मार्फत डा.सरस्वती एम.पाध्येले चढाउनु भएको बिन्तिपत्र र न्यायिक समितिद्वारा चढाई पठाएको मिति २०४७।४।२१ गतेको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम न्यायिक समितिको सिफारिश अनुसार उक्त निर्णय दोहराई हेरी कानुनबमोजिम गर्नु भन्ने हुकुमबक्सेको (साविक पेज नं. ४६६) छ भनी मौसूफ सरकारका प्रमुख सचिवालयबाट मिति २०४७।५।१५ गतेमा लेखी आए अनुसार पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

२.    म निवेदिकाले एम.वि.वि.एस. डिग्री प्राप्त गरी २०२२।७।६ देखि नुवाकोट हेल्थ सेण्टरमा जेनरल हेल्थ सर्भिसेजको रा.प.प्रा.तृ.को लेडी डाक्टर पदमा अस्थायी नियुक्ति भई २०२४।२।१९ मा मेडिकल अधिकृतमा स्थायी भएको थिएँ । मैले अव्स्टे«टिशियन्स र गाइनोकोलोजिष्टमा डी.अव्स. आर.सी.ओ.जी. र एम.आर.सी.ओ.जी. पास गरेपछि २०३४।११।१८ मा नेपाल स्वास्थ्य सेवाको अव्स्टे«टिक्स तथा गाइनोकोलोजी समूहको रा.प.प्रा.द्वि.श्रेणीमा सेवा परिवर्तन साथ बढुवा २०३९।८।२२ मा कन्सल्टेण्टको दर्जा र अनुभवको आधारमा अमेरिकाबाट एफ.आई.सि.एस.को उपाधि पाई हाल प्रसूती गृह काठमाडौंमा कार्यरत छु । २०४४।१।३ को गो.प.मा प्रकाशित सूचना नं. १।०४४ को सि.नं.४ बाट २०४३ पौष मसान्तसम्म नि.से.नि.बमोजिम नोकरी अवधि पुगेका सामान्य उम्मेदवारबाट स्वास्थ्य सेवाको अव्स्टे«टिक्स तथा गाइनकोलोजी समूहको रा.प.प्र.श्रेणीको पद १ बढुवाद्वारा पदपूर्ति गर्ने दर्खास्त माग हुँदा र म निवेदिका न्यूनतम शैक्षिक योग्यताको भई सम्भाव्य उम्मेदवार समेत भएकोले रीतपूर्वक दर्खास्त गरेकी थिएँ । २०४४।८।१७ गतेको गोरखापत्रमा प्रकाशित बढुवा समितिको सूचनामा २०४४।८।१३।१ मा बसेको बढुवा समितिको बैठकले योग्यता क्रमले नं.१ मा डा.श्रीमती लक्ष्मीनानी श्रेष्ठलाई प्राप्ताड्ढ २४९.५७७ को आधारमा बढुवा गरी नि.से.नि., २०२१ को नियम ५(९) र (१०) को प्रयोजनार्थ सूचना प्रकाशन गरेको कुरा उल्लेखित छ । विपक्षी बढुवा समितिको निर्णय चित्त नबुझी म्यादभित्र नि.से.नि., २०२१ को परिच्छेद ३ नि. ५(९) र (१०) बमोजिम लोकसेवा आयोगमा उजूरी दिएकी थिएँ । विपक्षी लोकसेवा आयोगको २०४४।१०।१८ गतेको निर्णयानुसार बढुवा समितिको नै निर्णय मान्य ठहराई पछि हुने बढुवामा मेरो प्राप्ताड्ढबाट ५ अंक घटाउने निर्णयपत्र प्रतिलिपिबाट नदेखिँदा मेरो उजूरी आधारहिन ठहर्‍याउन सकेको छैन । म निवेदिकाको लोकसेवा आयोगको उजूरीमा विपक्षी डा.लक्ष्मीनानी श्रेष्ठको आवश्यक शैक्षिक योग्यता तथा सम्भाव्य उम्मेदवार नभई मेरो शैक्षिक योग्यता तथा आवश्यक अन्य योग्यता पुगेको कुरा उल्लेख गरेको थिएँ । नेपाल स्वास्थ्य सेवा पनि निजामती सेवा नै भई निजामती सेवा नियमावली प्रयुक्त हुने भई नियम २.५(६)(क) ले निजामती सेवाको कुनै पनि पदमा प्रवेश गर्न आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता र सो भन्दा माथिको एक शैक्षिक उपाधि बापतको मात्र अंक दिइने उल्लेख छ । उक्तानुसार नेपाल स्वास्थ्य सेवा समूह तथा श्रेणी विभाजन नियुक्ति र बढुवा नियमहरु, २०३३ को नियम ३(२) ले अनुसूची १ बमोजिम समूह विभाजन गरेको र नियम ५(१), ५(५) ले प्रत्येक समूहमा नियुक्तिको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता अनुसूची २ मा तोकिए बमोजिम हुने उल्लेख छ । उक्तानुसार अनुसूची १ को क्रम संख्या १० मा अब्स्टे«टिक्स तथा गाइनोकोलोजीको संयुक्त समूहको उल्लेख छ भने अनुसूची २ को क्र.सं. १० मा सो समूहका निमित्त आवश्यक न्यूनतम योग्यतामा एम.वि.वि.एस.पछि (क) एम.डी. (गाइनो) वा (ख) एम.ओ.वा (ग) एम.आर. सी.ओ.जी.वा (घ) एफ.आर.सी.एस. (अब्स एण्ड गाइनो) वा (ङ) डि.एब्स.वा (च) आधारभूत शैक्षिक योग्यता एम.डी. पछि अब्स्टे«टिक्स एण्ड गाइनोकोलोजीमा प्रमाणपत्र प्राप्त भन्ने उल्लेख भएकोमा (१) आधारभूत शैक्षिक योग्यता नै स्वतः समूहको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता नहुने स्पष्ट छ । अब्स्टे«टिक्स तथा गाइनोकोलोजी समूह भिन्ना भिन्नै विषयको संयुक्त समूह अनुसार सो दुबै विषय ढाक्ने शैक्षिक योग्यतामात्र सो समुहको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता हुन सक्ने तथ्य स्पष्ट छ । तसर्थ अब्स (साविक पेज नं. ४६७) वा गाइनो तर्फको शैक्षिक योग्यता अव्स्टे«सटिक्स तथा गाइनोकोलोजी समूहका लागि न्यूनतम शैक्षिक योग्यता होइन । एम.डी. वा एम.एस. भए पनि हुने विषयको हुनुपर्छ । सो अनुसूचीमा डी.अव्स. भनी समावेश हँुदैमा डि.अव्स.आर.सी.ओ.जी. र डी.अव्स.आर.सी.पी. समेत समाविष्ट भएको मान्न सकिन्न । यो त सिर्फ प्रसूति सम्बन्धी ६ महीने डिप्लोमा मात्र गरेकी छन् । तर मैले २१२ वर्ष एम.आर.सी.ओ.जी. को स्नातकोत्तर उपाधी प्राप्त गरेकी छु । त्रि.वि.वि.ले एम.आर.सी.ओ.जी. लाई एम.एस. सरह स्नातकोत्तरको मान्यता दिएको छ । विपक्षी डा.लक्ष्मीनानीले अब्स्टे«टिक्स तथा गाइनोकोलोजी समूहमा प्रवेश पाएको तर्फको सम्बन्धमा न्यूनतम शैक्षिक योग्यता नै नपुगेकोले समूहमा नियुक्ति प्रवेश र बढुवाको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता हुनसक्ने होइन । यस सम्बन्धमा मलाई पहिला प्रतिकूल असर नपरेकोले कुनै पोल उजूर गर्न पाउने होइन । स्वास्थ्य सेवा नियम ४(२) ले पनि विपक्षी डा.लक्ष्मीनानीले न्यूनतम शैक्षिक योग्यताको अभावमा बढुवा पाउन सक्दैन । २०४२।२।३१ गतेको नेपाल राजपत्र अं. १७(क) मा प्रकाशित विपक्षी स्वास्थ्य मन्त्रालयको सूचना पनि गैरकानुनी छ तसर्थ विपक्षहरुको काम कारवाहीले मेरो संविधान प्रदत्त हकमा नै आघात पारेकोले विपक्षीहरुको कारवाहीलाई शुन्य घोषित गरी रिटको अन्तिम टुंगो नलागेसम्म विपक्षी डा.लक्ष्मीनानी श्रेष्ठलाई बढुवा पत्र समेत नदिनु भन्ने आदेश समेत जारी गरी पाउँ भन्ने समेतको रिटनिवेदन पत्र ।

३.    यसमा के कसो भएको हो प्रत्यर्थीबाट लिखितजवाफ आएपछि वा म्याद नाघेपछि कानुन बमोजिम पेश गर्नु भन्ने समेतको एक न्यायाधीशको इजलासको आदेश ।

४.    यसमा नेपाल स्वास्थ्य सेवा (समूह तथा श्रेणी विभाजन नियुक्ति बढुवा) नियमहरु, २०३३ को नियम ४ बमोजिम न्यूनतम् योग्यता पुगेका कर्मचारी मध्येबाट पूर्ति गरिने भन्ने स्पष्ट उल्लेख भई डा.लक्ष्मीनानी श्रेष्ठको शैक्षिक योग्यता आवश्यकता अनुसारको एम.वि.वि.एस. पछिको डि.अव्स.आर.सी.ओ.जि.नै देखिन्छ । यसरी निज डा.लक्ष्मीनानी श्रेष्ठ समेत आवश्यक शैक्षिक योग्यता भित्र परेकोले रिट निवेदकको माग निराधार भएकोले रिटनिवेदन खारेज होस भन्ने समेतको लोकसेवा आयोगको लिखितजवाफ रहेछ ।

५.    यसमा डा.लक्ष्मीनानी श्रेष्ठले उत्तीर्ण गर्नु भएको डि.अव्स.आर.सी.ओ.जी.लाई लोक सेवा आयोगले स्नातकोत्तर र विपक्षी डा.सरस्वती पाध्यले उत्तीर्ण गर्नुभएको एम.आर.सी.ओ.जी.लाई सेवाकालीन स्नातकोत्तर सरह नै मान्यता दिएकोले निवेदन जिकिर फजुल छ । उजूर आधारहीन ठहरिए बापत घट्ने अंक ५ का सम्बन्धमा लोकसेवा आयोगबाट छुट्टै पत्र आउने भएकोले सो कुरा जानकारी पत्रमा नखुलेको हो नेपाल राजपत्र भाग ३ अं.रि. ९(क) २०३३।३।३१ गतेको स्वा.मं. को सूचना कानुन बमोजिम छ । अतः डा.लक्ष्मीनानी श्रेष्ठको बढुवा आधारयुक्त भएकोले रिटनिवेदन पत्र खारेज होस भन्ने समेतको बढुवा समिति स्वास्थ्य मन्त्रालयको लिखितजवाफ रहेछ ।

६.    मैले मिति २०२०।४।२७ गते देखि मेडिकल अफिसरको पदमा शुरु नियुक्ति भई अब्स्टे«टिक तथा गाइनोकोलोजी समूहको द्वितीय श्रेणीमा मिति २०२९।६।१६ गतेमा पदोन्नती भई हाल प्रसूती गृह काठमाडौंमा छु । नेपाल स्वास्थ्य सेवा (समूह तथा श्रेणी विभाजन नियुक्ति र बढुवा) नियमहरु, २०३३ बमोजिम मैले पाएको डी.अब्स.आर.सी.ओ.जी.उक्त पदको बढुवाका लागि पर्याप्त छ । बढुवा समितिले सम्पूर्ण कुराहरुको मूल्यांकन गरी प्रचलित ऐन नियम कानुन बमोजिम गरेको निर्णयले विपक्षको कुनै मौलिक हकमा असर नपारेकोले रिटनिवेदनपत्र खारेज होस भन्ने समेतको डा.लक्ष्मीनानी श्रेष्ठको लिखितजवाफ रहेछ ।

७.    यसमा लोकसेवा आयोग प्रकाशन शाखाको (साविक पेज नं. ४६८) मिति २०४४।१।१३ को गोरखापत्रमा प्रकाशित सूचना नं. १।०४४ को सि.नं. ४ मा अव्स्टे«टिक तथा गाइनोकोलोजी समूहको १ पद बढुवाद्वारा पूर्ति गर्ने सम्बन्धको सूचना प्रकाशित भई सो पदमा निवेदिका सरस्वती एम.पाध्या र विपक्षी लक्ष्मीनानी श्रेष्ठ समेतले बढुवा फर्म भरेकोमा विवाद देखिँदैन । सो पदमा डा.लक्ष्मीनानी श्रेष्ठलाई बढुवा सिफारिश गर्ने गरी मिति २०४४।८।१३।१ मा बसेको बढुवा समितिले निर्णय गरेको भन्ने कुरामा पनि पक्ष विपक्षीमा मुख मिलेकै देखिन्छ । उल्लेखित विज्ञापन बमोजिमको पदमा बढुवा सिफारिश हुने योग्यता लक्ष्मीनानीको पुगेको छैन म बढुवा सिफारिश हुन पर्ने हो भन्ने समेतको निवेदिकाका निवेदन जिकिर रहेको देखिन आएकोले सो बढुवा समितिले सिफारिश गरेको कानुन अनुकूल छ छैन सो नै विचार गर्नु पर्ने हुन आएको छ ।

८.    विपक्षी बढुवा समिति समेतबाट पेश भएको लिखितजवाफबाट डा.सरस्वती एम.पाध्याको योग्यता एम.वि.वि.एस.पछि डि.अब्स.आर.सि. ओ.जि., एम.आर.सि.ओ.जी. र डा.लक्ष्मीनानी श्रेष्ठको योग्यता एम.वि.वि.एस. पछि डि.अब्स. आर.सि.ओ.जी., भएको देखिन्छ । निवेदिकाको निवेदन पत्रमा आफ्नो एम.आर.सि.ओ.जि. डिग्री सरहको हो र विपक्षीको आर.सि.ओ.जि. डिग्री नभएको भन्ने जिकिर लिएको पाइन्छ । सो सम्बन्धमा मिसिल संलग्न शिक्षाध्यक्षको कार्यालयबाट मान्यता प्रमाणित गरी दिएको २०४१।३।४ को कागजको प्रतिलिपि हेर्दा रोयल कलेज अफ अब्स्टे«टिक्स एण्ड गाइनोकोलोजी यू.के.को डी.अब्स.आर.सि.ओ.जि. र एम.आर. सि.ओ.जि. उपाधिलाई यस त्रि.वि.वि.ले क्रमशः चिकित्साशास्त्र विषय क्षेत्रको पोष्टग्राजुयट डिप्लोमा र एम.एस.डिग्री सरह मान्यता दिएको प्रमाणित गरिन्छ भनी उल्लेख गरेको देखिन्छ । सो प्रमाणित कागजबाट निवेदिकाले एम.वि.वि.एस. डिग्री सरहको योग्यता हासिल गरेको र विपक्षी लक्ष्मीनानीले एम.वि.वि.एस. पछि पोष्ट ग्राजुएट डिप्लोमा सरह योग्यता हासिल गरेको देखिन आयो । विपक्षी लक्ष्मीनानीले डि.अब्स. मात्र गरेको देखियो जबकी विज्ञापनमा माग गरिएको अब्स्टे«टिक तथा गाइनोकोलोजी समूहको पद हो गाइनोकोलोजीमा लक्ष्मीनानीले डिग्री प्राप्त गरेको देखिएको छैन । विपक्षी बढुवा समितिको लिखितजवाफ प्रकरण नं. ४ को अन्तमा लोकसेवा आयोगको नियम अनुसार शैक्षिक योग्यता बापत दुवैलाई समान अड्ढ दिइएको भन्ने उल्लेख भएबाट निवेदिकालाई र विपक्षीलाई शैक्षिक योग्यताको समान अड्ढ दिएको देखियो जुन कानुनतः मिल्ने देखिएन । यस्तो अवस्थामा विपक्षी बढुवा समितिले डा.लक्ष्मीनानी श्रेष्ठलाई बढुवा सिफारिश गर्ने गरेको निर्णय मिलेको नदेखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब पुनः कानुन बमोजिमको प्रकृया पूरा गरी उक्त पदमा बढुवा सिफारिश गर्नु भनी विपक्षी बढुवा समितिको नाममा परमादेशको आदेश जारी हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय ।

९.    यसमा रा.प.प्रथम श्रेणीको अब्स्टे«टिक तथा गाइनोकोलोजी समूहको १ पदमा बढुवाको लागि सम्भाव्य उम्मेदवार भई विपक्षी लक्ष्मीनानी श्रेष्ठले फर्म भरेकोमा सबैभन्दा बढी अंक प्राप्त गरेको भनी बढुवा समितिले निजको नाम सिफारिश गरेकोमा विवाद छैन । लक्ष्मीनानीको शैक्षिक योग्यता नै नपुगेकोले सो बमोजिम सिफारिश हुन पर्ने होइन मेरो सिफारिश हुन पर्ने हो भन्ने समेतको निवेदिकाको जिकिर देखिन्छ । निवेदिकाको जिकिर मनासिब बेमनासिब के रहेछ भनी हेर्दा डा.लक्ष्मीनानी र निवेदिका मात्र उक्त पदमा सम्भाव्य उम्मेदवार भएको देखिँदैन । अन्य उम्मेदवारहरु समेत १० जना सम्भाव्य उम्मेदवार भएको देखिन्छ, लक्ष्मीनानीको बढुवा सिफारिश बदर भएको खण्डमा निवेदिकाले नै अरु उम्मेदवार भन्दा बढी अंक प्राप्त गरेको भएमा मात्र निवेदिकाको हक हितमा असर पर्ने स्थिति हुन्छ अन्यथा निवेदिकाको हक हितमा असर परेको सम्झन मिल्दैन । महान्यायाधिवक्ताको कार्यालय मार्फत झिकाई आएको बढुवा समितिको सक्कलै फायल हेर्दा डा.लक्ष्मीनानीको २४९.५७७ अंक भएको र सो भन्दा अगावै पछि डा. (साविक पेज नं. ४६९) प्रमिला शर्माको २४९.००७ भएको देखियो । निवेदिकाको नम्बर पाँचौ क्रममा भएको देखिन्छ । अन्य उम्मेदवारहरुको सम्बन्धमा निवेदिकाले जिकिर लिनसकेको छैन । आफ्नो हक हितमा असर पर्ने व्यक्तिको मात्र रिटनिवेदन दिने अधिकार हुन्छ । स्पष्ट हकदैयाको अभावमा रिट क्षेत्रबाट उपचार प्रदान गर्न सकिँदैन, डा.लक्ष्मीनानी श्रेष्ठको बढुवा सिफारिश गैरकानुनी छ भन्ने अन्य उम्मेदवारको रिटनिवेदन पर्न आएको देखिँदैन । बढुवा समितिले गरेको सिफारिश बदर भएको खण्डमा निवेदिकाले नै बढुवा सिफारिश पाउने स्थिति नरहेबाट निरर्थक अभ्यासको लागि रिट अधिकार क्षेत्रको प्रयोग गर्न मिल्दैन उक्त माथि पनि निवेदिकाको नै बढुवा सिफारिश हुन सक्ने स्थिति नै रहेको भए पनि डा.लक्ष्मीनानी श्रेष्ठको विज्ञापन बमोजिमको पदमा बढुवा हुने निम्नतम योग्यता नै छैन भन्ने निवेदिकाको जिकिरतर्फ हेर्दा लक्ष्मीनानीले एम.वी.वी.एस. पछि डी.अव्स.आर.सि.ओ.जि.योग्यता प्राप्त गरेको देखिन्छ साथै २०२९।६।१६ मा अव्स्ट्रेटिक तथा गाइनोकोलोजी समूहको द्वितीय श्रेणीमा पदोन्नती भई काम गर्दै आएको देखिन्छ । अब्स्टे«टिक तथा गाइनोकोलोजी समूहमा नै द्वितीय श्रेणीमा काम गरी सम्भाव्य उम्मेदवार भएका व्यक्तिको सो सम्बन्धी आवश्यक शैक्षिक योग्यता छैन भन्न मिल्ने हुँदैन । शैक्षिक योग्यताको स्तर सम्बन्धमा कुन को के स्तर हुने भन्ने जस्तो कुरा अदालतले निर्धारण गर्ने कुरा पनि होइन । बढुवा सिफारिश गर्दा शैक्षिक योग्यता बापतको ३६।३६ बराबर अंक दिएको देखिन्छ । विज्ञापनमा अव्स्टे«टिक तथा गाइनोकोलोजी समूह अन्तर्गतको प्रथम श्रेणीको माग गरेकोमा सो पदको लागि तोकिएको आवश्यक शैक्षिक योग्यता मध्ये डी.अव्स. पनि हो जुन डा.लक्ष्मीनानी श्रेष्ठले पाएकै योग्यता देखिन्छ, यसर्थ बढुवा समितिले कानुन बमोजिम गरी लक्ष्मीनानी श्रेष्ठलाई उक्त पदमा बढुवा गर्ने गरी गरेको सिफारिश मिलेकै देखिँदा रिटनिवेदनपत्र खारेज हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भएको सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४५।९।१३ गतेको आदेश ।

१०.    यसमा अव्स्टे«टिक्स तथा गाइनोकोलोजी समूहको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता सम्बन्धी व्यवस्था हेर्दा नेपाल राजपत्र मिति २०३३।३।१ भाग ३, अतिरिक्ताड्ढ ९(क) मा प्रकाशित नेपाल स्वास्थ्य सेवा (समूह तथा श्रेणी विभाजन नियुक्ति र बढुवा) नियमहरु, २०३३ को नियम ५(५) संग सम्बन्धित अनुसूची २ क्रमसंख्या १० मा उल्लेखित शैक्षिक योग्यताहरु मध्ये कुनै एक योग्यता भएमा सो समूहको लागि आवश्यक शैक्षिक योग्यता पुगेको मानिने गरी व्यवस्था भए मध्ये डि.अब्स.पनि एक रहेको र सो योग्यता प्रत्यर्थी डा. लक्ष्मीनानी श्रेष्ठले प्राप्त गरेकै देखिन्छ । त्रि.वि.चिकित्सा शास्त्र अध्ययन संस्थान एजुकेशन सपोर्ट सेन्टरमा गठित स्तर निर्धारण समितिको मिति २०४५।९।१२ गतेको निर्णयबाट निवेदिकाले प्राप्त गरेको एम.आर.सी.ओ.जी.लाई डि.अब्स.आर.सि.ओ.जि. भन्दा एक तह माथिको शैक्षिक योग्यता मान्न मिल्ने हो होइन विवादास्पद नै रहेको देखिन्छ । बढुवा फाइलबाट प्रत्यर्थी डा.लक्ष्मीनानी श्रेष्ठको समष्टिगत अंक २४९.५७७ छ भने निवेदिकाको समूच्चा अंक २३०.९७७ मात्र भएको देखिन्छ । निवेदिकाको जिकिर अनुसार एम.आर.सि.ओ. जि.लाई एक तह माथिको शैक्षिक योग्यता मानी त्यस बापत पाउनु पर्ने भनिएको १७ अंक निवेदिकाको अंकमा जोडी गणना गर्दा पनि निवेदिकाको हकमा जम्मा २४७.९७७ अंक हुन आउने हुँदा त्यसबाट समेत निवेदिकाको हकमा अंकको आधारमा ज्येष्ठता कायम हुन सक्ने देखिएन । तसर्थ प्रस्तुत विवादमा निवेदिकाको अंकको आधारमा ज्येष्ठता कायम हुनसकेको नदेखिएकोले उक्त बढुवाबाट निवेदिकाको हकमा कुनै असर परेको नदेखिँदा रिटनिवेदनपत्र खारेज हुने ठहराएको संयुक्तइजलासका माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय (साविक पेज नं. ४७०) मनासिब ठहर्छ भन्ने समेत सर्वोच्च अदालत पूर्णइजलासको मिति २०४६।११।३० गतेको निर्णय आदेश ।

११.    श्री ५ महाराजाधिराज सरकारका जुनाफमा न्यायिक समिति मार्फत उक्त मुद्दा दोहराई पाउँ भनी रिट निवेदिकाले चढाएको बिन्तिपत्र र यसबारे न्यायिक समितिद्वारा चढाई पठाएको मिति २०४७।४।२१ गतेको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम न्यायिक समितिको सिफारिश अनुसार उक्त निर्णय दोहोराई हेरी कानुन बमोजिम गर्नु भन्ने हुकुम बक्सेको छ भनी मौसूफ सरकारका सचिवालयबाट मिति २०४७।५।१५ मा लेखी आए अनुसार पूर्णइजलासको लगतमा दर्ता भएको रहेछ ।

१२.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदिका तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री राजेन्द्र अधिकारीले निवेदिका डा.सरस्वती एम. पाध्याले श्री ५ को सरकारको मिति २०४८।६।१४ गतेको निर्णय अनुसार रा.प. प्रथम श्रेणी (सहसचिव स्तर) को पदमा बढुवा पाउनु भएको हो । तर निवेदिकाको शैक्षिक योग्यताको मूल्यांकन भई पाउनु पर्ने नम्बर पाउनु पर्दछ । अन्यथा पछि पाउने बढुवाको सम्बन्धमा समेत त्यसले प्रभाव गर्छ भन्ने समेत बहस गर्नु भयो । प्रत्यर्थी श्री ५ को सरकार स्वास्थ्य मन्त्रालय समेतको तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान का.मु.मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले निवेदिकाले प्रथम श्रेणीको पदमा बढुवा पाई मिति २०४८।६।२८ गतेमा पत्र बुझी सक्नु भएको हुँदा प्रस्तुत रिटबाट हक प्रचलन गराई रहन पर्ने नहुँदा रिटनिवेदनपत्र खारेज गरेको पूर्णइजलासको निर्णय सदर हुनुपर्दछ भनी बहस गर्नु भयो ।

१३.   यसमा आज निर्णय सुनाउन तोकिएको प्रस्तुत रिटनिवेदनमा निर्णयतर्फ हेर्दा स्वास्थ्य सेवाको अव्स्टे«टिक्स तथा गाइनोकोलोजी समूहको रा.प.प्र.श्रेणीको पद १ बढुवाद्वारा पूर्ति गर्न दर्खास्त माग हुँदा आवश्यक न्यूनतम शैक्षिक योग्यतामा सेवा सम्बन्धी राजपत्रमा उल्लेख भए अनुसार भन्ने उल्लेख भएको रहेछ । म निवेदिका नेपाल स्वास्थ्य सेवाको अव्स्टे«टिक्स तथा गाइनोकोलोजी समूहको रा.प.द्वितीय श्रेणीमा ८ वर्ष भन्दा बढी सेवा गरी सकेको र शैक्षिक योग्यताको एम.आर.सी.ओ.जी.को डिग्रीप्राप्त उम्मेदवार भएकोले दर्खास्त गरेकोमा विपक्षी डा.लक्ष्मीनानी श्रेष्ठलाई बढुवाकोलागि सिफारिश गरी निजको अव्स्टे«टिक्स सम्बन्धी ६ महीने डी.अब्स.आर.सी.ओ.जी. डिप्लोमा मात्र प्राप्त गरेकी छिन् । न्यूनतम शैक्षिक योग्यता प्राप्त म निवेदिकालाई बढुवा सिफारिश नगरी न्यूनतम शैक्षिक योग्यता प्राप्त नगरेको विपक्षी डा.लक्ष्मीनानी श्रेष्ठलाई रा.प.प्रथम श्रेणीमा बढुवा सिफारिश गर्ने विपक्षी बढुवा समितिको मिति २०४४।८।१३ गतेको निर्णय, स्वास्थ्य मन्त्रालयको मिति २०४५।८।१७ गतेको गोरखापत्रमा प्रकाशित सूचना, विपक्षी लोकसेवा आयोगको मिति २०४४।१०।१८ गतेको निर्णय र सो निर्णयानुसार लेखेको मिति २०४४।१०।२१ गतेको पत्र र बोधार्थ समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी म निवेदिकालाई बढुवा गर्न विपक्षीहरुका नाममा परमादेश जारी गरी पाउँ भन्ने समेत रिट निवेदिकाले जिकिर लिएको देखिन्छ ।

१४.   प्रत्यर्थीतर्फबाट बहस गर्न उपस्थित विद्वान का.मु.मुख्य न्यायाधिवक्ताले आफ्नो बहसको सिलसिलामा रिट निवेदिका डा.सरस्वती एम.पाध्याले श्री ५ को सरकारको मिति २०४८।६।१४ गतेको निर्णयानुसार रा.प.प्रथम श्रेणीको पदमा बढुवा पाइसक्नु भएको भनी भन्नु भएकोमा रिट निवेदिकाको तर्फबाट कुनै विवाद नउठाई बढुवा भएको कुरा स्वीकारेको पाइन्छ । रिट निवेदिकाले रा.प.प्रथम श्रेणीमा बढुवा पाउने हक प्रचलनको लागि आफ्नो रिटनिवेदनमा जिकिर लिनु भएको हो । त्यो हक रिट निवेदिकाले सो रा.प.प्रथम (साविक पेज नं. ४७१) श्रेणीको पदमा बढुवा पाइसकेकोबाट रिट निवेदिकाको सो हक प्रचलन गराउनु पर्ने अवस्था बाँकी नरहेको हुँदा यस स्थितिमा रिटनिवेदनपत्रको औचित्यमा प्रवेश गरी निर्णय गरी रहन परेन ।

१५.   अब रिट निवेदिकातर्फका विद्वान अधिवक्ताले निवेदिकाको शैक्षिक योग्यताको मूल्यांकन भई पाउनु पर्ने नम्बर पाउनु पर्दछ अन्यथा पछि पाउने बढुवाको सम्बन्धमा समेत त्यसले प्रभाव गर्छ भन्ने बहस जिकिरका सम्बन्धमा रिट निवेदिकाले बढुवा पाइसकेको हुँदा प्रस्तुत रिटनिवेदनपत्रको औचित्यमा विचार गर्न नपरेको स्थितिमा निवेदिकाको पछि कुनै बढुवाको लागि सम्भाव्य उम्मेदवार हुँदाको अवस्था रिटनिवेदनमा उल्लेखित शैक्षिक योग्यता वा त्यसको मान्यताको सम्बन्धमा प्रश्न उठेमा सोही अवस्था विचार हुन सक्ने नै हुँदा तत्काल त्यस सम्बन्धमा विचार गरी रहन पर्ने समेत नदेखिएकोले प्रस्तुत रिटनिवेदनपत्र खारेज गरेको हदसम्म सर्वोच्च अदालत पूर्णइजलासको निर्णय मनासिब ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

उक्त रायमा हामीहरु सहमत छौं । न्या.गजेन्द्रकेशरी बास्तोला, न्या.ओमभक्त श्रेष्ठ, न्या.लक्ष्मणप्रसाद अर्याल, न्या.केदारनाथ उपाध्याय

इतिसम्वत् २०४८ साल पौष १८ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु