निर्णय नं. ९१०९ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की
फैसला मिति M २०७०।१०।२०।२
०६९-CR-०४३६
विषय :– कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादी M जिल्ला सुनसरी, भोक्राहा गा.वि.स.वडा नं. ३ घर भई हाल कारागार कार्यालय, मोरङमा थुनामा रहेकी सरिता पौडेल
विरूद्ध
प्रत्यर्थी/वादी M सिताराम पौडेलको जाहेरीले नेपाल सरकार
- चरम गरिबी, असहाय अवस्था, सहयोग र समर्थनको अभावले मनोवैज्ञानिक दुर्बलताले विवेकहीन कार्य गरेको देखिन आउँदछ । बराबर विरामी भइरहने र त्यसको भार थेग्न नसक्ने अवस्थाले विचलित भएर एउटा महिलाले आफ्नो प्रियजन कै उपर साङ्घातिक बल प्रयोग गर्नुपर्ने परिस्थिति मानवता र समाजका लागि पनि चेतावनी दिने खालको कुरा छ । यस्तो कार्य र परिस्थिति अवाञ्छित र विडम्बनापूर्ण त छ तर त्यस्तो स्थितिबाट उम्कन सक्ने राहतजन्य व्यवस्थाहरूको अभावमा त्यस्तो जघन्य र सम्वेदनशून्य अवस्था आई नरहला भन्न पनि सकिँदैन । समाज र राज्यले यस्ता कुराको कारक तत्त्वहरूको अध्ययन र पहिचान गरी मानवीय सुरक्षाका किल्लाहरू ठेकेदारहरूले मजबुत पार्ने प्रयास गर्नुपर्ने ।
(प्रकरण नं.३)
पुनरावेदक/प्रतिवादीका तर्फबाट M विद्वान अधिवक्ता रामप्रसाद अर्याल
प्रत्यर्थी/वादीका तर्फबाट M
अवलम्बित नजीर M
सम्बद्ध कानून M
- मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३-३_, अ.बं.१८८ नं.
शुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री बालकृष्ण उप्रेती
पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री डम्बरबहादुर शाही
मा.न्या.श्री प्रकाशचन्द्र गजुरेल ।
फैसला
न्या.कल्याण श्रेष्ठ M पुनरावेदन अदालत, विराटनगरबाट मिति २०६८।३।७ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ :–
मिति २०६६।१।२४ गते मेरी बुहारी सरिता पौडेलले १५ महिनाको नाति सचिन कोइरालालाई लिई कसैलाई जानकारी नगराई इनरूवातर्फ गएकोमा निज साँझसम्म पनि फर्की नआएकोले खोजतलास गर्दा फेला परेकी थिइनन् । मिति २०६६।१।२६ गते सुनसरी खोला पारी सरितालाई देखी गाउँले तथा हामीसमेतका परिवार भेट्न जाँदा निज भागी गएकी र भागेकै स्थान वरिपरि हेर्दा नाति सचिन पौडेलको लास फेला परेको भन्नेसमेत व्यहोराको जाहेरी दरखास्त ।
जिल्ला सुनसरी, डुम्रहा गा.वि.स. वडा नं. ३ स्थित सुनसरी खोला किनारमा मृतक सचिन पौडेलको लास फेला परेको, सो लासको शरीरका भागहरू हेर्दा घाँटीमा नीलोरातो डाम देखिनुका अलावा घाँटी लल्याकलुलुक अवस्थामा रहेको, छातीको भागमा रगत जमी कालो देखिएको, सो स्थानभन्दा १०० मिटर पूर्वतर्फ एउटा सखुवाको सानो रूखमा नीलो कपडाको टुक्रा बाँधिएको, सो नजिकै एउटा रूखको फेदमा मृतक सचिनको आमा सरिता पौडेलको चप्पल फेला परेको भन्नेसमेत व्यहोराको घटनास्थल लास प्रकृति मुचुल्का ।
मृतक सचिन पौडेलको मृत्युको कारण Asphyxia due to Throatling भन्नेसमेत व्यहोराको पोष्ट मार्टम रिपोर्ट ।
मिति २०६६।१।२४ गतेका दिन मैले घरपरिवारका मानिसहरूलाई जानकारी नदिई छोरा सचिन पौडेललाई उपचार गर्न भनी इनरूवा लिई गएको हो । इनरूवाबाट फर्की सुनसरी खोला छेउको घरमा रात्री बास बसी भोलिपल्ट म सो स्थानबाट घरतर्फ जाँदैगर्दा छोरा विरामी भएकाले निजलाई लिई जंगलतर्फ गएँ, सो क्रममा मैले विषसमेत बोकेकोले छोरा सधैँ विरामी हुने कारण एक बिर्को विष खुवाई बाँकी बचेको विष आफूलेसमेत खाएँ । आफूले खाएको विषादी उल्टी भएकोले म बाँचे । छोरालाई काँधमा राखी बोकी जंगलतर्फ नै जाने क्रममा छोराको घाँटीको भाग मेरो काँधमा परी निस्सासिएर निजको मृत्यु भएको हुनसक्छ भन्नेसमेत व्यहोराको प्रतिवादी सरिता पौडेलले गरेको बयान ।
मेरी भाउजू घरबाट भतिजा सचिन पौडेललाई बोकी इनरूवातर्फ गएको भन्ने जानकारी पाई म इनरूवाबाट घर गएँ । बुबा जाहेरवाला, म तथा अन्य गाउँघरका मानिसहरूसमेत भई भाउजू सरिता पौडेलको खोजी कार्य जारी राखेकोमा मिति २०६६।१।२६ मा भाउजू सरिता पौडेललाई सुनसरी खोलाको किनारामा देखी हामीले वारीबाट पर्खनुहोस भन्दै पारी जाँदा भाउजू भागी गएको र सो स्थानमा पुग्दा सचिन पौडेलको मृत लास फेला परेको हो । प्रतिवादीले नै कर्तव्य गरी मारेको हो भन्नेसमेत व्यहोराको गोमा पौडेलको कागज ।
म केही महिनाअगाडि नै भारतको हरियाणामा काम गर्न भनी गएकोमा मलाई मिति २०६६।१।२६ का दिन घरबाट फोन गरी आमा सिकिस्त विरामी हुनुहुन्छ तुरून्त आउनु भनेकाले घरमा आई बुझ्दा मेरी श्रीमती सरिता पौडेलले छोरा सचिन पौडेललाई जंगलमा लगी विषादी खुवाई घाँटी थिची मारेको भन्ने सुनी थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको मृतक सचिन पौडेलको बाबु कुमार पौडेलको कागज ।
प्रतिवादी सरिता पौडेलले आफ्नो छोरा सचिन पौडेललाई घरबाट लिई गएपछि फर्की नआएपछि घर गाउँमा हो हल्ला भई मसमेत गाउँघरका मानिसहरू निजलाई खोजी गर्दै जाँदा सुनसरी खोलाको किनारमा सचिन पौडेलको मृत लास फेला परेकोले निज प्रतिवादी सरिता पौडेलको कर्तव्यबाट निजको मृत्यु भएकोमा पूर्ण विश्वास लाग्छ भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्का ।
प्रतिवादी सरिता पौडेलको कर्तव्यबाट आफ्नै छोरा सचिन पौडेलको मृत्यु भएको वारदात स्थापित हुन आएको हुँदा निज प्रतिवादीको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं. को कसूर हुँदा निजलाई ऐ.१३(३) नं. बमोजिम सजाय हुन माग दावी लिएको भन्ने व्यहोराको अभियोगपत्र ।
मैले छोरा सचिनलाई घाँटी थिची मारेको होइन । मैले मृतकलाई धानमा हाल्ने थोरै विष खुवाएकी हुँ । मैले पनि विष खाएकी थिएँ । छोरा सचिन सधैँ विरामी हुने हुँदा र उपचार गर्दा वाक्क भएर विष खुलाएकी हुँ । अभियोग दावीबमोजिम हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी सरिता पौडेलले अदालतमा गरेको बयान ।
प्रस्तुत मुद्दामा अ.बं. ११८ नं. को देहाय २ बमोजिम प्रतिवादीलाई थुनामा राख्नु भन्ने मिति २०६६।२।१४ मा भएको थुनछेक आदेश ।
बच्चाको मृत्यु निस्सासिएर भएको भन्ने डा. घनश्याम झाले गरेको बकपत्र ।
बच्चाको लासको अवस्था हेर्दा कसले मा¥यो म भन्न सक्दिन भन्ने वस्तुस्थिति मुचुल्काकी शान्ता खतिवडाले गरेको बकपत्र ।
प्रतिवादीले बच्चा लिएर हिँडेकी हुँदा निजकै कर्तव्यबाट मृतकको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको जाहेरवाला सिताराम पौडेलको बकपत्र ।
प्रतिवादी सरिता पौडेलको कर्तव्यबाटै बच्चा मरेको जस्तो लाग्दछ भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्काका विष्णु दाहाल र लास प्रकृति मुचुल्काका रूक्मण दाहालको करीब एकै मिलानको बकपत्र ।
छोराको घाँटीमा हरियो नीलडाम थियो रे, निजलाई घाँटीसमेत थिची मारेको भन्ने मैले सुनेको हो भन्ने व्यहोराको मृतकका बाबु कुमार पौडेलले गरेको बकपत्र ।
आफ्नो नाबालक छोरा सचिन पौडेललाई निजकी आमा प्रतिवादी सरिता पौडेलले घाँटी थिची मारेको भन्ने पुष्टि भएकाले निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैदको सजाय हुने ठहर्छ । प्रतिवादीको उमेर, शारीरिक अवस्था, वारदातको स्थितिलगायतका कारणबाट निजलाई उक्त सजाय गर्दा चर्को पर्न जाने चित्तले देखी अ.बं. ११८ नं. बमोजिम कैद वर्ष ५(पाँच) सजाय गर्न राय जाहेर गरेको भन्नेसमेत व्यहोराको सुनसरी जिल्ला अदालतबाट मिति २०६६।१०।२० मा भएको फैसला ।
हामी आमा छोरा दुबैले विष सेवन गरी मर्न खोजेकोमा मलाई उल्टी भै म बाँचेकी हुँ । छोरालाई अंगालोमा बोकी घाँटी काँधमा राखी लिएर हिँड्दा निसास्सिएर मृत्युसमेत हुन सक्ने अवस्थामा मेरो तत्कालीन अवस्था र परिस्थिति विचारै नगरी मेरो साबितीलाई मात्र आधार मानेर गरिएको सजाय न्यायको मर्म र फौजदारी न्यायको सिद्धान्तसमेतका प्रतिकूल भएको र हाल थुनामै जन्म भएको नाबालक शिशुको भविष्यलाईसमेत मध्यनजर गरी शुरूले गरेको फैसलामा न्यायिक मनको प्रयोग गरी पुनर्विचार गरिपाऊँ भनी प्रतिवादी सरिता पौडेलले पुनरावेदन अदालत, विराटनगरमा गरेको पुनरावेदनपत्र ।
प्रतिवादीको सँगसाथमा रहेको मृतक बच्चाको शव परीक्षण प्रतिवेदनबाट निजको मृत्यु घाँटी थिचिएको कारण श्वास अवरूद्ध भएको कारणले गर्दा भएको भन्ने उल्लेख भएको र लास प्रकृति मुचुल्काबाट घाँटीमा नीलो रातो डाम देखिएको, घाँटी छाम्दा लल्याकलुलुक भएको भन्ने व्यहोरा उल्लेख भएको तथा बुझिएका व्यक्तिले प्रतिवादीकै कर्तव्यबाट मृत्यु भएको हुनुपर्दछ भनी बकपत्रसमेतमा उल्लेख गरिदिएबाट प्रतिवादीले ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद सजाय गर्ने गरेको शुरू फैसलालाई अन्यथा भन्न मिलेन । यी प्रतिवादीको पति विदेश गएको अवस्थामा मृतक छोरा बिरामी भइरहने हुँदा दिक्क लागी अपराध गरेको देखिएको हुँदा निजको शारीरिक, मानसिक र आर्थिक स्थितिसमेतलाई हेर्दा सो सजाय चर्को पर्ने देखिँदा अ.बं. १८८ नं.बमोजिम ५ (पाँच) वर्ष कैदको सजाय गर्ने गरेको शुरू फैसला मिलेकै देखिँदा सोहीबमोजिम ५ (पाँच) वर्ष कैद गर्न उपयुक्त नै देखी राय व्यक्त भएको भन्ने पुनरावेदन अदालत, विराटनगरको मिति २०६८।३।७ को फैसला ।
म आफूलेसमेत विषादी सेवन गरी मृतक छोरालाईसमेत खुवाई बोकी हिँड्ने क्रममा मेरो कुममा निजको घाँटी पर्न गई मृत्यु भएको अवस्थासम्म हुन सक्नेमा मैले नै घाँटी थिची हत्या गरेको भन्न मिल्ने होइन । मबाट भावावेशमा आई भूलवश हुन गएको मनसायरहितको कसूरमा न्याय दिलाई पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादीले यस अदालतमा गरेको पुनरावेदन ।
नियमबमोजिम दैनिक पेशीसूचीमा चढी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रामप्रसाद अर्यालले मेरो पक्षले मृतकलाई विष सेवन गराएको हुँदा सोही कारणले मृत्यु भएको देखिँदैन । मेरो पक्षले अनुसन्धानमा र अदालतमा समेत बयान गर्दा आफूले मृतकलाई घाँटी थिची मारेको कुरामा इन्कार रही बयान गरेको अवस्था छ । तसर्थ अभियोग दावीबमोजिम कसूर कायम गरी सजाय गर्दा विवशतापूर्वक अपराधमा संलग्न हुन पुगेकी प्रतिवादीलाई अन्याय हुने हुँदा न्याय दिलाई पाऊँ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो । विद्वान कानून व्यवसायीको उक्त बहस जिकीर सुनी पुनरावेदनसहितको सम्पूर्ण मिसिल अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा प्रतिवादीले अभियोग दावीबमोजिम कसूर गरेकी हुन् होइनन् र निजलाई सोबमोजिम सजाय हुनुपर्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
2. यसमा निर्णयतर्फ विचार गर्दा प्रतिवादीले मृतकलाई विषादी सेवन गराएको भन्ने कतैबाट पुष्टि हुन नआएको र शव परीक्षण प्रतिवेदनबाट श्वास अवरूद्ध भई मरेको भन्ने देखिएको अवस्थामा घरमा ठूला मानिसलाई जानकारी नै नदिई मृतकलाई लिई जंगलतर्फ गएको र दोस्रो दिनसम्म त्यहीँ बसेको हुँदा मार्ने मनसायसमेत भएको हुँदा निजले कर्तव्य नै गरी मारेको भन्ने अभियोग दावी देखिन्छ । शुरू पुनरावेदन अदालतले पनि अभियोग दावीबमोजिम प्रतिवादीको कसूर कायम गरी फैसला गरेको पाइन्छ । प्रस्तुत मुद्दामा विष खाएर वा खुवाएर मृतकको मृत्यु भएको देखिँदैन । मृत्युको कारण Asphyxia due to throatling भन्ने उल्लेख भएको शव परीक्षण प्रतिवेदनलाई समर्थन गरी सोही व्यहोराको डा. घनश्याम झाले बकपत्र गरेको पाइन्छ । घाँटीमा नीलडाम भएको भन्ने लास प्रकृति मुचुल्कासमेतले देखाएको अवस्थामा मृतकको मृत्यु घाँटी थिचिएर भएको कुरामा शङ्का गर्ने ठाउँ देखिँदैन । प्रतिवादीको ससुरा नाता पर्ने सिताराम पौडेल र पति कुमार पौडेलसमेत बुझिएका अन्य व्यक्तिले समेत अदालतमा आई बकपत्र गर्दा प्रतिवादीकै कर्तव्यबाट मृतकको मृत्यु भएको भनी व्यहोरा उल्लेख गरिदिएको पाइन्छ । यी प्रतिवादीले आफ्नो सफाइमा अदालतमा साक्षी प्रमाण पेश गर्न सकेको पनि पाँइदैन, निजले घरका कोही मानिसलाई जानकारी नै नगराई बच्चालाई मार्ने र आफू पनि मर्ने उद्देश्य लिई जंगलतर्फ गएको कुरामा प्रतिवादी स्वयं साबित भई बयान गरेकी छिन् । जंगलको बसाइको क्रममा मृतक बच्चाको मृत्यु हुन गएको अवस्थामा यिनै प्रतिवादीको कर्तव्यबाट मृतकको मृत्यु भएको पुष्टि हुन आएकोले प्रतिवादी सरिता पौडेललाई अभियोग माग दावीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सजाय हुने गरी भएको शुरू सुनसरी जिल्ला अदालतको फैसलालाई सदर गर्ने ठहर्याई भएको पुनरावेदन अदालत, विराटनगरको मिति २०६८।३।७ को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । मेरो कर्तव्यबाट मृतकको मृत्यु भएको होइन भन्ने प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन ।
3. प्रतिवादी सरिता पौडेललाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद गर्दा सजाय चर्को हुन जान्छ कि भन्ने सन्दर्भमा विचार गर्दा शुरू तथा पुनरावेदन अदालतले कैद वर्ष ५(पाँच) गर्ने राय व्यक्त गरेको पाइयो । यी प्रतिवादीले चरम गरिबी, असहाय अवस्था, सहयोग र समर्थनको अभावले मनोवैज्ञानिक दुर्बलताले विवेकहीन कार्य गरेको देखिन आउँदछ । बराबर विरामी भइरहने र त्यसको भार थेग्न नसक्ने अवस्थाले विचलित भएर एउटा महिलाले आफ्नो प्रियजन कै उपर साङ्घातिक बल प्रयोग गर्नुपर्ने परिस्थिति मानवता र समाजका लागि पनि चेतावनी दिने खालको कुरा छ । यस्तो कार्य र परिस्थिति अवाञ्छित र विडम्बनापूर्ण त छ तर त्यस्तो स्थितिबाट उम्कन सक्ने राहतजन्य व्यवस्थाहरूको अभावमा त्यस्तो जघन्य र सम्वेदनशून्य अवस्था आई नरहला भन्न पनि सकिँदैन । समाज र राज्यले यस्ता कुराको कारक तत्त्वहरूको अध्ययन र पहिचान गरी मानवीय सुरक्षाका किल्लाहरू ठेकेदारहरूले मजबुत पार्ने प्रयास गर्नुपर्ने हुन्छ ।
4. प्रस्तुत मुद्दामा परिस्थितिको प्रतिकूलता र गम्भीर मनोवैज्ञानिक चापमा परेर प्रतिवादीले कसूर गरेको देखिएकोले अभियोग दावीबमोजिम कसूर कायम गरी सजायको हकमा उपरोक्तबमोजिमको परिस्थितिको विद्यमानता विचार गरी अ.बं. १८८ नं.बमोजिम पुनरावेदन अदालतले ५(पाँच) वर्षमात्र कैद सजाय गर्न उपयुक्त हुने भनी व्यक्त गरेको राय न्यायको दृष्टिले मनासिब हुँदा सदर हुने ठहर्छ । अरूमा तपसीलबमोजिम गर्नू ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी सरिता पौडेललाई अभियोग दावीबमोजिम ज्यानसम्बन्धीको १ नं. र १३(३) नं.बमोजिम कसूर कायम गरी अ.बं. १८८ नं.बमोजिम ५(पाँच) वर्षमात्र कैद सजाय हुने भनी फैसला भएकोले निजलाई सोहीबमोजिम ५(पाँच) वर्षको कैदको लगत कस्नु भनी शुरू सुनसरी जिल्ला अदालतमा लेखी पठाउनू .....१
यस अदालतमा रहेको प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ............................१
उक्त रायमा सहमत छु ।
न्या.प्रा.डा.भरतबहादुर कार्की
इति संवत् २०७० साल माघ २० गते रोज २ शुभम् .......................
इजलास अधिकृत :– अनिल कुमार शर्मा