शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७२२४ - जग्गा खिचोला चलन

भाग: ४५ साल: २०६० महिना: भाद्र अंक:

निर्णय नं. ७२२४        ने.का.प.२०६० अङ्क ५.६

 

संयुक्त इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ

सम्बत् २०५७ सालको दे.पु.नं. ...६८७३

फैसला मितिः २०६०।२।२६।२

 

मुद्दाःजग्गा खिचोला चलन ।

 

पुनरावेदक

प्रतिवादीः  काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ५ वस्ने प्रभादेवी उपाध्याय

विरुद्ध

बिपक्षी

वादीः रौतहट जिल्ला गौर नगरपालिका वडा नं. ३ वस्ने नारायण भक्त सिंह

 

§  नक्सा मुचुल्कावाट वादीको कि.नं. २२७ को पूर्वतर्फ विभिन्न प्रतिवादीहरुको विभिन्न कित्ता जग्गाहरु रहेकोमा अन्य प्रतिवादीहरुले वादी दावी अनुसार खिचोला गरेको तथ्य प्रत्यक्ष वा परोक्ष रुपमा स्वीकार गरिरहेको अवस्थामा कि.नं. ३४६ को पश्चिमतर्फ र वादीको कि.नं. २२७ को पूर्वतर्फको सांधमा पुनरावेदन प्रतिवादीले खिचोला गरेको होइन भन्ने अवस्था नदेखिने ।

§  सर्जमिनका अलग अलग व्यक्तिले परस्परमा वाझिने व्यहोरा लेखाएकोमा पुनरावेदक प्रतिवादी प्रभादेवी स्वयंले वादी दावी खण्डन गरी आफ्नो व्यहोरा उल्लेख गरी प्रतिउत्तर फिराउन नसकेको अवस्थामा अन्य ठोस प्रमाणको अभावमा सर्जमिनका मानिसहरुको परस्पर विरोधी भनाइलाई मात्र आधार मानी वादी दावी हदम्याद बिहीन भएकोले फिराद दावी खारेज हुनुपर्छ भन्ने पुनरावेदन जिकिर स्वीकार योग्य नदेखिने ।

(प्र.नं. १३)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः

विपक्षी वादी तर्फवाटः

अवलम्वित नजिरः

 

फैसला

            न्या.गोविन्दबहादुर श्रेष्ठः पुनरावेदन अदालत हेटौंडावाट भएको मिति २०५६।९।१३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको व्यहोरा तथा ठहर यसप्रकार छ :

            २.    मेरो नाम दर्ताको गा.वि.स. गौर वार्ड नं. ९ कि.नं २२७ को ०१५ जग्गामा पोखरी भै पोखरी जग्गाको पूर्वतर्फ दक्षिण साईडमा प्रतिवादी देवप्रयाग गुप्ताको गौर गा.वि.स. वार्ड नं. ९ कि.नं. ३४९ को ०१७ जग्गा भएको नीज देव प्रयाग गुप्ता भन्दा उत्तर तर्फ प्र.विनोदकुमार अग्रवालको स्वर्गीय वावु पुष्कर लाल अग्रवालको नाम दर्ताको ऐ.कि.नं. ३४८ को ०१८ जग्गा भएको नीज स्व.पुष्करलालको नाम दर्ताको जग्गाको उत्तर तर्फ ऐ.कि .न. ३४७ को ०१३ जग्गा प्र.दुर्गा देवीको नाम दर्ताको जग्गा भएको नीज दुर्गा देवी सो उत्तर प्रभा देवीको नाम दर्ताको ऐ.कि.नं. ३४६ को ०१६ जग्गा भएको नीज प्र.प्रभादेवी सो उत्तर प्र.लीला देवी मानन्धरको नाम दर्ताको ऐ.कि.नं. ३४४ को ०७ जग्गा भै नीज प्रतिवादीहरुले आआफ्नो जग्गामा घर वनाई भोगचलन गर्दै आएकोमा मेरो अपुपस्थितिमा प्रतिवादीहरुले ०५०।१।२५ गतेका दिन विहान अं.८, ९ बजेको समयमा आपसमा मिलोमतो गरी मेरो कि.नं. २२७ को पोखरी भएको जग्गा सदा सर्वदा देखि नक्सा ट्रेश अनुसार उत्तर मुख पूर्व पश्चिम १०८ फिट तथा दक्षिण मुख ८४ फिट गरी ०१५ को पूर्वतर्फवाट सरदर अन्दाजी २० ( वीस )फीट जति चौडाई जग्गा च्यापी आआफ्नो जग्गामा मिसाई कसैले पर्खाल वनाई लिएको कसैले चर्पी बनाई आफ्नो भोग दखलमा लिएको ०५०।१।२५ गते थाहा पाई गौर न.पा.को प्रतिनिधिको राहेवरमा ०५०।२।२८ गते नाप नक्सा भएको मुचुल्का नापी शाखा गौरवाट खडा भएकोले सो को फोटोकपी पेश गरेको छु । प्रतिवादीहरुले मेरो कि.नं. २२७ को उत्तर मुखको पूर्व पश्चिम १०८ फिट हुनुपर्नेमा ९८ फिट मात्र भएको दक्षिण मुख ८४ फिट हुनुपर्नेमा ६६ फिट मात्र भएकोले सरदर मोल रु.१०००।जाने ०० जग्गामा लगाई दिनु भएको टण्टा खिचोला छुट्याई खिचोला गरेको हदसम्ममा लगाएको कम्पाउण्ड वाल तथा चर्पी समेत भत्काउन लगाई चलन समेत चलाई पाउं भन्ने समेत व्यहोराको फिरादपत्र ।

            ३.    बिपक्षीको जग्गा भन्दा मेरो जग्गा ६ कित्ता उत्तर दक्षिण तर्फ फरक स्थानमा रहेको कुरा फिरादको प्रकरण १ मा उल्लेख भएको छ ।  मैले आफ्नो जग्गामा साविक देखि घर पर्खाल निर्माण गरी वसोवास गरेको कुरा बिपक्षी स्वयंले स्वीकार गर्नु भएको छ । बिपक्षीको पोखरी भएको जग्गा मेरो जग्गामा मैले घुसाएको भनी बिपक्षी स्वयंले आफ्नो लेखमा लेख्न सक्नु भएको छैन साथै मैले पनि जग्गा चापेको घुसाएको भनी भन्न नसकेको अवस्थामा बिपक्षीको फिराद लेख निरर्थक हुंदा खारेजभागी छ भन्ने समेत व्यहोराको प्र.लिला देवी मानन्धरको प्रतिउत्तर पत्र ।

            ४.    प्रतिवादी प्रभा देवी उपाध्यायका नाउंमा जारी भएको इतलायनामा ०५०।४।५ गते तामेल भई आएको म्याद भित्रमा प्रतिउत्तर नदिई शुरु म्यादै गुजारी बसेको ।

            ५.    शुरु अदालतवाट र नापी शाखा गौरको तर्फवाट भै आएको नाप नक्सा मुचुल्का, मिति ०५१।५।३।६ मा भै आएको सर्जमिन मुचुल्का ।

            ६.    यी वादीको कि.नं. २२७ को पूर्व तर्फ प्रतिवादीको कम्पाउण्ड देखि पश्चिम ०६  जग्गा प्र.देव प्रयागको नाउंमा रजिष्ट्रेशन पास भएको ०जग्गा प्र.विनोदकुमार अग्रवालका नाउंमा पारीत भएको ०४ जग्गा प्र.विनोदकुमार अग्रवालका नाउंमा पारीत भएको र ०४  जग्गा प्र.दुर्गा देवीको नाउमा पारित भएकोले नीजहरुको हकमा सम्पूर्ण फिराद दावी छाडी छोडाई शुरु अदालतवाट भएको मिलापत्र ।

            ७.    वादी दावीको कि.नं. २२७ को उत्तरतर्फ पुर्वपश्चिम १०८ फिट र दक्षिणतर्फको पूर्वपश्चिम चौडाई ८४ फिट वादीको जग्गा मध्ये पूर्व उत्तर ११ फीट र दक्षिण पूर्व १६ फिटसम्म पं्रतिवादीहरुले खिचोला गरेको ठहर्छ । प्रतिवादी मध्येकी प्रभादेवीले विवादित जग्गामा २०२७ सालमा नै टंकी र चर्पी वनाएको हो भनी सर्जमिनका अधिकांश मानिसहरुले भनेकोवाट मुलुकी ऐन घर वनाउनेको ११ नं. मा उल्लेख भएको म्याद भित्रको नभै म्याद नाघी वादीले फिराद गरेको देखिंदा हदम्यादको अभावमा टंकी चर्पी घर रहेसम्म प्रतिवादी प्रभादेवीले टंकी चर्पी उपभोगसम्म गर्न पाउने ठहर्छ । अरु जग्गा माथि उल्लेख गरे वमोजिम प्रतिवादीले खिचोला गरेको हुंदा वादीले चलन पाउने ठहर्छ भन्ने समेत व्यहोराको रौतहट जिल्ला अदालतको २०५४।४।१५ को फैसला ।

            ८.    प्रतिवादी मध्येकी प्रभादेवीले २०२७ सालमा चर्पी घर वनाएको हुंदा सो चर्पी घर प्र.प्रभादेवीले उपभोगसम्म गर्न पाउने भन्ने शुरु जिल्ला अदालतवाट भएको सो हदसम्मको फैसलामा मात्र चित्त बुझेन । सर्जमिनको आधारमा टंकी र चर्पी घर रहेसम्म यी प्रतिवादीले उपभोग गर्न पाउने ठहर गर्न नमिल्ने भन्ने सर्वोच्च अदालतवाट प्रतिपादित सिद्धान्त समेतको विपरीत  भएको उक्त फैसला त्रुटीपूर्ण भएकोले बिपक्षीलाई झिकाई सर्जमिनको आधारमा टंकी चर्पी घर रहेसम्म बिपक्षी प्रतिवादीले उपभोग गर्न पाउने ठहर वाक्यांश वदर गरी खिचोला ठहर गरी चलन समेत पाउने गरी इन्साफ पाउं भन्ने समेत व्यहोराको वादी नारायण भक्त सिंहको पुनरावेदन पत्र  ।

            ९.    प्रतिवादीले म्याद गुजारी प्रतिउत्तर नै नदिएको अवस्थामा सर्जमीनका भनाइको आधारमा २०२७ सालमा नै बनेको ठहर्याई टंकी चर्पी घर प्रभादेवीले उपभोग गर्न पाउने ठहर्‍याएको शुरु इन्साफ फरक पर्न सक्ने देखिंदा छलफल निमित्त अ.वं. २०२ नं. वमोजिम बिपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको मिति २०५४।१०।२६ को आदेश ।

            १०.   प्रतिउत्तर नै नदिएको प्रतिवादीले वादी दावीको जग्गा खिचोला गरी बनाएको चर्पी र टंकी निजले भोग चलन गर्न पाउने कानूनी आधार नहुंदा वादी दावीको जग्गा प्रतिवादीहरुले खिचोला गरेको ठहराएको सम्म रौतहट जिल्ला अदालतको फैसला मनासिब भई प्रतिवादी प्रभादेवीले खिचोला गरी बनाएको चर्पी र टंकी निज प्रतिवादीले उपभोग गर्न पाउने ठहराएको हदसम्म सो फैसला त्रुटीपूर्ण हुंदा उक्त फैसला केही उल्टी हुने र खिचोला गरेको जग्गाहरु वादीले चलन पाउने समेत ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको मिति २०५६।९।१३ को फैसला ।

            ११.   विवादित जग्गामा २०२७ सालमा चर्पी र टंकी वनाएको हो । अदालतलाई प्रमाण वुझ्ने अधिकार भए अनुसार गरिएको सर्जमिनका मानिसले सो व्यहोरालाई पुष्टि गरिरहेकोले २०२७ सालमा बनाइएको चर्पी र टंकीको बिषयमा २०५० सालमा परेको फिराद हदम्याद विहिन हुंदा त्यस्तो फिरादको आधारमा गरिएको पुनरावेदन अदालत, हेटौंडाको फैसला त्रुटीपूर्ण हुंदा सो फैसला उल्टी गरी फिराद दाबी खारेज गरि पाउं भन्ने समेत व्यहोराको पुनरावेदन पत्र ।

            १२.   नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावदेक प्रतिवादीका वारेसलाई रोहवरमा राखी पुनरावेदन पत्र सहितको मिसिल अध्ययन गरी पुनरावेदन अदालत हेटौंडावाट भएको फैसला मिलेको छ, छैन ? भन्ने सम्बन्धमा विचार गर्दा रौतहट जिल्ला गौर नगरपालिका वडा नं.९ कि.नं. २२७ को जग्गाको पूर्वतर्फ प्रतिवादीहरुको कि.नं. ३४९, ३४८, ३४७ र ३४४ जग्गा रहेकोमा पूर्व तर्फवाट अन्दाजी २० फिट जग्गा मिची खिचोला गरेकाले खिचोला मेटाई पाउं भनी फिराद दावी लिएकोमा प्रतिउत्तर फिराउने प्रतिवादीहरुले आफूले वादी दावी वमोजिम खिचोला नगरेको भन्ने जिकिर लिएको पाइन्छ । पुनरावेदक प्रतिवादी प्रभा देवी उपाध्यायले भने शुरु म्यादै गुजारी बसेको अवस्था रहेको देखिन्छ । शुरु रौतहट जिल्ला अदालतमा मुद्दा चल्दाचल्दैको अवस्थामा प्रतिवादीहरु मध्ये देव प्रयाग गुप्ता, फिरादको पेटवोलीवाट बुझिएको दुर्गा देवी र विनोदकुमार अग्रवालसंग मिलापत्र भएको पाइन्छ भने अन्य प्रतिवादीहरु प्रभादेवी उपाध्याय र लिलादेवी मानन्धरले वादीको जग्गामा खिचोला गरेको ठहर भएको पाइन्छ । पुनरावेदक प्रतिवादी प्रभादेवी उपाध्यायले वादीको कि. नं. २२७ को जग्गाको पूर्वतर्फ खिचोला गरेको देखिए पनि सो जग्गामा निजले २०२७ साल देखी नै चर्पी तथा टंकी वनाएको भनी बुझिएको सर्जमनिका मानिसहरुले भनेको भन्ने कुरालाई आधार मानी म्याद नाघी फिराद गरेको देखिएकोले हदम्यादको अभावमा टंकी र चर्पी घर रहेसम्म प्रतिवादी प्रभादेवीले सो टंकी र चर्पी उपयोग गर्न पाउने गरी भएको फैसला केही उल्टी गरी खिचोला गरेको जग्गा वादीले चलन पाउने समेत ठहर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला उपर प्रस्तुत पुनरावेदन पर्न आएको देखिन्छ ।

            १३.   पुनरावेदक वादीको पुनरावेदन जिकिर अध्ययन गर्दा अदालतवाट भएको सर्जमिनका अधिकांश व्यक्तिहरुले विवादित जग्गामा प्रतिवादीले २०२७ सालमा टंकी तथा चर्पी वनाएको भन्ने उल्लेख गरेकोले २०२७ सालमा खिचोला गरेको बिषयमा २०५० सालमा पर्न आएको फिराद हदम्याद विहिन हुंदा त्यस्तो फिरादको आधारमा इन्साफ गरेको फैसला त्रुटी पूर्ण हुंदा उल्टी गरी फिराद खारेज गर्नुपर्ने मूल जिकिर लिएको पाइन्छ । त्यस सम्बन्धमा विचार गर्दा रौतहट जिल्ला अदालतवाट प्रतिवादी प्रभादेवी उपाध्यायका नाउंमा मिति २०५०।४।५ मा तामेल भएको म्याद भित्र निजले वादीले दावी लिएको व्यहोरा सत्य सांचो नभएकोले त्यसलाई खण्डन गर्दै हदम्याद समेतको आधारमा फिराद खारेज हुनुपर्ने जस्तो प्रारम्भिक जिकिर र सो जिकिरलाई पुष्टि गर्ने आवश्यक प्रमाण सहित प्रतिउत्तर पेश गर्न सकेको पाइदैन । वादीले आफ्नो कि.नं. २२७ को पूर्वतर्फ प्रतिवादीहरुले खिचोला गरेको भनी लिएको दावी अदालतवाट भएको विभिन्न मितिमा भएको नक्सा मुचुल्कावाट समेत पुष्टि भइरहेको देखिन्छ । वादीको कि.नं. २२७ भन्दा पूर्वतर्फ रहेको कि.नं. ३४९, ३४८, ३४७ का प्रतिवादीहरुले समेत वादीको जग्गा खिचोला गरेको स्वीकार गरी विवादित जग्गा रजिष्ट्रेशन पास गरी वादीसंग आफुले लिई वादी दावी फिर्ता लिन लगाई मिलापत्र भएको समेत देखिन्छ । प्रतिवादी मध्येकी लिलादेवी मानन्धरले समेत खिचोला गरेको ठहर गरेको शुरु जिल्ला अदालतको फैसला उपर पुनरावेदन गरेको पाइदैन। नक्सा मुचुल्कावाट वादीको कि.नं. २२७ को पूर्वतर्फ विभिन्न प्रतिवादीहरुको विभिन्न कित्ता जग्गाहरु रहेकोमा अन्य प्रतिवादीहरुले वादी दावी अनुसार खिचोला गरेको तथ्य प्रत्यक्ष वा परोक्ष रुपमा स्वीकार गरिरहेको अवस्थामा कि.नं. ३४६ को पश्चिमतर्फ र वादीको कि.नं. २२७ को पूर्वतर्फको सांधमा पुनरावेदन प्रतिवादीले खिचोला गरेको होइन भन्ने अवस्था देखिंदैन । विवादित जग्गामा २०२७ सालमा नै टंकी तथा चर्पी रहेको भनी सर्जमनिका मानिसहरुले लेखाई दिएको व्यहोराका सम्बन्धमा विचार गर्दा सर्जमिनका मानिसहरुको व्यहोरा एकै किसिमको रहेको पाइदैन । सर्जमिनका अलग अलग व्यक्तिले परस्परमा वाझिने व्यहोरा लेखाएको पाइन्छ । पुनरावेदक प्रतिवादी प्रभादेवी स्वयंले वादी दावी खण्डन गरी आफ्नो व्यहोरा उल्लेख गरी प्रतिउत्तर फिराउन नसकेको अवस्थामा अन्य ठोस प्रमाणको अभावमा सर्जमिनका मानिसहरुको परस्पर विरोधी भनाइलाई मात्र आधार मानी वादी दावी हदम्याद बिहीन भएकोले फिराद दावी खारेज हुनुपर्छ भन्ने पुनरावेदन जिकिर स्वीकार योग्य देखिन आएन । यसर्थः वादीको कि.नं.२२७ को जग्गामा पुनरावेदक प्रतिवादी प्रभादेवीले खिचोला गरेको ठहराएको हदसम्म शुरु रौतहट जिल्ला अदालतको फैसला सदर गरी सो अदालतले विवादित जग्गामा प्रतिवादी प्रभादेवीले निर्माण गरेको चर्पी तथा टंकी रहेसम्म निजले नै उपयोग गर्न पाउने गरी गरेको फैसला सो हदसम्म केही उल्टी गरी खिचोला गरेको देखिएको विवादित जग्गा वादीले चलन पाउने समेत ठहराएको पुनरावेदन अदालत हेटौंडाको इन्साफ मनासिव देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गर्नु ।

 

उपर्युक्त रायमा सहमत छु ।

 

प्र.न्या.केदारनाथ उपाध्याय

 

इति सम्बत् २०६० साल जेष्ठ २६ गते रोज २ शुभम् ............. ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु