निर्णय नं. १५६५ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

निर्णय नं. १५६५ ने.का.प. २०३९ अङ्क ६
फुलबेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०३८ सालको रि.फू.नं. ५४
आदेश भएको मिति : २०३९।६।८।६ मा
निवेदक : पर्सा वीरगञ्ज न.पं.वार्ड नं.८ बस्ने हरिप्रसाद मारवाडी
विरुद्ध
विपक्षी : वी.न.पं.वार्ड नं.११ बस्ने प्रमोदकुमार अग्रवालसमेत
विषय : उत्पेषणको आदेश जारी गरी पाउँ
(१) प्रतिवाद गर्ने अवसर प्राप्त भई विवाद उत्पन्न गरिनु भन्दा अगावै हक बेहकको प्रश्न उपस्थित भयो भन्न मिल्ने देखिँदैन । निवेदकलाई बुझ्दै नबुझी प्राकृतिक न्याय सिद्धान्तको विपरीत प्रत्यर्थी मालपोत कार्यालय पर्साबाट ०३८।३।४ मा गरेको निर्णय कानूनको दृष्टिमा त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. १२)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंह
विपक्षी तर्फबाट : विद्वान व.अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया र विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे
फैसला
न्या.धनेन्द्रबहादुर सिंह
१. प्रस्तुत मुद्दा ०३८।११।४।२ को डिभिजनबेञ्चका माननीय न्यायाधीशहरुको मतैक्य हुन नसकी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ : हरीप्रसादले प्रमोदकुमारलाई ०३४।१।३१ मा गरी दिनु भएको बकसपत्र कि.नं.१८९ को ज.वि.२–१३–० मध्ये उत्तर तर्फबाट ज.वि.१–५–० को बकसपत्रको लिखत पारित भएको देखिनाले पारित लिखत अनुसार नपुग हुन आएको ज.वि.०–५–११ कि.नं.४७२ बाट कि.का.भै आए अनुसार प्रमोदकुमारका नाउँमा दा.खा.गरी कि.नं.४१९ मा ज.वि.०–१९–९ कायम गरी सो को जानकारी समेत निवेदकलाई दिनुपर्ने देखिएको भनी प्रत्यर्थी मालपोत का.पर्साबाट ०३८।३।४ को निर्णय रहेछ ।
३. उक्त निर्णय बदर गराइपाउँ भनी यस रिटनिवेदनमा लिएका जिकिरहरु यसप्रकार रहेछन्ः०३४।३।२१ गते बकसपत्र पाई सो जग्गा ०३५।८।२० गते आफू समेत सम्मिलित भई नापी कित्ताकाट भई नयाँ कायम भएको कि.नं.४१९ लाई स्वीकार गरी भोग चलन गरी आएकोमा अहिले ३ बर्षपछि आएर जग्गा पुगेन भनी भन्न आउँदैमा प्रत्यर्थी मालपोत कार्यालयले यस्तो चोरी कारवाही कित्ताकाट गरी दा.खा.गर्ने गरी निर्णय पर्चा गर्न पाउने मालपोत कार्यालय पर्सालाई कुनै कानूनले पनि अधिकार छैन । सो अनधिकृत काम हो । ०३५।८।२७ मा नापी भई भोगी रहेको जग्गामा ३ बर्षपछि जग्गा नपुग भयो भनी हाल उजूर गर्न प्रमाण ऐनको दफा ३४ ले मिल्ने कुरा होइन । ३ बर्ष पछि आएर जग्गा पुगेन भन्नु लेनदेन व्यवहारको २३ नं., दान बकसको ५, जग्गा मिच्नेको १८ नं.ले समेत नमिल्ने कुरामा मलाई सुनुवाईको मौका सम्म पनि नदिई मेरो सम्पत्तिमा प्रत्यक्ष रुपमा आघात पुग्ने गरी गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने जिकिर लिएको रहेछ ।
४. प्रत्यर्थीहरुबाट लिखितजवाफ झिकाउने ०३८।४।२०।३ को सिंगलबेञ्चको आदेश ।
५. प्रत्यर्थी मा.पो.का.पर्साको लिखितजवाफमा जुन जग्गा मध्येबाट केही जग्गा हक हस्तान्तरण भई नक्सामा रेखाङ्कन गराउँदा भूलबाट रेखाङ्कन टुटेमा वा रेखाङ्कनबाट क्षेत्रफल घटबढ हुन गएमा श्रेस्ता र लिखत कायम नहुने रेखाङ्कन कायम हुने कानूनी व्यवस्था भएकोमा मात्र त्यस्तो रिट उजुरीबाट कारवाही गर्न मिल्ने हुँदा त्यस्तो उजुरीको छानबिन गरी मात्र उत्प्रेषणको आदेश जारी हुने व्यवस्था भएमा निर्धारित अन्य समयभित्र कानूनी रीत पुर्याई लिखितजवाफ दिने अनावश्यक कार्यमा कार्यालयले श्रमशक्ति लगाउने बाध्यताबाट सुरक्षित हुन जाने हुँदा र निवेदकको सम्पत्तिमा आघात नपुर्याएकोले रिट खारेज गरी पाउँ भन्ने समेत उल्लेख गरेको रहेछ ।
६. प्रत्यर्थी मेन्टिनेन्स नापी कार्यालयको लिखितजवाफमा हामीहरु मालपोत कार्यालयको आदेशनुसार काम गर्दछौं । निवेदकको नाउँमा रहेको कि.नं.४७२ ज.बि.१–११–० बाट नपुग भएको जग्गा प्रमोदकुमारका नाउँमा ०–६–१५ उक्त पारित लिखित बमोजिम कित्ताकाट गरी पेश गर्नु भन्ने आदेश भएकोमा प्रमोदकुमारले साविक कि.नं.१८९ को उत्तर तर्फबाट १–५–० जग्गा बकस पाएकोमा उक्त कित्ता बदर भई कायम भएको कि.नं.४१९ को नपुग जग्गा चेक गर्दा ०–१९–९ देखिएकोमा नपुग जग्गा ०–५–११ कि.नं.४७२ को उत्तर तर्फबाट कित्ताकाट गरी पठाएको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत उल्लेख गरेको रहेछ ।
७. प्रत्यर्थी प्रमोदकुमारको लिखितजवाफमा निवेदकको साविक कि.नं.१८९ ज.बि.२–१३–० मा मैले बकस पाएको ज.बि.१–५–० कटाउँदा १–८–० मात्र बाँकी भई त्यसबाट पद्मादेवीलाई ०–५–० बकसपत्र गरी दिएको कट्टा गर्दा निवेदकको जग्गा बिगाहा १–३–० मात्र कायम हुनेमा अहिले सम्म पनि निवेदकको नाममा कि.नं.५१९ ज.बि.१–५–९ कायम रहेको छ । निवेदकको जग्गा घटेको छैन भन्ने समेत उल्लेख गरेको रहेछ ।
८. कि.नं.४७२ हरिप्रसादको नाममा भएको जग्गाधनी प्रमाण पुर्जाबाट काटी कित्ताफोड गरी ५१८ र ५१९ बनाई ५१८ को ०–५–११ प्रमोदकुमारका नाउँमा र ५१९ को १–५–९ हरिप्रसादका नाउँमा जग्गाधनी पूर्जा बनाएको देखियो । नक्सामा मात्र साँध मिलाएको नभई प्राप्त जग्गाधनी प्रमाण पूर्जा बमोजिम हरिप्रसादको तिरो दर्ता रहेको कि.नं.४७२ जग्गाबाट प्रमोदकुमारलाई कित्ताकाट गरी जग्गा दिँदा हक बेहकको प्रश्न उपस्थित हुन जान्छ । यदि दर्ता तिरो साविक कायम राखेको भए मात्र श्रेस्ता मिलाउन अर्को विपक्षीको दरकार पर्दैन थियो । जब विपक्षीकै दर्ता तिरो घटाई आफुमा थप गरिन्छ भने त्यस तर्फ हुन्छ हुँदैन भन्ने कुरामा विपक्षीको जवाफ प्राप्त गर्न अनिवार्य थियो । तसर्थ उत्प्रेषणको आदेश जारी गरी ०३८।३।४ को निर्णय बदर हुने ठहर्छ । निवेदकले जग्गाको नक्सा सच्याई पाउँ भनी दिएको निवेदनको विषयमा कानून बमोजिम जो गर्नु पर्छ गर्नु भनी परमादेशको आदेश जारी हुने ठहर्छ भन्ने समेत मा.न्या.श्री हेरम्बराजको र ०३८।३।४ को मालपोत कार्यालय पर्साको निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेश जारी गरी ०३८।३।४ को निर्णय बदर हुने ठहर्छ । उक्त निर्णय बदर हुने ठहराएको सहयोगी मा.न्या.ज्यूसँग मेरो सहमती भएको र परमादेशको आदेश जारी गर्ने रायसँग असहमती भएकोले नियमानुसार फुलबेञ्चमा पेश गर्नु भन्ने समेत मा.न्या.श्री त्रिलोकप्रताप राणाको राय रहेछ ।
९. यसमा निवेदक हरिप्रसाद मारवाडीको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंहले प्रत्यर्थी प्रमोदकुमार अग्रवालले बकसपत्रबाट पाएको कि.नं.१८९ मध्येको जग्गाबाट कटाई कित्ताकाट गरी पाउँ भनी दर्खास्त दिई कारवाही चलाई ०३५।८।२७ गते प्रत्यर्थीका नाउँमा कि.नं.४१९ कायम भई सकेकोमा जग्गा नपुग भएको भनी निवेदकलाई बुझ्दै नबुझी निवेदकको कि.नं.४७२ को कित्ताबाट नयाँ कित्ताकाट भई गरेको निर्णय कानूनको दृष्टिमा त्रुटिपूर्ण हुँदा बदर गरिनु पर्छ भन्ने र प्रत्यर्थी प्रमोदकुमार अग्रवालको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली तथा विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया समेतले निवेदकसँग प्रत्यर्थी प्रमोदकुमारले बकसपत्र पाएको जग्गामा पहिले भएको कित्ताकाटमा रेखाङ्कन भूल भएकोले प्रमोदकुमारले प्राप्त गरेको बकसपत्र बमोजिमको जग्गा सम्म कायम गरी कित्ताकाट गरेको कानून अनुकूल छ भन्ने र प्रत्यर्थी मालपोत कार्यालय पर्साको तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले बकसपत्र बमोजिमको जग्गाको रेखाङ्कन सम्म नमिलेको, मिलाईएकोले रिट निवेदन खारेज गरिनु पर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
१०. यसमा दुवै पक्षका विद्वान वरिष्ठ अधिवक्ताहरुको बहस समेत सुनी निवेदकको वा.पुरुषोत्तम र विपक्षी प्रमोदकुमारको वा.तिर्थ डंगोललाई ०३९।५।२२ गते रोहवरमा राखी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा निर्णय तर्फ हेर्दा प्रत्यर्थी प्रमोदकुमारलाई वि.न.पं.वार्ड नं.२ सितलपुर छपकैया कि.नं.१८९ को २–१३–० जग्गा मध्ये उत्तर तर्फबाट उत्तर दक्षिण २२८ फीट पूर्व पश्चिम ३४३ ‘८’ को जग्गा र पूर्वतर्फ उत्तर दक्षिण २२८ फिट त्यसमा बनेको गोदाम समेत १–५–० जग्गा प्रत्यर्थीलाई ०३४।३।३१ गते बकसपत्र गरी दिएको जग्गा र पूर्व तर्फ उत्तर दक्षिण २२८ फीट र त्यसमा बनेको ०३५।८।२७ गते मेरो कि.नं.१८९ मध्येको जग्गाबाट कित्ताकाट भई प्रत्यर्थी प्रमोदकुमारका नाउँमा कि.नं.४१९ र कि.नं.४२० म निवेदकका नाउँमा कायम भई आफू आफूले भोग गरी आएको थियो । मेरो कि.नं.४२० को जग्गाबाट ५ कठ्ठा जग्गा पद्मादेवीलाई बकस दिए, ४२० बाट कित्ताकाट भई कि.नं.४७१।४७२ कित्ताकाट भई ४७१ पद्मादेवी र ४७२ म निवेदकको कायम भएको थियो । कि.नं.४१९ को जग्गा नपुग भएको भन्दै मेरो कि.नं.४७२ बाट कित्ताकाट गरी ०–५–११ जग्गा प्रमोदलाई नयाँ कि.नं.५१८ कायम गरी मेरो कि.नं.५१९ कायम गरी कित्ताकाट गरिएछ, ०३५।८।२७ गते आफू समेत सम्मिलित भई नाप कित्ताकाट भई नयाँ कायम भएको कि.नं.४१९ लाई स्वीकार गरी कित्ताकाट गरी भोग गरी आएकोमा ३ बर्ष पछि पुगेन भनी भन्न आउने र निर्णय गर्न प्रत्यर्थी मालपोत कार्यालयलाई अधिकार छैन । निवेदकलाई प्रतिवाद गर्ने मौका सम्म दिईएको छैन भन्ने समेत निवेदकको मुख्य निवेदन जिकिर देखियो ।
११. यसमा निवेदक हरिप्रसाद मारवाडीले प्रत्यर्थी प्रमोदकुमार अग्रवाललाई ०३४।३।२१ मा गरी दिएको बकसपत्रबाट जग्गा बिगाहा १–५–० बकस दिएकोमा प्रत्यर्थी प्रमोदकुमारका नाउँमा कि.नं.४१९ कायम भई कि.नं.४२० निवेदक हरिप्रसाद मारवाडीको नाम अंकित गरी सुरु १८९ नं.को कित्ताबाट कित्ताकाट गरेको देखियो । प्रमोदकुमारले बकस पाएको जग्गाको क्षेत्रफल नपुग भएकोले नक्सामा कायम गरी पाउँ भन्ने प्रमोदकुमारको प्रत्यर्थी मालपोत कार्यालयमा दर्खास्त परेकोमा जाँच गर्दा कि.नं.४१९ मा जग्गा नपुग देखिएबाट निवेदकको नाउँमा सुरु ४२० बाट कित्ताकाट हुँदै गएको कि.नं.४७२ को जग्गा १–११–० मध्येबाट कित्ताकाट गरी प्रत्यर्थी प्रमोदकुमारलाई ज.बि.०–५–११ पुर्याई दिने ठहर्याई प्रत्यर्थी मालपोत कार्यालयबाट निर्णय गरेको देखियो ।
१२. प्रत्यर्थी प्रमोदकुमारको दर्खास्त अनुसार आफ्नो कार्यालयमा रहेको नक्सा श्रेस्तासम्म मिलाएको नभई निवेदकका नाउँमा दर्ता श्रेस्ता कायम रहेको कि.नं.४७२ को जग्गाबाट प्रत्यर्थी प्रमोदकुमारका नाउँमा नपुग जग्गा बिगाहा ०–५–११ पुर्याई दिने गरी ठहर निर्णय गर्नु भन्दा पहिले जग्गा दर्तावाला निवेदकलाई आफ्नो कुरा भन्ने मौका दिनु पर्ने हुन्छ । यसरी प्रतिवाद गर्ने अवसर प्राप्त भई विवाद उत्पन्न गरिनु भन्दा अगावै हक बेहकको प्रश्न उपस्थित भयो भन्न मिल्ने देखिँदैन । निवेदकलाई बुझ्दै नबुझी प्राकृतिक न्याय सिद्धान्तको विपरीत प्रत्यर्थी मालपोत कार्यालय पर्साबाट ०३८।३।४ मा गरेको निर्णय कानूनको दृष्टिमा त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानून बमोजिम गर्नु भनी प्रत्यर्थी मालपोत कार्यालयमा यो आदेशको १ प्रति नक्कल पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई दिनु । उत्प्रेषणको आदेश जारी गर्ने र कानून बमोजिम गर्नु भन्नेसम्म डिभिजनबेञ्चका माननीय न्यायाधीश श्री हेरम्बराजको राय मनासिव ठहर्छ । मिसिल नियम बमोजिम बुझाई दिनु ।
हामीहरुको सहमती छ ।
प्र.न्या.नयनबहादुर खत्री
न्या.बब्बरप्रसाद सिंह
इतिसम्वत् २०३९ साल आश्विन ८ गते रोज ६ शुभम् ।