निर्णय नं. ४३८६ - कर्तव्य ज्यान
निर्णय नं. ४३८६ ने.का.प. २०४८ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
सम्वत् २०४७ सालको फौ.पु.नं. २५८
सम्वत २०४७ सालको फौ.सा.नं. ८९
फैसला भएको मिति : २०४८।१०।१९।१ मा
पुनरावेदक/प्रतिवादी: कारागार शाखा पाल्पामा थुनामा रहेको शिवे भन्ने गोविन्दबहादुर चन्द ठकुरी
विरुद्ध
विपक्षी/वादी : रामबहादुर चन्दका जाहेरीले श्री ५ सरकार
मुद्दा : कर्तव्य ज्यान
(१) लास जाँच मुचुल्काबाट धारीलो हतियारको प्रहारबाट मरेको कुरा पुष्ट्याई भएको पाइन्छ, प्रतिवादीको प्रहरीमा भएको साविती स्वतन्त्र प्रमाण चस्मदिद व्यक्तिको बकाईबाट समर्थित भएको अवस्थामा शंका छ र शंकाको सुविधा अभियुक्तले पाउनु पर्छ भन्ने बहससंग सहमत हुन नसकिने ।
(प्रकरण नं. ३०)
पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगाना (साविक पेज नं. ६२१)
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४६।८।१८।१ को फैसला उपर चित्त नबुझी प्रतिवादीको पुनरावेदन परी तथा साधकको लागि समेत पेश भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नप्रकार छ ।
२. मेरी बुढी आमा (बज्यै) वर्ष ६३ की हिरकुमारी चन्द ठकुरी र काम गर्न बसेकी वर्ष ११ की मनी जैसिनीलाई लिई छुट्टै बस्ने गर्नु भएको थियो । २०४४।५।२ गतेको राती निज बज्जैको घरमा गुहार भनी आवाज सुनी जाँदा नमालुम कहाँ बस्ने को बदमास आई बजै हिराकुमारी र मनी जैसिनीलाई टाउको, घाँटी, पाखुरा समेतमा खुकुरी वा हसियाँले हानी मरणासन्न अवस्थामा पुर्याएको रहेछ उपचार गर्न तरखर गर्दा गर्दै बजैको मृत्यु भएको र मनी जैसिनीलाई झिवाखोला हेल्थपोष्टमा पठाई जाहेर गरेको छु भन्ने रामबहादुर चन्दको जाहेरी दर्खास्त ।
३. मृतकको ३ तले घरको भित्र भुँई तल्लामा परालको गुन्द्री र थाङना सिरक रहेको गुन्द्री र सिरक रगतले मुछिएको अगेनादेखि पश्चिम पट्टी उत्तर दक्षिण गरी काठको खाट विछ्याएको विस्तरामा उत्तर सिरान गरी उत्तानो परी रहेको मृतक हिराकुमारीको लास, भुँइमा रगत बगेको मुख बन्द दुवै हात खुम्च्याई कुममा राखेको बायाँ कानको बीचबाट कान र गाला समेत काटी बड्डारा देखिएको ५ इन्च लामो २ इन्च गहिरो काटिएको घाउ बायाँ कान माथि टाउकोमा ३ इन्च लामो धारिलो हतियारले काटेको घाउ रहेको दुवै आँखा बन्द रहेको नाकमा पनि काटिएको घाउ, बायाँ पाखुरामा ३ ठाउँमा काटेको घोचेको ठूलो घाउ भई रगत बगेको दायाँ हातको पाखुरामा ३ ठाउँमा काटेको घाउ पिठमा काटेको ३ घाउ भएको भन्ने समेत व्यहोराको मृतकको लाश प्रकृति मुचुल्का ।
४. म हिराकुमारीको घरमा काम गर्न बसेकी थिएँ । कहिले काँही १।२ रातको लागि बाबु आमाको घरमा जाने गर्थे २०४४ साल भाद्र १ गते घरमा जान्छु भन्दा नजाउ म एक्लै हुन्छु भनेकी थिइन मैले जिद्दी गर्दा निजले मलाई दिएको कपडा पनि खोसिन मैले घरमा गई आमालाई भने भोलिपल्ट हिराकुमारीको घरमा गयौं कपडा दिने भइन र आमा घरमा फर्कनु भयो । म त्यही बसें । साँझ खाना खाई हिराकुमारी खाटमा र म अगेना नेरको विस्तरामा सुते राती कुन समयमा हो हिराकुमारी ऐया भनी कराएको सुनी निन्द्राबाट बिउँझी को हो भनी हेर्दा हिराकुमारीकै नाती शिवे भन्ने गोविन्दले लाइटबाली काट्दै गरेको देखि ए दाइ किन काट्छौ भन्दा पनि नमानी हानेकाले दाइ मलाई नहान म कसैलाई भन्दिन मलाई नहान भन्दा पनि हान्न खोजेकोले म दक्षिण ढोकाबाट निक्ली भागी मैते कामीको घरमा गएँ मलाई पनि घाउचोट लागेको रहेछ कुन हतियारले हाने भन्न सक्दिन अरु साथी मतियार भएको मलाई थाहा छैन भन्ने मनी जैसेनीले प्रहरीमा गरेको कागज ।
५. टाउकोको पछिल्लो भाग पिठमा र पिठको दाहिने भागमा धार भएको हतियारले हानेको २१ दिनमा निको नहुने कडा घाउ भन्ने मनी जैसिनीको घाउ जाँच केश फाराम ।
६. मृतक हिराकुमारी मेरो सौतेनी सासु हुन् उनका छोराछोरी कोही छैनन् २०४४।५।२ गते राती सिर्रर आवाज सुनी ढोका खोलें फेरि चिर्रर चिर्रर गरी ऐया मार्यो भन्ने केटीको आवाज सुने त्यो केटी कमिनीको घरतर्फ गएको आवाजबाट थाहा पाएँ । लाइटको उज्यालो पनि उतै गएको देखें हिराकुमारीको घरभित्र ऐया अँह गरेको आवाज सुनी जुमा जुमा भनी कराउँदा बोलिन र माइली दुलही हो भित्र आइज भनिन् भित्र गई बत्ती बाली हेर्दा खाटमा बसेकी थिइन, टाउको र मुखमा रगत थियो कस्ले हान्यो भन्दा चिनिन भनिन म सासूको घरमा गई देवर सासू समेत भई जेठाजुको घरमा जाँदा जेठाजु रहेनछन हामीहरु हिराकुमारीको घरमा गयौं म र सासूसंग गाउँका मानिसलाई बोलायौं, पछि मानिसहरुले केटीलाई बोकी (साविक पेज नं. ६२२) ल्याए केटी मनी जैसेनी पनि रगत पच्छे भएकी थिइन । हिराकुमारी अर्को दिन बिहान मरीन मनीलाई झिवाखोला हे.पो.मा औषधि गर्न लगेका हुन भन्ने रिमकुमारी चन्दले प्रहरीमा गरेको कागज ।
७. २०४४।५।२ गतेका रात जाहेरवाला रामबहादुर र म मेरो घरमा रक्सी र खाना खाई सुतेका थियौं, रातको करीब साढे २ बजेको समयमा हिराकुमारी की सौतेनी बुहारी र नातिनी बुहारी मेरो घरमा आई बोलाएकोले बिउँझी के हो भन्दा बुढी सासू घरभित्र काटिएकी छिन, गोठाली केटी छैन भनेकीले म र रामबहादुर हिराकुमारी कहाँ गयौं बुढी रगताम्य थिइन मनी केटी नजिकै कामीको घरमा गएकी रहिछ त्यहाँबाट ल्याई उपचार गर्न लाने तरखर गर्दा गर्दै हिराकुमारी विहान ७ बजे मरीन केटीलाई औषधि गर्न लगेका हुन भन्ने एकबहादुर शाहीले प्रहरीमा गरेको कागज ।
८. २०४४।५।२ गतेको रात परिवार सहित म निदाएको अवस्थामा हिराकुमारीको घरमा काम गर्ने वाहुनी केटी आई दाइ दाइ भनी कराएको सुन्दा बिउँझी के हो भन्दा मलाई मार्यो ढोका खोल भनेकीले मेरो स्वास्नीले ढोका खोली केटी भित्र पसिन रगताम्य रहिछन के भयो कस्ले हो भन्दा मानिसले हो मलाई मार्छ बुढीलाई पनि काटेको छ । मेरो पछि पछि आएको छ भनेकीले मैले डरले को हो भनिन र निजले पनि फलानो हो भनेर भनिन । रुदै व्यहोस् जस्तै थिइन करीव १ घण्टा पछि रामबहादुर, महेन्द्र, एकबहादुर खोज्न आएकोले केटीलाई बोकी मैले हिराकुमारीको घरमा लगी दिए हिराकुमारी घरभित्र अँ अँ गरेको आवाज सुने भोलिपल्ट ३ गतेको विहान बुढी मरीन भन्ने मैते कामीले प्रहरीमा गरेको कागज ।
९. मृतक हिराकुमारी चन्द मेरी सौतेनी हजूर आमा हुन । निजको कुनै सन्तान नभई काम गर्नका लागि १०।१२ वर्षकी केटी मनी जैसिनीलाई पाली अलग्गै बस्ने गरेकी निजले प्रशस्त गहना लगाएकी म गाउँघरमा गीत गाउने रक्सी खाने हुँदा मलाई पैसाको आवश्यक परिरहन्थ्यो बज्यैलाई मारी सम्पूर्ण गहना ल्याउने ताकमा थिएँ । २०४४ साल भदौ २ गते निज हजूरआमा कहाँ बस्ने केटी आफ्नो घरमा गएको मौका पारी हजूरआमालाई मार्ने विचारले सोही दिउँसो मेरै घरमा रहेको खुकरी साथमा लिई बज्जैको घरपालीको खाटमा लुकाई राखें र गाउँकै फुपुनाता पर्ने इन्द्रबहादुरको घरमा गएँ त्यही खानपिन गरी रात १० बजेतिर सुते राती १२ बजेतिर म उठी आफ्नो टर्चलाईट लिई हजूरआमालाई मार्न भनी उनको घरमा गए र लुकाई राखेको खुकुरी लिई खुला रहेको दक्षिणतर्फको ढोकाबाट पसी हेर्दा बज्जै भित्तातर्फ कोल्टो परी सुतेकी रहिछिन देव्रे हातले लाइटबाली दाहिने हातले टाउको हात समेत यत्र तत्र खुकरीले ४।५ पटक प्रहार गरें पहिलो चोट प्रहार गर्नासाथ बज्यै चिच्याइन । मैले प्रहार गर्दै गरें बज्यै चिच्याएको सुनी मनी जैसेनी बिउँझी को हो भनी कराएकीले यस्ले हल्ला गर्छे भन्ठाने, निजलाई पनि खुकुरीले टाउकोमा प्रहार गरें नमार शिवदाइ म कसैलाई भन्दिन भनी केटीले भनी विश्वास नलागी पुन एकपटक पिठमा प्रहार गरे त्यस्तैमा निज केटी भागेकीले अब अरुले थाहा पाउँछन भन्ठानी म पनि भागी पश्चिम ठूलो गहिरातर्फ लागें । खुकुरी भिरबाट फालिदिएँ, तल्लोबाट हुँदै पुनः फुपुको घरमा गएँ । निजका परिवारले म उठी गएको फर्की आएको थाहा पाएनन् भोलिपल्ट विहान दाजु नाता पर्ने रामबहादुर चन्द म गएको ठाउँमा आई तँ यहाँ किन सुतिरहेको घरमा बज्यैलाई कस्ले काटेको छ भनेकोले निजको साथ घटनास्थलमा गएको हुँ मैले हानेको प्रहारबाट बज्यै मरी होलिन भन्ठानी रहेकोमा मरेकी रहनिछिन बेहोस रहिछन उपचार गर्न लाने तरखर हुँदा हुँदै ७ बजेतिर मरेकी हुन् । निजलाई मारी गहना लगेको कुरा कसैले शंका नगरुन भन्ने सोची आफ्नो घरमा नसुती फुपुको घरमा सुतेको हुँ मनी जैसिनी आफ्नो घरबाट फर्की बज्यैको घरमा आएको कुरा मलाई थाहा थिएन भन्ने व्यहोराको अभियुक्त गोविन्दबहादुर चन्द ठकुरीले प्रहरीमा गरेको (साविक पेज नं. ६२३) कागज ।
१०. २०४४।५।२ गतेको रात हिराकुमारी चन्द र मनी जैसेनीलाई शिवे भन्ने गोविन्दबहादुर चन्द ठकुरीले खुकुरीले प्रहार गरी मनी जैसिनी घाइते भएकी र हिराकुमारीको भोलिपल्ट ३ गते मृत्यु भएको कुरा सुनी मनी जैसेनी र निजकै शिवे भन्ने गोविन्दबहादुरको भनाइबाट खुल्न आएकोले सो घटना निजले नै गरेको हो र हामीलाई विश्वास समेत लाग्दछ भन्ने मौका सरजमीनका समस्त मानिस घाको सरजमीन मुचुल्का ।
११. २०४४।५।२ गतेको राती अभियुक्त सिवे भन्ने गोविन्दबहादुर चन्दठकुरीले आफ्नो सौतेनी बज्यै हिराकुमारीलाई खुकुरीले प्रहार गरी निजको मृत्यु भएको र निजैको चोटबाट मनी जैसेनी घाइते भएको कुराको पर्याप्त प्रमाण पुग्न आएकोले अभियुक्त गोविन्दबहादुर चन्दलाई मनी जैसिनीको ज्यान मार्ने उद्योगले घातक हतियार प्रयोग गरेमा ज्यानसम्बन्धीको १५ नं. बमोजिम र हिराकुमारीलाई काटी मारेमा निजै अभियुक्तलाई ऐ.को १३ नं. को देहाय १ बमोजिम सजायँ गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन माग दावी ।
१२. २०४४।५।२ गतेको राती म मेरो घरबाट ५,७ मिनेट लाग्ने बोहोरा गा.पं. वार्ड नं. ३ गुरुडथर बस्ने रुद्रबहादुर गुरुङको घरमा गफ गाफ गर्न हाँस रंग गर्न भनी गएको थिएँ । त्यहाँ वार्ड नं. ३ को मास्टर शिवबहादुर शाही वार्ड नं. ४ का ढालबहादुर चन्द आए, १० र १०१२ बजेतिर दुवै आफ्नो घर गएँ पानी परी रहेको हुनाले म त्यही सुते भोलिपल्ट विहान ६:१५ बजे उठेर चुरोट खान लागेको थिएँ त्यसबेला मानबहादुरकी बुहारी माइली जुठी आएर भनिन कि माथि जुमालाई कस्ले काटेको छ तर मलाई पत्यार लागेन पछि रामबहादुर चन्द आएर सोही कुरा भनेपछि गई हेर्दा जुमाहाई गर्दै थिइन मनी जैसीनीलाई पनि टाउकोमा घाउ लागेको थियो । जुमालाई र मनीलाई मैले काटेको होइन मनी जैसेनीले शत्रुको मच्चाहटमा लागि मेरो नाम लिएकी हो प्रहरीले मलाई कुटपिट गरी साविती कागज गराएका हुन सरजमीनका मानिसले म प्रति गरेको शंका पनि असत्य हो हिराकुमारीलाई मैले नमारेको हुँदा फुर्सद पाउँ भन्ने समेत व्यहोराको अभियुक्त प्रतिवादी शिवे भन्ने गोविन्दबहादुर चन्द ठकुरीले बाग्लुङ जिल्ला अदालत समक्ष गरेको बयान ।
१३. चस्मदिद गवाह मनी जैसेनी जाहेरवाला लगायत सरजमीनका समस्त व्यक्तिहरुको बकपत्र समेतबाट प्रतिवादी हिराकुमारीलाई धार भएको हतियारले प्रहार गरी कर्तव्य गरी मारेको देखिँदा निजलाई मु.ऐ.ज्यानसम्बन्धीको १३(१) अनुसार सर्वश्वसहित जन्मकैद हुने ठहर्छ भन्ने वाग्लुड्ड जिल्ला अदालतको मिति २०४४।१२।२९ को फैसला ।
१४. उक्त फैसलामा मेरो चित्त बुझेन मेरो सबूद प्रमाणहरु बुझी पुनः गाउँ सरजमीन समेत गरी बाग्लुङ जि.अ.को कानुनी त्रुटिपूर्ण फैसला बदर गरी अभियोगबाट सफाई पाउँ भन्ने व्यहोराको गोविन्दबहादर चन्द ठकुरीको पुनरावेदन ।
१५. मौकामा कागज गर्ने रिमाकुमारी र सानी कमिनीको बकपत्र भई मिसिल सामेल रहेछ ।
१६. संकलित सबूद प्रमाण तथा शुरु फैसलामा उल्लेखित बुँदा समेतको आधारमा पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न नसक्ने हुँदा सर्वश्वसहित जन्मकैद गर्ने ठहर्याएको शुरु बाग्लुङ जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ भन्ने समेत धवलागिरी अञ्चल अदालतको मिति २०४६।१।१२।२ को फैसला ।
१७. मलाई कसूरदार ठहर्याएको गल्तीतर्फमा आधारित तथा प्रत्यक्ष कानुन त्रुटिपूर्ण धवलागिरी अञ्चल अदालतको फैसलामा चित्त बुझेन सो फैसला बदर गरी आरोपित कसूरबाट सफाई पाउँ भन्ने समेत प्रतिवादी गोविन्दबहादुर चन्दको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।
१८. अभियुक्त गोविन्दबहादुर चन्द निर्दोष छन् (साविक पेज नं. ६२४) भन्न सकिने अवस्था नभएबाट शुरु बाग्लुङ जिल्ला अदालतले निजलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सजायँ गर्ने गरी गरेको फैसलालाई सदर राखी धवलागिरी अञ्चल अदालतले गरेको फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । साधक जाँचका लागि मिसिल सर्वोच्च अदालतमा पठाई दिने भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०४६।८।१८।१ को फैसला ।
१९. शंकारहित तवरबाट मेरो कसूर प्रमाणित नभएको अवस्थामा ज्यान जस्तो जघन्य अपराधमा मु.ऐ. ज्यानसम्बन्धी महलको १३(१) बमोजिम सर्वश्व सहित जन्मकैद गर्ने गरेको शुरु फैसलालाई सदर गरेको अञ्चल तथा क्षेत्रीयको फैसला त्रुटिपूर्ण हुँदा चित्त बुझेन उक्त फैसलाहरु उल्टी गरी कसूरबाट सफाई दिई न्याय पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी गोविन्दबहादुर चन्द ठकुरीको यस अदालतमा परेको पुनरावेदन ।
२०. साधक जाँचको लागि समेत दर्ता भई आएको रहेछ ।
२१. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट अदालतबाट मुकरर भई आउनु भएका वैतनिक अधिवक्ता श्री होमनाथ ढुड्डानाले प्रतिवादी उपर शुरु जाहेरीवालाले किटानी गर्न सकेको छैन । अदालत समक्ष मेरो पक्ष इन्कार रहेको छन् । प्रहरी समक्ष भएको सावित बयानलाई मात्र आधार मान्न मिल्ने होइन । मनी जैसेनीले गरेको बकपत्र प्रमाण लिन मिल्ने भए पनि विश्वसनीय पर्दैन र निजले गरेको बकपत्रको आधारमा ज्या.सं.को १३(१) बमोजिमको कसूर गरेको भन्ने देखिन्न । अधेरी अवस्थाको रात भएकोले मनी जैसेनीले गोविन्दबहादुरलाई चिनेको भन्ने पत्यार लाग्दो छैन । मर्ने हिराकुमारीलाई मार्ने पूर्व नियोजित षडयन्त्र कुनैपनि मिसिलबाट देखिन तसर्थ ज्यान जस्तो गम्भीर अपराधमा शंकाको आधारमा मेरो पक्षलाई मु.ऐ.ज्या.सं. को १३(१) लगाई सजायँ गरेको मिलेको छैन सफाई पाउनु पर्छ भन्ने समेत गर्नु भएको बहस जिकिर सुनियो ।
२२. प्रस्तुत मुद्दामा प्रतिवादीलाई शुरु जि.अ.ले मुलुकी ऐन ज्यानसम्बन्धीको महलको दफा १३(१) बमोजिम सजायँ गर्ने गरेको शुरु जि.अ.को इन्साफलाई सदर गरेको क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
२३. यसमा हिराकुमारी चन्द ठकुरीलाई २०४४।५।२ गतेको रात अं. ३ बजेको समयमा कुन वदमासले बजैको घरमा आई बजैलाई र घाँस काट्ने केटीलाई हँसिया वा खुकुरीले प्रहार गर्दा मरणान्त हालतमा पुगेकी र मनी जैसेनीको पनि टाउको र हातको फिरपातामा समेत काटेको दुवैजना अचेत भएका उपचारको लागि झिवाखोला हेल्थपोष्टमा लगेको हिराकुमारीको २०४४।५।३ गते विहान ७ बजे मृत्यु भएको कर्तव्य गरी मारेको पत्ता लगाई पाउँ भनी मिति २०४४।५।४ मा रामबहादुर चन्दको जाहेरी परेको देखिन्छ ।
२४. मिति २०४४।५।५ को लाश प्रकृति मुचुल्काबाट गालाकाटी बंगारा देखिएको बायाँ कानको बीचबाट कान समेत काटिएको टाउकोमा ३ इन्चको धारिलो हतियारको काटिएको घाउ समेत देखिँदा मृतक हिराकुमारी कर्तव्यबाट मरेकोमा विवाद देखिन्न ।
२५. अब को कसको कर्तव्यबाट निजको मृत्यु भएको रहेछ भनी मिसिल तलब गरी हेर्दा वारदातको रात मृतक हिराकुमारीसंग सोही कोठामा सुत्ने मनी जैसेनीले हिराकुमारीलाई शिव भन्ने गोविन्देले बायाँ हातमा लाइट लिई बाल्दै गरेको बेलामा मैले चिने शिवेले काट्दै थियो मैले दाइ किन काट्छौ भन्दा नबोली मलाई पनि के हो केले हान्यो मलाई नहान म कसैलाई भन्दिन भन्दा पनि मलाई हान्न खोजेको थियो म भागी गएं भनी शिवे चन्दले मलाई र बुढीलाई हाने काटेको भनी मिति २०४४।५।६ मा किटानीसाथ कागज गरेको पाइन्छ ।
२६. गोविन्दबहादुर चन्दले मिति २०४४।३।२६ मा कागज हुँदा हिराकुमारीलाई मैले खुकुरीले टाउका समेतमा प्रहार गरेको र मनी जैसीनी पनि (साविक पेज नं. ६२५) कराएकीले निजलाई पनि प्रहार गरे भन्दै हिराकुमारीलाई कर्तव्य गरी मारेमा प्रतिवादी गोविन्दबहादुर प्रहरीमा सावित देखिन्छ ।
२७. प्र.गोविन्दबहादुर हिरादेवीलाई कर्तव्य गरी मारेमा अदालतमा इन्कारमा रही प्रहरीले कुटपिट गरेको भनेपनि सोको लक्षण शरीरमा देखिन्न । बुझिएको चस्मदिद व्यक्ति मनी जैसेनीले प्रहरीमा आफ्नो भएको लेखाई कागजलाई समर्थन गर्दै हिराकुमारीलाई कर्तव्य गरी मार्ने र आफूलाई समेत चोट छोड्ने यिनै प्र.गोविन्दबहादुर हो भनी किटानीसाथ बकी लेखी दिएको पाइन्छ ।
२८. सो वारदातको रात कृष्ण पक्षको भएकोले चिन्न सक्ने अवस्था छैन भन्ने पुनरावेदक तर्फका विद्वान अधिवक्ताको बहस भएकोमा लाइटको उज्यालोबाट प्र.गोविन्दबहादुरलाई चिनेको भनी यी चस्मदिद् व्यक्ति मनी जैसेनीले प्रहरीमा कागज हुँदा र अदालतमा समेत सोही मिलानको बकपत्र गरेकीले चिन्न सक्ने अवस्था थिएन भन्न मिलेन । प्रहरीमा भएको निज गोविन्दबहादुरको सावित बयान चस्मदिद व्यक्ति मनी जैसिनीको अदालतबाट भएको वकाईबाट समेत समर्थित भएको पाइन्छ ।
२९. निजको बकाई विश्वसनीय छैन भन्ने पुनरावेदक तर्फका विद्वान अधिवक्ताको बहस भएकोमा चस्मदिद गवाहको बकाईलाई प्रतिवादी गोविन्दबहादुरले जिरह गरी अविश्वसनीय तुल्याउनेतर्फ कुनै जिरह जिकिर लिन सकेको पाइन्न ।
३०. लासजाँच मुचुल्काबाट पनि हिराकुमारी धारिलो हतियारको प्रहारबाट मरेको कुरा पुष्ट्याई भएको पाइन्छ । प्र.गोविन्दबहादुरको प्रहरीमा भएको साविती स्वतन्त्र प्रमाण मनी जैसेनीको बकाइबाट समर्थित भएको अवस्थामा शंका छ र शंकाको सुविधा अभियुक्तले पाउनु पर्छ भन्ने विद्वान अधिवक्ताको बहससंग सहमत हुन सकिएन । मु.ऐ.ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम प्र.गोविन्दबहादुरलाई सजायँ गरी गरेको शुरु जि.अ.को इन्साफ सदर गरेको धवलागिरी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्याएको प.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । कसूरबाट सफाई पाउँ भन्ने प्रतिवादी पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मु.ऐ.अ.बं. २०३ नं. बमोजिम थप सजायँ गर्नुपर्छ कि भन्नालाई सर्वश्वसहित जन्मकैद भएकोले थप गरी रहनु परेन । साधक जाँचको लागि आएकोमा पुनरावेदन तहबाटै फैसला भएकोले साधकको लगत कट्टा गरी मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.ओमभक्त श्रेष्ठ
इति सम्वत् २०४८ साल माघ १९ गते रोज १ शुभम् ।