निर्णय नं. ११३२० - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कुमार रेग्मी
माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
फैसला मिति : २०८०।५।४
०७६-CR-०४६४
मुद्दाः कर्तव्य ज्यान
पुनरावेदक / प्रतिवादी : खोटाङ जिल्ला, बासपानी गा.वि.स. वडा नं.५ बस्ने लछुराम राईको छोरा असिम राई
विरूद्ध
प्रत्यर्थी / वादी : खोटाङ जिल्ला, फेदी गा.वि.स. वडा नं.३ बस्ने बमबहादुर राईको छोरा हर्कराज राईको जाहेरीले नेपाल सरकार
प्रतिवादीले अदालतमा बयान गर्दा कसुरमा इन्कार रहेको र जाहेरवालाले अदालतमा बकपत्र गर्दा प्रतिकूल बकपत्र गरेको भन्ने मात्र आधारमा कुनै प्रतिवादीले कसुरबाट सफाइ पाउँछ भन्न नमिल्ने । कुनै मुद्दामा के के प्रमाण छन् भन्ने हेर्नुपर्दा प्रतिवादीको बयान र जाहेरवालाको बकपत्र पनि प्रमाणको श्रृङ्खलाभित्र पर्ने कुरा हुन सक्ला तर प्रतिवादीको अदालतमा इन्कारी बयान भएको र जाहेरवालाले प्रतिकूल बकपत्र गरेको भन्ने कुरालाई यान्त्रिक रूपमा हेरी यी प्रमाणहरू प्रतिवादीको पक्षमा रहेको भन्ने आधारमा मात्र सफाइ पाउन नसक्ने । कुनै प्रतिवादीलाई लागेको अभियोग माग दाबीबमोजिमको कसुर निजले गरेको देखिन्छ वा देखिँदैन भन्ने सम्बन्धमा विचार गर्नुपर्दा कुनै खास प्रमाण विशेषलाई मात्र आधार मान्ने टुक्रे दृष्टिकोणलाई न्यायको रोहमा स्वीकार्य मान्न नसकिने । मिसिल संलग्न समग्र प्रमाणहरूको मूल्याङ्कनबाट निष्कर्षमा पुग्ने मान्यता नै न्याय सम्पादनको मान्यता हुने ।
सामान्यतयाः कुनै कसुरको अभियोग लागेको व्यक्ति कसुरमा इन्कार रहनुलाई अस्वाभाविक मान्न नसकिने । आफूले कसुर स्वीकार गर्दा बेहोर्नुपर्ने फौजदारी दायित्वबाट उन्मुक्तिका लागि इन्कार रहनु स्वाभाविकै हुने । तर यही स्वाभाविकताका बिचमा पनि कुनै व्यक्ति निजलाई लगाइएको अभियोगमा साबित हुन्छ भने त्यो पक्ष विचारणीय हुन्छ र अन्यथा प्रमाणित नभएसम्म यस्तो साबितीलाई मूल्यवान् प्रमाणको रूपमा लिनुपर्ने । किनभने यहाँनिर साँचो नभई आफैँउपर फौजदारी दायित्व आइपर्ने गरी कोही पनि साबित हुँदैन भन्ने मान्यता राख्ने गरिने । यसैले साबितीलाई प्रमाणमा लिने व्यवस्था गरिनुको पछाडि पनि साबित भयो भन्ने तथ्य महत्त्वपूर्ण नभएर त्यस्तो साबिती साँचो हुन्छ भन्ने तथ्य महत्त्वपूर्ण रहने ।
(प्रकरण नं.४)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता प्रा.डा. श्री रञ्जितभक्त प्रधानाङ्ग र विद्वान् अधिवक्ता श्री प्रज्वल पौडेल
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री श्यामप्रसाद दाहाल
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्नेः
मा. जिल्ला न्यायाधीश श्री किशोर घिमिरे
खोटाङ जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
मा. न्यायाधीश श्री विदुर बिक्रम थापा
मा. न्यायाधीश श्री शालिग्राम कोइराला
उच्च अदालत विराटनगर, अस्थायी
इजलास ओखलढुङ्गा
फैसला
न्या.तिलप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः
मुद्दाको संक्षिप्त तथ्य
मेरो छोरा मनकुमार राई मिति २०७२।०९।०८ गतेका दिन बाक्सिला बजार भरी साथीहरूसँग आफ्नो घरतर्फ फर्कने क्रममा बेलुकी अं. ०७:३० बजेको समयमा खोटाङ जिल्ला बासपानी-५ ढोकाडाँडा भन्ने स्थानमा आउँदै गर्दा असिम राईसमेतका व्यक्तिहरूले वादविवाद कुटपिट, हातपात गरी घाइते बनाएकोमा सोही दिनदेखि निज छोरा हराएको र निजको गाउँघर, छिमेकी, नातागोतासमेतमा खोजतलास गर्दा फेला नपरेकोले निज असिम राईलगायतका व्यक्तिहरूले नै बेपत्ता बनाएको हुँदा खोजतलास गरिपाउँ भन्नेसमेत बेहोराको हर्कराज राईले मिति २०७२।०९।१४ मा जिल्ला प्रहरी कार्यालय खोटाङमा दिएको हुलिया निवेदन ।
जिल्ला खोटाङ, बासपानी गा.वि.स. वडा नं.५ स्थित पूर्वमा सूर्यकला राई (लिम्बू) को कोदो बारी, पश्चिममा नौलाख राईको घर, उत्तरमा उमेश राईको घर तथा दक्षिणमा दिनेश राईको घर यति चार किल्लाभित्र रहेको योगेश राईको पसलअगाडिको बाटो, सोही बाटोमा असिम राईसमेतका व्यक्तिहरूले मनकुमार राईलाई सामान्य विवादमा निर्घात कुटपिट गरी लखेट्दै जंगलतिर लगेको भन्नेसमेत बेहोराको मिति २०७२।०९।१५ मा भएको घटनास्थल मुचुल्का ।
जिल्ला खोटाङ बासपानी-४ स्थित पूर्वमा मया चौतारा, पश्चिममा मुसले धारा, उत्तर र दक्षिणमा दिपक राईको पाखो बारी यति चार किल्लाभित्र रहेको बाक्सिलाबाट खार्ताम्छा जाने पुरानो कच्ची गोरेटो बाटो, सोही बाटोमा मनकुमार राईको मृत लास उत्तानो अवस्थामा रहेको, नाकबाट रगत निस्केको, बान्ता गरेको, घाँटी लुलो अवस्थामा रहेको, पेट, हात, खुट्टा, अनुहार आदिमा चोटपटक रहेको, भुइँमा रगत बगी सुकिसकेको अवस्थामा रहेको भन्ने बेहोराको मिति २०७२।०९।१५ मा भएको घटनास्थल एवं लास प्रकृति मुचुल्का ।
मेरो छोरा मनकुमार राई मिति २०७२।०९।०८ गतेका दिन बाक्सिला बजार भरी साथीहरूसँग आफ्नो घरतर्फ फर्कने क्रममा बेलुकी अं.०७:३० बजेको समयमा खोटाङ जिल्ला, बासपानी-५ ढोकाडाँडा भन्ने स्थानमा आउँदै गर्दा असिम राई र पवन भन्ने निश्चल राईसमेतका व्यक्तिहरूले वादविवाद कुटपिट, हातपात गरी घाइते बनाएका र सो ठाउँबाट कुटपिट गर्दै लखेट्दै जंगलतिर लगेकोमा सोही दिनदेखि निज छोरा हराएको तथा निजको गाउँघर, छिमेकी, नातागोतासमेतमा खोजतलास गर्दा फेला नपरेकोमा मिति २०७२।०९।१४ गते जंगलमा घाँस काट्ने मानिसहरूले जिल्ला खोटाङ बासपानी-४ स्थित मया चौतारो भन्ने ठाउँमा छोराको मृत लास फेला परेकोले निज प्रतिवादीहरू असिम राई र पवन भन्ने निश्चल राईलगायतका व्यक्तिले नै कुटपिट गरी कर्तव्य गरी मारेको हुँदा निज प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको मिति २०७२।०९।१६ मा हर्कराज राईले जिल्ला प्रहरी कार्यालय खोटाङमा दिएको जाहेरी दरखास्त ।
मिति २०७२।०९।०८ गते अं. १९:३० बजेको समयमा हामी बाक्सिला बजार भरी गफ गर्दै मनकुमार राईसँगै घरतर्फ आउने क्रममा बासपानी-५ ढोकाडाँडा स्थित बाटोमा आइपुग्दा त्यहाँ रहेको योगेश राईको पसलमा बसिरहेका असिम राई र पवन भन्ने निश्चल राईसमेतका व्यक्तिहरूले हल्ला गर्दै किन हिँडेको भनी हामीलाई हप्काएपछि हामीमध्येको मनकुमार राईले किन हप्काएको भन्दा निज प्रतिवादीहरूले मनकुमार राईलाई लात्ती, मुड्की, दाउरा, भाटा, ढुङ्गा आदिले निर्घात कुटपिट गर्न थालेका र हामीले छुट्याउन खोज्दासमेत नसकेपछि निज मनकुमार राई त्यहाँबाट तल्लो गरामा हाम फाली जंगलतिर भागेकोमा निज प्रतिवादीहरूले लखेट्दै जंगलतिर गएको, सोही दिनदेखि मनकुमार राई हराई बेपत्ता भएको अवस्थामा मिति २०७२।०९।१४ गते मया चौतारोमा मनकुमार राई मृत अवस्थामा फेला परेकोले निज प्रतिवादीहरूले नै कुटपिट गरी कर्तव्य गरी मनकुमार राईलाई मारेको हुँदा प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको राजकुमार राई, शुभलक्ष्मी राई, बजरमणी राई र मेखराज राईसमेतले अनुसन्धानको क्रममा गरेको छुट्टाछुट्टै घटना विवरण कागज ।
वारदातको समयमा म आफ्नै होटल पसलमा श्रीमतीसहित बसिरहेको अवस्थामा बाक्सिला बजारबाट ५-६ जना मानिसहरू मेरो होटलअगाडिको बाटो हुँदै गइरहेकोमा सोमध्येका हाल नाम थाहा भएका मनकुमार राईले गाई चटारिन्छ तरूनी देख्दा मन बटारिन्छ भन्ने गीत गाउँदै गइरहेको सुनी मेरै पसलमा बसेका असिम राई र पवन भन्ने निश्चल राईले किन यस्तो गीत गाउँदै हिँडेको भन्दा दुवै जनाबिच वादविवाद भएकोमा निज असिम राई र पवन भन्ने निश्चल राईले मनकुमार राईलाई लात्ती, मुड्की, दाउरा, भाटा, ढुङ्गा आदिले निर्घात कुटपिट गर्न थालेका र मैले छुट्याउन खोज्दा नसकेपछि निज मनकुमार राई त्यहाँबाट तल्लो गरामा हाम फाली जंगलतिर भागेकोमा निज प्रतिवादीहरू लखेट्दै जंगलतिर गएका तथा सोही दिनदेखि मनकुमार राई हराई बेपत्ता भएको एवं मिति २०७२।०९।१४ गते मया चौतारामा मनकुमार राई मृत अवस्थामा फेला परेकोले निज प्रतिवादीहरू असिम राई र पवन भन्ने निश्चल राईले नै कुटपिट गरी कर्तव्य गरी मनकुमार राईलाई मारेको हुँदा प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको योगेश राईले अनुसन्धानको क्रममा गरेको घटना विवरण कागज ।
वारदातको समयमा म बाक्सिला बजारबाट घरतर्फ जाँदै गर्दा बाटोमा बासपानी-५ स्थित ढोकाडाँडामा २-३ जना मान्छेले एक जनालाई लात्ती, मुड्की, दाउरा, भाटा, ढुङ्गा आदिले निर्घात कुटपिट गरिरहेका र अन्य मान्छेहरूले छुट्याउने प्रयास गरिरहेको देखेको हुँ । मैले समेत छुट्याउने प्रयास गर्दा सकिनँ । त्यसपछि लखेट्दै जंगलतिर गएका हुन् । पछि बुझ्दा कुटपिट गर्नेहरू असिम राई र पवन भन्ने निश्चल राई रहेको र मिति २०७२।०९।१४ गते मया चौतारोमा मनकुमार राई मृत अवस्थामा फेला परेकोले निज प्रतिवादीहरू असिम राई र पवन भन्ने निश्चल राईले नै कुटपिट गरी कर्तव्य गरी मनकुमार राईलाई मारेका हुँदा प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको ईस्टला राईले अनुसन्धानको क्रममा गरेको घटना विवरण कागज ।
वारदातको समयमा प्रतिवादीहरू असिम राई र पवन भन्ने निश्चल राईले मनकुमार राईलाई कुटपिट गरी लखेट्दै जंगलतिर लगेको र सोही दिनदेखि निज मनकुमार राई हराई बेपत्ता भएको कुरा मृतकको बुबाले प्रहरीमा उजुरी गरेपछि प्रहरीले गाउँघरमा सोधीखोजी गर्दा हल्लाखल्ला भएपछि सुनी थाहा पाएका हौँ । हामीले पनि खोजी कार्यमा प्रहरीलाई सहयोग गरेका हौँ । यसरी निजको खोजतलास भइरहेको अवस्थामा मिति २०७२।०९।१४ गते मया चौतारोमा मनकुमार राई मृत अवस्थामा फेला परेकोले निज प्रतिवादीहरू असिम राई र पवन भन्ने निश्चल राईले नै कुटपिट गरी वारदातकै रात जंगलमा लगी कर्तव्य गरी मारी गाउँघरबाट फरार भएकोमा पूर्णविश्वास लाग्छ । प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको गुमान सिंह बस्नेत र अनुप राईसमेतले अनुसन्धानको क्रममा गरेको छुट्टाछुट्टै घटना विवरण कागज ।
मिति २०७२।०९।१४ गते म बारीको डालेघाँस काटी गोठमा रहेका गाईवस्तुलाई हाल्नको लागि पुरानो गोरेटो बाटो हुँदै गइरहेको अवस्थामा बाटोको छेउमा एकजना पुरूष मान्छेको मृत लास देखी हतारहतार गोठमा घाँस हाली गाउँमा आई हल्लाखल्ला गर्दा छरछिमेकलगायतका मान्छेहरू घटनास्थलमा गई हेर्दा उक्त मृतक लास फेदी-४ बस्ने वर्ष २९ को मनकुमार राईको भएको भन्दा थाहा पाएको हुँ । त्यसपछि ओल्लोपल्लो गाउँका मान्छेलगायत मृतकका आफन्त र प्रहरीसमेत घटनास्थलमा आएका हुन् । पछि बुझ्दा ५-६ दिनअगाडि असिम राई र पवन भन्ने निश्चल राई भई मृतक मनकुमार राईलाई कुटपिट गर्दै लखेट्दै जंगलतिर ल्याएकोमा सोही दिनदेखि निज मनकुमार राई हराई बेपत्ता भएको र मैले कोही कसैलाई नचिने पनि निज प्रतिवादीहरूले नै मनकुमार राईलाई कुटपिट गरी कर्तव्य गरी मारेकोमा पूर्णविश्वास लाग्छ । यी प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही होस् भन्ने बेहोराको दिलकुमारी राईले अनुसन्धानको क्रममा गरेको घटना विवरण कागज ।
मृत्युको कारण टाउकोको चोट (cause of death: - head injury) भन्ने बेहोराको जिल्ला स्वास्थ्य कार्यालय खोटाङबाट प्राप्त मृतक मनकुमार राईको पोष्टमार्टम रिपोर्ट कागज ।
वारदातको समयमा म र असिम राई गाउँकै योगेश राईको रक्सी पसलमा बसी रक्सी र थुक्पा खाइरहेको अवस्थामा बाक्सिला बजारबाट ५-६ जना व्यक्ति बाटोमा मातेको सुरमा अपशब्द बोलीवचन प्रयोग गर्दै, होहल्ला गर्दै गइरहेकोमा हामीले अपशब्द नबोल्न भन्दा निजमध्येको पछि नाम थाहा भएको मनकुमार राईले हामीसँग निहुँ खोजी वादविवाद गरेपछि हामीलाई पनि रिस उठी निज मनकुमार राईलाई लात्ती, मुड्की, दाउरा, भाटा, ढुङ्गा आदिले निर्घात कुटपिट गर्न थालेकोमा अन्यले छुट्याउन खोज्दासमेत नमानी कुटपिट गरी नै रहेको अवस्थामा निज मनकुमार राई त्यहाँबाट तल्लो गरामा हाम फाली जंगलतिर भागेकोमा हामीहरू लखेट्दै जंगलतिर गएको हो । मया चौतारोमा पुगेपछि पक्री पुनः निर्घात कुटपिट गर्दा निज मनकुमार राई लडी लम्पसार परेपछि निजलाई त्यहीँ छाडी असिम राईको घरमा आएका हौं । उक्त कुरा असिम राईले मोबाइल फोनबाट अनुप राईलाई सुनाई सल्लाह माग्दा गाउँघरबाट भाग्न सल्लाह दिएकोले हामी दुवै जना भागी फरार भएका हौं र पछि धरानबाट प्रहरीले पक्राउ गरी ल्याएको हो । उक्त वारदातमा मेरो र असिम राई दुई जनाको मात्र संलग्नता छ भन्ने बेहोराको प्रतिवादी पवन भन्ने निश्चल राईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मेरो नाम निश्चल राई, बुबाको नाम यदुराम राई, ठेगाना जिल्ला खोटाङ बाक्सिला-३, नागरिकता नं.१२१०६४-४२८ जारी मिति २०७०।०१।०७ हो । जन्ममिति २०५१।०७।०३ हो र जारी गर्ने कार्यालय जिल्ला प्रशासन कार्यालय, खोटाङ हो । मेरो सानैदेखि गाउँघरमा बोलाउने नाम पवन राई भएकोले मैले जानीजानी अधिकारप्राप्त अधिकारीसमक्ष पहिलो पटक बयान गर्दा नागरिकताको नाम नभनी बोलाउने नाम मात्र भनेको हुँ । निश्चल राई र पवन राई दुवै नाम मेरै हो । उक्त दुवै नाम गरेको व्यक्ति म नै हुँ भन्ने बेहोराको प्रतिवादी पवन भन्ने निश्चल राईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको ततिम्बा बयान कागज ।
मिति २०७२।०९।०८ गते बेलुका अं.१९:३० बजेको समयमा मनकुमार राई अन्य ५-६ जना साथीहरूसँगै बाक्सिला बजारबाट घरतर्फ आउने क्रममा बासपानी-४ ढोकाडाँडास्थित योगेश राईको होटल पसल अगाडिको बाटोमा आई पुग्दा उक्त होटलमा रक्सी खाई बसिरहेका असिम राई र पवन भन्ने निश्चल राईसँग सामान्य वादविवाद भएकोमा निज प्रतिवादीहरूले मनकुमार राईलाई लात्ती मुड्की, दाउरा, भाटा, ढुङ्गा आदिले निर्घात कुटपिट गरी लखेट्दै जंगलतिर लगेको र सोही दिनदेखि निज मनकुमार राई हराई बेपत्ता भएको कुरा सुनी थाहा पाएका हौं । यस्तैमा मिति २०७२।०९।१४ गते मया चौतारीस्थित जंगलमा निज मनकुमार राईको मृत लास फेला परेकोले वारदातका दिन निज प्रतिवादीहरूले नै मनकुमार राईलाई कुटपिट गरी लखेट्दै जंगलमा लगी कर्तव्य गरी मारेकोमा पूर्णविश्वास लागेको हुनाले निज प्रतिवादीहरू असिम राई र पवन भन्ने निश्चल राईलाई कानूनबमोजिम कारबाही होस् भन्ने बेहोराको बौदराज राईसमेतले खुलाई लेखाइदिएको वस्तुस्थिति मुचुल्का ।
प्रतिवादी निश्चल राई र असिम राईले मृतक मनकुमार राईलाई योगेश राईको पसलबाट कुटपिट गर्दै लखेट्दै लगी मया चौतारीमा पुगी पुनः कुटपिट गरी कर्तव्य गरी मारी मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं.विपरीत १३(३) नं.अनुसारको कसुर अपराध गरेका हुँदा निज प्रतिवादीहरू निश्चल राई र असिम राईलाई सोही महलको १३(३) नं.अनुसार सजाय गरिपाऊँ । साथै अर्का प्रतिवादी अनुप राईको हकमा प्रतिवादी निश्चल र असिमले मृतकलाई कुटपिट गरी मारेको कुरा टेलिफोनमार्फत प्रतिवादी अनुप राईलाई गराई निज अनुप राईले निश्चल र असिमलाई गाउँघरबाट भाग्न सल्लाह दिएको दिएको देखिन आएबाट यी प्रतिवादीले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको २५ नं.अनुसार कसुर गरेको हुँदा निज प्रतिवादी अनुप राईलाई सोही महलको २५ नं.अनुसार सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट मिति २०७३।०५।३० मा खोटाङ जिल्ला अदालतमा पेस भएको अभियोग-पत्र ।
मिति २०७२।९।८ गते १९:३० बजेको समयमा म र प्रतिवादी असिम राई भई योगेश राईको पसलमा मैले थुक्पा र असिमले मादक पदार्थ सेवन गरी बसिरहेका थियौं । यस्तैमा मृतक मनकुमार राईलगायतका अन्य ३-४ जना मानिसहरू बाक्सिला बजारबाट होहल्ला गर्दै आए । योगेश राईको होटलअगाडि पनि हल्ला गर्न थालेपछि साथी असिमले किन हल्ला गरेको भन्यो । त्यसपछि मृतक मनकुमार अगाडि सरी किन हल्ला गर्न नहुने के हो भन्यो । यस्तै भनाभन हुँदाहुँदै असिम राई र मृतक मनकुमार राई हानाहान गर्न थाले । त्यसपछि मैले थुक्पा खान छाडी छुट्याएँ । त्यतिबेला मृतकको नाकबाट रगत बगेको थियो । मृतक मनकुमारका अन्य साथीहरूले पनि झगडा छुट्याई निज मनकुमारलाई लगे । साथी असिम केही तलसम्म कराउँदै गयो । त्यसपछि छोड्दे जे भयो भयो भन्दै होटलवाला योगेश राईले निज असिमलाई छुट्याएर ल्याएकोसम्म हो । मैले निज मृतकलाई कुटपिट गरेको छैन भन्ने बेहोराको प्रतिवादी पवन भन्ने निश्चल राईले खोटाङ जिल्ला अदालतमा गरेको बयान ।
तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी पवन भन्ने निश्चल राईलाई मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको ११८ को देहाय २ बमोजिम पुर्पक्षका निमित्त थुनामा राखी कारबाही गर्न कारागार कार्यालय दिक्तेलमा अ.बं.१२१ नं.बमोजिम पुर्जी दिई थुनामा राख्न पठाइदिनु भन्ने बेहोराको मिति २०७३।५।३० मा भएको थुनछेक आदेश ।
मिति २०७३।९।८ गतेका दिन म आफ्नै घरमा घोडाको तबेला बनाउँदै थिएँ । झगडा भएर मान्छे हरायो भन्ने गाउँतिर हल्ला भयो र मान्छेहरू हाम्रो घरमा आएका थिए । मृतक भर्खर विदेशबाट आएको थियो अरे कतै गयो होला भन्ने हामीले सोच्यौं । मैले मृतकलाई खासै चिनेको पनि थिइनँ । मृतकको समूह र प्रतिवादी पवनको र असिमको दुई पक्षबिच झगडा भएको भन्नेसम्म पछि सुनेको र पवन र असिमले निज मृतकलाई मृतकको समूहलाई जिम्मा लगाएर पठाएको भन्ने सुनेको हुँ भन्ने बेहोराको मिति २०७३।८।२० गते प्रतिवादी अनुप राईले गरेको बयान ।
तत्काल प्राप्त प्रमाणको आधारमा यी प्रतिवादी अनुप राई हालै निर्दोष हुन् भनी मान्न नमिल्ने भई पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी अभियोग मागको आधारमा हुन सक्ने सजायको मात्रासमेतलाई दृष्टिगत गरी मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको ११८ नं. को देहाय १० समेतलाई मध्यनजर गरी ऐ. देहाय ५ बमोजिम रू.४,५००।- (चार हजार पाँच सय) नगद धरौट वा जेथा जमानत यी प्रतिवादी अनुप राईबाट माग गरी दिए पुर्पक्ष निमित्त तारिखमा राख्नू । दिन नसके निजलाई अ.बं. १२१ नं.बमोजिम थुनुवा पुर्जी दिई स्थानीय कारागार कार्यालयमा राख्न पठाउने गरी यो आदेश गरिदिएको छ भन्ने खोटाङ जिल्ला अदालतबाट मिति २०७३।८।२० मा भएको आदेश ।
मिति २०७२।९।८ गतेका दिन म र पवन राई ढोकाडाँडास्थित योगेश राईको होटलमा चिया नास्ता खाँदै गफ गर्दै थियौं । अरू थुप्रै मान्छेहरू पनि थिए । सोही क्रममा मृतक मनकुमार राई बजारबाट अश्लील शब्दहरू बोल्दै, गाना गाउँदै आयो र निजलाई यस्तो अश्लील शब्द नबोल्नु भनेर भन्यौं । हामीले यो बाटोमा बोल्दा के हुन्छ भनेर भन्दा मृतक मनकुमार राईसमेतका ४ जना व्यक्तिहरू आक्रोशमा आए । निजहरूले मादक पदार्थ सेवन गरेका थिए । त्यसपछि निज मृतकहरूको समूह र हामी (म र पवन राई) बिच सामान्य बादविवाद र ठेलमठेलसमेत भयो । अरू त्यहाँ होटलमा रहेका अरू मान्छेहरूले हामीलाई छुट्याएर घर पठाइदिए । म र पवन राई सो दिन मेरो घरमा गएर दुवै जना बस्यौं । मृतकको समूह पनि योगेशको होटलबाट आफ्नो बाटो लागेका थिए । निज मृतकसँग हाम्रो ठेलमठेलसम्म भएको हो । निज मृतकलाई हामीले कर्तव्य गरी मारेको होइन भन्नेसमेत बेहोराको प्रतिवादी असिम राईले गरेको बयान ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी मुलुकी ऐन, अदालती बन्दोबस्तको ११८ को देहाय २ बमोजिम यी प्रतिवादी असिम राईलाई पुर्पक्षका निमित्त थुनामा राख्न अ.बं. १२१ नं.बमोजिम थुनुवा पुर्जी दिई जिल्ला कारागार कार्यालय, दिक्तेलमा पठाइदिने गरी अ.बं. १२४ग बमोजिम यो आदेश पर्चा खडा गरिदिए भन्ने खोटाङ जिल्ला अदालतबाट मिति २०७३।८।२६ मा भएको आदेश ।
तत्काल मृत्यु भएका त्यतिखेर नाम थाहा नभएका मनकुमार राईसमेत साथीहरूसँग बाक्सिला बजारबाट आउँदै गर्दा बासपानीस्थित योगेश राईको पसलमा आइसकेपछि निजले अश्लील गीत गाएको हुँदा त्यहा छोरीचेलीसहित निकै जना मानिसहरू बसेका र म पनि त्यहाँ थिएँ । त्यसपछि असिम राई र पवन राईले छोरी चेली भएको ठाउँमा त्यस्तो गाली बेइज्जत हुने खालको गीत किन गाउनुभएको हो, त्यो राम्रो भएन भनेपश्चात् बाटोमा गीत नगाएर कहाँ गाउनु, गीत गाउनै नपाउने, अझै गाउँछु भनी यी प्रतिवादीसँग निहुँ खोजी झगडा गर्न खोज्दा सामान्य ठेलमठेलसम्म भएको हो । मृतक मनकुमार राई निकै मातेका थिए । निजको जिउतिर चोटपटक पनि देखिन्थ्यो । त्यसपश्चात् आफ्नो साथीहरूसँग निहुँ खोज्दै, बाटो लागेका र मसमेतले आफ्नो बाटो जानुस् भनी सम्झाई पठाएको हो । यी प्रतिवादीहरूले कुटपिट गरेको होइन । असिम राईसमेतका प्रतिवादीहरू निर्दोष छन् । निजहरूले मृतक मनकुमार राईलाई कुटपिट गरेको होइनन् । तसर्थ अभियोग दाबीबाट निज प्रतिवादीहरूले सफाइ पाउनुपर्छ भन्ने बेहोराको प्रतिवादी असिम राईका साक्षी दिपक राईले गरेको बकपत्र ।
मिति २०७२।९।८ गते दिनको अं. ७:३० बजेको समयमा मृतक मनकुमार राईसमेत साथीहरूसँग बाक्सिला बजारबाट आउँदै गर्दा बासपानीस्थित योगेश राईको पसलमा आइपुगेपछि निजले अश्लील गीत गाएको हुँदा त्यहाँ छोरीचेलीसहित निकै जना मानिसहरू बसेका र म पनि त्यहीँ थिएँ । त्यसपछि असिम राई र पवन राईले छोरीचेली भएको ठाउँमा त्यस्तो गाली बेइज्जत हुने खालको गीत किन गाउनुभएको हो, राम्रो भएन भनेपश्चात् बाटोमा गीत नगाएर कहाँ गाउनु भनी गीत गाउनै नपाउने, अझै गाउँछु भनी यी प्रतिवादी असिम राईसँग निहुँ खोजी झगडा गर्न खोज्दा सामान्य ठेलमठेलसम्म भएको हो । मृतक मनकुमार राई निकै मातेका थिए । निजको जिउतिर चोटपटक पनि देखिन्थ्यो । त्यसपश्चात् आफ्नो साथीहरूसँग निहुँ खोज्दै बाटो लागेको र मसमेतले आफ्नो बाटो जानुहोस् भनी मृतकलाई सम्झाई पठाएको हो । यी प्रतिवादीले मृतकलाई कुटपिट गरेको होइन र यी प्रतिवादीको कुटाइको तासिरले मृतकको मृत्यु भएको होइन भन्ने बेहोराको प्रतिवादी असिम राईको साक्षी दिनेश राईले गरेको बकपत्र ।
मिति २०७२।९।८ गते बेलुका अं. ७M३० बजेको समयमा म ढोका डाँडाको मया चौतारामा थिएँ र सोही ठाउँमा प्रतिवादी पवन भन्ने निश्चल राईसँग भेट भएको हो । प्रतिवादीले कुटपिट गरी मृतकलाई मारेको होइन । मृतक मनकुमार राई बाक्सिला बजारबाट मातेर गाली बोल्दै कराउँदै आएकोले त्यहाँका होटेलवालाहरूले किन छोरीचेली भएको ठाउँमा यसरी गाली बोलेको भन्दा निजले होटलवालासँग लड्न खोज्दा ठेलमठेल हुँदा प्रतिवादी निश्चल राईले छु्ट्याएको हो । छुट्याएपछि मृतकको साथीहरूले डोर्याएर घरतिर लगेको मैले देखेको हुँ । निश्चल राई घरतिर गएको हो । यी प्रतिवादी पवन भन्ने निश्चल राईसमेतले मृतकलाई कर्तव्य गरी मारेको होइन । निज मृतक भिरबाट लडेर मरेको हुँदा प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्ने प्रतिवादी पवन भन्ने निश्चल राईका साक्षी नरबहादुर राईले गरेको बकपत्र ।
मिति २०७२।९।८ गते बेलुका ७:३० बजेको समयमा म बाक्सिला बजार भरी घर फर्किरहेको थिएँ । उक्त मिति समयमा यी प्रतिवादी अनुप राईसँग मेरो देखभेट भएन । सो स्थानबाट म घर गएको समयमा केही घटना भएको देखिनँ सुनिनँ । अभियोग माग दाबीबमोजिमको कसुर यी प्रतिवादीले नगरेको हुँदा अभियोग दाबीबाट सफाइ पाउनुपर्ने हो भन्ने बेहोराको प्रतिवादी अनुप राईका साक्षी नारायण राईले गरेको बकपत्र ।
मिति २०७२।९।८ गते मेरो छोरा मनकुमार राईलाई को, कसले कुटपिट गरे मेरो आँखाले देखिनँ । निजको मृत्यु के, कसरी भयो मैले देखिनँ, थाहा भएन । मिति २०७२।९।१४ गते मैले दिएको हुलिया निवेदन र मिति २०७२।९।१६ गते दिएको जाहेरी दरखास्त र खोज तलासको निवेदन बेहोरा पढी बाची सुनाउँदा सुनी पाएँ । देखाउँदा हेरेँ देखेँ । बेहोरामा मेरो छोरा मरेको हो । को कसले मारे मराएको हो यकिन थाहा भएन । कसैले कुटपिट गरेकोसम्म पनि थाहा भएन भनी मैले लेखाएको हुँ । यी प्रतिवादीहरूको कुटाइले मेरो छोराको मृत्यु भएको भन्ने बेहोरा लेखाएको होइन । छोरा ६/७ दिन घर नआएकोले खोजतलास गरिपाउँ भनी हुलिया निवेदन जिल्ला प्रहरी कार्यालय, खोटाङमा दिएको हुँ । पछि बुझ्दा आफैँ मरेको हो भन्ने सुनेको हुँ भन्ने बेहोराको अ.बं.११५ नं.बमोजिम बुझिएका जाहेरवाला हर्कराज राईले गरेको बकपत्र ।
मिति २०७२।९।८ गते मृतक मनकुमार राईलाई को कसले कुटपिट गरेका हुन् होइनन् मलाई थाहा भएन । निजको मृत्यु के कसरी भएको हो मलाई थाहा भएन । लास हेर्दा कोही कसैले मारेजस्तो लागेन । मिति २०७२।११।३ गते मैले अनुसन्धानको क्रममा गरेको घटना विवरण कागजको बेहोरा पढी बाची सुनाउँदा सुनी पाएँ । देखाउँदा हेरेँ देखेँ । सोमा लेखिएको बेहोरा र सहीछाप मेरो हो भन्ने बेहोराको अ.बं. ११५ नं. बमोजिम बुझिएका घटना विवरण कागज गर्ने गुमान सिंह बस्नेतले गरेको बकपत्र ।
प्रतिवादीहरू आरोपित कसुरमा इन्कार रहेकोमा निजहरूको सो इन्कारी बयानलाई निजहरूका साक्षीले अदालतमा आई गरेको बकपत्रले समर्थन गरेको देखिनुका साथै जाहेरवालाले प्रतिवादीहरूउपर किटानी जाहेरी दिएको भए तापनि अदालतमा आई बकपत्र गर्दा सो जाहेरी दरखास्तअनुकूल हुने गरी बकपत्र गरेको नदेखिएको तथा मौकामा बुझिएका मानिसहरूले अदालतमा आई बकपत्र गरेको पनि नदेखिएको यस्तो स्थितिमा केवल शंका र अनुमानको भरमा मात्र प्रतिवादीहरूलाई कसुरदार ठहर गर्न नमिल्ने हुँदा प्रतिवादीहरू पवन भन्ने निश्चल राई, असिम राई, अनुप राईले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू खोटाङ जिल्ला अदालतबाट मिति २०७४।०९।१७ मा भएको फैसला ।
प्रतिवादी पवन भन्ने निश्चल राईले मौकामा बयान गर्दा कसुरमा साबित रही अर्का प्रतिवादी असिम राईलाई समेत पोल गरी बयान गरेकोमा अदालतमा उपस्थित भई बयान गर्दासमेत कुटपिटको वारदातलाई स्वीकार गरेको देखिएको छ । मृतकको घटनास्थल लास जाँच मुचुल्कामा नाकबाट रगत बगेको देखिएको र शव परीक्षण प्रतिवेदनमा The deceased died due to head injury resulting blunt force injury to the head with blunt object भनी उल्लेख भएकोमा प्रतिवादीहरूको अदालतसमक्षको इन्कारी बयानलाई मात्र आधार लिई सफाइ दिएको सुरूको फैसला त्रुटिपूर्ण छ । प्रतिवादीहरूउपरको किटानी जाहेरी परेको, घटना विवरण कागज गर्ने मानिसहरूको भनाइले वारदात पुष्टि भएको, शव परीक्षण प्रतिवेदनले मृतकको मृत्यु कर्तव्यबाट भएको देखिएको र सो कर्तव्यमा यी प्रतिवादीहरूको संलग्नता देखिइरहेको अवस्थामा जाहेरवालाको hostile बकपत्र गरेको भन्ने आधार लिई प्रतिवादीहरूलाई सफाइ दिएको र मृतक मनकुमार राईलाई मारेको जानकारी प्रतिवादी अनुप राईलाई गराएकोमा निजले प्रतिवादीलाई भाग्ने सल्लाह दिई कसुर छिपाउने दबाउने कार्यमा संलग्न रहेका कसुरदार देखिएकोमा प्रतिवादीहरूलाई सफाइ दिएको सुरू फैसला प्रमाण मूल्याङ्कनको दृष्टिमा त्रुटिपूर्ण हुँदा सो फैसला बदर / उल्टी गरी प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गामा पेस भएको वादी नेपाल सरकारको पुनरावेदन ।
यसमा तथ्य र प्रमाणको विवेचना नगरी अभियोग दाबी पुग्न नसक्ने ठहर्याएको सुरू खोटाङ जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिँदा साबिक मुलुकी ऐन, अ.बं.२०२ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४० को उपदफा ३ समेत बमोजिम प्रत्यर्थी प्रतिवादीहरूलाई १५ दिने म्याद जारी गरी झिकाइ म्यादभित्र हाजिर भए सोहीबमोजिम र नभए म्याद व्यतीत भएपछि नियमानुसार पेस गर्नु भन्ने उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाबाट मिति २०७५।०५।२५ मा भएको आदेश ।
सुरू खोटाङ जिल्ला अदालतबाट यी प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको मिति २०७४।०९।१७ को फैसला प्रतिवादी पवन भन्ने निश्चल राई र असिम राईको हकमा उल्टी भई प्रतिवादीहरूमध्येका असिम राईको हकमा अभियोग दाबीबमोजिमको कसुर निजले गरेको मिसिल संलग्न प्रमाणबाट पुष्टि भएको देखिँदा निजलाई तत्कालीन मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम जन्मकैदको सजाय हुने ठहर्छ । वारदातको प्रकृति पहिलेदेखि मार्नुपर्नेसम्मको रिसइबी नरहेको परिप्रेक्ष्यमा निजलाई जन्मकैदको सजाय गर्दा चर्को पर्ने भन्ने चित्तमा लागेकाले तल्कालीन मुलुकी ऐन, अ.बं.१८८ नं.बमोजिम कैद वर्ष १० को राय लगाइदिएको छ । निजको हकमा सर्वोच्च अदालतमा साधक जाहेर गर्नू । त्यस्तै अर्का प्रतिवादी पवन भन्ने निश्चल राईका हकमा निजले तत्काल कुटपिट गरेको भन्ने नदेखिएको, निज वारदातको क्रममा मुख्य आरोपी सहअभियुक्त असिम राईको सँगसाथमा रहेको अवस्था देखिँदा निजले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(३) नं. को कसुर गरेको पुष्टि भएको देखिँदा उल्लिखित १७(३) नं.बमोजिम निजलाई कैद वर्ष १ (एक) हुने ठहर्छ । अर्का प्रतिवादी अनुप राईको हकमा सुरूले सफाइ दिएको मनासिब देखिँदा सो हदसम्म सदर हुने ठहर्छ भन्ने उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाबाट मिति २०७५।१२।०३ मा भएको फैसला ।
सर्वप्रथमतः उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाले मुद्दाको तथ्य, फौजदारी कानूनको सिद्धान्त र प्रमाणको पर्याप्त मूल्याङ्कन नगरी जाहेरी दरखास्त, अभियोग दाबी र सहअभियुक्तको बयानलाई आधार मानी फैसला गरेको छ । हुलिया निवेदन र जाहेरी दरखास्तमा मलगायत प्रतिवादीहरू पवन भन्ने निश्चल राई र अनुप राईले नै कुटपिट गरी कर्तव्य गरी मारेको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोरा उल्लेख छ । जाहेरवालाले मलगायत अन्य प्रतिवादीउपर किटानी जाहेरी दिएको भए पनि अदालतमा आई बयान गर्दा मेरो छोरा आफैँ मरेको हो भनी प्रतिकूल बकपत्र गरेको छ । जाहेरी दरखास्त आफैँमा स्वतन्त्र र वस्तुनिष्ठ प्रमाण होइन, यो केवल घटनाको सूचनासम्म मात्र हो । वारदातको समयमा घटना भएको प्रत्यक्ष देख्ने व्यक्तिहरू कोही नभएको र घटना विवरण कागजको बेहोरा हेर्दा घटना विवरणमा कागज गरेका मानिसहरूले फरकफरक बेहोराको कागज लेखिदिएको देखिन्छ । घटना विवरण कागजमा उल्लेख भएको बेहोरा तथ्यहीन तथा आधारहीन रहेको छ । मिति २०७२/०९/१४ गतेका दिन बाक्सिला बजारमा मेला भरी गफ गर्दै मृतक मनकुमार राई घरतर्फ आउने क्रममा हामीहरूसँग बासपानी ढोकाडाँडास्थित योगेश राईको पसलमा मृतक र हामीबिच वादविवाद भई छुट्टिएको करिब एक हप्तापछि मृतकको लास फेला पर्नु संयोग मात्र भएकाले फरकफरक बेहोराको तथ्यहीन घटना विवरण कागजलाई आधार मानी अन्यायपूर्ण फैसला गरेको अवस्था छ । मृतकको पोष्टमार्टम रिपोर्टमा Cause of Death :- Head Injury भन्ने बेहोराको जिल्ला स्वास्थ्य कार्यालय खोटाङबाट प्राप्त लास जाँच प्रकृति मुचुल्कामा उल्लेख रहेको छ । लास जाँच प्रकृति मुचुल्कामा मृतकको मृत्यु टाउकोमा चोट परेको कारणबाट भएको भन्ने शव परीक्षण प्रतिवेदनबाट देखिएको छ । मृत्युको कारण सम्बन्धमा विवाद भएपछि, शव परीक्षण गर्ने चिकित्सकलाई प्रमाण ऐन, २०३१ को दफा ३२(७) र दफा ५२ बमोजिम बकपत्र गराउनुपर्नेमा सो केही नगरी विशेषज्ञको रायलाई प्रमाणमा ग्रहण गरी भएको फैसला कानूनविपरीत रहेको छ । यसैगरी मलगायत अन्य प्रतिवादीहरू आरोपित कसुरमा इन्कार रहेको र मेरो इन्कारी जिकिरलाई समर्थन हुने गरी मेरो साक्षीले अदालतमा आई बकपत्र गरेका छन् । वादी पक्षले अनुसन्धानको क्रममा कागज गर्ने अन्य व्यक्तिहरूलाई अदालतमा उपस्थित गराई बकपत्र गराई आफ्नो दाबी पुष्टि गर्न सकेको छैन । अदालतबाट अ.बं.११५ बमेजिम म्याद जारी हुँदासमेत घटना विवरण कागजमा उल्लेख भएका व्यक्तिहरू बकपत्रका लागि उपस्थित हुन नआएको स्थितिमा प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम अनुसन्धानको क्रममा व्यक्त गरिएको भनाइलाई प्रमाणको रूपमा ग्रहण गर्न मिल्दैन । सहप्रतिवादी पवन भन्ने निश्चल राईले मउपर पोल गरी अनुसन्धान अधिकारीसमक्ष बयान गर्नुका साथै मैले नै मृतकलाई कुटेको कारणले मृतकको नाकबाट रगतसमेत निक्लेको भनी अदालतमा बयान गरे पनि सहप्रतिवादीको सो भनाइको आधारमा मात्र दोषी ठहर गर्न मिल्ने अवस्था हुँदैन । सहप्रतिवादीले प्रहरीमा गरेको साबिती बयान कागजलाई आधार लिइएको प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) र सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत छ । तसर्थ, माथि विवेचित आधार कारणहरूबाट बिनाप्रमाण केवल शंका र अनुमानको भरमा मात्र कसुरदार ठहर गर्न नमिल्ने हुँदा सहअभियुक्तले प्रहरीसमक्ष गरेको बयानलाई आधार मानी गरेको फैसला फौजदारी न्याय प्रमाणसम्बन्धी कानूनको विपरीत रहेकोले जिल्ला अदालतले सफाइ पाउने गरी गरेको फैसला उल्टी गरी उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाले गरेको आधारहीन, अन्यायपूर्ण र गैरकानूनी फैसला बदर गरी न्याय पाउँ भन्ने बेहोराको पुनरावेदक / प्रतिवादी असिम राईको यस अदालतमा पेस भएको पुनरावेदन ।
यसमा जाहेरवाला हर्कराज राईले अदालतसमक्ष बकपत्र गर्दा मेरो छोरालाई को कसले मारे मराएको यकिन थाहा भएन । जाहेरीमा यी प्रतिवादीहरूको कुटाइले मेरो छोराको मृत्यु भएको भन्ने बेहोरा लेखाएको होइन । पछि बुझ्दा आफैँ मरेको भन्ने बुझेको हुँ भनी अदालतमा बकपत्र गरेको र मौकामा कागज गर्ने गुमान सिंह बस्नेतको बकपत्रसमेतबाट उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाबाट मिति २०७५।१२।०३ मा भएको फैसला प्रमाण मूल्याङ्कनको परिप्रेक्ष्यमा फरक पर्न सक्ने देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७७।९।१९ मा भएको आदेश ।
यस अदालतको ठहर
नियमानुसार पेसी सूचीमा चढी सुनुवाइका लागि आज यस इजलासमा पेस हुन आएको प्रस्तुत मुद्दामा विवादको मूल विषयलाई हेर्दा प्रतिवादी निश्चल राई र असिम राईले मृतक मनकुमार राईलाई कुटपिट गरी कर्तव्य गरी मारी मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं.विपरीत १३(३) नं.अनुसारको कसुर अपराध गरेको भनी निज प्रतिवादीहरू निश्चल राई र असिम राईलाई सोही महलको १३(३) नं.अनुसार साथै अर्का प्रतिवादी अनुप राईले निश्चल र असिमलाई गाउँघरबाट भाग्न सल्लाह दिएको देखिन आएको भनी निजउपर मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको २५ नं.अनुसार सजाय गरिपाउन माग दाबी लिई अभियोग-पत्र पेस भएको रहेछ । सुरू जिल्ला अदालतबाट फैसला हुँदा प्रतिवादीहरू पवन भन्ने निश्चल राई, असिम राई, अनुप राईले अभियोग दाबीबाट सफाइ पाउने ठहर्याई फैसला भएको देखिन्छ । उक्त फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन परेकोमा उच्च अदालत विराटनगर, ओखलढुङ्गा अस्थायी इजलासबाट फैसला हुँदा सुरू फैसला केही उल्टी गरी प्रतिवादीहरूमध्येका असिम राईको हकमा तत्कालीन मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम जन्मकैदको सजाय हुने ठहराई अ.बं. १८८ नं.बमोजिम १० वर्ष कैद सजाय हुन राय व्यक्त हुने, त्यस्तै अर्का प्रतिवादी पवन भन्ने निश्चल राईका हकमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(३) नं.बमोजिम कैद वर्ष १ (एक) हुने तथा अर्का प्रतिवादी अनुप राईको हकमा सफाइ पाउने ठहर गरी सुरू जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर्याई फैसला भएको देखिन्छ । पुनरावेदन तहको उक्त फैसलाउपर चित्त नबुझाई प्रतिवादीहरूमध्येका असिम राईका तर्फबाट प्रस्तुत पुनरावेदन यस अदालतमा पर्न आएको देखियो ।
पुनरावेदक / प्रतिवादी असिम राईका तर्फबाट परेको पुनरावेदनको अध्ययन गर्दा, उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाबाट भएको फैसलाउपर चित्त नबुझेका बुँदाहरूलाई देहायबमोजिम उल्लेख गरेको पाइन्छ :
क. जाहेरवालाले मसमेत उपर किटानी जाहेरी दरखास्त दिएको भए पनि अदालतमा बकपत्र गर्दा मृतक आफैँ मरेको भनी मलाई सफाइ दिई बकपत्र गरिदिएको,
ख. मैले अदालतमा बयान गर्दा कसुरमा इन्कारी रही गरेको बयानलाई बेवास्ता गरी सहप्रतिवादी पवन भन्ने निश्चल राईले गरेको बयानलाई प्रमाणमा लिई फैसला गरिएको,
ग. मैले गरेको कुटपिटको कारण मृतकको मृत्यु भएको भन्ने कुरा वादी पक्षबाट शंकारहित तवरबाट पुष्टि गर्न नसकेको,
घ. वारदातको प्रत्यक्षदर्शी कोही नरहेको केवल शंकाको भरमा कसुरदार ठहराइएको,
ङ. तसर्थ उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाबाट भएको फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ
पाऊँ ।
आज प्रस्तुत मुद्दाको सुनुवाइको क्रममा पुनरावेदक / प्रतिवादीको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता प्रा.डा. श्री रञ्जितभक्त प्रधानाङ्ग र विद्वान् अधिवक्ता श्री प्रज्वल पौडेलले यी पुनरावेदक / प्रतिवादीउपर किटानी जाहेरी परेको भए पनि अदालतमा जाहेरवालाले सोको प्रतिकूल बकपत्र गरेको, घटना विवरण कागज गर्ने व्यक्तिहरूले वारदातका सम्बन्धमा फरकफरक बेहोरा लेखाइदिएको, शव परीक्षण गर्ने चिकित्सकको बकपत्र भएको अवस्था नरहेको, यी प्रतिवादी कसुरमा इन्कार रही बयान गरेको समेतको अवस्था रहेकोमा सहप्रतिवादी निश्चल राईले गरेको पोलको आधारमा मात्र कसुरदार ठहर गरी फैसला भएको हुँदा उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाबाट भएको फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउनुपर्छ भनी बहस गर्नुभयो ।
प्रत्यर्थी / वादी नेपाल सरकारका तर्फबाट उपस्थित हुनुभएका विद्वान् उपन्यायाधिवक्ता श्री श्यामप्रसाद दाहालले प्रतिवादी पवन भन्ने निश्चल राईले मौकामा बयान गर्दा कसुरमा साबित रही यी पुनरावेदक / प्रतिवादी असिम राईलाई समेत पोल गरी बयान गरी अदालतमा समेत कुटपिटको वारदातलाई स्वीकार गरी बयान गरेको, घटनास्थल लास जाँच मुचुल्कामा मृतकको नाकबाट रगत बगेको भन्ने देखिएको, यी पुनरावेदक / प्रतिवादीसमेत उपर किटानी जाहेरी परेको, घटना विवरण कागज गर्ने मानिसहरूको भनाइले वारदात पुष्टि भएको, शव परीक्षण प्रतिवेदनले मृतकको मृत्यु कर्तव्यबाट भएको देखिएको र कर्तव्य गरी ज्यान मार्नामा यी प्रतिवादीको संलग्नता देखिइरहेको हुँदा उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाबाट भएको फैसलालाई अन्यथा गरिरहनुपर्ने अवस्था नहुँदा सदर होस् भनी गर्नुभएको बहससमेत सुनियो ।
पुनरावेदक / प्रतिवादीबाट प्रस्तुत हुन आएको पुनरावेदनमा लिइएका जिकिरहरू, दुवै पक्षका विद्वान् कानून व्यवसायीहरू र उपन्यायाधिवक्ताबाट प्रस्तुत हुन आएका बहस बुँदाहरू तथा मिसिल संलग्न कागजातहरू अध्ययन गरी इन्साफतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा मुख्यत: देहायका प्रश्नहरूमा निरूपण हुनुपर्ने देखिन आयो :
क. पुनरावेदनमा जिकिर लिइएबमोजिम प्रतिवादी असिम राईलाई अभियोग माग दाबीबमोजिमको कसुरबाट सफाइ हुनुपर्ने देखिन्छ वा देखिँदैन ? र
ख. उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाबाट निजका हकमा भएको फैसला मिलेको देखिन्छ वा देखिँदैन ?
२. निरूपण हुनुपर्ने उल्लिखित प्रश्नहरूका सम्बन्धमा मिसिल संलग्न कागजातहरू अध्ययन गरी विचार गर्दा, प्रतिवादी पवन भन्ने निश्चल राईका हकमा मृतकलाई मार्ने कार्यमा मतलबी भएको भन्ने आधारमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(३) नं. बमोजिम सजाय हुने ठहरी फैसला भएउपर निजको तर्फबाट र वादी नेपाल सरकारको तर्फबाट पनि पुनरावेदन पर्न आएको नदेखिँदा प्रस्तुत पुनरावेदनको रोहबाट निजका हकमा केही बोलिरहन परेन । अर्का प्रतिवादी अनुप राईका हकमा अभियोग माग दाबीबाट सफाइ पाउने ठहरी फैसला भएकोमा निजका हकमा पनि पुनरावेदन पर्न आएको नदेखिँदा निजका हकमा पनि केही बोल्नुपर्ने देखिएन ।
३. अब, अभियोग माग दाबीबमोजिमको कसुरका सम्बन्धमा पुनरावेदक / प्रतिवादी असिम राईको भूमिकाका सम्बन्धमा विचार गर्दा, मेरो छोरा मनकुमार राई मिति २०७२।०९।०८ गतेका दिन बाक्सिला बजार भरी साथीहरूसँग आफ्नो घरतर्फ फर्कने क्रममा बेलुकी अं. ०७:३० बजेको समयमा खोटाङ जिल्ला बासपानी-५ ढोकाडाँडा भन्ने स्थानमा आउँदै गर्दा असिम राईसमेतका व्यक्तिहरूले वादविवाद कुटपिट, हातपात गरी घाइते बनाएकोमा सोही दिनदेखि निज छोरा हराएको र निजको गाउँघर, छिमेकी, नातागोतासमेतमा खोजतलास गर्दा फेला नपरेकोले निज असिम राईलगायतका व्यक्तिहरूले नै बेपत्ता बनाएको हुँदा खोजतलास गरिपाउँ भन्ने बेहोराको मृतकका पिता हर्कराज राईको हुलिया निवेदन परेअनुसार मिति २०७२।०९।१४ मा निज मनकुमार राईको लास भेटिएपछि प्रस्तुत मुद्दाको अनुसन्धान तहकिकातको कार्य सम्पन्न भई प्रस्तुत अभियोग-पत्र दायर हुन आएको पाइन्छ । लास भेटिएपछिको जाहेरी दिँदा पनि मृतकलाई प्रतिवादी असिम राईसमेतले कुटपिट गरी मारेको भनी यी प्रतिवादीउपर किटानी पोल गरेको देखिएको छ । मौकामा कागज गर्ने राजकुमार राई, शुभलक्ष्मी राई, बजरमणी राई, मेखराज राई, इष्टला राई र गुमान सिंह बस्नेतले कागज गर्दा पनि यी प्रतिवादीउपर किटानी पोल गरेको देखिएको छ । मृतक र यी प्रतिवादीबिच योगेश राईको पसलमा झगडा परेको भनिएकोमा योगेश राईको कागज हुँदा पनि यी प्रतिवादी आफ्नो पसलमा बस्दै गरेको अवस्थामा मृतकले बेइज्जतपूर्ण गीत गाउँदै आएको विषयलाई लिएर झगडा परेको र यी प्रतिवादीले कुटपिट गरेको हो भनी लेखाइदिएको देखिन्छ । सहप्रतिवादी पवन भन्ने निश्चल राईले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा आफू र यी प्रतिवादी असिम राई योगेश राईको पसलमा बस्दै गरेको बखत मृतक मनकुमार राई त्यहीँ आइपुगेका र वादविवाद भई झगडा हुँदा यी प्रतिवादीले मृतकलाई कुटपिट गर्दा नाकबाट रगत आएको र लखेट्दै लगी मया चौतारीमा पुगेपछि पनि कुटपिट गरी छोडेको भनी यी प्रतिवादीलाई पोल गरी बयान गरेको देखिन्छ । लास मया चौतारीमै भेटिएको कुरा घटनास्थल लास जाँच मुचुल्काबाट देखिएको छ । निजको बयानमा उल्लेख भए जस्तै मृतकको शरीरमा अन्य घाउ चोटहरू देखिनुका अतिरिक्त नाकबाट रगत बगेकोसमेत देखिएको छ । सहप्रतिवादी निश्चल राईले अदालतमा बयान गर्दा पनि मृतकलाई यी प्रतिवादीले कुटपिट गरेको हो भन्ने बेहोरा लेखाइदिएको देखिन्छ । स्वयं यी प्रतिवादीले अदालतमा बयान गर्दा पनि वारदातस्थलमा आफू नरहेको कुराको जिकिर नलिई मृतकसँग ठेलमठेल भएको भन्नेसम्मको तथ्यलाई स्वीकारेको देखिन्छ । साथै मृतकको शव परीक्षणपछि दिइएको प्रतिवेदनमा The deceased died due to head injury resulting blunt force injury to the head with blunt object भनी उल्लेख भएको देखिएको छ । यी विभिन्न व्यक्तिहरूको भनाइ बेहोरा, स्वयं यी प्रतिवादीको अदालतमा भएको बयान र मृतकको शव परीक्षण प्रतिवेदनमा उल्लिखित बेहोरालाई आधार मान्दा मृतकको मृत्यु कर्तव्यबाट भएको र त्यसरी मार्ने कार्यमा यी प्रतिवादीको संलग्नता रहेको प्रस्टरूपमा देखिन आएको पाइन्छ ।
४. प्रतिवादीले अभियोग माग दाबीबमोजिमको कसुरबाट सफाइ पाउनुपर्ने आधारको रूपमा आफू अदालतमा बयान गर्दा कसुरमा इन्कार रहेको तथा स्वयं जाहेरवालाले पनि मौकाको भन्दा प्रतिकूल बेहोराको बकपत्र गरेको बेहोरालाई उल्लेख गरेको देखिन्छ । निज प्रतिवादीले जिकिर लिएजस्तै निजले अदालतमा बयान गर्दा कसुरमा साबित नरहेको कुरालाई अन्यथा मान्न सकिँदैन । तर प्रतिवादीले अदालतमा बयान गर्दा कसुरमा इन्कार रहेको र जाहेरवालाले अदालतमा बकपत्र गर्दा प्रतिकूल बकपत्र गरेको भन्ने मात्र आधारमा कुनै प्रतिवादीले कसुरबाट सफाइ पाउँछ भन्न मिल्दैन । कुनै मुद्दामा के के प्रमाण छन् भन्ने हेर्नुपर्दा प्रतिवादीको बयान र जाहेरवालाको बकपत्र पनि प्रमाणको श्रृङ्खलाभित्र पर्ने कुरा हुन सक्ला तर प्रतिवादीको अदालतमा इन्कारी बयान भएको र जाहेरवालाले प्रतिकूल बकपत्र गरेको भन्ने कुरालाई यान्त्रिक रूपमा हेरी यी प्रमाणहरू प्रतिवादीको पक्षमा रहेको भन्ने आधारमा मात्र सफाइ पाउन सक्ने हुँदैन । कुनै प्रतिवादीलाई लागेको अभियोग माग दाबीबमोजिमको कसुर निजले गरेको देखिन्छ वा देखिँदैन भन्ने सम्बन्धमा विचार गर्नुपर्दा कुनै खास प्रमाण विशेषलाई मात्र आधार मान्ने टुक्रे दृष्टिकोणलाई न्यायको रोहमा स्वीकार्य मान्यता मान्न सकिँदैन । मिसिल संलग्न समग्र प्रमाणहरूको मूल्याङ्कनबाट निष्कर्षमा पुग्ने मान्यता नै न्याय सम्पादनको स्वीकार्य मान्यता हुन सक्दछ । किनभने कुनै मुद्दामा प्रतिवादी इन्कार हुनु वा नहुनु निजको वैयक्तिक विषय हो । सामान्यतयाः कुनै कसुरको अभियोग लागेको व्यक्ति कसुरमा इन्कार रहनुलाई अस्वाभाविक मान्न सकिँदैन । आफूले कसुर स्वीकार गर्दा बेहोर्नुपर्ने फौजदारी दायित्वबाट उन्मुक्तिका लागि इन्कार रहनु स्वाभाविकै हुन्छ । तर यही स्वाभाविकताका बिचमा पनि कुनै व्यक्ति निजलाई लगाइएको अभियोगमा साबित हुन्छ भने त्यो पक्ष विचारणीय हुन्छ र अन्यथा प्रमाणित नभएसम्म यस्तो साबितीलाई मूल्यवान् प्रमाणको रूपमा लिने गरिन्छ । किनभने यहाँनिर साँचो नभई आफैँउपर फौजदारी दायित्व आइपर्ने गरी कोही पनि साबित हुँदैन भन्ने मान्यता राख्ने गरिन्छ । यसैले साबितीलाई प्रमाणमा लिने व्यवस्था गरिनुको पछाडि पनि साबित भयो भन्ने तथ्य महत्त्वपूर्ण नभएर त्यस्तो साबिती साँचो हुन्छ भन्ने तथ्य महत्त्वपूर्ण रहेको हुन्छ । हाम्रो प्रमाण ऐन, २०३१ को दफा ९(१) ले पनि कुनै पक्षले व्यक्त गरेको कुरा निजका विरूद्ध प्रमाणमा लिने व्यवस्था गरेको पाइन्छ । यी कानूनी व्यवस्था र सैद्धान्तिक मान्यताका सन्दर्भमा पुनरावेदक प्रतिवादीको स्थितिलाई हेर्दा, निज प्रतिवादी मौकामा फरार रहेको देखिन्छ भने अदालतमा उपस्थित भई बयान गर्दा पनि वारदात स्थलमै नरहेको भन्ने निजको भनाइ रहेको पाइँदैन । वारदातस्थलमा रहेको तथ्यलाई मात्र होइन, मृतकसँग वादविवाद भएको तथ्यलाई र वादविवाद हुँदा मृतकसँग धकेलाधकेल भएको भन्ने तथ्यलाई पनि स्वीकार गरेको पाइन्छ । मृतकको मृत्यु कर्तव्यबाट भएको देखिएको, निज प्रतिवादी स्वयंले अदालतमा बयान गर्दा मृतकसँग धकेला धकेल भएको तथ्यलाई स्वीकारेको, सहप्रतिवादीले आफूसहित वारदातमा यी प्रतिवादी पनि संलग्न रहेको भन्ने बेहोरा बयानका सिलसिलामा लेखाएको र मौकामा कागज गर्ने अन्य प्रत्यक्षदर्शीसमेतका व्यक्तिहरूले पनि यी प्रतिवादीलाई कर्तव्यवाला देखाई लेखाइदिएको समग्र परिस्थितिका सन्दर्भमा विचार गर्दा, मैले कुटपिट गरेको होइन भन्ने निजको शब्द बयानलाई मात्र आधार मानेर निजले अभियोग माग दाबीबमोजिमको कसुर गरेका रहेनछन् भन्ने निष्कर्षमा पुग्न सकिएन ।
५. जाहेरवालाले अदालतमा उपस्थित भई बकपत्र गर्दा, प्रतिकूल बकपत्र गरेको कुरालाई पनि पुनरावेदक प्रतिवादीले आफूले सफाइ पाउनुपर्ने आधारको रूपमा उल्लेख गरेको देखिन्छ । मौकामा यी प्रतिवादीले कुटपिट गरी मारेको भनी किटानी पोल गरी जाहेरी दिएकोमा अदालतमा उपस्थित भई बकपत्र गर्दा कसले कुटेको हो आँखाले देखिनँ, आफैँ मरेको भन्ने सुनेको हो भनी बकपत्र गरेको देखिन्छ । तर अदालतमा यस्तो बेहोरा लेखाएको भए पनि मौकाको हुलिया जाहेरीमा र पछिल्लो जाहेरीमा परेको सहीछाप आफ्नो होइन भनी भन्न सकेको देखिँदैन । मौकामा निज जाहेरवालाले भन्दै नभनेको बेहोरा जाहेरीमा लेखिदिनुपर्नेसम्मको जाहेरी लेखकको कुनै अन्यथा नियत रहेको भन्ने पनि देखिँदैन । मौकाको जाहेरी बेहोरा घटनास्थल मुचुल्का र लास जाँच मुचुल्काबाट समर्थित रहेको देखिन्छ तर अदालतको बकपत्र बेहोरामा उल्लेख गरेजस्तो मृतक आफैँ मरेको भन्ने बेहोरा मिसिल संलग्न कुनै प्रमाणबाट समर्थित रहेको देखिँदैन । शव परीक्षण प्रतिवेदनमा स्पष्टत: मृतकको मृत्यु अरू कसैको कर्तव्यबाट भएको भन्ने बेहोरा उल्लेख भएको पाइन्छ । सहप्रतिवादी निश्चल राईले अदालतमै बयान गर्दा पनि मृतक र प्रतिवादी असिम राईबिच हानाहान भएको हो भनी लेखाएको देखिन्छ । मौकामा कागज गर्ने गुमान सिंह बस्नेतले मौकामा किटानी पोल गरेकोमा अदालतमा बकपत्र गर्दा मृतकको मृत्यु के कसरी भएको हो थाहा भएन भनी लेखाएको देखिन्छ तर निज गुमान सिंहले पनि मौकाको कागज बेहोरा आफ्नै हो भनी स्वीकार गरेको देखिन्छ । यी अवस्थाहरूलाई हेर्दा जाहेरवाला र मौकामा कागज गर्ने गुमान सिंह बस्नेतले अदालतमा गरेको बकपत्र सही साँचो नरहेको भन्ने निष्कर्षमा पुग्नुपर्ने हुन्छ ।
६. अब, निज पुनरावेदक / प्रतिवादीलाई जन्मकैदको सजाय हुने ठहर गरी मुलुकी ऐन, अदालतीको बन्दोबस्तको १८८ नं. लाई आधार बनाई १० वर्ष मात्र कैद सजाय हुन राय व्यक्त भई आएको तर्फ हेर्दा निज प्रतिवादीको मृतकलाई मार्नुपर्नेसम्मको कुनै पूर्वरिसइवी रहेको नदेखिए पनि वारदात हुँदाको परिस्थितिलाई हेर्दा यी प्रतिवादी योगेश राईको पसलमा बस्दै गरेको अवस्थामा मृतकले मादक पदार्थ सेवन गरी अश्लील गीत गाउँदै आएको बखत सोही विषयलाई लिएर भनाभन वादविवाद हुँदा मृतक र प्रतिवादीबिच हानाहान भएको र सोही चोट पिरले मृतकको मृत्यु हुन गएको अवस्था देखिन्छ । मृतकसँग हानहान भएपछि पनि निजलाई लखेट्दै लगी मया चौतारोसम्म पुर्याएको र सोही ठाउँमा पुगेपछि पनि निजलाई कुटपिट गरी मृतक लम्पसार परेपछि छोडेर हिँडेको देखिन्छ । मृतकलाई मारिसकेपछि पनि न्यायिक प्रक्रियामा सहयोग पुर्याएको भन्ने दखिँदैन । मौकामा फरार रही अदालतबाट वारेन्ट जारी भएपछि अदालतमा निवेदनसहित उपस्थित भएका पुनरावेदक / प्रतिवादीले अदालतमा बयान गर्दा अभियोग दाबीबमोजिमको कसुरमा इन्कार रही बयान गरेको देखिन्छ । मृतकको लासमा लागेको घाउ चोटको अवस्थालाई हेर्दा एकै चोट छोड्दा मरेको भन्ने नदेखिई लामो समयसम्मको कुटपिट भएको भन्ने देखिन्छ । यो स्थितिमा निज प्रतिवादीका हकमा १० वर्ष कैद मात्र हुने भनी मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको १८८ नं.बमोजिम व्यक्त भई आएको रायमा सहमत हुन सकिएन ।
७. तसर्थ माथिका विभिन्न प्रकरणहरूमा उल्लेख गरिएबमोजिम निज प्रतिवादी असिम राईका हकमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम जन्मकैदको सजाय हुने ठहराई उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाबाट मिति २०७५।१२।०३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी असिम राईको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसला यस अदालतको विद्युतीय मुद्दा व्यवस्थापन प्रणालीमा प्रविष्ट गरी पुनरावेदन दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गर्न सम्बन्धित शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.कुमार रेग्मी
इजलास अधिकृत (उपसचिव) : टीकाबहादुर थापा
इति संवत् २०८० भाद्र ४ गते रोज २ शुभम् ।