निर्णय नं. ७२२६ - जग्गा हक कायम चलन चलाई पाउँ

निर्णय नं. ७२२६ ने.का.प.२०६० अङ्क ५.६
संयुक्त इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
सम्बत् २०५५ सालको दे.पु.नं. ....४८१३
फैसला मितिः २०५९।१२।१४।६
मुद्दा :– जग्गा हक कायम चलन चलाई पाउँ ।
पुनरावेदक
वादीः जिल्ला कपिलवस्तु रामघाट गा.वि.स.वडा नं. ३ डेर्वा वस्ने वामदेव ज्ञवाली समेत
विरुद्ध
प्रत्यर्थी
प्रतिवादीः ऐ.ऐ.वार्ड नं. ९ औरहीया वस्ने इन्द्रमाया शर्मा समेत
§ वादीहरुवाट हक हस्तान्तरण भएको भनिएको मिति ०४२।१।१० र ०४२।६।२७ मा पारित लिखतहरुवाट विवादका जग्गाहरु मुक्तिधाम निर्माण गर्ने प्रयोजनको लागि हस्तान्तरण भएको भन्ने उल्लेखित लिखतहरुको व्यहोरावाट देखिन नआउंदा सो लिखतवाट यी वादीहरुको नामवाट हक स्वामित्व बिपक्षी शक्तिमाता भन्ने लिलादेवी खरालको नाममा हस्तान्तरण भै गएको कुरालाई अन्यथा भन्न सकिने स्थिति नदेखिने ।
§ जुन लिखतवाट प्रत्यर्थी प्रतिवादी शक्तिमाता भत्रे लिलादेवीले विवादित जग्गामा हक प्राप्त गरेको हो सो लिखतहरुवाट वादीले दावी गरे जस्तो मुक्तिधाम निर्माण नगरे ती जग्गाहरु वादीहरुकै नाउंमा फिर्ता हुने भत्रे शर्त उल्लेख गरेको अवस्था नदेखिनुका साथै हक अधिकारमा असर पर्ने व्यक्तिको अनुपस्थितिमा अरु व्यक्तिका वीच भएको भनिएको शर्त वन्देजको ०४३।२।२९ को घरायसी कागजको व्यहोरावाट रीतपूर्वक प्राप्त भएको अचल सम्पत्ति फिर्ता हुन्छ भत्रु रजिष्ट्रेशनको १ नं. समेतले नमिल्ने र न्यायोचित नहुने ।
(प्र.नं. ११)
पुनरावेदक वादी तर्फवाटः वारेश श्री नारायणप्रसाद ज्ञवाली
प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री वालकृष्ण न्यौपाने र श्री कृष्णकान्त ज्ञवाली
अवलम्वित नजिरः
फैसला
न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत वुटवलको मिति ०५१।८।४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अन्तर्गत पर्न आएको निवेदनमा मुद्दा दोहर्याई हेर्ने निस्सा भै पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ :–
२. वावु लोकराज र आमा जयन्ता देवीको तर्फवाट म समेतका ६ जना दाजु–भाई भएको, साविक नापी श्रेस्ता वमोजिम वावु लोकराजका नाउंमा ज.वि. ६०–१०–६ र मेरा नाउमा १०–१३–६ समेत गरी ज.वि.८५–११–१४ जग्गा मध्ये उखडा सर्पोट भई ज.वि. ४–८–१२ कट्टा गर्दा ज.वि. ८१–३–२ को २०२७ सालमा नापीमा ज.वि. ६९–१–२ मात्र ठहर्न आउंदा ज.वि. १२–२–० घटन गएको, वावु आमाको मृत्यु पछि हामी ६ जना दाजुभाईले बराबरका हिसावले लिनेदिने गरी कि.नं. नछुट्याई म नारायणप्रसादको माध्यमवाट भोगचलन गर्दै आएको, दाजु संभुप्रसादका हिस्सा को जग्गा निजका छोराहरुमा हक सर्न आई मेरा छोराहरुलाई वकसपत्र पारित गरी दिएका भाइहरुको अंशको आधी जग्गा मुक्तिधामको शिलान्यासका लागि २०४२।१।१० गते म भाई वामदेवको अधिकृत वारेस भई ज.वि. ०–९–७ जग्गा पारीत गरी दिई मुक्तिधामको शिलान्यास भएको, सो उद्घाटन पछि शक्तिमाता लिलादेवीबाट सो मुक्तिधामका लागि दैवीय शक्तिको आज्ञानुसार कम्तिमा ज.वि. १०–०–० चाहिने, सो जग्गा पछि फिर्ता हुने र त्यसको भोगचलन तिमीले नै गर्ने खाने र दैवीय श्रेस्तामा देखाउनु पर्ने भनी शक्तिमाताबाट आज्ञा हुंदा धर्मकार्यमा धोखा नहोला भन्ने संझी २०४२।६।२७ गते ज.वि. १०–१–१८.१र२ पुनः राजिनामा गरी दिएको, २०४३ सालको खेतीपातीको अवस्था मिलाउंदै थिए त्यत्तिकैमा जग्गा छुट्याई आ–आफ्नो भागमा पर्ने जग्गाहरु आ–आफैले भोगचलन गर्ने भनी शक्तिमाता लिलादेवीको प्रतिनिधि धु्रवप्रसाद खराल समेत उपस्थित भई २०४३।२।२९ मा संझौता शर्तनामा कागज खडा भएको, सो सम्झौता शर्त बमोजिमको कार्य समेत नगरी धर्मको आडमा जालसाजी ठगी गरेकाले सो ज.वि. १०–१९–१८१र२ जग्गाको हक नछुट्याई जालसाजी गरेकोमा छुटटै फिराद गरेको हुंदा जग्गा हक कायम गरी नामसारी दर्ता तर्फ यो फिराद गरेका छौं जग्गाको हक कायम गरी नामसारी दर्ता तथा चलन समेत चलाई दिई बिपक्षीहरु माथि प्रचलित कानूनवमोजिम सजाय समेत गरी पाउँ भत्रे समेत व्यहोराको फिरादपत्र ।
३. वादीले र वादीका भाइहरुले आ–आफ्नो खुशीराजीले राजिनामा गरे गराएको कुरामा वादी स्वयंले स्वीकारी सक्नु भएको, सो राजिनामा गर्दा गराउंदा मैले कसैलाई पनि सहयोग पनि गरेको छैन। वादीले शर्तनामा कागज विपरीत म माथि आरोप लगाई झुठ्ठो मुद्दा दिनु भएको भन्ने समेत व्यहोराको इन्द«माया शर्माको प्रतिउत्तरपत्र ।
४. यस मुद्दाका अन्य प्रतिवादी इन्द्रमाया शर्मा र धु्रवप्रसाद खरालको व्यहोरावाट मेरो हकमा कुनै असर नपरोस । वादीले शक्तिमाता लिलादेवी खराललाई विभिन्न मितिमा जग्गा राजिनामा पारीत गरी दिनु भएको । पुनः सोही जग्गामा हक कायम गराउने कुनै प्रचलित कानूनी व्यवस्था छैन। लिखत गर्ने व्यक्तिलाई बिपक्षी बनाउन सकेको छैन । त्यसरी लिखत वदर तर्फ दावी नलिई लिखतलाई स्वीकार गरी सकेपछि आफ्नै जग्गा विक्री गर्ने आफै हक कायम गराउने अवस्थै छैन लिखत वदर तर्फ दावी नलिई हक कायम तर्फ माग दावी लिने हकदैयाविहीन वादी दावी खारेज गरी पाउं भन्ने समेत व्यहोराको शक्तिमाता लिलादेवी खराल समेत जना २ को संयुक्त प्रतिउत्तर पत्र ।
५. प्रतिवादीलाई वादीले एक पटक राजिनामा गरी दिई सकेपछि त्यही जग्गामा वादीको हक कायम रहने कानूनी व्यवस्था नदेखिएको, फिरादमा दावी गरेको जग्गा मिच्नेको महल आकर्षण नहुने तथा वादीले पेश गरेको करारको शर्तहरुमा यी प्रतिवादी जग्गा लिने शक्तिमाता लिलादेवीको सहीछाप परेको पनि पाइएन । करार वा सहमति भएको कुराहरु पुरा गरी पाउं भन्ने दावी लिएको यो मुद्दा पनि देखिएन । वादीहरुले एक पटक हक छोडी राजिनामा पारित गरी दिएका जग्गामा अब वादीहरुको हक कायम रहेको भन्ने कुरा मिसिलवाट नदेखिंदा हक नपुग्ने कुरामा तथ्यभित्र प्रवेश गरी इन्साफ गर्न नमिल्ने हुंदा फिरादपत्र खारेज हुने ठहर्छ भत्रे समेत व्यहोराको कपिलवस्तु जिल्ला अदालतको मिति ०४९।३।३ को फैसला ।
६. कपिलवस्तु जिल्लाको डेर्वा तथा औरहीया मौजामा शक्तिमाता लिलादेवीको अगुवाईमा मुक्तिधाम वनाउने कुरामा प्रतिवादीहरु स्वयं सहमत छन् । मुक्तिधाम जस्तो पवित्र र विशाल योजना संचालन गर्न आवश्यक पर्ने जग्गा मिति २०४३।२।२९ मा संझौता गरी हामीवाट विभिन्न नम्वरका कित्ता जग्गा लिई शक्तिमाता लिलादेवीका नाउंमा राखे पनि पवित्र मुक्तिधामको निम्ति प्रयोग गर्ने गरी शर्त वन्देज भएको हो । संझौतामा लेखिएका कित्ताहरुको प्रयोग सम्झौता अनुसार कै काममा प्रयोग गर्नुपर्दछ यदि गरिदैन भने त्यस्तो पास वदर भई दाताको नाममा जग्गा फिर्ता हुनुपर्नेमा सो नभई गरिएको शुरु जिल्ला अदालतको फैसला उल्टाई वादी दावी वमोजिम हक कायम गरी चलन चलाई पाउं भत्रे समेत व्यहोराको वादीहरु नारायणप्रसाद ज्ञवाली समेतको पुनरावेदन अदालत वुटवलमा परेको पुनरावेदन पत्र ।
७. लिखतमा विवादित जग्गा फिर्ता हुने भनी उल्लेख नभएको अवस्थामा त्यस्तो लिखतको आधारवाट प्रतिवादीले वादीहरुवाट राजीनामा गराई लिएको जग्गा पुनः आफ्नै नाउंमा नामसारी गरी पाउं भन्ने स्थिति देखिएन । यस्तो अ.वं. ८२ नं. प्रतिकूलको वादीको फिरादपत्रवाट मुद्दाको तथ्य्भित्र प्रवेश गरी इन्साफ गर्न नमिल्ने भनी खारेज गर्ने गरेको कपिलवस्तु जिल्ला अदालतको मिति ०४९।३।३ को फैसला मिलेकै देखिंदा मनासीव ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत वुटवलको मिति ०५१।८।४ को फैसला ।
८. पुनरावेदन अदालत वुटवलको फैसलामा न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को त्रुटी रहेको हुंदा सो फैसला दोहर्याई हेरी न्याय इन्साफ पाउं भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको निवेदन पत्र ।
९. आजै निवेदक वादी वामदेव ज्ञवाली समेत विरुद्ध शक्तिमाता भन्ने लिलादेवी खराल समेत भएको नि.नं. ३२७५ समेतका मुद्दामा शुरु सदर गरेको पुनरावेदन अदालत वुटवलको फैसला त्रुटीपूर्ण भई मुद्दा दोहर्याई हेरिने निस्सा प्रदान भएवाट प्रस्तुत सोही मुद्दाको लगाउ भई प्रत्यक्षतः असर पर्ने भएवाट यस मुद्दालाई समेत सोही आधार वुँदावाट दोहर्याई हेरिने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५५।७।२५ को आदेश ।
१०. नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वारेस समेत नारयणप्रसाद ज्ञवालीले शर्त अनुसार बिपक्षी शक्तिमाताले मुक्तिधाम नबनाएको, शर्त विपरीत जग्गा अरुलाई विक्री गर्ने कार्य गरेकोले दोहोर्याउने निस्सा प्रदान भएको आधार वमोजिम दावी अनुसार गरी पाउं भन्ने समेत व्यहोराको जिकिर प्रस्तुत गर्नुभयो । बिपक्षी मध्येका शक्तिमाता भन्ने लिलादेवी खराल समेतका तर्फवाट विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपानेले लिखत पारित गरी दिंदा मुक्ति धाम वनाउने भन्ने शर्त उल्लेख गरेको छैन । करारनामा भनी पेश गरेको कागजमा शक्तिमाताको हस्ताक्षर भएको छैन र मुक्तिधाम निर्माण नभए जग्गा फिर्ता हुने भन्ने शर्त पनि उल्लेख छैन । अतः दावी नपुग्ने गरेको फैसला मिलेकै हुंदा सदर हुनुपर्दछ भत्रे समेत व्यहोराको र बिपक्षी ईन्द्रमाया शर्माको तर्फवाट विद्वान अधिवक्ता श्री कृष्णकान्त ज्ञवालीले मेरो पक्षलाई बिपक्षी बनाउनु पर्ने कारण र आधार छैन । विवादको जग्गा हस्तान्तरण संवन्धी प्रक्रियामा मेरो पक्षको कुनै सरोकार छैन । पुनरावेदन अदालतको फैसला मिलेकै हुंदा सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
११. विद्वान कानून व्यवसायीहरुको र पुनरावेदक वादी समेतको उपर्युक्त वमोमिजको वहस जिकिर समेत सुनी निर्णयतर्फ विचार गर्दा विभिन्न मितिमा गरी बिपक्षी शक्तिमाता भन्ने लिलादेवीलाई मुक्तिधाम वनाउने प्रयोजनको लागि हामीहरुको नाउको जम्मा ज.वि. १०–१९–१८ १ र २ जग्गा लिखत गरी दिएकोमा सो लेखी दिंदाको समझदारी र मिति ०४३।२।२९ मा भएको शर्तनामा वमोजिमको कार्य प्रत्यर्थी शक्तिमाताले नगरेको हुंदा सो जग्गामा वादीहरुकै हक कायम गरी नामसारी दर्ता समेत गरी पाउं भन्ने मुख्य मांग दावी लिई प्रस्तुत फिराद परेको देखिन्छ । वादीहरुवाट हक हस्तान्तरण भएको भनिएको मिति ०४२।१।१० र ०४२।६।२७ मा पारित लिखतहरुवाट विवादका जग्गाहरु मुक्तिधाम निर्माण गर्ने प्रत्यायोजनको लागि हस्तान्तरण भएको भन्ने उल्लेखित लिखतहरुको व्यहोरावाट देखिन आउंदैन। सो लिखतवाट यी वादीहरुको नामवाट हक स्वामित्व बिपक्षी शक्तिमाता भन्ने लिलादेवी खरालको नाममा हस्तान्तरण भै गएको कुरालाई अन्यथा भन्न सकिने स्थिति देखिंदैन । वादीले प्रमाणको रुपमा पेश गरेको ०४३।२।२९ को शर्त वन्देज भनी पेश गरेको लिखतको व्यहोरावाट समेत यी प्रत्यर्थी लिलादेवीले मुक्तिधाम निर्माण नगरे विवादको जग्गा वादिहरुकै स्वामित्वमा वा हकमा फर्कने भन्ने उल्लेख गरेको र सो लिखतमा शक्तिमाताको हस्ताक्षर भएको नदेखिनुका साथै निज साक्षी समेत रहेको देखिंदैन । यसरी जुन लिखतवाट प्रत्यर्थी प्रतिवादी शक्तिमाता भत्रे लिलादेवीले विवादित जग्गामा हक प्राप्त गरेको हो सो लिखतहरुवाट वादीले दावी गरे जस्तो मुक्तिधाम निर्माण नगरे ती जग्गाहरु वादीहरुकै नाउंमा फिर्ता हुने भत्रे शर्त उल्लेख गरेका अवस्था नदेखिनुका साथै हक अधिकारमा असर पर्ने व्यक्तिको अनुपस्थितिमा अरु व्यक्तिका वीच भएको भनिएको शर्त वन्देजको ०४३।२।२९ को घरायसी कागजको व्यहोरावाट रीतपूर्वक प्राप्त भएको अचल सम्पत्ति फिर्ता हुन्छ भत्रु रजिष्ट्रेशनको १ नं. समेतले नमिल्ने र न्यायोचित पनि हुने देखिंदैन । फेरि प्रस्तुत मुद्दा उक्त शर्त करारको लिखत कार्यान्वित गर्न करार ऐन वमोजिम परेको अवस्था पनि छैन । त्यसैले त्यस दृष्टिवाट हेर्नुपर्ने अवस्था पनि आएन।
१२. अतः वादीहरुले आफ्नो स्वइच्छाले सहीछाप गरी साधिकार निकायवाट लिखत पारित गरी निशर्त हक हस्तान्तरण गरी आफ्नो हक नै समाप्त भइसकेको अवस्थामा विवादको जग्गामा वादीहरुको नै हक कायम गरी नामसारी समेत गरी पाउँ भन्ने हकदैया नरहेको भनी फिराद खारेज गर्ने गरेको शुरु सदर गरेको पुनरावेदन अदालत वुटवलको फैसला मिलेकै देखिंदा सदर हुन्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । नियमानुसार गरी मिसिल वुझाई दिनु ।
उपर्युक्त रायमा सहमत छु ।
प्र.न्या.केदारनाथ उपाध्याय
इति सम्बत् २०५९ साल चैत्र १४ गते रोज ६ शुभम् ...... ।