निर्णय नं. ४३८८ - अंश

निर्णय नं. ४३८८ ने.का.प. २०४८ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४४ सालको दे.पु.नं. ६९२
फैसला भएको मिति: २०४७।१०।१।३ मा
पुनरावेदक/वादी : नवलपरासी जि.कावास्वती गा.पं.वार्ड नं. ३ बस्ने केदारनाथ पाध्या
विरुद्ध
विपक्षी/प्रतिवादी: ऐ.ऐ.बस्ने हेमराज उपाध्यायसमेत
मुद्दा : अंश
(१) जस्ले जुन कुराको दावी लिन्छ सो दावी प्रमाणित गर्ने भार त्यस्तो दावी लिने उपर नै हुने ।
(प्रकरण नं. १७)
(२) अंशियार अंशियार वादी र प्रतिवादीको बीच सुक्री बिक्री भएको देखिँदा अंश बण्डा भएको छैन अंश पाउँ भन्ने वादी पुनरावेदकको कथनसंग सहमत हुन नसकिने ।
(प्रकरण नं. १७)
पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोतिकाजी स्थापित
विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना
अवलम्बित नजीर : ने.का.प. ०३८, अंक ११, पृष्ठ २९ ।
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. विपक्षी पिता हिरालालका २ श्रीमतीमा कान्छीतर्फ शिवलाल, मिनराज, टोपराज र बुद्धिराम, जेठीतर्फ प्रतिवादी हेमराज, कुलराज तथा म फिरादी हुँ हाम्रो पहाडमा प्यूठान र मदेश तराइमा गोश्वारा सम्पत्ति थियो । २०२८ सालमा छुट्टी भिन्न भई कान्छी आमातर्फका छोरा शिवलाल समेत पहाड प्यूठानमा र हामी मदेशमा रहेका, विपक्ष दाजु र भाइ टाठा बाठा भई खेती गर्न निमित्त कृषि विकास बैंकबाट ऋण सहुलियत हुन्छ भनी आ–आफ्ना नाउँमा दर्ता गराउँदा नरम गरम नमिलाई बढी जग्गा राखेका थिए । यस्तैमा ०४०।२।२२ गतेका दिन विपक्षी पितासंग अंश माग्दा ०२८ सालमा नै जेठीतर्फका छोराहरुको तीन अंश हेमराजले बुझेको कान्छी तर्फको र मेरो अंश मैले बुझेको कागज छ, जस्का नाउँमा जे जति जग्गा छ, त्यो नै अंश हो । अरु अंश दिन बाँकी छैन जाने बुझेको गर भनी जवाफ दिएकाले हामीहरुका बीच अंश बण्डा नभएको र केवल मानो छुट्टी भिन्न भएकोले अंश बण्डाको २०।२३ नं. बमोजिम विपक्षहरुबाट तायदाती फाँटवारी लिई ३ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।
३. विपक्ष वादीसंग म समेतका अंशियारा ०२८ सालमा छुट्टी भिन्न भई आ–आफ्नो अंश भागको जग्गा पहाड तिरबाट बेची जग्गा जमीन खरिद गरेका छन् सो मध्ये विपक्षले ०३२ र ०३६ सालमा कुलराजसंग ३ कित्ता जग्गा राजीनामा पारीत गराई लिई भोगी आएका छन् । मैले पनि उक्त बमोजिम पहाडको जग्गा बिक्री गरेका र आफ्नो मेहनत र परिश्रमका (साविक पेज नं. ६३३) साथ आर्जन गरेको सम्पत्तिबाट जग्गा खरिद गरेको त्यसरी खरिद जग्गा मलाई बढी भयो भनी झुठ्ठा फिराद गरेका मात्र हुन् अंश बण्डा भइसकेको बण्डापत्रको कागज नभए तापनि विपक्षलाई मैले अंश दिनुपर्ने बाँकी छैन भन्ने समेत व्यहोराको प्रतिवादी हेमराज उपाध्यायको प्रतिउत्तरपत्र ।
४. म समेतका ३ भाइका बीच अंश बण्डा भएका छैन, हामी ज–जस्का नाउँमा दर्ता भएको जग्गा भए पनि ३ भाग बराबर बण्डा लाग्ने हो भन्ने समेत प्रतिवादी कुलराज उपाध्यायको प्रतिउत्तरपत्र ।
५. जेठी श्रीमतीतर्फका छोरा हेमराज, कुलराज र वादीका बीच अंश बण्डा भइसकेको हो । वादीको अंश भागको जग्गा हेमराज जिम्मा छ, निजबाट अंश पाउने हुन् पहाडको सम्पत्ति बिक्री गरी मधेशमा आर्जन गरेको जग्गा निज ३ भाइ छोराले पाउन पर्ने हो व्यवहार चलाउन छुट्टी जग्गा पास गराएका हुन् अंश बण्डा गर्नु पर्ने सम्पत्ति हेमराज जिम्मा नै छ मैले अंश दिनुपर्ने छैन भन्ने समेत प्रतिवादी हिरालाल उपाध्यायको प्रतिउत्तरपत्र ।
६. वादी प्रतिवादीका साक्षीहरुको बकपत्र भई मिसिल सामेल रहेको ।
७. यसमा वादीले आफ्नो अंश प्र.हेमराज समेत संग भई आफ्नो बण्डा लिई पाई नसकेको भए स्वयं अंशियारबाट आफ्नो अंश समेत भाग बण्डा लाग्ने जग्गा खरिद गरी लिनु पर्ने अवस्था देखिँदैन । तसर्थ अंशबण्डाका ३० नं. कानुनमा व्यवस्था भए बमोजिम वादी प्रतिवादीको बीच भोग बिक्री व्यवहार भएको देखिनाले प्रतिवादीबाट अंश पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने शुरु नवलपरासी जिल्ला अदालतको ०४१।२।३० को फैसला ।
८. शुरु नवलपरासी जिल्ला अदालतले मैले अंश नपाउने गरी गरेको फैसलामा चित्त बुझेन । मैले अंश नपाएको व्यक्तिलाई रीतपूर्वकको बण्डापत्र बेगर अंश बण्डाको ३० नं. लगाई मेरो वादी दावी नपुग्ने ठहरी भएको फैसला बदर गरी मेरा वादी दावी बमोजिम विपक्षबाट अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको वादी केदारनाथ उपाध्यायको पुनरावेदन ।
९. यसमा अंश बण्डा भइसकेको प्रमाण प्रतिवादीबाट आउन नसकेबाट शुरु फैसला फरक पर्न जाने हुँदा अ.बं. २०२ र क्षेत्रीय अदालत नियमावली, २०३६ अनुसार विपक्षीहरुलाई झिकाई सिंगलको लगत काटी डिभिजनबेञ्चमा पेश गर्नु भन्ने २०४२।५।५ को पश्चिमाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चको आदेश ।
१०. अंशबण्डाको ३० नं. ले वादी प्रतिवादीहरु बीच एकापसमा राजीनामा सुक्री बिक्री व्यवहार गरेको अवस्थामा व्यवहार प्रमाणबाट अंशबण्डा भइसकेको ठहर्ने हुँदा बिक्री व्यवहारबाट छुट्टिसकेको भनी वादीले अंश नपाउने ठहराएको शुरु नवलपरासी जिल्ला अदालतको इन्साफ मनासिब छ पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।१२।४ को फैसला ।
११. प.क्षे.अ.को फैसलामा अंशबण्डाको ३० नं. को व्याख्यात्मक कानुनी त्रुटि गरी भएको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत यस अदालतमा दर्ता हुन आएको निवेदनपत्र ।
१२. वादी प्रतिवादी अंशियार भएको कुरामा विवाद नभएको अंशबण्डा भइसकेको भनी कुनै प्रमाण कागज देखाउन प्रतिवादीहरुबाट नसकेको अवस्थामा अंश नपाउने ठहराएको प.क्षे.अ.को फैसलामा अंशबण्डाको ३० नं. को व्याख्यात्मक कानुनी त्रुटि हुँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत संयुक्त इजलासको मिति २०४४।७।३० को आदेश ।
१३. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी, पुनरावेदकतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री (साविक पेज नं. ३३४) मोतिकाजी स्थापितले २०२८ सालमा जेठी र कान्छी पट्टिका छोराहरु छुट्टी भिन्न भएर बाबु कान्छी पट्टी बस्नु भई जेठी पट्टीका ३ भाइको अंश विपक्षी मध्ये हेमराजको जिम्मा दिएको हो । सोही अंशभागको पैसाले तराइमा जग्गा खरिद गर्नु भएको हो । अंशबण्डाको ३० नं. ले अंश पाएको सम्पत्ति बिक्री व्यवहार भएमा मात्र अंश छुट्टिएको मानिन्छ । मेरो पक्षले अंश नै नपाएको हुँदा विपक्षी हेमराजबाट मेरो पक्षले राजीनामा गराई लिएको कारणले मात्र अंशबण्डा भइसकेको मान्न हुँदैन । मेरो पक्षले कृषि विकास बैंकबाट ऋण लिनको लागि सो जग्गा राजीनामा गरिलिएको हुँदा अंशबण्डा भइसकेको मान्न नमिल्ने हुँदा बिक्री व्यवहारबाट अंशबण्डा भइसकेको हुँदा अंश नपाउने ठहराएको शुरु सदर गरेको म.प.क्षे.अ.को फैसला नमिलेको हुँदा तायदाती मागी मेरो पक्षले अंश पाउनुपर्छ भन्ने बहस प्रस्तुत गर्नु भयो । विपक्षी हेमराजको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगानाले पहाडको जग्गाको अंश भइसकेपछि आफ्नो अंश भागको पहाडको जग्गा बिक्री गरी सबैले मधेशको जग्गा खरीद गरेका हुन् । जब जब पहाडको जग्गा बिक्री भयो तब तब सो रुपैयाँबाट सबैले मधेशको जग्गा खरिद गरेको हो । हेमराजले २०२८ सालमा आफ्नो अंश लिई छुट्टिभिन्न भएपछि मधेशको जग्गा खरीद गरेको हो । यस प्रकारबाट केदारनाथ पनि छुट्टिएपछि केदारनाथले हेमराजसंग २०३२।१।२९ मा मधेशको जग्गा खरिद गरेको हो । हेमराजसंगै कुलराजले पनि २०३६।९।९ मा जग्गा खरिद गरी लिएका हुन् । अंशियारहरु बीच आपसमा किनबेच भएको भए अंशबण्डा भएको मान्न पर्छ भन्ने सम्मानीत अदालतबाट ने.का.प. २०३८, नि.नं. १५१९, पृष्ठ २९ मा सिद्धान्त समेत प्रतिपादन भइसकेको हुँदा प.क्षे.अ.ले गरेको इन्साफ सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नु भयो ।
१४. विपक्षी मध्ये कुलराज र हिरालालले यस अदालतबाट जारी भएको म्याद गुजारी बसेको ।
१५. प्रस्तुत मुद्दामा प.क्षे.अ.को इन्साफ मनासिब बेमनासिब के रहेछ हेरी निर्णय दिनुपर्ने हुन आयो ।
१६. यसमा निर्णयतर्फ विचार गर्दा, सम्वत् २०२८ साल बैशाख महीना हो मधेशतर्फ जग्गा खरिद गर्ने व्यवस्था हेमराजले गरिआएका छन् । पहाडको सबै जग्गा बिक्री भइसकेको पनि छैन । आज उप्रान्त कान्छी श्रीमती तर्फका छोराहरुले पहाडको जेथा चलन गर्ने र जेठी तर्फका छोराहरु मधेशको जेथा चलन गरी आ–आफ्नो खति उपति गरी बस, म जता मन लाग्छ उतै बस्छु । पहाडको पैतृक सम्पत्ति अरु जो बाँकी छ छँदैछ मधेशको जग्गा पनि यहीँको सम्पत्ति बिक्री गरी खरिद गरेको हो । क्रमशः पहाडको जग्गा बिक्री गरी मधेश जाउँला अनि रीतपूर्वकको बण्डापत्र खडा गरौंला भनेर बाबु हिरालालले भन्नु भयो सो बमोजिम २०२८ साल देखि मानो भिन्न गरी कान्छी तर्फका छोराहरु पहाड प्यूठानको सम्पत्तिमा बसे म फिरादी र विपक्षी हेमराज कुलराज मधेशको जग्गामा बस्यौं । बाबु हिरालालको भनाई बमोजिम २०२८ साल बैशाख ४ गते भित्रको जेठी श्रीमती तर्फका छोरा ३ लाई दिएको अंश जिम्मा लिने विपक्षी दाजुले पहाडको पैतृक सम्पत्ति ल्याएर मधेशमा खरिद गरेको जग्गा ३ भाइ बराबर अंश लाग्ने हो । तीन भाइको अंश बाबु हिरालालले बुझिलिई त्यसै सम्पत्तिबाट मधेशमा खरिद गरेको जग्गाको तायदाती विपक्षी हेमराजबाट लिई ३ अंश भाग लगाई एक अंश भाग पाउँ भन्ने वादीको मुख्य दावी भएकोमा बाबुले कुनै पनि सम्पत्ति मेरो जिम्मा दिनुभएको छैन । म विपक्षी र अरु भाइहरु समेतसंग छुट्टिभिन्न भएपछि सो मेरो बण्डामा आएको रुपैयाँ नै लिएको आफ्नो परिश्रमबाट केही जग्गा जमीन जोड्दै आएको हो । सो सम्पत्ति लिन झुठ्ठा फिराद दिएको हो भन्ने प्रतिवादी हेमराजको प्रतिउत्तर जिकिर देखिन्छ ।
१७. २०२८ सालमा अंश छुट्टिई हाम्रो अंश (साविक पेज नं. ६३५) प्रतिवादी हेमराजलाई बाबु हिरालालले जिम्मा दिएको र त्यस्तो सम्पत्तिबाट मधेशको जग्गा खरिद भएको हो । त्यस्तो सम्पत्तिबाट अंश पाउँ भन्ने वादीको फिराद दावी भनाई देखिन्छ । जस्ले जुन कुराको दावी लिन्छ सो दावी प्रमाणित गर्ने भार त्यस्तो दावी लिने उपर नै हुन आउँछ । तर त्यसरी यी वादी समेतको अंश बाबु हिरालालले प्र.हेमराजको जिम्मामा दिएको कुनै सबूत त्यस्तो दावी लिने वादी वा सो कुरा भन्ने स्वयं बाबु हिरालालले समेत दिनसकेको पाइन्न । यिनै वादीले प्र.हेमराजबाट मिति २०३२।१।२९ मा रु. ८०००।– मा जग्गा खरिद गरेको पाइन्छ । यसै गरी प्रतिवादी कुलराजले पनि प्रतिवादी हेमराजबाट मिति २०३९।९।९ मा रु. २०००।– मा जग्गा खरिद गरेको पाइन्छ । यी वादी र प्रतिवादी हेमराज र प्रतिवादी कुलराज समेत संगै साथमा सगोलमा बसेको भए सगोलको आफ्नो हक हिस्सा अंश लाग्ने जग्गा वादीले प्रतिवादी हेमराजसंग खरिद गर्नुपर्ने अवस्था पर्दैन । जग्गा खरिद गरी लिनु दिनु भएको यस्तो लिखत वादीलाई सुनाउँदा बिक्री व्यवहार भएको कुरोलाई वादीले अस्वीकार गर्नु भएको पाइँदैन । वादी र प्रतिवादी सगोलमा बसेको भए सगोलको जग्गा आपसमा सुक्री बिक्री हुने अवस्था पर्दैन भन्ने सिद्धान्त नि.नं. १५१९ निवेदक तेजीलाल समेत र प्रतिवादी चौरासीवती यादवनी भएको अंश लिखत बदर मुद्दामा मिति ०३८।११।३ मा यस अदालतबाट प्रतिपादित भएको पाइन्छ । अतः प्रस्तुत मुद्दामा अंशियार अंशियार वादी र प्रतिवादीको बीच सुक्री बिक्री भएको देखिँदा अंशबण्डा भएको छैन अंश पाउँ भन्ने वादी पुनरावेदकको कथनसंग सहमत हुन सकिएन ।
१८. अतः व्यवहार प्रमाणबाट वादी प्रतिवादीको बीच अंश भइसकेको देखिँदा हाम्रो अंश सम्पत्ति प्रतिवादी हेमराजको जिम्मा छ, निजबाट ३ भागको १ भाग अंश पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको शुरुको सदर गरेको प.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी राखी पुनरावेदन गरेको देखिँदा केही गरिरहनु परेन । मिसिल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४७ साल माघ १ गते रोज ३ शुभम् ।