निर्णय नं. ४३८३ - उत्प्रेषण
निर्णय नं. ४३८३ ने.का.प. २०४८ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०४७ सालको रिट नं. ७२२
आदेश भएको मिति: २०४८।१०।६।२ मा
निवेदक : भ.पु.नं.पा. वडा नं. ३ गछें टोल बस्ने मोहनकुमार प्याथ
विरुद्ध
प्रत्यर्थी : मालपोत कार्यालय, भक्तपुरसमेत
विषय : उत्प्रेषण(साविक पेज नं. ६०८)
(१) सगोलको सम्पत्ति कानुन बमोजिम दुवैको मञ्जूरीबाट अलग अलग गरी लिखत गरेको अवस्थामा बाहेक दुइजनाको नाममा छुट्टा छुट्टै दर्ता गर्न नसकिने ।
(प्रकरण नं. ११)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपाली
प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री राम लोचन झा विद्वान सहन्यायाधिवक्ता श्री अलिअकवर मिकरानी
आदेश
न्या.सुरेन्द्रप्रसाद सिंह
१. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. पुर्खौली स्ववासी हक भोगको हाल नापीमा भक्तपुर जिल्ला नं.पा. वडा नं. ३ कि.नं. २५५ क्षेत्रफल ०–०–३–० घर जग्गा १ र म निवेदक विपक्ष मध्येका बद्रीनारायण जना २ को नाममा मिति २०३०।६।९ मा सगोलमा राजीनामा पारित गरी पाएको ऐ.ऐ.कि.नं. ३२८ क्षेत्रफल ०–०–२–१ को घर जग्गामा समेत हामीहरु समेतका अंशियारहरुको बीच मिति २०३१।६।२५ मा घरसारमा बण्डापत्र खडा गरी भिन्न हुँदा कि.नं. २५५ को घर जग्गा म निवेदकको भाग र कि.नं. ३२८ विपक्ष बद्रीनारायणको भागमा परी भोग चलन गरी आएकोमा आ–आफ्नो भाग आ–आफ्नो नाममा दर्ता हुन ३ नं. नापी गोश्वारा १ नं. नापी टोलीमा उजूरी दिंदा विपक्ष बद्रीनारायणले बण्डापत्रलाई अस्वीकार गरी कि.नं. २५५ को घर सगोलमा दर्ता हुनु पर्ने भनेकाले ३ नं. नापी गोश्वारा १ नं. नापी टोलीबाट मिति २०४१।४।७ का दिन कि.नं. ३२८ दुवै जनाको नाममा सगोलमा र कि.नं. २५५ समेत सगोलमा अस्थायी दर्ता हुने निर्णय भएको कि.नं. २५५ को हकमा वादी म मोहनकुमार प्याथ र प्रतिवादी विपक्ष बद्रीनारायण भएको खिचोला समेत मुद्दामा भक्तपुर जिल्ला अदालतबाट मिति ०४३।८।८ मा नापी अड्डाले सगोलमा अस्थायी दर्ता गर्ने गरेको निर्णय मिलेकै देखिएकोले वादी दावी पुग्न नसक्ने ठहराई भएको फैसला बागमती अञ्चल अदालतबाट मिति ०४५।२।१६ मा डिसमिस फैसला भई सगोल दर्ता हुने कि.नं. २५५ को घर तथा कि.नं. ३२८ को घर समेत विपक्ष मध्येका बद्रीनारायण प्याथको निवेदन अनुसार भनी विपक्ष मालपोत कार्यालय र मे.ना.शा. भक्तपुरबाट मेरो स्वीकृति र मञ्जूरी बेगर मलाई बुझ्ने तथा प्रतिवाद गर्ने कुनै मौकासम्म नदिई कि.का. गरी क्रमशः कि.नं. ८०४ क्षेत्रफल ०–०–११२ र कि.नं. ८०६ क्षेत्रफल ०–०–१–२ म निवेदक मोहनकुमारको नाममा तथा कि.नं. ८०५ क्षेत्रफल ०–०–११२ र कि.नं. ८०७ क्षेत्रफल ०–०–१–२ विपक्ष बद्रीनारायणको नाममा कायम गरी अदालतको फैसला बमोजिम विपक्ष बद्रीनारायणको नाममा ज.ध.प्रमाण पूर्जा दिने गरी विपक्ष मालपोत कार्यालय भक्तपुरबाट मिति २०४६।६।९ मा टिप्पणीं आदेशद्वारा निर्णय गरेको रहेछ ।
३. सगोल दर्ता भएको दर्तावालाहरुले कानुन बमोजिम बण्डा फाडी वा हक भाग छुट्याई लिनु दिनु गरेर नआउन्जेल एकाको मञ्जूरी बेगर सगोल दर्ता फोड्ने, कित्ताकाट गर्ने र अलग अलग नाममा दर्ता गर्ने गरेको मे.ना.शा. र मालपोत कार्यालय भक्तपुरको उक्त निर्णय कानुन प्रतिकूल र प्राकृतिक न्याय विपरीत छ । मालपोत ऐन, २०३४ को दफा ६ र दफा ८ अनुसार मालपोत कार्यालयले प्रत्येक जग्गा तोकिए बमोजिम दर्ता गरी राख्ने, जग्गा नाप जाँचबाट तयार भएको जग्गाधनी दर्ता (साविक पेज नं. ६०९) स्रेस्ता बमोजिम लगत खडा गर्नुपर्ने तथा दर्तावाला मरी वा निजबाट हक हस्तान्तरण भएमा अद्यावधिक लगत खडा गर्ने काम र नेपाल कानुन बमोजिम लिखतको रजिष्ट्रेशन, नामसारी, दा.खा. लगत कट्टा गर्ने काम मालपोत कार्यालयले गर्नु पर्नेमा सो बमोजिम नगरी नगराई आफूलाई भएको अधिकार भन्दा बाहिर गई गरेको मालपोत कार्यालय भक्तपुरको टिप्पणीं आदेश र निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी परमादेश सहितको आदेश जारी गरी नागरिक अधिकार ऐन, २०१२ र नेपालको संविधान, २०१९ को भाग ३ धारा १०, ११, १५ र १६ द्वारा प्रदत्त हक संरक्षण गरी पाउँ भन्ने समेत रिटनिवेदन ।
४. यसमा विपक्षहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालतको एक न्यायाधीशको इजलासको मिति २०४७।५।१८।२ को आदेश ।
५. मे.ना.शा.भ.पु. को ३।२।४२।०४६।०४७ च.नं. १९० मिति ०४६।६।६ को पत्रानुसार भ.पु.नं.पा. वडा नं. ३ कि.नं. ३२८ को ०–०–३–० कित्ताकाट भई कि.नं. ८०४ क्षेत्रफल ०–०–११२ मोहनकुमार प्याथ, कि.नं. ८०५ क्षेत्रफल ०–०–११२ बद्रीनारायण प्याथ, कि.नं. २५५ को ०–०–३–० कित्ताकाट भई कि.नं. ८०७ क्षेत्रफल ०–०–१–२ बद्रीनारायण प्याथका नाममा कायम हुन आएको, अदालतको फैसला बमोजिम कित्ताकाट भई कायम हुन आएको कित्ता जग्गालाई स्रेस्ता पूर्जा तयार गरिएको, यस कार्यालयबाट कुनै निर्णय भएको होइन, यस कार्यालयबाट भक्तपुर जिल्ला अदालतको ०४३।८।८ र वा.अं.अ. को मिति ०४५।२।१६ को फैसला र म.क्षे.अ.को प्र.सं. ९८२ मिति ०४६।५।११।१ को पत्रानुसार यस कार्यालयको ०४६।६।९ को टिप्पणी आदेशानुसार वादी मोहनकुमार प्याथ प्रतिवादी बद्रीनारायण प्याथको नाममा आधा आधा कायम हुने गरी कित्ताकाट भई स्रेस्ता पुर्जा तयार भएको भ.पु.नं.पा. वडा नं. ३ कि.नं. २५५ को ०–०–३० र कि.नं. ३२८ को ०–०–२–१ को अदालतमा मुद्दा परेकोले अदालत बुझी पाउँ भनी मोहनकुमार प्याथको निवेदन परेकोमा सबै जग्गा रोक्का राख्न पर्ने हो होइन भनी मिति २०४६।६।३० मा लेखी पठाएकोमा रोक्का राख्ने नराख्ने सम्बन्धमा यस अदालतबाट कुनै आदेश नभएको भनी भक्तपुर जिल्ला अदालतको ०४६।७।९।४ को पत्र प्राप्त हुन आएको हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत प्रत्यर्थी मालपोत कार्यालय भक्तपुरको लिखितजवाफ ।
६. भक्तपुर नगरपालिका वडा नं. ३ कि.नं. ३२८ रोपनी ०–०–३–० र कि.नं. २५५ को ०–०–२–१ मा मालपोत कार्यालय प.सं. ०४६।०४७ च.नं. ८५० मिति ०४७।६।४ र को पत्रानुसार कि.नं. ८०४ रोपनी ०–०–११२ कि.नं. ८०६ रोपनी ०–०–०–२ मोहनकुमारलाई, कि.नं. ८०५ रोपनी ०–०–११२ कि.नं. ८०७ रोपनी ०–०–१–२ बद्रीनारायण प्याथको कायम गरी कित्ताकाट गरिएको यस शाखाबाट कुनै किसिमको निर्णय गरेको नभई मालपोत कार्यालय भक्तपुरको आदेश अनुसार कित्ताकाटसम्म गरिएको हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत प्रत्यर्थी मेन्टेनेन्स नापी शाखा भक्तपुरको लिखितजवाफ ।
७. विपक्ष मेरो दाजु मोहनकुमारले जेठो बाठो भई बाबुको सम्पूर्ण सम्पत्ति हात पारी मलाई अंशमा लठत्याउने शुरु गरी ०३१ सालमा अंश बण्डा भएको भनी गोलमटोल कुरा लेखी नापीको समयमा नै विवादको कि.नं. २५५ को घरबाट मलाई निकाल्न खोजे तापनि अन्य सम्पूर्ण सम्पत्ति निजै दाजुको जिम्मा छोडी बाबुको पालादेखिको उक्त कि.नं. २५५ को घर आधा पूर्वतर्फसम्म मैले आफ्नो पनि हक जानी भोगी आएको र कि.नं. ३२८ पनि हामी दुवै दाजु भाइको हक हुने गरी खरिद गरेको हुँदा दुवै घरमा आधी मेरो हक हुनु पर्ने भनी मैले नापीमा लेखाए बमोजिम मेरो समेत आधा आधा (साविक पेज नं. ६१०) हक ठहरी उक्त दुवै घरमा मेरो समेत नाममा अस्थायी दर्ता गर्ने गरेको नापीको निर्णय नै अदालतबाट सदर भई अन्तिम भएपछि विवादित दुवै घरमा मेरो हक स्थापना भई आफ्नो हक भोग अनुसार मेरो भाग जति मात्र मेरो कि.का.गरी दर्ता गरी पाउँ भनी मालपोत कार्यालय भक्तपुरमा दिएको निवेदनमा कारवाही भई सम्पूर्ण प्रकृया अपनाई मालपोत कार्यालयले गरेको निर्णयमा मोहनकुमारले गत २०४६ साल आश्विन महीनामा मालपोत कार्यालय भक्तपुरमा उजूरी निवेदन गर्दा कि.नं. २५५ को घरको हकमा मात्र निज विपक्षको एकलौटी हक देखाई विरोध गरेको छ भने कि.नं. ३२८ को मा पुरुषोत्तम समेतसंग मुद्दा परी रहेकोले निर्णय गर्न नमिल्ने भन्ने व्यक्त गरिएको छ । सो उपर मालपोत कार्यालयले आवश्यक कारवाही गरी सो घर बारे कुनै मुद्दा मामिला बाँकी नभएको र म प्रत्यर्थीको उक्त दुवै कित्ताको पूर्वतर्फ भोग भएकोमा निजको अस्वीकृति जन्य कुरा केही नहुँदा फैसला बमोजिम कि.का. गरी दर्ता गरी ज.ध. श्रेस्ता समेत वितरण गरी सकेको हुँदा रोक्का गर्न नमिल्ने भनी निजलाई जानकारी समेत गराउने गरी २०४६।८।२० मा निर्णय भएको थियो सो उपर चित्त नबुझे न्याय प्रशासन सुधार ऐन, २०३१ को संशोधित दफा १३(१) बमोजिम अञ्चल अदालतमा पुनरावेदन गर्न जानु पर्नेमा असाधारण अधिकार क्षेत्रमा प्रवेश गरेको हुँदा समेत रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत प्रत्यर्थी बद्रीनारायण प्याथको लिखितजवाफ ।
८. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपालीले नापी र अदालतको फैसला समेतबाट सगोल कायम भइरहेको घर जग्गामा विपक्षी बद्रीनारायणको निवेदनबाट मालपोत कार्यालयले मिति ०४६।६।९ मा आधा आधा कित्ताकाट गरी विपक्ष बद्रीनारायण प्याथको नाममा जग्गा धनी प्रमाणपत्र दिने गरी निर्णय गरेको मेरो पक्षलाई बुझ्दै नबुझी मेरो पक्षको मञ्जूरी बेगर गरेको उक्त निर्णय गैरकानुनी हुँदा बदर गरी पाउँ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो । प्रत्यर्थी बद्रीनारायण प्याथको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रामलोचन झाले निवेदक मोहनकुमार प्याथले मालपोत कार्यालयको टिप्पणीं आदेशको जानकारी पाई सो चित्त नबुझी मालपोत कार्यालयमा निवेदन दिई कारवाही हुँदा तामेलीमा राख्ने आदेश भएको थियो, सोमा चित्त नबुझे अञ्चल अदालतमा पुनरावेदन गर्न जानु पर्नेमा रिट क्षेत्रमा प्रवेश गरेको मिलेको छैन । मेरो पक्षले आफ्नो भोग अनुसार आफ्नो नाममा घर जग्गा दर्ता गराएको मिलेकै हुँदा रिट खारेज हुनुपर्दछ भन्ने र अन्य प्रत्यर्थीका तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री अलि अकवर मिकरानीले अदालतको फैसला अनुसार मालपोत कार्यालयले दर्ता गरी दिएको निर्णय कानुन बमोजिम नै भएको हुँदा रिट खारेज हुनुपर्दछ भनी प्रस्तुत गर्नु भएको बहस समेत सुनियो ।
९. यसमा रिटनिवेदन माग बमोजिम आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो विषयमा निर्णय दिन पर्ने हुन आयो ।
१०. निर्णयतर्फ हेर्दा यसमा मलाई नबुझी अदालतको फैसला विपरीत बद्रीनारायण प्याथले दिएको निवेदनको आधारमा मात्र मालपोत कार्यालय भक्तपुरले ०४६।६।९ मा कित्ताकाट गर्ने गरी गरेको निर्णय कानुन विपरीत हुँदा बदर गरी पाउँ भन्ने मुख्य निवेदन जिकिर देखिन्छ । मालपोत कार्यालय भक्तपुरको २०४६।६।९ को टिप्पणी आदेश उपर निवेदकले ०४६।६।११ मा सोही कार्यालयमा निवेदन दिई सो निवेदनमा कारवाही भई तामेलीमा राखी दिने र निवेदकलाई जानकारी दिने भन्ने आदेश समेत भइसकेको हुँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(१) बमोजिम सम्बन्धित अञ्चल अदालतमा पुनरावेदन गर्न जानु पर्नेमा रिट क्षेत्रमा आएको मिलेको छैन भन्ने प्रत्यर्थी बद्रीनारायण प्याथको लिखितजवाफ र निजतर्फका कानुन व्यवसायीको बहस जिकिर समेत रहेको छ । न्यायप्रशासन सुधार ऐन, (साविक पेज नं. ६११) २०३१ को दफा १३(१) मा कुनै जिल्ला वा अञ्चल स्तरीय निकायले मुद्दा मामिलामा गरेको शुरु निर्णय वा अन्तिम आदेश उपर अञ्चल अदालतमा पुनरावेदन लाग्न सक्ने कानुनी व्यवस्था भएको छ । प्रस्तुत मालपोत कार्यालय भक्तपुरको निर्णय कुनै मुद्दा मामिलाको सम्बन्धमा भएको नभई टिप्पणीमा भएको निर्णय आदेशसम्म भएको हुनाले अञ्चल अदालतमा पुनरावेदन गर्न जानु पर्ने भन्ने जिकिरसंग सहमत हुन सकिएन ।
११. मालपोत कार्यालय भक्तपुरको मिति २०४६।६।९ को निर्णय मिलेको छ छैन भनी हेर्दा यसमा बद्रीनारायण प्याथले मालपोत कार्यालय भक्तपुरमा मिति ०४५।११।३० मा निवेदन दिएको आधारमा मालपोत कार्यालय भक्तपुरले विवादित कि.नं. २५५ र ३२८ को घर कित्ताकाट गरी कायम हुन आएको कि.नं. ८०५ र ८०७ को क्रमशः ०–०–११२ र ०–०–१–२ बद्रीनारायण प्याथको नाममा जग्गा धनी प्रमाण पूर्जा दिने निर्णय गरेको रहेछ । मालपोत कार्यालयले अदालतको फैसला बमोजिम कित्ताकाट गराएको भन्ने आधार लिएको पाइन्छ । भक्तपुर जिल्ला अदालतको मिति ०४३।८।८ को फैसलाबाट उक्त घर निवेदक मोहनकुमार प्याथ र विपक्षी बद्रीनारायण प्याथको सगोलको सम्म ठहराएको देखिन्छ । त्यस्तो सगोलको सम्पत्ति कानुन बमोजिम दुवैको मञ्जूरीबाट अलग अलग गरी लिखत गरेको अवस्थामा बाहेक दुईजनाको नाममा छुट्टा छुट्टै दर्ता गर्न सकिने स्थिति हुँदैन । अतः रिट निवेदक मोहनकुमार प्याथको मञ्जूरी बेगर विवादको अचल घर जग्गा निवेदक मोहनकुमार प्याथ र विपक्षी बद्रीनारायण प्याथको नाममा तर्फ समेत छुट्याई कित्ताकाट गरी अलग अलग दर्ता गरी जग्गा धनी दर्ता प्रमाण पूर्जा दिने गरेको मालपोत कार्यालय भक्तपुरको मिति २०४६।६।९ को निर्णय त्रुटिपूर्ण देखिँदा रिटनिवेदन माग बमोजिम मालपोत कार्यालय भक्तपुरको उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । विपक्षको जानकारीका लागि निर्णयको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई फाइल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.त्रिलोकप्रताप राणा
इति सम्वत् २०४८ साल माघ ६ गते रोज २ शुभम् ।