निर्णय नं. ७२३३ - चोरी
निर्णय नं. ७२३३ ने.का.प.२०६० अङ्क ५.६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
सम्वत् २०५६ सालको फौ.पु.नं. ..२००७
फैसला मितिः २०५९।१२।२१।६
मुद्धा: चोरी ।
पुनरावेदक
प्रतिवादीः जिल्ला उदयपुर गा.वि.स. रिस्कु वडा नं. ड वस्ने सिंहवहादुर तमाङ
विरुद्द
प्रत्यर्थी
वादीः बमवहादुर तमाङको जाहेरीले श्री ५ को सरकार
§ चोरी भएको भनिएको जाहेरी दरखास्तमा उल्लेखित गरगहना र ३८ समेतका मालवस्तु यी प्रतिवादीबाट वरामद भएको नदेखिंदा प्रतिवादी वा ६ वरामद भएको भनिएको नगद र सुनको तिलहरी चोरी भएको दशी भन्ने प्रमाणित हुन नसकेको अवस्थामा यी प्रतिवादीले चोरीको सामान बांडी लिएको कुरा स्वतन्त्र प्रमाण वा पुष्टी हुन नसक्ने ।
§ चोरी भएको नगद तथा सामान बांडी खाएको भन्ने अपराध कायम गर्न बांडी खाएको भनिएको सामान कसले चोरी गरेको भन्ने कुरा स्थापित भएको हुनु पर्नेमा प्रस्तुत मुद्धामा जाहेरवालाको धनमाल कसले चोरी गरेको भन्ने कुरा नै स्थापित हुन नसकेको अवस्थामा चोरी ल्याएको माल यी पुनरावेदकले बांडी खाएको भन्ने कसूर कायम गर्न मिल्ने अवस्था नहुने ।
(प्र.नं. १६ र १७)
पुनरावेदक प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री सुरेन्द्रकुमार खड्का
प्रत्यर्थी वादी तर्फबाट: विद्वान उप न्यायाधिवक्ता श्री शरद खड्का
अवलम्वित नजिरः
फैसला
न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः पुनरावेदन अदालत पाटनको मिति २०५४।५।५ को फैसला उपर प्रतिवादीले मुद्धा दोहर्याई पाउं भन्ने निवेदन यस अदालतमा दिई यस अदालतबाट मुद्धा दोहर्याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्धाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।
२. मेरो घर निर्माण कार्यमा सहयोग गर्दै आएका सिंहवहादुर तामाङले मेरो घर निर्माण गर्न लागेको अवस्थामा वौद्धस्थित डेराको कोठाबाट सु६केशमा राखेको रु.९,०००००। नगद, रु.५१,०००। पर्ने सुनको नेकलेस, रु.२५,५००। पर्ने सुनको नेकलेस, रु.१७,०००। पर्ने कानको रिङ दुईवटा, रु.१७,०००। पर्ने पुतली औठी, रु.५१,०००। पर्ने सुनको वाला, रु.८,५००। पर्ने सुनको लकेट, रु.१०,०००। पर्ने हिरा जडित सुनको औंठी, रु.८,५००। पर्ने वच्चाको सुनकेो रिङ, र रु.१५,०००। पर्ने सिको घडी थान ५ समेत जम्मा विगो रु.११,०३५००। निज सिंहवहादुर तामाङ र निजको साथी निमा डण्डी टेककवहादुर दाहाल समेत भै मिति २०५२।१।१८ गते दिउसो चोरी गरेकोले आवश्यक कारवाही गरी पाउं भन्ने समेत व्यहोराको जाहेरी दरखास्त ।
३. मिति २०५२।६।२३ मा सिंहवहादुर तामाङलाई पक्राउ गरी खानतलासी गर्दा रु.१०,०००। नगद र ४ आनाको सुनको तिलहरी फेला परेको भन्ने समेतको वरामदी मुचुल्का ।
४. म जाहेरवालाको घरमा घर वनाउने कार्यमा सहयोग दिने र निजकै घरमा खाना खाने गरेको र निजको घरको राखन धरन समेत थाहा भएकोले चिनजानको साथी निमा डेण्डी र टेकवहादुर दाहाललाई मिति २०५२।१।१८ मा जाहेरवाला घरमा नभएको मौका पारी चोरी गर्न लगाई निजहरुले चारी गरेको धनमालबाट मलाई रु.१,४०,०००। निमाले दिएकोमा रु.२२,०००। रत्न पोखरेललाई,रु.३०,०००। खगेन्द्र पोखरेललाई र रु.३०,०००। खगेन्द्रकुमार राइलाई दिएको हुं । रु.१०,०००। र सोही चोरीको पैसाबाट खरिद गरेको ४ आनाको सुनको तिलहरी मबाट वरामद भएको छ। वांकी रकम घरखर्च गरी सकियो भन्ने समेतको प्रतिवादी सिंहवहादुर तामाङले प्रहरीमा गरेको वयान।
५. संकलित सवुद प्रमाणहरुबाट प्रतिवादी सिंहवहादुर तामाङले निमा डेण्डी र टेकवहादुर दाहाललाई जाहेरवालाको धनमाल राखेको ठाउं देखाई सिकाई चोरी गर्न लगाई विगो रु.११,०३,५००। चोरी गरेको सो मध्येबाट रु.१,४०,०००। प्रतिवादी सिंहवहादुर तामाङले भागवण्डा लिई विभिन्न व्यक्तिहरुलाई सापटी दिएको कुरामा सावित भएकोले निज सिंहवहादुर तामाङले चोरीको १ र २ नं. विपरीतको कसूर गरी अपराध गरेको देखिन आएकोले निज प्रतिवादीलाई चोरीको २० नं. अनुसार सजाय हुन र विगो मध्ये नपुग रु.१०,३९,३००। जाहेरवालालाई दिलाई भराई पाउं भन्ने अभियोग पत्र।
६. मलाई प्रहरीले पक्राउ गरेको साउन २१ गते हो । हनुमानढोकामा राजु लामाले मलाई कुटपिट गर्न खोज्यो । सरकारी वकिल कार्यालयमा समेत होइन भनी वयान गर्दा कुटपिट गरेकोले सहन नसकी लेखिएको कागजमा सहिछाप गरेको हुं । मैले चोरी गरेको होइन । जाहेरवालाको जाहेरी झुठ्ठा हो । मलाई प्रहरीले उदयपुर लगी त्यहां राष्ट्रिय बाणिज्य वैंकमा भएको मेरो खाताबाट रु.१०,०००। झिक्न लगाई घरमा श्रीमतीको तिलहरी राखेकोमा वरामद गरी ल्याएको हो । मबाट चोरीको रकम वरामद भएको होइन । अभियोग माग दावी वमोजिम मलाई सजाय हुनुपर्ने होइन भन्ने समेत प्रतिवादी सिंहवहादुर तामाङले अदालतमा गरेको वयान ।
७. जाहेरीको भरमा मात्र अभियोग पत्रमा उल्लेखित रकमलाई विगो कायम गर्न सवुद प्रमाणको अभाव हुंदा वरामद भएको विगो रु. ६४,२००। विगो कायम हुने र प्रतिवादी सिंहवहादुरको हकमा चोरीको ३ नं. को कसूर कायम हुन नसक्ने भै प्रतिवादी सिंहवहादुरले चोरीको २० नं. को कसूर गरी रु.६४,२००। खाएको ठहर छ । सो ठहर्नाले चोरीको २० नं. वमोजिम प्रतिवादी सिंहवहादुरलाई पहिलो पटक पारी चोरीको १२ नं. वमोजिम विगो रु. ६४,२००। को विगो वमोजिम जरिवाना र एक महिना कैद समेत हुने ठहर छ भन्ने शुरु काठमाडौं जिल्ला अदालतको फैसला ।
८. प्रस्तुत मुद्धामा चोरी गर्ने भनिएका निमा टेण्डी र टेकवहादुर उपर वादी पक्षले चोरीको वारदातको लागि मुद्धा चलाउन सम्म नसकेकोले चोरीको वारदातनै कायम हुन सक्ने अवस्था नभएकोमा मलाई चोरीको २० नं. को कसूरदार ठहर गरी सजाय गरेको फैसला त्रुटिपूर्ण हुंदा सफाइ पाउं भन्ने समेत व्यहोराको प्रतिवादी सिंहवहादुर तामाङको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र।
९. प्रतिवादीलाई अभियोग दावी वमोजिम सजाय गरी पाउं भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
१०. प्रतिवादी सिंहवहादुर तामाङले निमा टेण्डी र टेकवहादुरलाई वारदात गराउन सहयोग सम्म गरी चोरीको २० नं. वमोजिमको कसूर स्थापित हुने गरी चोरीको मालसामान वाडी खाएको सम्म देखिएको अवस्थामा शुरुले चोरीको १ र ३ नं. को कसूर नठहराई निज प्रतिवादीलाई चोरीको २० नं. वमोजिम कसूरदार ठहर गरेको इन्साफ सदर हुने ठहर छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५४।५।५ को फैसला ।
११. चोरी नै ठहर नभएको अवस्थामा चोरीको माल वाडी खायो भनी अनुमानको भरमा सजाय गर्न नमिल्नेमा नगदसाथ पक्राउ गरिएको भनी मिसिलमा नै नभएको तथ्य फैसलामा उल्लेख गरी मलाई चारीको २० नं. वमोजिमको कसूरदार ठहर गरेको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५२, ५४ अदालती वन्दोवस्तको १८४ क. १८५ समेतको गंभीर त्रुटिको साथै सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तकै उल्लंघन गरिएको हुनाले मुद्धा दोहर्याई शुरु काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालत पाटनको फैसला उल्टाई दावीबाट फुर्सद पाउं भन्ने समेत व्यहोराको प्रतिवादी सिंहवहादुर तामाङको यस अदालतमा परेको निवेदन पत्र ।
१२. वरामद भएको भनेको दशीको प्रकृति र जाहेरवालाको भनाइबाट चोरीको दशी भन्ने प्रमाणित नहुने र चोरी गर्ने भनेका व्यक्तिलाई प्रतिवादी नवनाएको र चोरी नठहरेको अवस्था समेत हुंदा अदालतमा कसूर गरेकोमा इन्कार हुने प्रतिवादीलाई ठोस र स्वतन्त्र प्रमाण वेगर चोरीको २० नं. ले चोरीको माल वाडी खाएको भनी कसूरदार ठहर्याई सजाय गरेको पुनरावेदन अदालतको फैसलामा चोरीको १ र २० नं. र सर्वोच्च अदालत निर्णय सार संग्रह भाग ८ पृष्ठ १४९ मा प्रकाशित नजिर समेतको प्रतिकूल देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) समेतको आधारमा दोहर्याई हेर्ने निस्सा प्रदान गरिएको ५ भन्ने यस अदालतको आदेश ।
१३. नियम वमोजिम पेश भएको प्रस्तुत मुद्धाको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट विद्वान अधिवक्ता श्री सुरेन्द्रकुमार खडकाले मेरो पक्षलाई चोरीको माल वाडी खाएको भन्ने कसूरमा शुरु र पुनरावेदन अदालतबाट सजाय गरिएको छ । चोरीको माल वाडी खाएको ठहर गर्न चोरीको वारदात कायम हुनुपर्छ । प्रस्तुत मुद्धामा चोरीको वारदात नै कायम नभएकोमा मेरो पक्षलाई चोरीको माल वाडी खाएको कसूरमा सजाय गरेको सर्वोच्च अदालत निर्णय संग्रह भाग ८ पृष्ठ १४९ मा प्रकाशित नजिर समेतको त्रुटि हुंदा शुरु जिल्ला अदालत र पुनरावेदन अदालतको फैसला उल्टी गरी मेरो पक्षलाई सफाइ दिनुपर्छ भन्ने समेत वहस प्रस्तुत गर्नुभयो ।
१४. प्रत्यर्थी तर्फबाट विद्वान उपन्यायाधिवक्ता श्री शरद खड्काले घटनास्थल प्रकृति मुचुल्का, जाहेरी दरखास्त समेतबाट चोरीको वारदात भएको छ । चोरी गर्नेको स्पष्ट ठेगाना खुल्न नसकेको अवस्थामा निजहरुलाई प्रतिवादी नवनाएको आधारमा अपराध गरेको व्यक्तिलाई उन्मुक्ति दिन मिल्दैन । यी पुनरावेदक प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती वयान इच्छा विपरीतको भन्न सकिने आधार प्रमाण नभएकोले यी प्रतिवादीलाई कसूरदार ठहर गरी सजाय गरेको पुनरावेदन अदालतको फैसला कायम रहनुपर्छ भन्ने समेत वहस प्रस्तुत गर्नुभयो ।
१५. उपरोक्त वहस समेतलाई दृष्टिगत गरी प्रस्तुत मुद्धामा प्रतिवादी सिंहवहादुर तामाङलाई मुलुकी ऐन, चोरीको २० नं. वमोजिमको कसूरमा सजाय गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिले, नमिलेको सम्वन्धमा निर्णय दिनुपर्ने हुनआयो ।
१६. निर्णयतर्फ विचार गर्दा यी पुनरावेदक प्रतिवादीले जाहेरवालाको धनमाल राखेको ठाउं देखाई चोरी गर्न लगाई चोरी गरेको सामान मध्येबाट निजले भागवण्डा लिएकोले निजलाई चोरीको २० नं. अनुसार सजाय गरी पाउं भन्ने अभियोग दावी भएको पाइन्छ । निज प्रतिवादीले अदालतमा वयान गर्दा राष्ट्रिय बाणिज्य वैंकमा भएको निजको खाताबाट रु.१०,०००। झिक्न लगाई घरमा भएको श्रीमतीको तिलहरी वरामद गरी ल्याएको भनी कसूरमा पूर्णरुपमा इन्कार भएको पाइन्छ । चोरी भएको भनिएको जाहेरी दरखास्तमा उल्लेखित गरगहना र घडी समेतका मालवस्तु यी प्रतिवादीबाट वरामद भएको देखिएन । प्रतिवादीबाट वरामद भएको भनिएको नगद र सूनको तिलहरी चोरी भएको दशी भन्ने प्रमाणित हुन नसकेको अवस्थामा यी प्रतिवादीले चोरीको सामान बांडी लिएको कुरा स्वतन्त्र प्रमाणबाट पुष्टी हुन सकेको पाइएन ।
१७. प्रस्तुत मुद्धामा जाहेरवालाको धनमाल कसले चोरी गरको भन्ने सम्वन्धमा चोरी गर्ने भनिएका व्यक्तिहरुलाई प्रतिवादी नै वनाएको देखिएन । यी प्रतिवादी उपर चोरीको माल बांडी लिने मतियारको कसूरमा सजाय गरेको पाइयो । सर्वोच्च अदालत निर्णय संग्रह भाग ८ पृष्ठ १४९ मा प्रकाशित नलिमरत्न तुलाधर विरुद्द श्री ५ को सरकार भएको मोटर चोरी मुद्धामा यस अदालतको पूर्ण इजलासबाट चोरीको माल जानीजानी राखेको भन्ने अपराध कायम गर्न सो माल चोरी भएको भन्ने कुरा मुद्धाबाट स्थापित भएको हुनुपर्ने भन्ने नजिर प्रतिपादन भएको पाइन्छ । सो नजिरको आधारमा चोरी भएको नगद तथा सामान बांडी खाएको भन्ने अपराध कायम गर्न बांडी खाएको भनिएको सामान कसले चोरी गरेको भन्ने कुरा स्थापित भएको हुनुपर्छ । प्रस्तुत मुद्धामा जाहेरवालाको धनमाल कसले चोरी गरेको भन्ने कुरा नै स्थापित हुन नसकेको अवस्थामा चोरी ल्याएको माल यी पुनरावेदकले बांडी खाएको भन्ने कसूर कायम गर्न मिल्ने अवस्था पनि भएन ।
१८. उल्लेखित वुंदा प्रमाण समेतबाट प्रतिवादी सिंहवहादुर तामाङले उक्त आरोपित कसूर गरेको ठहर गर्न मिल्ने अवस्था नदेखिंदा निजलाई चोरीको २० नं. को कसूरमा सजाय गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसला र सोलाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण देखिंदा सो दुवै फैसला वदर भै उल्टी हुने ठहर छ । प्रतिवादी सिंहवहादुर तामाङले आरोपित कसूरबाट सफाइ पाउने ठहर छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि ठहर खण्डमा लेखिए वमोजिम प्रतिवादी सिंहवहादुर तामाङलाई कैद र जरिवाना गरेको शुरु काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत पाटनको फैसला उल्टी भै प्रतिवादी सिंहवहादुर तामाङले आरोपित कसूरबाट सफाइ पाउने ठहरेकोले शुरु काठमाडौं जिल्ला अदालतको मिति २०४३।२।२२ को फैसला वमोजिम मिति २०४३।३।२४ मा त्यस अदालतबाट कसिएको लगत कट्टा गर्नु भनी शुरु काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनु ... १
प्रतिवादी सिंहवहादुर तामाङले शुरु काठमाडौं जिल्ला अदालतको साथै सो जिल्ला अदालतको फैसला उपर पुनरावेदन अदालत पाटनमा पुनरावेदन गर्दा र सो पुनरावेदन अदालतको फैसला उपर यस अदलतमा मुद्धा दोहर्याई पाउं भन्ने निवेदन दिंदा समेत जेथाजमानत राखेको लक्ष्मी धर तामाङको नाममा दर्ता रहेको जिल्ला उदयपुर गा.वि.स. कटारी वडा नं. १ क. कि.नं. ९८९ को जग्गा फुकुवा गरी दिनु भनी सम्वन्धित मालपोत कार्यालयमा लेखी पठाउनु र जग्गाधनी दर्ता प्रमाणपूर्जा फिर्ता माग्न आए कानून वमोजिम फिर्ता दिनु भनी शुरु काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनु.....२
ठहर खण्डमा लेखिएवमोजिम प्रतिवादी सिंहवहादुर तामाङले आरोपित कसूरबाट सफाइ पाउने ठहरेकोले काठमाडौं जिल्ला अदालतको फैसलाको तपसिल खण्डको देहाय २ मा उल्लेख भए अनुसार निज प्रतिवादीबाट वरामद भएको नगद रु.१००००। समेत मिति २०५२।७।२१ मा र.नं. २४०१ बाट आम्दानी वाधिएको र तिलहरी मिति २०५२।८।५ मा जि.नं. ४४ मा आम्दानी वांधिएकोले सो नगद रु.१०,०००। र तिलहरी कानूनको म्याद भित्र फिर्ता माग्न आए प्रतिवादीलाई कानून वमोजिम फिर्ता दिनु भनी शुरु काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनु ..३
मिति २०५२।७।२१ मा र.नं. ००२४०१ बाट धरौटीमा आम्दानी वाधिएको रकम मध्ये रत्न पोखरेलबाट दाखिल भपएको रु.२२,०००। र खगेन्द्रकुमार राइबाट दाखिल भएको रु.३०,०००। फिर्ता लिन आउनु भनी निजहरुलाई सूचना पठाई म्याद भित्र फिर्ता लिन आए निजहरुलाई कानून वमोजिम फिर्ता दिनु भनि शुरु काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनु ... ४
मिसिल नियमानुसार वुझाई दिनु .. ३
उक्त रायमा सहमत छु ।
न्या.रामप्रसाद श्रेष्ठ
इति सम्वत् २०५९ साल चैत्र २१ गते रोज ६ शुभम्...... ।