निर्णय नं. ४३९४ - लागू औषध विदेशबाट ल्याई बिक्री गर्न राखेकोलागू औषध विदेशबाट ल्याई बिक्री गर्न राखेको

निर्णय नं. ४३९४ ने.का.प. २०४८ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
सम्वत् २०४७ सालको फौ.पु.नं. २१३
फैसला भएको मिति: २०४८।१०।२९।४ मा
निवेदक/प्रतिवादी: जि.का.का.शाखा काठमाडौंमा थुनामा रहेको शुसिलदेव वंगाली
विरुद्ध
विपक्षी/वादी: श्री ५ को सरकार
मुद्दा : लागू औषध विदेशबाट ल्याई बिक्री गर्न राखेको
(१) कसैले कुनै प्रलोभन दिंदैमा कानुन वर्जित कार्य गरेकोमा त्यस्को दायित्वबाट उम्किन नपाउने ।
(प्रकरण नं. १४)
(२) प्रहरी प्रतिवेदनमा सरकारी वकिल कार्यालयबाट पनि मुद्दा दायर गर्न अनुरोध गरी अड्डाको छाप समेत लगाएको देखिँदा कारवाही पूर्णतः बेरीत भन्न नसकिने । (प्रकरण नं. १४)
(३) ८० ग्राम हेरोइन ल्याएकोलाई सानो मात्रा मान्न नमिल्ने ।
(प्रकरण नं. १४)
पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री तिर्थ बसौला
विपक्षीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोला
१. म.क्षे.अ.को इन्साफमा चित्त नबुझी दायर हुन आएको प्रस्तुत पुनरावेदन तथा मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ ।
२. होटल आनन्द लजको कोठा नं. ९ मा बसेको सुशिलदेव वंगाली बसेको कोठा तलासी लिंदा निजको सुटकेश भित्र पोलिथीन झोलामा पोको पारी राखेको पोको खोली हेर्दा अवैध लागू औषध हेरोइन सेतो र निज शुसिलदेव वंगालीलाई पक्राउ गरी लगेको हो भन्ने समेत व्यहोराको मिति २०४३।८।२४।३ को बरामदी मुचुल्का ।
३. लागू औषध सेतो हेरोइन ८० ग्राम स्वयंले भारतबाट नेपालमा विक्री गर्न भनी ल्याएको हो भन्ने समेत जिल्ला प्रहरी कार्यालय काठमाडौंमा प्रतिवादी शुसिलदेव वंगालीको वयान कागज ।
४. बरामद भएको ८० ग्राम हिरोइन र शुसिलदेव वंगालीलाई पक्राउ गरी लगेको ठिक हो भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।
५. प्रतिवादी शुसिलदेव वंगालीले लागू औषध नियन्त्रण ऐन, २०३३ (संशोधन सहित) को दफा ४ (ङ), (च) को कसूर गरेको प्रष्ट देखिन्छ । तसर्थ निज शुसिलदेव वंगाली उपर उक्त ऐनको दफा १४ (ग) अनुसार कारवाही भै सजाय हुन अनुरोध छ भन्ने समेत व्यहोराको जिल्ला प्रहरी कार्यालय काठमाडौंको प्रहरी प्रतिवेदन ।
६. भिसा पासपोर्ट बनाउनको लागि सुपरफास्ट सर्भिसेजका लछुमनले हिरोइन ल्याइदे, सो पासपोर्ट (साविक पेज नं. ६५५) बनाइदिन्छु भनेकोले मैले निजलाई सेतो हिरोइन ल्याएको समय प्रहरीले बरामद गरी पक्राउ गरेको हो, लछुमन र प्रहरी सिविल ड्रेसमा आनन्द होटलमा नै गएका थिए भन्ने समेत व्यहोराको प्रतिवादी शुसिलदेव वंगालीले विशेष अदालतमा गरेको वयान ।
७. मलाई सुपरफास्ट सर्भिसेजका लछुमनले पासपोर्ट बनाई दिने र अष्टे«लिया पठाइदिने कुरा गरेकोले निजलाई दिन निमित्त ल्याएको हो भनी विक्री गर्न ल्याएकोमा इन्कार गरे पनि भारतबाट नेपाल ल्याएकोमा सावितै भएको देखियो । लागू औषध (नियन्त्रण) ऐन, २०३३ ले जुनसुकै प्रयोजन भए पनि लागू औषधको निकासी वा पैठारी गर्न र ओसार पसार गर्न निषेध गरेको हुँदा प्रतिवादीले भारतबाट ल्याएको दशीको लागू औषध विक्रीको लागि ल्याएको होइन भन्दैमा अपराध भएको होइन भन्न मिल्दैन । प्रतिवादीले भारतबाट दशीको ८० ग्राम सेतो हिरोइन पैठारी र ओसार पसार गरी लागू औषध (नियन्त्रण) ऐन (संशोधन सहित) को दफा ४ को (ङ) र (च) अन्तर्गतको कसूर गरेको ठहर्छ । निजलाई सोही ऐनको (संशोधन सहितको) दफा १४ (ग) अनुसार कैद वर्ष १० र रु. २५, ०००।– जरिवाना समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको २०४५।१।१० को वा.वि.अ.को फैसला ।
८. शुरु वा.वि.अ. को फैसला कानुनी त्रुटिपूर्ण हुँदा बदर गरी पाउँ भन्ने समेत व्यहोराको प्र.शुसिलदेव वंगालीको म.क्षे.अ.मा परेको पुनरावेदन ।
९. निजकै बयानबाट सो वरामद भएको सेतो हिरोइन भारतबाट नेपाल पैठारी गरी ओसार पसार गरी ल्याएको देखिएकोले निजले लागू औषध नियन्त्रण ऐनको दफा ४ को (ङ) र (च) अन्तर्गत कसूर गरेको ठहर्याई ऐ.ऐनको दफा १४ (ग) अन्तर्गत सजाय गर्ने गरेको बागमती विशेष अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने म.क्षे.अ.को फैसला ।
१०. म.क्षे.अ.को फैसला लागू औषध ऐनको दफा ४ र १४ (ग) को गलत प्रयोग गरी गरिएको हुँदा सो फैसला उल्टी गरी आरोपित कसूरबाट सफाई पाउँ भन्ने प्रतिवादीको यस अदालतमा दायर हुन आएको पुनरावेदनपत्र ।
११. एक कसूरमात्र कायम गरी सजाय गर्नु पर्नेमा अपराधको मात्रा अनुसार सजाय नभै बढी सजाय गरेको समेत मिलेको नदेखिँदा अ.बं. २०२ नं. बमोजिम वादी श्री ५ को सरकारलाई झिकाई आए पछि वा अवधि नाघे पछि पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।
१२. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री तीर्थ बसौलाले प्र.जि.अ. लागू औषध नियन्त्रण अधिकारी होइन, अरु काम गर्न नियुक्त हुनुभएको मात्र हो । प्रतिवादीको कुनै प्रमाण नबुझी भएको निर्णय त्रुटिपूर्ण हुँदा बदर हुनुपर्छ भन्ने बहस प्रस्तुत गर्नुभयो । विपक्षीतर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री वलराम के.सी.ले प्रतिवादीले भारतबाट नेपाल पैठारी गर्ने गरेको अवैध सेतो हिरोइन ८० ग्राम छ निजले नै विक्रीवितरण गर्न संचय गरी राखेको हुनाले म.क्षे.अ.को इन्साफ सदर हुनुपर्छ भन्ने बहस प्रस्तुत गर्नु भयो ।
१३. म.क्षे.अ.को इन्साफ मनासिव बेमनासिव के रहेछ सो को निर्णय दिनु पर्ने हुन आयो ।
१४. यसमा निर्णयतर्फ विचार गर्दा, पुनरावेदक सुशिलदेवबाट हिरोइन ग्राम ८० बरामद भएको तथ्यमा विवाद देखिँदैन । लक्ष्मण भन्ने व्यक्तिले उक्त हिरोइन ल्याइदिए बापत अष्टे«लिया जाने पासपोर्ट बनाई दिन्छु भन्ने प्रलोभनमा उक्त हिरोइन ल्याएको हुँ भन्ने सुशिलदेवको जिकिर भए पनि कसैले कुनै प्रलोभन दिंदैमा कानुन बर्जित कार्य गरेकोमा त्यसको दायित्वबाट उम्किन पाउँदैन फेरि निजको जिकिरको सत्यता प्रमाणित हुने कुनै प्रमाण पनि निजले पेश गर्न नसकेपछि निजको उक्त जिकिरलाई पत्यारजनक पनि मान्न मिलेन । जहाँसम्म सरकारी (साविक पेज नं. ६५६) वकिलको संलग्नता बिना नै मुद्दाको तहकिकात दायरी भयो भन्ने पुनरावेदकतर्फबाट विद्वान अधिवक्ताले उठाउनु भएको जिकिर छ त्यसतर्फ हेर्दा प्रहरी प्रतिवेदनमा सरकारी वकिल कार्यालय बागमती अञ्चल रत्नपार्क काठमाडौं शाखाबाट पनि मुद्दा दायर गर्न अनुरोध गरी अड्डाको छाप समेत लगाएको देखिँदा कारवाही पूर्णतः बेरीत भन्न सकिने अवस्था विद्यमान नहुँदा सफाई पाउनु पर्छ भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । ८० ग्राम हिरोइन ल्याएकोलाई सानो मात्रा मान्न नमिल्ने समेतबाट कसूरदार ठहर्याई सजायँ गरेको वागमती विशेष अदालतको फैसलालाई सदर गर्ने गरेको म.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गोविन्दबहादुर श्रेष्ठ
इति सम्वत् २०४८ साल माघ २९ गते रोज ४ शुभम् ।