निर्णय नं. ११४२९ - आगो लगाई कर्तव्य ज्यान
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
माननीय न्यायाधीश डा.श्री नहकुल सुवेदी
फैसला मिति : २०८१।२।१४
मुद्दा: आगो लगाई कर्तव्य ज्यान
०७५-CR-१५२९
पुनरावेदक / प्रतिवादी : रामचन्द्र के.सी.को नातिनी, नरबहादुर के.सी.को छोरी, जिल्ला सिन्धुपाल्चोक, बलेफी गा.पा.८ मांखा ड्यामसाइट घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा थुनामा रहेकी गीता नेपाल
विरूद्ध
प्रत्यर्थी / वादी : प्रहरी प्रतिवेदनको जाहेरीले नेपाल सरकार
०७५-CR-१५४०
पुनरावेदक / वादी : लिलादेव नेपालको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : रामचन्द्र के.सी.को नातिनी, नरबहादुर के.सी.को छोरी,लिलादेव नेपालको बुहारी, विदुर नेपालको श्रीमती, जिल्ला सिन्धुपाल्चोक, बलेफी गा.पा.८ मांखा ड्यामसाइट घर भई हाल कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौंमा थुनामा रहेकी गीता नेपाल
प्रताडित मनोदशा भएको महिला (battered women syndrome) द्वारा भएको हिंसा र आवेशप्रेरित हत्याबिच केही अन्तर रहेको पाइने । आवेशप्रेरित हत्यामा तत्काल उठेको रिसको कारण मौकामा प्रहार गरी हत्या गरेको हुँदा त्यसमा मनसाय तत्त्वको अभाव रहने । प्रताडित मनोदशा भएको महिला (battered women syndrome) को दाबी लिइएको वारदात हत्या नै हो तर वारदातको कारक तत्त्व भने मर्ने व्यक्ति स्वयम् हुने ।
(प्रकरण नं.७)
पतिको चरम हिंसाबाट पीडित भई त्यस्तो कार्यबाट मनोवैज्ञानिक प्रभाव, भावनात्मक दुर्व्यवहार र परित्यागको कारण मानसिक रूपमा गम्भीर आघात, निराशा र असहायताको अनुभूति र आफूले आत्महत्या गर्नुको सट्टा पतिलाई मार्ने निर्णय लिनुलाई उनको अस्तित्वको लागि खतराको प्रतिक्रियाको अवस्था हो । यी सम्पूर्ण प्रताडित मनोदशा (battered women syndrome) बाट एकाएक उत्पन्न भएको बदलाको भावनाबाट प्रेरित भई निजले आफ्नै पतिको हत्या गरेको र निजले अनुसन्धानको क्रममा र अदालतमा बयान गर्दा साबित भई आफूले गरेको कसुर स्वीकार गरी अदालतलाई सहयोग गरेकोमा यस्तो हत्यालाई महिला विरूद्धको चरम हिंसाको कारणबाट भएको परिणामको रूपमा हेरी सजाय निर्धारण गर्दा उक्त परिस्थितिलाई विचार गर्नुपर्ने ।
(प्रकरण नं.११)
वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता अच्चुतमणि न्यौपाने
प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री मोहनबहादुर बन्जारा क्षेत्री र श्री पूजा बन्जारा
अवलम्बित नजिर :
ने.का.प.२०६०, अङ्क ७, नि.नं.७२४६
ने.का.प.२०६६, अङ्क ९, नि.नं.८२२३
ने.का.प.२०७१, अङ्क ९, नि.नं.९२४२
सम्बद्ध कानून :
फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४
सुरू फैसला गर्ने अदालत :
मा. जिल्ला न्या. श्री महम्मद जुनैद आजाद
भक्तपुर जिल्ला अदालत
फैसला गर्ने अदालत:-
माननीय न्यायाधीश श्री प्रेमराज ढकाल
माननीय न्यायाधीश श्री शेखरप्रसाद पौडेल
उच्च अदालत पाटन
फैसला
न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दा यसै अदालतको क्षेत्राधिकारभित्रको हुँदा प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :-
तथ्य खण्ड
मिति २०७४।७।६ गते अ.०२.०० बजे जिल्ला भक्तपुर, मध्यपुर ठिमी न.पा.६ राईटोल भिमसेन मार्ग मैया बुढाथोकीको घरको दोस्रो तलाको दक्षिण पश्चिमतर्फको कोठा तथा सो कोठाभित्र रहेका टि.भि., लत्ता कपडालगायतका जिन्सी सामानहरू आगोले जली क्षति भएको तथा घरको प्लाष्टरलगायतको ठाँउमा जली क्षति भएको, आगोले जली घाइते भएका विदुर नेपाललाई तत्कालै अस्पताल पठाइएको भन्ने बेहोराको घटनास्थल मुचुल्का ।
मेरो छोरा विदुर नेपाल बिगत ४ वर्षदेखि जिल्ला भक्तपुर, मध्यपुर ठिमी न.पा.६ राईटोल स्थित मैया बुढाथोकीको घरमा डेरा गरी बस्दै आएकोमा मिति २०७४।७।५ गते अ.११:३० बजे छोरा विदुर नेपालको जेठी श्रीमती गीता नेपालले डेरा कोठामा छोरा विदुर नेपाल मात्र भएको अवस्थामा आई विदुर नेपाललाई नशालु पदार्थ सेवन गराई नशा लागेपश्चात् पेट्रोल खन्याई आगो लगाई ढोका बाहिरबाट बन्द गरी भागेको र तत्काल छिमेकीलगायतका मानिसहरूले उद्धार गरी उपचारको क्रममा कीर्तिपुर अस्पताल काठमाडौंमा मृत्यु भएको हुँदा निजलाई पक्राउ गरी आवश्यक कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको लिलादेव नेपालको जाहेरी दरखास्त ।
मिति २०७४।७।६ गते अ.०२.०० बजे कीर्तिपुर मोडेल अस्पताल काठमाडौंको शव गृहमा विदुर नेपालको मृतक लास रहेको, मृतकको अनुहारलगायत शरीरको भागमा जलेको भन्नेसमेत बेहोराको लास जाँच मुचुल्का ।
मिति २०७४।७।८ गते जिल्ला भक्तपुर, मध्यपुर ठिमी न.पा.६ स्थित घटनास्थलबाट खैरो रातो रङ्गको आगोले जलेको लेडिज झोला थान १, सेतो रङ्गको चाँदी जस्तो देखिने पाउजु जोर १ र सुनजस्तो देखिने पहेँलो तिलहरी थान १ बरामद भएको भन्ने बेहोराको खानतलासी बरामदी मुचुल्का ।
मृतक विदुर नेपालसँग मिति २०५८ सालमा मागी विवाह भई १ छोरा र १ छोरीको जायजन्म भई राम्रै सम्बन्ध रहेकोमा पति बिगत ४ वर्षदेखि भक्तपुरमा डेराकोठा लिई बस्दै आउनुभएको र मिति २०७२।१।२९ गतेको महाभूकम्पमा परी छोराको मृत्यु भएपश्चात् म र छोरीसमेत जिल्ला भक्तपुर, भक्तपुर न.पा.१ सिर्जनानगरमा डेराकोठा लिई पतिसँग बस्दै आएकोमा पतिले मादक पदार्थ सेवन गरी झै–झगडा गर्ने तथा डेराकोठामा नआउने र घर व्यवहार नहेर्ने भएपछि मैले मादक पदार्थ सेवन नगर्नुस्, डेराकोठामा चाँडै आउनुहोस् भन्दा पतिले मलाई कुटपिट गरी मेरो ४ महिनाको गर्भसमेत खेर गएको हो । मिति २०७४ सालको जेष्ठदेखि श्रीमान् डेराकोठामा आउन छाडेपछि पतिले दोस्रो श्रीमती ल्याएको भन्ने सुनेको थिएँ । पतिलाई सोध्दा तिमीहरूको लालन पालनमा मैले ठेक्का लिएको छैन, तँलाई मार्छु, काट्छु भनी धाक धम्की दिनुहुन्थ्यो । मिति २०७४ सालको दशैँमा मेरो पतिलाई डेराकोठामा आउनुहोस्, कोठामा खाने कुरा पनि केही छैन भन्दा निजले हुन्छ आउँछु भनेकोले दशैँमा म पनि पति आउनुहुन्छ भनेर र छोरी पनि बुबा आउनुहुन्छ भनी खुसी भएका थियौं । दशैंमा नआएकोले पुनः फोन गर्दा फोनै नउठाएपछि हामीहरू खाने कुरा केहि नभएकोले दशैंमा समेत भोकै बस्यौ । यसरी खान लाउन, लालन पालन तथा छोरीको शिक्षामा समेत नहेर्ने र तँलाई मार्छु काट्छु भनी धम्की दिने भएकोले मैले विषादी पदार्थ सेवन गरी मर्छु भनी विषादी पदार्थ किनेर कोठामा ल्याएकोमा छोरीको अनुहार देख्दा माया लागी मैले किन आत्महत्या गर्ने बरू पति विदुर नेपाललाई नै मार्छु भनी मनमनै योजना बनाई मिति २०७४।६।२२ गते निजलाई मार्न पेट्रोल पम्पबाट एक लिटर पेट्रोल लिई कोठामा राखेको थिएँ । मिति २०७४।७।४ गते भाइटिकाको लागि म पेप्सीकोला र श्रीमान् र छोरी बालकोट स्थित पतिको बहिनीको घरमा गएकोमा दिउसो म आफ्नो डेराकोठामा फर्की पतिलाई फोन गर्दा फोन छोरीले उठाई हामीहरू बाबाको कोठामा छौं आउनुहोस्, म तपाइँलाई मध्यपुर ठिमी नगरपालिका कार्यालय नजिकै लिन आउँछु भनेकोले म पतिको डेराकोठामा गएपछि केही बेर बिबाद भयो । खाली प्लाष्टिकको डिब्बा लिई नजिकैको पेट्रोल पम्पबाट एक लिटर पेट्रोल किनी सिधै पतिको कोठामा गएँ पति हुनुहुन्थेन । मैले मासु ल्याई खानासमेत बनाई सकेको थिएँ । अ.२०:०० बजे पति विदुर नेपाल मादक पदार्थ सेवन गरी आउनुभएको थियो । हामी दुवै जनाले सँगै खाना खाई सुतेका हौं । सो रात छोरी टि.भि.हेर्न भनी भुईंतलामा रहेको छिमेकीको कोठामा गई त्यहीँ सुतेकी थिइन् । रातिसमेत हामीहरूबिच विवाद भएकोले पतिलाई मार्छु भनी योजनाबमोजिम मिति २०७४।७।६ गते अ.०२:०० बजे मैले पलङको घर्रामा लुकाइ राखेको पेट्रोल राखेको डिब्बा झिकी कुचो चोपी श्रीमान् सुतेको ओछ्यानमा तथा भुईंमा छर्कीई आगो लगाई दिई म कोठाबाट ढोका लगाई भागेको हुँ । आगो लगाई दिएपश्चात् एकछिन म त्यहीँ नजिकै बसी हेरेँ कोठाभित्र आगो दनदनी बलिरहेको थियो । प्रहरी, दमकल तथा स्थानीय मानिसहरूको जमघट भएपछि म त्यहाँबाट भागेर निलबाराहीतर्फ भागी एकान्त स्थानमा बसेँ । पति विदुर नेपाल जली घाइते भएकोमा उपचारको क्रममा कीर्तिपुर अस्पातलमा मृत्यु भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी गीता नेपालको बयान ।
मिति २०७४।७।१७ गते जिल्ला भक्तपुर, भक्तपुर न.पा.१ सिर्जनानगर स्थित प्रतिवादी गीता नेपाल डेरा गरी बस्ने भनिएको बुद्धीनाथ गौतमको घरको भुईंतलाको पूर्व दक्षिणतर्फको कोठाबाट प्लाष्टिकको एक लिटरको बट्टामा पेट्रोल जस्तो देखिने पदार्थ तथा G-Sunami लेखिएको बिर्को नखोलिएको तरल पदार्थको बट्टा थान-१ बरामद भएको भन्नेसमेत बेहोराको खानतलासी तथा बरामदी मुचुल्का ।
मृतक विदुर नेपाल र निजको श्रीमती भनेकी निर्मला भण्डारी बिगत ५ महिनादेखि जिल्ला भक्तपुर, मध्यपुर ठिमी न.पा.६ भिमसेन मार्ग मेरो घरमा डेरा गरी बस्दै आएकोमा मिति २०७४।७।६ गते अ.०२:०० बजे घरमा आगो लगाउँदा धनजनको क्षति हुन्छ, उक्त घरमा अन्य मानिसहरूसमेत सुते बसेका छन् भन्ने थाहा पाउँदापाउँदै गीता नेपालले डेराकोठामा निर्मला भण्डारी नभएको अवस्थामा विदुर नेपाललाई कर्तव्य गरी मार्नको लागि विदुर नेपाल सुतिरहेको कोठामा पेट्रोल छर्किई आगो लगाइदिई निज विदुर नेपालको मृत्यु हुनुको साथै मेरो घरको उक्त कोठा, अन्य कोठासमेतको विद्युत् लाइन, झ्याल ढोकालगायतका घरको विभिन्न भागहरू जली क्षति भएको हुँदा निज प्रतिवादी गीता नेपालउपर मुलुकी ऐन, आगो लगाउनेको महलबमोजिम कारबाही गरी मेरो घरको क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको मैया बुढाथोकीको जाहेरी दरखास्त ।
मृतक विदुर नेपालले मेरो श्रीमतीसँग राम्रो सम्बन्ध नभई सम्बन्ध विच्छेद भइसक्यो भनेकोले २०७४ साल जेष्ठ महिनामा विवाह गरी हामीहरू जिल्ला भक्तपुर, मध्यपुर ठिमी न.पा.६ स्थित विष्णुराज दाहालको घरमा डेरा गरी बस्ने गर्दथ्यौं । समय बित्दै जाँदा पतिको मोबाइलमा फोन आई उक्त फोन मैले उठाँउदा निजले विदुर नेपाल मेरो पति हुन भनेपछि विदुर नेपालको जेठी श्रीमतीसँग सम्बन्ध विच्छेद नभएको भन्ने थाहा पाई मैले पति विदुर नेपालसँग बुझ्दा निजले ढाँटेका रहेछन । मिति २०७४।७।६ गते म माइत गएको बेलामा अ.०३:३० बजे कोठामा आगलागी भई पति घाइते भएको भन्ने खबर सुनेपछि कीर्तिपुर अस्पतालमा जाँदा पतिको उपचारको क्रममा अ.१७:०० बजे मृत्यु भएको हो । पछि पति कोठामा सुतेको अवस्थामा जेठी श्रीमती गीता नेपालले पेट्रोल छर्किई आगो लगाई दिई घाइते बनाई भागेको भन्ने थाहा पाएको हुँ भन्ने बेहोराको निर्मला नेपाल भण्डारीले गरेको कागज ।
घटनास्थलबाट बरामद भई आएको खैरो रातो रङको आगोले जलेको लेडिज ब्याग थान १, सुनको जस्तो देखिने पहेँलो तिलहरी थान-१ र चाँदीको जस्तो देखिने पाउजु एक जोर मलाई देखाउँदा देखेँ । उक्त गहनाहरूमध्ये सुनको जस्तो देखिने तिलहरी थान-१ मेरै सुनको तिलहरी हो । अन्य चिज वस्तु मेरो होइन, देखी चिनी सनाखतसमेत गरी दिए भन्ने बेहोराको निर्मला नेपाल भण्डारीले गरेको दशी सनाखत मुचुल्का ।
मृतक विदुर नेपाल मेरो बुबा र प्रतिवादी गीता नेपाल मेरो आमा हुन् । मेरो बुबाले अ.६/७ महिनाअगाडि कान्छी श्रीमती विवाह गरी जिल्ला भक्तपुर, मध्यपुर ठिमी न.पा.६ राईटोल स्थित डेराकोठा लिई बस्दै आउनुभएको थियो । म र आमा जिल्ला भक्तपुर भक्तपुर, न.पा.१ स्थित सिर्जना नगरमा डेराकोठा लिई बस्दै आएका थियौं । मेरो बुबाले कान्छी श्रीमती विवाह गरी ल्याएदेखि मेरो बुबा र आमाको सम्बन्ध खासै राम्रो थिएन । मेरो आमाले दशैं अगाडि बुबालाई जसरी भए पनि आगो लगाई मार्छु भनी मलाई सुनाउनु भएको थियो । मैले यो कुरा बुबालाई सुनाउँदा बुबाले खासै चासो देखाउनु भएन । मिति २०७४।७।४ गते भाइटिकाको दिन बिहान बुबा र म बालकोट फुपूको घरमा टिका लगाई बुबाको डेराकोठामा आई बस्यौ । कान्छी आमा माइती सिन्धुपाल्चोक जानु भएको रहेछ, सोही दिन साँझ आमाले बुबाको मोबाइलमा फोन गर्दा मैले फोन उठाई म तपाइँलाई नगरपालिका चोकसम्म लिन आउँछु भनी आमालाई बुबाको डेराकोठामा लगे । उक्त दिन हामी त्यहीँ बस्यौ । मिति २०७४।७।५ गते दिउँसो आमा डेराकोठाबाहिर गई अ.१७.०० बजे फर्कंदा प्लास्टिकको बट्टामा तरल पदार्थ ल्याएको देखी आमालाई के हो भनी सोध्दा तेल हो भनी खाटमुनि लुकाई राख्नुभएको थियो । उक्त समयमा बुबा बाहिर जानुभएकोमा बेलुका खाना खाएपछि मलाई भुईं तलामा बस्ने रेखा दिदीको कोठामा गएर सुत भनी आमाले पठाउनुभएको हो । सो रात मानिसहरू हल्ला गरेपछि के भएछ भनी उठी हेर्दा बुबा सुत्ने कोठामा आगो बलिरहेको र बुबा आगोले जली छटपटाइरहेको अवस्थामा भान्छा कोठामा देखेको हुँ । बुबालाई तत्कालै प्रहरी र स्थानीय मानिसहरूको सहयोगमा मसमेत भई अस्पतालतर्फ लगेकोमा उपचारको क्रममा वुवाको मृत्यु भएको हो । पछि बुझ्दा आमाले नै बुबा सुतिरहेको अवस्थामा आगो लगाई आमा उक्त स्थानबाट भाग्नुभएको भनी सुनेको हुँ भन्ने बेहोराको उषा नेपालले गरेको कागज ।
मिति २०७४।७।६ गते अ.०२:०० बजे मेरो दिदी गीता नेपालले डेराकोठामा भिनाजु विदुर नेपाल सुतिरहेको अवस्थामा पेट्रोल छर्किई आगो लगाई घाइते भई उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको उपचारको क्रममा मृत्यु भएको भन्ने सुनी थाहा पाएको हुँ । प्रतिवादी गीता नेपालउपर कानूनबमोजिम कारबाही होस भन्नेसमेत बेहोराको पदमबहादुर के.सी.र भगवती देबी कार्कीले गरेको कागज ।
मिति २०७४।७।६ गते अ.०२.०० बजे म आफ्नै घरमा सुतिरहेको थिएँ । घर बाहिर मैया बुढाथोकीको घरमा आगलागी भयो भन्ने हल्ला सुनी थाहा पाई उठी आई हेर्दा सोही घरको दोस्रो तलामा डेरा गरी बस्ने विदुर नेपाल आगोले जलेको अवस्थामा डेराकोठा बाहिर देखेको हुँ । के कसरी आगो लाग्यो भन्ने बुझ्दा निज विदुर नेपालको श्रीमती गीता नेपालले निजको पति विदुर नेपाल डेराकोठामा सुतिरहेको अवस्थामा पेट्रोल छर्किई आगो लगाई दिई कोठाको ढोका बन्द गरी भागेको भन्ने सुनी थाहा पाएको हुँ । प्रतिवादी गीता नेपाललाई कारबाही होस् भन्ने बेहोराको धनबहादुर श्रेष्ठ र भिमबहादुर राईले गरेको कागज ।
मिति २०७४।७।६ गते अ.०२:०० बजे म मैया बुढाथोकीको घरको भुईंतलाको कोठामा सुतिरहेकोमा सोही घरको दोस्रो तलाको विदुर नेपाल सुत्ने कोठामा गड्याङ्गगुडुङ्ग आवाज आई म र मेरो पतिसमेत बाहिर आई हेर्दा विदुर नेपालको कोठामा आगो बलिरहेको देखी स्थानीय तथा प्रहरीलाई खबर गरेको हुँ । आगो लागेको देख्ने बित्तीकै बाल्टीनबाट पानीसमेत हालेको हुँ । हामी डेराकोठाबाट बाहिर निस्कँदा रातो कुर्तासुरूवाल लगाएकी महिला बाहिरतर्फ भाग्दै गरेको देखेको हुँ । मृतक विदुर नेपालको शरीरको विभिन्न भागमा जलेको हुँदा प्रहरीको गाडीमा राखी उपचारको लागि अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने सुनी थाहा पाएको हुँ । पछि बुझ्दा विदुर नेपाल सुतेको अवस्थामा निजकै श्रीमती गीता नेपालले पेट्रोल छर्किई आगो लगाई भागेको भन्ने थाहा पाएको हुँ भन्नेसमेत बेहोराको अमृता गुरूङले गरेको कागज ।
मिति २०७४।७।५ गते अ.१९.०० बजे जिल्ला भक्तपुर, मध्यपुर ठिमी न.पा.६ मा म बस्ने घरको दोस्रो तलामा डेरा गरी बस्ने निर्मला भण्डारीसँग कुरा गर्न गएकोमा उक्त कोठामा विदुर नेपाल, गीता नेपाल र निजकी छोरीलाई देखी अन्टी खोई भनी सोध्दा निजले म विदुर नेपालको जेठी श्रीमती हुँ र निर्मला भण्डारी कान्छी श्रीमती हुन् । दोस्रो विवाह गरी मलाई बेवास्ता गरेको छ भनेकी थिइन् । त्यसपछि म आफ्नो डेराकोठामा आउन खोज्दा मेरो छोरीलाई पनि लैजाउ सँगै पढ्नु, छोरीले जे हेर्न भन्छ त्यही टि.भी लगाई दिनु भनी पठाइन् पछि निजको छोरी खाना खान गई मेरो डेराकोठामा आई हामीहरू सुतेकोमा मिति २०७४।७।६ गते अ.०२.०० बजे बाहिर गुहार गुहार भनी घरबेटीले भनेको सुनी बाहिर आउँदा विदुर नेपालको कोठामा आगो बलिरहेको देखेको हुँ । आगोले जली घाइते भएका विदुर नेपाललाई स्थानीय तथा प्रहरीसमेत भई अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने थाहा पाएको हुँ भन्नेसमेत बेहोराको रेखा सुनुवारले गरेको कागज ।
मिति २०७४।७।६ गते अ.०२.०० बजे जिल्ला भक्तपुर, मध्यपुर ठिमी न.पा.६ स्थित प्रतिवादी गीता नेपालले आगो लगाई निजको पति विदुर नेपाललाई कर्तव्य गरी मारेको घरधनी मैया बुढाथोकीको घरको क्षति अनुमान रू.१,५७,०४७।६४ भएको भन्ने मध्यपुर ठिमी नगरपालिका कार्यपालिकाको कार्यालयले खुलाई पठाएको पत्र ।
मलाई मेरी श्रीमती गीता नेपालले पेट्रोल छर्किई आगो लगाई दिई घाइते बनाई भागेको भनी मृतक विदुर नेपालले मृत्यु हुनुपूर्व कीर्तिपुर मोडेल अस्पताल काठमाडौंमा खुलाइदिएको अडियो भिडियोको सि.डि. ।
प्रतिवादी गीता नेपालले आफ्नै श्रीमान् विदुर नेपालसँग घरायसी वादविवादको निहुँमा मध्यराति पति सुतिरहेको अवस्थामा पेट्रोल छर्की आगो लगाई कर्तव्य गरी मारेको तथा मानिसहरू बसोबास गरी सुतिरहेको घरमा धनजनको क्षति हुने गरी आगो लगाएको हुदाँ निज प्रतिवादी गीता नेपालको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३(३)नं. बमोजिमको कसुर अपराध भएकोले निज प्रतिवादी गीता नेपाललाई ऐ.ऐ. को १३(३) नं. बमोजिम सजाय हुन तथा मानिसहरू बसोबास गरी सुतिरहेको घरमा धनजनको क्षति हुने गरी आगो लगाएको हुँदा निज प्रतिवादी गीता नेपालको उक्त कार्य मुलुकी ऐन, आगो लगाउनेको महलको १ नं.र २ नं.बमोजिमको कसुर अपराध गरेकोले निज प्रतिवादी गीता नेपाललाई ऐ.ऐ. को ५ र १० नं.बमोजिम थप सजाय गरी जाहेरवालाको क्षति भएको घरको क्षतिपूर्ति रू.१,५७,०४७।६४ यिनै प्रतिवादीबाटै जाहेरवालालाई दिलाई भराई पाउन समतेको मागदाबी लिई पेस भएको अभियोग पत्र ।
मृतक पतिलाई कोठामा सुतिरहेको अवस्थामा पेट्रोल छर्किएर आगो लगाई दिई बाहिर निस्केको हुँ । निजलाई नसालु पदार्थ खुवाएको र ढोका बन्द गरेको भन्ने झुठा हो । आगो लगाई दिएको कारण मेरो पतिको मृत्यु भएको हुँदा कानूनबमोजिम होस भन्नेसमेत बेहोरा उल्लेख गरी प्रतिवादीले अदालतसमक्ष गरेको बयान कागज ।
तत्काल प्राप्त प्रमाणको आधारमा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी मुलुकी ऐन, अ.ब. ११८ को देहाय २ नं.बमोजिम प्रतिवादी गीता नेपाललाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी अ.ब. १२४ग नं.बमोजिम आदेश गरिदिएको छ । कानूनबमोजिमको सिधा खान पाउने गरी रीतपूर्वकको थुनुवा पुर्जी दिई प्रतिवादीहरूलाई सम्बन्धित कारागार कार्यालयमा पठाई दिनु भनी सुरू भक्तपुर जिल्ला अदालतबाट मिति २०७४।०८।०१ मा भएको थुनछेक आदेश ।
प्रतिवादीले वारदातमा संलग्नता रहेको तथ्यमा मुखसाबितीपूर्वक नै बयान बेहोरा लेखाइदिएको र बुझिएका मानिसको अदालतसमक्षको बकपत्र बेहोराले समेत सम्बद्ध प्रमाण खुलाई दिएकोबाट यी प्रतिवादीले योजना बनाई, दूषित मनोभाव राखी पीडित मृतकलाई आगो लगाई सोही बारदातकै कारण निज पीडितको मृत्यु भएको वारदात यकिन हुन आयो । तसर्थ यी प्रतिवादी गीता नेपाललाई अभियोग दाबीबमोजिम तथा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम जन्मकैद हुने ठहर्छ । अभियोग दाबिमा मुलुकी ऐन, आगो लगाउनेको महलको ५/१० नं.को थप सजाय को मागदाबी लिइएकोमा यी प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३(३) नं को सजाय भइसकेको, यी प्रतिवादी वारदातको अनुसन्धान र अदालतसमक्षसमेत मुख साबित रहेको स्थिति हुँदा आफैँ डेरा गरी बसेको कोठामा मात्र आगो लगाई वारदात भएको देखिँदा मुलुकी ऐन आगो लगाउनेको महलअन्तर्गतको अभियोग पत्रबमोजिमको थप सजाय तोकिएको छैन भन्ने सुरू भक्तपुर जिल्ला अदालतको मिति २०७४/१०/२४ को फैसला ।
मैले सुरू अनुसन्धान अधिकारी र अदालतसमक्ष बयान गर्दा आफ्नो सम्पूर्ण बेहोरा खुलाई मृतक पतिले सधैँ घरमा रक्सी खाई आउने, म र मेरो छोरीलाई कुटपिट गर्ने, हेलाँ हेलत्व गरी घरमा समेत नआउने गरेको र निजले हामीलाई छाडी गए तापनि २०७४/७/४ गते भाइटिकाको दिन पछि पतिलाई फोन गरेमा निजको साथै भएकी छोरीसँग कुरा गरी निजको डेरामा गएकोमा सो दिन झगडा भएको, अर्को दिन पनि विवाद भएको हो, घटनाको दिनसमेत खाना खाई सँगै सुतेकोमा पतिले झै झगडा गरी कुटपिट गरी घरबाट निकाल्न लागेको कुराले रिस उठी निजलाई कुटपिट गर्न लठ्ठी ढुङ्गा खोज्दा फेला नपरेकोले पतिले चढ्ने मोटरसाइकल नजिकै पेट्रोलको बोतल र कुचो भेटी कुचो पेट्रोलमा चोपी कुचोको राको बाली पतिलाई हिर्काई भागेको हो, झगडाको बखत रिस आवेशमा आई निजलाई जाई लाग्छु भन्दा ढुङ्गा लाठी नभेटेपछि तत्काल भेटेको पेट्रोल कुचोमा सल्काई पतिलाई प्रहार गरेकोमा निजको मृत्यु भएको हो, महिनौंपछि भेट भएको पतिको व्यवहार र कुटपिटबाट तत्कालै आवेशमा आई प्रतिकार गर्दा घटना घटेको अवस्थामा वारदात घटाउन मेरो हात नभई पतिकै हात भएको अवस्थामा सोतर्फ विचार नगरी भएको फैसला मिलेको छैन । सुरू फैसलाबमोजिमको सजाय चर्को पर्ने भएकोले अ.बं.१८८ को प्रयोग गरी थुनामुक्त गरिपाउँ भनी उच्च अदालत पाटनमा प्रतिवादी गीता नेपालले पेस गरेको पुनरावेदनपत्र ।
प्रतिवादीले मृतकलाई मारेको ठहरेको अवस्थामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सर्वस्वसहित जन्म कैद गर्नुपर्नेमा सो नगरी भएको फैसला मिलेको छैन, त्यस्तै प्रतिवादीले लगाइदिएको आगोबाट ज्यान गएको देखिएकोमा आगो लगाएतर्फ समेत सजाय गर्नुपर्नेमा सो नगरेको सुरू फैसला मिलेको छैन, प्रतिवादीले पेट्रोल लगाई पतिको मृत्यु गराउँदा घरधनी मैया बुढाथोकीको घर जलेकोले कारबाही गरिपाउँ भनी जाहेरी परेको अवस्था, नगरपालिकाले क्षतिको यकिन गरी सिफारिससमेत गरेकोमा सोतर्फ नबोली भएको फैसला नमिलेकोले सो हदसम्म सुरू फैसला बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको उच्च अदालत पाटनमा दायर गरेको पुनरावेदन ।
यसमा दुवै पक्षको पुनरावेदन परेको देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. प्रयोजनार्थ पुनरावेदक गीता नेपालको पुनरावेदनको प्रतिलिपिसहितको जानकारी वादी नेपाल सरकारलाई र वादी नेपाल सरकारको पुनरावेदनको जानकारी पुनरावेदक प्रतिवादी गीता नेपाललाई दिई एक अर्कालाई सुनाई नियमानुसार पेस गर्नु भन्ने उच्च अदालत पाटनको मिति २०७५/४/९ को आदेश ।
प्रतिवादी गीता नेपाललाई ज्यानसम्बन्धी महलको १३(३) नं को सजाय हुने र यी प्रतिवादीले वारदातको अनुसन्धान र अदालतसमक्ष समेत मुख साबित रहेको स्थिति हुँदा आफैँ डेरागरी बसेको कोठामा मात्र आगो लगाई वारदात भएको देखिँदा मुलुकी ऐन आगो लगाउनेको महलअन्तर्गतको अभियोग पत्रबमोजिमको थप सजाय तोकिएको छैन भन्ने सुरू भक्तपुर जिल्ला अदालतको मिति २०७४/१०/२४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकार र प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको उच्च अदालत पाटनबाट मिति २०७५।०५।०५ मा भएको फैसला ।
भक्तपुर जिल्ला अदालत र उच्च अदालत पाटनबाट भएको फैसलाले म पुनरावेदकलाई न्याय परेको छैन । मैले अधिकारप्राप्त अधिकारी र सम्मानित जिल्ला अदालतसमक्ष भएको बयानमा सत्य यथार्थ बेहोरा उल्लेख गरेको छु । मेरो मृतक पति विदुर नेपालसँग मिति २०५८ सालमा परम्परागत रूपमा मागी विवाह भएको थियो । एक छोरा र एक छोरीको जाय जन्म भई हामीबिच राम्रो सम्बन्ध भई आएकोमा पति विगत ४ वर्षदेखि भक्तपुरमा डेराकोठा लिई बस्दै आउनुभएको थियो भने म घरमै बसेको थिएँ । मिति २०७२ सालको महाभूकम्पमा परी छोराको मृत्यु भएपश्चात् म र छोरीसमेत भ.पु.जि.भ.पु.न.पा.वडा नं. १ सिर्जनानगर स्थित डेराकोठामा पति, म तथा छोरी बस्दै आएका थियौं । पतिले मादक पदार्थ सेवन गरी कुट्ने पिट्ने गर्न थाल्नुभयो र मेरो ४ महिनाको गर्भ पनि खेर गएको थियो । मिति २०७४ जेठदेखि पति घर नआएको र बाहिर अर्की श्रीमती राखेको सुनेँ । त्यसपछि पतिलाई सोध्दा तिमीहरूको पालनपोषनको जिम्मा मैले लिएको छैन भनी कुटपिट गर्ने र झगडा गर्ने गर्नुहुन्थ्यो । तैपनि सहेर बसेकी थिएँ । दशैंमा मसँग खानको लागि पैसा छैन कोठामा एकचोटि आउनुस् भन्दा पनि हुन्छ भनी आउनु भएन र हामी आमा छोरी भोकभोकै बस्यौं, कति फोन गर्दा पनि आउनु भएन । यसरी लालनपालन तथा छोरीको शिक्षामा समेत नहेर्ने र केही भनेमा तँलाई मार्छु काट्छु भनी धम्की दिने भएकोले विषादी पदार्थ सेवन गरी मर्छु भनी सोची विषादी किनी ल्याएकोमा छोरीको मुख हेरी मर्न सकिनँ । मिति २०७४।०७।०३ गते पतिलाई फेरि पनि आफ्नो कुरा राखे । भोलिपल्ट ४ गते भाइटिका गर्नको लागि म पेप्सीकोला र पति र छोरी पतिको बहिनीको घर गए । पछि कोठा फर्की पतिलाई फोन गर्दा फोन छोरीले उठाई र मलाई लिन आई । म छोरीसँग पतिको डेरा कोठामा गएँ । भोलिपल्ट पतिले तिमीहरू जहाँ जानुछ जाओ, मलाई मतलब छैन आउनु भनी डेराबाट हिँड्नुभयो । पति राति डेरा आउँदा मादक पदार्थ सेवन गरी आउनुभएको थियो । त्यसदिन पनि झगडा भयो । सौता ल्याई हेलाँ गरेको, खान लगाउन नदिएको, कुटपिट गरेको, मार्छु भनी धक्की दिने गरेको जस्ता कारणले वाक्क भएकी थिएँ । त्यस दिन पनि पतिले नराम्रोसँग गाली गलौज गर्नुभएको र बिहान उठ्दा यही कोठामा देखेमा तिमी आमा छोरीलाई नै सिध्याइ दिन्छु भनी धम्कीसमेत दिएको कारण गर्दा आवेगमा आई पति सुतेको ओछ्यानमा पेट्रोल छर्की आगो लगाइ आफैँ म प्रहरी चौकी गई आफैँले सबै कुरा बताएकी हुँ । सुरूदेखि नै अनुसन्धानलाई सहयोग पुर्याएको हुँ ।
आफ्नो कुनै आयस्रोत नभएका कारणले कयौं दिन भोक भोकै दिन रात विताउन बाध्य भयौं । कुनै योजना बनाई हत्या गरेको होइन आवेगमा आएको रिसले सहन नसकी गरेकी हुँ । महिनौंदेखि पतिलाई खोज्दै जाँदा पति भेटेको र भेट्दा खेरि पनि कुटपिट र नराम्रो व्यवहारले मानसिक र शारीरिक रूपमै विक्षिप्त भई आवेगमा आई यस्तो दुःखद घटना घट्न गयो । यसरी मैले आवेगमा आई पतिको हत्या गर्नु हुने थिएन भन्ने बोध भई म आफैँ प्रहरी कार्यालयमा गई आत्मसमर्पण गरेकी हुँ । पतिको हत्या गरेको सत्य साँचो कुरा मौकाको बयानमा नै ३.३ यसरी म पुनरावेदक आफूले नै पतिको हत्या गरेको सत्य साँचो उल्लेख गरेको छु । साथै अदालतमा समेत साबिती बयान गरेको छु । एक मात्र छोराको भूकम्पमा परी मृत्यु भएपछि विक्षिप्त रहेकी म एक अवला नारी माथी पतिले दोस्रो विवाह गरी मलाई हेला गर्ने कुटपिट गर्ने, आमा छोरीलाई नै मार्नेसम्मको धम्की दिने कारणले गर्दा आवेगमा आई पतिको हत्या गर्न पुगेको हुँ । मृतक पतिकै बेहोराले गर्दा यस्तो घटना हुन पुग्यो जसले गर्दा आज एक मात्र नाबालक छोरीसमेत हाल बेसहारा रहेकी छिन् । मुलुकी ऐन अ.बं. १८८ नं.बमोजिम रायसहित कम सजाय गर्न सक्ने व्यवस्थाबमोजिम कैद उपर पुनर्विचार गरी तोकिएको सजायमा घटी गरिपाउँ भनी गीता नेपालले यस अदालतमा पेस गरेको पुनरावेदन ।
यसमा ज्यानसम्बन्धी महलको १३(३) नं. ले एक जनाले मात्र ज्यान मारेमा र यसैले मारेको भन्ने प्रमाणबाट ठहर्न आएमा सोही मानिस ज्यानमारा ठहर्छ, सर्वस्वसहित जन्मकैद गर्नुपर्दछ भने कानूनी प्रावधान रहेको र जिल्ला अदालतको फैसलाले पनि प्रतिवादी एक्लैले कसुर गरेको भनी फैसलामा उल्लेख गरेको हुँदा प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद गर्नुपर्नेमा सो नगरी कानूनी प्रावधान एवं फैसलामा स्वीकार गरेको बुँदा प्रमाणको अपव्याख्या गरी जन्म कैद मात्र गर्ने गरी भएको फैसला त्रुटिपूर्ण छ । प्रतिवादीले दूषित मनसाय राखी मृतकलाई आगो लगाइदिएबाट पीडितको मृत्यु भएको भनी स्वयं फैसलाले बोलेबाट प्रतिवादीले मात्र आगो लागई कर्तव्य गरेको पुष्टि भइरहेकोमा सर्वस्वसहित जन्म कैद गरी आगो लगाएतर्फ समेत सजाय गर्नुपर्नेमा सोतर्फ केही नबोली भएको फैसला प्रमाण मूल्याङ्कनको दृष्टिकोणले त्रुटिपूर्ण छ । प्रतिवादीले अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष बयान गर्दा पेट्रोल छर्किएर आगो लगाएको कुरालाई स्वीकार गरेको, घरधनी मैया बुढाथोकीले आफ्नो घर जलेकोले कारबाही गरिपाउँ भनी जाहेरी दिएको, ठिमी नगरपालिकाले जाहेरवालाको घरमा आगो लागी रू.१,५७,०४७।६४ को क्षति भएको भनी क्षतिको मूल्याङ्कन गरिदिएको र अदालतमा जाहेरवाला लिलादेव नेपाल, बुझिएका व्यक्ति निर्मला भण्डारी नेपाल, भगवतीदेवी कार्कीसमेतले मौकाको कागज सनाखत गरिदिएबाट ती सबुत एवं कागजातलाई प्रमाण ऐन, २०३१ को दफा १८ ले ग्रहण गर्नुपर्ने कानूनी व्यवस्था गरेकोमा सोलाई उपेक्षा गरी उच्च अदालत, पाटनको फैसला त्रुटिपूर्ण देखिँदा सो हदसम्म बदर गरी निज प्रतिवादीलाई सुरू अभियोग दाबीबमोजिम सजाय गरी दाबीको बिगोसमेत निजबाटै भराइपाउने भन्नेसमेत बेहोराको लिलादेव नेपालको जाहेरीले वादी नेपाल सरकारले यस अदालतमा पेस गरेको पुनरावेदन ।
यसमा वादी प्रतिवादी दुवै पक्षका तर्फबाट दोहोरो पुनरावेदन परेको देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४को दफा १४० (३) नं.प्रयोजनको लागि एक अर्कालाई परस्पर सुनाई नियमानुसार गरी पेस गर्नु भन्ने मिति २०७७।१२।१ को यस अदालतबाट भएको आदेश ।
यस अदालतको ठहर
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितको मिसिल संलग्न प्रमाण कागजहरू अध्ययन गरियो ।
पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता अच्चुतमणि न्यौपानेले यी प्रतिवादीले मृतकलाई पेट्रोल छर्केर आगो लगाई कर्तव्य गरेकोतर्फ कुनै सजाय नगरी गरेको उच्च अदालत पाटनको फैसला सो हदसम्म मिलेको नदेखिँदा बदर गरी मुलुकी ऐन.आगो लगाउने महलको २ नं.बमोजिम सजाय गरिपाऊँ । प्रतिवादीले अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष बयान गर्दा पेट्रोल छर्किएर आगो लगाएको कुरालाई स्वीकार गरेको अवस्था छ । घरधनी मैया बुढाथोकीले आफ्नो घर जलेकोले कारबाही गरिपाउँ भनी जाहेरी दिएको छ । ठिमी नगरपालिकाले जाहेरवालाको घरमा आगो लागी रू.१,५७,०४७।६४ को क्षति भएको भनी क्षतिको मूल्याङ्कन गरेको छ । उच्च अदालतबाट सो क्षतिपूर्ति नभराई फैसला गरेको हुँदा सो फैसला बदर गरी क्षतिपूर्ति दिलाई भराई पाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रतिवादी गीता नेपालको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरू श्री मोहनबहादुर बन्जारा क्षेत्री र श्री पूजा बन्जाराले प्रतिवादीले कसुर गरेकोमा अधिकारप्राप्त अधिकारी र अदालतमा समेत स्वीकार गरेको र अनुसन्धानमा समेत सहयोग गरेको छ । हाम्रो पक्ष आफ्नै लोग्नेबाट अत्यन्त प्रताडित छन् । पतिको कुटपिटको कारणले निजको ४ महिनाको गर्भसमेत खेर गएको छ । अर्को श्रीमती ल्याई राखेको, यी प्रतिवादी र छोरीलाई बेवास्ता गरेको, खाना लाउन सहयोग नगरेको, मादक पदार्थ सेवन गर्ने गरेको, मार्छु काट्छु भनी धम्काउने गरेको कारणले यो घटना घट्न गएको हो । मृतकले धेरै दुःख पीडा दिएको कारण आवेगमा आई घटना घटेको हुँदा उच्च अदालत पाटनबाट भएको फैसलामा पुनः विचार गरी मुलुकी ऐन अदालती बन्दोबस्तको १८८ नं.बमोजिम सजाय घटाइपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
यसमा प्रतिवादी गीता नेपालले आफ्नै पति विदुर नेपालसँग घरायसी वादविवादको निहुँमा मध्यराति पति सुतिरहेको अवस्थामा पेट्रोल छर्की आगो लगाई कर्तव्य गरी मारेको तथा मानिसहरू बसोबास गरी सुतिरहेको घरमा धनजनको क्षति हुने गरी आगो लगाएको हुँदा निज प्रतिवादी गीता नेपालको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(३)नं. बमोजिमको कसुर अपराध भएकोले निज प्रतिवादी गीता नेपाललाई ऐ.ऐ. को १३(३) नं. बमोजिम सजाय हुन तथा मानिसहरू बसोबास गरी सुतिरहेको घरमा धनजनको क्षति हुने गरी आगो लगाएको हुँदा निज प्रतिवादी गीता नेपालको उक्त कार्य मुलुकी ऐन, आगो लगाउनेको महलको १ नं.र २ नं.बमोजिमको कसुर अपराध गरेकोले निज प्रतिवादी गीता नेपाललाई ऐ.ऐ. को ५ र १० नं.बमोजिम थप सजाय गरी जाहेरवालाको क्षति भएको घरको क्षतिपूर्ति रू.१,५७,०४७।६४ यिनै प्रतिवादीबाट जाहेरवालालाई दिलाई भराइपाउँ भन्नेसमतेको अभियोग मागदाबी रहेकोमा प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सजाय हुने भनी सुरू जिल्ला अदालतबाट भएको फैसलाउपर वादी तथा प्रतिवादीको उच्च अदालत पाटनमा पुनरावेदन परेकोमा सुरूको फैसला सदर हुने भनी उच्च अदालत पाटनले गरेको फैसलाउपर मुलुकी ऐन, अदालती बन्दोबस्ती महलको १८८ नं.बमोजिम कैद सजाय घटी गराई पाउँ भनी प्रतिवादी गीता नेपालको र प्रतिवादीलाई आंशिक सजाय गरेकोमा चित्त नबुझी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको यस अदालतमा छुट्टाछुट्टै पुनरावेदन परेको देखियो ।
उपर्युक्त तथ्य, पुनरावेदन जिकिर तथा वादी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता तथा विद्वान् अधिवक्ताहरूको वहस जिकिर रहेको प्रस्तुत मुद्दामा उच्च अदालत पाटनबाट मिति २०७५/५/५ मा भएको फैसला मिलेको छ वा छैन ? वादी तथा प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा हैन ? भन्ने विषयमा नै निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, छोरा विदुर नेपाल विगत ४ वर्षदेखि भक्तपुर, मध्यपुर ठिमी न.पा.६ राईटोल स्थित मैया बुढाथोकीको घरमा डेरा गरी बस्दै आएकोमा मिति २०७४।७।५ गते अ.११.३० बजे विदुर नेपालको जेठी श्रीमती गीता नेपालले डेरा कोठामा विदुर नेपाल मात्र भएको अवस्थामा आई विदुर नेपाललाई नशालु पदार्थ सेवन गराई नशा लागेपश्चात् पेट्रोल खन्याई आगो लगाई ढोका बाहिरबाट बन्द गरी भागेको र तत्काल छिमेकीलगायतका मानिसहरूले उद्धार गरी उपचारको क्रममा कीर्तिपुर अस्पताल काठमाडौंमा मृत्यु भएको हुँदा निज गीता नेपाललाई पक्राउ गरी आवश्यक कारबाही गरिपाउँ भनी लिलादेब नेपालको किटानी जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको प्रारम्भ भई अनुसन्धानको कार्य अगाडि बढेको देखिन्छ ।
३. विदुर नेपालसँग २०५८ सालमा मेरो विवाह भएको थियो । हामीहरूसँग एक छोरा र एक छोरी थिए । २०७२ सालको भूकम्पमा छोराको मृत्यु भएपछि म र छोरी पति विदुर नेपालसँगै बसिरहेका थियौं । विदुर नेपाल मादक पदार्थ सेवन गर्ने, घरमा नआउने, कुटपिट गर्ने गर्नुहुन्थ्यो । कुटपिटका कारण मेरो ४ महिनाको गर्भसमेत खेर गएको थियो । मिति २०७४ सालको दशैँमा मैले पतिलाई डेराकोठामा आउनुहोस्, कोठामा खानेकुरा पनि केहि छैन, भन्दा निजले हुन्छ आउँछु भनेकोले दशैँमा म पनि पति आउनुहुन्छ भनेर र छोरी पनि बुबा आउनुहुन्छ भनी खुसी भएका थियौ । तर दशैँमा घरमा नआएकोले पुनः फोन गर्दा फोनै नउठाएपछि खाने कुरा केही नभएकोले हामीहरू दशैँमा समेत भोकै बस्नुपर्यो । खान लाउन, लालन पालन तथा छोरीको शिक्षामा समेत नहेर्ने र तँलाई मार्छु काट्छु भनी धाक धम्की दिने भएकोले मैले विषादी पदार्थ सेवन गरी मर्छु भनी विषादी पदार्थ किनेर कोठामा ल्याएकोमा छोरीको अनुहार देख्दा माया लागी मैले किन आत्महत्या गर्ने बरू पति विदुर नेपाललाई नै मार्छु भनी मनमनै योजना बनाइ मिति २०७४।७।४ गते भाइटिकाको दिन प्लाष्टिकको डिब्बा लिई नजिकैको पेट्रोल पम्पबाट एक लिटर पेट्रोल किनी सिधै पतिको कोठामा जाँदा पति कोठामा थिएनन् । मैले मासु ल्याई खानासमेत बनाइसकेको थिएँ । अ.२०.०० बजे पति विदुर नेपाल मादक पदार्थ सेवन गरी आउनुभयो र हामी दुवै जनाले सँगै खाना खाई सुतेका हौं । सो रात छोरी टि.भि.हेर्न भनी भुइँतलामा रहेको छिमेकीको कोठामा गई त्यही सुतेकी थिइन् । हामीहरूबिच विवाद भएकोले पतिलाई मार्छु भनी बनाएको योजनाबमोजिम मिति २०७४।७।६ गते अ.दुई बजे मैले पलङको घर्रामा लुकाइ राखेको पेट्रोल राखेको डिब्बा झिकी कुचो चोपी श्रीमान् सुतेको ओछ्यानमा तथा भुईंमा छर्किई आगो लगाई म कोठाको ढोका लगाई भागेको हुँ । आगो लगाएपश्चात् एकछिन म त्यहीँ नजिकै बसी हेरेँ, कोठाभित्र आगो दनदनी बलिरहेको थियो । प्रहरी, दमकल तथा स्थानीय मानिसहरूको जमघट भएपछि म त्यहाँबाट भागेर निलबाराहीतर्फ भागी एकान्त स्थानमा बसेको भनी कसुर गरेकोमा साबित भई अनुसन्धानको क्रममा र सुरू अदालतमा समेत बयान गरेको देखिन्छ ।
४. मृतकले सधैँ रक्सी खाई बारम्बार कुटपिट गाली गलौज गर्ने, खान लाउन, लालन पालन तथा छोरीको शिक्षामा समेत नहेर्ने र तँलाई मार्छु काट्छु भनी धम्की दिने गर्ने गरेको र वारदातका दिन पनि सोही प्रकृतिका कार्यहरू दोहोर्याएकोले सधैँ दुःख पाउनुभन्दा आज यसलाई ठिक पार्छु भन्ने सोच आई रिसको झोँकमा निज सुतिरहेको विस्तारामा पेट्रोल खन्याई आगो लगाई म कोठाबाट बाहिर गएको हुँ भनी एउटा प्रताडित महिला (Battered Woman) को रूपमा घटनाको बारेमा प्रतिवादीले आफ्नो बयानमा उल्लेख गरेको देखिन्छ । प्रतिवादी गीता नेपालले अदालतमा तथा अधिकारप्राप्त अधिकारीसमक्ष कसुरमा साबित भई बयान गरेको र प्रतिवादीको बयानलाई मौकामा कागज गर्ने निर्मला नेपाल भण्डारी, उषा नेपाल, पद्मबहादुर के.सी., धनबहादुर श्रेष्ठ, अमृता गुरूङ, रेखा सुनुवारले मृतकलाई यिनै प्रतिवादी गीता नेपालले लगाएको र सोही कारणबाट मृतकको मृत्यु भएको हो भनी गरिदिएको बकपत्रसमेतबाट प्रतिवादी गीता नेपालकै कर्तव्यबाट मृतकको मृत्यु भएकोमा कुनै विवाद देखिन आएन ।
५. आगो लगाएतर्फ प्रतिवादी गीता नेपाललाई सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, उच्च अदालत पाटनबाट फैसला हुँदा आगो लगाएतर्फ समेत सजाय गर्नुपर्नेमा सोतर्फ केही नबोली भएको फैसला प्रमाण मल्याङ्कनको दृष्टिकोणले त्रुटिपूर्ण छ । प्रतिवादीले अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष बयान गर्दा पेट्रोल छर्किएर आगो लगाएको कुरालाई स्वीकार गरेको, घरधनी मैया बुढाथोकीले आफ्नो घर जलेकोले कारबाही गरिपाउँ भनी जाहेरी दिएको, ठिमी नगरपालिकाले जाहेरवालाको घरमा आगो लागी रू.१,५७,०४७।६४ को क्षति भएको भनी क्षतिको मूल्याङ्कन गरिदिएको हुँदा सो क्षतिपूर्ति दिलाई भराइपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परेको देखिन्छ । प्रस्तुत मुद्दाको वारदात डेरामा रहे बसेको अवस्थामा भएको छ । प्रतिवादीको घरमा आगो लगाउने मनसाय नभई आफ्नो लोग्नेसम्म मार्ने मनसाय रहेको देखिन्छ । प्रतिवादीले आगोलाई पतिलाई मार्ने माध्यमको रूपमा प्रयोग गरेको, कुचोमा पेट्रोल चोपी मृतकलाई नै हिर्काई भागेको र उक्त आगो अन्य कारणको लागि नभई ज्यान मार्नकै लागि लगाएको देखिएको देखिन्छ । आगो लागेको घर धनीले क्षतिको किटान गरी बकपत्रसमेत गरेको देखिँदैन । प्रतिवादीले आफ्नो लोग्नेलाई मार्ने योजना बनाइ सुतेको अवस्थामा पेट्रोल छर्की आगो लगाएको र घरमा आगो लगाउने योजना तथा प्रतिवादीको मनसायसमेत रहेको देखिँदैन । आफ्नो लोग्नेलाई मार्नसम्म आगो लगाएकोमा घरमा समेत आगो लाग्न गएको अवस्था देखिन्छ । यसरी प्रतिवादी गीता नेपालले आफ्नो लोग्नेको व्यवहारबाट प्रताडित भई आफ्नै पतिलाई सुतेको अवस्थामा मार्नको लागि आगो लगाई त्यहाँबाट भागेको र लोग्नेलाई मार्नका लागि लगाएको आगो सल्केर घरमा समेत लागेको अवस्था भएको घर धनीले यो यति क्षति भएको भनी आफ्नो बकपत्रमा समेत प्रस्ट उल्लेख नगरेको अवस्थासमेतलाई मध्यनजर गर्दा आगो लगाउनेको महलअन्तर्गतको अभियोग दाबीबमोजिमको थप सजाय नगरी गरेको सुरूको फैसलालाई सदर गर्ने गरेको उच्च अदालत पाटनको फैसला न्यायको दृष्टिबाट मिलेकै देखिन आयो । अतः आगो लगाउनेको महलअन्तर्गतसमेत सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
६. अब, पुनरावेदक प्रतिवादी गीता नेपालको अ.बं. १८८ नं. को सुविधा पाउँ भन्ने पुनरावेदन जिकिरतर्फ विचार गर्दा, मुलुकी ऐन, अ.बं.१८८ नं. मा “सर्वस्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा साबित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो कि भन्न हुनेसम्मको शङ्काले वा अपराध गरेको अवस्था विचार गर्दा कसुरदारलाई ऐनबमोजिमको सजाय गर्दा चर्को हुने भई घटी सजाय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने ठहर्याई आफ्ना चित्तले देखेको कारणसहितको खुलासा राय पनि साधक तोकेमा लेखी जाहेर गर्नुपर्छ । अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटाई तोक्न हुन्छ” तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को १७क.मा “प्रचलित कानूनबमोजिम जन्मकैद गर्नुपर्ने मुद्दाको अभियुक्तले कसुर गरेको कुरामा अदालतमा साबित भएको र मिसिल संलग्न प्रमाणबाट त्यस्तो साबिती साँचो देखिएमा निजलाई जन्मकैदको सजाय दिँदा त्यस्तो कसुर गर्दाको परिस्थितिलाई बिचार गर्दा न्यायको रोहमा बढी पर्ने भई न्यायाधीशले घटी सजाय गर्न उपयुक्त देखेमा सोको कारण खुलाई रायसहितको फैसला गर्न सक्ने छ” भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । अ.बं. १८८ को प्रयोग गर्दा न्यायकर्ताले घटना कसरी घट्यो सो घटना घटदाको अवस्थाको विश्लेषण गर्ने र सजाय घटाउन मनासिब देखेमा राय व्यक्त गर्ने गरिन्छ । यो व्यवस्था कसुरको अवस्था तथा परिस्थितिसमेतको व्याख्या र विश्लेषण गरी कसुरलाई सजाय होस भन्ने उद्देश्यले विधायिकाले न्यायपालिकालाई दिएको स्वविवेकीय अधिकार हो । अ.बं. १८८नं.को प्रयोग गर्दा कसुरदारको तत्कालको अवस्था, वारदात हुँदाको मनोदशा, उमेर, हुर्केको परिवेश, उसको पारिवारिक जीवन, सामाजिक वातावरण, आर्थिक अवस्था, उसमाथि आश्रित हुने बालबालिका, उसले भोगेको जीवन, अपराध गर्नुपर्ने बाध्यता र कारण,उसले अपराध गरेकोमा अदालत, अनुसन्धान अधिकृतलाई तथा अनुसन्धानमा पुर्याएको सहयोग आदिसमेतलाई हेर्नुपर्ने हुन्छ ।
७. प्रताडित मनोदशा भएको महिला (Battered Women Syndrome) द्वारा भएको हिंसा र आवेशप्रेरित हत्याबिच केही अन्तर रहेको पाइन्छ । आवेशप्रेरित हत्यामा तत्काल उठेको रिसको कारण मौकामा प्रहार गरी हत्या गरेको हुँदा त्यसमा मनसाय तत्त्वको अभाव रहन्छ । प्रताडित मनोदशा भएको महिला (Battered Women Syndrome) को दाबी लिइएको वारदात हत्या नै हो तर वारदातको कारक तत्त्व भने मर्ने व्यक्ति स्वयम् हुन्छ । मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको दफा १४ मा आवेशप्रेरित हत्यामा भएजस्तो तत्काल उठेको रिसबाट लात्ती, मुड्की, लाठा, ढुङ्गाले प्रहार गरी मरेको अवस्था BWS मा पनि हुनसक्छ तर सबै प्रताडित मनोदशा भएको महिला (Battered Women Syndrome) भएको विवादमा हत्याको प्रमुख कारक तत्त्व मर्ने व्यक्तिको दुर्व्यवहार नै हुने गर्दछ । मृतकले महिलालाई आवेशमा नल्याएको भए गालीगलौज नगरेको भए निजको हत्या हुने थिएन । यो सबै पीडित महिलाको मनोवैज्ञानिक र मानसिक दशा हो जुन निरन्तर पीडाबाट उत्पन्न हुन्छ । यस्तो किसिमको वारदातमा हिंसक हत्या भए तापनि उक्त हत्याको वारदात घटाउन मृतकले नै प्रेरकको भूमिका निर्वाह गरेको हुन्छ ।
८. अ.बं.१८८ नं. को प्रयोगका सम्बन्धमा यस अदालतबाट प्रतिपादित सिद्धान्तहरू हेर्दा, लक्षिमा वादी वि. लालबहादुर वादीको जाहेरीले नेपाल सरकार भएको (ने.का.प. २०६०, अङ्क ७, निर्णय नं.७२४६) कर्तव्य ज्यान मुद्दामा प्रतिवादीहरू मागी खाने आर्थिक दुरावस्थाका भएका र ८, ८ जना छोराछोरी हुँदा पनि त्यस्तो मगन्ते परिवारको जीविकाको कुनै फिक्री नगरी विवाह भएको समय २३ वर्षदेखि नै सधैँ रक्सी खाई झै-झगडा, कुटपिट गरिरहने, कुनै कमाई धमाई नगरी आफ्नो परिवारप्रतिको कुनै जिम्मेवारी वोध नगर्ने, छोराछोरीलाई समेत विना कारण कुटपिट गरी घरबाट लखेटिदिने एक प्रकारले मानिसको अनुहारमा दानव र पशुतुल्य व्यवहार रहेको लोग्ने सुकुवादीको सधैँको उपर्युक्तबमोजिमको व्यवहारबाट ८, ८ वटा छोराछोरीकी आमा एक अवला महिला प्रतिवादी लक्षीमा वादीमा मृतक लोग्नेप्रति असाध्यै घृणा उत्पन्न हुनु स्वाभाविक देखिन आएको र त्यस्तो दुःखदायी जीवनवाट विरक्तिई असन्तुलित मनस्थिति रहेको अवस्थामा प्रस्तुत अपराध हुन गएको देखिन आएको हुँदा आफ्नो र आफ्नो छोराछोरीलाई जीवनपर्यन्त दुःख दिने गरेबाट त्यस किसिमको मनस्थिति उत्पन्न भई सो अपराध गरेको र निजका ससाना छोराछोरीसमेत भएको स्थितिमा निजलाई ऐनले तोकेबमोजिम सजाय गर्दा चर्को पर्ने भई अपराध गर्दाको पारिवारिक अवस्था, प्रतिवादीको विरक्तिपूर्ण जीवन, नाबालक छोराछोरीसमेत भएको र मागी खाने निम्नस्तरको महिलाको मनस्थितिलाई समेत विचार गर्दा निज प्रतिवादीलाई ७ वर्षसम्म कैदको सजाय गर्दा न्यायोचित देखिन आउने भनी यस अदालतबाट प्रताडित मनोदशा भएको महिला (Battered Women Syndrome) को अवस्था र परिवेशको वर्णन गरेको पाइन्छ ।
९. त्यसैगरी जोककुमारी कार्की वि. नेपाल सरकार (ने.का.प.२०६६, अङ्क९, निर्णय नं.८२२३) भएको कर्तव्य ज्यान मुद्दामा यस अदालतबाट प्रतिवादी जोककुमारीले मृतक पतिबाट पाएको शारीरिक एवम् मानसिक प्रताडना सहँदै दुईवटा छोरालाई जन्म दिएको र मृतकले प्रतिवादीलाई मात्र नभई नाबालक छोराहरूलाई समेत गालीगलौज गर्ने कुटपिट गरी नाबालकमाथि समेत हिंसा गर्ने गरेको पाइएकाले यी प्रतिवादी जोककुमारी कार्की लामो समयदेखि आफ्नै लोग्ने मृतक अम्बरबहादुरको घरेलु हिंसाबाट प्रताडित महिलाको मनोदशाको स्थितिबाट गुज्रँदै आएको भनी अ.ब. १८८ नं.बमोजिम सजायमा कमी गरेको देखिन्छ ।
१०. गुराँसदेवी लामाको जाहेरीले वादी नेपाल सरकार वि. राधिका श्रेष्ठ भएको (ने.का.प. २०७१, अङ्क ९, निर्णय नं.९२४२) कर्तव्य ज्यान मुद्दामा प्रतिवादीले मृतकको हत्या जघन्य अपराध गरी आगो लगाई मारेको भए तापनि निजको उमेर अपराध हुँदा २९ वर्षको मात्र रहेको, निजको जिम्मामा २ सन्तान छोरीको दायित्व रहेको, मृतकबाट दिनरात कुटपिट, गालीगलौज, दैनिक रक्सी खाई घर व्यवहार नहेर्ने र परिवारको भार आफूले मात्र बोक्नुपर्ने भएकाले सम्पूर्ण पीडाबाट प्रताडित मनोदशाबाट एकाएक उत्पन्न भएको बदलाको भावनाबाट प्रेरित भई निजले मृतकको हत्या गरेको देखिए तापनि अनुसन्धानको क्रममा प्रहरी र अदालतमा बयान गर्दा साबित भई आफूले गरेको अपराध स्वीकार गरी अनुसन्धान अधिकारी र अदालतलाई सहयोग गरेको देखिँदा अ.बं.१८८ नं. बमोजिम सजायमा कमी हुने भनी व्याख्या गरेको पाइन्छ ।
११. प्रस्तुत मुद्दामा प्रतिवादी गीता नेपालले मृतकको हत्या जघन्य अपराध गरी आगो लगाई मारेको भए तापनि निजको एक छोरालाई भूकम्पमा परी गुमाउनु परेको, हाल जिम्मामा १ सन्तान छोरीको दायित्व रहेको, यसको अतिरिक्त निज मृतकसँग वैवाहिक सम्बन्ध स्थापना गरी आदर्श दाम्पत्य जीवन व्यतीत गर्ने सपना देखेकोमा मृतकबाट दिनरात कुटपिट, गालीगलौज, दैनिक रक्सी खाने, एक मात्र छोराको भूकम्पमा परी मृत्यु भएपछि विक्षिप्त रहेकी एक अवला नारी माथी पतिले दोस्रो विवाह गरी हेला गर्ने, कुटपिट गर्ने, आमा छोरीलाई नै मार्नेसम्मको धम्की दिने, मृतकको कुटपिटको कारण ४ महिनाको गर्भसमेत खेर गएको, आफ्नो कुनै आयस्रोत नभएका कारणले कयौं दिन भोक भोकै दिन रात बिताउन बाध्य भएको देखिन्छ । पतिको चरम हिंसाबाट पीडित भई त्यस्तो कार्यबाट मनोवैज्ञानिक प्रभाव, भावनात्मक दुर्व्यवहार र परित्यागको कारण मानसिक रूपमा गम्भीर आघात, निराशा र असहायताको अनुभूति र आफूले आत्महत्या गर्नुको सट्टा पतिलाई मार्ने निर्णय लिनुलाई उनको अस्तित्वको लागि खतराको प्रतिक्रियाको अवस्था हो । यी सम्पूर्ण प्रताडित मनोदशा (Battered Women Syndrome) बाट एकाएक उत्पन्न भएको बदलाको भावनाबाट प्रेरित भई निजले आफ्नै पतिको हत्या गरेको र निजले अनुसन्धानको क्रममा प्रहरी र अदालतमा बयान गर्दा साबित भई आफूले गरेको कसुर स्वीकार गरी अनुसन्धान अधिकारी र अदालतलाई सहयोग गरेको देखिन्छ । यसरी यस्तो हत्यालाई महिला विरूद्धको चरम हिंसाको कारणबाट भएको परिणामको रूपमा हेर्नुपर्दछ । सजाय निर्धारण गर्दा उक्त परिस्थितिलाई विचार गर्नुपर्दछ ।
१२. अतः उल्लिखित आधार, परिस्थिति, तथ्य प्रतिपादित सिद्धान्तसमेतका आधारमा आफ्नै लोग्नेबाट हुने गरेको घरेलु हिंसाबाट प्रताडित भई घरको पारिवारिक वातावरण नै कलहमय भएको र आफू मर्ने वा बच्ने भन्ने अवस्थासम्म पुगी आफ्नै लोग्नेलाई मार्नुपर्नेसम्मको अवस्थामा प्रतिवादी गीता नेपाल पुग्न गएको साथै निजले नाबालिग छोरीको पालनपोषण, रेखदेख संरक्षण गर्नुपर्ने तथा उनको परिस्थिति र मानसिक अवस्थासमेतलाई विचार गर्दा निज प्रतिवादी गीता नेपाललाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम सजाय गर्दा चर्को पर्ने देखिँदा मुलुकी ऐन, अदालती बन्दोबस्ती महलको १८८ नं. तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को १७क. बमोजिम १० वर्ष कैद हुनु पर्याप्त देखिएकोले प्रतिवादी गीता नेपाललाई १० वर्ष कैद सजाय हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी गीता नेपाललाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम कसुर ठहरी जन्मकैदको सजाय गर्दा चर्को पर्ने हुँदा अ.बं. १८८ नं.तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को १७क.बमोजिम निज प्रतिवादीलाई १० (दश) वर्ष मात्र कैद सजाय हुने ठहरी फैसला भएको हुँदा जन्मकैदको लगत कट्टा गरी निज प्रतिवादी मिति २०७४।७।६ देखि हालसम्म कैदमा बसेको देखिँदा सोही मितिबाट लागु हुने गरी १० (दश) वर्ष कैदको संशोधित कैदीपुर्जी दिनु भनी सुरू काठमाडौं जिल्ला अदालतलाई लेखी पठाइदिनू -१
प्रस्तुत फैसलाको प्रतिलिपीसहित फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू -२
फैसलाको प्रतिलिपीसहित फैसलाको जानकारी कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा थुनामा रहेकी प्रतिवादीलाई दिनू -३
मुद्दाको दायरीको लगत कट्टा गरी प्रस्तुत फैसला विद्युतीय व्यवस्थापन प्रणालीमा अपलोड गरी झिकाइएका मिसिलहरू तत्तत् अदालतमा र रिकर्ड मिसिल नियमानुसार यस अदालतको अभिलेख शाखामा बुझाइदिनू -४
उक्त रायमा सहमत छु ।
न्या.डा.नहकुल सुवेदी
इजलास अधिकृतः- अमृताकुमारी शर्मा
इति संवत् २०८१ जेष्ठ १४ गते रोज २ शुभम् ।