निर्णय नं. ७१७४ - उत्प्रेषण

निर्णय नं.७१७४ ने.का.प २०६० अङ्क १.२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी
सम्वत २०५६ सालको रिट नं. ३३८२
आदेश मितिः २०६०।२।२७।३
विषयः– उत्प्रेषण ।
निवेदकः जिल्ला डडेलधुरा वगरकोट गा.वि.स. वडा नं १ दुगडी वस्ने वर्ष ५४ को भवानी दत्त चटौत
विरुद्ध
विपक्षीः श्री निजामती कितावखाना, हरिहर भवन समेत
§ निवेदकको पहिलेको शैक्षिक योग्यतामा उल्लेख बह्एको जन्म मिती लाई नै निज को वास्तविक जन्म मिती कायम हुने गरी निज को नागरिकता को प्रमाणपत्र उल्लेखित उमेर निरोगिताको प्रमाणपत्र र निज आँफैले भरेको सिटरोल समेतले समर्थन गरिरहेको अवस्था मा निज ले उमेर को हद बाट सेवाबाट अवकाश पाउने मिति नजिक भैरहेको अवस्थामा पेश गरेको संशोधित जन्म मिती लाई मान्यता नदिने कार्य लाई अन्यथा भन्न नमिल्ने।
§ निवेदकले मौका मा पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र को आधार मा उमेर को गणना गरी ५८ वर्ष उमेर पुरा भएपछी उमेर्को हद को कारणले दिएको अनिवार्य अवकाश लाई कानुन विपरित भन्न् मिल्ने नहुँदा निवेदन माग बमोजिमको आदेश जारी गर्न नमिल्ने देखिदा रिट निवेदन खारेज हुने ।
निवेदक तर्फबाटः
विपक्षी तर्फबाटः
विद्वान उपन्यायाधीवक्ता श्री सुरेन्द्रवहादुर थापा
अवलम्वित नजिरः
आदेश
न्या.मीनबहादुर रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(२) वमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र निर्णय आदेश यस प्रकार छ :–
२. म निवेदकको जन्म ८।१।१९४५ मा भएकोमा मैले सम्पूर्णानन्द संस्कृत विश्व विद्यालयवाट सन १९६३ मा पूर्वमध्यमा पास गरेको सोको प्रमाणपत्रमा गल्तिले मेरो उमेर १४–१–१९४१ हुन गयो । सो गल्ती सच्याई पाउँ भनी मैले सम्पूर्णानन्द विश्व विद्यालयमा कारवाही चलाएकोमा २५ मार्च १९९९ मा मेरो उमेर ८–१–१९४५ कायम गरिदियो । त्यसरी मेरो उमेर ८–१–१९४५ कायम भएपछि निजामती किताव खानामा भएको मेरो रेकर्डमा पनि सोही वमोजिम गरी पाउँ भनी मैले श्री सर्वोच्च अदालतमा ०५६।५।१५ मा निवेदन दिएं । मेरो निवेदनमा कारवाही हुँदा ०५६।५।१६ को सर्वोच्च अदालतको पत्रले निजामती कितावखानालाई पुनरावेदन अदालत महेन्द्रनगरका निमित्त रजिष्ट्रार श्री भवानी दत्त चटौतको जन्ममिति २००२।६।२४ तदनुसार १९४५ जनवरी ८ भएकोमा विश्व विद्यालयवाट पहिले प्राप्त प्रमाणपत्रमा अन्यथा भएकोले हाल सोही विश्वविद्यालयवाट सच्याई आएको व्यहोरा वाँहाले यस अदालतमा प्रस्तुत गर्नु भएको निवेदनवाट जानकारी हुन आएकोले सम्पूर्ण कागजात सहित पठाइएको छ । वाहांको जन्ममिति सच्याई संशोधित अभिलेख राखिदिन हुन भनी पत्र पठाएकोमा सो पत्र वमोजिम मेरो शैक्षिक योग्यताको प्रमाणपत्र अनुसार २००२।९।२४ मा जन्म भएकोमा २०६०।९।२४ मा मात्र ५८ वर्ष पूरा हुने भई सोही मितिमा मैले अवकास पाउनु पर्नेमा श्री पुनरावेदन अदालत महेन्द्रनगरको २०५६।६।५ को पत्रले निजामती कितावखानाको मिति २०५६।६।५ को पत्र अनुसार नि.से.ऐन, २०४९ कोदफा ३३(१) अनुसार तपाईको उमेर मिति २०५६।६।५ मा ५८ वर्ष पूरा भै २०५६।६।६ वाट अनिवार्य अवकास हुनु हुने भन्ने न्याय सेवा आयोगको ०५६।५।२१ को पत्र प्राप्त हुन आएकोले ०५६।६।६ देखि लागू हुने गरी सेवा वाट अनिवार्य अवकाश दिएकोछ भन्ने व्यहोरो उल्लेख रहेछ ।
३. यसरी मेरो जन्ममिति २००२।९।२४ तदनुसार १९४५ जनवरी ८ भनी शैक्षिक योग्यता पेश गरेकोमा त्यसलाई सर्वोच्च अदालतले स्वीकार गरी रहेको अवस्थामा म निवेदक नि.से.ऐन, वमोजिम ०६०।९।२४ मा मात्र अनिवार्य अवकाश हुनुपर्नेमा विपक्षी निजामती कितावखानाले ०५६।६।६ वाट अवकास गर्ने निर्णय गरेकोले उक्त निर्णय वदर गर्ने अन्य कानूनी उपचारको अभावमा यो निवेदन लिएर आएको छु ।
४. निजामती सेवा ऐन, २०४९ को दफा ३३(३) को (क) मा सेवामा प्रवेश गर्दा निजले पेश गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षवाट हुन आएको उमेरको आधारमा उमेर गणना गर्ने व्यवस्था छ । मैले पेश गरेको शिक्षण संस्थाको उमेर गल्ति भयो भनी कारवाही चलाई उक्त विश्व विद्यालयवाट आवश्यक छानवीन गरी मेरोजन्ममिति ८–१–१९४५ कायम गरेपछि सोही वमोजिम निजामती कितावखानामा भएको मेरो अभिलेखमा संच्याई सोही वमोजिम गणना हुनु पर्ने हो । हाम्रो देशमा उमेर नाम र जात सच्याउने नियमहरु, २०१७ को नियम ७ मा यो नियम लागू हुनु भन्दा अगाडि भरेको सिटरोल वाहेक अरु शैक्षिक योग्यताको प्रमाणपत्र सच्याउन पाउने व्यवस्था भएको र सोही वमोजिम मेरो शैक्षिक योग्यतामा जन्ममिति सच्चिएपछि सोही वमोजिम हुनुपर्नेमा अन्यथा गरेको विपक्षी कितावखानाको कार्य निजामती सेवा ऐन, २०४९ को दफा ३३(३) र उमेर नाम र जात सच्याउने नियम, २०१७ को नियम ७ विपरीत छ । उपर्युक्तानुसार मेरो जन्ममिति २००२ ।९।२४ कायम हुनुपर्नेमा त्यसो नगर्ने विपक्षीहरुको कार्यवाट मेरो नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१) १२(२) (ङ) र धारा १७ द्वारा प्रदान गरिएको हक हनन भएकोले धारा २३, ८८(२) वमोजिम उत्प्रेषणको आदेश जारी गरी पुनरावेदन अदालत महेन्द्रनगरको ०५६।६।५ को पत्र र सो पत्रमा उल्लेखित सम्पूर्ण काम कारवाही मिति ०५६।६।४ को निर्णय र म निवेदकलाई अवकाश दिने निर्णय पत्र समेत वदर गरी निवेदकको संशोधित पूर्वमध्यमा प्रमाणपत्रमा उल्लेख भएको मिति ८–१–१९४५ लाई उमेर कायम गरी २०६०।९।२४ सम्म सेवा गर्न दिनु भन्ने परमादेशको आदेश जारी गरी पाउँ भन्ने रिट निवेदन व्यहोरा ।
५. रिट निवेदक भवानी दत्त चटौतलाई नोकरीवाट अनिवार्य अवकाश गर्ने भन्ने निर्णय न्याय सेवा आयोगको नभै निजामती कितावखानाले यस आयोगलाई लेखेको मिति २०५६।५।६ को पत्रमा मिति २०५६।६।५ मा ५८ वर्ष पूरा हुने भएकोले नि.से.ऐन, २०४९ को दफा ३३(१) अनुसार मिति २०५६।६।६ देखि उमेरको हद वाट अनिवार्य अवकास हुने, निजलाई अनिवार्य अवकाश दिई जानकारी दिन हुन भनी लेखि आएको हुँदा सोही व्यहोरा उल्लेख गरी पठाएको हो । निजको अवकाश कुन मितिमा हुने भनि निर्णय गर्ने अधिकार न्याय सेवा आयोगलाई नभएकोले रिट निवेदन खारेज गरी पाउँ भन्ने न्याय सेवा आयोगको लिखित जवाफ
६. रिट निवेदक श्री भवानी दत्त शर्मा चटौतको यस कितावखानामा रहेको अभिलेख अनुसार निज ०३२।६।७मा न्याय सेवा रा.प.अनं.प्रथम श्रेणीमा स्थाई नियुक्ति भई ०४१।८।२५ को निर्णयले शा.अ. सरहको पदमा वढुवा भई २०५०।८।२१ को निर्णयले सहायक सचिव स्तरको पदमा र २०५०।३।२८ देखि उक्त पद उपसचिव मा परीणत भै २०५६।६।६ देखि उमेरको कारणवाट अनिवार्य अवकाश भएको अभिलेख वाट देखिन्छ ।
७. निजको जन्ममिति सम्वन्धमा निजले सेवा प्रवेश गर्दा पेश गर्नु भएको सिटरोलमा सर्वप्रथम भर्ना हुँदाको उमेर ३४ को उल्लेख गर्नु भएको छ । निजले पेश गर्नु भएको २०३२।६।७ को निरोगिताको प्रमाण–पत्रमा समेत ३४वर्ष उल्लेख हुनुको साथै माहाकाली अंचलाधीश कार्यालय शाखा नं.२ डडेल्धुरा वाट २०२५।७।२९मा लिएको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिमा २९ वर्ष उल्लेख छ । यस कितावखानाले निजले पेश गरेको सिटरोलको आधारमा नि.से ऐन, २०४९ को दफा ३३(३) को (ख) अनुसार हुन आउने मिति कायम गरी २०५६।५।१६ मा अनिवार्य अवकाशको सूचना पठाइएको र सर्वोच्च अदालतवाट २०५६।५।१६ मै निजको जन्ममिति ८ जनवारी १९४५ हुनुपर्नेमा अन्यथा हुन गएकोले वाराणसी संस्कृत विश्व विद्यालयवाट प्राप्त संसोधीत प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी उक्त संसोधित मिति राखी दिन अनुरोध भै आएको । जन्ममिति राख्ने सम्वन्धमा निजले यस अगाडि पेश गर्नु भएको नियुक्ति, सिटरोल, निरोगिता र नागरिकता समेत सम्वन्धित कागजात अनुसार २००२ साल देखिनै कुनै कागजात नभएको र एक्कासी अनिवार्य अवकाश पठाएपछि मात्र जन्ममिति संसोधन गर्न अनुरोध भै आएकोले निजामती सेवा ऐन, २०४९ को दफा ३३(क) अनुसार उमेर गणना गर्दा सेवा प्रवेश गर्दा पेश गरेको शैक्षिक संस्थाको प्रमाणपत्र भन्ने उल्लेख भएकोमा निजले तत्काल प्रमाणपत्र पेश नगरेको र त्यस्तो अवस्थामा सोही ऐनको दफा ३३(ख) अनुसारको उमेरलाई पुष्ट्याई गर्ने सक्कल नियुत्तिपत्र, निरोगिता प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र समेतको आधारमा सिटरोलमा उल्लेख भएको उमेरलाई नै निजको जन्ममिति कायम गरिएको र सेवा प्रवेश भएको २४ वर्ष पछि आएर अनिवार्य अवकाशको सूचना पठाई सकेको अवस्थामा संशोधित प्रमाणपत्रको आधारमा जन्ममिति कायम गर्न नमिल्ने जानकारी समेत दिइसकेकोले निवेदन जिकिर कानूनसम्मत नहुँदा प्रस्तुत रिट निवेदन खारेज गरी पाउँ भन्ने निजामती कितावखानाको लिखित जवाफ ।
८. मिति ०५६।६।६ देखि अनिवार्य अवकास दिई सो को जानकारी यस आयोग र निजामती कितावखानालाई दिन हुन भन्ने न्याय सेवा आयोगको पत्र अनुसार र भवानी दत्त चटौत ५८ वर्ष पूरा भै अनिवार्य अवकाश पाउने भन्ने निजामती कितावाखानाको पत्र अनुसार यस अदालतवाट ०५६।६।६ देखि लागू हुने गरी अवकास दिइएको हो । निजको मौलिक हकको हनन हुने कार्य यस अदालतवाट नभएको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने पुनरावेदन अदालत महेन्द्र नगरको लिखित जवाफ ।
९. नियम वमोजिम दैनिक पेश सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा विपक्षी निजामती कितावखाना समेतको तर्फ वाट उपस्थित विद्वान उप– न्यायाधीवक्ता श्री सुरेन्द्रवहादुर थापाले पहिले पेश गरेको शैक्षिक योग्यता र निजले आँफैले भरेको सिटरोल, नागरिकताको प्रमाणपत्र समेतको आधारमा किटिएको निजको जन्ममितिवाट निजामती सेवा ऐन वमोजिम कानून वमोजिम दिएको अनिवार्य अवकासवाट निवेदकको हकमा आधात नपार्ने हुँदा प्रस्तुत रिट निवेदन खारेज हुनुपर्छ भन्ने व्यहोराको वहस प्रस्तुत गर्नु भयो ।
१०. मिसिल अध्ययन गरी विद्वान उपन्यायाधिवक्ताको वहस सुनी निर्णय तर्फ विचार गर्दा रिट निवेदन माग वमोजिमको आदेश जारी हुने हो, होइन भन्ने सम्वन्धमा नै निर्णय दीनु पर्ने देखिन्छ ।
११. मेरो जन्म ८–१–१९४५ हुनुपर्नेमा सम्पूर्णानन्द विश्वविद्यालयवाट सन् १९६३ मा पूर्व मध्यमा परीक्षा पास गरी त्यसको प्रमाणपत्र लिंदा गल्तिले गर्दा मेरो उमेर १४–१–१९४१ हुन गएकोले मेरो उमेर संच्याई पाउँ भनि मैले चलाएको कारवाहीमा कारवाही हुदै जाँदा २२ मार्च १९९९मा उक्त विश्व विद्यालयवाट मेरो उमेर सच्याई ८–१–१९४५ कायम गरी दियो ।मैले नोकरीमा प्रवेश गर्दा पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र कै आधारमा निजामती कितावखानाको अभिलेखमा मेरो उमेर जनिएकोले पछि संशोधित जन्ममिति अनुसार कायम गरी पाउँ भनी मैले सर्वोच्च अदालतमा दिएको निवेदन अनुसार सर्वोच्च अदालतवाट विपक्षी निजामती कितावखानामा मेरो संशोधित जन्ममिति कायम गरी दिनु भनी पत्राचार भएकोमा सो वमोजिम मेरो जन्ममिति २००२।९।२४ कायम नगरी पुरानै जन्ममितिवाट हिसाव गरी मेरो उमेर ०६०।९।२४ मा मात्र ५८ वर्ष पूरा हुनेमा ०५६।६।५ मा नै ५८ वर्ष पूरा हुने भनी ०५६।६।६ मा अनिवार्य अवकास हुने भन्ने निजामती कितावखानाको जनाउ वमोजिम न्याय सेवा आयोगको पत्र वमोजिम भनी मलाई अवकाश दिने पुनरोदन अदालत महेन्द्रनगरको ०५६।६।४ को निर्णय ०५६।६।५ को पत्र र सो पत्रमा उल्लेखित सम्पूर्ण काम कारवाही वदर गरी मेरो संशोधित पूर्वमध्यमाको प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति ८–१–१९४५ लाई कायम गरी २०६०।९।२४ सम्म सेवा गर्न दिनु भन्ने परमादेशको आदेश समेत जारी गरी पाउँ भन्ने रिट निवेदन माग रहेको देखिन्छ ।
१२. निवेदकले आफ्नो रिट निवेदनमा आफूले सेवा प्रवेश गर्दा पेश गरेको पूर्वमध्यमा उत्तिण गरेको प्रमाणपत्रमा आफ्नो जन्ममिति १४–१–१९४१ भएको भन्ने उल्लेख गर्नु भएको पाइन्छ । त्यो प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिमा गल्ति भएको भनि मौकामा नै कारवाही चलाएको कतैवाट देखिदैन । प्रमाणपत्रमा लेखिएको जन्ममिति अनुसार नै नागरिकताको प्रमाणपत्र, नोकरी प्रवेश गर्दा कै समयमा पेश गरेको निरोगिताको प्रमाणपत्र र निवेदक आँफैले भरेको सिटरोलमा सोही जन्ममिति उल्लेख गरेको भन्ने निजामती कितावखानाको लिखित जवाफ देखिन्छ र त्यसलाई निवेदकले अन्यथा भन्न सकेको पाइदैन । निवेदकले निजामती सेवा ऐन अनुसार उमेरको हदवाट आफूले अनिवार्य अवकाश पाउने समय नजिक आएपछि मात्र उमेर संशोधन गरेको प्रमाणपत्र पेश गरेको र त्यसलाई निजामती कितावखानाले मान्यता नदिएको सम्वन्धमा निजामती सेवा ऐन, २०४९ को दफा ३३(३) हेर्दा, यस दफाको प्रयोजनको लागि निजामती कर्मचारीको उमेर देहाय वमोजिम गणाना गरीने छ –
(क) सेवामा प्रवेश गर्दा निजले पेश गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षवाट हुन आएको उमेर,
(ख) खण्ड (क) वमोजिमको अभिलेख नभएमा निजले सेवा प्रवेश गर्दा वैयक्तिक नोकरी विवरण (सिटरोल) मा लेखिएको जन्ममिति वा वर्षवाट हुन आएको उमेर ।
१३. उपर्युक्त कानूनी व्यवस्था वमोजिम निजामती कर्मचारीको उमेरको गणना गर्दा निजले सेवा प्रवेश गर्दा कुनै शिक्षण संस्थाको शैक्षिक प्रमाणपत्र पेश गरेको भएमा सोही वमोजिम गणना हुने र त्यस्तो प्रमाणपत्र नभएमा मात्र सिटरोलमा उल्लेख गरेको जन्ममितिवाट गणना गर्नुपर्ने भन्ने देखिन्छ । प्रस्तुत रिट निवेदनमा निवेदकले नोकरीमा प्रवेश गर्दा पेश गरेको पूर्वमध्यमा उत्तीर्ण गरेको प्रमाणपत्रमा आफ्नो जन्ममिति १४–१–१९४१ भएको भन्ने रिट निवेदनमा नै उल्लेख भएको र निजामती किताव खानाले निजको उमेरको गणना सोही जन्ममितिको आधारमा गरेको भन्ने कुरामा विवाद देखिदैन । सो वमोजिम निजको उमेर २०५६।६।५ मा ५८ वर्ष पूरा हुने हुन्छ । निजामती सेवा ऐन, २०४९ वमोजिम कुनै निजामती कर्मचारी ५८ वर्ष पुरा भएपछि सेवा वाट अनिवार्य अवकास हुने व्यवस्था भए वमोजिम नै निवेदकलाई ५८ वर्ष उमेर पुगे पछि उमेरको हदको कारणवाट अनिवार्य अवकास दिएको पाइन्छ । जहाँ सम्म पूर्व मध्यमाको शैक्षिक प्रमाणपत्रमा संशोधित जन्ममिति अनुसार उमेर गणना हुनेपर्नेमा निजामती कितावखानाले त्यसो गरी दिएन भन्ने निवेदन जिकिर छ सो सम्वन्धमा निवेदकको पहिलेको शैक्षिक योग्यतामा उल्लेख भएको जन्ममितिलाई नै निजको वास्तविक जन्ममिति कायम हुने गरी निजको नागरिकताको प्रमाणपत्रमा उल्लेखित उमेर निरोगिताको प्रमाणपत्र र निज आँफैले भरेको सिटरोल समेतले समर्थन गरी रहेको अवस्थामा निजले उमेरको हदवाट सेवा वाट अवकाश पाउने मिति नजिक भैरहेको अवस्थामा पेश गरेको संशोधित जन्ममितिलाई मान्यता नदिने कार्यलाई अन्यथा भन्न मिल्ने देखिदैन । यस्तो अवस्थामा निवेदकले मौकामा पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा उमेरको गणना गरी ५८ वर्ष उमेर पुरा भएपछि उमेरको हदको कारणले दिएको अनिवार्य अवकास लाई कानून विपरीतको भन्न मिल्ने नहुँदा निवेदन माग वमोजिमको आदेश जारी गर्न मिलेन। प्रस्तुत रिट निवेदन खारेज हुन्छ। मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.कृष्णकुमार वर्मा
इति सम्वत २०६० साल जेष्ठ २७ गते रोज ३ शुभम......... ।