निर्णय नं. ७१८२ - वैदेशिक रोजगार

निर्णय न.७१८२ ने.का.प २०६० अङ्क १.२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल
माननीय न्यायाधीश श्री रामनगिना सिंह
सम्वत् २०५५ सालको फौ.पु.नं. .................२१३३
सम्वत् २०५६ सालको फौ.पु.नं. .................२०२२
फैसला मिति :-२०५९।१२।२४।२
मुद्दा :– वैदेशिक रोजगार ।
पुनरावेदक
वादी: फुलगेन यादवको जाहेरीले श्री ५ को सरकार विरुद्ध
प्रत्यर्थी
प्रतिवादी :का.जि.का.न.पा.वडा नं. ३० वस्ने उदयवहादुर श्रेष्ठ
पुनरावेदक
वादी: फुलगेन यादवको जाहेरीले श्री ५ को सरकार विरुद्ध
प्रत्यर्थी
प्रतिवादी: का.जि.का.न.पा.वडा नं. १७ क्षेत्रपाटी वस्ने जगदीशवहादुर श्रेष्ठ
§ प्रतिवादीको वयान हेर्दा प्रतिवादीले वैदेशिक रोजगार मिलाई दिनका लागि रुपैंया लिएको नभई त्यसको वैदेशिक रोजगारमा जाने मानिसलाई हवाई जहाजको टिकटको लागि अग्रीम रुपैयाँ लिएको देखिन आएको हुनाले त्यस्तो ब्यहोरालाई कसूरमा सावित भएको भन्न मिल्ने नदेखिँदा वैदेशिक रोजगार ऐन, २०४२ को दफा ३ ले यस ऐन बमोजिम इजाजत पत्र नलिई कसैले वैदेशिक रोजगार व्यबसाय संचालन गर्न पाउने छैन भन्ने व्यवस्था गरेको देखिँदा सा् बमोजिम प्रतिवादी जगदीशवहादुर श्रेष्ठले इजनाजत प्राप्त गरी वैदेशिक रोजगार व्यवसाय संचालन नगरी विदेश जान हवाई टिकट मिलाउने काम गर्ने गरेको र प्रतिवादीको सो कार्यले वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४)२) बमोजिमको कसूर गरेको भन्न नमिल्ने ।
§ जाहेरवालाले अदातलमा आई वकपत्र गर्दा प्रतिवादी उदयवहादुरको कसूरमा संलग्नता बारे मौन रही निजबारे उल्लेख गर्न सकेको देखिँदैन । सह अभियुक्त जगदीशबहादुरले उदयबहादुरको समेत कसूरमा संलग्नता रहेको भनी पोल गर्न पनि नसकेको र प्रतिवादी उदयवहादुर अधिकार प्राप्त अधिकारी समक्ष र अदालतमा समेत वयान गर्दा कसूरमा पूर्णतः इन्कार रही बयान गरेको देखिँदा समेत निजलाई कसूरदार ठहर्याउन नमिल्ने ।
पुनरावेदक वादी तर्फबाट : विद्धान श्री का.मु नायव महान्यायाधिवक्ता श्री नरेन्द्र प्रसाद पाठक
प्रत्यार्थी प्रतिवादी तर्फबाट : विद्धान अधिवक्ताद्वय श्री पन्ना मान तुलाधर,श्री महादेव यदाव , श्री पवन कुमार जैसवाल र श्री वाल मुकुन्द श्रेष्ठ
अवलम्वित नजिर :
फैसला
न्या. रामनगिना सिंह : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
२. रारा ट्राभल्स एण्ड टुर्स प्रा.लि. खोली वस्ने जगदीसवहादुर श्रेष्ठले विदेश अरवमा काम गर्ने हो मासिक १५।१६ हजार पाइन्छ भनि विभिन्न प्रलोभनमा पारी म समेतवाट तीन लाख उन्नान्तीस हजार लिई निजले म समेतलाई वैदेशिक रोजगार नदिलाई पटक पटक रुपैंया माग्दा रुपैंया समेत नदिएको हुंदा निजको अफिसवाट रुपैंया वुझेको भरपाई समेत यसै साथ दाखिला गरेको छु । निज उपर कानूनी कारवाही गरि पाउं भन्ने समेत व्यहोराको फुलगेन यादवको जाहेरी।
३. जाहेरवालालाई वैदेशिक रोजगार लगाई दिन्छौं भनि निज जाहेरवालाले आफ्नो र अरु साथीहरुको समेत पासपोर्ट र रु ३,२९,०००।– मेरो अफिसमा जम्मा गरेको हो । ग्लोवल म्यान पावर सप्लाई प्रा.लि. का हिरावहादुरसंग कुराकानी हुंदा भिषा आएको छैन भनि भनेको हुंदा जाहेरवाला समेतलाई वैदेशिक रोजगार लगाई दिन सकिएन भन्ने समेत व्यहोराको जगदीशवहादुर श्रेष्ठले प्रहरी अधिकृत र सरकारी वकिल समक्ष गरेको वयान ।
४. जगदीशले मलाई पार्टनर दिन्छु भनी मैले शुरुमा नै पार्टनर सिपको लगानी जगदीशको भन्दा वढीलगाएको छु । उक्त अफिसको रेखदेख जगदीशले नै गरी आएका छन् भन्ने समेत व्यहोराको प्रहरी अधिकृत र सरकारी वकिल समक्ष उदयवहादुर श्रेष्ठले गरेको वयान ।
५. जगदीशवहादुर श्रेष्ठले फुलगेन यादव समेतलाई वैदेशिक रोजगार लगाई दिन्छु भनी रुपैंया लिई वैदेशिक रोजगार नदिलाई दिएको हुंदा निजलाई प्रहरीले पक्राउ गरि लगेका हुन् भन्ने समेत व्यहोराको सर्जमिन मुचुल्का ।
६. जाहेरवालालाई वैदेशिक रोजगार लगाई दिन्छु भनी विभिन्न प्रलोभनमा पारी रुपैंया लिई वैदेशिक रोजगार लगाउन नसकी निज जगदीशवहादुर श्रेष्ठ र उदयवहादुर श्रेष्ठले वैदेशिक रोजगार ऐन, २०४२ को दफा ३ को कसूर अपराध गरेकाले ऐ. ऐनको दफा २४ को (२) ८ (४) अनुसार कारवाही गरि पाउं भन्ने समेत व्यहोराको मिति २०४९।१२।२० को अभियोग मागदावी ।
७. हाम्रो ट्राभल्सले विदेश जानको लागि टिकट लिने काम गर्दछ, उक्त टिकट लिन भनी जाहेरवाला समेतवाट रु ३,२९,०००।– लिएको थियो । मिति याद भएन पछि ६६,०००।– फिर्ता समेत गरेको जस्तो लाग्दछ । अरु रुपैया पनि दिने भनेकै थियो । उदयवहादुर र म कम्पनी खोलेदेखि नै एउटै अफिसमा छौं, निजलाई राम्रोसंग चिन्दछु त्यसैले विदेश लान्छु भनी रुपैंया लिएको होइन टिकट लिनको लागि भनी उक्त रुपैंया लिएको हो भन्ने समेत व्यहोराको प्र. जगदीशवहादुर श्रेष्ठले अदालतमा गरेको वयान ।
८. जाहेरवालाले उक्त रुपैंया लिएको भनेको मितिमा म यहां नै थिइन, मैले उक्त रुपैंया लिनु दिनु गरि भरपाई समेत गरि दिएको छैन । जगदीशले पनि उक्त वैदेशिक रोजगार लगाई दिन्छु भनि भनेको छैनहोला भनी उदयवहादुर श्रेष्ठले अदालतमा गरेको वयान ।
९. प्रतिवादीहरुले अभियोग दावी अनुसारको वैदेशिक रोजगारको कार्य गरेको देखिंदा मु.ऐन अवं. ११८ नं. को देहाय दफा ५ अनुसारको अवस्था समेत देखिंदा पछि वुझ्दै जांदा ठहरे वमोजिम हुने गरि अ.वं. ११८ नं. को देहाय दफा १० समेतलाई मध्ये नजर राखी प्र. हरु जगदीशवहादुर श्रेष्ठवाट रु २५,०००।– , प्र. उदयवहादुर श्रेष्ठवाट रु २०,०००।– धरौट जमानत दिए लिई तारेखमा र दिन नसके थुनामा राख्न कारागार पठाई दिनु भन्ने समेत व्यहोराको थुनछेक आदेश ।
१०. प्र. जगदीशको साक्षी गणेश श्रेष्ठले उक्त रारा ट्राभल्सले वैदेशिक रोजगारको काम गर्दैन र टिकटको मात्र गर्दछ त्यसैले जगदीशले सो कार्य गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी जगदीशको साक्षी गणेश श्रेष्ठको वकपत्र ।
११. उदयले जाहेरवालासंग वैदेशिक रोजगार लगाई दिन्छु भनी रुपैंया लिएको पनि छैन, देखेको पनि छैन भन्ने समेत व्यहोराको प्रतिवादी उदयवहादुर श्रेष्ठको साक्षी रोशन जोशीको वकपत्र ।
१२. म समेतलाई विदेशमा पठाई वैदेशिक रोजगार लगाई दिन्छु भनी हामीवाट रु तीनलाख उन्नान्तीस हजार जगदीशवहादुर श्रेष्ठले लिएका हुन् पछि विदेश पनि लगेनन् रुपैंया पनि फिर्ता दिएनन् । उदयवहादुर भन्नेलाई पछि चिनेको हुं मैले पैसा चाहिं जगदीशवहादुरलाई दिएको हुं भन्ने समेत व्यहोराको जाहेरवाला फुलगेनले अदालत समक्ष गरेको वकपत्र ।
१३. प्र. जगदीशवहादुर श्रेष्ठ र उदयवहादुर श्रेष्ठले वैदेशिक रोजगार ऐन, २०४२ को दफा ३ को कसूर गरेको ठहर्छ । ऐ. को दफा २४(२) ले कसूरको मात्रा अनुसार प्र. जगदीशवहादुर श्रेष्ठलाई रु १०,०००।– जरिवाना र एकवर्ष कैद र प्र. उदयवहादुर श्रेष्ठलाई रु १०,०००।– जरिवाना हुने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौंं जिल्ला अदालतको फैसला ।
१४. जाहेरी दरखास्तमा कतैपनि मेरो नाम उल्लेख गरिएको छैन । अदालत समक्ष जाहेरवालाले वकपत्र गर्दा समेत मलाई कतै पनि कसूर अपराध गरेको भनि वकपत्र गर्न सकेको छैन, त्यस्तो अवस्थामा मलाई रु १०,०००।– जरिवाना गर्ने गरि भएको का.जि.अ. को फैसला त्रुटिपुर्ण हुंदा वदर गरि पाउं भन्ने समेत व्यहोराको उदयवहादुर श्रेष्ठको तर्फवाट पुनरावेदन अदालतमा परेको पुनरावेदन ।
१५. जाहेरवालाले दरखास्त साथ पेश गरेको भरपाई लिखतवाट मैले निजसंग व्यक्तिगत रुपमा रुपैंया वुझी भरपाई दिएको नभई निजले कम्पनीलाई रुपैंया वुझाई कम्पनी स्टाफवाटै भरपाई वुझि लिएको भन्ने देखिन्छ । साथै निज विदेश नगएको वा वैदेशिक रोजगारमा नगएको नपठाएको भन्ने तथ्य पनि मिसिल कागजातवाट प्रमाणित छ । यि मिसिल संलग्न तथा प्रमाणहरु विद्यमान हुंदा हुंदै वैदेशिक रोजगार अपराधिक कृया भयो गरियो र तयसमाथि पनि मवाट व्यक्तिगत रुपवाट भयो भनि ठहर भए गरिएको शुरु जिल्ला अदालतको फैसला मिसिल तथ्य विपरीत हुनुको साथै वैदेशिक रोजगार ऐन, २०४२ को दफा ३ समेतको पनि प्रत्यक्ष विपरीत कानूनी त्रुटिपुर्ण छ । अतः शुरु जि.अ. को फैसला वदर गरी वादी दावीवाट फुर्सद गरी हक न्याय इन्साफ पाउं भन्ने समेत व्यहोराको जगदीशवहादुर श्रेष्ठको तर्फवाट पुनरावेदन अदालतमा परेको पुनरावेदन ।
१६. शुरुले पुनरावेदकलाई सजाय गर्ने गरेको इन्साफ फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने समेत पुनरावेदन अदालतको आदेश ।
१७. यसमा पुनरावेदकले जाहेरवालासंग विदेश पठाई दिने शर्तमा रुपैंया नलिई टिकट वापत रुपैंया लिएको भन्ने पेश भएको भरपाईवाट देखिइरहेको र एकै वारदातमा एकै मुद्दावाट प्रतिवादी वनाइएको उदयवहादुर श्रेष्ठको हकमा पुनरावेदन परी अभियोग दावीवाट सफाइ पाई सकेको अवस्था समेतवाट शुरु काठमाडौं जिल्ला अदालतको मिति २०५१।२।२२ को फैसला फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम झगडिया झिकाई आए वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने समेत पुनरावेदन अदालतको आदेश ।
१८. सह अभियुक्त जगदीशवहादुरले उदयवहादुरलाई कसूरमा संलग्न छन् भनी पोलगर्न पनि नसकेको र पुनरावेदक कसूर गरेमा शुरु देखिनै पूर्णत इन्कार रहेको अवस्थामा निज उदयवहादुर कसूरदार ठहर्याउने आधारयुक्त प्रमाण देखिन नआएकोले आधारयुक्त प्रमाणको अभावमा पुनरावेदक उदयवहादुरलाई कसूरदार ठहर्याई जरिवाना गर्ने गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसला नमिलेकोले उल्टी भई प्रतिवादी पुनरावेदक उदयवहादुर श्रेष्ठले अभियोग दावीवाट सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको फैसला ।
१९. जुन उद्देश्यले कम्पनी खडा भएको हो सो कम्पनीले आफ्नो व्यापारिक उद्देश्य वमोजिम टिकट दिने कार्यका लागि लिएको रुपैंयालाई वैदेशिक कारोवार गरेको भन्ने आरोप लाग्न सक्ने नहुनाले शुरु जिल्ला अदालतले तथ्य र प्रमाणको मुल्यांकन गरेको मिलेको नदेखिएकोले शुरुले पुनरावेदक प्रतिवादी जगदीशवहादुर श्रेष्ठलाई कसूर गरेको ठहर्याई गरेको सजाय उल्टी भई निजले सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको फैसला ।
२०. प्रतिवादी उदयवहादुरले रारा ट्राभल्स एण्ड टुर्स भन्ने ट्राभल्स एजेन्सी खोली ग्लोवल म्यान पावर सप्लायर्ससंग सम्झौता गरी विदेशमा कामदार पठाउने काम गरी रहेको भन्ने विश्वास दिलाई जाहेरवालासंग विदेशमा पठाई दिने प्रलोभन देखाई रकम असुल गरेको तर विदेशमा नपठाई रकम ठगी गरेको मिसिलवाट स्पष्ट रुपमा देखिंदा देखिंदै प्रतिवादीले अभियोग दावीवाट सफाइ पाउने ठहराएको पुनरावेदन अदालतको फैसला त्रुटिपुर्ण हुंदा वदर गरी पाउं भन्ने समेत व्यहोराको वादीको तर्फवाट परेको पुनरावेदन ।
२१. प्रतिवादी जगदीशवहादुरले मौकामा अनुसन्धान अधिकारी समक्ष वयान गर्दा आफूले रारा ट्राभल्स एण्ड टुर्स प्रा.लि. भन्ने अफिस खोली उदयवहादुर श्रेष्ठ र आफूले संचालन गर्दै आएको, जाहेरवालालाई वैदेशिक रोजगार लगाई दिन्छौं भनी ग्लोवल मयान पावर सप्लाई प्रा.लि. संग सम्पर्क गरी भिसा मिलाई दिने काम गर्ने गरेको र जाहेरवालासंग रकम वुझी लिएर भरपाई गरि दिएको स्वीकार गरेको देखिन्छ । यसरी विपक्षीले जाहेरवालालाई विदेश जान प्रेरित गरी सोही वहानामा पैसा लिएको भन्ने स्वीकार गरेको र सो को लिखित प्रमाण भरपाई समेत गरि दिएकोमा उक्त आधार प्रमाणको मुल्यांकन नगरी पुनरावेदन अदालतले गरेको फैसला त्रुटिपुर्ण हुंदा उल्टी गरी शुरु जिल्ला अदालतको फैसला सदर गरी पाउं भन्ने समेत व्यहोराको वादीको तर्फवाट परेको पुनरावेदन ।
२२. ग्लोवल म्यान पावर सप्लाई प्रा.लि. का अध्यक्षसंग सम्झौता गरी वैदेशिक रोजगारमा मानिस पठाउन रारा ट्राभल्स एण्ड टुर्सका चेयरमैन जगदीशवहादुर श्रेष्ठले जाहेरवालासंग रकम लिएको भनी अनुसन्धान अधिकृत समक्ष साविति वयान गरेको र सोही ट्राभल्सका मैनेजिङ डाइरेक्टर उदयवहादुर श्रेष्ठले सो कारोवारमा मेरो कुनै संलग्नता नभएको यस सम्वन्धमा मलाई कुनै किसिमको जानकारी नभएको भनी आफ्नै ट्राभल्ससंग सम्वन्धित कारोवारवाट पन्छिन खोजेको कुरालाई आधार मानी निजलाई सफाइ दिने गरी गरेको पुनरावेदन अदालत पाटनको फैसला फरक पर्न सक्ने हुंदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको आदेश ।
२३. यसमा ग्लोवल म्यान पावर सम्लाई प्रा.लि. का अध्यक्षसंग सम्झौता गरी वैदेशिक रोजगारमा मानिस पठाउन रारा ट्राभल्स एण्ड टुर्सका चेयरमैन जगदीशवहादुर श्रेष्ठले जाहेरवालासंग रकम लिएको र त्यस मध्ये केही फिर्ता गरेको भनी अनुसन्धान अधिकृत समक्ष साविति वयान गरेको देखिई रहेको अवस्थामा निजलाई सफाइ दिने गरी गरेको पुनरावेदन अदालत, पाटनको फैसला फरक पर्न सक्ने हुंदा अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको आदेश ।
२४. नियम वमोजिम पेशी सूचिमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फका विद्धान का.मु.नायव महान्यायाधिवक्ता श्री नरेन्द्रप्रसाद पाठकले प्रतिवादीहरुले जाहेरवाला समेतलाई विदेश पठाई दिने शर्तमा रकम लिएको तर नपठाई ठगी गरेको मिसिलवाट देखिंदा देखिंदै निजहरुले अभियोग दावीवाट सफाइ पाउने ठहराएको पुनरावेदन अदालतको फैसला त्रुटिपुर्ण हुंदा वदर हुनु पर्छ भनि वहस प्रस्तुत गर्नु भयो । त्यस्तै प्रत्यर्थी तर्फका विद्धान अधिवक्ताहरु श्री पन्ना मान तुलाधर , श्री महादेव यादव, श्री पवन कुमार जैसवाल र श्री वाल मुकुन्द श्रेष्ठले प्रतिवादीले खोलेको रारा ट्राभल्स एण्ड टुर्स भन्ने कार्यालय विदेशमा कामदार पठाउनको लागि खोलिएको नभई हवाई जहाजको टिकट मिलाउने कार्यको लागि खोलिएको कार्यालय भएकोले हवाई जहाजको टिकट वापतमा प्रतिवादीले रकम लिएको हुंदा प्रतिवादीले सफाइ पाउने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेकै हुंदा सदर हुनु पर्छ भनी वहस प्रस्तुत गर्नु भयो ।
२५. विद्धान कानून व्यवसायीहरुको वहस समेत सुनी मिसिल संलग्न कागजात अध्ययन गरी हेर्दा पुनरावेदन अदालतले गरेको फैसला मिलेको छ, छैन ? पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? सो सम्वन्धमा निर्णय गर्नुपर्ने हुन आयो ।
२६. निर्णय तर्फ विचार गर्दा विपक्षीले विदेशमा रोजगार दिलाई दिने शर्तमा रकम लिएको तर वैदेशिक रोजगार नदिलाई रुपैंया समेत फिर्ता नगरेकोले कारवाई गरि पाउं भन्ने जाहेरी दरखास्त भै प्रतिवादीहरुले वैदेशिक रोजगार ऐन, २०४२ को दफा ३ अनुसारको कसूर गरेकोले निजहरुलाई सोही एनेको दफा २४ को (२) र (४) अनुसार कारवाही गरि पाउं भन्ने अभियोग मागदावी रहेको देखिन्छ । प्रतिवादीहरुले अभियोग मागदावी वमोजिमको कसूर गरेको ठहराएको शुरु काठमाडौं. जिल्ला अदालतको फैसला उपर प्रतिवादीहरुको तर्फवाट पुनरावेदन अदालतमा पुनरावेदन परेकोमा प्रतिवादीहरुले सफाइ पाउने ठहराएको पुनरावेदन अदालतको फैसलामा चित्त वुझेन भन्ने वादीको तर्फवाट प्रस्तुत पुनरावेदन पर्न आएको देखिन्छ । वैदेशिक रोजगारमा पठाई दिनको लागि प्रतिवादीले जाहेर वालासंग रुपैंया लिई गरि दिएको भरपाई हेर्दा सो भरपाईमा अंग्रेजी व्यहोरावाट टिकट वापत भनी लेखि दिएको देखिन्छ । प्रतिवादी मध्येका जगदीशवहादुर श्रेष्ठले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा स.ज. ११ मा यस भन्दा अघि वैदेशिक रोजगारमा जाने मानिसहरुलाई टिकट मिलाई पठाउने काम गरेको थिएं तर वैदेशिक रोजगारको व्यवस्था गरि दिन्छु भनेर कोही कसैसंग पैसा लिए खाएको थिईन, छैन भन्ने व्यहोरा उल्लेख गरि दिएको देखिन्छ । निजको वयान हेर्दा प्रतिवादीले वैदेशिक रोजगार मिलाई दिनको लागि रुपैंया लिएको नभई त्यसरी वैदेशिक रोजगारमा जाने मानिसलाई हवाई जहाजको टिकटको लागि अग्रीम रुपैंया लिएको देखिन आएको हुनाले त्यस्तो व्यहोरालाई कसूरमा सावित भएको भन्न मिल्ने देखिंदैन । वैदेशिक रोजगार ऐन, २०४२ को दफा ३ ले यस ऐन वमोजिम इजाजत पत्र नलिई कसैले वैदेशिक रोजगार व्यवसाय संचालन गर्न पाउने छैन भन्ने व्यवस्था गरेको देखिंदा सो वमोजिम प्रतिवादी जगदीशवहादुर श्रेष्ठले इजाजत प्राप्त गरी वैदेशिक रोजगार व्यवसाय संचालन नगरी विदेश जान हवाई टिकट मिलाउने काम गर्ने गरेको र प्रतिवादीको सो कार्यले वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४(२) वमोजिमको कसूर गरेको भन्न मिल्ने देखिएन ।
२७. त्यस्तै अर्का प्रतिवादी उदयवहादुर श्रेष्ठको सम्वन्धमा विचार गर्दा जाहेरवालाले रारा ट्राभल्समा गई प्रतिवादी जगदीशवहादुर श्रेष्ठलाई वैदेशिक रोजगारको लागि रकम वुझाएकोमा निजले वैदेशिक रोजगारमा नपठाएकोले कारवाही गरि पाउं भनी जाहेरी दरखास्त दिएकोमा सो जाहेरी दरखास्तमा प्रतिवादी उदयवहादुर श्रेष्ठको नाउं कतै पनि उल्लेख भएको देखिंदैन । जाहेरवालाले अदातलमा आई वकपत्र गर्दा प्रतिवादी उदयवहादुरको कसूरमा संलग्नता वारे मौन रही निजवारे उल्लेख गर्न सकेको देखिंदैन । सह अभियुक्त जगदीशवहादुरले उदयवहादुरको समेत कसूरमा संलग्नता रहेको भनी पोल गर्न पनि नसकेको र प्रतिवादी उदयवहादुर अधिकार प्राप्त अधिकारी समक्ष र अदालतमा समेत वयान गर्दा कसूरमा पूर्णतः इन्कार रही वयान गरेको देखिंदा समेत निजलाई कसुदार ठहर्याउन मिल्ने देखिएन ।
२८. तसर्थः प्रतिवादीहरुले अभियोग मागदावी अनुसारको कसूर गरेको नदेखिंदा निजहरुले सफाइ पाउने ठहराएको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार वुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या. दिलीपकुमार पौडेल
इति सम्वत् २०५९ साल चैत्र २४ गते रोज २ शुभम् .................................।