शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७२१६ - जवरजस्तीकरणी

भाग: ४५ साल: २०६० महिना: भाद्र अंक:

निर्णय नं.७२१६      ने.का.प.२०६० अङ्क ५.६

 

पूर्ण इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल

माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

सम्बत् २०५७ सालको फौ.पू.ई.नं. ....१५

फैसला मितिः २०६०।१।२५।५

 

मुद्दा :जवरजस्तीकरणी ।

 

पुनरावेदक

वादीः  कान्छी राउतको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रत्यर्थी

प्रतिवादीः काभ्रेपलाञ्चोक जिल्ला मल्पी गा.बि.स. वडा नं. ७ बस्ने राजेश के.सी समेत

 

§  वारदात सम्बन्धी सम्पूर्ण कुराहरुलाई दृष्टिगत गर्दा चरित्र सम्बन्धमा कोही कसैवाट लाञ्छना लगाउन नसकेको जाहेरवाली जस्ती एक छोरा र दुई छोरी सन्तान भएकी महिलाले आफ्नो र आफनो परिवारको इज्जतमा आँच आउने प्रकृतिको र त्यसमा पनि आफ्नो छोरा विरामी भै श्रीमान इलाज गर्न गएको चिन्ता र पीडाको समयमा नभए नगरेको कुरा गाउँ घरका मानिसलाई भन्दै हिड्नु पर्ने कुनै कारण देखिन नआउने ।

§  अनुसन्धानको क्रममा दिएको जाहेरीमा र अदालतमा आई वकपत्र गर्दा जाहेरवालीको कथनमा केही झिनामसिना कुरा फरक परेको कुरालाई अस्वभाविक मान्न नमिल्ने ।

§  पीडित जस्तो गाउंकी एउटी अशिक्षित महिलाले जवरजस्ती करणीको वारदातको सम्बन्धित सम्पूर्ण कुराहरु पटकै पिच्छे सिलसिलाबध्द रुपले भन्न नसक्ने अवस्था पनि हुन सक्छ । त्यतिमात्र कारणले उपरोक्त अवस्थाको एउटी पीडित महिलाले भनेको कुरामा असंगति रहेको भनी जवरजस्तीकरणीको वारदात नै नभएको तथा निजको व्यहोरा झुठ्ठा हो भन्ने सम्मको निष्कर्षमा पुग्न नसकिने ।

§  प्रतिवादी राजेश के.सी. ले जाहेरवाली राधा भन्ने कान्छी राउतलाई जवरजस्तीकरणी गरेको ठहर्‍याई निज प्रतिवादीलाई अभियोग मागदावी वमोजिम मुलुकी ऐन जवर्जस्ती करणीको महलको ३ नं. अनुसार तीन वर्ष कैद सजाय र सोही महलको १० नं. अनुसार निज प्रतिवादीको आधा अंश सर्वश्व गरी पीडित जाहेरवाली राधा राउतलाई भराई दिने समेत ठहर्‍याएको काभ्रेपलाञ्चोक जिल्ला अदालतको इन्साफ सदर गरेको माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय सो हद सम्म मनासिव ठहर्ने ।

(प्र.नं. ३२ र ३३)

 

पुनरावेदक वादी तर्फवाटः विद्वान सह न्यायाधिवक्ता श्री सरोजप्रसाद गौतम

प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र श्री कृष्ण सापकोटा

अवलम्वित नजिरः

 

फैसला

    प्र.न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत पाटनवाट मिति २०५३।२।१ मा भएको फैसला उपर न्यायप्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पर्न आएको पुनरावेदन निर्णयार्थ पेश हुंदा संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच मतैक्य हुन नसकी सर्वोच्च अदालत निमयावली, २०४९ को नियम ३(१) (क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा तथा ठहर यसप्रकार छ :

            २.    मिति ०५०।१०।८ गते राति राजेश के.सी.मेरो घरमा आई सामान राखि देउ भनि ढोका खोल्न लगाएकोले मैले ढोका खोली के सामान राख्ने भनि भन्दा राजेश के.सी.प्रमोद के.सी. समेत घर भित्र पसी मेरो मुख थुनी भर्‍याङमुनि लडाई पालै पालोसंग जवरजस्तीकरणी गरेको हुंदा कानून वमोजिम कारवाही गरी पाऊ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त ।

            ३.    मिति २०५०।१०।८ गते राति राजेश के.सी.समेतले जाहेरवाला राधा भन्ने कान्छी राउतलाई जवरजस्तीकरणी गरेछन भनि लक्ष्मी नारायण ताम्राकारले भनेबाट थाहा पाई जाहेरवालाको घरमा गई सोधपुछ गर्दा निजले समेत उल्लेखित कुरा भनेकाले थाहा पाएको हो भन्ने समेत व्यहोराको शशि थापा, रमा अधिकारी, शान्ति बस्नेतको संयुक्त कागज ।

            ४.    मिति २०५०।१०।८ गते बेलुका राजेन्द्र, प्रमोद र म समेत भई पनौतीमा लागु पदार्थ सेवन गरी अब केटी खोजौं भनेकाले मैले मल्पी गा.बि.स.वडा नं. ६ बस्ने राधा भन्ने कान्छी राउतको लोग्ने आज घरमा छैनन । सोही ठाउंमा जाउं भनि भनेबाट हामी तिन जना जाहेरवालाको घरमा गई सामान राख्ने निउ पारी ढोका खोले पछि निजको मुख थुनि लडाई पालै पालोसंग करणी गरि आआफ्नो घरमा गयौं भन्ने समेत व्यहोराको प्रतिवादी राजेश के.सी.ले जिल्ला सरकारी वकिल कार्यालयमा गरेको वयान ।

            ५.    २०५०।१०।८ गते राति प्रतिवादी खण्डमा उल्लेखित मानिसहरु मेरो घरमा आई सामान राख्न पर्‍यो ढोका खोल भनि वोलाएकोले गाउंको मानिस हुन् भनि ढोका खोली दिंदा निजहरुले मलाई समाई लडाई पालै पालोसंग करणी गरे भनि जाहेरवाला मेरो पसलमा आई भनेकी हुन् भन्ने समेत व्यहोराको लक्ष्मी नारायण ताम्राकारले प्रहरीमा गरेको कागज ।

            ६.    जाहेरवालीको घरको दक्षिण साइडमा भर्‍याङ्ग र टायल भएको सो भर्‍याङ्ग मुनि प्रतिवादीहरुले जाहेरवालीलाई जवरर्जस्ती करणी गरेको भनी जाहेरवाली समेतले देखाएको घटनास्थल प्रकृति ठीक छ भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचूल्का ।

            ७.    प्रतिवादीहरुले जाहेरवालाको घरमा गई सामान राख्ने बहाना बनाई ढोका खोल्न लगाई ढोका खोले पछि मुख थुनी तीन जनाले पालैपालोसंग करणी गरी मुलुकी ऐन जवरजस्तीकरणीको महलको १ नं. अनुसारको कसूर अपराध गरेको हुंदा निजहरुलाई सोही महलको नं. अनुसार सजाय गरी पाउं र सोही ऐनको १० नं. अनुसार जाहेरवालीलाई उनीहरुबाट अंश समेत दिलाई भराई पाउं भन्ने समेत व्यहोराको अभियोग पत्र ।

            ८.    म मिति २०५०।१०।७ मा बहिनीको घर हेटौंडामा गएको थिए । २०५०।१०।८ गते हेटौंडामा नै बसि १० गते मात्र काठमाडौं आई काठमाडौंबाट पनौति आउंदा बाटोमा बेलुका ८.३० बजेको समयमा उमा, रुद«,बेदप्रसाद समेतका केटाहरुले मलाई पनौतीको चौकीमा कुट्दै लगेर जबरजस्ती करणी गरेको होइन भनि भन्दा प्रहरीले कुटपिट गरि बयान गराएको हो । बयान मेरो राजिखुसीसंग जि.स.ब.का.मा भएको होइन कुटपिट गरि जवरजस्तीसंग सहीछाप गराएको हो । पार्टीगत रिसइवीको कारणले झुठ्ठा जाहेरी दिएको हो । जाहेरवालीलाई मैले जवर्जस्ती करणी गरेको छैन जाहेरी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादी राजेश के.सी.ले काभे्रपलाञ्चोक जिल्ला अदालतमा गरेको वयान ।

            ९.    मैले कान्छी राउतलाई २०५०।१०।८ मा जबरजवस्ती करणी गरे भनि दिएको जाहेरी दरखास्त झुठ्ठा हो । मलाई फसाउने नियतले झुठ्ठा कागज खडा गरेका हुन् जबरजस्ती करणी गरेको भनेका दिन म मल्पी गा.बि.स. वडा नं. ६ मा नभई बानेश्वरको घरमा छु । पार्टीगत रिसइवीको कारणले झुठ्ठा जाहेरी दिएको हो । मैले जाहेरवालालाई जबरजस्ती करणी गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी प्रमोद के.सी.को बयान ।

            १०.    म करणी गरेको भनेको मितिमा ठुलो वावुको घर बानेश्वरमा छु । ठुलो बाबुको छोरा प्रबिन के.सी. को ०५०।१०।८ मा केटी छिन्ने कार्यक्रम भएकोले ऐ. ७ गते नै मल्पी घरबाट काठमाडौं गएको हो ।  उक्त मितिमा म जाहेरवालीको घरमा नभै भ.पु.जि.बोडे गा.वि.स. वडा नं. ९ रामकृष्ण कार्कीको घरमा ९.१५ बजे सम्म र त्यसपछि ठुलो बाबुको घर वानेश्वरमा रात बिताएको छु । जाहेरवालीलाई जबरजस्ती करणी गर्‍यो भन्ने कुरा पूर्णरुपमा झुठ्ठा हो । मलाई फसाउने नियतबाट यो जबरजस्ती करणी मुद्दा लगाएको हो । पार्टीगत रिसइबीको कारणले झुठ्ठा जाहेरी दरखास्ीत दिएको हो । जाहेरवालालाई मैलै जवरवस्ती करणी गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी राजेन्द« के.सी.ले गरेको वयान ।

            ११.    जाहेरवालाले प्रतिवादीहरुले सामान राख्न पर्‍यो ढोका खोल भनि ढोका खोल्न लगाई खोली दिंदा जबरजस्ती करणी गरे भनि भनेकोले थाहा पाएको हो भन्ने समेत व्यहोराको सर्जमिनका मानिस अम्बु भवानी कार्की,राजेन्द« महतो भिमसेन बस्नेत, नवराज राउतको छुट्टाछुट्टै बकपत्र ।

            १२.   माघ ८ गते म मात्र घरमा भएको बेलामा राजेश, प्रमोद र राजेन्द्र आई मलाई करणी गरे भनेर राधा राउतले मलाई भनेको भन्ने समेत व्यहोराको प्रहरीमा ठाडो कागज गर्ने शशि थापाको बकपत्र ।

            १३.   रातको ८.०० बजे झ्यालमा टायल राखेको ट्वाङ ट्वाङ गर्‍यो । के भनि मैले सोध्दा म टायल राख्ने भिनाजु भने झ्यालमा राख्ने ऐना लिई आएको राख्नु पर्‍यो भनि भने । अध्याँरो थियो । भिनाजु भनि ढोका खोली दिए तिन जनाले आएर मलाई बलात्कार गरें । मेरो श्रीमान घरमा हुनुहुन्थेन ज्वरो आएको तीन दिन मात्र भएको थियो । मलाई तान्दा मेरो लुगा समेत च्यातियो म बेहोस भएर लडें । भोलीपल्ट बेलुका २ बजे पनौतिमा गएर घटना विवरण लक्ष्मी नारायणलाई भनेकी हुं भन्ने समेत व्यहोराको जाहेरवाला राधा राउतको वकपत्र ।

            १४.   २०५०।१०।७ गते बिहान म राजेश के.सी.को घरमा गएको थिए । राजेश के.सी. खोई भनि निजको बाबुसंग सोध्दा बहिनीको घर हेटौंडामा गएको छ भनि भनेको हुंदा राजेश के.सी.ले जाहेरवालालाई जवरजस्तीकरणी गरेको होइन भन्ने समेत व्यहोराको राजेश के.सी.को साक्षी रुपचन्द« के.सी.ले गरेको बकपत्र ।

            १५.   प्रबिनको केटी छिन्ने कामको लागि राजेश के.सी. प्रमोद के.सी. ०५०।१०।७ गते प्रबिण के.सी. को घर बानेश्वरमा गएका थियौं । प्रमोद के.सी.ले जाहेरवालालाई जबरजस्ती करणी गरेको होइन राजनीतिक कारणले झुठ्ठा उजुरी दिएको हो भन्ने समेत व्यहोराको प्रमोद के.सी.को साक्षी यज्ञवहादुर के.सी. र प्रबिन के.सी.को बकपत्र ।

            १६.    २०५०।१०।७ गते म काठमाडौंमा थिएं । प्रबिन के.सी.को विवाहको कुरा चलेको थियो। प्रमोद, राजेन्द« बानेश्वरको घरमा आए उक्त दिन बानेश्वरमा बसें । ऐ ८ गते साँझ ६.०० बजे बोडे गा.वि.स.वडा नं. ९ बस्ने रामकृष्ण कार्कीको घरमा गई केटी छिनी उक्त दिन बानेश्वरमा फर्कियौं । राजनीतिक छबि बिगार्नका लागि झुठ्ठा उजुर दिएको हो । राजेश के.सी.ले जबरजस्ती करणी गरेको होइन भन्ने समेत व्यहोराको राजेन्द्र के.सी. को साक्षी रामहरी के.सी. समेतको बकपत्र ।

            १७.   प्रतिवादी राजेश के.सी.को कट्टु र पीडितको पेटीकोटको कपडा परीक्षण गर्न पठाइएकोमा उक्त कट्टु र कपडामा मानव विर्य लागेको पाइएको भन्ने समेत व्यहोराको राष्ट्रिय बिधि बिज्ञान प्रयोगशाला रोनाष्टबाट जांच भै आएको प्रतिवेदन ।

            १८.   मिसिल संलग्न प्रमाणहरुको मूल्यांकन र राष्ट्रिय बिधिबिज्ञान प्रयोगशालाबाट परीक्षण भई आएको मौकामा बरामद भएको पीडित राधा र प्र.राजेश के.सी.को पेटीकोट तथा कट्टुमा लागेको बिर्य आदि समेतबाट यि प्रतिवादीहरु निर्दोष छन भन्न सकिने अवस्था देखिन नआएकोले निजहरुलाई बादी श्री ५ को सरकारको अभियोग पत्रको मांग दाबी बमोजिम मुलुकी ऐन जवरजस्तीकरणीको महलको ३ नं. अनुसार जनही तिन बर्ष कैदको सजाय र ऐ.को १० नं. अनुसार जाहेरवालीलाई अंश समेत भराई दिने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काभ्रेपलाञ्चोक जिल्ला अदालतको मिति २०५२।३।१५ को फैसला ।

            १९.    जुन सामानको निहुं पारी घर भित्र पसेको भनिइएको छ सो सामान बरामद हुन नसकेको, घटनास्थल मुचुल्का समेत बिरोधाभाषयुक्त रहेकोले कपोलकल्पित र फसाउने नियतबाट लगाइएको अभियोगमा शुरु जिल्ला अदालतले तिन बर्ष कैद तथा अंश समेत भराई दिने भनि गरेको फैसला कानूनी प्रतिकूल हुंदा बदर गरि सुपथ न्याय पाउं भन्ने समेत व्यहोराको राजेश के.सी.को पुनरावेदन पत्र ।

            २०.   घटनास्थलमा कुनै किसिमको अवरोधका चिन्हहरु नभेटिनु, मेडिकल रिपोर्टले एकिन साथ किटान गर्न नसक्नु, कट्टुको रंगको बारेमा विरोधाभाषपूर्ण रहनु, जाहेरी दरखास्तमा स्पष्टसाथ जबरजस्ती गरे भनि भनेतापनि करणी नभन्नु, करणी भएको भनिएको भोलिपल्ट लक्ष्मी नारायण ताम्राकारसंग गई हुल हुज्जत गरे सम्झाई दिनुपर्‍यो मात्र भनी र करणी गरेको कुरा उल्लेख नगर्नु,पहिला आवाज नचिनेर सोधेर मात्र ढोका खोलें भन्नु र पछि जबरजस्ती मुख थुनेर करणी गरे भन्नु जस्ता परस्पर विरोधी कुराहरुवाट जबरजस्ती करणी नगरेको प्रष्ट हुंदाहुंदै जवरर्जस्ती करणीमा सजाय गर्ने गरेको शुरु का.प.जि.अ.को फैसला बदर गरी पूर्ण सफाइ पाउं भन्ने समेत व्यहोराको राजेन्द्र के.सी.र प्रमोद के.सी.को संयुक्त पुनरावेदन पत्र ।

            २१.   जाहेरवालीको शारीरिक अवस्था र जाहेरवाली र प्रतिवादी राजेश के.सी.को स्वास्थ्य परीक्षण प्रतिवेदन समेतका प्रमाणहरुको शुरु अदालतवाट भएको मूल्याङ्कन विचारणीय भएकोले अ.वं. २०२ नं. वमोजिम बिपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५२।७।२१ को आदेश ।

            २२.   वादी पक्षबाट प्रतिबादीहरु कसूरदार हुन भन्ने आधार प्रमाणहरु अकाट्य एवं शंकारहित तबरबाट पुष्टि हुन नसकेको हुंदा प्रतिवादीहरुले अभियोग दाबीवाट सफाइ पाउने ठहर्छ । निजहरुलाई कसूरदार ठहर्‍याएको शुरु इन्साफ बदर भई उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति ०५३।२।१ को फैसला ।

            २३.   प्रतिवादीको अधिकार प्राप्त अधिकारी समक्षको साबिति मिसिल संलग्न अन्य प्रमाणहरुवाट सर्मथित भइरहेकोमा शंकाको सुविधा अभियुक्तले पाउने भनि प्रतिवादीहरुलाई सफाइ दिएको पुनरावेदन अदालत पाटनको त्रुटिपूर्ण फैसला वदर गरी अभियोग दाबी बमोजिम प्रतिवादीहरुलाई सजाय गरी पाउं भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदन पत्र ।

            २४.   पीडितको जाहेरी तथा वकपत्र, रोनाष्ट तथा प्रसुती गृहको रिपोर्ट तथा लक्ष्मी नारायण समेतको वकपत्रवाट पीडित माथि जबरजस्ती करणी भएको देखिएको र जाहेरवालीले प्रतिवादीहरुलाई पोल गर्नुपर्ने अन्य मनासिब कारण र आधार नदेखिएको तथा प्रतिवादीको अधिकार प्राप्त अधिकारी समक्षको साबिति पुष्टि भइरहेको अवस्था प्रतिवादीहरुलाई सफाइ दिएको पुनरावेदन अदालत पाटनको फैसला फरक पर्ने देखिंदा छलफलको लागि अ.बं. २०२ नं. वमोजिम बिपक्षीहरु झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०५६।८।६ को यस अदालतको आदेश ।

            २५.   प्रतिवादीको कट्टु तथा जाहेरवालीको पेटीकोटमा विर्य समेत देखिएको अवस्थामा जाहेरवालीको भनाइ अन्यथा नदेखिएतापनि जवरजस्तीकरणी जस्तो फौजदारी मुद्दामा कसूर प्रमाणित गर्न जाहेरवालीको भनाइ मात्र पर्याप्त नदेखिएको र निजको भनाइलाई घटनास्थल प्रकृति मुचुल्का, निजको शारिरीक जाँच रिपोर्ट पेटीकोट तथा कट्टु परीक्षण प्रतिवेदन लगायतका कुनै पनि स्वतन्त्र प्रमाणहरुले शंकारहित तवरले पुष्टि गर्न नसकेको तथा प्रहरीमा कागज गर्ने व्यक्तिहरुको भनाइ समेत जाहेरवालीकै भनाइमा आधारित रहेको हुंदा त्यस्तो प्रमाणलाई स्वतन्त्र र शंकारहीत प्रमाणको रुपमा ग्रहण गर्न नसकिने हुंदा त्यस्तो शंकास्पद प्रमाणको आधारमा प्रतिवादीहरुलाई कसूरदार ठहराउन न्यायोचित नहुने हुंदा शंकाको सुविधा प्रतिवादीले पाउने फौजदारी न्यायको सर्वमान्य सिध्दान्त समेतको आधारमा प्रतिवादीहरुलाई कसूरदार ठहराएको काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसला उल्टी गरी निजहरुलाई अभियोगदावीवाट सफाइ दिने ठहराएको पुनरावेदन अदालत पाटनको फैसला मनासिव देखिंदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठको राय ।

            २६.   मौकामा भएको प्रतिवादी राजेश के.सी.को साविति, अधिकारप्राप्त अधिकारी समक्षको साविति वयान र पेटीकोट तथा अण्डरवेयरमा देखिएको विर्य समेतका आधारमा अभियुक्तहरु मध्ये राजेश के.सी. निर्दोषी रहेछन् भन्न मिलेन । त्यसरी नै वारदातको समयमा अन्यत्रै रहेको जिकिर लिने प्रतिवादी राजेन्द्र के.सी. र प्रमोद के.सी.ले आफ्नो जिकिर पुष्टि गर्न नसकेको अवस्था, राजेश के.सी. आफू सावित रही सहअभियुक्तहरु विरुद्ध गरेको पोल, अदालतमा आई निज अभियुक्तहरुले गरेको इन्कारीको पुष्टि हुने आधार प्रमाणको अभावमा निज प्रतिवादीहरुको इन्कारीलाईमात्र सत्य सांचो मान्न नमिलेको र प्रतिवादी राजेश के.सी. को सावितिलाई जाहेरवालीको किटानी जाहेरी, तथा अदालतमा भएको निजको वकपत्र तथा जाहेरवालीले मौकामा नै प्रतिवादीहरु उपर पोल गरेको भनी अम्बु भवानी समेतको वकपत्रवाट पुष्टि भइरहेको देखिंदा राधा भन्ने कान्छी राउतलाई प्रतिवादीहरु राजेश के.सी. समेतले जवरजस्तीकरणी गरेको ठहराएको शुरु फैसला सदर हुन्छ । उक्त फैसला उल्टी गरेको पुनरावेदन अदालत पाटनको फैसला नमिलेकोले उल्टी हुन्छ । प्रतिवादीहरुलाई सफाइ दिएको पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठको रायसंग सहमत हुन नसकेकोले सर्वोच्च अदालत नियमावली,२०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय भएको यस अदालत संयुक्त इजलासको मिति २०५७।८।१६ को फैसला ।

            २७.   नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फवाट विद्वान सह न्यायाधिवक्ता श्री सरोजप्रसाद गौतमले प्रतिवादीहरुले पीडित राधा भन्ने कान्छी राउतलाई जबरजस्ती करणी गरेको भनी पीडित स्वयंले किटानी जाहेरी दिएकी छिन् । आफ्नो जाहेरी व्यहोरालाई निजले अदालतमा वकपत्र समेत गरेर पुष्टि गरेको अवस्था छ । निज पीडित र प्रतिवादीहरु वीच रिसइवी रहेको वा निजहरु उपर किटानी पोल गर्नुपर्ने अन्य कुनै कारण रहेको छैन । मौकामा पक्राउ पर्ने प्रतिवादी राजेश के.सी. समेतले गाउंलेहरु समक्ष तथा अनुसन्धान अधिकृत समक्ष वयान गर्दा सबै प्रतिवादीहरुले पीडितलाई जवरजस्तीकरणी गरेको भनी कसूरमा सावित भई बयान गरेका छन. । निजले सो वयान यातना दिएर गराइएको भन्ने जिकिर लिन सकेका छैनन् । वारदातको समयमा अन्यत्र रहेको जिकिर लिने अन्य प्रतिवादीहरुले आफ्नो सो जिकिर पुष्टि गर्न सकेका छैनन । यसर्थः प्रतिवादीहरुलाई आरोपित कसूरवाट सफाइ दिने गरेको पुनरावेदन अदालत पाटनको फैसला उल्टी गरी प्रतिवादीहरुलाई अभियोग माग दावी वमोजिम सजाय हुने ठहर गरेको शुरुको इन्साफ सदर गरेको माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय  सदर हुनुपर्छ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नुभयो ।

            २८.   प्रत्यर्थी प्रतिवादीका तर्फवाट विद्वान अधिवक्ताहरु श्री शम्भु थापा तथा श्री कृष्ण सापकोटाले पीडित जाहेरवालीको भनाइमा एकरुपता छैन । वारदातस्थलमा तथा पीडितको शरिरमा जवरजस्तीकरणी गरिएको कुनै लक्षण देखिएको छैन । पीडितको पेटीकोट तथा प्रतिवादीको कट्टु परीक्षण गरिएको प्रतिवेदनवाट प्रतिवादीहरुले पीडितलाई जवरजस्तीकरणी गरेको वारदात स्थापित गर्न सकिंदैन । वारदात घट्दाको प्रत्यक्ष प्रमाण केही छैन । सबै प्रमाणको मूल श्रोत जाहेरवालीको कथन मात्र हो । जाहेरवालीको भावनात्मक व्यहोरा अन्य स्वतन्त्र प्रमाणवाट पुष्टि हुन नसकिरहेको अवस्थामा केवल आशंकाको भरमा प्रतिवादीहरुलाई कसूरदार ठहर गर्न मिल्दैन । यसैले प्रतिवादीहरुलाई सफाइ दिने गरेको पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठको राय सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।

            २९.   आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दामा विद्वान कानून व्यवसायीहरुको उल्ल्ेखित बहस जिकिरतर्फ समेत विचार गरी सम्बन्धित मिसिल अध्ययन गरी हेर्दा जाहेरवाली राधा भन्ने कान्छी राउतलाई प्रतिवादीहरु राजेश के.सी., राजेन्द« के.सी. र प्रमोद के.सी.ले जवर्जस्ती करणी गरेकोले निजहरुलाई जवर्जस्ती करणीको महलको १ नं. अनुसारको कसूरमो ३ नं. वमोजिम सजाय गरी सोही महलको १० नं. अनुसार प्रतिवादीहरुको अंश सर्वश्व गरी पीडित जाहेरवालीलाई दिलाई भराई पाउं भन्ने अभियोग पत्रवाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । प्रतिवादी राजेश के.सी. अधिकारप्राप्त अधिकारी समक्ष भएको वयानमा आफू कसूरमा सावित रही अन्य अभियुक्तहरु राजेन्द« के.सी. र प्रमोद के.सी. समेत भई आरोपित कसूर गरेको भनी वयान गरेको पाइन्छ भने अदालतमा वयान गर्दा प्रहरी समक्षको वयान आफ्नो स्वेच्छापूर्वकको नभएको भनी कसूरमा पूर्णतः इन्कार रहेको र अन्य प्रतिवादीहरु राजेन्द« के.सी. र प्रमोद के.सी.ले पनि अदालतमा वयान गर्दा वारदातको समयमा अन्यत्र रहेको दावी लिई इन्कारी वयान गरेको पाइन्छ । काभ्रेपलाञ्चोक जिल्ला अदालतवाट प्रतिवादीहरुलाई अभियोग मागदावी वमोजिम सजाय गर्ने गरी भएको फैसला उल्टी गरी प्रतिवादीहरुले आरोपित कसूरवाट सफाइ पाउने ठहर्‍याई भएको पुरावेदन अदालत पाटनको फैसला उपर प्रस्तुत पुनरावेदन पर्न आएको देखिन्छ । प्रस्तुत मुद्दा निर्णयार्थ संयुक्त इजलास  समक्ष पेश हुंदा जाहेरवालीको भनाइ, जाहेरवालीको शारीरिक जाँच समेतका स्वतन्त्र प्रमाणहरुवाट पुष्टि हुन नआएकोले शंकास्पद भनाइको आधारमा कसूरदार ठहर्‍याउनु न्यायोचित नभएकोले प्रतिवादीहरुले सफाइ पाउने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठको राय र प्रतिवादी राजेश के.सी. को मौकाको सावितिलाई जाहेरवालीको जाहेरी दर्खास्त तथा मौकामा वुझिएका अन्य व्यक्तिहरुको कागजवाट समेत समर्थित गरेको हुंदा जाहेरवालीलाई प्रतिवादीहरुले जवरजस्तीकरणीको कसूर गरेको ठहर्‍याएको शुरु काभ्रेपलाञ्चोक जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) बमोजिम प्रस्तुत मुद्दा निर्णयार्थ यस इजलास  समक्ष पेश हुन आएको  देखिन आउँछ ।

            ३०.   यस परिप्रेक्ष्यमा प्रस्तुत मुद्दामा प्रतिवादीहरुलाई अभियोग माग दावी बमोजिम कसूरदार ठहर गरेको शुरु काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादीहरुले सफाइ पाउने ठहराएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ, छैन ? वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

            ३१.   प्रस्तुत मुद्दामा पीडित जाहेरवाली वर्ष २६ की राधा भन्ने कान्छी राउतको श्रीमान तिलक बहादुर राउत छोरा बिमल राउतलाई औषधी उपचार गराउन शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा भर्ना गराई कुरुवा बसेको र जाहेरवाली आफ्नो नावालक छोरीहरु ६ बर्षकी निर्मला र ३ बर्षकी कमला मात्र साथमा लिई आफ्नो घरमा बसिरहेको अवस्थामा मिति २०५०।१०।८ गते बेलुकी अन्दाजी ८:३० बजेको समयमा प्रतिवादीहरु राजेश के.सी. समेतका व्यक्तिहरुले सामान राख्ने निहुँमा घरको ढोका खोल्न लगाई जवरजस्तीकरणी गरेको भन्ने जाहेरी व्यहोराको आधारमा प्रस्तुत मुद्दामा कार्वाही चलेको देखिन आउँछ । मिसिल संलग्न कागजातहरु अध्ययन गर्दा वारदातका दिन विद्वान जाहेरवाली खाना खाई नजिकैको घट्टमा मकै पिध्न जांदा वाटोमा प्रतिवादी राजेश के.सी.ले निजलाई भेटी के पिध्न ल्याएको भनी सोध्दा निजले मकै पिध्न ल्याएको भन्ने जवाफ दिएकी र प्रतिवादीले मकै खाने हो त ? भात खानुपर्छ भनेको, त्यसपछि निज प्रतिवादीले जाहेरवालीको लोग्ने कहां गएको छ ? भन्ने प्रश्न गरेकोमा जाहेरवालीले छोराको अप्रेशनको लागि माघ २ गते देखि नै काठमाडौंको शिक्षण अस्पतालमा गएको भन्ने जवाफ दिएकीले प्रतिवादी राजेश के.सी.ले जाहेरवाली राधा भन्ने कान्छी राउत र निजका नावालक छोरीहरु मात्रै घरमा रहेको भन्ने कुरा थाहा पाएको भन्ने देखिन्छ । सोही जानकारीको आधारमा वारदातको दिन साँझ प्रतिवादीहरुले मादकपदार्थ सेवन गरी केटी खोज्ने सल्लाह गरी अन्यत्रवाट भर्खरै वसाई सरी आएकी, सो गाउंमा आफ्नो कोही नभएकी र आफ्नो लोग्ने समेत घरमा नभई वाहिर रहेको अवस्थाकी पीडित जाहेरवालीको घरमा रातको ८,९ बजेको समयमा सामान राख्ने निहुँमा प्रतिवादीहरु गएर ढोका खोल्न लगाएको वारदातको पूर्व स्थिति मिसिलवाट देखिन आउँछ ।

            ३२.   वारदातको भोलिपल्ट विहानै वारदातको विवरण दिन भनी जाहेरवाली मल्पी गा.वि.स. का अध्यक्ष रामहरी सुवेदीको घरमा गएकोमा निज पुग्नु भन्दा अगावै गा.वि.स. अध्यक्ष आफ्नो कामले घर वाहिर गइसकेकोले जाहेरवारीको घर नजिकै पसल गरी वस्ने पनौती गा.वि.स. का सदस्य लक्ष्मीनारायण ताम्राकारलाई निजले वारदातको सम्पूर्ण विवरण सुनाएको र किटानीसाथ प्रतिवादी राजेश के.सी. र अन्य नचिनेका दुई जना वारदातमा संलग्न रहेको भनी उल्लेख गरेको व्यहोरा निज लक्ष्मीनारायण ताम्राकारको प्रहरी समक्षको कागजमा उल्लेख गरेको पाइन्छ । लक्ष्मीनारायण ताम्राकारको पहलमा मल्पी गा.वि.स. का महिला तथा पुरुषहरुको सक्रियतामा प्रतिवादी राजेश के.सी.लाई समातेको र निज प्रतिवादीले गाउँका मानिसहरु समक्ष आफूले कसूर गरेको स्वीकार गरी माफी समेत मागेको भन्ने समेत मिसिलवाट देखिन्छ । मौकामा पक्राउ परेका निज प्रतिवादी राजेश के.सी.ले अदालतमा वयान गर्दा कसूरमा इन्कार रही वयान गरेको भएतापनि निजले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा वारदातको दिन साँझ मादकपदार्थ खाएको र जाहेरवालीको लोग्ने तिलकवहादुर राउत काठमाडौं तिर गएकाले निज एक्लै भएको हुँदा निज कहां जाने सल्लाह भई सामान राख्ने वहाना बनाई जाहेरवालीलाई ढोका खोल्न लगाई आफू समेत  भई जवरजस्तीकरणी गरेकोमा सावित भई वयान गरेको पाइन्छ । अदालतमा वयान गर्दा निजले अधिकार प्राप्त अधिकारी समक्षको वयान आफ्नो राजीखुसीवाट भएको नभई जवरजस्ती संग गराएको भन्ने जिकिर लिएको पाइन्छ । तर निजले सो जिकिर पुष्टि गराउन सकेको पाइदैन । जाहेरवालीको योनीको पानी परीक्षण गरिंदा Smear is positive for spermatogia भन्ने परीक्षण प्रतिवेदनवाट  देखिन्छ । प्रतिवादी राजशे के.सी.को कट्टु तथा पीडित राधा राउतको पेटीकोट परीक्षण गर्न पठाउंदा कट्टु तथा पेटीकोटमा मानव विर्य देखिएको भन्ने मिसिल संलग्न राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको मिति २०५१।५।२९ को परीक्षण प्रतिवेदनवाट देखिन आएको छ । पीडित राधा भन्ने कान्छी राउतले आफ्नो जाहेरी व्यहोरालाई समर्थन गर्दा आफूलाई प्रतिवादीहरुले जवरजस्तीकरणी गरेको भनी जाहेरीको पुष्टी गरी वकपत्र गरेको र प्रतिवादी राजेश के.सी.जाहेरवालीलाई जवरजस्तीकरणी गरेकोमा सावित भएकोले निजलाई पक्राउ गरी प्रहरी कार्यालयमा वुझाउने भिमसेन वस्नेत समेतले अदालतमा आई वकपत्र गरी अनुसन्धानको क्रममा भएको कागजलाई पुष्टि हुने गरी वकपत्र समेत गरिदिएको देखिन आउंछ । वारदात सम्बन्धी उपरोक्त सम्पूर्ण कुराहरुलाई दृष्टिगत गर्दा चरित्र सम्बन्धमा कोही कसैवाट लाञ्छना लगाउन नसकेको जाहेरवाली जस्ती एक छोरा र दुई छोरी सन्तान भएकी महिलाले आफ्नो र आफनो परिवारको इज्जतमा आँच आउने प्रकृतिको र त्यसमा पनि आफ्नो  छोरा विरामी भै श्रीमान इलाज गर्न गएको चिन्ता र पीडाको समयमा नभए नगरेको कुरा गाउँ घरका मानिसलाई भन्दै हिड्नु पर्ने कुनै कारण देखिन आउंदैन । अनुसन्धानको क्रममा दिएको जाहेरीमा र अदालतमा आई वकपत्र गर्दा जाहेरवालाीको कथनमा केही झिनामसिना कुरा फरक परेको कुरालाई अस्वभाविक मान्न मिल्दैन । पीडित जस्तो गाउंकी एउटी अशिक्षित महिलाले जवरजस्तीकरणीको वारदातको सम्बन्धित सम्पूर्ण कुराहरु पटकै पिच्छे सिलसिलाबध्द रुपले भन्न नसक्ने अवस्था पनि हुन सक्छ । त्यतिमात्र कारणले उपरोक्त अवस्थाको एउटी पीडित महिलाले भनेको कुरामा असंगति रहेको भनी जवरजस्तीकरणीको वारदात नै नभएको तथा निजको व्यहोरा झुठ्ठा हो भन्ने सम्मको निष्कर्षमा पुग्न एउटी पीडित महिला उपर अविश्वास र नचाहिदो आशंका थुपार्नु हो । यस्ले एउटी अवला नारीको लागि न्याय पाउन कठोर र सकसको परिपाटी वस्न जान्छ ।

            ३३.   मौकामा पक्राउ परेका प्रतिवादी राजेश के.सी. उपरपरेको किटानी जाहेरी व्यहोरा जाहेरवालीको वकपत्रवाट समर्थित हुन आएको र सो कुराले अनुसन्धानको क्रममा भएको निज प्रतिवादीको साविति वयानलाई पुष्टि समेत गरेको, अनुसन्धानकै क्रममा प्रतिवादीको कट्टु तथा पीडितको पेटीकोट परीक्षण गर्दा सो कट्टु तथा पेटीकोटमा मानव विर्य देखिएको भन्ने राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन, पीडितको योनीको पानी परीक्षण गर्दा मानव विर्यको शुक्रकीट देखिएको भन्ने प्रसूतीगृहको परीक्षण प्रतिवेदन समेतका वारदातसंग सम्बन्धित प्रमाणहरुवाट प्रस्तुत वारदातमा प्रतिवादी राजेश के.सी.को संलग्नता निर्विवाद रुपमा पुष्टि भइरहेको देखिन्छ । यसर्थ प्रतिवादी राजेश के.सी. ले जाहेरवाली राधा भन्ने कान्छी राउतलाई जवरजस्तीकरणी गरेको ठहर्‍याई निज प्रतिवादीलाई अभियोग मागदावी वमोजिम मुलुकी ऐन जवर्जस्ती करणीको महलको ३ नं. अनुसार तीन वर्ष कैद सजाय र सोही महलको १० नं. अनुसार निज प्रतिवादीको आधा अंश सर्वश्व गरी पीडित जाहेरवाली राधा राउतलाई भराई दिने समेत ठहर्‍याएको काभ्रेपलाञ्चोक जिल्ला अदालतको इन्साफ सदर गरेको माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय सो हद सम्म मनासिव ठहर्छ । प्रतिवादी प्रमोद के.सी. र राजेन्द« के.सी.का हकमा विचार गर्दा निजहरु प्रतिवादी राजेश के.सी.संगै पक्राउ परेको वा निजहरुले स्थानीय व्यक्तिहरु तथा अधिकारप्राप्त अधिकारी समक्ष आफूहरुले कसूर गरेकोमा सावित भई वयान गरेको अवस्था देखिंदैन । अनुसन्धानको क्रममा संकलन गरिएको परीक्षण प्रतिवेदनहरु समेतका स्वतन्त्र प्रमाणहरुवाट प्रस्तुत मुद्दाको वारदातमा निज प्रतिवादीहरुको समेत संलग्नता भएको तथ्य शंकारहीत तवरवाट पुष्टि हुन सकिरहेको पाइदैन । यसर्थः निजहरुले समेत जाहेरवाली कान्छी राउतलाई जवरजस्तीकरणी गरेको प्रमाणित गर्ने सवुद प्रमाणको अभाव भएकोले निजहरुलाई आरोपित कसूरवाट सफाइ दिएको हदसम्म माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठको राय मनासिब ठहर्छ । निज प्रतिवादीहरुलाई समेत प्रतिवादी राजेश के.सी. सरह सजाय हुनुपर्छ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसिल वमोजिम गर्नु ।

 

 

तपसिल

 

माथि इन्साफ खण्डमा लेखिए वमोजिम पं्रतिवादी राजेश के.सी.लाई कैद वर्ष ३(तीन) सजाय हुने  ठहरेकोले  निजको  सम्बन्धमा पुनरावेदन अदालत पाटनको फैसलाको तपसील नं. १  बमोजिम  लगत  कट्टा गर्न परेन ।  निज  प्रतिवादी अनुसन्धानको क्रममा मिति २०५०।१०।१० देखि थुनामा परी पुनरावेदन अदालतवाट मिति २०५३।२।१ मा भएको फैसला अनुसार सफाइ पाई मिति थुना मुक्त भएको देखिएकोले थुनामा रहेको अवधि  कट्टा  गरी  वांकी  कैद  अवधि  लगत  राखी असूल गर्नु भनी शुरु काभ्रेपलाञ्चोक जिल्ला अदालतलाई लेखी पठाई दिनु ......१

 

माथि इन्साफ खण्डमा लेखिए वमोजिम जवर्जस्ती करणीको महलको १० नं. वमोजिम प्रतिवादी  राजेश  के.सी.को  आधा  अंश  सर्वश्व गरी  पीडित जहेरवाली राधा भन्ने कान्छी राउतलाई  भराई दिन काभ्रेपलाञ्चोक  जिल्ला अदालतको मिति  २०५२।३।१५ को फैसलाको तपसिल नं. ३ बमोजिम गर्न उक्त अदालतलाई लेखी पठाई दिनु ...२

  मिसिल नियमानुसार बुझाई दिनु ....३

 

उपर्युक्त रायमा सहमत छौं ।

 

न्या.दिलीपकुमार पौडेल

न्या.रामप्रसाद श्रेष्ठ

 

इति सम्बत् २०६० साल बैशाख २५ गते रोज ५ शुभम् .........

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु