शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११४२७ - सवारी ज्यान र अङ्गभङ्ग भएकोमा क्षतिपूर्ति

भाग: ६७ साल: २०८२ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

फैसला मिति : २०८०।०५।१७

०७३-CR-०१७४

 

मुद्दाः- सवारी ज्यान र अङ्गभङ्ग भएकोमा क्षतिपूर्ति ।

 

पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.११ बबरमहल स्थित एनएमबि बैंक लिमिटेडको तर्फबाट अख्तियार प्राप्‍त ऐ.का प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल

विरूद्ध

प्रत्यर्थी / वादी : कृष्णप्रसाद अधिकारीसमेतको जाहेरीले नेपाल सरकार

 

प्रवाह भएको कर्जाको सुरक्षणबापत धितोको रूपमा राखिएको सवारी साधनमा दर्तावाला बैंक तथा वित्तीय संस्थाको प्रत्यक्ष नियन्त्रण तथा व्यवस्थापन नहुने हुँदा उक्त सवारी साधनको दुर्घटनाबाट सिर्जित परनिर्भर दायित्व त्यस्तो दर्तावाला बैंकमा हुन्छ भन्‍नु न्यायसङ्गत नहुने ।

(प्रकरण नं.११)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री श्रीहरि अर्याल तथा विद्वान्‌ अधिवक्ताद्वय श्री मदनकुमार डंगोल र श्री हेमकुमार श्रेष्ठ 

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री कल्पना राई 

अवलम्बित नजिर : 

सम्बद्ध कानून :

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३

 

सुरू तहमा फैसला गर्ने अधिकारीः

प्रमुख जिल्ला अधिकारी श्री कोशहरि निरौला

जिल्ला प्रशासन कार्यालय, नुवाकोट 

पुनरावेदन तहमा फैसला गर्नेः

मा. न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई

मा. न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ वैद्य

पुनरावेदन अदालत पाटन

 

फैसला

प्र.न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम यस अदालतको आदेशले मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः-

संक्षिप्‍त तथ्य

मिति २०७०।०७।०४ मा नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं.९ आँगापुटार स्थित सूचना सिंह ठकुरीको खेतमा खेती भित्र्याउने मेला सकेपछि मेलामा गएका सबैजना सन्तोष तामाङले चलाएको बा१क ८४९४ नं.को मिनिटाटामा धान परालसमेत लोड गरी सवारी साधनमा चढी रानीसौरा स्थित घर फर्कने क्रममा अं.१८:३० बजेको समयमा नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं.८ घोरेढुङ्गा भन्‍ने स्थानमा पुग्दा लापरवाहीको कारण उक्त सवारी साधन दुर्घटनाग्रस्त भएको हो । जाहेरवाला रघु तामाङको आमा लालमाया तामाङको घटनास्थलमा मृत्यु भएको र जाहेरवाला कृष्णप्रसाद अधिकारीको बुबा रामप्रसाद अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो । अतः चालक सन्तोष तामाङ तथा सवारीधनीसमेतलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरी आवश्यक क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्‍नेसमेत बेहोराको कृष्णप्रसाद अधिकारी र रघु तामाङको संयुक्त जाहेरी दरखास्त ।

नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं.८ घोरेढुङ्गा स्थित माझीगाउँबाट रानीसौरातर्फ जाने कच्ची सडकमा बा१क ८४९४ नं.को आइचर गाडी साइडमा पल्टी दुर्घटना हुँदा सडकबाट अं.६० मिटर तल पल्टी चिलाउनेको रूखमा गाडी अड्किएको अवस्थामा रहेको, अगाडिको चालक बस्ने भाग पूर्णरूपमा क्षति भएको, पल्टिएको कच्ची सडकको चौडाइ चार मिटर भएको, साँघुरो र हल्का उकालोसमेत भएको कच्ची सडक चिप्लो बाटो रातामाटो रहेको, कोदो बारी लतपतिएको मडारिएको, गम्भीर घाइते २ जनालाई र अन्य घाइतेहरूसमेतलाई उपचारार्थ अस्पताल लगिएको भन्‍नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।

नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं.९ त्रिशुली अस्पतालको आकस्मिक कक्षमा रहेको स्ट्रेचरमाथि दक्षिणमा टाउको, उत्तरमा खुट्टा पारी उत्तानो अवस्थामा मृतक रामप्रसाद अधिकारीको मृत लास रहेको, उक्त लासको आँखा अर्धखुल्ला रहेको, लासको उचाइ ५ फिट ८ इन्च रहेको, कान, कपाल, नाक, घाँटी, पेट, पिठ्युँ, ढाडको अवस्था सामान्य रहेको, दाँत र जिब्रो नदेखिएको, नाकको प्वाल, लिङ्ग र मलद्वारबाट केही ननिस्केको, छातीमा हल्का निलडामहरू देखिएको भन्‍नेसमेत बेहोराको रामप्रसाद अधिकारीको लास जाँच मुचुल्का ।

नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं.९ त्रिशुली अस्पतालको आकस्मिक कक्षमा रहेको स्ट्रेचरमाथि दक्षिणमा टाउको उत्तरमा खुट्टा पारी उत्तानो अवस्थामा सुताइराखेको लालमाया तामाङको ‍लास रहेको, मृतक लासको दाहिने आँखीभौंमा सामान्य चोट देखिएको र रगत बगेको, टाउको पछाडिको भागमा पनि चोट लागी रगत बगेको, लासको पेट भागअगाडि पछाडि गाडीको टायरले थिचिएको र निलडाम एवं चोटसमेत देखिएको, लासको उचाई ५ फिट, कपालको अवस्था फिँजारिएको रगत लागेको, अनुहारमा रगतका टाटाहरू देखिएको, दुवै आँखा अर्धखुल्ला, नाक, कान, घाँटी, खुट्टा, नङ, ढाँड, पिठ्युँ लगायतका भागहरू सामान्य रहेको, मुखको तल्लो ओठमा चोट लागेको, मलद्वार र योनि सामान्य रहेको भन्‍नेसमेत बेहोराको लालमाया तामाङको लास जाँच मुचुल्का ।

मिति २०७०।०७।०४ को अं.१८:३० बजेको समयमा नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं.८ घोरेढुङ्गा भन्‍ने स्थानको कच्ची सडक खण्डमा बगुवाबाट रानीसौरातर्फ गइरहेको बा १ क ८४९४ नं.को ट्रक दुर्घटनाग्रस्त भएको हो । सो दुर्घटनामा लालमाया तामाङ र रामप्रसाद अधिकारीको मृत्यु भएको, सवारी साधन पल्टेको, सडक घुमाउरो, उकालो ओरालो, बिग्रेको र भिजेको, चालकको गल्ती नभएको, चालकले रक्सी सेवन नगरेको भन्‍नेसमेत बेहोराको सडक दुर्घटना प्रतिवेदन ।

मृतक रामप्रसाद अधिकारीको The cause of the death is blunt force injuries to the head and chest र मृतक लालमाया तामाङको The cause of death is blunt force trauma to the head भन्‍नेसमेत बेहोराको शव परीक्षण प्रतिवेदन ।

मिति २०७०।०७।०४ मा नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं.९ स्थित आँगापुटार स्थित सूचना सिंह ठकुरीको खेतमा मैले चलाएको बा१क ८४९४ को मिनिटाटामा धान पराल लोड गरी धान झार्ने खेतालाहरूसमेत राखी चढी उक्त सवारी साधन चलाई कल्याणपुर जाने क्रममा अं.१८:३० बजेको समयमा नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं.८ घोरेढुङ्गा भन्‍ने स्थानमा पुग्दा उक्त सवारी साधन पल्टी दुर्घटनाग्रस्त भएको हो । जाहेरवाला रघु तामाङको आमा लालमाया तामाङको घटनास्थलमा मृत्यु भएको र जाहेरवाला कृष्णप्रसाद अधिकारीको बाबु रामप्रसाद अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो । घटनास्थलको सडक कच्ची उकालो, घुमाउरो र चिप्लो थियो । मैले A र B वर्गको सवारी चालक अनुमति पत्र प्राप्‍त गरेको छु । अन्य वर्गको सवारी चालक अनुमति पत्र प्राप्‍त गरेको छैन । उक्त सवारी साधनको धनी सुकुमान तामाङ हुन् भनी जानकारी भएको हो भन्‍नेसमेत बेहोराको प्रतिवादी सन्तोष तामाङले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०७०।०७।०४ मा सूचना सिंह ठकुरीको नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं.९ स्थित आँगापुटार स्थित खेतमा खेती भित्र्याउने मेला सकेपछि मेलामा गएका हामीहरू सन्तोष तामाङले चलाएको बा१क ८४९४ को मिनिटाटामा धान पराल लोड गरी सवारी साधनमा चढी रानीसौरा स्थित घर फर्कने क्रममा अं.१८:३० बजेको समयमा नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं.८ घोरेढुङ्गा भन्‍ने स्थानमा पुग्दा उक्त सवारी साधन पल्टी दुर्घटनाग्रस्त भएको हो । जाहेरवाला रघु तामाङको आमा लालमाया तामाङको घटनास्थलमा मृत्यु भएको र जाहेरवाला कृष्णप्रसाद अधिकारीको बाबु रामप्रसाद अधिकारी सख्त घाइते भई हामीहरूसमेतले उपचारको लागि त्रिशुली अस्पताल लगेकोमा निज रामप्रसाद अधिकारीको समेत मृत्यु भएको हो, अन्य सबै घाइतेहरू सामान्य उपचारपश्‍चात् घर फर्किएका छन् भन्‍नेसमेत बेहोराको राजकुमार तामाङ, मिनबहादुर सिंह ठकुरी र कृष्णप्रसाद अधिकारीले गरेको एकै मिलानको घटना विवरण कागज ।

मिति २०७०।०७।०४ को अं.१८:३० बजेको समयमा नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं.८ घोरेढुङ्गा भन्‍ने स्थानको कच्ची सडकमा सन्तोष तामाङले असावधानीपूर्वक चलाएको बा१क ८४९४ नं. को मिनिटाटा दुर्घटना हुन पुगी जाहेरवालाको छोरी दिपा सिंह ठकुरीको शरीरका अंगहरूमा चोट लागी कट्टीको जोर्नी फुस्किन गई, करङ भाच्चिन पुगी गम्भीर घाइते भएकीले आवश्यक क्षतिपूर्ति एवं उपचार खर्चसमेत दिलाई भराइपाउँ भन्‍नेसमेत बेहोराको घाइतेको बुबा ढोलबहादुर सिंह ठकुरीको जाहेरी दरखास्त ।

घाइते दिपा सिंह ठकुरीको pelvic fracture, left 1st and 2nd rib fracture, rt. 3rd and 5th rib fracture, c3-c4 osteoarthritis cervical spine injury, Laceration on rt. leg. Blunt Trauma following road traffic accident, serious while presentation, could be fatal भन्‍नेसमेत बेहोराको घाइते दिपा सिंह ठकुरीको घाउजाँच केश फाराम ।

मिति २०७०।०७।०४ को अं.१८:३० बजेको समयमा सन्तोष तामाङले चलाएको बा१क ८४९४ नं.को मिनिटाटा नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं.८ घोरेढुङ्गामा पल्टी दुर्घटनाग्रस्त हुन पुगी दिपा सिंह ठकुरीसमेत सोही दुर्घटनामा परी सख्त घाइते भएकी हुन् भन्‍ने सुनी थाहा पाएको हुँ । हाल मेरो दिदी निज दिपा सिंह ठकुरीको त्रि.वि. शिक्षण अस्पतालमा नियमित उपचार हुँदै छ । घाइते मेरो दिदी दिपा सिंह ठकुरीको हालको अवस्था सामान्य नै भए पनि उठेर आफैँ बस्न नसक्ने अवस्था रहेको छ भन्‍नेसमेत बेहोराको सुशिला सिंह ठकुरीले गरेको घटना विवरण कागज ।

प्रतिवादी एनएमबि बैंक लि., ऋणी संजिवनी डेरी र सवारी चालक सन्तोष तामाङ एवं सहमति कागज गर्ने सुकुमान तामाङसमेतबाट मृतक लालमाया तामाङ एवं रामप्रसाद अधिकारीका परिवार एवं हकदारलाई क्रिया खर्च र क्षतिपूर्ति तथा अङ्गभङ्ग भई गम्भीर घाइते भएकी दिपासिंह ठकुरीको उपचारमा हालसम्म लागेको र पछि उपचारमा लाग्ने खर्चका सम्बन्धमा निज घाइतेको तर्फबाट पेस हुने बिल भरपाईबमोजिमको रकमसमेत सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३(१)(ख)(२), (३), (४) र (५) बमोजिम मृतक लालमाया तामाङ एवं रामप्रसाद अधिकारीका परिवार एवं हकदारलाई क्रिया खर्च र क्षतिपूर्ति तथा अङ्गभङ्ग भई गम्भीर घाइते भएकी दिपासिंह ठकुरीको परिवार एवं हकदारलाई पछि पेस हुने बिल भरपाईबमोजिमको रकमसमेत दिलाई भराइपाउँ भन्ने अभियोग पत्र ।

अङ्गभङ्ग र उपचार खर्चको हकमा पीडित र पीडक पक्षबिच मिति २०७०।०८।०७ मा मिलापत्र भएकोले केही बोलिरहन परेन । गाडी धनी NMB बैंक लि. र सञ्‍चालक व्यवस्थापक संजिवनी दुध डेरीका तर्फबाट सुकुमान तामाङले मृतकका हकदारलाई क्षतिपूर्ति भराइदिने ठहरिन आएकोले प्रतिवादी NMB बैंक लि.ले रू.१,००,०००।- (एक लाख रूपैयाँँ) र संजिवनी दुध डेरीका तर्फबाट रू.१,००,०००।- (एक लाख रूपैयाँँ) भराइदिने ठहर्छ भन्‍ने बेहोराको जिल्ला प्रशासन कार्यालय, नुवाकोटको मिति २०७१।०६।०३ को निर्णय ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३ को उपदफा (१) देखि (४) सम्ममा “सवारी धनी वा व्यवस्थापक” भन्‍ने शब्दहरू उल्लेख भएको छ । सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ५२ र ५३ मा समेत “सवारी धनी वा व्यवस्थापक” भन्‍ने शब्द नै उल्लेख भएको छ । क्षतिपूर्ति बिमामार्फत बेहोर्ने कुरा मान्‍ने हो भने बिमासम्बन्धी दायित्व सम्पूर्णतः ऋणीमा रहने हुँदा यस दृष्टिकोणले पनि कर्जा दिने बैंकले क्षतिपूर्ति वहन गर्नुपर्ने ठहर गर्न किमार्थ मिल्दैन । संजिवनी दुध डेरीलाई सवारी साधन सञ्‍चालक व्यवस्थापक ठहराई क्षतिपूर्ति भराउने ठहरमा पुगेपछि पनि एनएमबि बैंकलाई सवारीधनी भन्दै क्षतिपूर्ति तिर्नुपर्ने गरी भएको फैसलामा उक्त कानूनी व्यवस्थाको गम्भीर त्रुटि विद्यमान हुँदा सुरू फैसला बदर गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी एनएमबि बैंकको तर्फबाट तत्कालीन पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।

पुनरावेदक एनएमबि बैंक लिमिटेडसमेतबाट क्षतिपूर्ति भराइदिने गरी भएको सुरू नुवाकोट जिल्ला प्रशासन कार्यालयको मिति २०७१।०६।०३ को फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ को प्रयोजनका लागि पुनरावेदन सरकारी वकिल कार्यालय, पाटनलाई पेसीको सूचना दिई नियमानुसार गरी पेस गर्नु भन्‍ने बेहोराको तत्कालीन पुनरावेदन अदालत पाटनको मिति २०७१।११।१५ को आदेश ।

बैंक र ऋणीबिच आपसमा भएको सम्झौता निज सम्झौता गर्ने पक्षहरूका हकमा मात्र आकृष्ट हुने हो । त्यस्तो सम्झौताले कानूनद्वारा निर्धारित कानूनी दायित्‍वबाट कसैलाई अलग्याउन र दायित्वबाट पन्छिन मिल्ने अवस्थासमेत रहँदैन । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३(२) मा चालक, सवारी धनी वा व्यवस्थापकबाट क्षतिपूर्ति भराई दिनुपर्ने कानूनी व्यवस्था रहेको र सवारी धनी बैंक रहेको तथा सवारी सञ्‍चालन संजिवनी दुध डेरीका तर्फबाट सुकुमान तामाङबाट भइरहेको मिसिल कागजातबाट देखिँदा प्रतिवादी एनएमबि बैंक लि. बाट समेत मृतकका हकदारलाई रू.१,००,०००।- (एक लाख रूपैयाँँ) क्षतिपूर्ति भराउने ठहर्‍याएको सुरू जिल्ला प्रशासन कार्यालय नुवाकोटको प्रमुख जिल्ला अधिकारीको मिति २०७१।०६।०३ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्ने बेहोराको तत्कालीन पुनरावेदन अदालत पाटनको मिति २०७२।१०।१३ को फैसला । 

निवेदक बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ ले दिएको अधिकार प्रयोग गरी ऋणी संजिवनी दुध डेरीलाई प्रवाह गरेको ऋण कर्जाको सुरक्षणबापत ऋणीले यस बैंकबाट लिएको ऋण कर्जाबाट खरिद गरेको बा१क ८४९४ नं.को ट्रक धितोमा सम्म राखिएको हो । ऋणीले मिति २०६७।०४।०६ मा बैंकलाई गरिदिएको लिखतको दफा २ मा सवारी साधन प्रयोगमा ल्याउँदा भएको दुर्घटनाका कारण तिर्नु बुझाउनुपर्ने क्षतिपूर्तिसमेत ऋणीले तिर्ने बुझाउने व्यवस्था गरिएको छ । उक्त लिखत सम्झौता करार ऐन, २०५६ को दफा ४बमोजिम भएको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३ को उपदफा १६३(२) ले पनि सवारी चालक, सवारीधनी वा व्यवस्थापकबाट क्षतिपूर्ति रकम भराउने व्यवस्था गरेको छ । उक्त दफाले सवारी चालक, सवारी धनी वा व्यवस्थापक वा दुवैबाट क्षतिपूर्ति रकम भराउने भन्ने व्यवस्था गरेको छैन । संजिवनी दुध डेरीलाई सवारी साधन सञ्‍चालक व्यवस्थापक ठहराई व्यवस्थापकबाट क्षतिपूर्ति भराउने ठहरमा पुगेपछि सवारीधनीबाट पनि दोहोरो क्षतिपूर्ति भराउने फैसला गर्न मिल्दैन । कानूनमा परेको विकल्पबोधक शब्दलाई योजक शब्दमा रूपान्तरण गरी कानूनको अपव्याख्या गरी सुरू फैसलालाई सदर ठहर गरी तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला इन्द्रबहादुर गुरूङको मुद्दा (ने.का.प. २०५०, नि.नं. ४६९७) र लोकभक्त राणाको मुद्दा (ने.का.प. २०५५, नि.नं. ६६२५) प्रतिपादित सिद्धान्तविपरीत भई सो फैसलामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३(२) को गम्भीर कानूनी त्रुटि विद्यमान हुँदा प्रस्तुत मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्नेसमेत बेहोराको एनएमबि बैंक लि. को तर्फबाट यस अदालतमा परेको निवेदन ।

यसमा ऋण कर्जाको सुरक्षणबापत ऋणीले लिएको ऋण कर्जा भई खरिद गरेको बा१क ८४९४ नं. को ट्रक धितोमा सम्म बैंकको नाममा रहेकोमा सोही कारणबाट निवेदक बैंक धनी ठहर्‍याई क्षतिपूर्तिबापतको रकम भराइदिने ठहर्‍याएको पुनरावेदन अदालत, पाटनको फैसला करार ऐन, २०५६ को दफा ४, मुलुकी ऐन, अ.बं. १८४क., १८५ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ नं. तथा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३(२)समेतको व्याख्यात्मक त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ । सुरू प्रमाण मिसिल तथा प्रत्यर्थीसमेत झिकाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७३।०४।२० को आदेश । 

 

यस अदालतको ठहर

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेरियो ।

पुनरावेदक एनएमबि बैंक लि.को तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री श्रीहरि अर्याल तथा विद्वान्‌ अधिवक्ताद्वय श्री मदनकुमार डंगोल र श्री हेमकुमार श्रेष्ठले सवारी तथा यातायात व्यवस्था ऐन तथा नियावलीमा समेत स्पष्टरूपमा “सवारी धनी वा व्यवस्थापक” भनिएको स्थितिमा व्यवस्थापकबाट क्षतिपूर्ति भराएपछि सवारी धनीबाट पनि दोहोरो क्षतिपूर्ति भराउन मिल्ने होइन । “वा” विकल्पवोधक शब्द हो, जस्ले दुई वा दुईभन्दा बढी वस्तु वा अवस्थामध्ये एक भन्ने अर्थ दिन्छ । “र” दुई समान पद, पदावली वा वाक्यलाई जोड्ने योजक शब्द हो । “वा” लाई योजक शब्दको रूपमा व्याख्या गर्न मिल्ने होइन । प्राविधिक रूपमा बैंक सवारी धनी देखिए पनि ऋणीले खरिद गरेको सवारी साधनको सञ्‍चालन र सोबाट उत्पन्न परिणामको जिम्मेवारी ऋणीमा नै रहने हो । सुरू तथा पुनरावेदन तहबाट सवारी धनी र व्वस्थापक दुवैबाट क्षतिपूर्ति भराउने गरी भएको फैसला नमिलेकोले सो हदसम्म उल्टी हुनुपर्छ भनी गर्नुभएको बहस सुनियो । 

प्रत्यर्थी / वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री कल्पना राईले सवारी साधनको ब्लु बुकबाट एनएमबि बैंक लि. सवारी धनी देखिएको छ । कानूनले प्रदान गरेको स्वविवेकीय अधिकारको प्रयोग गरी पीडितलाई सवारी धनी र व्यवस्थापकबाट समेत क्षतिपूर्ति भराइदिने गरी भएका सुरू तथा पुनरावेदन अदालतको फैसला न्यायोचित हुँदा परिवर्तन हुनुपर्ने होइन भनी गर्नुभएको बहस सुनियो । 

उपर्युक्तबमोजिमको दुवैतर्फका कानून व्यवसायीले गर्नुभएको बहस सुनी तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७२।१०।१३ मा भएको फैसला मिलेको छ वा छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्‍ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो । 

२. निर्णयतर्फ विचार गर्दा, मिति २०७०।०७।०४ मा नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं.८ घोरेढुङ्गामा सन्तोष तामाङले चलाएको बा.१क ८४९४ नं. को मिनिटाटा दुर्घटना हुँदा मृत्यु भएका लालमाया तामाङ एवं रामप्रसाद अधिकारीका परिवार एवं हकदारलाई किरिया खर्च र क्षतिपूर्ति तथा अङ्गभङ्ग भई गम्भीर घाइते भएकी दिपासिंह ठकुरीको परिवार एवं हकदारलाई बिल भरपाइबमोजिमको रकमसमेत सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३(१)(ख)(२), (३), (४) र (५) बमोजिम दिलाई भराइपाउँ भन्ने अभियोग दाबी रहेको पाइयो । सुरू जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट अङ्गभङ्ग र उपचार खर्चको हकमा पीडित र पीडक पक्षबिच मिति २०७०।०८।०७ मा मिलापत्र भएकोले केही बोलिरहन परेन, गाडी धनी NMB बैंक र सञ्‍चालक व्यवस्थापक संजिवनी दुध डेरीका तर्फबाट सुकुमान तामाङले मृतकका हकदारलाई क्षतिपूर्ति भराइदिने ठहरेकाले प्रतिवादी NMB बैंकले रू.१,००,०००।- (एक लाख रूपैयाँँ) र संजिवनी दुध डेरीले रू.१,००,०००।- (एक लाख रूपैयाँँ) भराइदिने ठहर गरी जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट फैसला भएको देखियो । प्रतिवादी संजिवनी दुध डेरीले सुरू फैसलामा चित्त बुझाई पुनरावेदन नगरी बसेकोमा एनएमबि बैंकले सुरू फैसलाउपर चित्त नबुझाई तत्कालीन पुनरावेदन अदालत पाटनमा पुनरावेदन गरेकोमा सुरू फैसला सदर हुने गरी फैसला भएको देखियो । तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलामा पुनः चित्त नबुझाई एनएमबि बैंकले यस अदालतमा मुद्दा दोहोर्‍याइपाउँ निवेदन दिएकोमा यस अदालतबाट मुद्दा दोहोर्‍याई पाउने अनुमति प्रदान भई प्रस्तुत मुद्दा पुनरावेदनको रोहमा दर्ता भई इजलाससमक्ष पेस भएको देखियो । 

३. पुनरावेदक/प्रतिवादी एनएमबि बैंक लि.को पुनरावेदन जिकिर हेर्दा, ऋणी संजिवनी दुध डेरीलाई प्रवाह गरेको ऋण कर्जाको सुरक्षणबापत ऋणीले यस बैंकबाट लिएको ऋण कर्जाबाट खरिद गरेको बा१क ८४९४ नं.को ट्रक धितोमासम्म राखिएको, ऋणीसँगको सम्झौतामा समेत सवारी साधन प्रयोगमा ल्याउँदा भएको दुर्घटनाका कारण तिर्नु बुझाउनुपर्ने क्षतिपूर्तिसमेत ऋणीले तिर्ने बुझाउने व्यवस्था गरिएको, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३ को उपदफा (२) ले सवारी चालक, सवारी धनी वा व्यवस्थापक वा दुवैबाट क्षतिपूर्ति रकम भराउने भन्ने व्यवस्था नगरेको, कर्जाको सुरक्षणबापत मात्र गरिएको दर्तावाला सवारीधनीसमेतबाट दोहोरो क्षतिपूर्ति भराउन मिल्दैन भन्‍ने नै मुख्य पुनरावेदन जिकिर रहेको देखिन्छ । 

४. यस अदालतबाट ट्रक बैंकको नाममा धितोमा सम्म रहेकोमा सोही कारणबाट निवेदक बैंक धनी ठहर्‍याई क्षतिपूर्ति बापतको रकम भराई दिने ठहर्‍याएको कुरामा व्याख्यात्मक प्रश्‍न देखिएको भनी मुद्दा दोहोर्‍याउने अनुमति प्रदान भएको देखिन्छ । 

५. अङ्गभङ्ग भई गम्भीर घाइते भएकी दिपा सिंह ठकुरीको अङ्गभङ्ग र उपचार खर्चको हकमा पीडित र पीडक पक्षबिच मिति २०७०।०८।०७ मा मिलापत्र भएकोले केही बोलिरहन परेन भनी सुरू जिल्ला प्रशासन कार्यालय, नुवाकोटको फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन जिकिर रहेको नदेखिँदा सो विषयमा केही बोलिरहन परेन ।

६. मिति २०७०।०७।०४ को अं.१८:३० बजेको समयमा सन्तोष तामाङले चलाएको बा१क ८४९४ नं. को मिनिटाटा नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं.८ घोरेढुङ्गामा दुर्घटना हुँदा लालमाया तामाङ एवं रामप्रसाद अधिकारीको मृत्यु भएको तथ्यमा विवाद छैन । निज मृतकहरूको हकदारलाई किरिया खर्च र क्षतिपूर्ति भराइदिनुपर्ने विषयमा पुनरावेदक / प्रतिवादी एनएमबि बैंकको प्रस्तुत दुर्घटनाबाट सिर्जित क्षतिपूर्तिको दायित्व रहने हो वा होइन भन्‍ने प्रश्‍नकै मूलतः विवेचना गर्नुपर्ने देखियो । 

७. सो सम्बन्धमा विचार गर्दा, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३ को उपदफा (१) र (२) को व्यवस्था हेर्नु सान्दर्भिक देखिन आयो । उक्त दफामा निम्नबमोजिमको व्यवस्था रहेको देखिन्छः

दफा १६३. घा खर्च, किरिया याखर्च वा क्षतिपूर्ति भराइदिनेः 

(१) सवारी दुर्घटनाबाट कुनै पक्षलाई कुनै पनि किसिमको हानि नोक्सानी पुग्न गएमा पीडित पक्षलाई देहायबमोजिम खर्च र क्षतिपूर्तिको रकम चालक, सवारी धनी वा व्यवस्थापकबाट भराइदिनुपर्छः

(क) ज्यान मरेकोमा सो मर्ने व्यक्तिको हकवालालाई किरिया खर्चबापत पचास हजार रूपैयाँँसम्म र क्षतिपूर्तिबापत तेस्रो पक्षको बिमा नगराएको भए यस ऐनबमोजिम तेस्रो पक्षले पाउने दुर्घटना बिमाको रकम ।

(२) सवारी दुर्घटनाबाट कुनै व्यक्तिको ज्यान मरेको भए सो मर्ने व्यक्तिको हकवालालाई किरिया खर्च र क्षतिपूर्ति रकम र अङ्गभङ्ग भएको भए सो हुने व्यक्तिलाई घा खर्चको रकम उपदफा (१) बमोजिम प्रमुख जिल्ला अधिकारीले तत्कालै सवारी चालक, सवारी धनी वा व्यवस्थापकबाट भराई दिनुपर्छ । 

 

८. उपर्युक्तबमोजिमको कानूनी व्यवस्थाले सवारी दुर्घटनाबाट कुनै व्यक्तिको ज्यान मरेको भए सो मर्ने व्यक्तिको हकवालालाई प्रमुख जिल्ला अधिकारीले “सवारी चालक, सवारी धनी वा व्यवस्थापक” बाट किरिया खर्च रकम भराउनुपर्ने भन्‍ने देखिन्छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३ को उपदफा (२) को शब्द संयोजनलाई हेर्दा किरिया खर्च रकम भराउँदा सवारी धनी वा व्यवस्थापक उल्लेख भएबाट दुवैबाट भराउनुपर्ने भन्‍ने देखिँदैन । उक्त वाक्यांशमा “र” को प्रयोग नभई “वा” को प्रयोग भएको देखिँदा किरिया खर्च वा क्षतिपूर्ति भराउँदा कुनै एक विकल्पको रूपमा राखिएको हो भनी मान्‍नुपर्ने हुन्छ । दुर्घटनामा परेको बा१क ८४९४ नं. को ट्रकको सवारी धनी एनएमबि बैंक लि. र ऋणी संजिवनी दुध डेरी भएको भनी यातायात व्यवस्था कार्यालय वाग्मतीको च.नं.२७३ मिति २०७०।०७।२५ को पत्रबाट खुल्न आएको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ ले दिएको अधिकार प्रयोग गरी ऋणी संजिवनी दुध डेरीलाई प्रवाह गरेको ऋण कर्जाको सुरक्षणबापत ऋणीले उक्त एनएमबि बैंकबाट लिएको ऋण कर्जाबाट खरिद गरेको बा १ क ८४९४ नं. को ट्रक धितोमासम्म राखिएको हो भन्ने पुनरावेदक/प्रतिवादी बैंकको जिकिर रहेको देखिन्छ । बैंकले ऋण प्रवाह गर्ने र ऋणी संजिवनी दुध डेरीले सो ऋणबाट सवारी साधन खरिद गरी प्रयोग गर्न पाउने गरी दई पक्षबिच बैंकिङ कारोबारबाट सवारी साधन गरीद भएको भन्‍ने देखियो । त्यस्तो कारोबारमा ऋणको सुरक्षणको लागि बैंकको नाउँमा सो सवारी साधन रहन जाने भन्‍ने बैंकको पुनरावेदन जिकिर मनासिब नै मान्‍नुपर्ने हुन्छ । बैंकले प्रवाह गरेको ऋणको सुरक्षाबापत धितो बैंकले लिनुपर्ने हुन्छ । सवारी साधन जस्तो यान्त्रिक वस्तु खरिद गर्नको लागि र सोको प्रयोग, उपभोग ऋणीले गर्ने गरी हुने बैंकिङ कारोबारमा सो सवारी साधनलाई नै सुरक्षणबापत धितो नलिने हो भने बैंकको कर्जा जोखिममा पर्नु स्वाभाविक नै हुन्छ । ऋण चुक्ता नभएसम्मको लागि नै त्यस्तो सवारी साधन बैंकले धितोबापत नै आफ्नो नाउँमा सवारी धनी भनी ब्लु बुकमा उल्लेख हुने र ऋण चुक्ता भएपछि ऋणीकै नाउमा नामसारी हस्तान्तरण गरिने कार्य हुन्छ । यस्तो स्थितिमा सवारी साधनको उपभोग र प्रयोग गर्दा कुनै दुर्घटना हुन जाने परिस्थितिको आँकलन गरी धनी बैंक र ऋणीको बिच आपसी सम्झौता लिखत पनि गरिएको हुन्छ ।

९. वास्तवमा भन्‍नुपर्दा बैंक सवारी धनी भए पनि सो सवारीको प्रयोग, उपभोग, नियन्त्रण र सो सवारीबाट आर्जन हुने मुनाफामा बैंक कुनै पनि किसिमबाट हकदार रहन जाने हुँदैन । बैंकको सरोकार र चासो त आफूले प्रवाह गरेको कर्जा रकमको असुल उपर सम्ममा नै रहने हुन्छ । बैंकिङ प्रणालीबाट सवारी साधनमा कर्जा प्रवाह हुने बैंकिङ कारोबारको पृष्ठभूमिको आलोकमा सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐन, २०४९ मा भएको किरिया खर्च तथा क्षतिपूर्ति भराई दिनुपर्ने कानूनी व्यवस्थाको न्यायोचित व्याख्या हुनुपर्ने देखिन्छ । साथै उक्त ऐनको दफा १६३ को उपदफा १ (क) र २ मा भएको कानूनी व्यवस्थालाई हेर्दा चालक, सवारी धनी वा व्यवस्थापकबाट किरिया खर्च, क्षतिपर्ति भराई दिनुपर्ने भन्‍ने छ । उक्त कानूनी व्यवस्थामा चालक, सवारी धनी र व्यवस्थापक तीनवटै पक्षबाट किरिया खर्च, क्षतिपूर्ति भराई दिनुपर्ने भन्‍ने नभई चालक शब्द पछि सवारी धनी वा व्यवस्थापक भन्‍ने उल्लेख भएको हुँदा सवारी धनी वा व्यवस्थापकमध्ये कुनै एक पक्षलाई भन्‍ने नै बुझिन्छ ।

१०. ऋणी संजिवनी दुध डेरीले प्रतिवादी बैंकलाई मिति २०६७।४।६ गते गरिदिएको मिसिल संलग्न लिखतको बुँदा नं. २ मा “धितोको सवारी साधन प्रयोगमा ल्याउँदा हाम्रो कर्मचारी चालकको गलफात वा लापरवाहीले दुर्घटना भई वा अन्य कनै पनि अवस्था परी ऐनबमोजिम दण्ड, सजाय, जरिवाना वा क्षतिपूर्ति तिर्नु बेहोर्नुपरेमा स्वयंले उक्त दण्ड, जरिवाना तिर्ने बेहोर्ने छौं” भनी सर्त उल्लेख भएको देखिन्छ । यसबाट सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३ को उपदफा (१) (क) र (२) को प्रयोजनको लागि पुनरावेदक एनएमबि बैंक सवारी साधनको धनी देखिए तापनि उक्त सवारी साधनको जिम्मा लिई सञ्‍चालन र प्रबन्ध गरी उक्त सवारी साधनबाट भएको सम्पूर्ण आम्दानी, खर्च, मर्मतलगायत सवारी साधनबाट सिर्जित सम्पूर्ण दायित्व पुनरावेदक/प्रतिवादी बैंकले नलिई प्रतिवादीमध्यकै संजिवनी दुध डेरीले लिएको अवस्थामा पुनरावेदक/प्रतिवादी एनएमबि बैंकलाई सवारी साधनबाट सिर्जित दायित्व बेहोर्न लगाउनु न्यायसङ्गत देखिन आएन । अतएवं उल्लिखित कानूनी व्यवस्था र प्रतिवादी संजिवनी दुध डेरीले एनएमबि बैंकका नाममा गरिदिएको लिखतसमेतबाट सवारी साधनको प्रयोगको कारण सिर्जना हुने दायित्व सवारी साधनको व्यवस्थापक अर्थात्‌ प्रतिवादीमध्येकै ऋणी संजिवनी दुध डेरीले बेहोर्नुपर्ने देखिन्छ ।   

११. प्रस्तुत मुद्दाको विषयसँग सम्बन्धित भारतको सर्वोच्च अदालतबाट HDFC Bank Limited vs. Kumari Reshma and others भएको मुद्दामा स्थापित सिद्धान्तलाई यहाँ उल्लेख गर्नु सान्दर्भिक देखिन आयो । उक्त फैसलामा भनिएको छ कि When the intention of the legislature is quite clear to the effect, a registered owner of the vehicle should not be held liable if the vehicle is not in his possession and control and there is evidence on record that the respondent no.२, without the insurance plied the vehicle in violation of the statutory provision contained in Section १४६ of the १९८८ Act, the High Court could not have mulcted the liability on the financier. भनी सवारी दर्तावाला कर्जा प्रवाहकर्ता बैंकमा सवारी साधनको प्रत्यक्ष नियन्त्रण नहुने हुँदा निजमा सवारी दुर्घटनाबाट सिर्जित दायित्वसमेत नरहने भनी न्यायिक व्याख्यासमेत भएको परिप्रेक्ष्यमा प्रवाह भएको कर्जाको सुरक्षणबापत धितोको रूपमा राखिएको सवारी साधनमा दर्तावाला बैंक तथा वित्तीय संस्थाको प्रत्यक्ष नियन्त्रण तथा व्यवस्थापन नहुने हुँदा उक्त सवारी साधनको दुर्घटनाबाट सिर्जित परनिर्भर दायित्व त्यस्तो दर्तावाला बैंकमा हुन्छ भन्‍नु न्यायसङ्गत हुँदैन । 

१२. सवारी दुर्घटनाबाट सिर्जित क्षतिपूर्तिको दायित्व सवारी साधनको सञ्‍चालनमा यथोचित होसियारी, सावधानी तथा विचार नपुगी हेलचेक्‍य्राइँ, लापरवाही तथा त्रुटीको कारण वहन गर्नुपर्ने दुष्कृतिजन्य दायित्व हो । दर्तावाला सवारी साधन धनी कर्जा प्रवाहबापत सुरक्षणको लागि धितो लिने बैंकमा दुर्घटनाको कुनै कारक कार्य तथा मानसिक तत्त्व पनि रहने हुँदैन । साथै, दुर्घटनामा परेको गाडीको भोग तथा नियन्त्रण सवारी साधन सञ्‍चालन तथा व्यवस्थापन गर्ने प्रतिवादीमध्येका संजिवनी दुध डेरीमा नै रहेको देखिन्छ । यस स्थितिमा बा १ क ८४९४ नं. को ट्रक प्रयोगमा ल्याउँदा भएको दुर्घटनाका कारण कानूनबमोजिम तिर्नु बुझाउनुपर्ने क्षतिपूर्तिसमेत उक्त ट्रक जिम्मा लिई सञ्‍चालन तथा व्यवस्थापन गर्ने संजिवनी दुध डेरीबाट मात्र भराई दिनुपर्ने देखियो । पुनरावेदक/प्रतिवादी एनएमबि बैंकबाट समेत क्षतिपूर्ति भराउने गरी भएको तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सो हदसम्म मिलेको देखिएन । प्रत्यर्थी/वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ताको बहस जिकिरसँग सहमत हुन सकिएन ।

१३. अतः माथि विवेचित कानूनी व्यवस्था, न्यायिक सिद्धान्त तथा आधार कारणसमेतबाट क्षतिपूर्तिबापतको रकम सवारी साधनको व्यवस्थापक संजिवनी दुध डेरीबाट रू.१,००,०००।- (एक लाख रूपैयाँँ) र पुनरावेदक एनएमवि बैंक लि.बाट रू.१,००,०००।- (एक लाख रूपैयाँँ) भराइदिने गरी सुरू जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट भएको फैसला सदर हुने ठहर्‍याएको तत्कालीन पुनरावेदन अदालत पाटनको मिति २०७२।१०।१३ को फैसलामा पुनरावेदक एनएमबी बैंक लिमिटेडबाट समेत रू.१,००,०००।- (एक लाख रूपैयाँँ) क्षतिपूर्ति पीडित पक्षलाई भराइदिने ठहर गरेको मिलेको नदेखिँदा सो हदसम्म उल्टी भई पुनरावेदक/प्रतिवादी एनएमबि बैंकउपरको क्षतिपूर्तिको दाबी नपुग्ने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

१. माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत पाटनको फैसला केही उल्टी भई पुनरावेदक एनएमबि बैंक लि.उपरको क्षतिपूर्तिको दाबी नपुग्ने ठहरेकोले प्रतिवादी एनएमबि बैंकबाट भराइदिने गरी राखेको लगत कट्टा गर्नु भनी सुरू जिल्ला प्रशासन कार्यालय नुवाकोटमा लेखी पठाउनू । 

२. फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई दिनू । 

३. प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी दायरीको लगत कट्टा गरी सुरू तथा रेकर्ड मिसिल तत् तत् निकायमा पठाई यस अदालतको मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।   

 

उक्त रायमा म सहमत छु ।

न्या.हरिप्रसाद फुयाल

 

इजलास अधिकृत:- महेश खनाल, कालिबहादुर साम्यू लिम्बू

इति संवत् २०८० साल भदौ १७ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु