शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११३७४ - शेषपछिको बकसपत्र लिखत बदर हक कायम

भाग: ६६ साल: २०८१ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

फैसला मिति : २०७९।११।२३

०७१-CI-०५००

 

मुद्दाः शेषपछिको बकसपत्र लिखत बदर हक कायम

 

पुनरावेदक  प्रतिवादी : केशवप्रसाद शर्माकी पत्नी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं। ४ धुम्बाराही बस्ने सकुन्तला जोशी शर्मा

विरूद्ध

प्रत्यर्थी  वादी : नवलपरासी जिल्ला, अमरौट गा।वि।स। वडा नं। २ ऐचावल गाउँ बस्ने सुदर्शनदेव जोशी

वृद्ध अवस्थाका पिताले आफ्नो पालनपोषण, हेरचाह गर्ने छोरीलाई आफ्नो शेषपछि खाने गरी आफ्नो हक पुग्ने केही सम्पत्ति बकसपत्र गरिदिएको कुरालाई अनुचित र कानूनप्रतिकूल कार्य भनी मान्न नमिल्ने । आफ्नो अंश हक पुग्न सक्नेमध्येको सम्पत्तिबाट छोरीलाई शेषपछिको बकसपत्र लिखत गरिदिँदा छोराको मन्जुरी लिनुपर्ने कानूनी अनिवार्यता रहेको समेत नदेखिने । बकसपत्र गर्ने निज बाबुको इच्छा वा स्वविवेकको पनि अर्थ र महत्त्व रहने । छोरा भएकै नाताले बाबुको सम्पत्तिमा यान्त्रिक तवरबाट स्वत: हक स्थापित नहुने । सम्पत्ति प्राप्तिको हकसँग सामाजिक  सांस्कृतिक  धार्मिक आदि कर्तव्य पनि जोडिएको हुने । जीवित छउन्जेल वास्ता नगर्ने छोराले बाबु मरेपछि केवल काजक्रिया गरेको कारण देखाई निजको सबै सम्पत्तिमा स्वत: हक पुग्ने दाबी गर्नु पनि मनासिब नदेखिने । बाबुको मृत्यु भएपछि काजकिरिया गर्नु पुत्र-धर्म वा सन्तानको कर्तव्यको विषय हो । धार्मिक वा संस्कारजन्य यस प्रकारको कर्तव्य निर्वाह गरेको कारणबाट मात्र मृतकको सम्पत्तिउपर हक स्थापित भएको मान्न नमिल्ने ।

(प्रकरण नं।३)

 

पुनरावेदक  प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री तिलप्रसाद गौतम र श्री जगदिशचन्द्र पाण्डे 

प्रत्यर्थी  वादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री पुरूषोत्तमराज खकुरेल र श्री नवराज तिमिल्सिना

अवलम्बित नजिर :

ने।का।प।२०६६, अङ्क ३, नि।नं।८११०

ने।का।प।२०६८, अङ्क ५, नि।नं।८६२२

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने:- 

माननीय न्यायाधीश श्री राजेन्द्र खरेल

नवलपरासी जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने:-

माननीय न्यायाधीश श्री किशोर सिलवाल

माननीय न्यायाधीश श्री वीरबहादुर डाँगी

पुनरावेदन अदालत बुटवल

 

फैसला

न्या।ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदनको रोहमा यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः

तथ्यगत बेहोरा

स्व। पिता डोलदेव जोशीको एक मात्र श्रीमती आमा जमुना कुमारीको गर्भबाट २ छोरा र ५ छोरीहरूको जन्म भएकोमा छोराहरूमा जेठा शंकरदेव जोशी र कान्छो म फिरादी हुँ । छोरीहरू सबैजनाको विवाह भइसकेको छ । दाजु शंकरदेव मिति २०२११०९ मा अंश लिई अलग बसेपछि मिति ०६५२११ मा मृत्यु भएको तथा आमा जमुना कुमारीको पनि मिति २०५१५१७ मा मृत्यु भएपछि स्व। पिता र म फिरादी मात्र एकासगोलमा रही बसी स्व। पिताको रेखदेख सेवा टहल गरी आएको र पिताको मिति २०६५११३ मा मृत्यु भएपछि मैले नै पिताको काजकिरिया गरेको थिएँ । स्व। पिताको नाउँमा दर्ताको सम्पूर्ण सम्पत्तिको एक मात्र हकदार फिरादी रहेको र पिताको मृत्युपछि मालपोत कार्यालय अमरौट गा।वि।स।अन्तर्गतको सम्पत्ति मेरो नाउँमा नामसारी गरिपाउँ भनी मालपोत कार्यलय नवलपरासीमा निवेदन गरेकोमा मेरो छुट्टी भिन्न भइसकेकी भाउजू विनु जोशीले दाबी गरेपछि विवाद भई मालपोत कार्यालयमा नामसारी मुद्दा विचाराधीन छ । स्व। पिता र म फिरादीका बिच अंशबन्डा नभई एकासगोलमै रहेबसेको अवस्था जान्दाजान्दै विपक्षी बहिनी सकुन्तला र दिदी सुष्मा कार्कीले पिताको जीवनकालमा गुपचुपमा शेषपछिको बकसपत्रको कागज गराइराखेका रहेछन् । विपक्षीले हामीले बकसपत्र गरी लिएको जग्गा तैँले भोगचलन गर्न पाउँदैनस् भनेपछि मिति २०६७१६ का दिन मालपोत कार्यालय नवलपरासीमा बुझ्दा विपक्षीले मिति ०६३१०१६ मा स्व। पिताका नाउँ दर्ताको नवलपरासी जिल्ला अमरौट गा।वि।स।वडा नं। ३क कि।नं। ३९२ ज।वि। ५-१-७ मध्ये पश्चिमतर्फबाट ज। वि। १-११-७ ऐ। कि।नं। ११५ ज।वि। ०-२-५ मध्ये ०-१-२१२ ऐ। कि।नं। ६२ को ज।वि। २-५-१ मध्ये दक्षिणतर्फबाट ज। वि। १-१०-१८ समेत जम्मा ज।वि। ३-३-७१२ जग्गा शेषपछिको बकसपत्रको लिखत गरी मेरो अंश हक लाग्ने जग्गा मलाई थाहा जानकारी नै नदिई मेरो मन्जुरीबेगर जालसाजीपूर्ण तरिकाले मिति २०६३१०२६ मा शेषपछिको बकसपत्र पारित गराएका हुँदा अन्यायमा परी प्रस्तुत फिराद गर्न आएको छु । विपक्षीलाई झिकाई मिति ०६३१०२६ मा र।नं। ३७५५ बाट पारित गराई लिएको जालसाजीपूर्ण शेषपछिको बकसपत्र बदर गरी मेरो नाउँमा नामसारी गरिपाउँ भन्ने बेहोराको फिरादपत्र ।

पिता डोलदेव जोशी तथा माता जमुनाकुमारीबाट २ छोराहरू शंकरदेव र विपक्षी सुदर्शनदेव जोशी तथा म सकुन्तलासमेतका ५ छोरीहरूको जन्म भएको हो । शंकरदेव जोशी मिति ०२१ सालमा अलग भई बस्नुभएको, आमा जमुनाको ०५१ सालमा मृत्यु भएको, विपक्षीले बाबु डोलदेवको हेरविचार नगरेकाले एक्लो भई ०५८ सालदेखि मैले बाबु डोलदेवलाई राखी निजको स्याहार सम्भार, औषधी उपचार, पालनपोषण, रेखदेख, सेवा टहल गरी आएको, बाबुले मैले गरेको सेवा टहलबाट खुसी भई रिझाएबापत नवलपरासी जिल्ला अमरौट गा।वि।स। वडा नं। ३ कि।नं। ३९२ को जग्गामध्ये १-११-७, कि।नं।११५ को जग्गामध्ये ०-१-२१२ कि।नं। ६२ को जग्गामध्ये १-१०-१८ जग्गा शेषपछि खान पाउने गरी मिति ०६३१०२६ मा शेषपछिको बकसपत्र गरिदिनुभएको हो । बाबुले आफ्नो हकको जति अंशबन्डाको १९(४) नं।बमोजिम आफूखुस गर्न पाउने जग्गा मलाई बकसपत्र गरिदिएबाट विपक्षीको अंश हकमा कुनै आघात पर्ने अवस्था छैन भने विपक्षीसँग बाबु मानो छुट्टिएर बस्नुभएको भन्ने कुरा विपक्षीले बाबुउपर गरेको ०५८ सालको अंश मुद्दाबाट देखिएकोले विपक्षीको दाबी झुट्ठा हो भन्ने कुरा पुष्टि हुन्छ । बाबुले मलाई गरिदिएको उक्त बकसपत्र सदर कायम राखी झुठ्ठा दाबीबाट फुर्सद पाउँ भन्ने बेहोराको शकुन्तला जोशीको प्रतिउत्तरपत्र ।

वादीका पिता डोलदेवले वादीसमेत बिचमा अंशबन्डा नहुँदै निजको समेत अंश हक लाग्ने जग्गा वादीलाई थाहा जानकारी नदिई निजको मन्जुरीबेगर बकसपत्र गरिदिएको उक्त जग्गाको लिखत वादी दाबीबमोजिम बदर हुनुपर्छ भन्नेसमेत बेहोराको वादीको साक्षी नन्दलाल यादवको बकपत्र ।

डोलदेव जोशीको अन्तिम अवस्थामा शकुन्तला र विनु जोशी दुवै मिली पालनपोषण गरेका थिए । ०५८ सालमा सुदर्शनदेव र डोलदेवबिच अंश मुद्दा परी डोलदेवले उक्त मुद्दाको प्रतिउत्तरमा नै मेरो पालनपोषण वादी सुदर्शनले गरेका छैनन् भन्ने कुरा उल्लेख गर्नुभएको छ । उक्त बकसपत्र बदर हुनुपर्ने होइन । डोलदेवको अंशभागमा ७ बिगाहा भएकोमा सोमध्ये जम्मा ३ बिगाहा मात्र बकसपत्र गरिदिएका हुन् । आधाभन्दा बढी निजकै नाउँमा रहेको छ भन्ने बेहोराको प्रतिवादीको साक्षी शिवकुमार केवटको बकपत्र ।

दान बकसको १ नं। मा आफ्नो हक पुग्ने सम्पत्ति दान वा बकस गरिदिनु हुन्छ भन्ने व्यवस्था रहेको छ । वादी र प्रतिवादीका स्व। पिताबिच अंशबन्डा नभई सगोलमा रहँदाकै अवस्थामा पिताको मृत्यु भएको देखिन्छ । वादी प्रतिवादीका पिता डोलदेव सगोलमा रहेकोले सगोलको सम्पत्तिमा वादी र निजका पिता डोलदेवको आधाआधा हक रहने कुरामा विवाद देखिँदैन । वादीका पिताको नाममा करिब १२ बिगाहा जग्गा रहेको र निजको नाममा रहेको सम्पूर्ण सम्पत्तिमध्ये आधाभन्दा कम आफ्नो हकको सम्पत्ति मात्र प्रतिवादी छोरीलाई शेषपछिको बकसपत्र गरिदिएको हुँदा र निजको जीवनकालमा सो शेषपछिको लिखत बदर गरेको नहुँदा डोलदेव जोशीले प्रतिवादीलाई गरिदिएको र।नं। ३७५५ मिति २०६३१०२६ को शेषपछिको बकसपत्र लिखत बदर गरिपाउँ भन्ने वादी दाबी पुग्न सक्दैन भन्ने सुरू नवलपरासी जिल्ला अदालतको मिति २०६९३१० को फैसला ।

मुलुकी ऐन, दान बकसको १ नं। मा आफ्नो हक पुग्ने सम्पत्ति मात्र दानबकस दिन मिल्ने व्यवस्था छ । स्व। पिता म पुनरावेदकसँग एकासगोलमा रहेको अवस्थामा मृत्यु भएको छ । यस्तो अवस्थामा जुनसुकै सम्पत्ति हक हस्तान्तरण गर्न मुलुकी ऐन, अंशबन्डाको महलको १९ नं।बमोजिम घर व्यवहार चलाउनबाहेक अन्य अवस्थामा पैतृक सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति हक हस्तान्तरण गर्न नमिल्ने प्रस्ट छ । दानबकसको महलको १ नं। अन्य अंशियारा नभएको व्यक्तिको हकमा मात्र आकर्षित हुनेमा उक्त कानूनको गलत व्याख्या गरी भएको सुरूको फैसला त्रुटिपूर्ण छ । एकासगोलमा रहेको अवस्थामा मलाई थाहा जानकारी नै नदिई मेरो मन्जुरीबिना मेरोसमेत अंश हक लाग्ने सम्पत्ति पिता डोलदेव जोशीले शेषपछिको बकसपत्र गरिदिनुभएको हुँदा उक्त बकसपत्र बदरभागी छ । जीवनभर नै मैले स्व। पिताको पालनपोषण, स्याहारसुसार र मृत्युपर्यन्तको काजक्रियासमेत मैले नै गरेको हुँदा पिताको र मेरो बिचमा अंशबन्डा नभएको अवस्थामा पिताको मृत्युपछि स्वतः मेरो हक कायम हुने सम्पत्ति मेरो मन्जुरीबेगर बकसपत्र गर्न पाउने अधिकार पितालाई कानूनले नदिएको हुँदा दानबकसको १ नं। को गलत व्याख्या गरी भएको सुरू फैसला उल्टी गरी मिति २०६३१०२६ र।नं। ३७५५ को शेषपछिको बकसपत्रको लिखत बदर गरिपाउँ भन्ने वादी सुदर्शनदेव जोशीको पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र ।

०६९-ड्प्-५२४ र ०६९-ड्प् -५२५ को मुद्दामा मिति २०७०५९ मा दुवै पक्षको पुनरावेदन एक-आपसमा सुनाउने आदेश भएको र प्रस्तुत मुद्दासमेत सो मुद्दाको अन्तरप्रभावी देखिँदा प्रत्यर्थीलाई अ।बं। २०२ नं। एवम् पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम झिकाई उपस्थित भए वा म्याद नाघेपछि पेस गर्नु भन्ने पुनरावेदन अदालत बुटवलको मिति २०७०५३० को आदेश ।

नवलपरासी जिल्ला अदालतको मिति २०६९३१० को फैसला उल्टी भई डोलदेव जोशीले प्रतिवादी शकुन्तला जोशी शर्मालाई कि।नं। ३९२ को ज।वि। ५-१-७ मध्ये दक्षिण पश्चिमतर्फबाट ज।वि। १-११-७, कि।नं। ११५ को ज।वि। ०-२-५ मध्ये पश्चिमतर्फबाट ०-१-२१२ र कि।नं ६२ को ज।वि। २-५-१ मध्ये दक्षिणतर्फबाट १-१०-१८ समेत जम्मा ज।वि। ३-३-७१२ जग्गा र।नं। ३७५५ मिति ०६३१०२६ को शेषपछिको बकसपत्रको लिखतमध्ये वादीको हकजति अर्थात्‌ २ भागको १ भाग बदर भई सोमा वादीको हक कायम गरी निजका नाममा नामसारीसमेत गरिदिने ठहर्छ भन्ने पुनरावेदन अदालत बुटवलको मिति २०७०१०२६ को फैसला ।

स्व। पिताजीको नाउँमा नै करिब १२-१३ बिगाहा जमिन रहेको हुनाले पिताले मलाई शेषपछिको बकसपत्र गरिदिएको सम्पत्ति अंशबन्डाको १९(४) नं।अन्तर्गत आफूखुस गर्न पाउनेभित्र परेकोमा विवाद छैन । पिता डोलदेव जोशीको वृद्ध अवस्थामा विपक्षीले सेवा, सुसार, औषधोपचार तथा दान पुण्य गर्नमा बेवास्ता गरेको कुरा प्रमाण स्वरूप पेस भएका मिसिल संलग्न कागज प्रमाणले पुष्टि गरेको छ । वृद्ध पिताको स्याहारसुसार, पालनपोषण जस्तो सामाजिक दायित्व र कर्तव्य विपक्षीले पूरा नगरेकै कारण विवाहित छोरी म पुनरावेदिकाले गर्नुपरेको तथ्य प्रस्ट छ । पिताजीको प्रशस्त अचल सम्पत्ति हुँदाहुँदै पिताजीको इच्छाबमोजिम दान पुण्य गर्न नदिने तथा पालनपोषण औषधोपचार नगरी वृद्ध पितालाई बेवास्ता गरेको कारण पिताजी मेरो संरक्षणमा बस्नुपरेको थियो । सोही कारण पिताजीले धार्मिक आस्था र जीवनको उत्तरार्द्धमा विवाहित छोरीले पालनपोषण गर्नुपरेको मानसिक पीडाबोधले आफ्नो अंश हकमा पर्ने सम्पत्तिबाट मलाई शेषपछिको बकसपत्र गरिदिनुभएको हो । सर्वोच्च अदालतबाट ने।का।प। २०६६ अङ्क ३ नि।नं। ८११० पृ। ५१७ मा स्थापित सिद्धान्तको समेत प्रतिकूल हुने गरी पुनरावेदन अदालत बुटवलबाट भएको मिति २०७०१०२६ को फैसला त्रुटिपूर्ण छ । दान बकसको १ नं। मा आफ्नो हक हुने जति सम्पत्ति आफूखुसी गर्न पाउने व्यवस्था छ । पुनरावेदन अदालत बुटवलबाट मिति २०६३१०२६ को लिखत आधा बदर हुने ठहर गरेको मिति २०७०१०२६ को फैसलामा दानबकसको १ नं। को व्याख्यात्मक त्रुटि हुनुको साथै ने।का।प। २०५६ अङ्क ६ नि।नं। ६७२९ बाट स्थापित सिद्धान्तप्रतिकूल छ । पिता स्व। डोलदेव जोशीको नाउँमा जिल्ला नवलपरासी अमरौट गा।वि।स। अन्तर्गत करिब १४-०-० बिगाहा, त्रिवेणी गा।वि।स।को बजारमा ०-५-०, रूपन्देही सिद्धार्थनगर न।पा। वडा नं। ५ मा घडेरी जग्गा लगत नं। ११८६ मा दर्ता रहेको वि। ०-१-८ जग्गा र सोमा बनेको घर एवम् जिल्ला पाल्पा चिदीपानी गा।वि।स। वडा नं। ६ समेतमा करिब ३४-०-० रोपनी जग्गा रहेको छ । पिताजीले पालनपोषण गरी रिझाएबापत जम्मा जग्गा बिगाहा २-३-७१२ मात्रै मलाई शेषपछि खान पाउने गरी बकसपत्र गरिदिनुभएको हो । अर्को अंशियारको हक सुरक्षित रहेको अवस्थामा आफ्नो हक आफूखुस गर्न पाउने र आफ्नो हकसम्म लिखत गरिदिँदा अर्को अंशियारको मन्जुरी लिनु नपर्ने भनी सर्वोच्च अदालतबाट ने।का।प। २०६८ अङ्क ५ नि।नं। ८६२२ पृष्ठ ८६१ मा सिद्धान्त स्थापित छ । विपक्षी सुदर्शनदेव जोशी र स्व।पिता डोलदेव जोशी एकासगोलमा रहेको अवस्थामा मलाई मिति २०६३१०२६ मा शेषपछिको बकसपत्र लिखत गरिदिनुभएको होइन । विपक्षीले नै मिति २०५८५१५ मा पिता डोलदेव जोशीउपर अंश मुद्दा दायर गर्नुभएको थियो । विपक्षीले उक्त मितिमा अंश मुद्दा दायर गर्दा नै मिति २०५८४१० लाई मानो छुट्टिएको मिति कायम गरी २ भागको १ भाग अंश दिलाइपाउँ भनी उल्लेख गर्नुभएको छ । विपक्षी र पिता डोलदेव जोशीबिच अंश मुद्दा परी विपक्षीले नै स्वीकार गरेको मितिमा मानो छुट्टिएको मितिपछि पिताजीको मृत्युपर्यन्त छुट्टाछुट्टै अलग बस्दै आउनुभएको प्रस्ट छ । यसरी एक अर्कोबिच मानो छुट्टिई अलग रहेको अवस्थामा पिताले मलाई आफ्नो अंश हकमध्येको सम्पत्तिबाट शेषपछिको बकसपत्र लिखत गरिदिँदा विपक्षीको मन्जुरी लिनुपर्ने अवस्था रहँदैन । मुलुकी ऐन, अंशबन्डाको १९(१) नं। ले एकासगोलमा रहेको अंशियारको सम्म मन्जुरी लिनुपर्ने व्यवस्था छ । अतः वादी दाबीको मिति २०६३१०२६ को र।नं। ३७५५ को लिखत आधा बदर गर्ने गरी भएको मिति २०७०१०२६ को फैसला बदर गरी वादी दाबी नपुग्ने ठहर गरेको सुरू नवलपरासी जिल्ला अदालतको मिति २०६९३१० को फैसला यथावत् कायम गरिपाउँ भन्ने बेहोराको प्रतिवादी शकुन्तला जोशीको यस अदालतमा परेको पुनरावेदनपत्र ।

वादी प्रतिवादीका पिताले आफू जीवित छँदै आफ्नो नाउँको आफ्नो हकको आधासम्मको आफूखुस गर्न पाउने सम्पत्ति र।नं। ३७५५ को शेषपछिको बकसपत्र लिखतबाट आफ्ना छोरीलाई मिति २०६३१०२६ मा पारित गरिदिएको देखिएकोमा पुनरावेदन अदालत बुटवलबाट मिति २०७०१०२६ मा भएको फैसलामा अंशबन्डाको १९(४), १९(१) तथा लेनदेनको १० नं। र दानबकसको ५ नं।समेतको व्याख्यात्मक त्रुटि देखिई फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ।बं। २०२ नं। को प्रयोजनार्थ विपक्षी झिकाई आएपछि पेस गर्नु भन्ने यस अदालतको मिति २०७४१२२ को आदेश ।

यस अदालतको ठहर

नियमबमोजिम पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय श्री तिलप्रसाद गौतम र श्री जगदिशचन्द्र पाण्डेले वादी सुदर्शनदेव जोशीले बाबु स्व। डोलराज जोशीको स्याहारसुसार, पालनपोषण नगरेका कारण छोरीहरूले सेवा टहल गरेका हुन्; पालनपोषण गरेबापत स्व। डोलदेव जोशीले आफ्नो हकको अंशबन्डाको १९(४) नं।बमोजिम आफूखुस गर्न पाउने सम्पत्ति शेषपछिको बकसपत्र गरिदिनुभएको हो; बकसपत्रको लिखतबाट वादीको हक मेटिने कुनै कार्य नभएको हुँदा आधा लिखत बदर हुने गरी भएको पुनरावेदन अदालतको फैसला बदर हुनुपर्दछ; वादी दाबी पुग्न नसक्ने ठहर गरेको सुरू अदालतको फैसला कानूनसम्मत हुँदा जिल्ला अदालतको फैसला सदर हुनुपर्दछ भन्ने बहस जिकिर गर्नुभयो । प्रत्यर्थी वादीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय श्री पुरूषोत्तमराज खकुरेल र श्री नवराज तिमिल्सिनाले सुदर्शनदेव जोशी र निजका पिता स्व। डोलदेव जोशी एकासगोलका अंशियार भएका र पिता डोलदेव जोशीको सेवा टहल काजक्रियासमेत वादी सुदर्शनदेव जोशीले नै गरेको अवस्था हुँदा पिताको मृत्युपछि सम्पूर्ण सम्पत्तिमा सुदर्शनदेव जोशीको हक हुने, निजहरू छुट्टीभिन्न नभएको अवस्थामा वादी सुदर्शनदेव जोशीको अंश हक मेटाउने उद्देश्यले निजको मन्जुरीबेगर वादी दाबीका जग्गाहरू मिति २०६३१०२६ र।नं। ३७५५ बाट प्रतिवादी शकुन्तला जोशी शर्माले पिता डोलदेव जोशीबाट शेषपछिको बकसपत्र पारित गरी लिएको हुँदा बकसपत्र बदर हने गरी भएको पुनरावेदन अदालतको फैसला सदर कायम हुनुपर्दछ भनी गर्नुभएको बहस जिकिरसमेत सुनियो । 

अब, यसमा शेषपछिको बकसपत्र लिखत बदर हुने ठहर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ वा छैन? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तछ वा सक्तैन? भन्ने प्रश्नमा निर्णय दिनुपर्ने देखिन आयो ।

निर्णयतर्फ विचार गर्दा, मेरोसमेत अंश हक लाग्ने एकासगोलको जग्गा बाबुले छोरीलाई शेषपछिको बकसपत्र गरिदिएकोले लिखत बदर गरिपाउँ भन्ने वादी दाबी रहेको देखियो । वादी दाबी नपुग्ने गरी भएको सुरू फैसला उल्टी गरी विवादित शेषपछिको बकसपत्र लिखतको दुई भागको एक भाग बदर हुने भनी पुनरावेदन अदालतबाट भएको फैसलाउपर लिखत बदर हुनुपर्ने होइन भनी प्रतिवादी शकुन्तला जोशीको यस अदालतमा पुनरावेदन परेको सन्दर्भमा निर्णय दिनुपरेको छ । 

२। वादी प्रतिवादीबिच नाता सम्बन्धको कुरामा विवाद रहेको देखिँदैन । वादी सुदर्शनदेव जोशी र प्रतिवादी शकुन्तला जोशी स्व। डोलदेव जोशीका क्रमश: छोरा र छोरी हुन् भन्ने देखिएको छ । डोलदेव जोशीले छोरी शकुन्तला जोशीलाई नवलपरासी जिल्ला अमरौट गा।वि।स।वडा नं। ३क कि।नं। ३९२ ज।वि। ५-१-७ मध्ये पश्चिमतर्फबाट ज।वि। १-११-७ ऐ। कि।नं। ११५ ज।वि। ०-२-५ मध्ये ०-१-२१२ ऐ। कि।नं। ६२ को ज।वि। २-५-१ मध्ये दक्षिणतर्फबाट ज। वि। १-१०-१८ समेत जम्मा ज।वि। ३-३-७१२ जग्गा शेषपछिको बकसपत्र गरिदिएको देखिन्छ । बकसपत्र गरिदिँदाको अवस्थामा डोलदेव र सुदर्शनदेवबिच विधिवत् अंशबन्डा भइसकेको भन्ने देखिँदैन । तथापि, यिनै वादी सुदर्शनदेव जोशीले निजका पिता डोलदेव जोशीउपर मिति २०५८५१५ मा अंश मुद्दा दायर गरी मिति २०५८४१० लाई मानो छुट्टिएको मिति कायम गरी २ भागको १ भाग अंश दिलाइपाउँ भनी उल्लेख गरेको देखिएको छ । यसबाट डोलदेव र निजका छोरा सुदर्शनदेवबिच एकाघर सगोलको हैसियत अलग गरी छुट्टिई भिन्न हुने अभिप्राय रहेको प्रस्ट हुन्छ । अर्को शब्दमा भन्नुपर्दा डोलदेवलाई वादी सुदर्शनदेवले पालनपोषण, हेरचाह आदि गरेको भन्ने कुरा खण्डित भएको देखिन्छ । यसपछि मात्र डोलदेवले प्रतिवादी शकुन्तला जोशीलाई मिति २०६३१०२६ मा शेषपछिको बकसपत्र लिखत गरिदिएको पाइयो । उल्लिखित तथ्यहरूबाट डोलदेवको पालनपोषण, हेरचाह निजको मृत्युपूर्व छोरी शकुन्तलाले नै गरेको थियो भन्ने तथ्य समर्थित हुन्छ । वस्तुत: छोरी शकुन्तलाले नै निजका पिता डोलदेवको पालनपोषण हेरचाह गरेको कुरा विवादित शेषपछिको बकसपत्र लिखतको बेहोराबाट पनि समर्थित भएको देखिन्छ ।

३। बकसपत्र गरिदिएको सम्पत्तिको दृष्टिले हेर्दा पनि स्व। डोलदेवले जम्मा ज।वि। ३-३-७१२ जग्गा मात्र शेषपछिको बकसपत्र गरी छोरीलाई दिएको देखिन्छ । स्व। डोलदेवको नाममा मूल्यवान् घडेरी जग्गासहित करिब १२१४ बिगाहा जग्गा रहेको तथ्य पनि मिसिल प्रमाणबाट खुल्न आएको छ । बाबु-छोराबिच विधिवत् अंशबन्डा गर्दा पनि डोलदेवको भागमा ज।वि। ३-३-७१२ जग्गाभन्दा बढी नै सम्पत्ति अंश भागमा पर्ने स्थिति रहेको देखिन्छ । यस अवस्थामा वृद्ध अवस्थाका पिताले आफ्नो पालनपोषण, हेरचाह गर्ने छोरीलाई आफ्नो शेषपछि खाने गरी आफ्नो हक पुग्ने केही सम्पत्ति बकसपत्र गरिदिएको कुरालाई अनुचित र कानूनप्रतिकूल कार्य भनी मान्न मिल्ने देखिँदैन । डोलदेवले आफ्नो अंश हक पुग्न सक्नेमध्येको सम्पत्तिबाट छोरीलाई शेषपछिको बकसपत्र लिखत गरी दिँदा छोरा (वादी) को मन्जुरी लिनुपर्ने कानूनी अनिवार्यता रहेकोसमेत देखिँदैन । छोरा (वादी) को अंश हकमा असर पर्ने गरी शेषपछिको लिखत गरेको अवस्था देखिँदैन । बकसपत्र गर्ने निज बाबुको इच्छा वा स्वविवेकको पनि अर्थ र महत्त्व रहन्छ । छोरा भएकै नाताले बाबुको सम्पत्तिमा यान्त्रिक तवरबाट स्वत: हक स्थापित हुने पनि होइन । सम्पत्ति प्राप्तिको हकसँग सामाजिक  सांस्कृतिक  धार्मिक आदि कर्तव्य पनि जोडिएको हुन्छ । जीवित छउन्जेल वास्ता नगर्ने छोराले बाबु मरेपछि केवल काजक्रिया गरेको कारण देखाई निजको सबै सम्पत्तिमा स्वत: हक पुग्ने दाबी गर्नु पनि मनासिब देखिँदैन । बाबुको मृत्यु भएपछि काज-क्रिया गर्नु पुत्र-धर्म वा सन्तानको कर्तव्यको विषय हो । धार्मिक वा संस्कारजन्य यस प्रकारको कर्तव्य निर्वाह गरेको कारणबाट मात्र मृतकको सम्पत्तिउपर हक स्थापित भएको दाबी गर्न मिल्दैन ।

४। मुलुकी ऐन, दानबकसको महलको १ नं। मा “आफ्नो हक पुग्ने सम्पत्ति दान वा बकस गरिदिन हुन्छ" भनी उल्लेख भएको छ । मुलुकी ऐन, अंशबन्डाको महलको १९(१) नं।बमोजिम पिता पुर्खाको पालाको चल अचल गैह्र सम्पत्तिको हकमा चलमा सबै र अचलमा आधीसम्म व्यवहार चलाउनलाई स्वास्नी छोरा अविवाहिता छोरी वा विधवा बुहारीको मन्जुरी नलिए पनि आफूखुस गर्न पाउने हुन्छ । अंशबन्डाको महलको १९(४) नं।बमोजिम आफ्नो हकको अंशजति आफूखुसी गर्न पाउने देखिन्छ । ने।का।प। २०६६, अङ्क ३, नि।नं। ८११० मा प्रकाशित पुनरावेदक वादी अशोककुमार साह र प्रत्यर्थी प्रतिवादी लालबाबुप्रसाद साह तेलीसमेत भएको शेषपछिको बकसपत्र बदर मुद्दामा "अंश मुद्दा दायर गरिसकेपछि फैसला नहुँदै आफ्नो अंश भागमा पर्न आउने सम्पत्ति शेषपछिको बकसपत्र गरिदिन नपाउने गरी दाता कृतरामलाई कानूनले रोक नलगाएको अवस्थामा दानबकसको १ नं। तथा अंशबन्डाको १९(४) नं।अनुसार आफ्नो अंश भागमा पर्ने सम्पत्ति निजले नातिहरूलाई शेषपछिको लिखत गरिदिन पाउने” भनी यस अदालतबाट नजिर सिद्धान्त कायम भएको देखिन्छ । ने।का।प। २०६८ अङ्क ५ नि।नं। ८६२२ मा प्रकाशित पुनरावेदक प्रतिवादी शिवकुमार नेपाली र प्रत्यर्थी वादी पम्फा सार्की भएको शेषपछिको बकसपत्र लिखत बदर मुद्दामा समेत “आफ्नो हक पुग्ने सम्पत्ति आफूखुस गर्न पाउने हुँदा आफ्नो सम्पत्तिमात्र बकसपत्र गरी अर्को अंशियारको हकको सम्पत्ति सुरक्षित नै रहेको अवस्थामा बकसपत्रको लिखतमा अर्को अंशियारको मन्जुरी हुनु नपर्ने” भनी सिद्धान्त कायम भएको देखिन्छ । उल्लिखित कानून र प्रतिपादित सिद्धान्तको आलोकमा हेर्दा स्व। डोलदेवले निजकी छोरी प्रतिवादी शकुन्तला जोशीलाई गरिदिएको शेषपछिको बकसपत्रमा कुनै कानूनी त्रुटि विद्यमान रहेको देखिएन । उल्लिखित कुराहरूको प्रतिकूल हुने गरी भएको पुनरावेदन अदालत बुटवलको फैसलालाई मनासिब मान्न मिलेन ।

५। अत: विधिवत् रूपमा भएको शेषपछिको बकसपत्र लिखत बदर हुने ठहर गरेको पुनरावेदन अदालत बुटवलको मिति २०७०१०२६ को फैसला त्रुटिपूर्ण देखिएकाले सो फैसला उल्टी भई विवादित र।नं। ३७५५ मिति २०६३१०२६ को डोलदेव जोशीले निजकी छोरी (प्रतिवादी) शकुन्तला जोशीलाई गरिदिएको शेषपछिको बकसपत्र लिखत सदर कायम रहने र वादी सुदर्शनदेव जोशीको फिराद दाबी पुग्न नसक्ने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू:

तपसिल

१। माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन जिकिरबमोजिम शेषपछिको बकसपत्र लिखत बदर नहुने ठहरी फैसला भएकोले पुनरावेदन अदालत बुटवलको फैसलाबमोजिम वादीलाई प्रतिवादीबाट भराउने ठहरेको कोर्ट फी अब वादीलाई भराउन नपर्ने हुँदा प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा र।नं। २२५४ मिति २०७१७२१ बाट राखेको कोर्ट फी धरौट रू।७,६३४५० प्रतिवादीले फिर्ता माग्न आए नियमानुसार फिर्ता दिनु भनी यस अदालतको लेखा शाखामा लेखी पठाउनू ।

२। माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन जिकिरबमोजिम लिखत बदर नहुने ठहरी फैसला भएकोले प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा र।नं। ८८७३ मिति २०७१७२१ बाट राखेको कोर्ट फी रू।९९६- प्रतिवादीले भराई माग्न आए नियमानुसार वादीबाट प्रतिवादीलाई भराइदिने गरी लगत राख्नु भनी सुरू जिल्ला अदालतमा लेखी पठाउनू ।

३। प्रस्तुत फैसला यस अदालतको विद्युतीय प्रणालीमा प्रविष्ट गरी, मुद्दा दायरीको लगत कट्टा गरी, सुरू तथा प्रमाण मिसिल नवलपरासी जिल्ला अदालतमा, रेकर्ड मिसिल उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा र यस अदालतको रेकर्ड मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या।हरिप्रसाद फुयाल

 

इजलास अधिकृत:- रूद्रप्रसाद अर्याल

इति संवत् २०७९ साल फागुन २३ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु