शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११३७९ - बहुविवाह

भाग: ६७ साल: २०८२ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल

फैसला मिति : २०८०।१०।७

०७४-CR-१६२६

 

मुद्दा : बहुविवाह

 

पुनरावेदक / प्रतिवादी : मोलई तेलीको छोरा नवलपरासी जिल्ला, वडहरा दुवौलिया गा.वि.स. वडा नं. २ हाल परिवर्तित सरावल गाउँपालिका वडा नं. ६ घर भई कारागार कार्यालय नवलपरासीमा थुनामा रहेको विद्यासागर गुप्ता

विरूद्ध

प्रत्यर्थी / वादी : मिरा गुप्ताको जाहेरीले नेपाल सरकार

 

फौजदारी कसुरअन्तर्गत पर्ने बहुविवाह स्थापित हुनका निम्ति विवाहित पुरूषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गरेको भन्ने तथ्य भरपर्दो, वस्तुनिष्ठ र विश्वसनीय प्रमाणहरूबाट प्रमाणित हुनुपर्ने ।

(प्रकरण नं.४)

विवाह गर्ने सल्लाह हुनु र विवाह हुनु नितान्त फरक कुरा हुने । त्यसो त विवाह गर्ने विषयमा सल्लाह हुनु नै विवाह भएको अर्थ गर्न नमिल्ने । विवाहसम्बन्धी विषयमा सल्लाह गरेकै हो भने पनि सिर्फ सल्लाह मात्र हुने । त्यस्तो कार्य बिहाबारीको ९ नं. ले वर्जित गरेको कसुर हुन नसक्ने ।

(प्रकरण नं.५)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री रामबन्धु शर्मा र श्री दिनेश त्रिपाठी, विद्वान् अधिवक्ताद्वय श्री केशरमणी अर्याल र श्री नितिका मरासिनी 

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विमला रेग्मी 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री भरतमणि खनाल

नवलपरासी जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय मुख्य न्यायाधीश श्री ईश्वरराज आचार्य

माननीय न्यायाधीश श्री मुनेन्द्रप्रसाद अवस्थी

उच्च अदालत तुलसीपुर, बुटवल इजलास

 

फैसला

न्या.सुनिलकुमार पोखरेल : उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसलाउपर मुद्दा दोहोर्‍याई पाउँ भनी परेको निवेदनमा न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम यस अदालतबाट अनुमति प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य, ठहर एवम् तपसिल यसप्रकार रहेको छः-

तथ्य खण्ड

मिति २०७२।०३।१२ गते बेलुका अ.५:०० बजेको समयमा मेरो पति (श्रीमान्) विद्या सागर गुप्ताले भारत महाराजगंज निचरौल बस्ने रामप्रसाद गुप्ताको छोरी वर्ष २० की ज्ञान्ती गुप्तासँग दोस्रो विवाह गरी घर भित्र्याएको हुँदा कानूनबमोजिम गरिपाउँ भन्ने बेहोराको जाहेरी दरखास्त ।

जाहेरवाली मेरी छोरी र प्रतिवादी मेरो ज्वाइँ हुन् । दुवै श्रीमान् श्रीमती हुन् । निजहरूको संसर्गबाट १ छोरा र १ छोरीको जन्म भएको छ । प्रतिवादी ज्वाइँ विद्या सागर गुप्ताले मिति २०७२।०३।१२ गते अ.५:०० बजेको समयमा घरमा श्रीमती मिरा गुप्ता हुँदाहुँदै अर्की श्रीमतीको रूपमा भारत निवासी ज्ञान्ती गुप्तालाई घर भित्र्याएको मैले देखेको हुँ । निजहरूबिच सधैँ झै-झगडा हुँदै आएको थियो । निज ज्वाइँले मेरी छोरीलाई घरबाट निकाल्नको लागि ज्ञान्ती गुप्तासँग दोस्रो विवाह गरेको र निजको २ छोरा छोरीसमेत रहेको भनी थाहा हुँदाहुँदै पनि विद्या सागरसँग दोस्रो विवाह गरेको हुँदा निज प्रतिवादीहरूलाई कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको तारकेशर तेली, रामाश्रे तेली र चन्द्र दासले गरिदिएको एकै मिलानको घटनास्थल मुचुल्का ।

श्रीमती मिरा गुप्ता बुबा आमा र मसँगसमेत आफ्नो हक अधिकार लिन विवाद गर्ने गरेको हुँदा आजभन्दा ६ वर्ष पहिलादेखि तत्काल मेरो आधा तलब कटाई मेरो नाममा भएको सम्पूर्ण जग्गा जमिन श्रीमतीले कमाउँदै आएकी छन् । मसँग विवाद गर्ने, शारीरिक सम्बन्ध राख्न इन्कार गर्ने, श्रीमान् श्रीमतीमा हुनुपर्ने माया ममता हुन नसकेको हुँदा मिति २०७२।०३।१२ गते आमाको सल्लाहबमोजिम भारत घर बताउने अं. वर्ष २० की ज्ञान्ती गुप्तासँग उचित सल्लाह मिलाई विवाह गर्ने भनी सल्लाह भएको हो तर विवाह भएको थिएन भन्नेसमेत बेहोराको प्रतिवादी विद्या सागर गुप्ताले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

जाहेरी बेहोरा ठिक साँचो हो । जाहेरवाला र प्रतिवादी दुवै श्रीमान् श्रीमती हुन् । हाम्रै छिमेकी हुन् । निजहरूको संसर्गबाट १ छोरा र १ छोरीको जन्म भएको छ । प्रतिवादी विद्यासागर गुप्ताले मिति २०७२।०३।१२ गते अ.५:०० बजेको समयमा घरमा श्रीमती मिरा गुप्ता हुँदाहुँदै अर्की श्रीमतीको रूपमा भारत निवासी ज्ञान्ती गुप्तालाई घर भित्र्याएको, सँगै बसेको देखेको हुँ । तसर्थ, निज प्रतिवादीलाई कानूनबमोजिम होस् भन्नेसमेत बेहोराको विजयकुमार गुप्ता, छविलाल गुप्ता र दिगविजय पटेलले गरेको एकै मिलानको वस्तुस्थिति मुचुल्का कागज ।

हाल वारदातपश्चात् फरार रहेकी प्रतिवादी ज्ञान्ती गुप्ताको खोजतलास गर्ने क्रममा निजको घर वतनमा फेला नपरेकोले फेला परेमा कानूनबमोजिम हुने नै हुँदा सोही बेहोराको प्रतिवेदन लेखी पेस गरेको छु भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन ।

जिल्ला प्रहरी कार्यालय, नवलपरासीबाट अनुसन्धान तहकिकात भई प्राप्त हुन आएको सक्कल मिसिलमा संलग्न जाहेरी दरखास्त, बुझिएका मानिसहरूको कागज, प्रतिवादीको बयान कागज तथा वस्तुस्थिति मुचुल्कासमेतका आधार प्रमाणहरूबाट मिति २०७२।०३।१२ गते बेलुका अ. ५:०० बजेको समयमा विद्यासागर गुप्ताले भारत महाराजगंज निचरौल बस्ने रामप्रसाद गुप्ताको छोरी वर्ष २० की ज्ञान्ती गुप्तासँग दोस्रो विवाह गरी घर भित्र्‍याई अर्को विवाह गरी मुलुकी ऐन, बिहाबारीको महलको ९ नं. र ९क नं.विपरीतको कसुर गरेको हुँदा निज प्रतिवादी विद्यासागर गुप्तालाई सोही ऐन, महलको १० नं.बमोजिमको सजाय हुन र प्रतिवादी ज्ञान्ती गुप्ताले पनि छोरा छोरीसहितकी जेठी श्रीमती मिरा गुप्ता छिन् भन्ने थाहा हुँदाहुँदै कान्छी श्रीमती बनी बहुविवाह गरी मुलुकी ऐनको बिहाबारीको महलको १० नं.विपरीतको कसुर गरेको हुँदा निजलाई सोही महलको १० नं.बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र ।

जाहेरी बेहोरा झुठ्ठा हो । प्रतिवादी ज्ञान्ती गुप्तालाई मैले चिनेको पनि छैन, जानेको पनि छैन । श्रीमतीसँग मेरो सम्बन्ध बिग्रेपछि उनले कपोलकल्पित निराधार मुद्दा गरेकी हुन् । मैले अभियोग दाबीबमोजिम दोस्रो विवाह नगरेको हुँदा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी विद्यासागर गुप्ताले अदालतसमक्ष गरेको बयान ।

मिति २०७२।०३।१२ गते प्रतिवादी विद्यासागर गुप्ताले ज्ञान्ती गुप्तालाई दोस्रो विवाह गरी घरमा भित्र्याएका हुन् । म छँदाछँदै प्रतिवादीले अर्को विवाह गरेको हुँदा दुवै प्रतिवादीहरूलाई सजाय हुनुपर्दछ भन्नेसमेत बेहोराको जाहेरवाला मिरा गुप्ताले अदालतसमक्ष गरेको बकपत्र ।

मिति २०७२।०३।१२ गते बेलुका ५:०० बजेको समयमा विद्यासागरले घरमा श्रीमती छोरा छोरी हुँदाहुँदै ज्ञान्ती देवी गुप्तालाई विवाह गरी आफ्नै घरमा भित्र्याएका हुन् भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका चन्द्रभान दासले अदालतसमक्ष गरेको बकपत्र ।

यी प्रतिवादी विद्यासागर र ज्ञान्ती देवीबिच विवाह भएको छैन भन्नेसमेत बेहोराको प्रतिवादी विद्यासागर गुप्ताका साक्षी रामदत्त गुप्ताले अदालतसमक्ष गरेको बकपत्र ।

मिति २०७२।०३।१२ मा प्रतिवादी विद्यासागर गुप्ताले घरमा श्रीमती छोराछोरी हुँदाहुँदै अर्को श्रीमती ल्याएको हो भन्नेसमेत बेहोराको बुझिएका रामाश्रेप्रसाद गुप्ताले अदालतसमक्ष गरेको बकपत्र ।

विवाह गरेको होइन भनी वस्तुनिष्ट आधार यी प्रतिवादीले पेस गर्न नसकेको र आफ्नो लोग्नेलाई झुठ्ठा मुद्दामा फसाउनुपर्ने कारणसमेत देखिन आउँदैन । तसर्थ यी प्रतिवादी विद्या सागरले आफ्नो विवाहित श्रीमती मिरा गुप्ता हुँदाहुँदै र अंश भाग नहुँदै ज्ञान्ती गुप्तालाई दोस्रो विवाह गरेको पुष्टि भएको देखिँदा निजले गरेको उक्त कसुर मुलुकी ऐन, बिहाबारीको ९ र ९क नं.विपरीतको हुँदा निज प्रतिवादीलाई ऐ.१० नं.बमोजिम १ वर्ष कैद र रू. ५०००।- जरिवाना हुन्छ । प्रतिवादीमध्ये ज्ञान्ती गुप्ता अदालतको म्यादमा उपस्थित भई आफ्नो भनाइ जिकिर प्रस्तुत नगरेको भए पनि निजले विवाहित श्रीमती यी जाहेरवाला छन् भन्ने जानी जानी विवाह गरेको भन्ने पुष्टि हुने आधार मिसिल संलग्न नदेखिँदा निज ज्ञान्ती गुप्ताले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भनी मिति २०७३।०१।०७ मा सुरू नवलपरासी जिल्ला अदालतबाट भएको फैसला ।

जाहेरवालाले किटानी जाहेरी दिई अदालतमा उक्त जाहेरी समर्थन गरी बकपत्र गरेकी, बुझिएका रामाश्रे गुप्ताले ज्ञान्ती गुप्तालाई सोध्दा विवाहित दुईवटा बच्चाको बाबुसँग जानी जानी बिहे गरेको भनी बताएकी थिइन् । विद्या सागर र ज्ञान्ती दुवैलाई सजाय हुनुपर्छ भनी बकपत्र गरेका, बुझिएका चन्द्रभान दासको बकपत्रसमेतबाट प्रतिवादी ज्ञान्ती गुप्ताले जेठी श्रीमती घरमा भएको जानी जानी विवाह गरेको आधार हुँदाहुँदै सम्पूर्ण घटनाक्रम थाहा पाउने जाहेरवाला, रामाश्रे गुप्ता र चन्द्रभान दासको बकपत्रसमेतलाई अनदेखा गरी भएको फैसला प्रमाणको उचित मूल्याङ्कन नगरी प्रतिवादी ज्ञान्ती गुप्तालाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत वादी नेपाल सरकारले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा दायर गरेको पुनरावेदनपत्र । 

मैले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा साथै अदालतमा बयान गर्दा बहुविवाह गरेकोमा पूर्ण रूपमा इन्कार रही बयान गरेको छु र उक्त बयानलाई समर्थन गरी मेरो साक्षीको बकपत्र भएको छ । प्रमाण ऐन, २०३१ को दफा २५ ले कसुर प्रमाणित गर्ने भार वादी पक्षमा हुने उल्लेख भएकोमा वादी पक्षबाट मैले बहुविवाह गरेको भन्ने कुनै वस्तुनिष्ठ आधार, प्रमाण पेस गर्न नसकेको अवस्थामा केबल जाहेरवालाको जाहेरी दरखास्त र वादी पक्षका साक्षीहरूको बकपत्रलाई मात्र आधार मानी अनुमानको भरमा मलाई सजाय हुने गरी भएको सुरू जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी आरोपित कसुरबाट सफाइ पाउँ भन्नेसमेत प्रतिवादी विद्या सागर गुप्ताले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा दायर गरेको पुनरावेदनपत्र ।

प्रतिवादी विद्या सागर गुप्ताले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा प्रतिवादी ज्ञान्ती गुप्तासँग विवाह गर्ने कुरा भए पनि विवाह नगरेको भनेको र अदालतमा विवाह गर्ने भनेको कुरालाई समेत पूर्ण इन्कारी बयान गरेको र प्रतिवादी ज्ञान्ती गुप्ताको ठेगाना भारत महाराजगंज थाना निचलौल ग्राम मदनपुर वतन देखाई जाहेरी दरखास्त दिएको साथै निजको नाममा म्याद तामेल हुन नसकेको तर्फ विवेचना नै नगरी भएको सुरू नवलपरासी जिल्ला अदालतको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने तथा वादी नेपाल सरकारको र प्रतिवादी विद्यासागर गुप्ताको दोहोरो पुनरावेदन परेकोले एक अर्कालाई पुनरावेदनको जानकारी गराउने प्रयोजनार्थ मुलुकी ऐन, अ.बं. २०२ नं. तथा उच्च अदालत नियमावली, २०७३ को नियम ६४ नं.बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भनी उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७३।११।१२ मा भएको आदेश ।

प्रतिवादी विद्यासागर गुप्ताले अदालतमा बयान गर्दा कसुरमा इन्कार रही बयान गरे तापनि अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा भारत निवासी ज्ञान्ती गुप्तासँग उचित सल्लाह मिलाई विवाह गर्ने भनी सल्लाहसम्म भएको हो भनी बयान गरेको देखिएको, वस्तुस्थिति मुचुल्काका मानिसले मिति २०७२।०३।१२ मा ज्ञान्ती गुप्तालाई घर भित्र्‍याई सँगै बसेको देखेको भन्ने बेहोरा लेखाइदिएको र जाहेरवालाले जाहेरी बेहोरालाई समर्थित हुने गरी अदालतमा उपस्थित भई बकपत्र गरेको देखिँदा सुरू नवलपरासी जिल्ला अदालतबाट मिति २०७३।१।७ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकार तथा पुनरावेदक प्रतिवादी विद्यासागर गुप्ता दुवैको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको मिति २०७४।०५।०८ मा उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट भएको फैसला ।

म निर्दोष छु । मैले बहुविवाह गरेको छैन । जाहेरवाला र मबिच विवाद भइरहने र मेरो आधा तलबसमेत लिई सबै जग्गा जमिन कमाई खाइआएको र विवादकै कारण अंश मुद्दा चली फैसलासमेत भइसकेको छ । मलाई फसाउने, जागिरबाट हटाउने दूषित नियत राखी दोस्रो विवाह नगरेको व्यक्तिलाई दोस्रो विवाह गरेको भनी काल्पनिक रूपमा झुठ्ठा आरोप लगाएकी हुन् । ज्ञान्ती गुप्ता भन्ने महिलासँग मेरो कुनै फोन सम्पर्क पनि भएको छैन, सँगै फोटो खिचेको अवस्था पनि छैन, कहीँकतै भेट भएको पनि छैन, घरमा ल्याई राखेको अवस्था पनि छैन । निजसँग विवाह भएको विवाह दर्ता प्रमाणपत्र पनि छैन । निजसँग शारीरिक सम्पर्क भएको, गर्भ रहेको, बच्चा जन्मेको अवस्थासमेत छैन । केवल विनाआधार प्रमाण जाहेरी दरखास्त, बुझिएका व्यक्तिहरूको विनाप्रमाणको कोरा भनाइलाई मात्र आधार मानी मलाई बहुविवाहको कसुरदार ठहर गरी सुरू नवलपरासी जिल्ला अदालतले गरेको फैसला सदर हुने ठहर्‍याई भएको उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट भएको फैसला बदर एवं उल्टी गरी मउपर लगाइएको अभियोग दाबीबाट पूर्ण रूपमा सफाइ दिलाई न्याय पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी विद्यासागर गुप्ताले यस अदालतसमक्ष दायर गरेको मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने निवेदनपत्र ।

यसमा अनुसन्धान अधिकारीसमक्षसमेत प्रतिवादीले बयान गरेको देखिएको र अर्को विवाह गरेको भनिएकी ज्ञान्ती गुप्ता हाल साथमा रहेको भन्ने मिसिल सामेल प्रमाणबाट स्थापित भएको नदेखिएको स्थितिमा जाहेरवालाको भनाइलाई मात्र आधार मानी भएको फैसला मुलुकी ऐन, अ.बं. १८४क र १८५ तथा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को व्याख्यात्मक त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरिदिएको छ । विपक्षी झिकाई कानूनबमोजिम गर्नु भन्नेसमेत बेहोराको २०७५।०२।११ मा यस अदालतबाट भएको आदेश ।

यस अदालतको ठहर

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा समावेश भई निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी विद्यासागर गुप्ताको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री रामबन्धु शर्मा र श्री दिनेश त्रिपाठी, विद्वान् अधिवक्ताद्वय श्री केशरमणी अर्याल र श्री नितिका मरासिनीले प्रतिवादी विद्यासागर गुप्ताले दोस्रो विवाह गरेको भन्ने वस्तुनिष्ठ प्रमाण वादी पक्षले पेस गर्न नसकेको अवस्थामा निजलाई अभियोग दाबीबमोजिमको कसुरदार ठहर गरी भएको सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहर्‍याई भएको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला त्रुटिपूर्ण रहेकोले सो फैसला बदर गरी निज प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिलाइपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

त्यसैगरी प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयबाट उपस्थित हुनुभएका विद्वान् उपन्यायाधिवक्ता श्री विमला रेग्मीले जाहेरवालाले प्रतिवादीउपर दोस्रो विवाह गरेको भनी किटानी जाहेरी दिई सोही बेहोरालाई समर्थन हुने गरी अदालतमा उपस्थित भई बकपत्रसमेत गरेको अवस्थामा निज प्रतिवादीलाई अभियोगदाबीअनुसारको कसुरदार ठहर गरी भएको फैसला मिलेकै हुँदा सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

उपर्युक्त बेहोराको बहस जिकिर र तथ्य रहेको प्रस्तुत मुद्दामा प्रतिवादीले बहुविवाह गरेको कसुर ठहर्‍याई सजाय निर्धारण गरेको सुरू अदालतको फैसला सदर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको मिति २०७४।०५।०८ को फैसला मिलेको छ वा छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।

२. निर्णयतर्फ दृष्टिगत गर्दा, प्रतिवादी विद्यासागर गुप्ताले ज्ञान्ती गुप्तासँग दोस्रो विवाह गरी घर भित्र्‍याई अर्को विवाह गरी मुलुकी ऐन, बिहाबारीको महलको ९ नं. र ९क नं.विपरीतको कसुर गरेको हुँदा निज प्रतिवादी विद्यासागर गुप्तालाई सोही ऐन, महलको १० नं.बमोजिमको सजाय हुन र प्रतिवादी ज्ञान्ती गुप्ताले पनि जेठी श्रीमती जाहेरवाली मिरा गुप्ता छन् भन्ने थाहा हुँदाहुँदै कान्छी श्रीमती बनी बहुविवाह गरी मुलुकी ऐनको बिहाबारीको महलको १० नं.विपरीतको कसुर गरेको हुँदा निजलाई सोही महलको १० नं.बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग दाबी रहेकोमा प्रतिवादी विद्यासागरलाई मुलुकी ऐन, बिहाबरीको ९ र ९क नं. को कसुरमा ऐ. १० नं.बमोजिम १ वर्ष कैद र रू.५०००।- जरिवाना हुने गरी सुरू अदालतबाट भएको फैसलालाई सदर हुने ठहर्‍याई उच्च अदालतबाट भएको फैसलाउपर प्रतिवादी विद्यासागर गुप्ताको मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी पर्न आएको निवेदनमा अनुमति प्रदान भई प्रस्तुत मुद्दा पेस हुन आएको देखियो ।

३. प्रस्तुत मुद्दामा प्रतिवादी विद्यासागर गुप्ताले अनुसन्धानको क्रममा बयान गर्दा ज्ञान्ती गुप्तासँग विवाह गर्ने सल्लाहसम्म भएको हो, विवाह गरेको होइन भनी उल्लेख गरेको देखिन्छ भने अदालतसमक्ष आफूले दोस्रो विवाह नगरेको भनी आरोपित कसुरमा पूर्ण इन्कार रही बयान गरेको देखिन्छ । प्रतिवादीको उक्त इन्कारी बयान निजका साक्षी रामदत्त गुप्ताले प्रतिवादी विद्यासागर गुप्ता र ज्ञान्ती गुप्ताबिच विवाह भएको छैन भनी गरेको बकपत्र बेहोराबाट समर्थित भएको पाइन्छ । सुरू जिल्ला अदालत र उच्च अदालतले प्रतिवादी विद्यासागर गुप्ताले घरमा जेठी श्रीमती मिरा गुप्ता हुँदाहुँदै ज्ञान्ती गुप्तासँग दोस्रो विवाह गरेको भनी निजलाई कसुरदार ठहर्‍याई फैसला गरेको देखिन्छ । प्रतिवादी ज्ञान्ती गुप्ताको हकमा घरमा श्रीमती भएको जानी जानी विवाह गरेको भन्ने पुष्टि हुने आधार नदेखिएको भन्ने आधारमा निज प्रतिवादी ज्ञान्ती गुप्तालाई सफाइ दिएको देखिन्छ ।

४. फौजदारी कसुरअन्तर्गत पर्ने बहुविवाह स्थापित हुनका निम्ति विवाहित पुरूषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गरेको भन्ने तथ्य भरपर्दो, वस्तुनिष्ठ र विश्वसनीय प्रमाणहरूबाट प्रमाणित हुनुपर्ने हुन्छ । नेपाली समाजको परिवेश, परम्परा तथा मूल्य मान्यतालाई हेर्दा सामान्यतया विवाह हुनका लागि कानूनले उमेर पुगेका कुनै पुरूष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गरेको देखिनुपर्दछ । कतिपय अवस्थामा उत्सव, समारोह नगरेर पनि विवाहको कार्य सम्पन्न हुन सक्छ । उत्सव, समारोह भएर होस् वा नभएर होस्, विवाहको मान्यता पाउनलाई अन्यथा प्रमाणित भएमा बाहेक विवाहमा पुरूष र महिला दुवैले एक अर्कालाई पति पत्नीको रूपमा स्वीकारेको हुनुपर्दछ । प्रस्तुत मुद्दामा दोस्रो विवाह भएको भनी जाहेरवालाले जाहेरी तथा बकपत्रमा उल्लेख गरे पनि प्रतिवादी विद्यासागर गुप्ताले दोस्रो विवाह गरेको छैन भन्ने बयान गरेको तथा पुनरावेदन जिकिर लिएको देखिँदा निज प्रतिवादीले ज्ञान्ती गुप्तासँग दोस्रो विवाह गरे नगरेकोसम्बन्धी विषयवस्तु विवादित देखिन आएको छ र सोको निर्क्यौल मिसिल संलग्न प्रमाणबाटै गर्नुपर्ने देखिएको छ ।

५. प्रतिवादी विद्यासागर गुप्ताले आफ्नो श्रीमती मिरा गुप्ता हुँदाहुँदै ज्ञान्ती गुप्तालाई दोस्रो विवाह गरेको भन्ने बेहोराको जाहेरीपश्चात् अनुसन्धान सुरू भएको प्रस्तुत मुद्दामा प्रतिवादी ज्ञान्ती गुप्तालाई न त अनुसन्धानको क्रममा बुझिएको छ, न त अदालतमा नै अभियोजनसाथ उपस्थित गराउन सकेको देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी विद्यासागर गुप्ताले ज्ञान्ती गुप्तासँग दोस्रो विवाह गरी निज प्रतिवादीले बहुविवाहको कसुर गरेको आरोप छ । जो व्यक्तिसँग दोस्रो विवाह गरेको भनी जाहेरी दिएको हो सो व्यक्तिसँग दोस्रो विवाह गरेको तथ्य कतैबाट स्थापित गराउन सकेको पाइँदैन । प्रतिवादी विद्यासागर गुप्ताले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा ज्ञान्ती गुप्तासँग विवाह गर्ने सल्लाहसम्म भएको भन्ने भनाइलाई आधार बनाई निजलाई अभियोग दाबीअनुसार कसुरदार ठहर गरेको पाइन्छ । विवाह गर्ने सल्लाह हुनु र विवाह हुनु नितान्त फरक कुरा हो । त्यसो त विवाह गर्ने विषयमा सल्लाह हुनु नै विवाह भएको अर्थ गर्न मिल्ने पनि हुँदैन । विवाहसम्बन्धी विषयमा सल्लाह गरेकै हो भने पनि सिर्फ सल्लाह गर्ने त्यस्तो कार्य बिहाबारीको ९ नं. ले वर्जित गरेको कसुर हुन सक्दैन ।

६. फौजदारी मुद्दामा प्रतिवादीउपरको कसुर ठहर हुन कानूनले वर्जित गरेको कार्य प्रस्ट रूपमा भए गरेको देखिनुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी विद्यासागर गुप्ताले कानूनद्वारा वर्जित बहुविवाहको कसुर गरेको भन्ने कुरा न त मिसिल संलग्न प्रमाणहरूबाट पुष्टि भएको छ न त वादीले त्यस्तो दाबी नै पुष्टि गर्न सकेको पाइन्छ । फौजदारी मुद्दामा वादीले पहिले अपराध भएको तथ्य (Corpus Delicti) स्थापित गरेपछि त्यस्तो कसुर प्रतिवादीले नै गरेको हो भनी प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम शंकारहित तवरले प्रमाणित गर्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी विद्यासागर गुप्ताले दोस्रो विवाह गरेको तथ्य नै स्थापित नभएको र दोस्रो विवाह गरिएकी भन्ने महिलालाई अनुसन्धान, अभियोजन तथा मुद्दाको समग्र कारबाहीको प्रक्रियामा नबुझी उपस्थित नगराई प्रतिवादीले दोस्रो विवाह गरेको विश्वसनीय र भरपर्दो प्रमाणको अभावमा यी पुनरावेदक प्रतिवादी विद्यासागर गुप्तालाई कसुरदार ठहर्‍याएको सुरू फैसला सदर हुने ठहर गरी उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७४।०५।०८ मा भएको फैसला कानूनसम्मत मान्न मिलेन ।

७. अतः माथि विवेचित आधार, कारणबाट प्रस्तुत मुद्दामा प्रतिवादी विद्यासागर गुप्ताले ज्ञान्ती गुप्तासँग दोस्रो विवाह गरेको भन्ने तथ्य कहीँबाट पनि स्थापित नभएको अवस्थामा निज प्रतिवादी विद्यासागर गुप्तालाई १(एक) वर्ष कैद र रू.५,०००।- (पाँच हजार रूपैयाँ) जरिवाना हुने ठहर्‍याई सुरू अदालतले गरेको फैसला सदर गर्ने गरी उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७४।०५।०८ मा भएको फैसला त्रुटिपूर्ण भई नमिलेको हुँदा उल्टी भई प्रतिवादीले बहुविवाहको आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि इन्साफ खण्डमा उल्लेख भएबमोजिम पुनरावेदक प्रतिवादी विद्यासागर गुप्ताले अभियोग दाबीबाट सफाइ पाउने ठहरेकाले निजको नाममा कायम रहेको कैद र जरिवानाको लगत कट्टा गरिदिनु भनी सुरू नवलपरासी जिल्ला अदालतमा लेखी पठाउनू .......................१

प्रतिवादी विद्यासागर गुप्ताले अभियोग दाबीबाट सफाइ पाउने ठहरेकाले निजले सुरू नवलपरासी जिल्ला अदालतमा मिति २०७२।०५।०२ मा ध.र.नं. ११४४ बाट राखेका धरौटी रकम रू.२५,०००।- (पच्चिस हजार रूपैयाँ) म्यादभित्र फिर्ता माग्न आए नियमानुसार फिर्ता दिनू भनी सुरू जिल्ला अदालतमा लेखी 

पठाउनू.........................................................२

प्रतिवादीले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा पुनरावेदन गर्दा मिति २०७३।०७।०७ मा ध.र.नं. ६७ मार्फत धरौटी रकम रू.१, २५०।- (एक हजार दुई सय पचास रूपैयाँ) राखेको देखिँदा सो रकम निजले म्यादभित्र फिर्ता माग्न आए नियमानुसार फिर्ता दिनु भनी उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा लेखी पठाउनू.................................................३

प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा मिति २०७४।१२।२६ मा ध.र.नं. ३९२१ बाट राखेको धरौटी रकम रू.६, २५०।- (छ हजार दुई सय पचास रूपैयाँ) म्यादभित्र फिर्ता माग्न आए नियमानुसार फिर्ता दिनु भनी लेखा प्रशासन शाखालाई लेखी पठाउनू.....४

प्रस्तुत फैसलाको विद्युतीय प्रति यस अदालतको विद्युतीय प्रणालीमा प्रविष्ट गरी प्रस्तुत मुद्दाको दायरीको लगत कुट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू..........................................५

 

उक्त रायमा सहमत छु ।

न्या.प्रकाशमान सिंह राउत

 

इजलास अधिकृत: तिर्थ लक्ष्मी महर्जन

इति संवत् २०८० साल माघ ७ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु