शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४३७८ - खिचोला दर्ता बदर हक कायम समेत

भाग: ३३ साल: २०४८ महिना: माघ अंक: १०

निर्णय नं. ४३७८    ने.का.प. २०४८      अङ्क १०

 

पूर्णइजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

सम्वत् २०४७ सालको दे.पू.इ.नं. ७२

फैसला भएको मिति: २०४८।९।२५।५ मा

पुनरावेदक/वादी: का.न.पा.वडा नं. २४ बस्ने गोपालमान जोशी

विरुद्ध

विपक्षी/प्रतिवादी : का.न.पा. वडा नं. २४ बस्ने कृष्णराज पाण्डे

मुद्दा : खिचोला दर्ता बदर हक कायम समेत

(१)    धारा, भरेङ र चिबहाल रहँदैमा चोक वादीको एकलौटी हुन्छ भन्न नमिल्ने ।

(प्रकरण नं. १६)

(२)   साझा भनी दावी गर्नेले साझाको अवस्था सम्म देखाई दिए पुग्ने ।

(प्रकरण नं. १७)

पुनरावेदक वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर

विपक्षी प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री नारायण वल्लभ पन्त, विद्वान अधिवक्ता श्री प्रकाश            राउत

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर अनुमतिद्वारा पुनरावेदन परी पेश हुँदा सर्वोच्च अदालत संयुक्त इजलासका माननीन न्यायाधीशहरु बीच राय मतैक्य हुन नसकी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

२.    का.न.पा. वार्ड नं. १० को परिवर्तित २४ अन्तर्गतको मेरो घरको दक्षिणतर्फ एकलौटी चोक कि.नं. ९२ मा नाप नक्शा भएको चोकमा मेरो धारा चर्पी (साविक पेज नं. ५८२) चीवहाल समेत छ । त्यस्तो चोक साझा भनी विपक्षीले खिचोला गरेकाले खिचोला मेटाई पाउँ भन्ने समेत वादीको फिराद दावी ।

३.    चोकको पश्चिमतर्फ मेरो घर भएको र पहिलेको नक्शाबाट समेत साझा चोक देखिएको चोकमा भर्‍याङ बनाएकोतर्फ भत्काई पाउँ भन्ने मेरो फिराद परेको छ । चोक निजको एकलौटी होइन साझा कायम गरिपाउँ भन्ने समेत प्रतिउत्तर ।

४.    चोक एकलौटी कायम गरिपाउँ भन्ने वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको ०३९।३।३१ को फैसला ।

५.    सो उपर चित्त बुझेन दावी बमोजिम एकलौटी कायम गरिपाउँ भन्ने समेत वादीको वागमती अञ्चल अदालतमा परेको पुनरावेदन ।

६.    साझा चोक कायम गरेको काठमाडौं जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत वागमती अञ्चल अदालतको २०४०।१।६ को फैसला ।

७.    वा.अं.अ.को फैसलामा प्रत्यक्ष कानुनी त्रुटि हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वादीको म.क्षे.अदालतमा परेको निवेदन ।

८.    लगाउको नि.नं. १८११ को मुद्दामा अनुमति प्रदान भएकोले यसमा पनि पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको ०४१।११।२४ को सिंगलबेञ्चको आदेश ।

९.    अचल सम्पत्तिको हक स्वामित्वको सन्दर्भमा खम्बिर प्रमाण बिना ठहर गर्न न्यायोचित नदेखिने अवस्था देखिएकोले विवादित चोकलाई साझा कायम गर्ने गरेको शुरुको सदर गरेको वागमती अञ्चल अदालतको फैसलामा कानुनी त्रुटि नदेखिँदा इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४०।९।२० गतेको फैसला ।

१०.    विवादित चोकमा विपक्षीले कहिले पनि भोगचलन गरेको छैन । मेरो नाउँको धारा जडान भएको, मेरो घरमा उक्लने इंटा सिमेन्टको भरेङ छ र मेरो चर्पी पनि छ जुन कुरा अदालतबाट भएको नक्शामा देखिएको छ । भरेङ भत्काई पाउँ भनी विपक्षीले नालेश दायर गरेकोमा निजको दावी पुग्न नसक्ने भई एकै दिन २०४३।९।२० गते म.क्षे.अ.बाट फैसला भएको छ । म.क्षे.अ.को फैसला ने.का.प. २०३३।१८२ मा प्रकाशित र प्रतिपादित सिद्धान्त विपरीत भएको समेत हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी गोपालमानको यस अदालतमा पर्न आएको निवेदनपत्र ।

११.    विवादित चोकको पूर्व दक्षिणको संधियारहरुले प्रतिवादीले साझा भनी दावी गरेको चोकलाई साझा नभनी मेरो एकलौटी चोक हो भन्ने कुरा घर बनाउन का.न.पं. मा नक्शा दर्खास्त हाल्दा पश्चिम किल्लामा जयशंकरमानको घर चोक भनी उल्लेख गरेको सो बमोजिम सूचना टाँस सरजमीन समेत भई नक्शा पास भएको त्यसमा कसैले उजूर बाजूर नभएको भन्ने समेत कुराको प्रमाण पेश भई मिसिल संलग्न हुँदा हुँदै पनि सो प्रमाणलाई वास्तै नगरी ठोस प्रमाण पेश गर्न नसकेको भनी म.क्षे.अ.बाट भएको फैसला ने.का.प. २०३३, नि.नं. ९९७, पृ. १८२ मा प्रतिपादित सिद्धान्तको विपरीत देखिएकोले न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ग) को आधारमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४४।२।११ को आदेश ।

१२.   यसमा झगडा परेको कि.नं. ९२ को चोकलाई चोक कायम गरी चित्त नबुझी अदालतमा जानु भनी वादीलाई सूचना दिने भनी १ नं. नापी टोलीबाट २०३७।७।२६ मा निर्णय भएको मिसिल ३ नं. नापी गोश्वाराबाट झिकाई आएपछि पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०४६।२।२३ को आदेश ।

१३.   दुवै पक्ष वादी प्रतिवादीको घरको झ्याल ढोका विवादको चोक न.नं. ९ तर्फ खुला रहेकोले उक्त विवादको चोकमा वादीको मात्र एकलौटी भन्न मिलेन । (साविक पेज नं. ५८३) यिनै वादीले न.नं. ८ को घर बनाउन नक्शा पास गरी पाउन दर्खास्त दिंदा दक्षिण विवादको चोकलाई आफ्नो एकलौटी भनी साँध देखाएकोमा ०३५।११।९ मा प्रतिवादी कृष्णराज पाण्डेको सो चोक साझा हो भनी उजूर पर्दा वादीले उजूर गरेको बाहेक गरी नक्सा पास गरिपाउँ भनी पुनः ०३९।५।१९ मा दर्खास्त दिंदा का.न.पं.ले झगडा परेजतिको हकमा अदालतबाट पछि ठहरे बमोजिम हुने गरी अरु बाँकी जग्गामा मात्र घर बनाउने गरी अर्थात उजूर गरेको भाग बाहेक गरी नक्शा पास गरेको देखिन्छ । सो चोक साझा भनी प्रतिवादीले विवाद उठाएपछि वादीले मौकैमा उजूर गरी एकलौटी कायम गराउनु पर्ने थियो । सो गराएको देखिएन । अतः प्रमाणको अभावमा विवादको चोक वादीको एकलौटी भन्न नमिल्ने हुँदा साझा कायम गरेको नापीको निर्णयलाई सदर गरेको काठमाडौं जि.अ.को इन्साफ सदर गरेको बागमती अञ्चल अदालत र मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ समेत मनासिब ठहर्छ भन्ने समेत सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय ।

१४.   वादीले आफ्नो घर बनाउन नक्शा पासको दरखास्त २०३५ सालमा दिएकोमा दक्षिण आफ्नो एकलौटी चोक भनेकोमा विपक्षी प्रतिवादीले सो चोक साझा भनी उजूर गरेकोबाट विवाद परेको बाहेकको घर बनाउन नक्शा पास गरी पाउँ भनी दरखास्त दिएकोबाट नगरपंचायतले उजूर परेकोमा मात्र बाहेक गरी नक्शा पास गरिदिने गरी २०३६।८।१३ मा टिप्पणीं सदर निर्णय गरेको तर अदालतमा जानु भनी सुनाएको देखिँदैन । अर्कोतर्फ विवादको चोकलाई मेरो एकलौटी हकको नदेखाई चोक भनी नापी गरी सूचना प्रकाशित गरेकोमा एकलौटी कायम गरी पाउन उजूर दिएकोबाट विवादको चोकलाई चोक कायम गर्ने २०३७।७।२३ मा निर्णय गरी चित्त नबुझे अदालतमा जाने भनी जानकारी दिएको म्याद भित्र परेको फिरादलाई म्याद भित्र नपरेको भन्न मिल्ने देखिन आएन । साविक देखि बनिरहेको वादीको घरमा जाने चोक भरेङको अलावा सो चोकमा वादीको तर्फबाट निजी धारा जडान गरी चीवहाल स्थापना गरी वादीले चोक प्रयोग गरी आएको र प्रतिवादीको घरबाट चोकमा निस्कने कुनै बाटो नरहेको प्रतिवादीले भोग गरी आएको नदेखिएको पूर्व र दक्षिणतर्फका सँधीयारले घर बनाउन नक्शा दरखास्त दिँदा वादीको चोक भनी नक्शा दरखास्त दिएकोबाट सो विवादको चोक विपक्षीको साझा हक रहेको भन्न सक्ने अवस्था रहेको नदेखिएकोले त्यस्तो वादीको एकलौटी हक भोगमा रहेको चोकलाई सर्भेबाट चोक कायम गरी गरेको निर्णय बमोजिम शूरुले विपक्षी प्रतिवादीको समेत हक भएको साझा चोक कायम गर्ने ठहर्‍याएको इन्साफलाई सदर गरेको बागमती अंचल अदालत तथा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ गल्ती ठहर्छ । सहयोगी माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको रायसँग सहमत नहुँदा पूर्णइजलास समक्ष पेश गर्नु भन्ने समेत माननीय न्यायाधीश श्री हिरेण्यश्वरमान प्रधानको राय भएको सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४६।११।१० को फैसला ।

१५.   नियम बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले विवादको चोकको पूर्वतर्फको सँधियार पुष्पराज राजभण्डारीले २०१५ सालमा नक्शा दिँदा पश्चिम किल्ला वादीका बाबु जयशंकरमानको चोक भनेको छ । सो प्रमाणले वादीको दावीलाई पुष्टि गरेको छ । विवादको चोकमा बुद्धको मन्दिर चीवहाल रही वादीले भोग गरी आएको छ । सो चोकबाट वादीको घर जाने भर्‍याङ र वादीको निजी धारा रहेको छ । प्रतिवादीको चोकतर्फ आउने जाने बाटो छैन । चोकतर्फ ढोका भए पनि डण्डिको अलावा गाह्रो लगाएको छ । सो चोक साझा भन्ने प्रमाण प्रतिवादीले दिनसकेको समेत छैन । नापीमा वादीको उजूर परी नापीको निर्णयको म्याद भित्र फिराद परेको छ । तसर्थ सो चोक वादीको एकलौटी कायम गरेको माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय सदर हुनुपर्दछ । चोक साझा कायम गरेको माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय (साविक पेज नं. ५८४) मिलेको छैन भन्ने बहस गर्नु भयो । विपक्षीतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री नारायणवल्लभ पन्त तथा विद्वान अधिवक्ता श्री प्रकाश राउतले का.न.पं.मा वादीले नक्शा पासको दरखास्त दिएकोमा प्रतिवादी कृष्णराज पाण्डेको २०३५।११।९ मा यो विवादित चोक साझा चोक हो भनी उजूर गरेकोबाट यो चोकमा उसैबखत विवाद उठेकोले सो मितिबाट हदम्यादभित्र उजूर परेको छैन । नापीले सुनाएको मितिबाट मात्र फिराद परेकोले हदम्याद नाघी फिराद परेको छ । वादीको कुनै लिखतबाट एकलौटी हक भएको प्रमाण छैन । प्र.को काका तुल्सीराज पाण्डेले २००२।१।१८ मा तत्कालिन म्यूनिसिपालिटीमा नक्सा दरखास्त दिएकोमा विवादको चोकलाई साझा चोक भनी उल्लेख भएकोमा कुनै उजूर परेको छैन । विवादको चोकमा बुद्धको मन्दिर चीवहाल रहेकोले नै साझा चोक भन्ने प्रष्ट छ । तसर्थ साझा चोका ठहर्‍याएको माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।

१६.    यसमा आज निर्णय सुुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा का. न. पा. वार्ड नं. १० बाट नापी भएको परिवर्तित वार्ड नं. २४ को मेरो घरको दक्षिण तर्फ हाल सर्भे नापी हुँदा कि.नं. ९२ कायम गरिएको चोकको मेरो एकलौटी हक भोग चलनको चोक हो । साझा होइन चोकको पश्चिम साँधमा विपक्षीको घर भए पनि विवादको चोकबाट हिड्नु पर्ने छैन् । सबै झ्यालहरुमा डंडी राखेको छ । वडाकाजी पुष्पराज राजभण्डारीले ०१५ सालमा आफ्नो घर बनाउन नक्सा दरखास्त दिंदा पश्चिम जयशंकरमान श्रेष्ठको घर चोक भनि लेख्नु भएको छ । सो चोकमा मेरो धारा चर्पि महजुद छ । चिवाहाल समेत छ । सो चोकमा मेरो भरेङ समेत छ । सो कि.नं. ९२ को चोक मेरो नाउँमा एकलौटी कायम गरि साझा चोक भनि खिचोला गरेमा सजाय गरिपाउँ भन्ने समेत वादीले दावी लिएको देखिन्छ । विपक्षीले ०३५।१०।२३ मा नक्सा दरखास्त गर्दा पश्चिम वद्रीराजको घर भनि लेखेकोबाट यो चोक साझा भन्ने प्रस्ट छ । सो नक्सा दरखास्त मेरो उजुर परेपछि विपक्षीले संशोधन गरि नक्शा दिएकोले मात्र नक्सा पास भएको छ । झ्यालमा रेलिङ डंडी हाल्दैमा जमीनको हक स्वामित्व जान्छ भन्न मिल्दैन । विवादको चोक साझा भन्ने कुरा ९७।१।७ गते र २००२।१।१८ गते पास भएको नक्सामा समेत सो विवादको चोक साझा जनिएको छ साझा चोकलाई एकलौटी भनेमा सजाय गरिपाउँ भन्ने समेत प्रत्यवादीले जिकिर लिएको पाइन्छ । यसबाट विवादको चोक वादी दावी अनुसार वादीको एकलौटी हकको हो वा प्रत्यवादी जिकिर अनुसार साझा चोक के हो ? हेरी निर्णय हुनु पर्ने देखिन्छ । आदालत मार्फत भै आएको २०३९।३।२३ को नक्सा हेर्दा न.नं. ९ मा विवाद परेको देखिन्छ । सो विवादित चोक वादीको एकलौटी हो भनि दावी लिंदैमा पर्याप्त हुदैन । सो दावी समर्थित गर्ने प्रमाण वादीले पुर्‍याउनु पर्ने हुन्छ । सो विवादित चोक वादीको एकलौटीको हो भन्ने कुराको कुनै लिखत प्रमाण वादी तर्फबाट पेश हुन सकेको छैन् । पुष्पराज राजभण्डारीले नक्सा दरखास्त दिंदा पश्चिम जयशंकरमानको घर चोक भनि किल्ला लेखेको भनेको छ । तर सो किल्ला लेखेकोबाट विवादको चोकमा वादीको एकलौटी हक स्थापित हुनसक्छ भन्न रजिष्ट्रेशनको १६ नं. ले मिल्ने देखिदैन । सो चोकमा धारा भर्‍याङ र चिवाहाल समेत रहेको भन्ने हकमा प्रतिवादी तर्फका विद्वान अधिवक्ताले वादीको घरको तीन फिट भित्र धारा भरेङ पर्दछ भनी आफ्नो बहसमा जिकिर लिएको छ । तर वादी तर्फका विद्वान वरिष्ठ अधिवक्ताले त्यस कुराको कुनै खण्डन गर्न सकेको छैन् । धारा, भरेङ् र चिवहाल रहँदैमा चोक वादीको एकलौटी हुन्छ भन्न पनि मिल्दैन । वादीले आफ्नो घर बनाउन नक्सा पासको लागि काठमाण्डौ नगरपञ्चायतमा दरखास्त दिंदा विवादित चोकलाई एकलौटी भनी साँध देखाएकोमा प्रतिवादी कृष्णराज पाण्डेको सो चोक साझा हो भनी ०३५।११।९ मा उजुर परेपछि वादिले उजुर परेको भाग बाहेक गरी पुनः नक्सा पास गरिपाउँ भनि दरखास्त दिएकोमा काठमाण्डौ नगरपञ्चायतले झगडा परेजतिको हकमा (साविक पेज नं. ५८५) अदालतबाट पछि ठहरे बमोजिम हुने गरी उजुर परेका भाग बाहेक गरी बनाउने गरी २०३६।८।१३ मा नक्सा पास गरेको देखिन्छ । तर सो साझा चोक भनि प्रतिवादीको उजुर परे तर्फ वादीले अदालतमा उजुर गरी आफ्नो एकलौटी चोक कायम गराउन सकेको पनि छैन् । सर्भे नापी जांच हँुदा फिल्डबुकमा चोक कायम गरी सूचना प्रकाश भएपछि मात्र नापी टोलीमा उजुर परेकोबाट सरजमीनमा अवलोकन गरी नापीबाट चोक कायम गरेको पाइन्छ । यस स्थितिमा विवादित न.नं. ९ को चोक वादिको एकलौटी हक हो भन्ने तथ्ययुक्त आधार प्रमाण कुनै देखिन आएन ।

१७.   विवादित न.नं. ९ को पश्चिम तर्फ न.नं. १० (दश) जनिई प्रतिवादीको घर भन्ने उल्लेख भएको पाइन्छ । सो नक्सामा उल्लेख भएको संकेत चिन्हहरुबाट प्रतिवादीको घरको पहिलो भुई तल्लामा ढोका रहेको साथै अरु प्रत्येक तल्लामा झ्यालहरु रहेको देखिन्छ । यसबाट सो चोक तर्फबाट उज्यालो, हावा र वालाफाला समेत गर्ने गरी उपभोग गरिआएको भन्ने देखिन्छ । प्रतिवादीको काका तुल्सीराज पाण्डेले नक्सा पासको दरखास्त दिंदा म्युनिसिपलबाट १९९७।१।७ र २००२।१।१८ मा नक्सा पास पुर्जी दिएको त्यसमा विवादको चोकलाई साझा चोक भन्ने उल्लेख भएको भन्ने प्रतिउत्तरमा जिकिर लिएको पाइन्छ । तर त्यसमा वादी तर्फवाट कुनै खण्डन गर्न सकेको छैन् । विवादित चोकमा चीवहाल मंदिर रहि धर्ममा आस्था हुने सबैले पूजाआजा गर्न पाउने प्रकृतिको देखिएकोबाट समेत सो चोक साझा रहेछ भन्ने पनि स्पष्ट हुन आउंछ । साझा भनि दावी गर्नेले साझाको अवस्था सम्म देखाई दिए पुग्ने हुन्छ । विवादित न.नं. ९ को चोकमा चिवहाल समेत रहेकोबाट प्रतिवादी जिकिर अनुुुुुसार सो चोक साझा चोक रहेछ भन्ने प्रस्ट हुन आयो । तसर्थ उपर्युक्त प्रमाणबाट समेत विवादित न.नं. ९ को चोक वादीको एकलौटी रहेछ भन्न नमिल्ने हुँदा साझा चोक कायम गरेको शुरु काठमाण्डौ जिल्ला अदालत र बागमती अञ्चल अदालतको इन्साफ सदर गरी छिनेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहराएको सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय मनासिव ठहर्छ । कोर्टफी लागेको मुद्दा हुँदा कसैलाई केहि गर्न परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामीहरु सहमत छौं ।

 

न्या. गजेन्द्रकेशरी बास्तोला,

न्या. लक्ष्मणप्रसाद अर्याल

 

इति सम्वत् २०४८ साल पौ २५ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु