निर्णय नं. ११३६८ - जबरजस्ती करणी र मानव बेचबिखन

सर्वोच्च अदालत,संयुक्त इजलास
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
फैसला मिति : २०८१।१।२४
०७६-CR-०७७९
मुद्दा:- जबरजस्ती करणी र मानव बेचबिखन
पुनरावेदक / वादी : परिवर्तित नाम, थर, सङ्केत नं. ६६ शक्तिनगर L को जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला बर्दिया मगरागाडी गाउँ विकास समिति वडा नं. ८ रम्भापुर बस्ने कालिप्रसाद थारूको छोरा बस्ने सुसिसकुमार थारूसमेत
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९ ले प्रमाणको भार प्रतिवादीमा सारेको भए पनि वादी पक्षले अभियुक्तले गरेको कसुरको गहन अनुसन्धान गर्ने, कुन कानूनको उल्लङ्घन के कसरी भयो, कानूनविपरीत कार्य गरेको के कुन प्रमाणद्वारा पुष्टि गर्न सकिन्छ भनी अनुसन्धान र प्रमाण सङ्कलन गर्नेतर्फ अभियोजन पक्ष आफ्नो दायित्वबाट पन्छिन नमिल्ने ।
ओसारपसार कुन उदेश्यले गरिएको छ सो पनि हेर्नुपर्ने । कसुरमा बेचबिखनको वा शोषणको वा वेश्यावृत्तिको उद्देश्य भएमा मात्र मानव बेचबिखन तथा ओसारपसारमा कारबाही हुने । तर विवाहको निमित्त गरिएको ओसारपसारलाई मानव बेचबिखनको निमित्त गरिएको ओसारपसारअन्तर्गतको कसुर मान्न नसकिने ।
(प्रकरण नं.५)
वादीका तर्फबाट : विद्वान् सहायक न्यायाधिवक्ता श्री श्याम उप्रेती
प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्ने:-
माननीय न्यायाधीश श्री किरणकुमार पोखरेल
बर्दिया जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:-
माननीय न्यायाधीश श्री प्रेमराज कार्की
माननीय न्यायाधीश श्री खुशीप्रसाद थारू
उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास
फैसला
न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई पाउने अनुमति प्राप्त गरी यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :-
संक्षिप्त तथ्य
मिति २०७३।०५।२० गते मेरी छोरी वर्ष १४ की सङ्केत नं.६६ शक्तिनगर (क) लाई प्रतिवादी फुलवसनी थारू, साबित्री थारू र रूपा थारूले प्रतिवादी फुलवसनी थारूको घरमा बोलाई ललाइफकाइ गरी, डर, त्रास देखाई, करकापमा पारी प्रतिवादी सुसिसकुमार थारूसँग विवाह गराई निज प्रतिवादी सुसिसकुमार थारूले आफ्नो घरमा लगी मिति २०७३।०५।२० गतेदेखि मिति २०७३।०५।२५ गतेसम्म लगातार जबरजस्ती करणी गरी मिति २०७२।०५।२६ गते राति ०२:०० बजेको समयमा निज छोरीलाई घरमा नल्याई नाला पुलनजिक छोडेको हुँदा निज प्रतिवादीहरूलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरी मेरी नाबालिका छोरीलाई सो घटनाबाट पर्ने गएको शारीरिक मानसिक क्षतिको समेत मूल्याङ्कन गरी उचित क्षतिपूर्तिसमेत भराइपाउँ भन्नेसमेत बेहोराको सङ्केत नं. ६६ शक्तिनगर L को जाहेरी दरखास्त ।
मिति २०७३।०५।२० गते बिहान अन्दाजी १०:०० बजेको समयमा घाँस काट्ने भनी खेततिर जाने क्रममा प्रतिवादी फुलवसनी थारू, साबित्री थारू र रूपा थारूले मलाई प्रतिवादी फुलवसनी थारूको घरमा बोलाई खाना खान्न भन्दाभन्दै जबरजस्ती खाना खुवाई तिमीलाई राम्रो हुन्छ । काम पनि गर्नु पर्दैन भनी डर, त्रास, धाक, धम्कीसमेत देखाई प्रतिवादी सुसिसकुमार थारूलाई बोलाई निजसँग विवाह गर्नुपर्छ भनी जबरजस्ती प्रतिवादीको साइकलमा बसाली प्रतिवादी सुसिसकुमार थारूले आफ्नो घरमा ल्याई मिति २०७३।०५।२१ गतेदेखि मिति २०७३।०५।२५ गतेसम्म लगातार मलाई जबरजस्ती करणी गरी मिति २०७३।०५।२६ गते राति २:०० बजेको समयमा मेरो घरदेखि अन्दाजी २ किलोमिटर टाढा छोडी आएको हुँदा निज प्रतिवादी फुलवसनी थारू, साबित्री, रूपा थारू र सुसिसकुमार थारूले यस्तो गल्ती कार्य गरेको हुँदा निजहरूलाई कारबाही हुनुपर्छ भन्ने पीडित सङ्केत नं.६६ शक्तिनगर (क) ले गरेको कागज ।
Whitish Discharge, Old Tear In 3 O’clock, 6 O’clock, 7 O’clock Position भन्ने पीडित सङ्केत नं.६६ शक्तीनगर क को स्वास्थ्य परीक्षण रिपोर्ट ।
पूर्वमा रम्मापुरबाट जयनगरतर्फ जाने बाटो, पश्चिममा प्रतिवादी सुसिसकुमार थारूको जग्गा, दक्षिणमा धनिराम थारूको जग्गा, उत्तरमा रामबहादुरको जग्गा यति चार किल्लाभित्रमा प्रतिवादीको २ वटा घरमध्ये पुरानो १ तले माथि टायल र इँट्टाले बनेको दक्षिण मोहडा भएको घरभित्र प्रवेश गरी हेर्दा २ वटा कोठा भएको, पश्चिम साइडको कोठामा प्रतिवादी सुसिसकुमार थारूले पीडित सङ्केत नं.६६ शक्तिनगर क लाई काठको चारपाई (खटिया) माथि उतानो बनाई कपडा खोल्न लगाई जबरजस्ती करणी गरेको र सोही चारपाईदेखि २ मिटर उत्तर देवालमा किलामा झुन्डाएको जेब्रा झोलामा प्रतिवादी सुसिसकुमार थारूले पीडित सङ्केत नं.६६ शक्तिनगर (क) लाई किनिदिएको रातो हरियो बुट्टा भएको कुर्ता र हरियो पहेलो सेतो रंगको बुट्टा भएको सुरूवाल प्रहरीले घटनास्थलबाट बरामद गरी लगेको हो भन्ने घटनास्थल मुचुल्का ।
मिति २०७३।०५।२० गते म आफ्नै घरमा नै थिएँ । सोही दिन बेलुका अन्दाजी ०७:०० बजेको समयमा मसँगै पक्राउ परेकी जिल्ला बर्दिया कालिका गा.वि.स. वडा नं. ४ शक्तिनगर क, फुलवसनी थारू, प्रतिवादी साबित्री थारू र बहिनी प्रतिवादी रूपा थारूले मेरो मोबाइलमा फोन गरी आउनु भनेपछि म तत्काल निज प्रतिवादी फुलवसनी थारूको घरमा आई पीडित सङ्केत नं. ६६ शक्तिनगर (क) लाई मेरो साइकलमा बसाली आफ्नो घरमा सोही दिनको अन्दाजी साँझ २१:३० बजे लगी हामी दुवै जना श्रीमान् श्रीमती भए पनि अलग अलग सुतेका हौं । मिति २०७३।०५।२१ गतेदेखि हामी दुवै जना सँगै सुती पीडितको कपडा खोली २ पटक यौन सम्पर्क गरेको हुँ । अन्य दिनहरूमा पीडितले रून कराउन थालेपछि योनिको वरिपरि लिङ्ग रगडी यौन प्यास मार्थेँ । मिति २०७३।०५।२६ गते ऐ.कालिका गा.वि.स. वडा नं.४ बस्ने पल्टु थारूले मेरो मोबाइल फोन गरेपछि मैले पीडितलाई साथमा लगी जाहेरवालीको घरनजिक छोडेको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी सुसिसकुमार थारूको बयान कागज ।
प्रतिवादी फुलवसनी थारू, साबित्री थारू र रूपा थारूले पीडित सङ्केत नं.६६ शक्तिनगर (क) आफ्नो घरबाट खेतमा घाँस काट्न जाने क्रममा निजहरूले पीडित नाबालिकालाई प्रतिवादीमध्येका फुलवसनी थारूको घरमा बोलाई ललाइफकाइ गरी जिल्ला बर्दिया मगरागाडी गा.वि.स. वडा नं. ८ रम्मापुर बस्ने वर्ष २७ को सुसिसकुमार थारूको जिम्मा लगाएकोमा निज प्रतिवादी सुसिसकुमार थारूले पीडितलाई आफ्नो घरमा ल्याई मिति २०७३।०५।२० गतेदेखि मिति २०७३।०५।२५ गतेसम्म राखी लगातार जबरजस्ती करणी गरी मिति २०७३।०५।२६ गते निज पीडितलाई आफ्नो घरमा फिर्ता पठाइएकोमा निज प्रतिवादी फुलवसनी थारू, साबित्री थारू र रूपा थारूले अभिभावकलाई जानकारी नदिई पीडित नाबालिकालाई आफ्नो घरमा बोलाई ललाइफकाइ डर, त्रास, धाक, धम्की दिई प्रतिवादी सुसिसकुमार थारूको जिम्मा लगाएको देखिएको हुँदा प्रतिवादी सुसिसकुमार थारू, फुलवसनी थारू, साबित्री थारू र रूपा थारूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम कारबाही गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन ।
मिति २०७३।०५।२० गते बिहान अन्दाजी १०:०० बजेको समयमा घाँस काट्न भनी खेततिर जाने क्रममा प्रतिवादी फुलवसनी थारू, साबित्री थारू र रूपा थारूले मलाई प्रतिवादी फुलवसनी थारूको घरमा बोलाई खान खान्न भन्दाभन्दै जबरजस्ती खाना खुवाई तिमीलाई राम्रो हुन्छ । काम पनि गर्नुपर्दैन भनी ललाइफकाइ डर, त्रास, धाक, धम्कीसमेत देखाई प्रतिवादी सुसिसकुमार थारूलाई बोलाई निजसँग विवाह गर्नुपर्छ भनी जबरजस्ती प्रतिवादीको साइकलमा बसाली प्रतिवादी सुसिसकुमार थारूले आफ्नो घरमा ल्याई मिति २०७३।०५।२१ गतेदेखि मिति २०७३।०५।२५ गतेसम्म लगातार मलाई जबरजस्ती करणी गरी मिति २०७३।०५।२६ गते राति २:०० बजेको समयमा मेरो घरदेखि अन्दाजी २ किलोमिटर टाढा छोडी आएको हुँदा निज प्रतिवादीहरूलाई कारबाही हुनुपर्छ भन्ने पीडित सङ्केत नं. ६६ शक्तिनगर (क) को बयान कागज ।
वारदात मिति र समयमा म पनि घाँस काटी आमा प्रतिवादी फुलवसनी थारूको घरमा आएकी थिएँ । सोही समयमा पीडित सङ्केत नं. ६६ शक्तिनगर (क) पनि घाँस काट्ने भनी जाँदै गरेको अवस्थामा हामीहरू प्रतिवादी फुलवसनी थारू, साबित्री थारू र मलगायतले निज पीडितलाई प्रतिवादी फुलवसनी थारूको घरमा बोलाई सम्झाइबुझाइ गरी नमाने तापनि हामीले पीडितलाई तिमीलाई राम्रो हुन्छ । तिम्रो कान्छी आमा छ तिमीलाई राम्रो हुँदैन । केटा धनी पनि छ भनी लोभ लालचमा पारी प्रतिवादी सुसिसकुमार थारूलाई मैले फोन गरी मेरो आमाको घरमा आउनु दाजु भनी बोलाई पछि दाजु प्रतिवादी सुसिसकुमार थारू आउनु भएपछि हामीहरूले निज पीडितलाई विवाह गर्ने भनी प्रतिवादी सुसिसकुमार थारूको साइकलमा बसाली पठाएका हौं । मिति २०७३।०५।२० गतेदेखि मिति २०७३।०५।२५ गतेसम्म प्रतिवादी सुसिसकुमार थारूले आफ्नो घरमा राखी श्रीमान् श्रीमतीको नातामा यौन सम्पर्क गरेका हुन् होइनन् मलाई थाहा भएन । मिति २०७३।०५।२६ गते राति ०२:०० बजेको समयमा के कुन कारणले पीडितलाई घरमा पठाए सोबारेमा थाहा नै छैन भन्नेसमेत बेहोराको प्रतिवादी रूपा थारूको बयान कागज ।
वारदात समयमा प्रतिवादी फुलवसनी थारूको घरमा नै थिए । सोही समयमा हामी तीनै जना एकै ठाउँमा नै थियौं । मेरो जेठानी दिदि प्रतिवादी फुलवसनी थारूको जेठी दिदीको छोराले विवाह गरेको छैन भनेकोमा निज पीडित सङ्केत नं.६६ शक्तिनगर (क) लाई राम्रो होला भनी हामी पीडित घाँस काट्न आएको मौका छोपी निजलाई प्रतिवादी फुलवसनी थारूको घरमा बोलाई मलगायत प्रतिवादी फुलवसनी थारू र रूपा थारूले ललाइफकाई गरी प्रतिवादी रूपा थारूले मोबाइलबाट फोन गरी प्रतिवादी सुसिसकुमार थारूलाई आउनु भनी जानकारी गराइसकेकोमा म मेरो घरको काम विशेषले गइसकेकी थिएँ । प्रतिवादी सुसिसकुमार थारू आई पीडित सङ्केत नं.६६ शक्तिनगर (क) लाई आफ्नो घरमा लगेछ भनी प्रतिवादी फुलवसनी थारू र रूपा थारूले भनेपछि मैले थाहा पाएको हुँ । मिति २०७३।०५।२० गतेदेखि मिति २०७३।०५।२५ गतेसम्म प्रतिवादी सुसिसकुमार थारूले आफ्नो घरमा राखी श्रीमान् श्रीमतीको नातामा यौन सम्पर्क गरेका हुन् होइनन् मलाई थाहा भएन । मिति २०७३।०५।२६ गते राति ०२:०० बजेको समयमा के कुन कारणले पीडितलाई घरमा पठाए । सोबारेमा पनि केही थाहा छैन । मैले त निज पीडितलाई राम्रो होला भनी यस्तो काम गरेकी हुँ भन्नेसमेत बेहोराको प्रतिवादी साबित्री थारूको बयान कागज ।
म वारदात मिति र समयमा घरमा नै थिएँ । पहिलेदेखि नै पीडित सङ्केत नं.६६ शक्तिनगर (क) लाई जाहेरवाली निजको कान्छी आमा हो त्यसैले पीडितलाई कहिलेकाहीँ जाहेरवालीले गाली गलौज गर्नेलगायत कुटपिटसमेत गरेको देखेको थिएँ । मेरी जेठी दिदी प्रतिवादी सुसिसकुमार थारूको आमाले पटकपटक त्यहाँ राम्रो केटीहरू छन् कि मेरो छोराको विवाह गर्नु छ भन्नु भएकोले मैले हुन्छ म हेर्छु भनी दिदीलाई वचन दिएकोमा निज पीडितलाई राम्रो होला भनी सोही दिन निज पीडित सङ्केत नं.६६ शक्तिनगर (क) घाँस काट्न आएको अवस्थामा मसमेतले बोलाई सम्झाइबुझाइ गरी ललाइफकाइ गरी हामीले विवाह गर्ने भनी प्रतिवादी सुसिसकुमार थारूको जिम्मा लगाई पठाएका हौं । निज प्रतिवादी सुसिसकुमार थारूले मिति २०७३।०५।२० गतेदेखि मिति २०७३।०५।२५ गतेसम्म आफ्नो घरमा राखी श्रीमान् श्रीमतीको नातामा यौन सम्पर्क गरेका हुन् होइनन् मलाई थाहा भएन । मिति २०७३।०५।२६ गते राति ०२:०० बजेको समयमा के कुन कारणले पीडितलाई घरमा पठाए सोबारेमा पनि केही थाहा छैन । मैले त निज पीडितलाई राम्रो होला भनी यस्तो काम गरेकी हुँ भन्नेसमेत बेहोराको प्रतिवादी फुलवसनी थारूको बयान कागज ।
जिल्ला बर्दिया कालिका गा.वि.स. वडा नं.४ शक्तिनगर स्थितमा पूर्वमा लठवा दुनै जाने बाटो, पश्चिममा खुशीराम थारूको घर, उत्तरमा बर्मप्रसाद थारूको घर, दक्षिणमा भैसाईतर्फ जाने बाटो यति चार किल्लाभित्रमा प्रतिवादी फुलवसनी थारूको दक्षिण मोहडा भएको १ तले २ कोठा, माथि टिन र इँट्टाले बनेको घर, सो घरभित्र प्रवेश गरी एक एक ठाउँमा हेर्दा जाहेरवाली सङ्केत नं. ६६ शक्तिनगर L को छोरी पीडित सङ्केत नं. ६६ शक्तिनगर (क) ले वारदात समयमा घाँस काट्न भनी लगेको औजार सामग्री निज प्रतिवादी फुलवसनी थारूको घरमा फेला नपरेको हुँदा सोही बेहोराको तपसिल मानिसहरूको रोहबरमा खडा भएको खानतलासी र बरामदी मुचुल्का ठिक दुरूस्त छ भन्ने बेहोराको खान तलासी र बरामदी मुचुल्का ।
मिति २०७३।०५।२० गते बिहान ०६:०० बजेदेखि नै खेतमा पानी चाहाने (लगाउने पालो भएकोले) म खेतमा पानीको लागि बबई नहरमा गएको थिएँ । सोही दिन दिउँसोको समय यकिन भएन म खाना खान घरमा आएको अवस्थामा मेरो घरको टि.भि.कोठामा धेरै मानिसहरू फिल्म हेर्दै थिए । निज पीडित कहाँ थिइन् वास्ता पनि गरिनँ । मैले को को छन् भनी कोठामा हेरिनँ । म खाना खाई पुनः खेततिर गएँ । बेलुका समयमा घरमा आउँदा मेरो श्रीमती प्रतिवादी फुलवसनी थारूले हामी तीनै आमा छोरी साबित्री र रूपाले जाहेरवालीको छोरी सङ्केत नं.६६ शक्तिनगर (क) लाई मेरो जेठी दिदीको छोरा जिल्ला बर्दिया मगरागाडी गा.वि.स. वडा नं.८ रम्मापुर बस्ने वर्ष २७ को सुसिसकुमार थारूसँग विवाह गर्ने भनी पठाएका छौं भनेपछि मैले थाहा पाएपश्चात् मैले निज श्रीमतीलाई त्यस्तो किन गरेको हो भनी रिसाएँ तर के गर्ने भइसकेपछि म चुप लागी बसेको थिएँ । केहि दिनपछाडि जाहेरवाली छोरी सङ्केत नं.६६ शक्तिनगर (क) घरमा आएपछि सबै घटनाबारेमा जाहेरवालीले भनेको थिइन् । जाहेरवाली सङ्केत नं. ६६ शक्तिनगर L रिस उठेर छोरीको न्याय पाउन गाउँमा गुहारिरहेकी थिइन् । तर कसैले वास्ता नगरेपछि यी प्रतिवादी सुसिसकुमार थारू, फुलवसनी थारू, साबित्री थारू र रूपा थारूको नाउँमा किटानी जाहेरी दरखास्त दिएकी होलिन् । पीडितलाई प्रतिवादी फुलवसनी थारू, साबित्री थारू र रूपा थारूले पठाएपछि प्रतिवादी सुसिसकुमार थारूसँग विवाह गर्ने भनी जिम्मा लगाई पठाइदिएकोमा प्रतिवादी सुसिसकुमार थारू र सङ्केत नं. ६६ शक्तिनगर (क) श्रीमान् श्रीमतीको नातामा यौन सम्पर्क गरेका होलान् । सोबारेमा मलाई केही थाहा छैन भन्नेसमेत बेहोराको बुझिएका तुलिराम थारूले गरेको घटना विवरण कागज ।
मिति २०७३।०५।२१ गते मेरो घरनजिक रहेको पसलमा आउँदा जाहेरवाली सङ्केत नं.६६ शक्तिनगर L को छोरी सङ्केत नं.६६ शक्तिनगर (क) लाई ऐ.मगरागाडी गा.वि.स. वडा नं.८ रम्मापुरको केटाले विवाह गरी लगेको छ भन्ने पसल नजिकका मानिसहरूले हो हल्ला गरेको सुनेपश्चात् म सोही ठाउँबाट निज जाहेरवालीको घरमा गई के भएको हो भनी सोध्दा वारदात मिति र समयमा मेरो नाबालिका छोरी वर्ष १४ को सङ्केत नं. ६६ शक्तिनगर (क) लाई कस्ले लगेछ भनेपछि मैले थाहा पाएको हुँ । हिँड् जाउँ भनेर मसहित जाहेरवाली सङ्केत नं. ६६ शक्तिनगर L निज प्रतिवादी सुसिसकुमार थारूको घरमा आई हेर्दा पीडित नाबालिका सङ्केत नं. ६६ शक्तिनगर (क) निज प्रतिवादी सुसिसकुमार थारूकै घरमा थिइन् । निज पीडितले जाहेरवालीलगायत हामीहरूसँग प्रतिवादी फुलवसनी थारू, साबित्री थारू र रूपा थारूले म घाँस काट्ने भनी जाने क्रममा मलाई प्रतिवादी फुलवसनी थारूले आफ्नो घरमा बोलाई तिमीलाई राम्रो हुन्छ, तिमीले काम गर्नु पर्दैन भनी करकापमा पारी ललाइफकाइ गरी पठाएका हुन् भनी रूँदै पीडितले घटनाको बारेमा भनेपछि मैले थाहा पाएको हो । मिति २०७३।०५।२६ गते राति ०२:०० बजेको समयमा निज पीडितलाई के कारणले हो प्रतिवादी सुसिसकुमार थारूले हाम्रै गाउँनजिक नाला पुल भन्ने ठाउँमा छोडेर गएका रहेछन् । पीडित सङ्केत नं.६६ शक्तिनगर (क) घरमा आउँदा जाहेरवालीलाई रिस उठेर हामी सबै गाउँका मानिसहरूलाई बोलाई मेरो छोरी नाबालिकाको लागि न्याय दिनुहोस् भन्दा गाउँका मानिसहरू भेला जम्मा भई दुवै पक्षका मानिसहरू राखी छलफल गराइदिनुहोस् भन्दा मानिसहरू जम्मा भई सो ठाउँमा गाउँले मानिसहरू केही नबोली बसिरहेकोमा उल्टै प्रतिवादी फुलवसनी थारू, साबित्री थारू र रूपा थारूले निज जाहेरवालीसँग झगडा गर्न खोज्दा हामीलगायत गाउँका मानिसहरू सो ठाउँमा नबसी घरतिर गएपछि जाहेरवालीले न्याय पाउनका लागि प्रहरी कार्यालयमा गएकी हुनुपर्छ । निज पीडितलाई प्रतिवादी फुलवसनी थारू, साबित्री थारू र रूपा थारूले ललाइफकाइ करकापमा पारी प्रतिवादी सुसिसकुमार थारूसँग विवाह गर्ने भनी जिम्मा लगाइदिएकोमा निज प्रतिवादी सुसिसकुमार थारू र सङ्केत नं. ६६ शक्तिनगर (क) श्रीमान् श्रीमतीको नातामा यौन सम्पर्क गरेका होलान् सोबारेमा मलाई केही थाहा छैन भन्नेसमेत बेहोराको बुझिएका दयाराम थारूले गरेको घटना विवरण कागज ।
मिति २०७३।०५।२० गते म आफ्नै घरमा नै थिएँ । मिति २०७३।०५।२१ गते मेरो घरनजिक रहेको पसलमा जाँदा जाहेरवाली सङ्केत नं. ६६ शक्तिनगर L को छोरी सङ्केत नं. ६६ शक्तिनगर (क) लाई ऐ. मगरागाडी गा.वि.स. वडा नं.८ रम्मापुरको केटाले लगेको छ भनी सोही स्थित हल्ला चलेको सुनेपश्चात् म सोही ठाउँबाट निज जाहेरवालीको घरमा गई के भएको हो भनी सोध्दा वारदात मिति र समयमा मेरो नाबालिका छोरी वर्ष १४ की सङ्केत नं. ६६ शक्तिनगर (क) लाई कस्ले लगेछ भनेपछि मैले थाहा पाएको हुँ । हिँड जाउँ भनेर मसहित जाहेरवाली निज प्रतिवादी सुसिसकुमार थारूको घरमा गई हेर्दा पीडित नाबालिका सङ्केत नं. ६६ शक्तिनगर (क) निज प्रतिवादी सुसिसकुमार थारूकै घरमा थिइन् । पीडितले जाहेरवालीलगायत हामीहरूसँग प्रतिवादी फुलवसनी थारू, साबित्री थारू र रूपा थारूले म घाँस काट्ने भनी गएको अवस्थामा मलाई प्रतिवादी फुलवसनी थारूले आफ्नो घरमा बोलाई तिमीलाई राम्रो हुन्छ, तिमीले काम गर्नु पर्दैन भनी करकापमा पारी ललाइफकाइ गरी पठाएका हुन भनी रूँदै पीडितले घटनाको बारेमा भनेपछि मैले थाहा पाएको हो । सोही समयमा निज प्रतिवादी सुसिसकुमार थारूको घरमा हामी केही नबोली पीडितलाई प्रतिवादीको घरमा छोडी हामीहरू आफ्नो घरमा आएपछि मिति २०७३।०५।२६ गते राति ०२:०० बजेको समयमा निज पीडितलाई के कारणले हो प्रतिवादी सुसिसकुमार थारूले हाम्रै गाउँनजिक नाला पुल भन्ने ठाउँमा छोडेर गएका रहेछन् । निज पीडित घरमा जाँदा जाहेरवालीलाई रिस उठेर हामी सबै गाउँका मानिसहरूलाई बोलाई मेरो छोरी नाबालिकाको लागि न्याय दिनुहोस् भन्दा गाउँका मानिसहरू केही नबोली बसिरहेकोमा उल्टै प्रतिवादी फुलवसनी थारू, साबित्री थारू र रूपा थारूले निज जाहेरवालीसँग झगडा गर्न खोज्दा हामीलगायत गाउँका मानिसहरू सो ठाउँमा नबसी घरतिर गएपछि जाहेरवाली न्याय पाउनका लागि प्रहरी कार्यालयमा गएको हुनुपर्छ । पीडितलाई प्रतिवादी फुलवसनी थारू, साबित्री थारू र रूपा थारूले ललाइफकाइ करकापमा पारी प्रतिवादी सुसिसकुमार थारूसँग विवाह गर्ने भनी जिम्मा लगाइदिएकोमा निज पीडित र प्रतिवादी सुसिसकुमार थारू श्रीमान् श्रीमतीको नातामा यौन सम्पर्क गरेका होलान् सोबारेमा मलाई केही थाहा छैन भन्नेसमेत बेहोरा बुझिएका राम गुलाब थारूले गरेको घटना विवरण कागज ।
मिति २०७३।०५।२० गते म आफ्नै घरमा नै थिएँ । म विगत १ वर्षदेखि शक्तिनगर गाउँघरको जाने मान्ने व्यक्ति भएको कारणले टोल चलाउने वडघर हुँ । जाहेरवाली सङ्केत नं.६६ शक्तिनगर L को छोरी सङ्केत नं. ६६ शक्तिनगर (क) लाई ऐ.मगरागाडी गा.वि.स. वडा नं. ८ रम्मापुरको केटाले विवाह गरी लगेको छ भनी जाहेरवाली सङ्केत नं. ६६ शक्तिनगर L निज प्रतिवादी सुसिसकुमार थारूको घरमा गई हेर्दा पीडित नाबालिका सङ्केत नं. ६६ शक्तिनगर (क) निज प्रतिवादी सुसिसकुमार थारूकै घरमा थिइन् । पीडितले जाहेरवालीसँग प्रतिवादी फुलवसनी थारू, साबित्री थारू र रूपा थारूले म घाँस काट्ने भनी गएको अवस्थामा मलाई प्रतिवादी फुलवसनी थारूले आफ्नो घरमा बोलाई तिमीलाई राम्रो हुन्छ, तिमीले काम गर्नु पर्दैन भनी करकापमा पारी ललाइफकाइ गरी प्रतिवादी सुसिसकुमार थारूको घरमा पठाएका हुन् भनी रूँदै भनेपश्चात् जाहेरवाली आफ्नो घरमा आई घटनाको बारेमा भनेपछि मैले थाहा पाएको हो । मिति २०७३।०५।२६ गते राति ०२:०० बजेको समयमा निज पीडितलाई के कारणले हो प्रतिवादी सुसिसकुमार थारूले हाम्रै गाउँनजिक नाला पुल भन्ने ठाउँ छोडेर गएका रहेछन् । पीडित सङ्केत नं. ६६ शक्तिनगर (क) घरमा आउँदा जाहेरवालीलाई रिस उठेर पछि जाहेरवालीले मलगायत गाउँघरका मानिसहरूलाई बोलाई मेरो छोरी नाबालिकाको लागि न्याय दिनुहोस् भन्दा गाउँका मानिसहरू भेला जम्मा भई दुवै पक्षका मानिसहरू राखी छलफल गराइदिनुहोस् भन्दा मानिसहरू जम्मा भई सो ठाउँमा आई उल्टै प्रतिवादी फुलवसनी थारू, साबित्री थारू र रूपा थारूले निज जाहेरवालीसँग झगडा गर्न खोज्दा हामीहरू आ-आफ्नो घरतिर गएपछि न्याय खोज्नको लागि प्रहरी कार्यालयमा गएकी हुनुपर्छ । पीडितलाई प्रतिवादी फुलवसनी थारू, साबित्री थारू र रूपा थारूले ललाइफकाइ करकापमा पारी प्रतिवादी सुसिसकुमार थारूसँग विवाह गर्ने भनी जिम्मा लगाई पठाइदिएकोमा प्रतिवादी सुसिसकुमार थारू र सङ्केत नं. ६६ शक्तिनगर (क) श्रीमान् श्रीमतीको नातामा यौन सम्पर्क गरेका होलान् सोबारेमा मलाई केही थाहा छैन भन्नेसमेत बेहोराको हाउ थारूको बुझिएका हाउ थारूले गरेको घटना विवरण कागज ।
मिति २०७३।०५।२० गते म आफ्नै घरमा नै थिएँ । मिति २०७३।०५।२१ गते बिहानदेखि नै गाउँघरमा कालीप्रसाद थारूको जेठा छोरा प्रतिवादी सुसिसकुमार थारूले विवाह गरेर ल्याएको छ भनी हल्ला सुनेपछि कस्तो विवाह गरेका छन् भनी हेर्न गएको हो । निज प्रतिवादीले यतिका वर्ष विवाह गरेको थिएन । निजलाई कसैले फसाएको हुनुपर्छ भनी हामीहरू सोचिरहेका थियौं । तर केही दिनपछि गाउँघरमा निज पीडितको कान्छी आमा कालीका गा.वि.स. भैसाहीका प्रतिवादी फुलवसनी थारू, साबित्री थारू र रूपा थारूले ललाइफकाइ निज प्रतिवादी सुसिसकुमार थारूको जिम्मा लगाई पठाइएको हो भन्दै हल्ला भएको मैले सुनी थाहा पाएको हुँ । निज प्रतिवादी प्राय: जस्तो बाहिर विदेशतिर जाने र घरमा आएको समयमा पनि गाउँघरतिर घुम्ने गर्दथे । निज प्रतिवादीले यस्ता किसिमका गल्ती काम गर्ने व्यक्ति नै होइन । मिति २०७३।०५।२६ गते प्रतिवादी सुसिसकुमार थारूको मोबाइलमा के कस्ले फोन गरी जाहेरवालीको छोरी सङ्केत नं. ६६ शक्तिनगर (क) तुरून्तै जाहेरवालीको घरमा पठाइदेउ नत्र तिमीलाई के हुन्छ भनी पटक-पटक फोन गरेकोमा प्रतिवादी सुसिसकुमार थारू डराएर के गर्ने होला भन्दै थिए । म पनि कुनै केही जानकारी नभएकोले मसहित प्रतिवादी सुसिसकुमार थारू र पीडित सङ्केत नं.६६ शक्तिनगर (क) भएर निज पीडितको घरमा गएपछि कुटपिट गर्छन कि भनेर हामीले सोही गाउँनजिक छोडेर आएका हौं । पीडितलाई प्रतिवादी फुलवसनी थारू, साबित्री थारू र रूपा थारूले ललाइफकाइ करकापमा पारी प्रतिवादी सुसिसकुमार थारूसँग विवाह गर्ने भनी जिम्मा लगाई पठाइदिएकोमा प्रतिवादी सुसिसकुमार थारू र सङ्केत नं.६६ शक्तिनगर (क) श्रीमान् श्रीमतीको नातामा यौन सम्पर्क गरेका होलान् मलाई थाहा छैन । प्रतिवादी फुलवसनी थारू, साबित्री थारू र रूपा थारूले फोन गरी प्रतिवादी सुसिसकुमार थारूलाई बोलाई यस किसिमको गल्ती गराइदिएको हुँदा निज फुलवसनी थारू, साबित्री थारू र रूपा थारूलाई कारबाही हुनुपर्छ भन्नेसमेत बेहोरा बुझिएका गोविन्द बुढाले गरेको घटना विवरण कागज ।
मिति २०७३।०५।२० गते म आफ्नै घरमा नै थिएँ । सोही राति मेरो जेठा प्रतिवादी सुसिसकुमार थारूले विवाह गरी सङ्केत नं. ६६ शक्तिनगर (क) लाई घरमा ल्याएको थियो । राति भएको हुँदा मैले कसैलाई जानकारी दिइनँ । ठिकै छ भनी छोरा बुहारीलाई आफ्नै घरमा नै राखेँ । मिति २०७३।०५।२१ गते बिहानदेखि नै गाउँघरमा मानिसहरू जम्मा भएपछि मैले मेरो छोराले बुहारी ल्याएको छ के गर्ने होला भनी सोचिरहेको थिएँ । म र मेरो छोरा नै केही जानकार नभएको र हामीहरूलाई केही थाहा नै नभएकोले मैले बुहारी मात्र आएको छ भनी भोज गर्नुपर्ला भनेको थिएँ । पीडित नाबालिका सङ्केत नं. ६६ शक्तिनगर (क) लाई छोराले विवाह गरी ल्याएको २/३ दिनपछि जाहेरवाली सङ्केत नं. ६६ शक्तिनगर L लगायतका घर परिवार मेरो घरमा आई निज पीडितलाई सम्झाइ गएका हुन् । मिति २०७३।०५।२५ गते मेरो छोरा प्रतिवादी सुसिसकुमार थारूको मोबाइलमा के कस्ले फोन गरी जाहेरवाली छोरी सङ्केत नं. ६६ शक्तिनगर (क) तुरून्तै जाहेरवालीको घरमा पठाइदेउ नत्र तिमीलाई के हुन्छ भनी पटकपटक फोन गरेकोमा प्रतिवादी सुसिसकुमार थारू डराएर के गर्ने होला भन्दै थिए । म पनि कुनै केही जानकार र अनपढ भएकोले डर, त्रासले पीडितलाई आफ्नो साथमा लिई निज पीडितको घरमा गएपछि कुटपिट गर्छन् कि भनेर सोही गाउँ नजिक छोडेर आएको हुँ भनी प्रतिवादी मेरो छोराले भनेपछि थाहा पाएको हो । पीडितलाई प्रतिवादी फुलवसनी थारू, साबित्री थारू र रूपा थारूले ललाइफकाइ करकापमा पारी मेरो छोरा प्रतिवादी सुसिसकुमार थारूसँग विवाह गर्ने भनी जिम्मा लगाई पठाइदिएकोमा मेरो छोरा प्रतिवादी सुसिसकुमार थारू र सङ्केत नं. ६६ शक्तिनगर क श्रीमान् श्रीमतीको नातामा यौन सम्पर्क गरेका होलान् मलाई थाहा छैन । मेरो छोराले यतिका वर्षसम्म विवाह नै गरेको थिएन । तर अर्कोको लोभ लालचमा परी यस्तो काम गरेको हो । प्रतिवादी फुलवसनी थारू, साबित्री थारू र रूपा थारूले फोन गरी मेरो छोरा बोलाई यस किसिमको गल्ती गराएमा निजहरूलाई कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको बुझिएका कालीप्रसाद थारूले गरेको कागज ।
मिति २०७३।०५।२० गते बिहान अन्दाजी १०:०० बजेको समयमा घाँस काट्न भनी खेततर्फ गएकी पीडित नाबालिका सङ्केत नं. ६६ शक्तिनगर (क) लाई प्रतिवादीहरू फुलबसनी थारू, सावित्री थारू र रूपा थारूसमेतले मिली ललाइफकाइ डरत्रास धम्की दिई प्रतिवादीमध्येका सुसिसकुमार थारूसँग विवाह गर भनी प्रतिवादी सुसिसकुमार थारूको जिम्मा लगाई पठाएको र प्रतिवादी सुसिसकुमार थारूले पनि पीडित सङ्केत नं ६६ शक्तिनगर क लाई आफ्नो घरमा लगी मिति २०७३।०५।२१ देखि मिति २०७३।०५।२५ गतेसम्म पटकपटक जबरजस्ती करणी गरी मिति २०७३।०५।२६ गते राति २:०० बजेको समयमा पीडितलाई निजको घरनजिक नाला पुल भन्ने ठाउँमा छोडी गएकाले प्रतिवादी सुसिसकुमार थारूलाई मुलुकी ऐन जबरजस्ती करणीको महलको १ नं. विपरीत ३ नं. को देहाय ३ र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) अनुसारको कसुरमा मुलुकी ऐन जबरजस्ती करणीको महलको ३(३) नं. र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(च) नं. बमोजिम सजाय गरी पीडितलाई निज प्रतिवादीबाट मुलुकी ऐन जबरजस्ती करणीको महलको १० नं. र १०ग नं.बमोजिम क्षतिपूर्तिसमेत दिलाई भराई प्रतिवादीहरू फुलबसनी थारू, रूपा थारू र सावित्री थारूलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ४ नं. र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) नं.अनुसारको कसुरमा जबरजस्ती करणीको महलको ४ नं. र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(च) नं.बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग माग दाबी ।
प्रतिवादी सुसिसकुमार थारू मेरो ठुली आमाको छोरा दाइ नाताका हुन् भने प्रतिवादी फुल बसनी थारू मेरो आमा र सावित्री थारू मेरो काकी हुन् । जाहेरवाली र पीडित मेरो माइतीघर तिरका छिमेकी हुन् । पीडितलाई करकापमा पारी भगाई विवाह गराएको बेहोरा झुठ्ठा हो । पीडितसँग मेरो कहिले पनि बोलचाल भएको छैन । मेरो दाइ नाताका सुसिसकुमार थारूसँग पीडितको बिहे भएको कुरा मैले मेरो माइतीमा गएको बेला साथीहरूबाट सुनी थाहा पाएकी हुँ । निजहरूको सम्बन्ध के कस्तो थियो भन्ने कुमार मलाई केही थाहा छैन । मैले अभियोग दाबीअनुसारको कसुर गरेको नहुँदा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी रूपा थारूले सुरू अदालतमा गरेको बयान ।
प्रतिवादी सुसिसकुमार थारू मेरो दिदीको छोरा हुन् । रूपा थारू मेरो छोरी र सावित्री थारू मेरो देउरानी नाताकी हुन् । वारदात मितिमा मेरो र पीडितको भेटघाट भएको होइन । पीडित र सुसिसकुमार थारूको विवाह कसले गराइदिएको हो । मलाई थाहा छैन । गाउँ छिमेकीले पीडित विवाह गरी गएको भनी गाउँघरमा हल्ला गरेपछि मात्र मैले थाहा पाएकी हुँ । निज पीडितको विवाह गराउने कार्यमा मेरो कुनै संलग्नता छैन । ममाथि लगाइएको आरोप झुठ्ठा हो । मैले अभियोग दाबीअनुसारको कसुर गरेको नहुँदा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी फुलबसनी थारूले सुरू अदालतमा गरेको बयान ।
पीडित सङ्केत नं ६६ शक्तिनगर (क) पहिला पनि ३ पटक आफैँ फरक फरक केटाहरूसँग भागी विवाह गर्ने फेरि केही दिनपछि आफैँ घरमा आउने गरेको थाहा पाएको हुँ । यस पटक पनि निज प्रतिवादी सुसिसकुमार थारूसँग पीडित शक्तिनगर (क) आफैँ विवाह गरी भागेको र पुन: आफ्नो घरमा फर्की आएको भनी गाउँमा हल्ला चलेपछि मैले थाहा पाएकी हुँ । पीडितलाई कोही कसैले ललाइफकाइ गरी सुसिसकुमार थारूसँग विवाह गराएको होइन । जाहेरी दरखास्तको बेहोरा झुठ्ठा हो । मलाई फसाउन भनी झुठ्ठा जाहेरी दिएका हुन् । मैले अभियोग दाबीअनुसारको कसुर गरेको छैन । मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी सावित्री थारूले सुरू अदालतमा गरेको बयान ।
म भारतको बलैगाउँ बजारमा किनमेल गर्न भनी घरबाट गएकोमा सोही क्रममा पहिलो पटक निज सङ्केत नं. ६६ शक्तिनगर (क) सँग भेटघाट भई चिनजान भएको हो । त्यसपछि पुन: सोही बलैगाउँमा किनमेल गर्न जाँदा पुन: निज शक्तिनगर (क)सँग भेटघाट भई हामीबिच दु:ख सुखका कुराकानीसमेत भएको थियो । सोही क्रममा निज शक्तिनगर क ले आफू दु:ख पाएको मान्छे हुँ । म तपाइँसँग विवाह गर्न इच्छुक छु भनी प्रस्ताव गरेकीले मैले पनि निजको प्रस्तावलाई सहर्ष स्वीकार गरी सोही दिनमा नै निजको घरमा कोही कसैलाई थाहा जानकारी नदिई निज शक्तिनगर क लाई विवाह गरी भगाई आफ्नो घरमा लगी ५ दिनसम्म राखेको हुँ । त्यसपछि माइती घरतर्फ कुराकानी मिलाउने र विवाहको कार्यक्रम मिलाउने भनी निज शक्तिनगर क लाई मैले निजको माइतीघरमा पठाएको हो । सो क्रममा निजलाई छोड्न भनी म निजको माइती घरनजिकसम्म गएको र निजलाई छाडी म आफ्नो घरमा फर्किएको हुँ । मैले निज शक्तिनगर क लाई विवाह गरी घरमा राखेको तर निजसँग मैले यौन सम्बन्ध राखेको होइन । निज नयाँ मानिस भएको हुँदा पछि यौन सम्पर्क गरौंला भनी मैले तत्काल यौन सम्पर्क नगरेको हो । जाहेरी दरखास्तको बेहोरा झुठ्ठा हो । अभियोग पत्रमा उल्लिखित कसुर अपराध मैले गरेको नहुँदा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी सुसिसकुमार थारूले सुरू अदालतमा गरेको बयान ।
प्रतिवादी सुसिसकुमार थारू कसुरदार रहेको भन्ने विश्वास गर्ने प्रमाणको विद्यमानता रहेको देखिएकोले पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने हुँदा हाल निज प्रतिवादीलाई मुलुकी ऐन अ.बं. ११८(२) नं.बमोजिम मुद्दा पुर्पक्षका निमित्त थुनुवा पुर्जी दिई थुनामा राख्नु र प्रतिवादीहरू फुलबसनी थारू, रूपा थारू र सावित्री थारूको सम्बन्धमा मिसिल संलग्न तत्काल प्राप्त प्रमाण कागजातबाट यी प्रतिवादीहरू अहिले नै निर्दोष हुन् भनी मान्न सकिने अवस्था नरहेकोले पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने हुँदा हाल निज प्रतिवादीहरूबाट मुलुकी ऐन अ.बं. ११८(५) र (१०) नं.बमोजिम जनही रू.४०,०००।- (चालिस हजार) नगद धरौट वा सो बराबरको जेथा जमानत दिए लिई तारेखमा राख्नु सो नदिएमा कानूनबमोजिम थुनामा राख्नु साथै प्रतिवादीहरू चुक्ता भएको देखिएकोले मिति २०७३।०७।१० गतेका दिन वादी प्रतिवादीका साक्षी झिकाई बुझी पीडितको भेजिनल स्वाब परीक्षण प्रतिवेदन प्राप्त भएको नदेखिँदा सो प्रतिवेदन झिकाई प्रतिवादी सुसिसकुमार थारूको अंश भाग रोक्का राखी प्रस्तुत मुद्दा नियमित सुनुवाइका लागि पेस गर्नु भन्ने सुरू अदालतको मिति २०७३।०७।०२ को थुनछेक आदेश ।
मिति २०७३।०७।०२ को थुनछेक आदेशानुसार प्रतिवादी सुसिसकुमार थारू मुद्दा पुर्पक्षका निमित्त कारागार कार्यालय बर्दियामा थुनामा रहेका र प्रतिवादीहरू फुलबसनी थारू, रूपा थारू र सावित्री थारूले आदेशानुसार माग भएको धरौट जनही रू.४००००।- (चालिस हजार) नगदै दाखिला गरी निजहरू धरौट तारेखमा रहेका ।
प्रतिवादी सुसिसकुमार थारूले पीडित सङ्केत नं.६६ शक्तिनगर क लाई मन पराई दुवै जनाको इच्छा सहमति मन्जुरी भई एकआपसमा मन चित्त बुझी विवाह गरी आफ्नो घरमा लिएर गएका हुन् र विवाह गरिसकेपछि पीडित पनि निज प्रतिवादीसँग ६ दिन सँगै घरमा बसेकी हुन् । पछि फोनबाट केटीलाई फिर्ता पठाउने भए पठाइदे नत्र के हुन्छ भनी धम्की दिन थालेपछि यी प्रतिवादी सोझो सिधा व्यक्ति भएकाले आफूले विवाह गरी ल्याएकी श्रीमती सङ्केत नं.६६ शक्तिनगर क लाई माइतीघर पुर्याइदिएका हुन् । यी प्रतिवादीले पीडितलाई मानव बेचबिखन ओसारपसार गर्ने उद्देश्यले नभई विवाह गरी लिएका हुन् । विवाह गरी श्रीमती बनाई लिएकाले करणी गरे गरेनन् । सो कुरा मलाई थाहा भएन तर जबरजस्ती करणी गरेका होइनन् । यी प्रतिवादीउपरको जाहेरी तथा अभियोग दाबी झुठ्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादी सुसिसकुमार थारूका साक्षी भिमबहादुर वलीले सुरू अदालतमा गरेको बकपत्र ।
जाहेरवाली पीडितको सौतेनी आमा हुन् । जाहेरवालीले सधैँजसो पहिलेदेखि नै पीडितलाई खान लाउन नदिने कुटपिट गर्ने जस्ता क्रियाकलाप गरेकीले पीडित भागेर कहिले कहीँ कहिले कहीँ जान्थिन् । यस पटक प्रतिवादीमध्येका सुसिसकुमार थारूसँग मन चित्त बुझी आफूखुसी विवाह गरी पीडित गएकी हुन् । निज पीडितलाई प्रतिवादीमध्येका फुलबसनी थारू, रूपा थारू र सावित्री थारूले ललाइफकाइ डरत्रास धाक धम्की देखाई करकापमा पारी प्रतिवादी सुसिसकुमार थारूसँग विवाह गरी पठाएका होइनन् । निजहरूउपरको उजुरी झुठ्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादीहरू फुलबसनी थारू, रूपा थारू र सावित्री थारूका साक्षी डोली थारूले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीमध्येका सुसिसकुमार थारू प्रतिवादी रूपा थारूको दाजु नाता पर्ने हुँदा निजको घरमा आउँदा जाँदा मेरो पनि निजसँग चिनजान थियो । निज सुसिसकुमार थारू अविवाहित रहेका हुँदा निजसँग विवाह गर्न पाए राम्रो हुने थियो भन्ने लागेको थियो । मिति २०७३।०५।२० गतेका दिन दिउँसो १:०० बजे प्रतिवादी सुसिसकुमार थारू साइकल लिएर मेरो गाउँ ठाउँमा आएका थिए । म प्रतिवादी फुलबसनी थरूनीको घरमै थिएँ । त्यहीँ निज सुसिसकुमार थारू राम्रो हुने खाने घरका हुन् । बिहे गरेर जाने भए जाउ पछि हामीलाई दोष दिन पाइन्न भन्ने कुरा प्रतिवादीमध्येकी फुलबसनी थारू, रूपा थारू र सावित्री थारूसमेतले भनेकाले निज प्रतिवादी सुसिसकुमार थारूको साइकलको पछाडिको क्यारियरमा बसी म निज प्रतिवादीको घरमा गएकी हुँ । घरमा पुग्दा त्यहाँ प्रतिवादी सुसिसकुमार थारूका बाबु आमा र एकजना दिदी थिए । निजहरूलाई मैले म सुसिसकुमार थारूसँग विवाह गरी आएकी हुँ भनेकी र प्रतिवादी सुसिसले पनि मैले विवाह गरी भगाई ल्याएकोले तिमीहरूको बुहारी हो भनी भनेका थिए । त्यसपछि निज सुसिसकुमार थारू र मसमेत डोरीले बनेको खटियामा साथ साथै सुतेको हो । रातको कति बजेको थियो थाहा भएन । निज सुसिसकुमार थारूले मैले लगाएको कम्मरमुनिको सुरूवाल पेन्टीसमेत खोली मलाई उत्तानो बनाई मेरो योनिमा निजले आफ्नो लिङ्ग पसाउन खोज्दा मलाई पीडा जस्तो भएकाले दुख्यो नगर भनेकीमा निजले मेरो योनिको बाहिर बाहिर मात्र घर्षण गरेका हुन् । पछि म सुसिसकुमार थारूसँग भागी गएको भन्ने थाहा पाई जाहेरवाली सौतेनी आमा, बाबु र काका म गएको घर हेर्न भनी गएका र निजहरूसँग मेरो कुराकानी भई अब बस भनी त्यहीँ छोडी आएका हुन् । प्रतिवादी सुसिसकुमार थारूले मलाई बेचबिखन गर्न भनी लगेको नभई मलाई श्रीमती तुल्याई भगाई लगेका र सोही आधारमा मलाई करणी गर्न खोजेका हुन् । अन्य प्रतिवादीहरूले मलाई बेचबिखन गर्न भनी सहयोग गरेका होइनन् भन्नेसमेत बेहोराको पीडित सङ्केत नं. ६६ शक्तिनगर क ले सुरू अदालतमा गरेको बकपत्र ।
पीडित मेरो सौताको छोरी हुन् । निज पीडित छोरीलाई प्रतिवादीहरू सावित्री थारू, रूपा थारू र फुलबसनी थारूले घाँस काट्न गएको समयमा केटा राम्रो छ । घर खानदानी छ, धनी छ, तिमीले यो केटासँग विवाह गर्यो भने तिमीलाई धेरै सुख हुन्छ भनी ललाइफकाइ प्रतिवादी सुसिसकुमार थारूसँग विवाह गराइदिने भनी पीडित छोरीलाई निज प्रतिवादीसँगै पठाएका हुन् तर यी प्रतिवादीहरूले पीडित छोरीलाई बेचबिखन तथा ओसारपसार गर्ने काम गरेका होइनन् । प्रतिवादी सुसिसकुमार थारूले पनि पीडित छोरीलाई आफ्नो घरमा लगी सँगै सुताई जबरजस्ती करणी गरेको भनी सबै कुराहरू पीडित छोरीले बताएपछि मैले जाहेरी दिएको हुँ भन्नेसमेत बेहोराको जाहेरवाली सङ्केत नं. ६६ शक्तिनगर L ले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरू फुलबसनी थारू, रूपा थारू र सावित्री थारूले पीडितलाई जबरजस्ती लगेको नदेखिएकोले अभियोग माग दाबीबमोजिम मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) को कसुर स्थापित हुने देखिएन । तसर्थ सो कसुरको हकमा प्रतिवादीहरूले सफाइ पाउने ठहर्छ । प्रतिवादी सुसिसकुमार थारूले पीडितउपर जबरजस्ती करणीको उद्योगको कसुर गरेकोले निजलाई के कति सजाय हुने भन्ने सम्बन्धमा पीडितको उमेर १६ वर्षभन्दा कम रहेकोले जबरजस्ती करणीको ३(३) नं. ले हुन सक्ने सजायको आधी सजाय हुने देखिन्छ । तसर्थ प्रतिवादी सुसिसकुमार थारूलाई जबरजस्ती करणीको महलको ५ नं. ले ४ (चार वर्ष) कैदको सजाय हुने ठहर्छ । अन्य प्रतिवादीहरू रूपा थारू, फुलबसनी थारू र सावित्री थारूको सो कार्यमा कुनै संलग्नता रहेको नदेखिँदा निज प्रतिवादीहरूले सफाइ पाउने ठहर्छ । वादी नेपाल सरकारको प्रतिवादीहरूउपरको मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीको कसुर गरेको भन्ने अभियोग माग दाबी पुग्न सक्दैन भन्ने सुरू बर्दिया जिल्ला अदालतको मिति २०७४।९।२४ को फैसला ।
प्रतिवादीहरूउपरको किटानी जाहेरी, पीडितको मौकाको कागज, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, घटनास्थल मुचुल्का, घटना विवरणका मानिसको कागज बेहोरा, प्रतिवादी सुसिसकुमार थारूको मौकाको बयान, जाहेरवाली र पीडितको अदालतको बकपत्रसमेतका आधार प्रमाणबाट प्रतिवादीहरूउपरको आरोपित कसुर पुष्टि भइरहेको अवस्थामा सुरू बर्दिया जिल्ला अदालतबाट प्रतिवादीमध्येका सुसिसकुमार थारूलाई अभियोग दाबीभन्दा कम उद्योगतर्फको कसुरमा सजाय गरेको र अन्य प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाइ दिने ठहर्याएको सुरू फैसला मिलेको नदेखिँदा उक्त फैसला उल्टी गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक वादी नेपाल सरकारको उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा दायर गरेको पुनरावेदन पत्र ।
कथित वारदात बाल विवाहको कसुर हुन सक्ला तर मेरो अदालतको बयान, मेरा साक्षीको बकपत्रबाट म आरोपित कसुरमा निर्दोष रहेको तथ्य स्वयं पीडितको बकपत्रबाट पुष्टि हुन्छ । पीडित भनिएकी मेरो घरमा ५ दिन रहनु र निजसँग एउटै कोठामा सुत्नु एउटा तथ्य हो र आरोपित कसुर गर्नु फरक तथ्य हो । पीडितलाई मैले जबरजस्ती करणीअन्तर्गतको कुनै कसुर गरेको भए पीडितले बचावटको कुनै प्रयास गरेको, हार गुहार गरेको भन्ने कहीँकतै देखिँदैन साथै जबरजस्ती करणीको मनसाय र प्रयाससम्म पनि भएको प्रमाणित हुँदैन । यी तथ्यहरूको कुनै विचार नगरी केवल शंकाको आधारमा सुरू बर्दिया जिल्ला अदालतबाट मलाई जबरजस्ती करणीको उद्योग गरेको कसुरमा ४ वर्ष सजाय हुने ठहर्याई सुरू बर्दिया जिल्ला अदालतबाट भएको फैसला गम्भीर कानूनी त्रुटिपूर्ण भएको साथै सर्वोच्च अदालतबाट प्रतिपादित नजिरको समेत प्रतिकूल भएकोले सो फैसला उल्टी गरी हक इन्साफ न्याय निरूपण गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सुसिसकुमार थारूको उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा दायर पुनरावेदन पत्र ।
प्रतिवादीहरूले पीडितलाई जबरजस्ती लगेको नदेखिएकोले अभियोग माग दाबीबमोजिम मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) को कसुर स्थापित हुने देखिएन । तसर्थ सो कसुरको हकमा प्रतिवादीहरूले सफाइ पाउने ठहर्छ । प्रतिवादी सुसिसकुमार थारूले पीडितउपर जबरजस्ती करणीको उद्योगको कसुर गरेकोले पीडितको उमेर १६ वर्षभन्दा कम रहेकोले जबरजस्ती करणीको ३(३) नं. ले हुन सक्ने सजायको आधी सजाय हुने देखिन्छ । तसर्थ प्रतिवादी सुसिसकुमार थारूलाई जबरजस्ती करणीको महलको ५ नं. ले ४ (चार वर्ष) कैदको सजाय हुने ठहर्छ । अन्य प्रतिवादीहरू रूपा थारू, फुलबसनी थारू र सावित्री थारूको सो कार्यमा कुनै संलग्नता रहेको नदेखिँदा निज प्रतिवादीहरूले सफाइ पाउने ठहर्छ । वादी नेपाल सरकारको प्रतिवादीहरूउपरको मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीको कसुर गरेको भन्ने अभियोग माग दाबी पुग्न सक्दैन भन्ने सुरू बर्दिया जिल्ला अदालतको मिति २०७४।९।२४को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकार र पुनराबेदक प्रतिवादी सुसिसकुमार थारूको पुनरावेदन जिकिर पुग्न सक्दैन भनी उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट मिति २०७५।६।२१ मा भएको फैसला ।
घाँस काट्न गएकी पीडित छोरीलाई प्रतिवादीहरू फुलवसनी थारू, रूपा थारू र सावित्री थारूले ललाइफकाइ गरी पीडित छोरी परिवर्तित नाम थर सङ्केत नं. ६६ शक्तिनगर क लाई फुलवसनी थारूको घरमा लगी प्रतिवादीमध्येका सुसिसकुमार थारूसँग विवाह गरे राम्रो हुन्छ भनी निज सुसिसकुमार थारूलाई फोन गरी बोलाई पीडित छोरीलाई निजसँग घरमा पठाई निजले पीडित छोरीलाई आफ्नो घरमा लगी मिति २०७३।०५।२० गतेदेखि २५ गतेसम्म लगातार जबरजस्ती करणी गरी मिति २०७३।०५।२६ गते राति २ बजे पीडित छोरीलाई घरनजिक नाला पुलनजिक छोडी गएको भन्नेसमेत बेहोराको यी प्रतिवादीहरूउपर किटानी जाहेरी पर्न आएको देखिन्छ । मौकाको किटानी जाहेरी समर्थित हुने गरी घटनास्थल मुचुल्का र प्रतिवादीले मलाई मिति २०७३।०५।२१ गतेदेखि ऐ. २५ गतेसम्म जबरजस्ती करणी गरेको भन्ने बेहोरा खुलाई पीडितले मौकामा कागज गरेकी छिन् । पीडितको योनिद्वारको झिल्ली च्यातिएको (3 o’clock, 6 o’clock, 7 o’clock position) भन्नेसमेत बेहोराको पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, प्रतिवादी सुसिसकुमार थारूले मौकामा गरेको साबिती बयान र मौकामा बुझिएका मानिसहरूले जाहेरी दरखास्त र मौकाको पीडितलाई थप पुष्टि हुने गरी गरेको कागज, जाहेरवालाले अदालतमा गरेको बकपत्र तथा प्रतिवादी सुसिसकुमार थारूले मेरो योनिमा आफ्नो लिङ्ग पसाउन खोजेको, तर पूरै लिङ्ग नपसाएको भन्नेसमेतको बेहोरा खुलाई पीडितले गरेको बकपत्र मिसिल सामेल रहेको छ । यसबाट यी प्रतिवादीले पीडितको योनिमा पूरै नपसाए पनि योनिमा लिङ्ग केही मात्रामा प्रवेश गराएको र त्यसरी लिङ्ग पूरै पसाउन लाग्दा पीडितलाई पीडा भएको तथ्य सोही पीडितको बकपत्रमा उल्लेख भएको देखिन्छ । मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. (ग) मा “योनिमा लिङ्ग केही मात्र प्रवेश भएको रहेछ भने पनि जबरजस्ती करणी गरेको मानिने छ” भने तत्कालीन कानूनी व्यवस्थाबाट पीडितलाई प्रतिवादीले जबरजस्ती करणी गरेको तथ्य पुष्टि भएको छ । प्रतिवादीहरू रूपा थारू, फुलवसनी थारू र सावित्री थारूले पीडितलाई प्रतिवादी सुसिसकुमार थारूसँग साथै पठाएको, निजहरूले त्यसरी पठाएकै कारण पीडितलाई प्रतिवादी सुसिसकुमारले आफ्नो घरमा लगी जबरजस्ती करणी कुरा जाहेरी दरखास्त, पीडितका मौकाको कागज, स्वयम् प्रतिवादीहरूको मौकाको बयान, प्रतिवादी सुसिसकुमार थारूको अदालती बयान र पीडित एवं जाहेरवालीको अदालतको बकपत्रबाट श्रृङ्खलाबद्ध एवं मालाकार रूपमा मानव बेचबिखन र ओसारपसार गरेको तथ्यसमेत पुष्टि भइरहेको अवस्थामा प्रतिवादीहरू फलबसनी थारू रूपा थारू र सावित्री थारूलाई सफाइ दिई प्रतिवादी सुसिसकुमार थारूलाई मानव बेचबिखन तथा ओसारपसारतर्फ सफाइ दिई जबरजस्ती करणीतर्फ उद्योग मात्र ठहर गर्ने गरी गरेको उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासको फैसला बदर गरी सुरू अभियोग मागदाबीबमोजिमको सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको मुद्दा दोहोर्याइपाउँको निवेदनपत्र ।
यसमा पीडितलाई प्रतिवादीले ललाइफकाइ विवाह गर्छु भनी आफ्नो घरमा लगी ५ दिनसम्म राखेको, पीडितलाई करणी गरेको भनी प्रतिवादीले स्वीकार गरेको, आफूलाई प्रतिवादीले करणी गरेको भनी मौकामा पीडितले कागज गरेको, पीडितको शारीरिक परीक्षण प्रतिवेदनबाट योनिद्वारको झिल्ली च्यातिएको भन्नेसमेत देखिएको र पीडितको उमेर १४ वर्ष भन्ने देखिएको स्थितिमा जबरजस्ती करणीको उद्योग गरेको ठहर्याएको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको मिति २०७५।६।२१ को फैसलामा मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को व्याख्यात्मक त्रुटि भई न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को खण्ड (क) को अवस्था विद्यमान देखिएकाले प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान गरिदिएको छ । नियमानुसार पेस गर्नु भनी यस अदालतबाट मिति २०७६।४।१३ मा भएको आदेश ।
यस अदालतको ठहर
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजातहरूको अध्ययन गरियो ।
वादी नेपाल सरकारको तर्फबाट उपस्थित सहायक न्यायाधिवक्ता श्री श्याम उप्रेतीले पीडितलाई ललाइफकाइ गरी घरपरिवारका सदस्यहरूलाई थाहा जानकारी नदिई भगाई लगेको अवस्था छ । भगाई लगी ५ दिनसम्म प्रतिवादी सुसिसकुमार थारूले आफ्नो घरमा राखी जबरजस्ती करणी गरेको भनी प्रतिवादीले स्वीकार गरेको, पीडितको शारीरिक परीक्षण प्रतिवेदनबाट योनिद्वारको झिल्ली च्यातिएको भन्नेसमेत देखिएकोबाट जबरजस्ती करणीको उद्योग ठहर गरेको र मानव बेचबिखन तथा ओसारपसारतर्फ प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको उच्च अदालतको फैसला बदर गरी सुरू अभियोग माग दाबीबमोजिमको कसुर ठहर गरी सजाय दिलाइपाउँ भनी बहस गर्नुभयो । प्रतिवादीको तर्फबाट इजलाससमक्ष कुनै कानून व्यवसायीको प्रतिनिधित्व भएको देखिएन ।
मिसिल अध्ययन गर्दा, घाँस काट्न गएकी पीडित छोरीलाई प्रतिवादीहरू फुलवसनी थारू, रूपा थारू र सावित्री थारूले ललाइफकाइ गरी पीडित छोरी परिवर्तित नामथर सङ्केत नं. ६६ शक्तिनगर क लाई फुलवसनी थारूको घरमा लगी प्रतिवादीमध्येका सुसिसकुमार थारूसँग विवाह गरे राम्रो हुन्छ भनी निज सुसिसकुमार थारूलाई फोन गरी बोलाई पीडित छोरीलाई निजसँग घरमा पठाई निजले पीडित छोरीलाई आफ्नो घरमा लगी मिति २०७३।०५।२० गतेदेखि २५ गतेसम्म लगातार जबरजस्ती करणी गरी मिति २०७३।०५।२६ गते राति २ बजे पीडित छोरीलाई घरनजिकैको नाला पुलनजिक छोडी गएको भन्नेसमेत बेहोराको यी प्रतिवादीहरूउपर किटानी जाहेरी पर्न आएको प्रस्तुत मुद्दामा सुरू बर्दिया जिल्ला अदालतबाट फैसला हुँदा प्रतिवादीहरूले पीडितलाई जबरजस्ती लगेको नदेखिएकोले अभियोग माग दाबीबमोजिम मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) को कसुर स्थापित हुने देखिएन । तसर्थ सो कसुरको हकमा प्रतिवादीहरूले सफाइ पाउने ठहर्छ । प्रतिवादी सुसिसकुमार थारूले पीडितउपर जबरजस्ती करणीको उद्योगको कसुर गरेकोले पीडितको उमेर १६ वर्षभन्दा कम रहेकोले जबरजस्ती करणीको ३(३) नं. ले हुन सक्ने सजायको आधी सजाय हुने भई प्रतिवादी सुसिसकुमार थारूलाई जबरजस्ती करणीको महलको ५ नं. ले ४ (चार वर्ष) कैदको सजाय हुने ठहर्छ । अन्य प्रतिवादीहरू रूपा थारू, फुलबसनी थारू र सावित्री थारूको सो कार्यमा कुनै संलग्नता रहेको नदेखिँदा निज प्रतिवादीहरूले सफाइ पाउने ठहर्छ भनी भएको फैसलाउपर उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा पुनरावेदन परी उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट सुरू बर्दिया जिल्ला अदालतको फैसलालाई सदर हुने गरी गरेको फैसलामा चित्त नबुझाई वादी नेपाल सरकारको तर्फबाट मुद्दा दोहोर्याइपाउँ भनी निवेदन परेकोमा यस अदालतबाट मुद्दा दोहोर्याई हेर्नका लागि अनुमति प्रदान भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको देखियो ।
उपर्युक्त तथ्य, पुनरावेदन जिकिर र वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहायक न्यायाधिवक्ताको बहस जिकिर रहेको प्रस्तुत मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगन्जबाट मिति २०७५/६/२१ मा भएको फैसला मिलेको छ वा छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा हैन ? भन्ने विषयमा नै निर्यण दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, सर्वप्रथमः नेपाल सरकारको पुनरावेदन मागदाबी मानव बेचबिखन तथा ओसारपसार सम्बन्धतर्फ हेर्दा, प्रतिवादी सुसिसकुमार थारूले आफ्नो घरमा लगी मिति २०७३।०५।२० गतेदेखि मिति २०७३।०५।२५ गतेसम्म लगातार जबरजस्ती करणी गरी मिति २०७२।०५।२६ गते राति ०२:०० बजे समयमा निज छोरीलाई घरमा नल्याई नाला पुलनजिक छोडेको भनी जाहेरी दरखास्तको बेहोरा र घरमा सौतेनी आमाले दु:ख दिने गरेकोले प्रतिवादी सुसिसकुमारसँग विवाह गरेमा सुख पाउने छौ भनी भन्दा सुसिसकुमारसँग विवाह गरी लोग्ने स्वास्नी भएर सँगै बस्ने भनी सहमतिमा प्रतिवादीको घरमा गई ५ दिनसम्म सँगै बसी त्यसपछि माइती घरतर्फ कुराकानी मिलाउने र विवाहको कार्यक्रम मिलाउने भनी निज शक्तिनगर क लाई मैले निजको माइतीघरमा पठाएको हो । सो क्रममा निजलाई छोड्न भनी म निजको माइतीघर नजिकसम्म गएको र निजलाई छाडी म आफ्नो घरमा फर्किएको हुँ । मैले निज शक्तिनगर क लाई विवाह गरी घरमा राखेको तर निजसँग मैले यौन सम्बन्ध राखेको होइन गरेको बयानबाट देखिन आएबाट यी प्रतिवादीले पीडितलाई घरमा लगी ५ दिनसम्म राखेको तथ्यमा विवाद देखिएन ।
३. जहाँसम्म प्रतिवादीले मानव बेचबिखन तथा ओसारपसारको कसुर कायम नगरी जबरजस्ती करणीको उद्योगको कसुर कायम गरेको नमिलेको नेपाल सरकारको पुनरावेदन जिकिर सम्बन्धमा विचार गर्दा, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) मा “वेश्यावृत्तिमा लगाउने वा शोषण गने उद्देश्यले कुनै प्रकारले ललाइफकाइ, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबरजस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक अवस्थाको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दरूपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपाल भरको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरू कसैलाई दिने” गरेमा मानव ओसारपसार गरेको मानिने भनी कसुरको परिभाषा गरेको पाइन्छ ।
४. प्रस्तुत मुद्दामा स्वयम् पीडितले अदालतसमक्ष बकपत्र गर्दा प्रतिवादीहरूले आफूलाई प्रतिवादी सुसिसकुमार थारूसँग विवाह गराइदिनको लागि संयोग मिलाइदिएको र प्रतिवादी सुसिसकुमारले जबरजस्ती लगेको नभई पीडित निज प्रतिवादीको साइकलमा आफैँ चढी सुसिसकुमार थारूको घरमा गएको भन्ने देखिन्छ । जाहेरी दरखास्त पनि पीडित स्वयंले दिएको देखिँदैन । सुसिसकुमार थारूसँग भागी गएको भन्ने थाहा पाई जाहेरवाली सौतेनी आमा, बाबु र काका म गएको घर हेर्न भनी गएका र निजहरूसँग मेरो कुराकानी भई अब बस भनी त्यहीँ छोडी आएका हुन् । प्रतिवादी सुसिसकुमार थारूले मलाई बेचबिखन गर्न भनी लगेको नभई मलाई श्रीमती तुल्याई भगाई लगेका र सोही आधारमा मलाई करणी गर्न खोजेका हुन् । अन्य प्रतिवादीहरूले मलाई बेचबिखन गर्न भनी सहयोग गरेका होइनन् भन्नेसमेत बेहोराको पीडित सङ्केत नं. ६६ शक्तिनगर क ले सुरू अदालतमा गरेको बकपत्रलाई खण्डन गर्ने गरी वादी पक्षबाट विश्वसनीय ठोस आधार प्रमाण पेस गर्न सकेको मिसिल संलग्न कागजबाट देखिँदैन ।
५. सामान्यतः सरकारवादी फौजदारी मुद्दामा कसुरदारको कसुर प्रमाणित गर्ने भार वादीमा रहन्छ । अभियोग लगाएर मात्र हुँदैन सो अभियोग पुष्टि हुने प्रमाण वादी पक्षले प्रस्तुत गर्न सक्नुपर्छ । जसलाई प्रमाण ऐन, २०३१ को दफा २५ ले स्पष्ट गरेको छ । के कस्तो कार्यबाट के कस्तो कानूनको उल्लङ्घन भई अपराधजनित कार्य भयो र त्यस्तो कार्यमा को कसको के कसरी संलग्नता रहेको छ भन्ने कुरा पनि अभियोजन पक्षले शङ्कारहित तवर (Beyond the Reasonable Doubt) ले पुष्टि गर्नुपर्छ । विधायिकी कानूनले आफ्नो निर्दोषिता प्रमाण गर्ने भार प्रतिवादीमा सारेको कारणले अभियोजन पक्षको उक्त दायित्व सीमित हुने वा समाप्त हुने होइन । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९ ले प्रमाणको भार प्रतिवादीमा सारेको भए पनि वादी पक्षले अभियुक्तले गरेको कसुरको गहन अनुसन्धान गर्ने, कुन कानूनको उल्लङ्घन के कसरी भयो, कानूनविपरीत कार्य गरेको के कुन प्रमाणद्वारा पुष्टि गर्न सकिन्छ भनी अनुसन्धान र प्रमाण सङ्कलन गर्नेतर्फ अभियोजन पक्ष आफ्नो दायित्वबाट पन्छिन मिल्दैन । ओसारपसार कुन उद्देश्यले गरिएको छ सो पनि हेर्नुपर्दछ । कसुरमा बेचबिखनको वा शोषणको वा वेश्यावृत्तिको उद्देश्य भएमा मात्र मानव बेचबिखन तथा ओसारपसारमा कारबाही हुन्छ । तर विवाहको निमित्त गरिएको ओसारपसारलाई मानव बेचबिखनको निमित्त गरिएको ओसारपसारअन्तर्गतको कसुर मान्न सकिएन । प्रस्तुत मुद्दामा मिसिल संलग्न सबुद प्रमाणबाट प्रतिवादीले पीडितलाई बेचबिखनको लागि लगेको भन्ने वस्तुनिष्ठ प्रमाणको अभावमा शंकाकै भरमा मात्र प्रत्यर्थी प्रतिवादीलाई दोषी ठहर गर्नु न्यायोचित नदेखिँदा अभियोग दाबीबमोजिम मानव बेचबिखन तथा ओसारपसारको कसुरमा समेत सजाय गर्नुपर्दछ भन्ने नेपाल सरकारको पुनरावेदन जिकिर स्वीकारयोग्य देखिन आएन ।
६. वारदातको प्रकृति अवस्थासमेतबाट प्रतिवादीहरूको कसुर उक्त ऐनले गरेको परिभाषाभित्र पर्ने नदेखिँदा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) को कसुर स्थापित हुने अवस्था देखिँदैन । अभियोजन पक्षले पनि प्रतिवादीहरूउपरको आरोपित कसुर पुष्टि हुने ठोस सबुद प्रमाण पेस गर्न सकेको पाइँदैन । प्रतिवादीहरू रूपा थारू, फुलबसनी थारू र सावित्री थारूले जबरजस्ती करणी गर्न प्रतिवादी सुसिसकुमार थारूलाई मद्दत गरेको तथा सो कार्यमा संलग्नता रहेको भन्ने पुनरावेदन जिकिरका सम्बन्धमा जब यी प्रतिवादीहरूले पीडितलाई ललाइफकाइ गरी सुसिसकुमार थारूसँग पठाएको भन्ने तथ्य स्थापित नभएकोमा प्रतिवादीहरूलाई सजाय गर्नु न्यायोचित हुने नहुँदा प्रतिवादीहरू रूपा थारू, फुलबसनी थारू र सावित्री थारूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) को कसुर गर्न मद्दत गरेको भन्ने आरोपित कसुरबाट सफाइ दिने गरी उच्च अदालत तुलसीपुर नेपालगन्जको फैसलामा अन्यथा गर्नुपर्ने देखिन आएन । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन ।
७. नेपाल सरकारको पुनरावेदन मागदाबी जबरजस्ती करणीको उद्योग नभई जबरजस्ती करणीको कसुरको जिकिरतर्फ हेर्दा, घाँस काट्न गएकी पीडित छोरी परिवर्तित नामथर सङ्केत नं. ६६ शक्तिनगर (क) लाई प्रतिवादीहरू फुलवसनी थारू, रूपा थारू र सावित्री थारूले ललाइफकाइ गरी पीडित छोरी परिवर्तित नामथर सङ्केत नं. ६६ शक्तिनगर (क) लाई फुलवसनी थारूको घरमा लगी प्रतिवादीमध्येका सुसिसकुमार थारूसँग विवाह गरे राम्रो हुन्छ भनी निज सुसिसकुमार थारूलाई फोन गरी बोलाई पीडित छोरीलाई निजसँग घरमा पठाई निजले पीडित छोरीलाई आफ्नो घरमा लगी मिति २०७३।०५।२० गतेदेखि २५ गतेसम्म लगातार जबरजस्ती करणी गरी मिति २०७३।०५।२६ गते राति २ बजे पीडित छोरीलाई घरनजिक नाला पुलनजिक छोडी गएको भन्नेसमेत बेहोराको यी प्रतिवादीहरूउपर किटानी जाहेरी परेको देखिएको छ । म भारतको बलैगाउँ बजारमा किनमेल गर्न भनी घरबाट गएकोमा सोही क्रममा पहिलो पटक निज सङ्केत नं. ६६ शक्तिनगर (क) सँग भेटघाट भई चिनजान भएको हो । त्यसपछि पुन: सोही बलैगाउँमा किनमेल गर्न जाँदा पुन: निज सङ्केत नं ६६ शक्तिनगर (क)सँग भेटघाट भई हामीबिच दु:ख सुखका कुराकानीसमेत भएको थियो । सोही क्रममा निज सङ्केत नं ६६ शक्तिनगर (क) ले आफू दु:ख पाएको मान्छे हुँ । म तपाइँसँग विवाह गर्न इच्छुक छु भनी प्रस्ताव गरेकीले मैले पनि निजको प्रस्तावलाई सहर्ष स्वीकार गरी सोही दिनमा नै निजको घरमा कोही कसैलाई थाहा जानकारी नदिई निज सङ्केत नं. ६६ शक्तिनगर (क) लाई विवाह गरी भगाई आफ्नो घरमा लगी श्रीमान् श्रीमतीको हैसियतले ५ दिनसम्म राखेको हुँ । त्यसपछि माइतीघरतर्फ कुराकानी मिलाउने भनी निज सङ्केत नं. ६६ शक्तिनगर (क) लाई मैले निजको माइतीघरमा पठाएको हो । सो क्रममा निजलाई छोड्न भनी म निजको माइतीघर नजिकसम्म गएको र निजलाई छाडी म आफ्नो घरमा फर्किएको हुँ । मैले निज सङ्केत नं. ६६ शक्तिनगर (क) लाई विवाह गरी घरमा राखेको तर निजसँग मैले यौन सम्बन्ध राखेको होइन ।सङ्केत नं. ६६ शक्तिनगर (क) को योनिको बाहिर बाहिर मात्र घर्षण गरेको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी सुसिसकुमार थारूले सुरू अदालतमा इन्कारी बयान गरेको देखिन्छ ।
८. जबरजस्ती करणी मुद्दामा पीडितको भनाइ नै मूल र अकाट्य प्रमाण मान्नुपर्ने हुन्छ । पीडितको भनाइ अकाट्य प्रमाण हो । जबरजस्ती करणीको वारदातको पहिलो कसी भनेको स्वयं पीडित हो र यी पीडितलाई प्रत्यक्ष र जीवित प्रमाणमा मान्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा पीडितले अदालतमा बकपत्र गर्दा प्रतिवादी सुसिसकुमार थारूसँग पहिलेदेखि चिनजान थियो । निज सुसिसकुमार थारू अविवाहित रहेको हुँदा निजसँग विवाह गर्न पाए राम्रो हुने थियो भन्ने लागेको थियो । मिति २०७३।०५।२० गतेका दिन दिउँसो १:०० बजे प्रतिवादी सुसिसकुमार थारू साइकल लिएर मेरो गाउँ ठाउँमा आएका थिए । म प्रतिवादी फुलबसनी थरूनीको घरमै थिएँ । त्यहीँ निज सुसिसकुमार थारू राम्रो हुने खाने घरका हुन् । बिहे गरेर जाने भए जाउ पछि हामीलाई दोष दिन पाइन्न भन्ने कुरा प्रतिवादीमध्येकी फुलबसनी थारू, रूपा थारू र सावित्री थारूसमेतले भनेकाले निज प्रतिवादी सुसिसकुमार थारूको साइकलको पछाडिको क्यारियरमा बसी म निज प्रतिवादीको घरमा गएकी हुँ । घरमा पुग्दा त्यहाँ प्रतिवादी सुसिसकुमार थारूका बाबु आमा र एकजना दिदी थिए । निजहरूलाई मैले म सुसिसकुमार थारूसँग विवाह गरी आएकी हुँ भनेकी र प्रतिवादी सुसिसले पनि मैले विवाह गरी भगाई ल्याएकोले तिमीहरूको बुहारी हो भनी भनेको थिए । त्यसपछि निज सुसिसकुमार थारू र मसमेत डोरीले बनेको खटियामा साथ साथै सुतेको हो । निज सुसिसकुमार थारूले मैले लगाएको कम्मरमुनिको सुरूवाल पेन्टीसमेत खोली मलाई उत्तानो बनाई मेरो योनिको बाहिर बाहिर मात्र घर्षण गरेका हुन् । जबरजस्ती करणी गरेका होइनन् भनी पीडितले सुरू अदालतमा गरेको बकपत्र देखिन्छ । तत्काल प्रचलित जबरजस्ती करणी महलको १ को देहाय (ग) मा जबरजस्ती करणी हुनको लागि “योनिमा लिङ्ग केही मात्र प्रवेश भएको रहेछ भने पनि यस नम्बरको प्रयोजनका लागि करणी गरेको मानिने छ” भन्ने उल्लेख भएबाट करणीको वारदात पुष्टि हुनको लागि लिङ्ग केही मात्रामा प्रवेश हुनुपर्ने अवस्थाको विद्यमानता अनिवार्य रहेको देखियो । प्रस्तुत मुद्दामा पीडितउपर करणी भएको अवस्था नदेखिएको र मौकामा कागज गर्ने व्यक्तिहरूले प्रस्तुत वारदातको सम्बन्धमा अदालतमा गरेको बकपत्रमा करणी भएको देखेको भन्न सकेको पनि देखिँदैन ।
९. पीडितले स्वयम् अदालतसमक्ष बकपत्र गर्दा प्रतिवादीहरूले जबरजस्ती, करकापमा पारी डर, त्रास देखाई पीडितलाई प्रतिवादी सुसिसकुमार थारूसँग विवाह गराइदिएको र प्रतिवादी सुसिसकुमारले जबरजस्ती लगेको भन्ने देखिँदैन । पीडित आफैँ प्रतिवादीको साइकलमा आफैँ चढी निजको घरमा गएको भन्ने देखिन्छ । जाहेरी दरखास्त पनि पीडित स्वयंले दिएको देखिँदैन । पीडित मेरो सौताको छोरी हुन् । पीडित छोरीलाई प्रतिवादीहरू सावित्री थारू, रूपा थारू र फुलबसनी थारूले घाँस काट्न गएको समयमा केटा राम्रो छ । घर खानदानी छ, धनी छ तिमीले यो केटासँग विवाह गर्यो भने तिमीलाई धेरै सुख हुन्छ भनी प्रतिवादी सुसिसकुमार थारूसँग विवाह गराइदिने भनी निज प्रतिवादीसँगै पठाएका हुन् । प्रतिवादी सुसिसकुमार थारूले पनि पीडित छोरीलाई विवाह गर्ने भनी आफ्नो घरमा राखेका हुन् । जबरजस्ती करणी गरेको देखेको होइन भनी जाहेरवाला सङ्केत नं. ६६ शक्तिनगर L ले सुरू अदालतमा गरेको बकपत्रबाट पीडित तथा जाहेरवालाको बयान कागज तथा बकपत्र, घटनास्थल प्रकृति विवरणसमेतका मिसिल संलग्न कागज प्रमाणहरूको विवेचना गरी हेर्दा, प्रतिवादीले पीडितको योनिमा लिङ्ग प्रवेश गराएको भन्ने देखिँदैन । यसबाट प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको भन्ने तथ्य स्थापित हुँदैन । प्रतिवादीले आफ्नो उत्तेजित लिङ्ग निज पीडितको यौनाङ्गको बाहिर बाहिर मात्र घर्षण गरेको भन्ने देखिएकोले प्रतिवादीले पीडितउपर जबरजस्ती करणी कसुर गरेको नदेखिई जबरजस्ती करणीको अपराधको उद्योगसम्म गरेको देखिँदा उद्योगको कसुर ठहराई प्रतिवादी सुसिसकुमार थारूलाई जबरजस्ती करणीको उद्योगको कसुरमा प्रतिवादीले पीडितमाथि जबरजस्ती करणीको उद्योग गरेको वारदात स्थापित भएबाट उच्च अदालत तुलसीपुर नेपालगन्जको मिति २०७५।६।२१ को फैसला मनासिब देखिन आएको हुँदा अन्यथा गर्नुपर्ने देखिन आएन । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन ।
१०. तसर्थ उल्लिखित आधार, कारण र प्रमाणबाट प्रतिवादीहरूले पीडितलाई जबरजस्ती लगेको नदेखिएकोले अभियोग माग दाबीबमोजिम मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) को कसुर स्थापित हुने देखिएन । तसर्थ सो कसुरको हकमा प्रतिवादीहरूले सफाइ पाउने र प्रतिवादी सुसिसकुमार थारूले पीडितउपर जबरजस्ती करणीको उद्योगको कसुर गरेकोले पीडितको उमेर १६ वर्षभन्दा कम रहेकोले जबरजस्ती करणीको ३(३) नं. ले हुन सक्ने सजायको आधी सजाय हुने देखियो । तसर्थ प्रतिवादी सुसिसकुमार थारूलाई जबरजस्ती करणीको महलको ५ नं. ले ४ (चार वर्ष) कैदको सजाय हुने र अन्य प्रतिवादीहरू रूपा थारू, फुलबसनी थारू र सावित्री थारूको सो कार्यमा कुनै संलग्नता रहेको नदेखिँदा निज प्रतिवादीहरूले सफाइ पाउने देखियो । वादी नेपाल सरकारको प्रतिवादीहरूउपरको मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीको कसुर गरेको भन्ने अभियोग माग दाबी पुग्न सक्दैन भन्ने सुरू बर्दिया जिल्ला अदालतको मिति २०७४।९।२४ को फैसला सदर कायम हुने भनी उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट मिति २०७५।६।२१ मा भएको फैसला मिलेकै देखिँदा सदर ठहर्छ ।
११. प्रस्तुत फैसलाको प्रतिलिपिसहित महान्यायाधिवक्ताको कार्यालयलाई लेखी पठाइदिनू । सरोकारवालाले फैसलाको जानकारी माग्न आएमा लाग्ने दस्तुर लिई नियमानुसार नक्कल दिनू । प्रस्तुत फैसलाको लगत कट्टा गरी झिकाइएका मिसिलहरू तत् तत् निकायमा पठाई रेकर्ड मिसिल यस अदालतको विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.तिलप्रसाद श्रेष्ठ
इजलास अधिकृत (उपसचिव) : अमृता कुमारी शर्मा
इति संवत् २०८१ साल वैशाख २४ गते रोज २ शुभम् ।