निर्णय नं. ४३६७ - अदालतको अवहेलना

निर्णय नं. ४३६७ ने.का.प. २०४८ अङ्क ९, १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
सम्वत् २०४६ सालको फौ.पु.नं. ६१३
फैसला भएको मिति: २०४८।८।२९।१ मा
पुनरावेदक/वादी: जिल्ला बाँके नेपालगंज नगरपालिका वडा नं. ११ बस्ने डा. छत्रपाल अग्रवाल
विरुद्ध
विपक्षी/प्रतिवादी: ऐ.ऐ.बस्ने शौकत अलि मोचीसमेत
मुद्दा : अदालतको अवहेलना
(१) आफ्नो हक भोग नै नभएको जग्गामा निर्मित सेफ्टी टैंकी सफा गर्ने कार्यमा बिना आधार प्रमाण विपक्षी प्रतिवादीहरुबाट विवाद श्रृजना गरेको भन्ने कुरा विपक्षीहरुको भनाइबाटै प्रमाणित भइरहेको देखिँदा अन्तरिम आदेश बमोजिम पुनरावेदक वादीलाई उक्त सेफ्टी टैंकी सफा गर्न बाधा विरोध उत्पन्न गरेनन् होला भन्न सकिने अवस्था नदेखिएकोले प्रतिवादीहरुले अदालतको दिएको आदेशको पालना नगरी अदालतको अवहेलना गरेको पुष्टी हुन आएकोले अञ्चल अदालतबाट प्रतिवादीले अदालतको अवहेलना गरेको ठहर्याई गरेको इन्साफ (साविक पेज नं. ५३३) मिलेकै देखिने ।
(प्रकरण नं. १२)
पुनरावेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री कमलनारायण दास
प्रत्यर्थी प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल
फैसला
न्या.रुद्रबहादुर सिंह
१. मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४५।१०।१० को फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. मेरो सेफ्टी टैंकी विपक्षीहरुले सफा गर्न नदिंदा विपक्षीहरुका नाउँमा सो सम्बन्धमा अदालतमा निषेधाज्ञाको निवेदन दिंदा निजहरुका नाउँमा अदालतबाट अन्तरिम आदेश जारी भई सो अनुसार उक्त सेफ्टी टैंकी सफा गर्न जाँदा विपक्षीहरु र निजका परिवार समेत भई सेफ्टी टैंकी सफा गर्न नदिएका र उक्त अदालतबाट भएको आदेश मान्दैनौ भनी अदालतको आदेशको अपहेलना गरी अदालतको मान मर्यादामा आघात पारी अदालत प्रति जनआस्थामा कुठाराघात गरेकाले न्या.प्र.सु. ऐन, २०३१ को दफा ११ अनुसार विपक्षीहरुलाई कारवाही गरिपाउँ भन्ने समेत छत्रपाल अग्रवालको भेरी अञ्चल अदालतमा परेको निवेदनपत्र ।
३. निवेदनमा उल्लेखित सेफ्टी टैंकी त्यहाँ वादीको हुँदै नभएको र मेरो मात्र त्यहाँ सेफ्टी टंकी भएकोमा सेफ्टी टैंकी सफा गर्न नदिएको भन्ने निवेदकले झुठ्ठा व्यहोराको निवेदन दिएको र मैले अदालतको आदेशको उल्लंघन नगरी अदालतको आदेशको मान मर्यादा गरी आएको छु । निवेदकको झुठ्ठा दावीबाट फुर्सद गरी पाउँ भन्ने समेत प्र.सामुलहक मोचीले अदालतमा गरेको बयान ।
४. अदालतबाट जारी भएको अन्तरिम आदेश बमोजिम निवेदकलाई सेफ्टी टैंकी सफा गर्न नदिएको होइन । निवेदकले उल्लेख गरेको स्थानमा निजको सेफ्टी टैंकी नै नभएको र सो ठाउँमा हाम्रो मात्र सेफ्टी टैंकी रहेकाले मैले अदालतको आदेशको अपहेलना समेत नगरेको हुँदा झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत प्र.सौकत अलि मोचीले अदालतमा गरेको बयान ।
५. यिनै पक्ष विपक्ष भएको निषेधाज्ञा मुद्दामा निषेधाज्ञाको आदेश जारी हुने ठहरी आजै फैसला भएको र सो मुद्दा सेफ्टी टैंकी सफाई गर्न दिनु भन्ने अन्तरिम आदेश समेत जारी भएकोमा विवादित सेफ्टी टैंकीमा बिना आधार प्रमाण विपक्षीबाट विवाद श्रृजना गरेको देखिँदा निवेदकलाई टंकी सफाई गर्न दिएहोला भन्न सकिने स्थिति नरहेको र यस अदालतबाट दिएको आदेशको पालना नगरी अपहेलना गरेको प्रष्ट देखिँदा निजहरुलाई जनही रु. १०।– जरिवाना हुने ठहर्छ भन्ने समेत भेरी अञ्चल अदालतको मिति ०४४।१२।११ को फैसला ।
६. अदालतको अपहेलना गरेको ठहर्याई जरिवाना समेत गर्ने ठहर्याएको भेरी अञ्चल अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाई पाउँ भन्ने समेत प्र.सौकत अलि मोची र सामूलहक मोचीको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।
७. यस लगाउको दे.पु.नं. २५ को निषेधाज्ञाको आदेश जारी गरिपाउँ भन्ने मुद्दामा विपक्षी झिकाउने आदेश भएकोले भेरी अञ्चल अदालतको फैसला नमिली फरक पर्ने देखिएकोले प्रत्यर्थीलाई अ.बं. २०२ नं. र क्षेत्रीय अदालत नियमावली, २०३६ अनुसार छलफलको लागि म्याद दिई झिकाई आएपछि वा म्याद भुक्तान भएपछि नियम बमोजिम गरी पेश गर्नु भन्ने मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४५।६।१३।५ को आदेश ।
८. २०४४।११।११ मा भई आएको मिसिल (साविक पेज नं. ५३४) संलग्न रहेको नक्शा हेर्दा न.नं. ७ को विवादित सेफ्टी टंकीमा जुडेको मल निकासको ४ फिट तल पक्की जोडाइबाट दबेको भन्ने समेत उल्लेख भएको देखिँदा सेफ्टी टंकी सफाई नगरी नहुने अवस्था आई नपुगेको देखिन्छ । प्रतिवादीले अदालतको अवहेलना गरेको प्रमाणित आधार पनि केही देखिँदैन । तसर्थ प्रतिवादीले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ । अपहेलना ठहर्याएको भेरी अञ्चल अदालतको इन्साफ बदर हुन्छ भन्ने मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४५।१०।१० को फैसला ।
९. भेरी अञ्चल अदालतले विपक्षीको व्यवहार र निजले गरेको बिना आधार प्रमाणको हचुवा बयान समेतलाई दृष्टीगत गरी विपक्षीहरुको कृयालाई अपमान जनक महसूस गरी अवहेलना ठहर्याएकोमा ०४४।११।११ गते सम्पन्न भएको नक्शा नं. ७ को मल पाइप ४ फुट तल हुँदा सेफ्टी टंकी सफा गर्ने स्थिति नहुँदा भनी भेरी अञ्चल अदालतले अवहेलना ठहर्याई गरेको फैसलालाई बिना कुनै आधार हचुवा तर्क लगाई प्रत्यक्षतः न्यायिक मनको अभावमा फैसला भएको स्पष्ट भएकोले मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला बदर गरी भेरी अञ्चल अदालतको फैसला सदर गरी पाउँ भन्ने पुनरावेदक वादी डा.छत्रपाल अग्रवालको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
१०. यसमा लगाउको यिनै पक्ष विपक्षी भएको २०४६ सालको दे.पु.नं. ८७२ को निषेधाज्ञा मुद्दामा आजै यसै इजलासबाट अ.बं. २०२ नं. तथा सर्वोच्च अदालत नियमावली, २०२१ अनुसार विपक्षी झिकाउने आदेश भएकोले लगाउको प्रस्तुत मुद्दामा पनि सोही आधारमा विपक्षीलाई छलफलको लागि झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०४६।११।२ को आदेश ।
११. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता कमलनारायण दास र प्रत्यर्थी प्रतिवादीको तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलको बहस समेत सुनियो ।
१२. यसमा पक्ष विपक्ष तर्फका कानुन व्यवसायीहरुको बहस र पुनरावेदन सहितका मिसिल संलग्न कागजातहरु समेतको अध्ययन गरी इन्साफ तर्फ विचार गर्दा अञ्चल अदालतले अदालतको अवहेलना गरेको ठहर्याई गरेको इन्साफलाई बदर गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब वा बेमनासिब के छ सो मा निर्णय दिनु पर्ने हुन आएको छ प्रस्तुत मुद्दामा विवादित सेफ्टी टैंकी प्रतिवादीले आफ्नो हो भन्ने झुठ्ठा दावी लिई विवाद उठाएको देखिँदा अघि यसै इजलासबाट यिनै पक्ष विपक्ष भएको यसै लगाउको निषेधाज्ञा मुद्दामा निषेधाज्ञा जारी हुने ठहर्याएको भेरी अञ्चल अदालतको इन्साफ सदर भई खारेज हुने ठहर्याएको म.प.क्षे.अ.को इन्साफ बदर हुने ठहरी फैसला भएको र सो सेफ्टी टंकी सफा गर्न दिनु भनी भेरी अञ्चल अदालतबाट मिति २०४४।६।२२ मा अन्तरिम आदेश समेत जारी भएको देखिन्छ । यसरी आफ्नो हक भोग नै नभएको जग्गामा निर्मित सेफ्टी टैंकी सफा गर्ने कार्यमा बिना आधार प्रमाण विपक्षी प्रतिवादीहरुबाट विवाद श्रृजना गरेको भन्ने कुरा विपक्षीहरुको भनाईबाट प्रमाणित भइरहेको देखिँदा अन्तरिम आदेश बमोजिम पुनरावेदक वादीलाई उक्त सेफ्टी टंकी सफा गर्न बाधा विरोध उत्पन्न गरेनन् होला भन्न सकिने अवस्था नदेखिएकोले प्रतिवादीहरुले मिति ०४४।६।२२ मा भेरी अञ्चल अदालतले दिएको आदेशको पालना नगरी अदालतको अवहेलना गरेको पुष्टी हुन आएकोले भेरी अञ्चल अदालतबाट प्रतिवादीले अदालतको अवहेलना गरेको ठहर्याई गरेको इन्साफ मिलेकै देखिँदा सो फैसलालाई उल्टी हुने ठहर्याएको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ बदर हुने ठहर्छ । अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
म.प.क्षे.अ.का फैसलाले राख्न पठाएको लगत राख्नु परेन व्यहोरा जनाई कट्टा गरी दिनु भनी बाँके जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु..१
मिसिल नियमानुसार गरी बुझाई दिनु..१
उक्त रायमा म सहमत छु ।
न्या.केशवप्रसाद उपाध्याय
इति सम्वत् २०४८ साल मंसीर २९ गते रोज १ शुभम् ।