निर्णय नं. ४३७७ - कर्तव्य ज्यान

निर्णय नं. ४३७७ ने.का.प. २०४८ अङ्क १०
पूर्णइजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
सम्वत् २०४६ सालको फौ.पू.इ.नं. २९
फैसला भएको मिति : २०४८।९।११।५ मा
निवेदक/प्रतिवादी : जि.कारागार शाखा दाङमा थुनामा रहेको लिलाबहादुर राउतसमेत
विरुद्ध
विपक्षी/वादी : मनी आलेको जाहेरीले श्री ५ को सरकार
मुद्दा : कर्तव्य ज्यान
(१) कुटपिट गरेबाट सोही चोट पीरले मरेको भन्ने कुरा पुष्टि हुन आएको तर मृतकको मृत्यु यसैको चोटले वा यही चोटको कारणले भएको भन्ने कुरा खुल्न नआएको र प्रतिवादीहरु समेतले चोट छाडेको भन्ने देखिन आएबाट निजहरुको कुटपिटको कारण समेतबाट मृतकको मृत्यु भएको देखिएकोले प्रतिवादीहरुलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) बमोजिम जन्मकैदको सजायँ हुने ठहर्याएको इन्साफ मिलेकै देखिँदा सदर हुने ।
(प्रकरण नं. ३१)
(२) प्रतिवादीहरुले कुटपिट गरी चोट छाडे पनि सांघातिक हतियारले प्रहार गरेको नदेखिएको र घातक प्रहार नभई सामान्य कुटपिट गर्दा मृतकको मृत्यु हुन गएको देखिएको (साविक पेज नं. ५७६) हुँदा निजहरुको चोटलाई विचार गर्दा प्रतिवादीहरुलाई जन्मकैदको सजायँ गर्दा चर्को पर्न जाने देखिएकोले निजहरुलाई मुलुकी ऐन अदालती बन्दोवस्तको १८८ नं. बमोजिम १० वर्ष कैद सजायँ हुने ।
(प्रकरण नं. ३१)
निवेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री शेरबहादुर के.सी.
प्रत्यर्थी, वादीतर्फबाट : विद्वान का.मु. मुख्य न्यायाधीवक्ता श्री प्रेमबहादुर विष्ट
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह
१. यस सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०४३।८।१७।३ मा भएको फैसला पूर्णइजलासबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकुम प्रमांगी बमोजिम पूर्णइजलास लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. यही २०३९ साल मंसीर १८ गतेका दिन अं. १२ बजे मेरो लोग्ने पृथबहादुर गाउँ घुमी मादक पदार्थ सेवन गरी आई रहेको अवस्था घरबाट अं. १०० हात दक्षिण खरबारीमा आई पुग्दा देवर चोचे भन्ने दलसिंह आलेले पनि मादक पदार्थ सेवन गरेको हुँदा निजले लोग्ने पृथबहादुरलाई गाली गरेकोले देवर र लोग्नेको झगडा हुन लागेकोले म छुट्याउन पुगी सो अवस्थामा कुटुरे कामी, विदरे भन्ने दले कामी –१, लोटे भन्ने बल सिं कामी –१, नमै कामी –१ र साइलो देवर वेदे आले –१ समेत आई छुट्याएपछि हुकुमबहादुर रावत १, लिलाधर रावत क्षेत्री –१, खिमबहादुर वली –१ समेतले आई लोग्नेलाई कुटपिट गरेको र खिमबहादुर वलीले लोग्नेको अण्डकोष समाती मुटुमा हानेका थिए, सासू गुमाले पनि डण्डाले प्रहार गरेपछि लोग्ने मुर्छा परे । सोही चोटपीरले लोग्ने पृथबहादुर ०३९।८।२३ गते परलोक हुनुभएकोले कानुन बमोजिम सजायँ गरी पाउँ भन्ने मनी आले मगर्नीको जाहेरी दर्खास्त ।
३. लाशको निधारमा लाठी ढुड्डाले हिर्काएको घाउ भएको, दायाँ कोखामा निलडाम भई सुन्निएको बायाँ अण्डकोषमा घाउ भई सुनिएको भन्ने समेत २०३९।८।२४ को लाश प्रकृति मुचुल्का ।
४. चोटपीरले मरेको भन्ने पोष्टमार्टम रिपोर्ट ।
५. गते बार थाहा छैन, भैलोको भोज खाने दिनमा हो, सौतेनी छोरा पृथीबहादुर मेरो छोरा चोचे भन्ने दलसिं आलेको साबुन विषयमा भनाभन झगडा हुँदा कुटुरे कामी, नमे कामी, लेन्टे कामी र छोरा वेदप्रसाद समेत भई झगडा छुट््याई दिएका थिए । पृथीबहादुरले मादक पदार्थ सेवन गरेकोले जथाभावी बोली खुकुरी ल्या भन्दा खिमबहादुर, लिलाधर, हुकुमबहादुर आई पृथबहादुरलाई धकेल पकेल गरी कुटपिट गरेका थिए, त्यही चोटले थला परी ६ दिनपछि मरेको हो । झगडा नगर भनी मैले आँगन वडारने सिपकीनाले पृथबहादुरको खुट्टामा हिर्काएकी हुँ भन्ने समेत गुमा आले मगर्नीले प्रहरीमा गरेको बयान ।
६. ०३९ साल मंसीर १८ गते भैलोको भोज खाई म र मेरो साथमा लिलाधर रावत, खिमबहादुर वली समेत फर्किरहेको अवस्था मृतक पृथीबहादुर निजको भाइ चोचे, सौतेनी आमा गुमा र श्रीमती मुमा समेत वाद विवाद गरी झगडा गरी रहेकोले हामी तीनै जना त्यस ठाउँमा गयौं, पृथीबहादुरले आफ्नो स्वास्नीको कपाल घाँटी समातेकोले खिमबहादुरले अण्डकोष समाती ताने, लिलाधरले टाउकोमा हिर्काए मैले छातीमा हिर्काए र झगडा छुट्याई हामी घर गयौ, पृथ्वीबहादुरको सौतेनी आमा गुमाले पनि लौराले खुट्टामा हिर्काएकी थिइन हामीले कुटेको चोट पीरले पृथीबहादुरको मृत्यु भएको (साविक पेज नं. ५७७) हो भन्ने हुकुमबहादुर रावतले प्रहरीमा गरेको बयान ।
७. मृतक पृथीबहादुर र निजको भाइ चोचेको साबुन विषय झगडा हुँदा पृथीबहादुरले रिसको आवेशमा आफ्ना स्वास्नीलाई कुटपिट गर्न लाग्दा झगडा छुट्याउन भनी गएको मैले मृतकको अण्डकोष समाती ताने हुकुमबहादुरले छातीमा हाने, लिलाधरले टाउकोमा हाने, मृतककी सौतेनी आमा गुमाले झगडा किन गर्छौ भनी लौरोले खुट्टामा हिर्काएकी थिइन भन्ने समेत खिमबहादुर वलीले प्रहरीमा गरेको बयान ।
८. ०३९।८।१८ गते भैलोको भोज खाई खिमबहादुर, हुकुमबहादुर म समेत घरतिर गइरहेको अवस्था मृतक पृथीबहादुर, निजको भाइ चोचेको साबुन विषयमा झडा भएकोले छुट्याउन भनी हामी तीनजना गयौं, पृथीबहादुरले आफ्नो स्वास्नीको घाँटी समातेकोले खिमबहादुरले अण्डकोष समाती ताने, मैले टाउकोमा हाने, हुकुमबहादुरले छातीमा मुड्कीले प्रहार गरी लोग्ने स्वास्नीको झगडा छुट्याई दिएपछि मृतककी आमाले पनि लौराले हिर्काएकी थिइन भन्ने समेत लिलाबहादुरले प्रहरीमा गरेको बयान ।
९. प्रतिवादी हुकुमबहादुर, खिमबहादुर, लिलाबहादुर र मर्नेकी श्रीमती मनी आले समेत भेला गराई सोधपुछ गर्दा निज ३ जना र गुमा आलेले हानेकी हुन् भनी भन्थिन सोही कुटपिटको चोट पीरले मरेका हुन् भन्ने समेत सरजमीन मुचुल्का ।
१०. ०३९ साल मार्ग १८ गते मर्ने पृथीबहादुर निजको भाइको झगडा हुँदा हामीले छुट्याई आफ्नो घर गयौं, भोलिपल्ट निजकी श्रीमतीले हुकुमबहादुर, लिलाधर खिमबहादुरले लोग्नेलाई कुटपिट गरी घाइते बनाई दिएका छन् भन्ने कुरा गरेकोले सुनेका हौं भन्ने समेत देविराम समेत जना ४ ले प्रहरीमा गरेको कागज ।
११. संकलित सबूद प्रमाणबाट पृथीबहादुरलाई प्र.हुकुमबहादुर, खिमबहादुर लिलाधर भन्ने लिलाबहादुर र गुमा आले मगर्नी समेतले कुटपिट गरेपछि थला परी सोही चोट पीरले मृत्यु भएको देखिन आएकाले निज प्रतिवादीहरुलाई ज्यानसम्बन्धीको १३ नं. को देहाय ३ अनुसार सजायँ गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन दावी भएको ।
१२. ०३९।८।१८ गते मृतक पृथीबहादुरले चोचेलाई कुटपिट गरेपछि हामीले छुट्याई चोचेलाई घरभित्र लगी ढोका बन्द गरी राखेको अवस्था पृथीबहादुर आई चोचेलाई कुट्छ भनी ढोका उघार्न लाग्दा नभई, कुटुरे वेदे समेत आई झगडा गर्न हुँदैन भनी पृथीबहादुरलाई समाते पछि किन झगडा गर्छस् भनी मैले भन्दा निज पृथीबहादुरले मलाई धक्का दिई लडायो, म उठी आँगन बडार्ने मेलको औला बराबर मोटो लाठीले खुट्टाको तिघ्रामा २ चोट हानेको हुँ त्यसपछि झगडा नगर भनी स्वास्नीले सम्झाउँदा स्वास्नीलाई नै हान्न लागेको अवस्था हुकुमबहादुर, लिलामबहादुर, खिमबहादुर आई यसो गर्न हुँदैन भनी हुकुमबहादुरले पृथीबहादुरलाई समाई, खिमबहादुरले पृथीबहादुरको सन्नी पक्रेको थियो सन्नी सुन्निएको कारणबाट मृत्यु भएको हो भन्ने गुमा आलेले अदालतमा गरेको बयान ।
१३. ०३९।८।१८ गतेका दिन मर्ने पृथीबहादुर र निजको भाइ चोचेको झगडा हुँदा लेन्टे कुटुरे समेतले झगडा छुट्याई चोचेलाई भगाएछन् भैलो खेली म समेत घर जान लाग्दा चोचेलाई काट्छु मार्छु भनी पृथीबहादुरले भन्ने र यसो गर्न हुँदैन भनी निजको स्वास्नीले भनी तानातान गर्दा हामी त्यहाँ पुगी यसो गर्न हुँदैन भनी हामीले छुट्याई आफ्ना आफ्ना घर गएका हौं मैले पृथीबहादुरलाई कुटपिट गरेको होइन, अरुले कुटपिट गरेको देखिन भन्ने समेत प्र.लिलाबहादुरले अदालतमा गरेको बयान ।
१४. ०३९।८।१८ गते गुमाको घरमा झगडा भएको सुनी लिलाबहादुर, खिमबहादुर म समेत त्यहाँ जाँदा पृथीबहादुरले आफ्नो स्वास्नीको घाँटीमा समाई रहेको थियो । यस्तो गर्न हुँदैन भनी हामी तीनै जनाले (साविक पेज नं. ५७८) छुट्याई दिएका हौं, पृथीबहादुरलाई मैले कुटपिट गरेको होइन निज पृथीबहादुरको के भई मृत्यु भएको हो मलाई थाहा छैन भन्ने समेत प्र.हुकुमबहादुरले अदालतमा गरेको बयान ।
१५. ०३९।८।१८ गतेको दिन पृथीबहादुर र चोचेले झगडा गर्न लागेका थिए हुकुमबहादुर, लिलाबहादुर र म समेत भई झगडा गर्न हुँदैन भनी छुट्याई दिएका हौं, गुमा मगर्नीले मेलको लठ्ठीले खुट्टा टाउकोमा कुटपिट गरेको देखेको हुँ । निज पृथीबहादुरको कुनै अंगमा मैले छोएको छैन, निजको अण्डकोष के भई सुन्निएको हो मलाई थाहा छैन भन्ने समेत प्र.खिमबहादुर वलीले अदालतमा गरेको बयान ।
१६. ०३९।८।१८ गतेका दिन लोग्ने पृथीबहादुरको साबुन विषयमा देवर चोचेसंग झगडा हुँदा नमे, बेदप्रसाद, कुटुरे, लेन्टे समेतले छुट्याई चोचेलाई गाउँमा भगाएपछि प्र.हुकुमबहादुर, लिलाबहादुर, खिमबहादुर, आई खिमबहादुरले सन्नी तानी पेटमा कुटपिट गरेका, हुकुमबहादुरले टाउकोमा र लिलाबहादुरले मुड्कीले कुटपिट गरेका थिए गुमाले मेलको सीपकीनाले कुटपिट गरेकी हुन् भन्ने समेत जाहेरवाली मनी आले मगर्नीले गरेको बकपत्र ।
१७. मर्ने पृथीबहादुरको भाइ चाचेसंग झगडा हुँदा प्रतिवादी खिमबहादुर, हुकुमबहादुर, लिलामबहादुर समेत गएको भन्ने सुनेका हौं निजहरुले र गुमाले पृथीबहादुरलाई कुटपिट गरेको भन्ने मनी आलेबाट सुनेका हौं भन्ने समेत सरजमीनका मानिस टेकबहादुर घर्ती समेतको बकपत्र ।
१८. मर्ने पृथीबहादुरलाई प्र.गुमाले लौराले हानेको र प्र.लिलाबहादुर, हुकुमबहादुर, खिमबहादुर समेतले मुड्कीले हानेको देखेको हुँ भन्ने नमै कामी, ३ दिनपछि म पृथीबहादुरलाई भेट्न जाँदा गुमाले सानो सिपकिनाले हानेको र प्र.लिलाबहादुर, हुकुमबहादुर, खिमबहादुर, समेतले कुटपिट गरे भनी निज पृथीबहादुरले भन्थे भन्ने प्र.गुमाको साक्षी गोरे कामी, झगडा हुँदा प्र.खिमबहादुर, हुकुमबहादुर र लिलाबहादुर झगडा छुट्याउन गएको भन्ने सुनेको हुँ भन्ने प्र.खिमबहादुरको साक्षी तिलबहादुर, हुकुमबहादुर, झगडा छुट्याउन गएको कुटपिट गरेको होइन भन्ने सुनेको हुँ भन्ने समेत प्र.हुकुमबहादुरको साक्षी जोगबहादुर, प्र.लिलाबहादुर समेत गई झगडा छुट्याई दिएको भन्ने सुनेको हुँ भन्ने समेत प्र.लिलाबहादुरको साक्षी कुटुरे कामीको बकपत्र ।
१९. दाजु पृथीबहादुर र चोचेको साबुन विषयमा झगडा हुँदा पृथीबहादुरलाई आमा गुमाले आँगन बडार्ने खरकुचाले हानेको र प्रतिवादी हुकुम बहादुर खिमबहादुर र लिलाबहादुर समेतले पनि कुटपिट गरेको मैले देखेको हुँ भन्ने समेत वेद आलेले गरेको बकपत्र ।
२०. जाहेरवाला र सरजमीनको व्यक्तिको प्रत्यक्ष प्रमाणको रुपमा स्वतन्त्र रुपबाट शंकारहित ढंगबाट प्रमाणित हुन आएको प्र.हरुले मृतकलाई कुटपिट गरी मर्ने पृथीबहादुर थला परी २१ दिन भित्र मरेको देखिएको हुँदा निज प्र.हरु खिमबहादुर, लिलाबहादुर, हुकुमबहादुर एवं गुमा आलेलाई ज्यानसम्बन्धीको १३(३) नं. अनुसार जन्मकैद हुन्छ भन्ने दाङ देउखुरी जि.अ.को ०४१।१।२१ को फैसला ।
२१. मृतककी स्वास्नी र भाइ नाताका व्यक्ति जाहेरवाली मनी आले र वेद आलेको भनाइलाई प्रमाणमा लिन नहुनेमा निजहरुको भनाइलाई मात्र प्रमाणमा लिई हामीलाई हराई शुरुबाट भएको इन्साफ न्यायसंगत नहुँदा सो फैसला बदर गरी ज्यानमाराको कसूरबाट सफाई पाउँ भन्ने प्र.लिलाबहादुर रावत १, हुकुम रावत १ समेतको संयुक्त पुनरावेदनपत्र ।
२२. झगडा नगर भनी मैले मेलको सिपकनीले हानी छुट्याई दिएकोमा मलाई जन्मकैदको सजायँ गर्ने ठहर्याएको शुरु जि.अ.को फैसला कानुन र न्यायसंगत भएन, हक इन्साफ गरी पाउँ भन्ने प्र.गुमा आले (साविक पेज नं. ५७९) मगर्नीको पुनरावेदनपत्र ।
२३. ज्यान मार्नु पर्ने इवी र मनसाय नभएको र जोखिम हतियारले नहानी लाठी ढुंगा लात, मुक्काले हानेको चोट पीरले ज्यान मर्न गएको देखिन आएपछि ज्यानसम्बन्धीको १४ नं. को विचार गर्नु पर्नेमा सो व्यवस्थाको विचार नगरी शुरु जि.अ.ले गरेको फैसला कानुन र न्यायसंगत भएन भन्ने खिमबहादुर वलीको पुनरावेदनपत्र ।
२४. मर्ने पृथीबहादुर र चोचेको बीचमा पहिले भएको झगडाको अवस्थामा पुनरावेदक गुमा आले मगर्नीले मृतकको खुट्टामा आँगन बडार्ने खरखबाले हानेको देखिन आएको र पछि पुनरावेदक लिलाबहादुर रावत, हुकुमबहादुर र खिमबहादुरले गरेको वारदातको सन्दर्भमा प्र.गुमा मगर्नीले मृतकलाई प्रहार गरी वारदातमा संलग्न देखिन नआएकोले प्र.गुमा मगर्नीलाई जन्मकैद गर्ने गरेको शुरुको फैसला मिलेको नदेखिँदा छलफलको निमित्त अ.बं. २०२ नं. र क्षे.अ. नियमावली बमोजिम पेशीको सूचना म.प.क्षे.स.अ.को कार्यालयलाई दिई नियम बमोजिम पेश गर्नु भन्ने डिभिजनबेञ्चको ०४१।१२।५ को आदेश ।
२५. प्र.लिलाबहादुर प्र.हुकुमबहादुर प्र.खिमबहादुरको हकमा शुरु इन्साफ सदर हुन्छ प्र.गुमा मगर्नीले सफाई पाउने ठहर्छ भन्ने समेत म.प.क्षे.अ.को फैसला ।
२६. उक्त फैसला उपर श्री ५ को सरकार तथा प्र.लिलाबहादुर राउत समेतको पुनरावेदन परेको ।
२७. यसमा प्रतिवादी गुमा आले मगर्नीको हकमा निजलाई कसूरबाट सफाई दिने गरेको क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिँदा सदरै हुने ठहर्छ । प्रतिवादी खिमबहादुर ओलीले मृतकको अण्डकोषमा समातेर हानेको कुरामा मौकामा प्रहरीमा सावित रहेको र सो कुरालाई समर्थन गरी चस्मदिद वेदप्रसाद आले र जाहेरवालीले बकपत्र गरेका, लाश, प्रकृति मुचुल्का तथा शव परीक्षण प्रतिवेदनमा अण्डकोष सुनिन गएको समेतबाट निज खिमबहादुर आलेलाई जन्मकैदको सजायँ हुने ठहर्याएको शुरु फैसला सदर गरेको क्षेत्रीय अदालतको फैसला मिलेकै देखिन्छ । अर्का प्रतिवादी लिलाबहादुर राउतले मृतकको टाउकोमा र हुकुमबहादुरले छातीमा हिर्काएको भन्ने कुरामा मौकामा अधिकार प्राप्त अधिकारी समक्ष सावित भएको कुरालाई शव परीक्षण प्रतिवेदन तथा लाश प्रकृति मुचुल्का समेतबाट समर्थित भएकोबाट समेत निजहरुलाई जन्मकैद गर्ने ठहर्याएको शुरु इन्साफ सदर गरेको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेतको यस सर्वोच्च अदालत संयुक्त इजलासको फैसला ।
२८. उक्त फैसला दोहोर्याई हेरी पाउँ भनी श्री ५ महाराजाधिराजका हजूरमा विशेष जाहेरी विभाग मार्फत प्रतिवादी लिलाबहादुर राउत र हुकुमबहादुर राउतले चढाएको बिन्तिपत्रमा उक्त मुद्दा पूर्णइजलासबाट दोहोर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने हुकुम प्रमांगी बक्स भई आए बमोजिम पूर्णइजलास लगतमा दर्ता भई पेश हुन आएको रहेछ ।
२९. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादीहरुको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शेरबहादुर के.सी.ले लिलाबहादुर र हुकुमबहादुरलाई सजायँ गर्दा पोष्ट मार्टम रिपोर्टलाई आधार बनाएको तर चोट छाडेको कारणले मृत्यु भएको भनी पोष्ट मार्टम रिपोर्टमा उल्लेख छैन । मेरो पक्षहरुले मार्नु पर्ने कुनै कारण र मनसाय छैन । छट्याउन सम्म गएकोलाई सजायँ गर्न मिल्दैन भन्ने समेतको बहस गर्नु भयो । प्रत्यर्थी वादी श्री ५ को सरकारको तर्फबाट बहस गर्न खटिई आउनु भएका विद्वान का.मु.मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले प्रतिवादीहरुले प्रहार गरेको कुरा अधिकार प्राप्त अधिकारी समक्ष स्वीकार गरेका छन् । निजहरुले प्रहार गरेको भन्ने कुरा जाहेरवालाका वकपत्रले समेत स्पष्ट गर्दछ लाश जाँच प्रकृति मुचुल्का र पोष्टमार्टम रिपोर्टमा समेत ठाउँ ठाउँमा (साविक पेज नं. ५८०) चोटपटक लागेको देखिएको हुँदा प्रतिवादीहरुलाई जन्मकैद हुने गरेको संयुक्त इजलासको इन्साफ सदर हुनुपर्दछ भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो ।
३०. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा संयुक्त इजलासको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
३१. यसमा निर्णयतर्फ हेर्दा २०३९।८।१८ गतेका दिन अन्दाजी १२ बजे लोग्ने पृथ्वीबहादुर गाउँ घुमी मादक पदार्थ सेवन गरी आएको अवस्थामा देवर चोचे भन्ने दलसिंह आलेसंग झगडा हुँदा र हुकुमबहादुर राउत, लिलाबहादुर राउत समेतले लोग्नेलाई कुटेको र सोही चोटपीरले लोग्ने पृथीबहादुरको २०३९।८।२३ मा मृत्यु भएकोले कसूरदारहरुलाई सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको मृतककी श्रीमती मनी आले मगर्नीको जाहेरी दर्खास्त परी प्रस्तुत मुद्दाको उठान भएको पाइन्छ । प्रतिवादी हुकुमबहादुर रावत तथा लिलाबहादुर रावतले मृतक पृथीबहादुर र निजको भाइ दलसिंह आले बीच झगडा हुँदा आफूहरु समेत भई निजलाई कुटपिट गरेको भनी प्रहरी समक्ष साविती बयान गरेको देखिन्छ । प्रस्तुत मुद्दामा मिति २०३९।८।१८ गतेका दिन कुटपिटको वारदात भएको र सोही कुटपिटको चोट पीरले निज पृथीबहादुरको मिति २०३९।८।२३ मा मृत्यु भएको भन्ने देखिएको छ । प्रतिवादी लिलाबहादुर र हुकुमबहादुरले अदालतमा आई बयान गर्दा वारदातमा गएको तर कुटपिट नगरी छुट्याएको सम्म हो भनी वारदातमा रहेका कुरालाई स्वीकार गरेको पाइन्छ । घटनाको चस्मदिद जाहेरवाली मनी आलेले प्रतिवादी लिलाबहादुर हुकुमबहादुरले मृतक पृथीबहादुरको छाती र टाउकोमा हानेका हुन् भनी अदालतमा समेत आई बकपत्र गरेको देखिएको छ भने सोही घटनाको अर्को चस्मदिद गुमा आलेले समेत आफुले पनि आँगन बढार्ने मेलको लठ्ठीले तिघ्रामा हानेको कुरालाई स्वीकार गरी प्रतिवादी लिलाबहादुर र हुकुमबहादुरले पनि मृतकलाई कुटपिट गरेको कुरा अदालतमा समेत आई बकपत्र गरी दिएको पाइन्छ । सरजमीनका मानिस वेदु आलेले प्रतिवादीहरुले मृतकलाई कुटपिट गरेको र सोही चोटपीरले निजको मृत्यु भएको भनी अदालतमा आई सरजमीनमा बकेको कुरालाई समर्थन गरी बकपत्र गरेको देखिन्छ । लाश जाँच प्रकृति मुचुल्का तथा पोष्टमार्टम रिपोर्टमा समेत मृतकको शरीरमा घाउचोट तथा कुटपिट गरेका निलडामहरु भएको कुरा जनिएकै पाइन्छ । यसरी मृतकलाई प्रतिवादी लिलाबहादुर र हुकुमबहादुर समेतले कुटपिट गरेबाट सोही चोटपीरले मरेको भन्ने कुरा पुष्टि हुन आएको तर मृतकको मृत्यु यसैको चोटले वा यही चोटको कारणले भएको भन्ने कुरा खुल्न नआएको र प्रतिवादीहरु समेतले चोट छाडेको भन्ने देखिन आएबाट निजहरुको कुटपिटको कारण समेतबाट मृतक पृथवीबहादुरको मृत्यु भएको देखिएकोले प्रतिवादीहरु लिलाबहादुर रावत र हुकुमबहादुर रावतलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) बमोजिम जन्मकैदको सजायँ हुने ठहर्याएको शुरु तथा म.प.क्षे.अ.को इन्साफ सदर गरेको यस सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरुले कुटपिट गरी चोट छाडे पनि सांघातिक हतियारले प्रहार गरेको नदेखिएको र घातक प्रहार नभई सामान्य कुटपिट गर्दा मृतकको मृत्यु हुन गएको देखिएको हुँदा निजहरुको चोटलाई विचार गर्दा प्रतिवादी लिलाबहादुर रावत र हुकुमबहादुर रावतलाई जन्मकैदको सजायँ गर्दा चर्को पर्न जाने देखिएकोले निजहरुलाई मुलुकी ऐन अदालती बन्दोवस्तको १८८ नं. बमोजिम १० वर्ष कैद सजायँ हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
देहायका प्रतिवादीहरुके माथि इन्साफ खण्डमा लेखिए बमोजिम जन्मकैदको सजायँ घटी १० वर्ष कैद सजायँ मात्र हुने ठहरेकोले निजहरुलाई शुरु दाङ देउखुरी जिल्ला अदालतको मिति २०४१।१।२१।५ का फैसलाले लाग्ने गरेको जन्मकैदको सजायँ गर्नु परेन । निजहरुका हकमा (साविक पेज नं. ५८१) जन्मकैदको लगत कट्टा गरी १० वर्ष कैदको लगत कसी असूल उपर गर्नु भनी शुरु दाङ देउखुरी जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु..१, दाङ जिल्ला लोहारपानी गा.वि.स. वडा नं. २ बस्ने लिलाबहादुर रावत–१, ऐ.ऐ.बस्ने हुकुमबहादुर रावत–१, प्रतिवादी लिलाबहादुर रावत र हुकुमबहादुर रावतलाई यस पूर्णइजलासको फैसला अनुसार घटी सजायँ भएको सूचना पठाई जानकारी दिनु..२, मिसिल नियमानुसार गरी बुझाई दिनु..३
उक्त रायमा हामीहरु सहमत छौं ।
न्या.गजेन्द्रकेशरी बास्तोला,
न्या.गोविन्दबहादुर श्रेष्ठ
इति सम्वत् २०४८ साल पौष ११ गते रोज ५ शुभम् ।