शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४३६३     ने.का.प. २०४८      अङ्क ९, १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

सम्वत् २०४७ सालको फौ.पु.नं. २८३

फैसला भएको मिति: २०४८।९।२९।२ मा

पुनरावेदक/वादी : श्री ५ को सरकार विशेष प्रहरी विभाग

विरुद्ध

विपक्षी/प्रतिवादी : रामेछाप जिल्ला ठाक्से गा.वि.स. वडा नं. ५ सिकेटार बस्ने हुकुमबहादुर          लामासमेत

मुद्दा : आफूलाई गैरकानुनी फाइदा र नेपाल खाद्य संस्थानलाई गैरकानुनी हानी पुर्‍याई भ्रष्टाचार गरे भन्ने

(१)    सहअभियुक्तले प्रहरीमा गरेको पोल र निजको साविती बयान अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हुन नआएको स्थितिमा कोर्ट फी त्यतिकै प्रमाणको भरमा आरोपित कसूर गरेको ठहराई निजलाई सजायँ गर्नु न्यायोचित नहुने र शंकाको सुविधा अभियुक्तले पाउने ।

(प्रकरण नं. १३)

पुनरावेदक, वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ (साविक पेज नं. ५१९)

आदेश

न्या.हरगोविन्द सिंह प्रधान

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।

२.    नेपाल खाद्य संस्थानका अस्थायी डिलर श्री मुनिल सिंहको प्रतिनिधि श्री हुकुमबहादुर लामाले ने.खा.सं. थापाथली गोदाम नं. ५ बाट बि.नं. १८३३ को बिल अनुसार १९२ जार भटमासको तेलको बिल काटी गोदामबाट लिएर जान लागेकोमा शंका लागी मिनीबस चेक गर्दा बिल बमोजिम भन्दा बढी ४८ जार तेल भेटिएको भन्ने समेत व्यहोराको बरामदी मुचुल्का ।

३.    म बानेश्वर बस्ने ने.खा.सं.का डिलर मुनिल सिंहको घरमा नोकरी गरी बसेको थिएँ । गेटपास कर्मचारी मनोहर राउतसंग भेट भई एकसय रुपैयाँ दिनु हवस् तेल लाने कुरा म मिलाउने छु । १९२ थान तेल राखेको बट्टामा १ जार बढी राखी मिलाई दिने छु भनी ४८ थान कागजको बट्टामा मिलाई मिनी बसमा राखी बाहिर लाने प्रयास गर्दा मलाई पक्राउ गरिएको हो भन्ने समेत व्यहोराको हुकुमबहादुर लामाले विशेष प्रहरी विभागमा गरेको बयान कागज ।

४.    म ने.खा.सं. अञ्चल कार्यालय सदर धान गोदाम थापाथलीमा गेटपास बनाउने दोश्रो तहको ज्वालादारी कर्मचारी हुँ । मैले गेट पास बनाई दिएँ । हुकुमबहादुरले मेरो बगलीमा रु. १००।हाली दिए म चुप लागें भन्ने समेत व्यहोराको मनोहर राउतले गरेको बयान कागज ।

५.    मनोहर राउतले हुकुमबहादुरसंग सांठगांठ गरी भ्रष्टाचार ऐन, ०१७ को परिच्छेद ३ अन्तर्गतको कसूर गरेकोले हुकुमबहादुर लामालाई ऐ.ऐनको दफा ५ र ८ अन्तर्गत, मनोहर राउतलाई ऐ.ऐनको दफा ७(२) बमोजिमको हदैसम्म सजायँ हुन र मिति २०४०।९।८ मा बढी लगेको तेल १ जारको बिगो रु. ५०।२५ हुकुमबहादुर लामाबाट असूल उपर गरी ने.खा.सं. के.का. काठमाडौंलाई भराई तेलको मूल्य रु. २४१२।जरिवाना गरी पाउन माग दावी लिएको विशेष प्रहरी विभागको आरोपपत्र ।

६.    ने.खा.सं. को गेटपास बनाउने काम म र हेम मिली गरी आएका छौं । बरामदी माथि भन्नु केही छैन भन्ने समेत व्यहोराको प्र.मनोहर राउतको अदालत समक्ष गरेको बयान ।

६.    मिनी बसमा गोदामका कर्मचारी र कुल्लीहरुले तेल राखेको बिल अनुसार नै राखेको होलान भनी मैले भनी ठानेको थिएँ । गोदाम भित्रै मनोहर राउतले तेल बढी राखेको छ । तिम्रो पसलमा म आई हिसाब मिलाउला भने, मैले लैजान्न भन्दा मनोहर राउतले बसमा तेल राखी सकियो । अब झिक्दा मेरो जागिर जान्छ म झिक्दिन लैजा भने त्यसपछि मैले हाकिम समक्ष गई भन्दा हाकिमले गाली गरी प्रहरी बोलाई पक्राउ गरेका हुन भन्ने समेत व्यहोराको हुकुमबहादुर लामाले अदालतमा गरेको बयान ।

७.    प्र.मनोहर राउतका साक्षी विष्णुबहादुर र नवराजले घटना सम्बन्धमा केही थाहा छैन भनी अदालत समक्ष गरेको बकपत्र ।

८.    तेल बढी राखी पठाउने कार्य गर्नमा प्र.मनोहर राउतको संलग्नता देखिएबाट निजले भ्र.नि.ऐन, २०१७ को दफा ७(२) को कसूर गरेको ठहर्छ र कसूरको मात्रा अनुसार रु. २००।जरिवाना हुने ठहर्छ । प्र.हुकुमबहादुरको हकमा सबूद प्रमाणको अभावमा सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको वा.वि.अ.को मिति ०४६।७।२ को फैसला ।

९.    स्टोर गोदाम मेरो जिम्मा नरहेको र वारदात समयमा म नभएको तथा बढी तेल हाल्ने कार्यमा म संलग्न हुन सक्ने स्थिति नभएको अवस्थामा मलाई कसूरदार (साविक पेज नं. ५२०) ठहराएको वा.वि.अ.को फैसला त्रुटिपूर्ण हुँदा सफाई पाउँ भन्ने समेत व्यहोराको मनोहर राउतको म.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।

१०.    वा.वि.अ.बाट प्रतिवादीलाई आरोपित कसूरबाट सफाई दिएको फैसला मिलेको नहुँदा सो फैसला बदर गरी शुरु आरोपपत्र बमोजिम हदैसम्म सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको म.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।

११.    डिलर मुनिल सिंहको कर्मचारी प्र.हुकुमबहादुर लामाले गोदामबाट बढी तेल झिकी गेटपास गराई आफ्नो बसमा चढी तेल लोड गरी भ्रष्टाचार गरेको भन्ने कुरा निज बाहिरीया व्यक्ति हुँदा निज एक्लैले त्यसरी बढी तेल बाहिर लैजान सम्भव नहुँदा को को भई मिलोमतो गरे भन्ने कुरा प्रस्तुत मुद्दामा केही खुल्न नआएको र वादी दावी समेत नभएकोले अरु व्यक्तितर्फ विचार गरिरहन परेन । निज हुकुमबहादुरलाई शुरु वा.वि.अ.ले सफाई दिने गरेको फैसला मनासिब ठहर्छ । र मनोहर राउतको हकमा निज अदालतमा इन्कार रहेको, निजका साक्षीले निजलाई सफाई दिई गरेको बकपत्र, सहअभियुक्तको पोल र निजको साविती बयान अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हुन नआएको हुँदा आरोपित कसूर गरेको नठहरेकाले निजले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको म.क्षे.अ.को मिति २०४७।५।१० मा भएको फैसला ।

१२.   सामान लोड गर्दा बढी सामान देखी मनोहर राउतले कुरा उठाएपछि एक याक चुरोट र रु. १००।दिएको, निज मनोहर राउत साविती भएको, बिलभन्दा बढी सामान बरामद भई प्र.हुकुमबहादुरले आफ्नो गाडीमा बढी तेल भएको कुरामा स्वीकार गरी सो कार्यमा मनोहर राउत समेतको संलग्नता छ भनी अदालत समक्ष अपराधमा साविती भएको, बरामदी मुचुल्का, बा.अं.ख १४०६ नं. को मिनीबस चेक गर्दा २४० जार तेल भेट्टिएको, व्यापारी एजेन्ट र मनोहर राउतको मिलेमतोबाट तेल बाहिर लगी भ्रष्टाचार गरेको कुरा स्पष्ट हुँदा हुँदै आरोपित कसूर गरेको देखिँदैन भनी प्रतिवादीहरुलाई सफाई दिने भनी गरिएको म.क्षे.अ.को फैसला बदर गरी शुरु आरोप पत्र माग दावी बमोजिम हदैसम्म सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको विशेष प्रहरी विभागको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

१३.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठले व्यापारी एजेन्ट र मनोहर राउतले मिलेमतो गरी बढी सामान लोड गरी दुवै प्रतिवादीहरु मिली तेल बाहिर लगी भ्रष्टाचार गरेको संकलित सबूद प्रमाणबाट प्रमाणित हुन आएको हुँदा निज प्रतिवादीहरुलाई शुरु माग दावी बमोजिम सजायँ गरी पाउँ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

१४.   अब निर्णयतर्फ विचार गर्दा प्रतिवादी हुकुमबहादुर लामा र मनोहर राउतलाई मध्यमाञ्चल क्षेत्रीय अदालतले सफाई दिएको मिलेन । शुरु माग दावी बमोजिम गरिपाउँ भन्ने श्री ५ को सरकार विशेष प्रहरी विभागको पुनरावेदन परेतर्फ विचार गर्दा डिलर मुनिल सिंहको कर्मचारी प्र.हुकुमबहादुर लामाले गोदामबाट बढी तेल झिकी गेटपास गराई आफ्नो मिनीबसमा चढी तेल लोड गरी भ्रष्टाचार गरेको भन्ने कुरा निज बाहिरीया व्यक्ति हुँदा निज एक्लैले त्यसरी बढी तेल बाहिर लान सम्भव देखिँदैन । कर्मचारीको मिलोमतोबाट मात्र त्यसो गर्न सम्भव हुन सक्नेमा को को भई मिलोमतो गरे भन्ने कुरा प्रस्तुत मुद्दामा केही खुल्न नआएको र प्रतिवादी मनोहर राउतलाई प्र.हुकुमबहादुर लामाले प्रहरी समक्ष रु. १००।दिएको भन्ने कागज गरेको कुरामा निज अदालत समक्ष स्वीकार गरी बयान गरेको पनि पाइँदैन । अदालतमा मनोहर राउत इन्कार रहेको र निजका साक्षीले निजलाई सफाई दिई बकपत्र गरेको पाइन्छ । सह (साविक पेज नं. ५२१) अभियुक्तले प्रहरीमा गरेको पोल र निजको साविती बयान अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हुन नआएको स्थितिमा त्यतिकै प्रमाणको भरमा प्र.मनोहर राउतलाई आरोपित कसूर गरेको ठहराई निजलाई सजायँ गर्नु न्यायोचित नहुने र शंकाको सुविधा अभियुक्तले पाउने फौजदारी न्यायको सिद्धान्त समेतबाट निज प्र.मनोहर राउतलाई आरोपित कसूर गरेको नठहरेकोले सफाई पाउने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेकै देखिँदा मनासिब ठहर्छ श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.लक्ष्मणप्रसाद अर्याल

 

 

इति सम्वत् २०४८ साल पौष २९ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु