निर्णय नं. ४३६९ - कर्तव्य ज्यान

निर्णय नं. ४३६९ ने.का.प. २०४८ अङ्क ९, १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
सम्वत् २०४७ सालको फौ.सा.नं. ६४
फैसला भएको मिति: २०४८।७।१२।३ मा
वादी: हस्तबहादुर गुरुङ्गको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादी: जि.संखुवासभा मादीमूलखर्क गा.पं. वडा नं. २ बस्ने प्रेमबहादुर गुरुङ्ग समेत
मुद्दा : कर्तव्य ज्यान
(१) प्रतिवादीले जाँडमा विष हाली खुवाई सोही विषको कारणबाट मृत्यु भएको भन्ने कुरा देखिन आएको प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(२) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको फैसला मिलेको देखिँदा मनासिब ठहर्ने ।
(प्रकरण नं. ३१)
(२) अभियुक्तको उमेर १९ वर्ष मात्र देखिएको र निजले अदालतमा सत्य कुरा गरी अपराध गरेमा सावित भएको कुरालाई दृष्टिगत गर्दै अपराध गरेको परिस्थिति समेतलाई विचार गरिएमा सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने तथा कैद वर्ष १५ सजायँ गर्दा पुग्ने देखिएकोले प्रतिवादीलाई अ.बं. १८८ नं. प्रयोग गरी वर्ष १५ मात्र सजायँ हुने ।
(प्रकरण नं. ३२)
फैसला
न्या.रुद्रबहादुर सिंह
१. पूर्वाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४७।६।२८ मा फैसला भई साधक सदरको निमित्त जाहेर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ :–
२. २०४१।१२।१ का दिन मेरो छोरा रामवेनी अन्तर्गत बिहिबारे हाट गएको नफर्केकोले खोज तलास गर्दा हल्लुडे डाँडामा मरेको लाश फेला परेकोले अपराधी पत्ता लगाई कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने ०४१।१२।३ को जाहेरी दर्खास्त ।
३. २०४१।१२।१ गते अं. ५ बजेको समयमा दुर्गाबहादुर समेत मेरो घरमा आई जाँड खाई गएका हुन भन्ने प्रत्यक्षदर्शी भनेकी रुपमाया र बलबहादुरले ०४१।१२।६ मा प्रहरीमा गरेको छुट्टा छुट्टै कागज ।
४. २०४१।१२।१ गते दुर्गाबहादुर आई आमा कौशिल्यालाई आज मलाई प्रेमबहादुरले रक्सीमा विष हाली खान दिएछ मुटु दुख्यो भनी कराएको भन्ने व्यहोराको अम्बिका कार्कीले ०४१।१२।६ मा प्रहरीमा गरेको कागज ।
५. २०४१।१२।१ गते दुर्गाबहादुर मेरो घरमा आई मलाई प्रेमबहादुरले विष हाली दिएछ भनी कराए मैले ठीक हुन्छ भनी कागती खान दिएँ निज घस्रदै पेटीमा आई केही छिनमा मरेका हुन भन्ने कौशिल्या कार्कीले ०४१।१२।६ मा प्रहरीमा गरेको कागज ।
६. २०४१।१२।१ गतेका दिन अं. ५ बजेको समयमा छिर्रि शेर्पा र दुर्गाबहादुर झगडा गर्दै आएका (साविक पेज नं. ५४३) थिए, मैले आ–आफ्नो घर जाउ भनी सम्झाएको थिएँ र दुवैजना मेरो पसलबाट मुलखर्क जाने बाटो तर्फ लागेका थिए भन्ने नरबहादुर कार्कीले ०४१।१२।६ मा प्रहरीमा गरेको कागज ।
७. २०४१।१२।६ गते प्रेमबहादुर मेरो घरमा आई म संग रु. १००।– सापटी मागे मैले पैसा छैन भनी दिइन भन्ने भगिमाया गुरुङले ०४१।१२।६ मा प्रहरीमा गरेको कागज ।
८. २०४१।१२।१ गतेका दिन दुर्गाबहादुर टंकबहादुरकै घरमा सुतिराखेको देखेको हुँ र म त्यहाँबाट सरासर आफ्नो घरतर्फ गएको हुँ भन्ने अमृतबहादुरले ०४१।१२।६ मा प्रहरीमा गरेको कागज ।
९. २०४१।१२।१ गते दुर्गाबहादुरले मलाई प्रेमबहादुरले जाँडमा विष हाली खान दिएछ । भनी कराएर टंकबहादुरको आँगनमा छाद्न थाले र छाद्दै पेटीमा गई मरेपछि म समेत भई फालेको हुँ भन्ने सलबहादुर लिम्बुले ०४१।१२।७।४ मा प्रहरीमा गरेको कागज ।
१०. दुर्गाबहादुरलाई मैले जाँडमा विष हाली खान दिएको तासिरबाट मरेका हुन अरु कसैको सहमति छैन भन्ने प्रेमबहादुर गुरुङ्गले ०४१।१२।७ मा प्रहरीमा गरेको कागज ।
११. २०४१।१२।१ गतेका दिन प्रेमबहादुर समेत भई रुपमायाको घरमा जाँड खाई म आफ्नो घरतर्फ गएको हुँ अरु थाहा छैन भन्ने बुद्धिराजले ०४१।१२।७ मा प्रहरीमा गरेको कागज ।
१२. टंकबहादुरको घरमा दुर्गाबहादुर आई मलाई मेरो भाइ प्रेमबहादुरले विष खुवाएको भनी करायो भन्ने कुरा सुनेका हौं, प्रेमबहादुरले विष खुवाई मारेमा शंका लाग्छ भन्ने अधिकांश व्यक्तिहरुको भनाई भएको ०४१।१२।१६ को सरजमीन मुचुल्का कागज ।
१३. विषय खुवाई दुर्गाबहादुरलाई मार्ने प्रेमबहादुर गुरुङ्गलाई ज्यानसम्बन्धीको १३(२) अनुसार सजायँ हुन र जाहेर नगरी लाश बोकी अन्यत्र फाली आएको कारणले लाश दबाउने नियतमा संलग्न भएका टंकबहादुर कार्की, सलबहादुर लिम्बू, गणेशबहादुर कार्की, भूपाल भण्डारी, रुद्रबहादुर गुरुङ्ग, रामबहादुर कार्की, प्रेमबहादुर कार्की नाम नखुलेका सुपारे चम्लागायीको छोरा १ लाई समेत ज्यानसम्बन्धीको १७(३) र सो मा थप ऐ.ऐनको दफा ४ अनुसार थप सजायँ हुन र छिरी शेर्पा, बुद्धिबहादुरको हकमा मुद्दा चलाउन सबूद प्रमाण पुग्न नआएकोले निज दुवैको हकमा मुद्दा नचलाउने राय व्यक्त गरिएको छ भन्ने प्रहरी प्रतिवेदन ।
१४. मैले नै दुर्गाबहादुरलाई जाँडको बटुकोमा विषको धुलो हाली खान दिएको हुँ भन्ने प्रेमबहादुर गुरुङ्गले ०४१।१२।२० मा अदालतमा उपस्थित भई गरेको बयान कागज ।
१५. मैले टंक बहादुरको घरबाट दुर्गाबहादुरको लाश बोकी फालेको होइन र मैले अपराध कसुर नगरेको हँुदा सजाय पाउनु पर्ने होइन भन्ने प्र. सलबहादुर लिम्बुले २०४१।१२।२० मा अदालतमा उपस्थित भई गरेको बयान ।
१६. दुर्गाबहादुर के भएर मरे मलाई थाहा छैन मैले कुनै अपराध नगरेकोले मैले कुनै सजायँ पाउनु पर्ने होइन भन्ने प्र.बालकृष्ण चौलागायीले ०४२।९।२६ मा अदालतमा गरेको बयान ।
१७. दुर्गाबहादुरलाई कस्ले कहाँ कसरी के कुन तरिकाले के मा विष हाली खुवाई मारे मराए मलाई थाहा छैन भन्ने प्र.रुद्रबहादुर गुरुङ्गले ०४२।४।१७ मा अदालतमा गरेको बयान ।
१८. मैले मृतक दुर्गाबहादुरको लाश बोकी बाटोमा पुर्याउने सहमतिमा थिइन र अपराधमा नभएको हुँदा सजायँ पाउनु पर्ने होइन भन्ने गणेशबहादुर कार्कीले ०४२।३।२० मा अदालतमा गरेको बयान ।
१९. दुर्गाबहादुरको लाश फाल्ने कार्यमा म सहमति छुइन र अपराध समेत नगरेको हुँदा झुठ्ठा प्रहरी प्रतिवेदन दावीबाट सफाई पाउँ भन्ने प्र.प्रेमबहादुर कार्कीले ०४२।३।२० मा अदालतमा गरेको बयान ।
२०. मैले दुर्गाबहादुरको लाश बोकी लगी फालेको होइन म निर्दोष छु प्रहरी प्रतिवेदन दावीबाट सफाई पाउँ भन्ने प्र.भूपाल भण्डारीले ०४२।३।२० मा (साविक पेज नं. ५४४) अदालतमा गरेको बयान कागज ।
२१. प्रहरी प्रतिवेदन दावी अनुसार प्र.प्रेमबहादुर गुरुङ्गले दुर्गाबहादुरलाई जाँडमा विष राखी खुवाई कर्तव्य गरी मारेको ठहर्छ, प्र.गणेशबहादुर कार्की, प्रेमबहादुर कार्की, रुद्रबहादुर गुरुङ्ग, भूपाल भण्डारी, बालकृष्ण चौलागाई समेतले सफाई पाउने ठहर्छ र फेरारी टंकबहादुर कार्की, रामबहादुर कार्कीको हकमा अ.बं. १९० नं. बमोजिम मुलतवी राखी दिने भन्ने ०४३।१२।१५।१ को संखुवासभा जिल्ला अदालतको फैसला ।
२२. प्र.रुद्र गुरुङ्ग, बालकृष्ण चौलागाई समेतलाई सफाई दिने ठहर्याएको उक्त जिल्ला अदालतको फैसला उपर चित्त बुझेन भन्ने वादी श्री ५ को सरकारतर्फबाट कोशी अञ्चल अदालत धरानमा चढाएको पुनरावेदनपत्र ।
२३. मैले लागू पदार्थ सेवन गरेको अवस्थामा होस नपुर्याई विष खुवाएको हो कानुन बमोजिम न्याय पाउन अनुरोध छ भन्ने प्र.प्रेमबहादुर गुरुङ्गले कोशी अञ्चल अदालत धरानमा चढाएको पुनरावेदनपत्र ।
२४. नाम नखुलेको गुरुङ्गको हकमा प्रतिवादी बनाई ज्यानसम्बन्धीको दावी लिएको देखिएकोले शुरु फैसलामा निजको हकमा केही नबोलेकोले निजको हकमा ठहर गरी पठाउनु भन्ने २०४५।१०।५।४ को कोशी अञ्चल अदालतको आदेश ।
२५. मोरंगको नाम थर खुल्न नआएको मोरंग भनी दावी सम्म लिएकोमा निजको नाम थर वतन खुलाई ल्याएका बखत कानुन बमोजिम हुने हुँदा हाल निज उपर केही गरी रहन नपर्ने भन्ने ०४५।११।२२।१ को संखुवासभा जिल्ला अदालतको फैसला ।
२६. दुर्गाबहादुरलाई प्रेमबहादुरले नै जाँडमा झुक्याई विष राखी खुवाएको कारणबाट मृत्यु भएको पोष्टमार्टमबाट समेत भएको देखिएकोले निज प्रेमबहादुर गुरुङ्गका हकमा ज्यानसम्बन्धीको १३(२) अनुसार सर्वश्वसहित जन्मकैद गर्ने गरेको मनासिब नै हुँदा पुनरावेदन जिकिर पुग्न नसक्ने र प्र.भूपाल भण्डारी गणेशबहादुर कार्की, रुद्रबहादुर, प्रेमबहादुर कार्की, बालकृष्ण चौलागाईलाई समेत सफाई दिने ठहर्याएको इन्साफ मनासिब छ वादी श्री ५ को सरकार तर्फको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत व्यहोराको २०४६।२।२६ को कोशी अञ्चल अदालत धरानको फैसला ।
२७. उक्त फैसला उपर साधक तहबाट निर्णयका लागि पू.क्षे.अ.मा मिसिल प्राप्त भएको ।
२८. जाहेरी दर्खास्तमा मर्ने दुर्गाबहादुरलाई प्रतिवादी प्रेमबहादुर गुरुङ्गले फकाई जाँडमा विष राखी खुवाएको कारणबाट दुर्गाबहादुरको मृत्यु भएको भन्ने प्रतिवादी प्रेमबहादुरको बयान, कौसल्याको कागज सरजमीनका मानिसको बकपत्र र मृतकको लाश जाँच प्रतिवेदन समेतबाट समर्थित भई राखेको देखिँदा प्रतिवादी प्रेमबहादुर गुरुङ्गले नै मृतक दुर्गाबहादुरलाई जाँडमा झुक्याई विष राखी खुवाएको कारणबाट निज दुर्गाबहादुरको मृत्यु भएको देखिन आएकोले प्रतिवादी प्रेमबहादुर गुरुङ्गलाई ज्यानसम्बन्धीको १३(२) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको शुरु सदर गरेको कोशी अञ्चल अदालतको फैसला मिलेकै देखिँदा मनासिब ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको मिति २०४७।६।२८।१ को फैसला ।
२९. उक्त फैसला उपर साधक तहबाट निर्णयका लागि पूर्वाञ्चल क्षेत्रीय अदालतबाट यस अदालतमा मिसिल प्राप्त हुन आएको ।
३०. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको सम्पूर्ण मिसिल अध्ययन गरी हेर्दा प्रतिवादी प्रेमबहादुरलाई कसूरदार ठहर्याई ज्यान सम्बन्धीको १३(२) बमोजिम सर्वश्वसहित जन्मकैद गरेको शुरु र अञ्चल अदालतको फैसला सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४७।६।२८ को फैसला मिले नमिलेको के रहेछ निर्णय दिनु पर्ने देखिन आयो ।(साविक पेज नं. ५४५)
३१. प्रतिवादी प्रेमबहादुर गुरुङ्गले अदालत समक्ष बयान गर्दा आफूले धरानमा बेच्न लगेको विष हात खुट्टा कुंजिदा औषधि हुन्छ भन्ने सुनेकोले एक सानो टुक्रा ल्याई घर अगाडिको खोल्साको छेउमा ढुंगाको चेपमा राखेको थिएँ । वारदात भएको दिन बिहीबारे हाट आउँदा ढुंगाको चेपमा राखेको विषको टुक्रा झिकी धुलो पारी प्लाष्टिकको थैलीमा बोकी ल्याएँ मर्ने दुर्गाबहादुरसंगै जाँड खान बसी निज दुर्गाबहादुरको जाँडमा सो विषको धुलो हालिदिएँ । मर्ने दुर्गाबहादुरले विष हालेको जाँड खाएको र त्यसै विषको कारणले निजको मृत्यु भएको हो भन्ने कुरामा सावित भई बयान गरेको मिसिल संलग्न कागजबाट देखिन्छ । प्रतिवादी प्रेमबहादुरको साविती बयानलाई समर्थन गर्ने गरी अम्बिका कार्कीले तथा कौशल्या कार्कीले मिति २०४१।१२।६ मा प्रहरीमा कागज गरेको देखिन्छ । कौशल्य कार्कीले दुर्गाबहादुर आफ्नो घरमा आई मलाई प्रेमबहादुरले विष हाली दिएछ भनेको र आफूले ठीक हुन्छ भनी कागती खान दिएको कुरा समेत उल्लेख गरेकी छन् । यस बाहेक मृतकको सव परीक्षण प्रतिवेदन एवं सरजमीनका मानिसहरुको बकपत्रबाट समेत प्र.प्रेमबहादुरको बयान समर्थित भइरहेकोछ । यस प्रकार प्रतिवादी प्रेमबहादुरले मर्ने दुर्गाबहादुरलाई जाँडमा विष हाली खुवाई सोही विषको कारणबाट दुर्गाबहादुरको मृत्यु भएको भन्ने कुरा देखिन आएकोले प्रतिवादी प्रेमबहादुर गुरुङ्गलाई ज्यानसम्बन्धीको १३(२) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको शुरु र अञ्चलको इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४७।६।२८ को फैसला मिलेको देखिँदा मनासिब ठहर्छ ।
३२. सजायँको हकमा विचार गर्दा अभियुक्तको उमेर १९ वर्ष मात्र देखिएको र निजले अदालतमा सत्य कुरा गरी अपराध गरेको सावित भएको कुरालाई दृष्टिगत गर्दै अपराध गरेको परिस्थिति समेतलाई विचार गरिएमा सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने तथा कैद वर्ष १५ सजायँ गर्दा पुग्ने देखिएकोले प्रतिवादी प्रेमबहादुर गुरुङ्गलाई अ.बं. १८८ नं. प्रयोग गरी कैद वर्ष १५ मात्र सजायँ हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी प्रेमबहादुर गुरुङ्ग के माथि इन्साफ खण्डमा लेखिए बमोजिम सजायँ कैद वर्ष १५ हुने ठहरेकाले शुरु संखुवासभा जिल्ला अदालतको मिति २०४३।१२।१५ को फैसलाले राख्न पठाएको लगत निजका हकमा कट्टा गरी कैद वर्ष १५ पन्ध्र को लगत राख्नु भनी शुरु संखुवासभा जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लेखी पठाउनु..१, ऐ.के शुरु संखुवासभा जिल्ला अदालतका आदेशले रोक्का गर्न पठाएको अंश फुकुवा गरिदिनु भनी ऐ.ऐ..२, मिसिल नियम बमोजिम गरी बुझाई दिनु..३
उक्त रायमा म सहमत छु । न्या.गोविन्दबहादुर श्रेष्ठ
इति सम्वत् २०४८ साल कार्तिक १२ गते रोज ३ शुभम् ।