शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४३७९ - दर्ता बदर समेत

भाग: ३३ साल: २०४८ महिना: माघ अंक: १०

निर्णय नं. ४३७९    ने.का.प. २०४८      अङ्क १०

 

पूर्णइजलास

सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४७ सालको दे.पू.इ.नं. ७३

फैसला भएको मिति: २०४८।१०।७।३ मा

पुनरावेदक/वादी: ल.पु.न.पा.वडा नं. १ बस्ने पूर्णलाल अवाले

विरुद्ध

विपक्षी/प्रतिवादी: ऐ.ऐ.बस्ने हिराकाजी महर्जन

मुद्दा : दर्ता बदर समेत

(१)    वादीको दावी नापी गोश्वाराले सुनाए बमोजिम जग्गा खिचोला गरी दर्ता बदर गरी मेरो हक कायम गरी पाउँ भनी मूल रुपमा जग्गा मिच्नेको १ नं. र १८ नं. (साविक पेज नं. ५८६) समेतलाई आड लिई आएको देखिँदा जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ (७) ले तोकेको हदम्याद नाघि प्रस्तुत फिराद परेको भन्ने कुरा प्रासंगिक नदेखिने ।

(प्रकरण नं. १६)

पुनरावेदक वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्वान अधिवक्त श्री         बालमुकुन्द श्रेष्ठ

विपक्षी प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री वारकृष्ण श्रेष्ठ, विद्वान अधिवक्त श्री गरुप्रसाद बराल

फैसला

न्या.त्रिलोकप्रताप राणा

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर अनुमति प्रदान भई निर्णयार्थ यस सर्वोच्च अदालत संयुक्त इजलास समक्ष पेश हुँदा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी यस पूर्णइजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

२.    पूर्व चोक पश्चिम हिराकाजीको जग्गा उत्तर अनन्तमानको जग्गा दक्षिण आफूलालको जग्गा मुल बाटो यति ४ किल्ला भित्रको हाल सर्भे नापी तिरो समेत नभएको ल.पु.न.पंं.वडा नं. ११ को टोमबहाल टोलको पूर्व पश्चिम १७ फिट उत्तर दक्षिण चौडा फुट ४० भएको केववारी १ जग्गा मंगललाललाई रिझाए बापत रु. २००१।जाने मिति २०३७।५।१।१ मा रजिष्ट्रेशन भोगचलन समेत गरिआएको थिएँ । उक्त केववारीको पश्चिम पट्टिका संधियार हिराकाजीले खिचोला गरेकोले ३ नं. नापीमा उजुर गर्दा उक्त जग्गाको कि.नं. २१९ भन्नु पर्नेमा २२१ हुन गएको रहेछ र.नं २०४ बाट पारित बकसपत्रको ४ किल्ला भिड्न नआएकोले दर्ता गर्न नमिल्ने भनि मिति २०३९।२।२ मा जानकारी आएकोले विपक्षीले उक्त जग्गामा खिचोला समेत गर्नुभयो । कि.नं. २१९ केवबारी भन्नु पर्नेमा कि.नं. २२१ भनिन गएको सम्म हो । मेरो लिखित बकसपत्र अनुसारको जग्गाको खिचोला मेटाई दर्ता बदर गरी चलन समेत चलाई पाउँ भन्ने फिराद दावी ।

३.    विपक्षीका दाताका नाममा दर्ता रहेको प्रमाण, आधार रेर्कड केही छैन । दाताको आमा बुद्धिमायाको नाममा केवल लम्वाई हात १३ र जग  हात १२ को केबवारी रहेकोमा हँुदै नभएको जग्गाको बढी क्षेत्रफल देखाई लिनेदिने गरिएको कार्य गैरकानूनी छ । साथै कि.नं. २१९ को जग्गाको हालै मात्र खिचोला गरेको भन्ने समेत दावी व्यहोरा झुठ्ठा हो भन्ने समेत प्रतिउत्तरपत्र  ।

४.    नापीले कि.नं. २२१ को सम्बन्धमा जानकारी गराएकोमा अदालतमा प्रवेश गर्दा कि.नं. २१९ भनी लिएको दावीमा निर्णय गर्न मिलेन । अ.बं. १८० नं. ले खारेज हुुने ठर्हछ भन्ने ललितपुर जिल्ला अदालतको मिति २०४०।९।३ को फैसला ।

५.    सो खारेजी फैसला अन्यायर्पूण हुँदा बदर गरी इन्साफ पाउँ भन्ने वादीको बागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।

६.    वादी पुनरावेदकको दावी कानुन विपरीत र कि.नं. २१९ को दावी हदम्याद नाघी भएको समेत देखिँदा खारेज गरेको शुरु फैसला मनासिव ठर्हछ भन्ने बागमती अञ्चल अदालतको मिति २०४१।८।११।२ को फैसला ।

७.    शुरुले खारेज गरेकोलाई बागमती अञ्चल अदालतले सदर गरेको फैसला कानुनी त्रुटीपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भनी मध्यमाञ्चल क्षेत्रिय अदालतमा वादीको परेको निवेदनमा लिखत भएको र चार किल्ला उल्लेख भएको समेतबाट जग्गाको निश्चय (साविक पेज नं. ५८७) हुनेमा खारेज गरेको त्रुटीपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ, भन्ने समेत मिति २०४२।९।९ को मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश ।

८.    प्रतिवादीका नाममा दर्ता भएको बदर गरी हक कायम तर्फ आएको यो फिराद दावी कि.नं. २१९ को सर्भे दर्ताबाट वादीलाई पूर्व जानकारी भएको भन्ने प्रमाणिक सबूद आएको नदेखिँदा हदम्याद नाघेको भन्न मिल्ने देखिएन । यस्तोमा हदम्याद समेत नाघेको भन्ने आधार लिई वादी दावी खारेज गर्ने गरेको फैसला बदर गरी दिएको छ ।

९.    अब विवादको जग्गातर्फ वादीको लिखतको चार किल्लासंग मिल्न भिड्न नआएको र जग्गा जग्गाको नाप साइजबाट पनि लिखतको नाप साइजसंग भिड्न समेत नआएबाट वादीको लिखतको जग्गा यहि न.नं. १,,३ को जग्गा हुन भन्ने सबूद आएको मिसिलबाट देखिंदैन । अतः विपक्षीको नामको नापीको दर्ता बदर गरि मेरा नाममा नापि दर्ता कायम गरि जग्गामा खिचोला मेटाई मेरो हक कायम गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्‍याउनु पर्नेमा सुरु र अञ्चल अदालतले खारेज हुने ठहर गरेको हदसम्म फैसला त्रुटीपूर्ण हुँदा बदर हुने ठहर्छ । वादी दावी नपुग्ने ठर्हछ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।८।१० गतेको फैसला ।

१०.    वादी दावी पुग्न नसक्ने ठहर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा कानुनी त्रुटी हुँदा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीको यस अदालत समक्ष पर्न आएको निवेदनमा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा अ. बं. १७१ नं., अ.बं. १८४(क), १८५ र प्रमाण ऐन, २०३१ को दफा ५४ को व्याख्या सम्बन्धी त्रुटी देखिन आएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ (संशोधित) को दफा १३ (५) (ख) अनुसार अनुमति दिने भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४६।१।६ गतेको आदेश ।

११.    निर्णयार्थ यस सर्वोच्च अदालत संयुक्तइजलाश समक्ष पेश हुँदा यसमा वादीले नापी भएपछि निजको जग्गा निजको नाममा नापी नभएको भनी मिति २०३८।४।३० मा नापीमा उजुर गरेबाट सोही मितिमा थाहा पाइसकेको देखिन आउँछ । सोहि मितिमा थाहा पाइसकेको कुरामा उसै बखत कि.नं. २१९ मा उजुर गर्नु पर्नेमा नगरी कि.नं. २२१ मा उजुरी गरेको र नापीबाट निर्णय भई सूचना पाएको आधारमा प्रस्तुत फिराद गरेको देखिएबाट संसोधित जग्गा मिच्नेको १८ नं. अनुसार थाहा पाएको मितिले ६ महिना भित्र उजुर गर्नु पर्नेमा मिति २०३८।४।३० मा थाहा पाई मिति २०३९।३।२३ मा उक्त ६ महिना म्याद नघाई उजुर गरेको फिरादबाट इन्साफ गर्न नमिली फिराद खारेज गर्नु पर्नेमा म्याद भित्रको भनी निर्णय गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठर्हछ । हदम्याद नाघेको आधारमा फिराद खारेज गर्ने गरेको शुरु जिल्ला अदालत तथा वागमती अञ्चल अदालतको इन्साफ मनासिव ठर्हछ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेतको माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय ।

१२.   यस्मा वादीले दावी लिएको जग्गाको लिखतको ४ किल्लामा पूर्व चोक, पश्चिम हिराकाजीको जग्गा, उत्तर अनन्तमानको जग्गा, दक्षीण आफुलालको जग्गा मुल बाटो भन्ने उल्लेख भएको र अदालतको आदेश बमोजिम मिति २०४०।८।२६ गतेमा भई आएको मिसिल संलग्न रहेको नक्सा हेर्दा समेत न.नं. १,,३ विवादको झगडा परेको जग्गा देखिन आउँछ । पूर्वमा न.नं. ८ गिता अध्ययन मन्दिरको सार्वजनिक जग्गा, पश्चिममा न.नं. ४ को जग्गा, उत्तर न.नं. ६ अनन्तमानको जग्गा, दक्षिण न.नं. ५ समेतको आफुलालको जग्गा देखिन आई लिखत बमोजिमको किल्ला मिल्न भिड्न आएको देखिन्छ । यसरी लिखतको किल्ला भइआएको नक्सा किल्ला मिल्न भिड्न प्रस्ट आइरहेको स्थितिमा वादी दावी पुग्न नसक्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदा (साविक पेज नं. ५८८) लतको इन्साफ गल्ती हुँदा सो हदसम्म बदर भई वादी दावी बमोजिम खिचोला मेटाई वादीको हक कायम हुने ठहर्छ । मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ केहि उल्टी हुने ठहर्छ । वादी दावी नै खारेज हुने ठहर गरेको सहयोगी माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको रायसंग सहमत नहुँदा पूर्णइजलास समक्ष पेश गर्नु भन्ने समेतको माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय भई पेश हुन आएको रहेछ ।

१३.   नियम बमोजिम पेश हुन आएकोे प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फवाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री बालमुकुन्द श्रेष्ठले प्रतिवादीले वादिको दावीको  जग्गाको अवस्थितिलाई विवाद गरेको छैन र वादीको दाताको हकमा पनि प्रतिवादीले प्रश्न उठाएको छैन । जग्गा बढी लिए दिएको भन्ने सम्ममा मात्र प्रतिवादीले विवाद गरेको छ । हदम्यादको सम्बन्धमा मध्यमाञ्चल क्षेत्रीय अदालतले एक पटक निर्णय गरी त्यस उपर विपक्षी प्रतिवादीले पुनरावेदन नगरी चुप लागी अन्तिम भइसकेको कुरामा पुनः डिभिजनवेञ्चले अन्यथा निर्णय गर्न मिल्दैन । मिति २०४०।८।२७ गतेको नक्साको चार किल्लामा उत्तर न.नं. ६ मा अनन्तमानको जग्गा, दक्षिण न.नं. ५ मा आफूलालको जग्गा भनेको छ जुन लिखतको ४ किल्ला भिडेको छ । विवादको जग्गा बुद्धिमायाले अंशमा पाएको र बुद्धिमायाको छोराले वादीलाई लिखत गरिदिएको हो भन्ने समेतको वहस प्रस्तुत गर्नुभयो । विपक्षी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता वारकृष्ण श्रेष्ठले लिखतको जग्गा कि.नंं. २१७ र कि.नं. २१८ मा घुसेको छ । सो कित्ता नम्वरहरुमा करिब ४००० फिट जग्गा छ । त्यो जग्गा निज वादिको स्वबासी जग्गा होइन । मिति २०२८।१२।४।६ को लिखतबाट र अर्को लिखतबाट निज वादीले लिएको जम्मा क्षेत्रफल १३०० फिट चानचुन जग्गा मात्र कायम हुनु पर्नेमा कि.नं. २१७ र कि.नं. मा निजले तीन खण्ड जग्गा बढी दर्ता गराई सकेको छ भन्ने समेतको वहस गर्दै प्रतिवादी तर्फकै अर्को विद्वान अधिवक्ता श्री गुरुप्रसाद बरालले बहसनोट समेत प्रस्तुत गर्नु भयो ।

१४.   आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा वादी दावी नपुग्ने ठहर्‍याएको श्री मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ, छैन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

१५.   यसमा निर्णयतर्फ हेर्दा पुनरावेदक वादी पूर्णलाल अवालेले मिति २०३८।४।३० गतेमा नापी गोश्वारा समक्ष उजूरी गर्दा कि.नं. २२१ को केववारी जग्गाको जग्गा धनी प्रमाण पूर्जा पाउँ भनी उजूर गरेको र नापी गोश्वाराबाट निर्णय हुँदा निजले पेश गरेको लिखतसंग चौहद्दी भिड्न नआएको भन्ने आधारमा दर्ता गर्न नमिल्ने भन्दै जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६(७) बमोजिम ३५ दिनभित्र अदालतमा जानु भनी निर्णय गरेको देखिन्छ । अदालत समक्ष आउँदा निज वादी सोही कि.नं. २२१ को जग्गाको दर्ता बदर गरी हक कायम गरी पाउँ भनी जग्गा नाप जाँच ऐन, २०१९ दफा ६(७) बमोजिमको हदम्यादलाई अंगालेर आएको नभई कि.नं. २१९ को मेरा भोगचलनमा रहेको जग्गालाई विपक्षीले मेरो भनी खिचोला गरेकोले सो कित्ता नं. २१९ को जग्गाको दर्ता बदर गरी मेरो हक कायम गरी पाउँ भनी मुलुकी ऐन जग्गा मिच्नेको १ नं. र १८ नं. समेतलाई अंगाली आएको देखिएको छ । प्रस्तुत वादीको दावी नापी गोश्वाराले सुनाए बमोजिम कि.नं. २२१ को दर्ता मेरा नाममा कायम गरी पाउँ भनी उक्त ऐनको दफा ६(७) लाई पक्री आएको नदेखिई कि.नं. २१९ को जग्गा खिचोला गरी दर्ता बदर गरी मेरो हक कायम गरी पाउँ भनी मूल रुपमा जग्गा मिच्नेको १ नं. र १८ नं. समेतलाई आड लिई आएको देखिँदा जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६(७) ले तोकेको हदम्याद नाघी प्रस्तुत फिराद परेको भन्ने कुरा प्रासंगिक देखिन्न । खिचोला भएको एवं दर्ता भएको थाहा पाएको (साविक पेज नं. ५८९) मितिले ६ महीना भित्र वादीको फिराद आउन सक्ने नै हुँदा हदम्याद नाघेको र दावी भन्दा बढी इन्साफ दिएको हुनजान्छ भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताको बहस मिल्दो देखिन आएन ।

१६.    अब मुद्दाको तथ्यतर्फ हेर्दा वादीले चार किल्ला खोली उक्त जग्गा मंगललालबाट मिति ०३७।५।१ मा बकस पाएको भनी दावी लिएको देखिन्छ । २००७।५।५।२ मा बण्डापत्रबाट वादीका दाता मंगललाल महर्जनकी आमा बुद्धिमाया र प्रतिवादीकी आमा चिरीमायाका बीच जग्गा बाँडफाँड भई पूर्वतर्फ बुद्धिमायाको र पश्चिमतर्फ चिरिमायाको १८१२जग्गा कायम भएको देखिन्छ । अदालतबाट मिति २०४०।८।२६ गतेमा भई आएको नक्शा हेर्दा न.नं. १, , ३ विवादित जग्गा भन्ने देखिन्छ र सोही नक्शा नं. १, २ र ३ मेरो भन्ने वादी र होइन भन्ने प्रतिवादीको मुख्य जिकिर रहेको देखिन्छ । मिति २०३७।५।१।१ को वादीको बकसपत्रबाट पश्चिममा हिराकाजीको जग्गा भन्ने देखिएको र निजले बकस पाउँदा फुटको हिसाबबाट उत्तर दक्षिण ४० फुट र पूर्व पश्चिम १७ फुट जग्गा पाएको भन्ने देखिन्छ । हाल विवादित नक्शा नम्बर १, , ३ को सम्पूर्ण जग्गाको क्षेत्रफल हेर्दा सो को झण्डै दोब्बर देखिन आउँछ । नक्शा नं. १ को क्षेत्रफल उत्तर दक्षिण ४० फिट र पूर्व पश्चिम १५ फीट ६ इन्च तथा सो को दक्षिणमा एकै लाइनमा रहेको नक्शा नम्बर ३ को क्षेत्रफल उत्तर दक्षिण ४३ फीट ९ इन्च र पूर्व पश्चिम १५ फीट ६ इन्च भएको देखिँदा सो दुवैको हिसाब गर्दा उत्तर दक्षिण, ३ फीट ९ इन्ज र पूर्व पश्चिम १५ फीट ६ इन्च हुन आउँछ साथै उक्त नक्शा नं. १ को उत्तरमा रहेको न.नं. ६ अनन्तमानको जग्गा र दक्षिणमा रहेको न.नं. ५ आफुलालको जग्गा देखिँदा वादी दावीमा उल्लेखित उत्तर दक्षिणको किल्ला मिल्न आउने समेत देखिन्छ । वादीले लिएको बकसपत्रको किल्लामा पश्चिमतर्फको प्रतिवादी हिराकाजीको जग्गा भन्ने उल्लेख भएको तर विवादित न.नं. १, , ३ को पश्चिममा रहेको न.नं. ४ को जग्गा वादी पूर्णलालको नै देखिन आएकोले सो बकसपत्रको किल्ला अनुसार पनि पश्चिमतर्फ प्रतिवादी हिराकाजीको जग्गा देखिन पर्ने हुँदा विवादित न.नं. १, , ३ को सम्पूर्ण नै वादीको भन्न उक्त बकसपत्रको किल्ला समेतबाट मिल्ने देखिएन । वादीको जग्गा नै छैन भन्ने प्रतिवादीको जिकिरमा पनि नभएको र न.नं. १ र ३ को जग्गाको किल्लासंग २०३७ सालको बकसपत्रको किल्ला समेत मिल्न भिड्न पनि आएको र उक्त किल्लाको पेट भित्र न.नं. १ र ३ को वादीको बकसपत्रको जग्गा पर्ने र क्षेत्रफल समेत मिल्ने हुँदा विवादित न.नं. १ र ३ को जग्गा वादीको देखिन आउँछ । वादीको जग्गा भन्दा पश्चिम हिराकाजीको जग्गा रहेको बकसपत्रबाट देखिएको र न.नं. १ र ३ को पश्चिममा न.नं. २ रहेको देखिँदा न.नं. २ को जग्गा मेरो भन्ने वादीको भनाई मिल्दो देखिन्न । प्रतिवादीले उल्लेख गरेको मिति २००७।५।५।२ को बण्डापत्रबाट पनि चिरीमाया हालको प्रतिवादीको आमाको पूर्वतर्फ वादीको दाता मंगललालको आमा बुद्धिमायाको जग्गा देखिने र बुद्धिमायाको जग्गा पछि आएर निजको छोरा मंगललालले वादीलाई बकस दिएकोले विवादित नक्शा नं. १ र ३ को जग्गा वादीको ठहर्ने र नक्शा नं. २ को जग्गामा वादीको दावी पुग्न सक्दैन । वादी दावी नै खारेज गर्ने गरेको शुरु तथा अञ्चल अदालतको इन्साफ सदर गर्ने संयुक्त इजलासका माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय र सम्पूर्ण न.नं. १, , ३ को जग्गामा वादीको हक कायम हुने ठहर्‍याएको माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय समेत मिलेको देखिएन । न.नं. १, ३ को जग्गामा दर्ता बदर भई वादीको हक कायम भई चलन समेत पाउने ठहर्छ । न.नं. २ तर्फ वादीले बढी दावी लिएकोले सो न.नं. २ मा वादी दावी पुग्न सक्दैन । अरु तपसील बमोजिम गर्नु ।

तपसील

कोर्टफी लागेको मुद्दा हुँदा कसैलाई केही गर्नु परेनं..१, माथि इन्साफ खण्डमा लेखिए बमोजिम न.नं. १ र ३ को जग्गा वादीको ठहरेकोले वादीले फिराद गर्दा राखेको (साविक पेज नं. ५९०) कोर्टफी रु. १३०।०५ एकसय तीस रुपैयाँ पाँच पैसा र अरु दस्तूर रु. ६।छ रुपैयाँ समेत जम्मा रु. १३६।०५ र पुनरावेदन गर्दा वा.अं.अ.मा राखेको कोर्टफी रु. १२७।५० एकसय सत्ताइस रुपैयाँ पचास पैसा र म.क्षे.अ.मा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. १९।५० उन्नाइस रुपैयाँ पचास पैसा र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. १।५० एक रुपैयाँ पचास पैसा समेत जम्मा रु. २८४।५५ दुई सय चौरासी रुपैयाँ पचपन्न पैसा मध्ये आधा कोर्टफी रु. १४२।२७ एकसय वयालिस रुपैयाँ सत्ताइस पैसा प्रतिवादीबाट भराई पाउँ भनी प्रतिवादीको जायजात देखाई ऐनका म्यादभित्र वादीको दर्खास्त परे दस्तूर केही नलिई प्रतिवादीबाट वादीलाई भराई दिनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु..२, मिसिल नियमानुसार गरी बुझाई दिनु..३

 

उक्त रायमा हामीहरु सहमत छौं ।

 

प्र.न्या.विश्वनाथ उपाध्याय,

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४८ साल माघ ७ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु