निर्णय नं. ११३२५ - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्की
माननीय न्यायाधीश श्री नहकुल सुवेदी
फैसला मिति : २०८०।०१।१७
०७५-CR-१२३५
मुद्दाः जबरजस्ती करणी
पुनरावेदक / प्रतिवादी : भुरे नेपालीको नाति, गोवर्धन नेपालीको छोरा, काठमाडौं जिल्ला, कागेश्वरी मनोहरा नगरपालिका, वडा नं. ३ घर भई हाल काठमाडौं जिल्ला, कागेश्वरी मनोहरा नगरपालिका वडा नं.४ बस्ने रामेश्वर नेपाली
विरूद्ध
प्रत्यर्थी / वादी : परिवर्तित नाम बौद्ध १९ (क) २०७२/०७३ को जाहेरीले नेपाल सरकार
दोहोरो खतराको सिद्धान्त कुनै पक्षलाई एउटै कसुरमा एक पटकभन्दा बढी मुद्दा नचलाइने र सजाय नदिइने प्रतिबद्धता हो । यस सिद्धान्तले कुनै पनि व्यक्तिलाई कुनै खास फौजदारी कसुरमा एकपटक पहिला नै मुद्दा चलाई सफाइ दिइएको वा दोषी ठहराई सजाय दिइएको होस्, पुनः सोही विषयमा अनुसन्धान तहकिकात गरी मुद्दा चलाउनु न्यायको रोहमा उपयुक्त नहुने ।
एकपटक फौजदारी कारबाही अन्तिम भएपछि पुनः सोही विषयमा सोही व्यक्तिउपर मुद्दा चलाई सजाय गर्न राज्य विबन्धित हुने । यो व्यवस्था collateral estoppel को सिद्धान्तमा आधारित हुने । एउटै कसुरको अभियोगमा पटकपटक अनुसन्धान तहकिकात गरी मुद्दा चलाउँदै जाने हो भने राज्यको फौजदारी न्याय प्रणाली न्यायअनुकूल नभई अनिश्चयपूर्ण अवस्था उत्पन्न हुन सक्ने हुँदा नागरिकलाई सो अवस्थाबाट जोगाउन, एउटा अपराधमा एक पटकभन्दा बढी कारबाही वा सजायको अवस्था सिर्जना हुन नदिन र फौजदारी मुद्दाको अन्तिमता (finality of the case) लाई स्थिर बनाइराख्नेसमेत फौजदारी न्यायिक कार्यविधिमा दोहोरो खतराको सिद्धान्तलाई कठोरसाथ पालना गर्नुपर्नेमा द्विविधा नरहने ।
(प्रकरण नं.१२)
प्रतिवादीको कोठाअगाडि सार्वजनिक स्थानमा पीडितले पिसाब गरेको जरियाबाट सिर्जित पीडितलाई हातपात गरेको सार्वजनिक अपराधको कसुर र पीडितको योनिमा चाबी घुसाई चलाएको जबरजस्ती करणीको कसुरको स्पष्टत: फरक प्रकृति, फरक मिति र फरक वारदातस्थल देखिन आएकोमा पीडित वा जाहेरवालाले मौकामा कागज लेखाउँदा वा बकपत्र गर्दा मिति वा दिन, बार आदिमा हुन गएका स्मृतिजन्य सामान्य मानवीय त्रुटि वा प्राविधिक छिद्रहरूका आधारमा एक अवोध नाबालिगउपर भएको जबरजस्ती करणीको जघन्य कसुरलाई सामान्य प्रकृतिको सार्वजनिक अपराधको कसुरमा नै समावेश भएको भनी अर्थ गर्न नमिल्ने ।
फरकफरक प्रकृतिको फरकफरक कसुरमा तत् तत् कानूनबमोजिम अनुसन्धान गरी अभियोजन गर्ने र कसुर ठहर भएमा समेत कानूनबमोजिम सजाय गर्नुपर्ने अवस्थामा दोहोरो खतराको सिद्धान्त आकर्षित नहुने ।
(प्रकरण नं.१४)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रमणकुमार श्रेष्ठ एवम् विद्वान् अधिवक्ताद्वय डा. श्री भिमार्जुन आचार्य र श्री ऋषिराम घिमिरे
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सन्तोषराज कटुवाल
अवलम्बित नजिर :
ने.का.प. २०७५, अङ्क ५, नि.नं. १०००७
ने.का.प. २०७८, अङ्क ९, नि नं १०७३८
ने.का.प.२०७३, अङ्क १, नि.नं. ९५१९
सम्बद्ध कानून :
नेपालको संविधान
प्रमाण ऐन, २०३१
मुलुकी अपराध संहिता, २०७४
सुरू तहमा फैसला गर्नेः-
मा.जि.न्या.श्री रमेशराज पोखरेल
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
मा.न्या.श्री अग्नीप्रसाद थपलिया
मा.न्या.श्री अच्युतप्रसाद भण्डारी
उच्च अदालत पाटन
फैसला
न्या. नहकुल सुवेदी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यसै अदालतको क्षेत्राधिकारअन्तर्गत दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः-
तथ्यगत बेहोरा
काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिका, वडा नं.४ स्थित कृष्णबहादुर मानन्धरको तीनतले घर, सो घरको पूर्वतर्फ रामेश्वर नेपालीको किचन कोठा रहेको सोही कोठामा प्रतिवादी रामेश्वर नेपालीले पीडित परिवर्तित नाम बौद्ध १९(०७२/०७३) लाई जबरजस्ती करणी गर्ने मनसायले निजको योनिमा चाबी राखिदिएको भनी देखाएबमोजिमका स्थानको चार किल्लासहितको विवरण ठिक छ भन्नेसमेत बेहोराको मिति २०७२।१२।०५ को घटनास्थल प्रकृति मुचुल्का ।
मिति २०७२।११।३० गते बिहान अन्दाजी ७:३० बजेको समयमा रामेश्वर नेपाली फोके अङ्कलको किचन कोठामा गई पिर्कामा बसेको बेलामा निज रामेश्वर नेपालीले मेरो पिसाब फेर्ने ठाउँमा चाबीले कुचुकुचु चलाएको थियो, मेरो सुरूवालबाट त्यसरी चाबीले गरेको हो भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम २९ महिनाकी बौद्ध १९(०७२/०७३) ले मिति २०७२।१२।०६ मा गरेको कागज ।
जाहेरवाला र पीडितको वास्तविक विवरणको सट्टा जाहेरवालाको सङ्केत नाम बौद्ध १९ (क) २०७२/०७३ र पीडितको सङ्केत नाम बौद्ध १९(०७२/०७३) राख्ने तय गरिएको छ भन्नेसमेत बेहोराको पर्चा ।
हाम्रो वास्तविक नाम थर गोप्य राखी जाहेरवालाले सङ्केत नाम १९(क) २०७२/०७३ र पीडितले सङ्केत नाम बौद्ध १९(०७२/०७३) राखिएको जानकारी पायौं भन्नेसमेत बेहोराको जाहेरवाला बौद्ध १९(क) २०७२/०७३ र पीडित बौद्ध १९ (०७२/०७३) ले गरेको कागज ।
नाबालिका पीडित परिवर्तित नाम बौद्ध १९ (०७२/०७३) मेरो छोरी हुन् । मेरो छोरी नजिकै रहेको प्रतिवादी रामेश्वर नेपालीको कोठा तथा किचन कोठामा जाने बस्ने, नास्ता खाने गर्दथिन् । यसै क्रममा मिति २०७२।११।३० गते बिहान अन्दाजी ७:३० बजेको समयमा काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिका, वडा नं. ४ स्थित प्रतिवादीको किचनकोठामा मेरी छोरी पिर्कामा बसेको मौकामा निज प्रतिवादीले मेरो छोरीको योनिमा चाबी घुसाई जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादीउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम बौद्ध १९(क) ०७२/०७३ ले मिति २०७२।१२।१६ मा दिएको जाहेरी दरखास्त ।
बौद्ध १९(क) २०७२/०७३ को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रामेश्वर नेपाली भएको जबरजस्ती करणी मुद्दामा प्रतिवादी रामेश्वर नेपालीलाई खोजतलास गर्दा काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिका, वडा नं. ४ स्थितमा फेला पारी निजलाई पक्राउ गरी बुझाएको छु । अनुसन्धान गरी कानूनबमोजिम होस् भन्नेसमेत बेहोराको मिति २०७२।१२।१६ को प्रहरी प्रतिवेदन ।
पीडितको दायाँ बायाँ Labia majora को तल्लो भित्री भागमा लगभग १×०.६ से.मि. बराबरको रातो भएको देखिन्छ र सो ठाउँमा दुख्छ भन्नेसमेत बेहोराको पीडित बौद्ध १९ (०७२/०७३) को परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट प्राप्त मिति २०७२।१२।१४ को स्वास्थ्य जाँच प्रतिवेदन ।
मिति २०७२।११।३० गते बिहान अन्दाजी ७:३० बजेको समयमा पीडित परिवर्तित नाम बौद्ध १९ (०७२/०७३) काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिका, वडा नं. ४ स्थित मेरो किचन कोठामा आई पिर्कामा बसेको मौकामा जबरजस्ती करणी गर्ने मनसाय राखी निज पीडितको योनिमा चाबीले चलाई घाउ बनाएको भन्ने बेहोरा उल्लेख गरी म विरूद्ध परेको जाहेरी सम्बन्धमा उक्त कुरा पछि जानकारी भयो । मैले पीडितलाई जबरजस्ती करणी गरेको छैन । पीडितको स्वास्थ्य जाँच रिपोर्टमा के कसरी उक्त रातो भएको हो, मलाई थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी रामेश्वर नेपालीले मिति २०७२।१२।१७ मा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०७२।११।३० गते अन्दाजी बिहान ७:३० बजेको समयमा काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिका, वडा नं. ४ स्थित पीडित परिवर्तित नाम बौद्ध १९(०७२/०७३) प्रतिवादी रामेश्वर नेपालीको किचन कोठामा गई पिर्कामा बसेको अवस्थामा निज प्रतिवादीले पीडितको योनिमा चाबीले चलाई जबरजस्ती करणी गरेको भन्ने कुरा पीडितले आफ्नो पिसाब फेर्ने ठाउँमा दुख्यो भनी जानकारी गराएपश्चात् उक्त घटनाबारे पछि थाहा पाई स्वास्थ्य जाँचसमेत गराएको थाहा भयो प्रतिवादी रामेश्वर नेपालीले खराब मनसाय राखी चाबीले निज पीडितको पिसाब फेर्ने ठाउँमा चलाई जबरजस्ती करणी गरेको अपराध गरेको पछि स्पष्ट हुन आएको हो । निज प्रतिवादीउपर कानूनबमोजिम कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको पसी शेर्पाको मिति २०७२।१२।२१ को कागज बेहोरा ।
मिति २०७२।११।३० गते अन्दाजी बिहान ७:३० बजेको समयमा काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिका, वडा नं. ४ स्थित पीडित परिवर्तित नाम बौद्ध १९(०७२/०७३) प्रतिवादी रामेश्वर नेपालीको किचन कोठामा गई पिर्कामा बसेको अवस्थामा निज प्रतिवादीले पीडितको योनिमा चाबीले चलाई जबरजस्ती करणी गरेको भन्ने कुरा पछि जानकारी पाएको हौं । सम्बन्धित चिकित्सकद्वारा पीडितको स्वास्थ्य चेकजाँच रिपोर्टबाट समेत उक्त घटनाबारे पुष्टि हुन आएकोले अनुसन्धान हुनुपर्छ भन्नेसमेत बेहोराको करूणा सिंखडा, ललिता सिंखडा र शंकरमान तामाङसमेतले लेखाइदिएको प्राय: एकै मिलान बेहोराको मिति २०७२।१२।२१ को सर्जमिन कागज ।
प्रतिवादीले पीडित परिवर्तित नाम बौद्ध १९(०७२/०७३) को पिसाब फेर्ने ठाउँमा चाबी हाली जबरजस्ती करणी गरेको भनी पीडितले बताएअनुसार प्रतिवादीले उक्त चाबी के कता राखे, फाले, मैले भन्न सक्दिनँ ।२९ महिनाकी पीडित नाबालिगले पनि चाबी यही हो भनी खुलाउने र चिनसक्ने अवस्था हुँदैन । नाबालिगले त्यस्तो अपराधको विषयमा बोल्नु बताउनु नै प्रमाण हो भन्नेसमेत बेहोराको जाहेरवाला बौद्ध १९(क) ०७२/०७३ ले मिति २०७२।१२।२५ मा गरिदिएको कागज ।
प्रतिवादी रामेश्वर नेपालीले मुलुकी ऐन, संशोधित जबरजस्ती करणी महलको १(घ) नं. र ३(१) नं.बमोजिमको कसुर गरेको देखिँदा निज प्रतिवादीलाई सोही महलको ३(१) नं.बमोजिम सजाय गरिपाउन र पीडितलाई उचित क्षतिपूर्तिसमेत प्रतिवादीबाट सोही महलको १०ग. नं.बमोजिम दिलाई भराइपाउँ भन्ने अभियोग मागदाबी ।
म र जाहेरवाला एकै घरमा कोठा भाडामा लिई पेसा व्यवसाय गर्ने गरेका छौं । निजले होटेल व्यवसाय गर्ने राति अबेरसम्म खोल्ने गरेकोमा मैले रातिसम्म नखोल भनी सम्झाउने गरेकोमा निजले मलाई दलित भनी अपशब्द प्रयोग गर्ने गर्थिन् । निजले घरमा सरसफाइ नगरेको भनी निरन्तर गालीगलौज गर्ने र एक पटक मलाई लात्तीले समेत प्रहार गरेको हुँदा मप्रति निजको रिसइवी थियो । लेनदेन अरू केही छैन । जाहेरवालीसँग मेरो २/३ महिनाअगाडिदेखि झगडा भएकोले यी नानी मेरो कोठामा सोही समयदेखि आउने गरेकी थिइनन् । यी नाबालिकालाई मैले उक्त कार्य गरेको भनी लेखाएको बेहोरा सबै झुठ्ठा हो । यी नाबालिगले निजको आमाले सिकाएबमोजिम नभएको कुरा लेखाएकी होलिन् । जाहेरीको बेहोरा एवम् निजको मौकामा भएको कागज बेहोरा झुठ्ठा हो । यी जाहेरवालीसँग मेरो सामान्य झगडा भएकोमा निजले मउपर सार्वजनिक मुद्दासमेत दायर गरेकोमा हाल म धरौटी तारेखमा रहेको छु । यी जाहेरवालीसँग मेरो झगडा भएपश्चात् निजको छोरी मेरो कोठामा आउन छोडेकी हुन् । मलाई झुठ्ठा मुद्दामा फसाउनको लागि यस्तो आरोप लगाएकी हुन् । जाहेरी बेहोरा सम्पूर्ण झुठ्ठा हो । मैले अनुसन्धानको क्रममा गरेको बयान बेहोरा र सहीछाप मेरो नै हो । परिवर्तित नाम बौद्ध १९ (०७२/०७३) को योनि भागमा के कसरी रातो भाग रहन गएको हो, मलाई केही थाहा छैन । मैले अभियोग दाबीबमोजिमको कुनै कसुर गरेको नहुँदा सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रामेश्वर नेपालीले सुरू अदालतसमक्ष मिति २०७३।०१।०६ मा गरेको बयान ।
पछि ठहरेबमोजिम हुने गरी हाल मुलुकी ऐन, अ.बं.११८ को देहाय ५ / १० नं.बमोजिम यी प्रतिवादी रामेश्वर नेपालीबाट नगद धरौटी रकम रू.१,००,०००।– (एक लाख रूपैयाँ) र सो बराबरको जेथा जमानत वा बैंक ग्यारेन्टी दिन ल्याए लिई मुद्दा पुर्पक्षका लागि तारेखमा राख्नु, नदिए गुनामा राख्न अ.बं.१२१ नं.बमोजिम थुनुवा पुर्जी दिई केन्द्रीय कारागार कार्यालयमा राख्न पठाइदिनु भन्नेसमेत बेहोराको काठमाडौं जिल्ला अदालतको मिति २०७३।०१।०६ को थुनछेक आदेश ।
प्रतिवादीले परिवर्तित नाम बौद्ध १९(०७२/०७३) को योनिमा चाबी घुसाई जबरजस्ती करणी गरेको भए निज हिँड्डुल गर्न नसक्ने हुनुपर्ने हो । सो नहुँदा चाबी घुसाई जबरजस्ती गरेको होइन । प्रतिवादीउपर सार्वजनिक अपराधको मुद्दा दिइसकेपछि निजउपर पुनः रिसइवीको कारण र दलित भएको छुवाछुत गरेको भन्नेसमेत कारणले पुनः जाहेरी दिएका हुन् । प्रतिवादी रामेश्वर नेपालीको कुनै गल्ती छैन । निजलाई अभियोगबमोजिम सजाय हुनुपर्ने होइन, सफाइ पाउनुपर्ने हो भनी प्रतिवादीका साक्षी लालकुमारी रोकाले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
प्रतिवादी भनिएको रामेश्वर नेपाली आफ्नै सिप गरी खाने मेहनती र राम्रो स्वभाव भएको व्यक्ति हुन् । निजको पुर्खाका पालादेखि आफ्नै पेसा गरी खाने व्यक्ति हुन् । कसैलाई नराम्रो नगर्ने कसैको केही नबिगार्ने खालको मानिस हुन् । प्रतिवादीले परिवर्तित नाम बौद्ध १९(०७२/०७३) लाई जबरजस्ती करणी गरेको होइन । पीडित बच्चीले प्रतिवादीको कोठामा पिसाब फेरेको सम्बन्धमा जाहेरवाली र प्रतिवादीबिचमा भनाभन झगडा भई सो बखत सार्वजनिक अपराध मुद्दासमेत परेको र सोही रिसइवीका कारणले निजका उपर जबरजस्ती करणीको अभियोग लगाई जाहेरी दिएका हुन् । प्रतिवादीले पीडितउपर कुनै कसुर गरेको होइन । प्रतिवादी दलित भएको कारण हेला गरी रिसइवीको कारणले गर्दा प्रस्तुत मुद्दा लगाएको हो । रामेश्वर नेपालीले कुनै गल्ती नगरेकोले निजलाई अभियोगबमोजिम सजाय हुनुपर्ने होइन । सफाइ पाउनुपर्ने हो भन्नेसमेत प्रतिवादीका साक्षी अमरबहादुर सुनारले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
जाहेरीमा भएको सहीछाप र बेहोरा मेरै हो । मेरो नाबालिका छोरीलाई पिसाब फेराउन राख्ने बेलामा ऐया दुख्यो भनेकी थिइन् । के भयो भनेर सोध्दा सु गर्नेमा दुख्यो भनिन् । पटकपटकसम्म सोध्दा कोठाको अङ्कलले मेरो सु गर्ने ठाउँमा चाबीले कुचुकुचु गरेको भनिन् । पीडित नाबालिका छोरीलाई प्रतिवादीले जबरजस्ती करणीको अपराध गरेका हुन् भन्नेसमेत बेहोराको जाहेरवाली बौद्ध १९(क) २०७२/०७३ ले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
मिति २०७२।१२।२१ गतेको कागजमा भएको सहीछाप र बेहोरा मेरो हो । पहिला पीडितउपर प्रतिवादीले कुटपिट गरेको होइन । पछिल्लो घटना चाहीँ बच्ची रूँदै आएकीले घटनाबारे बुझ्दा प्रतिवादीले पीडितकै यौनाङ्गमा चाबी हालेको कुरा पीडित बालिकाबाटै थाहा जानकारी भएको हो भनी बुझिएका मानिस पसी शेर्पाले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
मेरो सु गर्ने ठाउँमा साँचो हालेको थियो । म रोएँ, मम्मीलाई (साँचोले कुचुकुचु गरेको) भनी हजुरआमालाई पनि भनेँ । हजुरआमाले तेल लगाइदिनुभयो भनी पीडित बौद्ध १९ (०७२/०७३) ले आफ्नी आमाको रोहबरमा सुरू अदालतमा गरेको बकपत्र ।
पीडितको परीक्षण गरिदिएको मिति २०७२।१२।१४ को प्रतिवेदनको सहीछाप बेहोरा मेरो हो । मैले स्वास्थ्य परीक्षण रिपोर्टमा पठाएअनुसार पीडितको मानसिक अवस्था ठिकै थियो । निजको शरीरको परीक्षण गरेको सम्पर्क बेहोरा परीक्षण प्रतिवेदनमा लेखेको छु । साथै निजको दायाँ बायाँ Labia major को तल्लो भित्री भागमा लगभग १x०.६ से.मि. बराबरको रातो भएको देखिन्छ । त्यो रातो भाग हुँदा बच्चालाई बढी दुखेको थियो भनी पीडितको स्वास्थ्य परीक्षण गर्ने डा. गौरी श्रेष्ठले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीले अभियोग दाबीबमोजिमको कसुर गरेको देखिँदा वारदात हुँदाका अवस्थामा पीडितको उमेर १० वर्ष देखिएकोले प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३(१) नं.बमोजिम १० वर्ष कैद हुने साथै निज प्रतिवादीबाट पीडितलाई जबरजस्ती करणीको १०(ग) नं.बमोजिम रू.५०,०००।– (पचास हजार) क्षतिपूर्तिसमेत भराइदिने भन्ने सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७४।०७।१५ मा भएको फैसला ।
मिति २०७२।११।३० मा भएको भनिएको घटनाको विषयमा मिति २०७२।१२।१६ गते अर्थात् घटना घटेको १७ दिनपछि मात्र जाहेरी दिएको अवस्था छ । सो जाहेरी दिनुभन्दा अगाडि रामेश्वर नेपालीले परिवर्तित नाम बौद्ध १९(०७२/०७३) लाई जबरजस्ती करणी गर्ने मनसाय राखी चाबीले योनिमा राखी घटना घटाएको भनी मिति २०७२।१२।०५ गते घटनास्थल प्रकृति मुचुल्का खडा गरिएको छ । सो मुचुल्काको प्रकरण नं.१ मा मौखिक सूचना प्राप्त भएको भन्ने कुरा उल्लेख गरिएको छ । यसरी मौखिक सूचना प्राप्त भएको भन्ने आधारमा खडा भएको घटनास्थल प्रकृति मुचुल्का र घटना घटेको १७ दिनपछि दिएको किटानी जाहेरी दरखास्त बदनियतपूर्ण एवम् गैरकानूनी छ । मैले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानको स.ज. ८, १०, ११, १२, १३, १४, १६ मा मिति २०७२।१२।०३ गते बेलुकी जाहेरवाला र मेरो घरपरिवारबिच नाबालिकाको विषयमा विवाद सिर्जना भई भनाभन भई हातपात हुने अवस्थासम्म आएकोले जाहेरवालाले मलाई सार्वजनिक अपराध मुद्दाको जाहेरी दिई पछि छुटेको छु । मैले मेरी नातिनीसरहकी परिवर्तित नाम बौद्ध १९(०७२/०७३) लाई जबरजस्ती करणी अपराध गरेको छैन भनी स्पष्टसँग उल्लेख गरेको छु । मैले सुरू अदालतसमक्ष गरेको बयानको स.ज. ४, ५, ६, ८, १० मा परिवर्तित नाम बौद्ध १९ (०७२/०७३) लाई जबरजस्ती करणी अपराध गरेको छैन भनी अनुसन्धानमा गरेको बयानलाई समर्थन गरेको छु । मेरा तर्फबाट साक्षीहरू अमरबहादुर सुनार र दालकुमारी रोकाले अदालतसमक्ष गरेको बकपत्रको स.ज. ७ र ८ मा पीडित बच्चीले प्रतिवादीको कोठामा पिसाब फेरेको सम्बन्धमा जाहेरवाली र प्रतिवादीबिचमा भनाभन झगडा भई सो बखत सार्वजनिक मुद्दासमेत परेको र सोही रिसइवीका कारणले पुनः पीडितउपर जबरजस्ती करणीको अभियोग लगाई जाहेरी दिएकी हुन् भन्ने कुरा उल्लेख गर्नुभएको छ । मलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(१) नं.बमोजिम १० वर्ष कैद र ऐ.को १०(ग) नं.बमोजिम पीडितलाई रू.५०,०००।– क्षतिपूर्तिसमेत भराइदिने ठहर गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७४।०७।१५ मा भएको फैसला त्रुटिपूर्ण भएकाले उक्त फैसला बदर गरी सफाइ हुने गरी न्याय पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रामेश्वर नेपालीको मिति २०७३।१०।१२ मा उच्च अदालत पाटनमा दायर भएको पुनरावेदनपत्र ।
यसमा प्रतिवादीले अनुसन्धान अधिकारी तथा अदालतमा आई कसुरमा इन्कार रही बयान गरेको तथा प्रतिवादीउपर सार्वजनिक अपराध मुद्दासमेत दायर भएको देखिन आएको हुँदा समग्र मिसिल प्रमाणको विवेचना एवम् मूल्याङ्कनको सन्दर्भमा सुरूको फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ प्रस्तुत पुनरावेदन र आदेशको प्रतिलिपिसहित उच्च सरकारी वकिल कार्यालय, पाटनलाई पेसीको जानकारी दिई नियमानुसार गरी पेस गर्नुहोला भन्ने उच्च अदालत पाटनको मिति २०७५।०२।१५ को आदेश ।
सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७४।०७।१५ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत पाटनको मिति २०७५।०५।०५ को फैसला ।
जाहेरी दरखास्त र जाहेरवालाको मौकाको भनाइ विरोधाभाषपूर्ण रहेकाले उक्त भनाइलाई अकाट्य प्रमाणको रूपमा ग्रहण गरी दोषी करार गर्न मिल्दैन । जाहेरवालाले मिति २०७२।१२।०३ विपक्षीले नाबालिग छोरीलाई हातपात गरी दुर्व्यवहार गरेको भनी मिति २०७२।१२।०४ मा महानगरीय प्रहरी वृत्त बौद्धमा केही सार्वजनिक अपराध मुद्दामा जाहेरी दरखास्त दिएका छन् । उक्त जाहेरीको बेहोरामा मिति २०७२।११।३० गते बिहान ७:०० बजे उल्लेख भएकोमा सो मेटी मिति २०७२।१२।०३ गते बिहान ७:०० बजे अपराध भएको भन्ने कुरा उल्लेख गरेका छन् । जाहेरवाला स्वयंले दिएको दुईवटा जाहेरीबाट नै प्रस्तुत मुद्दाको जाहेरी दरखास्त बनावटी हो भन्ने कुरा स्पष्ट छ । मेरा विरूद्धमा केही सार्वजनिक अपराध मुद्दा दर्ता भई मिति २०७२।१२।१२ मा मलाई रू.५,०००।- धरौटी लिई तारिखमा राखिएकोमा हाल जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अन्तिम भई बसेकोमा पुन: सोही वारदातकै आडमा नभए नगरेको घटना सिर्जना गरी बनावटी रूपमा दिएको जाहेरीका आधारमा दायर भएको अभियोगपत्रबमोजिम मलाई सजाय गरेको सुरू तथा उच्च अदालतको फैसला Doctrine of Double Jeopardy विपरीत रहेको छ । उक्त कार्य नेपालको संविधानको धारा २० को उपधारा (६) तथा मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ९ प्रतिकूल रहेको छ । मिति २०७२।११।३० गते भएको भनिएको घटनाको विषयमा मिति २०७२।१२।१६ गते अर्थात् घटना घटेको १७ दिनपछि मात्र जाहेरी दिएको अवस्था छ भने सोपूर्व नै मिति २०७२।१२।०५ गते घटनास्थल प्रकृति मुचुल्का खडा गरिएको छ । सर्जमिन मुचुल्काका मानिसहरू करूणा सिंखडा, ललिता सिंखडा र शंकरमान तामाङ प्रत्यक्षदर्शी होइनन् भने निजहरू बकपत्रको लागि अदालतमा उपस्थित भएको अवस्था छैन । परिवर्तित नाम बौद्ध १९ (०७२/०७३) लाई नेपाल मेडिकल कलेजमा उपचार गराइकोमा सो अस्पतालका डा. ले स्वास्थ्य परीक्षण गर्दा No active Bleeding, No P.V. Bleeding, Labia Majora तथा Labia minora मा कुनै पनि किसिमको निलडाम तथा घा-चोट निलडाम तथा घा-चोट देखिएको छैन । नेपाल मेडिकल कलेजमा उपचार गराएको ३ घण्टापछि पुन: परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा गराएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा परिवर्तित नाम बौद्ध १९ (०७२/०७३) को दायाँ बायाँ Labia Majora को तल्लो भित्री भागमा लगभग १×०.६ से.मि. बराबरको रातो भएको कुरा उल्लेख छ । परिवर्तित नाम बौद्ध १९ (०७२/०७३) को Labia Majora मा एउटा अस्पतालमा ३ घण्टाअगाडि रातो नदेखिएकोमा ३ घण्टापछि रातो देखिएको भन्ने कुरासमेत गलत हो । यस्तो विरोधाभाषपूर्ण Medical Report का आधारमा दोषी करार गर्नका लागि दुवै अस्पतालका विशेषज्ञ अदालतसमक्ष उपस्थित गराई बकपत्र गराउनुपर्नेमा केवल म विरूद्ध तयार गरिएको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीको मेडिकल रिपोर्टलाई आधार बनाई सो अस्पताल विशेषज्ञ गौरी श्रेष्ठलाई मात्र बकपत्रको लागि उपस्थित गराइएको छ । परिवर्तित नाम बौद्ध १९ (०७२/०७३) को यौनाङ्गमा मैले चाबी पसाएको भन्ने कुरा कुनै पनि वस्तुनिष्ठ प्रमाणले पुष्टि नभएकाले मलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १(घ) नं. र ३(१) नं.को कसुरमा सोही महलको १०ग. नं.बमोजिम सजाय गर्ने गरी सुरू तथा उच्च अदालतबाट भएको फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रामेश्वर नेपालीले यस अदालतमा दायर गरेको पुनरावेदनपत्र ।
यसमा प्रतिवादीउपर यिनै जाहेरवालाले मिति २०७२।१२।०३ मा यिनै पीडित सम्बन्धमा भएको घटनालाई लिएर सार्वजनिक अपराध कसुरमा जाहेरी दिई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अभियोगपत्र दर्ता भई प्रतिवादी धरौटीमा रिहा भएको भन्ने देखिन्छ । तत्पश्चात् यिनै प्रतिवादीउपर मिति २०७२।१२।१७ मा प्रस्तुत जाहेरी दर्ता गरी अनुसन्धान भएको देखिन्छ । प्रस्तुत जाहेरीमा मिति २०७२।११।३० मा पीडितउपर प्रतिवादीले गरेको प्रस्तुत कसुरको सम्बन्धमा उल्लेख गरेको छ । सो जाहेरीमा पीडितको शारीरिक जाँच मिति २०७२।१२।०५ मा नेपाल मेडिकल कलेजमा स्वयम् जाहेरवालाले लगी जाँच गराएको पनि देखिन्छ । साथै दाबीको कसुरमा प्रतिवादी सुरू अनुसन्धानदेखि नै इन्कारी भई बयान गरेको अवस्था रहेको देखिँदा मिसिल संलग्न प्रमाण मूल्याङ्कनको रोहबाट प्रतिवादीलाई आरोपित कसुर गरेको ठहर गरी उच्च अदालत पाटनबाट मिति २०७५।०५।०५ मा भएको फैसला विचारणीय देखिँदा साबिक मुलुकी ऐन, अ.बं. २०२ नं., मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा १४०(३) तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ६७ बमोजिम पुनरावेदनपत्रको प्रतिलिपिसमेत साथै राखी महान्यायाधिवक्ताको कार्यालयलाई छलफलको लागि पेसीको जानकारी दिई नियमानुसार पेस गर्नुहोला भन्ने यस अदालतबाट मिति २०७७।०३।१० मा भएको आदेश ।
यस अदालतको ठहर
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सुरू तथा पुनरावेदनसहितको सक्कल मिसिलसमेत अध्ययन गरियो ।
पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री रमणकुमार श्रेष्ठ एवम् विद्वान् अधिवक्ताद्वय डा. श्री भिमार्जुन आचार्य र श्री ऋषिराम घिमिरेले जाहेरी दरखास्त र जाहेरवालाको मौकाको भनाइ विरोधाभाषपूर्ण भई वारदात शङ्कास्पद रहेको छ । मिति २०७२।११।३० मा वारदात भएको भनी मिति २०७२।१२।०५ मा घटनास्थल मुचुल्का खडा भएकोमा मिति २०७२।१२।१७ मा मात्र जाहेरी दर्ता भएको छ । नेपाल मेडिकल कलेज, प्रा.लि., जोरपाटीमा भएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा No active Bleeding, No P.V. Bleeding, Labia Majora तथा Labia minora मा कुनै पनि किसिमको घा-चोट नरहेको देखिन्छ । नेपाल मेडिकल कलेजमा उपचार गराएको ३ घण्टापछि पुनः परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथलीमा गराएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा दायाँ बायाँ Labia Majora को तल्लो भित्री भागमा लगभग १×०.६ से.मि. बराबरको रातो भएको भन्ने उल्लेख भएको देखिन्छ । Labia Majora मा एउटा अस्पतालमा ३ घण्टाअगाडि रातो नदेखिएकोमा ३ घण्टापछि रातो देखिएको उल्लेख भएकोले सो तथ्यसमेत विरोधाभाषपूर्ण छ । मेरो पक्षको डेराअगाडि पीडितले सार्वजनिक स्थलमा पिसाब फेरिरहेकोमा सम्झाइबुझाइ गरेकोमा सोही विषयमा विवाद भएको भनी सार्वजनिक अपराधअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा मुद्दा चलाएको र उक्त मुद्दामा मेरो पक्ष धरौटीमा छुटेपश्चात् पुनः सोही रिसइवीका कारण हुँदै नभएको जबरजस्ती करणीको वारदात भएको भनी लामो समयपश्चात् दिएको जाहेरी दोहोरो खतराको सिद्धान्तसमेतको प्रतिकूल रहेकोले उच्च अदालत पाटनबाट मेरो पक्षलाई अभियोग दाबीबमोजिम सजाय गरेको फैसला नमिलेकोले उक्त फैसला बदर गरी मुद्दा खारेज गरी निजलाई सफाइ दिनुपर्ने भनी बहस गर्नुभयो ।
वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री सन्तोषराज कटुवालले सार्वजनिक अपराध र जबरजस्ती करणी दुई छुट्टाछुट्टै कसुर हुन् भने सोका वारदातहरू पनि फरकफरक हुन्छ । मिति २०७२।११।३० गते बिहान अन्दाजी ७:३० बजेको समयमा प्रतिवादीले पीडितको योनिमा चाबीले कुचकुच पारी जबरजस्ती करणीको वारदात गरेको भन्ने कुरा पीडित तथा जाहेरवालाले अदालतमा गरेको बकपत्रसमेतका कागज प्रमाणबाट देखिन्छ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा गराएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा दायाँ बायाँ Labia Majora को तल्लो भित्री भागमा लगभग १×०.६ से.मि. बराबरको रातो भएको देखिएको र सोही बेहोरालाई समर्थन गर्दै स्वास्थ्य जाँच गर्ने चिकित्सकले अदालतमा बकपत्र गरेका छन् ।२९ महिनाकी नाबालिकाले पीडितलाई फसाउने गरी झुठ्ठा कुरा भन्नुपर्ने कुनै कारण देखिँदैन । जबरजस्ती करणीको वारदातमा पीडितको शरीर नै वारदातस्थल हुने भएकोले पीडितको भनाइ नै प्राथमिक प्रमाणको रूपमा रहने हुँदा उक्त प्रमाणको आधारमा प्रतिवादीलाई सजाय गर्ने गरी उच्च अदालत पाटनबाट भएको फैसला मिलेकै हुँदा सोही फैसला सदर कायम हुनुपर्ने भनी बहस गर्नुभयो ।
यसमा, प्रतिवादी रामेश्वर नेपालीले पीडित बौद्ध १९(२०७२ / ७३) को योनिमा चाबीले कुचुकुचु चलाई मुलुकी ऐन, संशोधित जबरजस्ती करणीको महलको १(घ) र ३(१) नं.बमोजिमको कसुर अपराध गरेको देखिँदा निज प्रतिवादीलाई सोही महलको ३(१) नं.बमोजिम सजाय गरी ऐ.को १०ग. नं.बमोजिम प्रतिवादीबाट पीडितलाई उचित क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्ने अभियोग मागदाबी रहेको प्रस्तुत मुद्दामा सुरू काठमाडौं जिल्ला अदालतबाट प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(१) नं.को कसुरमा सोही नं.बमोजिम १० वर्ष कैद सजायका साथै निज प्रतिवादीबाट पीडितलाई जबरजस्ती करणीको महलको १०ग. नं.बमोजिम रू.५०,०००।– (पचास हजार रूपैयाँ) क्षतिपूर्तिसमेत भराइदिने ठहर्याई भएको फैसला सदर कायम गर्ने गरी उच्च अदालत पाटनबाट मिति २०७५।०५।०५ मा भएको फैसलाउपर चित्त नबुझाई प्रतिवादीको तर्फबाट प्रस्तुत पुनरावेदन परेको देखियो ।
प्रतिवादी रामेश्वर नेपालीले यस अदालतमा पुनरावेदन गर्दा जाहेरवालाले एकै वारदातका सम्बन्धमा फरकफरक जाहेरी दिएका छन् । प्रस्तुत जबरजस्ती करणीको मुद्दामा मिति २०७२।१२।०५ मा तयार भएको घटनास्थल मुचुल्कापश्चात् मिति २०७२।१२।१७ मा जाहेरी दर्ता भएको छ । नेपाल मेडिकल कलेज, जोरपाटीमा स्वास्थ्य परीक्षण गराउँदा केही घाउ चोट नरहेको देखिएकोमा सोको तीन घण्टापछि परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथीमा स्वास्थ्य परीक्षण गराउँदा Labia Majora को तल्लो भित्री भागमा १×०.६ से.मि.को रातो भएको भनी फरक बेहोरा उल्लेख भएबाट स्वास्थ्य परीक्षण प्रतिवेदन विरोधाभाषपूर्ण रहेको र सामान्य विवादका सम्बन्धमा दायर भएको सार्वजनिक अपराध मुद्दामा धरौटीमा छुटेपश्चात् प्रस्तुत मुद्दाको जाहेरी परेकोले सुरू तथा उच्च अदालतबाट प्रतिवादीलाई सजाय गर्ने गरी भएको फैसला दोहोरो खतराको सिद्धान्तसमेतको प्रतिकूल भएकाले सो फैसला बदर भई प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउनुपर्ने भन्ने मुख्य पुनरावेदन जिकिर रहेको देखियो ।
उपर्युक्तबमोजिमको तथ्य तथा पुनरावेदन जिकिर भएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता एवम् पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता तथा विद्वान् अधिवक्ताहरूले गर्नुभएको तर्कपूर्ण बहस जिकिरसमेत सुनी प्रतिवादी रामेश्वर नेपालीलाई जबरजस्ती करणीको महलको ३(१) नं.बमोजिम १० वर्ष कैदका साथै निज प्रतिवादीबाट पीडितलाई जबरजस्ती करणीको १०ग. नं.बमोजिम रू.५०,०००।– (पचास हजार रूपैयाँ) क्षतिपूर्तिसमेत भराइदिने ठहर्याई सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर कायम गरेको उच्च अदालत पाटनको फैसला मिलेको छ वा छैन ? पुनरावेदक / प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? भन्ने सम्बन्धमा हेरी निर्णय दिनुपर्ने देखिन आयो ।
२. अब, निर्णयतर्फ विचार गर्दा, प्रतिवादी रामेश्वर नेपालीले मिति २०७२।११।३० गते मेरी नाबालक छोरी परिवर्तित नाम बौद्ध १९ (२०७२/७३) को योनिमा चाबी घुसाई जबरजस्ती करणी गरेकोले निज प्रतिवादीलाई कानूनी कारबाही गरिपाउँ भनी पीडितको आमा परिवर्तित नाम बौद्ध १९(क) (०७२/७३) ले दिएको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको सुरूवात भएको देखिन्छ ।
३. मौकामा पक्राउ परेका प्रतिवादी रामेश्वर नेपालीले मौकामा अधिकारप्राप्त अधिकारी एवम् अदालतसमक्ष बयान गर्दा, नाबालिगको विषयमा विवाद सिर्जना भई भनाभन हुन गएकोमा यिनै जाहेरवालाले आफू विरूद्ध सार्वजनिक अपराध मुद्दाको जाहेरी दिएको र सो मुद्दामा धरौटीमा छुटेपश्चात् निजले प्रस्तुत जबरजस्ती करणी मुद्दाको जाहेरी दिएकी हुन् । मैले नाबालिगको योनिमा चाबी घुसाई जबरजस्ती करणी गरेको होइन भनी आरोपित कसुरमा इन्कार रहेको देखिन्छ ।
४. मिसिल संलग्न मिति २०७२।१२।०५ को घटनास्थल मुचुल्कामा मिति २०७२।११।३० मा प्रतिवादी रामेश्वर नेपालीले पीडितको योनिमा चाबी राखी चलाइदिएको स्थान भनी प्रतिवादी रामेश्वर नेपालीको किचन कोठा देखाएको अवस्था छ । यी पीडित परिवर्तित नाम बौद्ध १९ (०७२/०७३) ले फुके अङ्कलले मेरो सुसु गर्ने ठाउँमा साँचो हालेको (साँचोले कुचु कुचु चलाएको) थियो । म दुखेर रोएँ । मम्मीलाई र हजुरआमालाई पनि भनेँ, हजुरआमाले तेल लगाइदिनुभयो भनी मौकामा कागज गरेकोमा अदालतमा उपस्थित भई जाहेरवाला आमाको रोहबरमा गरेको बकपत्रमा समेत उक्त बेहोरा समर्थित भएको देखिन्छ । जाहेरवाला बौद्ध १९(क) ले पनि सुरू अदालतमा उपस्थित भई जाहेरी बेहोराका साथै मौकाको कागजलाई समर्थन गर्दै बकपत्र गरेको देखिन आयो ।
५. यस प्रकार प्रतिवादीले सुरू अदालतमा र मौकामा अनुसन्धान अधिकारीसमक्षसमेत आरोपित कसुरमा इन्कारी रही बयान गरेका तथा पीडित र जाहेरवालाले मौकामा तथा अदालतमा उपस्थित भई बकपत्र गर्दासमेत प्रतिवादीले पीडितको योनिमा चाबी घुसाई आरोपित कसुर गरेका भनी किटानी बकपत्र गरेको अवस्थामा वारदात हुँदाको परिस्थिति र मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणसमेतको विश्लेषण गरी वारदात घटित भए नभएको एवम् उक्त वारदातमा प्रतिवादीको संलग्नता सम्बन्धमा यकिन गर्नुपर्ने देखिन आयो ।
६. सो सम्बन्धमा हेर्दा पीडित परिवर्तित नाम बौद्ध १८(०७२ / ७३) २९ महिनाकी नाबालिग देखिन्छन् । निजले मिति २०७२।१२।०५ मा मात्र प्रतिवादीले आफ्नो योनिमा चाबी घुसाई चलाएको भनी आफ्नो आमा / हजुरआमालाई बताएपछि जाहेरवाला स्वयंले पीडितलाई तत्काल नजिकै रहेको नेपाल मेडिकल कलेज अस्पतालमा लगी जँचाएको र तत्पश्चात् सोही दिन परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथलीमा लगी स्वास्थ्य जाँच गराएको देखिन्छ । मिसिल संलग्न मिति २०७२।१२।१४ को सो अस्पतालको स्वास्थ्य जाँच प्रतिवेदन हेर्दा, पीडितको दायाँबायाँ दुवै भगोष्ठ (Labia Majora) को तल्लो भित्री भागमा लगभग १×०.६ से.मि. बराबरको रातो दाग / चोट भएको (below labia majora a small erythema of 1×0.6 cm noted with slight pain, no any discharge) भन्ने उल्लेख भएको देखिन्छ । पीडितको शारीरिक परीक्षण गर्ने चिकित्सक डा. गौरी श्रेष्ठले अदालतसमक्ष आई बकपत्र गर्दासमेत प्रतिवेदनको बेहोरालाई समर्थन गर्दै त्यो रातो भाग छुँदा बच्चालाई बढी दुखेको भनी स्वास्थ्य परीक्षण प्रतिवेदनबाट देखिएको तथ्यलाई थप पुष्टि गरिदिएको देखिन्छ । प्रस्तुत मुद्दामा अझ महत्त्वपूर्ण तथ्य के देखिन आउँछ भने प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् कानून व्यवसायीहरूले पीडितलाई तत्काल नेपाल मेडिकल कलेजमा जाँच गर्दा योनिमा कुनै घाउ (erythema) नदेखिएकोमा सोको केही घण्टापछि नै परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा जाँच गर्दा भगोष्ठको भित्री भागमा रातोपन देखिएको बेहोरा नै शङ्कास्पद रहेको र सोबाट वारदात पुष्टि हुन नसक्ने भनी जिकिर लिएकोमा मिसिल संलग्न नेपाल मेडिकल कलेज अस्पतालको मिति २०७२।१२।०५ को प्रेस्क्रिप्सनमा "Please refer to TUTH for the legal procedures and further examination" भनी सुझाव (refer) गरेको पाइन्छ । पीडितको शारीरिक जाँचमा कुनै कैफियत नदेखिएको निश्चयात्मक अवस्था रहेको भए साधन स्रोत सम्पन्न अस्पतालमा थप परीक्षण (further examination) गर्न refer गर्नुपर्ने कुनै कारण देखिँदैन । सो अस्पतालले दिएको थप जाँचको सुझावबमोजिम नै पीडितलाई परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा थप परीक्षण गराएको अवस्था छ । सो अस्पतालको परीक्षण प्रतिवेदनमा पीडितको भगोष्ठमा घाउ देखिएको भन्ने बेहोरा उल्लेख हुनुका साथै सो घाउको उपचारको लागि 1) Cefixime र 2) Betadin Ointment औषधीसमेत लेखिदिएको एवम् सो बेहोरा स्वास्थ्य जाँच गर्ने चिकित्सकको अदालतसमक्ष भएको बकपत्रबाट पुष्टि भई नेपाल मेडिकल कलेजमा गरिएको जाँचबाट पीडितको योनिको भागमा कुनै दाग / चोट नदेखिएको भन्ने प्रतिवादीको जिकिर खण्डित हुन पुगेको छ । प्रमाण ऐन, २०३१ को दफा १८ मा "कुनै काम वा घटनाका सम्बन्धमा भएको तहकिकात वा जाँचबुझको सिलसिलामा प्रचलित कानूनबमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान गरेमा प्रमाणमा लिन हुन्छ" भन्ने तथा ऐ.दफा २३(७) मा "कुनै व्यक्तिले व्यक्त गरेको कुनै राय सो व्यक्ति साक्षीको रूपमा आफैँ अदालतमा उपस्थित भएमा मात्र यस दफाबमोजिम प्रमाणमा लिन हुन्छ" भन्ने व्यवस्था रहेको सन्दर्भमा पीडित बौद्ध १९ (०७२/७३) को स्वास्थ्य स्थितिका सम्बन्धमा निजको शारीरिक जाँच गर्ने विशेषज्ञ चिकित्सकले अदालतमा आई बकपत्रसमेत गरेको अवस्था हुँदा निजले दिएको स्वास्थ्य जाँच प्रतिवेदनलाई प्रमाण ग्राह्य मान्नुपर्ने देखिन आयो ।
७. यस बाहेक, जबरजस्ती करणी मुद्दाको सर्वोत्तम प्रमाण भनेको पीडित स्वयम् हुन्छ । यसै सम्बन्धमा ने.का.प. २०७५, अङ्क ५, नि.नं. १०००७ मा ‘’जबरजस्ती करणीको कार्य लुकीछिपी गरिने आपराधिक कार्य भएकाले त्यसमा प्रत्यक्षदर्शी साक्षी पाउन कठिन हुन्छ । यस्तो अपराधमा अन्य वस्तुगत प्रमाणले पीडितको भनाइलाई अन्यथा साबित नगराएसम्म त्यसलाई प्रमाण ग्राह्य मान्नुपर्ने हुन्छ ।’’ भन्ने सिद्धान्त प्रतिपादित भएको पाइन्छ ।२९ महिनाको निर्दोष नाबालिगले आफू जाने आउने गरेको व्यक्ति (फोके अङ्कल) उपर नगरेका कुराहरूलाई बनावटी रूपमा सिर्जना गरी भन्न सक्ने अवस्थासमेत रहँदैन । त्यसै कारण कलिलो उमेरका अवोध बालबच्चाहरूको मुखमा भगवान्को बास रहेको हुन्छ भन्ने हाम्रो धार्मिक तथा सामाजिक मान्यतासमेत बनेको पाइन्छ । पीडितको आमा अर्थात् जाहेरवालासँगको रिसइवीका कारण आमाले सिकाएर भन्न लगाएको अवस्था हो कि भन्नलाई पनि पीडिताको कथनमा एकरूपता र स्थिरता (Consistency) छ । फरकफरक कुरा भनेको देखिँदैन । निजले लेखाइदिएको घटनाको चित्रण सिलसिलेवार र स्वाभाविक देखिन्छ । प्रतिवादीले आफ्नो सुसु गर्नेमा चाबी घुसाएको भनेकोमा शारीरिक जाँच प्रतिवेदनबाट उक्त तथ्य स्थापित हुन आउँछ । यस अवस्थामा घटनाका सम्बन्धमा पीडित व्यक्तिले घटनापश्चात् व्यक्त गरेका कुरा प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख) बमोजिम प्रमाणमा लिन बाधा देखिएन । जबरजस्ती करणी मुद्दाको प्रकृतिबाट वारदात हुँदाको परिस्थिति र मिसिल संलग्न स्वतन्त्र प्रमाणबाट समर्थित भएको पीडितको कथनलाई प्रत्यक्ष प्रमाणको रूपमा नै ग्रहण गर्नुपर्ने देखिन आयो ।
८. यी पुनरावेदक / प्रतिवादीले अनुसन्धान अधिकारी र अदालतसमक्षसमेत आरोपित कसुरमा इन्कार रही बयान गरेको देखिए तापनि इन्कारी बयान मात्र निर्दोषिताको पर्याप्त आधार बन्न सक्दैन । मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणहरूबाट कसुर स्थापित हुन नसकेमा वा कसुर स्थापित भए पनि प्रतिवादीको कसुरमा संलग्नता नदेखिएमा मात्र इन्कारी बयान निर्दोषिताको लागि थप आधार बन्न सक्ने हो । प्रतिवादीको बयान इन्कारी वा साबिती के हो भन्ने निरपेक्ष रूपमा नहेरी मिसिल संलग्न प्रमाणको समग्रतामा विवेचना गरी इन्कारी बयान समर्थित हुने नहुने निर्क्यौल गरिनु आवश्यक हुन्छ । यसै सम्बन्धमा यस अदालतबाट विर्खध्वज श्रेष्ठ विरूद्ध परिवर्तित नाम गोपीको जाहेरीले नेपाल सरकार भएको हाडनातामा जबरजस्ती करणीको मुद्दामा "जाहेरवालाको जाहेरी दरखास्त र सोलाई समर्थन गर्ने गरी गरेको बकपत्र, पीडितको घटना विवरण कागज र सोलाई समर्थन गरी गरेको बकपत्र, घटना विवरण कागज गर्ने अन्य व्यक्तिहरूको बकपत्र तथा पीडितको शारीरिक परीक्षण प्रतिवेदन र सो परीक्षण गर्ने डाक्टरको बकपत्रसमेतबाट जबरजस्ती करणीको कसुर स्थापित भइरहेको अवस्थामा प्रतिवादीको इन्कारी बयानलाई मात्र आधार मानी यी पुनरावेदक प्रतिवादी निर्दोष रहेछन् भनी मान्न नमिल्ने" (ने.का.प.२०७८, अङ्क ९, नि.नं.१०७३८) भनी प्रतिपादित भएको सिद्धान्त प्रस्तुत मुद्दाको सन्दर्भमा समेत आकर्षित हुने देखिन्छ । पीडितको शारीरिक जाँच प्रतिवेदनबाट भगोष्ठमा रातोपन देखिएको, पीडितले किटानीसाथ आफू यी प्रतिवादीको कोठामा गई पिर्कामा बसेको बेला निजले चाबी घुसाई कुचुकुचु चलाएको भनी लेखाइदिएको, जाहेरवाला तथा मौकामा कागज गर्ने अन्य व्यक्तिहरूले समेत पीडितको सोही भनाइ उद्धृत गरी बकपत्र गरेको, वारदात परिस्थिति (Crime Scene) हेर्दा प्रतिवादीले चाबी नघुसाएको भए पीडितको भगोष्ठमा रातोपन हुनुपर्ने अन्य कुनै कारणसमेत नदेखिएको अवस्थामा प्रतिवादीले आफूले आरोपित कसुर नगरेको भनी बयानमा जिकिर लिएको भए तापनि त्यस्तो इन्कारी बयान मिसिल प्रमाणबाट समर्थित हुन आएन । सो इन्कारी बयानमा आधारमा मात्र प्रतिवादी आरोपित कसुरमा निर्दोष रहेछन् भनी मान्न मिलेन ।
९. यसबाहेक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरूले वैकल्पिक जिकिरको रूपमा प्रतिवादीले पीडितको योनिमा चाबीले चलाएको मानेको अवस्थामा पनि मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं.को स्पष्टिकरणको खण्ड (घ) मा "गुदद्वार वा मुखमा लिङ्ग पसाएमा वा लिङ्गबाहेक अन्य कुनै वस्तु योनिमा प्रवेश गराएमा पनि जबरजस्ती करणी गरेको मानिने छ" भन्ने कानूनी व्यवस्था रहेकोमा पीडितको स्वास्थ्य जाँच प्रतिवेदनबाट योनिको बाहिरी भगोष्ठ (Labia majora) मा मात्र दाग (erythema) देखिएको र योनिको भित्री भागमा चाबी प्रवेश गराएको दाग वा रातोपन केही नदेखिएको हुँदा बाहिरी भागमा लागेको दागबाट चाबी "योनिमा प्रवेश गराएको" मान्न नमिल्ने भएकाले प्रतिवादीउपरको आरोपित कसुर स्थापित हुन नसक्ने भनी लिएको जिकिर छ, सोतर्फ हेर्दा, लिङ्ग प्रवेश गर्दा गरिने जबरजस्ती करणीको कसुर कायम हुनका लागि लिङ्ग योनिमा प्रवेश गरेकै हुनुपर्ने आवश्यक नहुने लिङ्गले योनि छुनु मात्र पनि जबरजस्ती करणीको लागि पर्याप्त हुने भनी यस अदालतबाट "बालिकाको यौनाङ्गमा लिङ्गले छुने, रगड्ने वा आंशिकरूपमा प्रवेश गरेको रहेछ भने पनि बालिका विरूद्धको करणीको कार्य पुरा भएसरह नै मान्नुपर्ने हुन्छ । अन्यथा लिङ्गले त्यहाँसम्म प्रवेश गर्ने कुरा अप्रासङ्गिक हुन्छ । आपराधिक मनसायलाई हेरी खराब कार्य (Mischief) लाई निरूत्साहित गरी दण्डित गर्ने हिसाबले कसुरसम्बन्धी कानूनको व्याख्या गर्नुपर्ने" भनी व्याख्या भएको पाइन्छ । वस्तुत: जबरजस्ती करणीको कसुर जबरजस्ती करणी गर्ने मनसायबाट प्रेरित आक्रमण भएकाले जबरजस्ती करणीको कार्य र मनसाय दुवै देखिएको अवस्थामा लिङ्ग के कति प्रवेश भयो वा योनिको के कुन भागमा स्पर्श भयो भन्ने प्रश्नको कुनै औचित्य र सान्दर्भिकता रहँदैन । जबरजस्ती करणीको कसुर कायम गर्ने प्रयोजनका लागि लिङ्गले महिलाको योनि वा योनि वरपरको भागमा स्पर्श गर्नु नै पर्याप्त हुने देखिन्छ । लिङ्गबाहेक अन्य कुनै चिजवस्तु योनिमा प्रवेश गराई गरिने जबरजस्ती करणीको कसुरमा पनि त्यस्ता चिजवस्तुले योनिमा छोएको अवस्थालाई जबरजस्ती करणीको कसुर कायम भएको भनी मान्नुपर्ने हुन्छ । विधिविज्ञान विधाका प्रसिद्ध लेखक Jaising P. Modi ले आफ्नो पुस्तक A Textbook of Medical Jurisprudence and Toxicology, 26th edition (Lexis Lexis 2018) को पृष्ठ ७८२ मा बाहिर भगोष्ठ (Labia Majora) लाई समेत योनिको भाग भनी उल्लेख गरेको देखिएबाट समेत उक्त तथ्य सम्पुष्टि हुन आउँछ ।
१०. यसैगरी के कस्तो अवस्थामा योनिमा प्रवेश गराएको मानिने भन्ने सन्दर्भमा सो पुस्तकको पृष्ठ ७८१ मा देहायबमोजिम उल्लेख गरेको पाइन्छ ।
"Not only penetration or insertion of the man’s penis into woman’s body is rape; if the woman is made to do any of the sexual acts against her will on a man or any other person, is, full or partial, into vagina or urethra or anus or mouth. If it is not of penis, it need not be even penetration, but it will include insertion of any object or part of the body, say even a finger or tongue into vagina, urethra or anus. Vagina includes labia majora. Tongue into mouth of the woman will not be rape, while penile insertion into mouth will be rape…"
११. यसबाट स्पष्टत: बाहिरी भगोष्ठसमेत योनिको भाग हो भन्ने देखिन आएको र योनिको बाहिरी भागमा गरिएको आक्रमणबाट समेत जबरजस्ती करणीको प्रयोजनका लागि योनिमा प्रवेश गराएको मान्नुपर्ने देखिन आएकोले चाबीले labia majora मा चलाएकै कारण जबरजस्ती करणीको कसुर कायम हुन नसक्ने भन्ने विद्वान् अधिवक्ताहरूको जिकिरसँग सहमत हुन सकिएन ।
१२. जहाँसम्म पुनरावेदक / प्रतिवादीले यसै वारदातका सम्बन्धमा केही सार्वजनिक अपराधमा अभियोग दायर भई मुद्दा पुर्पक्षको सिलसिलामा रहँदाकै अवस्थामा पुन: जबरजस्ती करणी मुद्दामा जाहेरी परी कारबाही र सजाय भएकाले एउटै कसुरमा दोहोरो सजाय भई दोहोरो खतराको सिद्धान्तविपरीत भएको भनी लिएको जिकिर छ, सो सम्बन्धमा विचार गर्दा, दोहोरो खतराको सिद्धान्त कुनै पक्षलाई एउटै कसुरमा एक पटकभन्दा बढी मुद्दा नचलाइने र सजाय नदिइने प्रतिबद्धता हो । यस सिद्धान्तले कुनै पनि व्यक्तिलाई कुनै खास फौजदारी कसुरमा एकपटक पहिला नै मुद्दा चलाई सफाइ दिइएको वा दोषी ठहराई सजाय दिइएको होस, पुनः सोही विषयमा अनुसन्धान तहकिकात गरी मुद्दा चलाउनु न्यायको रोहमा उपयुक्त नहुने मान्यता राखेको हुन्छ । वस्तुत: एकपटक फौजदारी कारबाही अन्तिम भएपछि पुनः सोही विषयमा सोही व्यक्तिउपर मुद्दा चलाई सजाय गर्न राज्य विबन्धित हुन्छ । यो व्यवस्था collateral estoppel को सिद्धान्तमा आधारित हुन्छ । एउटै कसुरको अभियोगमा पटकपटक अनुसन्धान तहकिकात गरी मुद्दा चलाउँदै जाने हो भने राज्यको फौजदारी न्याय प्रणाली न्यायअनुकूल नभई आतङ्कपूर्ण हुनसक्ने खतरा रहने हुँदा नागरिकलाई सो अवस्थाबाट जोगाउन, एउटा अपराधमा एक पटकभन्दा बढी कारबाही वा सजायको अवस्था सिर्जना हुन नदिन र फौजदारी मुद्दाको अन्तिमता (finality of the case) लाई स्थिर बनाइराख्नेसमेत फौजदारी न्यायिक कार्यविधिमा दोहोरो खतराको सिद्धान्तलाई कठोरसाथ पालना गर्नुपर्नेमा द्विविधा रहन सक्दैन । विश्वका अधिकांश कानूनी प्रणालीले एउटै फौजदारी अपराधका सम्बन्धमा एक पटकभन्दा बढी अनुसन्धान तहकिकात भई मुद्दा चल्न सक्ने दोहोरो खतराको सिद्धान्त (Principle of Double Jeopardy) का विरूद्ध आवश्यक सुरक्षा प्रदान गरेको पाइन्छ ।
१३. नेपालको संविधानको धारा २० को उपधारा (६) मा "कुनै पनि व्यक्ति विरूद्ध अदालतमा एकै कसुरमा एक पटकभन्दा बढी मुद्दा चलाइने र सजाय दिइने छैन" भन्ने व्यवस्था राखी दोहोरो खतराको सिद्धान्तका विरूद्ध संवैधानिक संरक्षण प्रदान गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा ९ मा पनि तदनुरूप नै एउटै कसुरमा दोहोरो सजाय नहुनेः शीर्षकअन्तर्गत "कुनै व्यक्ति विरूद्ध अदालतमा एकै कसुरमा एक पटकभन्दा बढी मुद्दा चलाइने र सजाय गरिने छैन" भन्ने व्यवस्था उल्लेख गरी कुनै पनि व्यक्ति विरूद्ध एकै कसुरमा एक पटकभन्दा बढी मुद्दा चलाउन निषेध गरेको अवस्था छ ।
१४. अब, उक्त सिद्धान्तको रोहमा प्रस्तुत मुद्दाको तथ्य तथा घटनाको सिलसिलासमेतलाई विचार गर्दा, यी प्रतिवादी रामेश्वर नेपाली र जाहेरवाला एउटै घरमा कोठा भाडामा लिई बस्दै आइरहेकोमा मिति २०७२।१२।०३ मा प्रतिवादी रामेश्वर नेपालीले निजको कोठाअगाडि सार्वजनिक स्थानमा जाहेरवालाकी छोरी अर्थात् प्रस्तुत मुद्दाकी पीडिताले पिसाब गरिदिएको निहुँमा पीडितालाई हातपात गरी दुर्व्यवहार गरेउपर मिति २०७२।१२।०४ मा केही सार्वजनिक अपराधअन्तर्गतको जाहेरी परी मिति २०७२।१२।१२ मा जिल्ला प्रशासन कार्यालयमा अभियोग दायर भएको भन्ने देखिन्छ । उक्त तथ्यलाई प्रतिवादीले सो मुद्दामा र प्रस्तुत मुद्दामा समेत स्वीकार गरेको अवस्था छ । तर प्रस्तुत जबरजस्ती करणीको वारदात मिति २०७२।११।३० मा भएको देखिन्छ । उक्त तथ्य पीडितले निजकी आमा जाहेरवालालाई मिति २०७२।१२।०५ मा भनेपश्चात् तत्कालै सोही दिनमा पहिले नेपाल मेडिकल कलेज प्रा.लि., जोरपाटीमा र पुन: सोही दिन परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गराएको देखिन्छ । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट पीडितको योनिमा घाउ (erythema) देखिएको अवस्था छ । प्रतिवादी रामेश्वर नेपालीले मिति २०७२।१२।०३ मा पीडित एवम् जाहेरवालासँग विवाद परेको तथ्यलाई स्वीकार गरेको अवस्थामा उक्त सार्वजनिक अपराधको वारदातमा निजले गरेको भनिएको कार्यबाट पीडितको योनिमा घाउ हुनुपर्नेसम्मको कुनै कारण नदेखिँदा सोही आधारबाट समेत दुई पृथक् वारदातको अस्तित्व मिसिलबाट स्थापित हुन आउँछ । अपितु पीडितले उक्त दिन आफ्नो आमा र हजुरआमालाई प्रतिवादी रामेश्वर नेपालीसँग सार्वजनिक अपराधसम्बन्धी कसुरको वारदात हुनुपूर्व नै अर्थात् मिति २०७२।११।३० मा प्रतिवादीले आफ्नो योनिमा चाबी घुसाई कुचुकुचु चलाएको भनी भनेको देखिँदा प्रतिवादीको उक्त कार्यबाट सिर्जित कसुर र सार्वजनिक अपराधलाई एकै कसुर भनी मान्न मिलेन । पहिलो वारदात अर्थात् मिति २०७२।११।३० मा घटित भएको जबरजस्ती करणीको कसुरजन्य कार्यका सम्बन्धमा दोस्रो अर्थात् मिति २०७२।११।०३ मा घटित सार्वजनिक अपराधको कसुरजन्य कार्यउपर चलेको मुद्दाबाट सम्बोधन हुनसक्ने अवस्था रहँदैन । मिसिलबाट प्रतिवादीको कोठाअगाडि सार्वजनिक स्थानमा पीडितले पिसाब गरेको जरियाबाट सिर्जित पीडितलाई हातपात गरेको सार्वजनिक अपराधको कसुर र पीडितको योनिमा चाबी घुसाई चलाएको जबरजस्ती करणीको कसुरको स्पष्टत: फरक प्रकृति, फरक मिति र फरक वारदातस्थल देखिन आएकोमा पीडित वा जाहेरवालाले मौकामा कागज लेखाउँदा वा बकपत्र गर्दा मिति वा दिन बार आदिमा हुन गएका स्मृतिजन्य सामान्य मानवीय त्रुटि वा प्राविधिक छिद्रहरूका आधारमा एक अवोध नाबालिगउपर भएको जबरजस्ती करणीको जघन्य कसुरलाई सामान्य प्रकृतिको सार्वजनिक अपराधको कसुरमा नै समावेश भएको भनी अर्थ गर्न मिल्ने देखिँदैन । मिसिलबाट दुई फरकफरक कसुरका वारदातको सम्पुष्टि हुन आयो । फरकफरक प्रकृतिको फरकफरक कसुरमा तत् तत् कानूनबमोजिम अनुसन्धान गरी अभियोजन गर्ने र कसुर ठहर भएमा समेत कानूनबमोजिम सजाय गर्नुपर्ने अवस्थामा दोहोरो खतराको सिद्धान्त आकर्षित हुँदैन । वारदात नै फरकफरक रहेको प्रस्तुत मुद्दामा फरक कानूनबमोजिमको अभियोग दायर भई कानूनी प्रक्रिया अवलम्बन गरी मिसिल संलग्न तथ्य प्रमाणका आधारमा प्रतिवादीलाई सजाय गरेको देखिँदा दोहोरो खतराको सिद्धान्तविपरीत भएको भन्ने पुनरावेदक / प्रतिवादीको पुनरावेदन जिकिर तथा निजको तर्फबाट उपस्थित विद्वान् कानून व्यवसायीहरूको बहस तथ्यपरक देखिन आएन ।
१५. यस प्रकार, मौकामा पीडितको भनाइको आधारमा निजकी आमाले प्रतिवादीउपर आरोपित कसुरमा दिएको किटानी जाहेरी र सोही बेहोरालाई समर्थन हुने गरी अदालतमा आई गरेको बकपत्र, पीडितको मौकाको कागज र अदालतसमक्षको बकपत्र, पीडितको स्वास्थ्य जाँच प्रतिवेदनका साथै स्वास्थ्य जाँच गर्ने चिकित्सकको बकपत्रसमेतका प्रमाणहरूबाट प्रतिवादीले पीडितको योनिमा चाबी घुसाई चलाएको देखिएको र मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं.को स्पष्टीकरण खण्डमा मिति २०७२।०६।१४ मा लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२ द्वारा थप भएको खण्ड (घ) मा "गुदद्वार वा मुखमा लिङ्ग पसाएमा वा लिङ्गबाहेक अन्य कुनै वस्तु योनिमा प्रवेश गराएमा पनि जबरजस्ती करणी गरेको मानिने छ" भन्ने व्यवस्था देखिँदा पुनरावेदक / प्रतिवादीले अभियोग दाबीबमोजिमको कसुर गरेको पुष्टि हुन आई पीडित २९ महिनाको नाबालिग देखिँदा प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(१) नं.बमोजिम १० वर्ष कैद हुने र ऐ. १०ग. नं.बमोजिम प्रतिवादीबाट पीडितलाई रू.५०,०००।- (पचास हजार रूपैयाँ) क्षतिपूर्तिसमेत भराइदिने ठहर गरेको सुरू अदालतको फैसला सदर हुने ठहर्याएको उच्च अदालत पाटनको फैसला मनासिब देखिँदा अन्यथा गर्नुपर्ने देखिएन । प्रतिवादीउपर अभियोजित सार्वजनिक अपराधको कसुरको वारदात र प्रस्तुत जबरजस्ती करणीको मुद्दाको कसुरको वारदात फरकफरक देखिँदा यस अदालतबाट प्रत्यर्थी झिकाउने आदेश गर्दा लिइएका आधार कारणहरूसँग सहमत हुन सकिएन ।
१६. तसर्थ, उल्लिखित आधार, कारण, कानूनी व्यवस्था र यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतबाट पुनरावेदक / प्रतिवादी रामेश्वर नेपालीले अभियोग दाबीबमोजिमको कसुर गरेको पुष्टि हुन आएको र वारदात हुँदाका अवस्थामा पीडितको उमेर १० वर्षभन्दा कम देखिएकोले प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३(१) नं.बमोजिम १० (दश) वर्ष कैद हुने र ऐ.१०ग. नं.बमोजिम प्रतिवादीबाट पीडितलाई रू.५०,०००।– (पचास हजार रूपैयाँ) क्षतिपूर्तिसमेत भराइदिने ठहर्याएको सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७४।०७।१५ मा भएको फैसला सदर गरेको उच्च अदालत पाटनको मिति २०७५।०५।०५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक / प्रतिवादी रामेश्वर नेपालीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको प्रतिलिपिसहितको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू । फैसलाको विद्युतीय प्रति अपलोड गरी मुद्दा दायरी लगतकट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
का.मु.प्र.न्या.हरिकृष्ण कार्की
इजलास अधिकृत:- कृष्णशोभा सुवाल (उपसचिव), नबिन आचार्य (शाखा अधिकृत)
इति संवत् २०८० वैशाख १७ गते रोज १ शुभम् ।