शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५८० - उत्प्रेषण

भाग: २४ साल: २०३९ महिना: मंसिर अंक:

निर्णय नं. १५८०     ने.का.प. २०३९  अङ्क ८

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०३८ सालको रि.नं. १५१२

आदेश भएको मिति : २०३९।८।१३।१ मा

निवेदक : जि.सर्लाही वनोल गा.पं.वडा नं.५ बस्ने योगेन्द्र झा माहापात्र ब्राम्हण

विरुद्ध

विपक्षी : ऐ.वनोल गा.पं.वडा नं.४ बस्ने असर्फी झा महापात्र ब्राम्हण

बिषय : उत्प्रेषण

(१)                एकासगोल रहेकै बखत फिल्डबुकमा मोही जनाएकोलाई कानून बमोजिम नै मानी मोहीको लगत कट्टा गर्न नमिल्ने ठहराएको भू.सु.अ.को निर्णय त्रुटिपूर्ण हुने ।

(प्रकरण नं. ९)

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस

विपक्षीतर्फबाट       : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद विजयी र विद्वान अधिवक्ता श्री   यादवप्रसाद खरेल

उल्लिखित मुद्दा :

आदेश

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     विपक्षी कार्यालयको मिति ०३८।९।२३।५ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भनी संविधानको धारा ७१ अन्तर्गत मिति ०३२।९।२८मा रिटनिवेदन दर्ता हुन आएको  रहेछ ।

२.    मुद्दाको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ : मैले प्रतिरक्षीको एकासगोलको बाबु श्री नारायण झा को नाउँको जि.सर्लाही फूलपरासी गा.पं.वडा नं.८ कि.नं.२२३ को ११० मध्ये ०१० हाल कित्ताकाट हुँदा कि.नं.३१७ कायम भएको र ऐ.कि.नं.२८५ को ०४ समेत ०२९।३।२६।१ का दिन घरसारमा र मिति ०३१।१।१३ का दिन स.जि.अ.को फैसला बमोजिम रजिष्ट्रेशन गरेकोमा प्रतिरक्षी र निजको आमा समेत साक्षी बसेका छन् । राजीनामाका बखतमा श्रीनारायण झाले यो जग्गामा कोही मोही नभई म आफैंले जोती भोग गरी आएको भन्ने व्यहोरा समेत पारी राजीनामा गरेको र एकासगोलको छोरा मञ्जुरी सहित साक्षी बसेकोमा सो जग्गाको मोही महलमा प्रतिरक्षीको नाउँ उल्लेख भएकोले उक्त विवरण संशोधन गरी पाउँ भनी मैले विपक्षी कार्यालय समक्ष निवेदन दिएकोमा प्रतिरक्षीले लगत कट्टा गर्न इन्कारी भई प्रतिउत्तर दाखिल गरेकोमा प्रमाणपत्र प्राप्त मोही देखिएको र जग्गा समेत निजले जोती रहेको छ भन्ने सरजमिन देखिएकोले मोही लगत कट्टा गर्न नमिल्ने भन्ने समेत निर्णय भएको रहेछ ।

३.    विपक्षले ऐनका दफा २ (ख) अनुसार अरुको जग्गा नकमाएको र प्रतिरक्षी मञ्जुर भई सही गरेको निजको मोही हक यस जग्गामा भए तत्काल खण्डन गर्नु पर्ने सो नगरी बसेकाले प्रमाण ऐन, ०३१ को दफा ३४ अनुसार विवन्धनको सिद्धान्त समेत लाग्ने हो । साथै प्रतिरक्षीले मूल आधार बनाएको २ नं.अनुसूची कुन मितिमा कसले प्रकाशित गर्‍यो सो कुरा २ नं.अनुसूचिबाट देखिँदैन । जग्गा नाप जाँच निमित्त खडा भएकोले फिल्डबुकको व्यहोरावाट मोही कायम हुन सक्तैन । तसर्थ, उत्प्रेषणको आदेशद्वारा विपक्ष कार्यालयको निर्णय बदर गरी परमादेशको आदेश जारी गरी पाउँ ।

४.    विपक्षीहरुबाट लिखितजवाफ झिकाई आएपछि पेश गर्नु भन्ने समेत ०३८।१०।२९।५ को सिंगलबेञ्चको आदेश ।

५.    प्रमाणपत्र प्राप्त मोही देखिएको र सरजमिनको भनाइबाट पनि मोही देखिएकोले मोहीको लगत कट्टा गर्न नमिल्ने । तसर्थ, रिट निवेदकको कुनै मौलिक हक हनन् भएको छैन । माग बमोजिमको रिट जारी हुनु पर्ने होइन खारेज गरी पाउँ भन्ने समेत भू.सु.का. सर्लाहीको लिखितजवाफ ।

६.    विपक्षीको लेखाई अनुरुपका कुनै पनि कानूनी त्रुटि नभएको र अधिकार प्राप्त अधिकारीज्यूबाट कानून बमोजिम भएको निर्णय हुँदा विपक्षको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत असर्फि झा माहापात्र ब्राह्मणको लिखितजवाफ ।

७.    निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री शिवानन्द दास सरसले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) मा मोहीको परिभाषा दिएको छ । सो अनुसार अरुको जग्गा कमाउनेलाई मोही मानिने व्यवस्था छ । विपक्षीको बाबुसँग जग्गा खरीद गरी लिँदा कोही मोही नभएको भन्ने राजीनामा लिखतमा उल्लेख भई सो लिखतमा एकासगोलको छोरा असर्फी झा समेत साक्षी बसेकोले जग्गाधनीको एकासगोलको छोरा मोही हुन नसक्ने हुनाले सो मोहीको लगत कट्टा गर्नु पर्नेमा नगरेको भूमिसुधार अधिकारीको निर्णय बदर हुनु पर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नु भएको छ ।

८.    विपक्षी भूमिसुधार अधिकारीतर्फबाट उपस्थित हुनु भएको विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद बिजयीले विवादास्पद जग्गाको २ नं.लगत तयार भई सकेकोले सो २ नं.लगत बदर नभए सम्म मोहीको लगत कट्टा हुन सक्तैन । तसर्थ, भूमिसुधार अधिकारीले मोहीको लगत कट्टा नहुने गरेको निर्णय सदर हुनु पर्दछ भन्ने समेत र विपक्षी असर्फी झा माहापात्र ब्राह्मण तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले अंश छुट्टिई  बेगल बस्नुको साथै मोहियानी प्रमाणपत्र प्राप्त व्यक्ति मेरो पक्ष भएकोले ०२९।३।२६।१ को घरसारको लिखतको साक्षीको महलमा केवल साक्षी बस्दैमा मोही हक संशोधन हुनुपर्ने  होइन । रिटनिवेदन खारिज गरिपाउँ भन्नेसमेत बहस प्रस्तुत गर्नुभएको छ ।

९.    यसमा विवादास्पद जग्गा श्रीनारायण झासँग ०२९।३।२६ मा राजीनामा लिँदा मोही कोही नभएको भन्ने उल्लेख भई प्रतिरक्षी साक्षी बसेको र मोही महलमा निजको नाउँ उल्लेख भएको हुनाले सो संशोधन गरी पाउँ भन्ने उजुरी परेकोमा प्रमाणपत्र प्राप्त मोही देखिनुका साथै सरजमिन समेतले जग्गा जोतेकोमा किटी लेखिदिएकोले मोही लगत कट्टा गर्न नमिल्ने भन्ने समेत निर्णय गरेको देखिन्छ । रिट निवेदन साथ पेश गरेको फिल्डबुकको प्रतिलिपिबाट किसानको महलमा असर्फी झा जग्गावाला श्री नारायण झा र कैफियत महलमा यो जग्गा सगोल बस्ने बाबु श्री नारायण झाको नम्बरी होभन्ने उल्लेख गरेको पाइन्छ । मोहीभन्नाले अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान सम्झनु पर्छ भन्ने भूमिसम्बन्धी ऐन, २०२१ को दफा (२) (ख) ले परिभाषा गरेको छ । सो मोही शब्दको परिभाषा अनुसार एकासगोलमा रहँदाको अवस्थामा बाबु जग्गाधनी भएकोमा सोही जग्गाको मोही छोरा हुन नसक्ने कुरा प्रष्ट छ । यसरी एकासगोल रहेकै बखत फिल्डबुकमा मोही जनाएकोलाई कानून बमोजिम नै मानी मोहीको लगत कट्टा गर्न नमिल्ने ठहराएको भूमिसुधार अधिकारीको ०३८।९।२३।५ को निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा (२) (ख) को प्रत्यक्षतः त्रुटिपूर्ण हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब कानून बमोजिम निर्णय गर्नु भनी विपक्षी भूमिसुधार अधिकारीका नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ । यो आदेशको प्रतिलिपि विपक्षीकहाँ पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई नियमानुसार गरी फाइल बुझाई दिनु ।

 

म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०३९ साल मार्ग १३ गते रोज १ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु