शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७२४० - उत्प्रेषण परमादेश समेत

भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक:

निर्णय नं. ७२४०    ने.का.प.२०६० अङ्क ७.८

   

विशेष इजलास

माननीय न्यायाधीश श्री गोबिन्दबहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल

माननीय न्यायाधीश श्री बलिराम कुमार

संवत् २०५९ सालको रिट नं. ......११३

आदेश मितिः २०६०।८।१८।५

 

विषय :उत्प्रेषण परमादेश समेत ।

 

निवेदकः कपिलवस्तु जिल्ला ठुलोनन्दनगर गा.वि.स.वडा नं. ५ घर भै हाल जिल्ला स्वास्थ्य कार्यालय, अर्घाखांची अन्तर्गत कार्यरत कविराज गौतम समेत

विरुद्ध

विपक्षीः श्री ५ को सरकार स्वास्थ्य मन्त्रालय, रामशाहपथ काठमाण्डौं समेत

 

§  नेपाल अधिराज्यको संविधान २०४७ को धारा १२(२)(ङ) मा सबै नागरिकलाई कुनै पेशा, रोजगार, उद्योग र व्यापार गर्ने स्वतन्त्रता हुने प्रत्याभूति गरी सो संग सम्बन्धित प्रतिवन्धात्मक वाक्यांश खण्ड (५) मा कुनै उद्योग, व्यापार, पेशा वा रोजगार गर्नको लागि कुनै शर्त वा योग्यता तोक्ने गरी कानून बनाउन रोक लगाएको मानिने छैन भनि कुनै खास खास सेवाका लागि आवश्यक पर्ने शैक्षिक योग्यता समेत तोक्न सक्ने अख्तियारी प्रदान गरेको देखिन्छ । सो अनुसार नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ तथा नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को कानूनी व्यवस्थाको अधिनमा रही स्वास्थ्य सेवाको हेल्थ इन्सपेक्शन समूहको सहायक पांचौ तहमा बढुवाको लागि आवश्यक पर्ने भनि तोकिएको योग्यता आफैमा संविधानको धारा १२ (२)(ङ) संग वाझिएको मान्न मिल्ने अवस्था नदेखिने ।

§  स्वास्थ्य सेवामा कार्यरत सबै कर्मचारीहरुका लागि समान रुपमा लागू हुने देखिएको अनुसूचिको व्यवस्थाबाट संविधानको धारा ११ द्वारा व्यवस्थित समानताको हक तथा धारा १७ द्वारा व्यवस्थित सम्पत्ति सम्बन्धी हकमा कानून विपरीत अनुचित बन्देज लगाएको मान्न मिल्ने समेत नदेखिंदा विवादित व्यवस्थाहरु संविधानको धारा ११, १२(२)(ङ) तथा १७ संग वाझिएको भन्ने निवेदन जिकिरसंग सहमत हुन नसकिेन ।

§  नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूचि ७ को क्रम संख्या २१ मा रहेको विवादित व्यवस्था निजामती सेवा ऐन, २०४९ को दफा ५८, निजामती सेवा नियमावली २०५० को नियम ७५ (क)(२), नेपाल स्वास्थ्य सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१ को नियम ७ अनुसूचि ३ को क्रम संख्या २२(ग) को प्रतिकूल रहेको भन्ने जिकिरका सम्बन्धमा कुनै ऐन अन्तरगत बनेको नियमको व्यवस्थासंग अर्को ऐन अन्तर्गत बनेको नियमको व्यवस्था वाझिएको छ छैन ? भन्ने सम्बन्धमा विवेचना गरी निर्णय गर्ने विषय संविधानको धारा ८८(१) को अधिकारक्षेत्र भित्र पर्ने नदेखिदा सो विषय यस इजलासबाट निरोपण हुन नसक्ने ।

§  निवेदकहरु राजपत्र अनंकित प्रथम श्रेणीमा बढुवाको लागि उम्मेदवार हुन योग्यता पुगिसकेको देखिएको परिप्रेक्ष्यमा नेपाल स्वास्थ्य सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१ को अनुसूचि ३ अनुसार सि.अ.हे.व. पदको लागि योग्यता पुगिसकेको भन्ने निवेदन जिकिर समेत रहेको देखिदा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९० को खण्ड (क) को उपखण्ड (६) बमोजिम सहायक पांचौं तहमा तह मिलान भइसकेका निवेदकहरुलाई नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूचि ३ मा नेपाल स्वास्थ्य सेवा हेल्थ इन्सपेक्शन समूहको सहायक पांचौ तहको पद भनि उल्लेख गरिएको सि.अ.हे.व. पदमा पद मिलान  हुन नसक्ने भन्नु कानूनसम्मत देखिन आएन । तसर्थः निवेदकहरुलाई नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूचि ३ मा नेपाल स्वास्थ्य सेवा हेल्थ इन्सपेक्शन समूहको सहायक पांचौ तहको पद भनि उल्लेख गरिएको सि.अ.हे.व. पदमा पद मिलान गरी पदस्थापन गर्नु गराउनु भनि विपक्षी स्वास्थ्य मन्त्रालयको नाममा परमादेश जारी हुने ।

(प्र.नं. १४)

 

निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री पुष्पा भुसाल

विपक्षी तर्फवाटः विद्वान सह न्यायाधिवक्ता श्री राजनारायण पाठक

अवलम्वित नजिरः

 

आदेश

न्या.भैरवप्रसाद लम्सालः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३ तथा ८८(१) र (२) अनुसार पर्न आएको प्रस्तुत रिट निवेदनको व्यहोरा तथा आदेश यसप्रकार छ :

२.    निवेदकहरु निजामती सेवा ऐन, २०४९ को दफा ३ र ४ बमोजिम राजपत्र अनंकित द्वितीय श्रेणी (प्रा.) अ.हे.व. पदमा सेवा प्रवेश गरी सेवारत थियौं । नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ लागू भएपछि सो ऐनको दफा ८९ मा निजामती सेवा ऐन २०४९ र सो अन्तर्गत बनेका नियमहरु बमोजिम नेपाल स्थास्थ्य सेवाको समूह वा उप समूहमा बहाल रहेका सबै कर्मचारी सो ऐन अनुसार गठित नेपाल स्वास्थ्य सेवाको तत् तत् समूह वा उप समूहमा स्वतः परिवर्तन हुने व्यवस्था भएको तथा  सो ऐनको दफा ९० मा भएको व्यवस्था अनुसार हामी निजामती सेवाको राजपत्र अनंकित द्वितीय श्रेणीमा ३ वर्ष सेवा अवधि पूरा भएकालाई सहायक पांचौ तहमा श्रेणी र तह मिलान गरी तलव भत्ता र अन्य सुविधा श्री ५ को सरकारले तोके बमोजिम हुने भनि पत्र समेत दिइएको थियो । नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ लागू भएपछि ऐनको दफा ९० को खण्ड (क) को उपखण्ड (६) अनुसार सहायक पांचांै तहमा तह मिलान गरिसकिएका हामी निवेदकहरुलाई तह अनुसार सि.अ.हे.व. पद मिलान गर्नुपर्नेमा उक्त नियमावलीको नियम ७ संग सम्बन्धित अनुसूचि ३(ज)(१) मा उल्लेख भए अनुसार सि.अ.हे.व. पद नाम कायम गरेको पत्र दिनुपर्ने भनि मौखिक अनुरोध गर्दा पनि हालसम्म पनि सो अनुसारको पद नाम कायम गरिएको छैन । नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ५(१) मा स्वास्थ्य सेवाका पदहरुको पदनाम तोकिएबमोजिम हुने व्यवस्था गरिएको र नियमावलीको नियम ७ संग सम्बन्धित अनुसूचि ३ मा विभिन्न तहहरु रहने पदहरु उल्लेख गरिए अनुसार सहायक पांचौ तहमा सि.अ.हे.व. पद रहने व्यवस्था छ ।

३.    निजामती सेवा ऐन, २०४९ अन्तर्गत बनाइएको नेपाल स्वास्थ्य सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१ को अनुसूचि ३ मा अ.हे.व. पदलाई राजपत्र अनंकित द्वितीय श्रेणीको र सि.अ.हे.व. पदलाई राजपत्र अनंकित प्रथम श्रेणीको पद मानिएको  छ । हामी निवेदकहरु निजामती सेवा ऐन, २०४९ तथा नियमावली, २०५० अनुसार राजपत्र अनंकित द्वितीय श्रोण्ीमा सेवा प्रवेश गरी सो ऐन तथा नियम बमोजिम प्रथम श्रेणीको पदमा बढुवा हुनका लागि सम्भावित उम्मेदवार भइसकेका व्यक्तिहरु हौं । नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ लागू भएपछि हामीलाई राजपत्र अनंकित द्वितीय श्रेणीको पदमा ३ वर्ष काम गरिसकिएको आधारबाट सहायक पांचौ तहमा तह मिलान गरिएको हो । सो ऐन अन्तर्गत बनाइएको नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूचि ३ को खण्ड (झ) मा अ.हे.व. पदलाई सहायक चौथो तह र अनुसूचि ३ को खण्ड (ज) मा सि. अ.हे.व. पदलाई सहायक पांचौं तहमा पदनाम कायम गरेको छ । निजामती सेवा ऐन, २०४९ को दफा २१ तथा निजामती सेवा नियमावली, २०५० को नियम ७५ को खण्ड (क)(२) अनुसार राजपत्र अनकिंत प्रथम श्रेणीको पदमा बढुवाको उम्मेदवार हुन द्वितीय श्रेणीमा ३ वर्ष सेवा अवधि पुगेको हुनु पर्ने व्यवस्था अनुसार हाम्रो नोकरी अवधि पूरा भइसकेको छ । नेपाल स्वास्थ्य सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१ को अनुसूचि ३ अनुसार पनि राजपत्र अनंकित प्रथम श्रेणीको सि.अ.हे.व. पदको लागि हाम्रो योग्यता पुगिसकेको छ । त्यस अनुसार ऐन लागू भएपछि पांचौ तहमा परिणत गरिसकिएका हामीहरुलाई सो तह अनुसार पदनाम कायम नगरिएकोले निजामती सेवा ऐन, २०४९ अन्तर्गत हामी सेवामा कार्यरत रहंदाको सेवाको शर्त परिवर्तन हुन गएको हुंदा सो कार्य उक्त ऐनको दफा ५८ विपरीत छ । नियुक्ति प्राप्त गर्दाको वखत लागू भएको ऐन नियम बमोजिम सि.अ.हे.व. पदमा जान योग्य भइसकेका कर्मचारीलाई सहायक पांचौ तहमा तह मिलान गरिएकोमा हामीहरुलाई अ.हे.व. पदबाट सि.अ.हे.व. पद मिलान नगरेको नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को व्यवस्था ऐनको उद्देश्य विपरीत छ । हामी निवेदकहरु सरह योग्यता र सेवा प्रवेश गरी निजामती सेवामा नियुक्ति प्राप्त गरेका अ.हे.व. पदका कतिपय कर्मचारीहरुलाई सि.अ.हे.व. पदमा समय समयमा बढुवा गर्ने कार्य भएको छ । तर हामीहरुलाई त्यस अनुसार सि.अ.हे.व. बनाइएन । यसरी समान प्रकृतिका कर्मचारी बीच समान कानूनको असमान प्रयोग हुन गएको अवस्थाले पनि हामी निवेदकहरु समानताको हकबाट बन्चित हुनु पुगेका छौं ।

४.    नेपाल स्वास्थ्य सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१ को नियम ७ अनुसूचि ३ अन्तर्गत क्र.स. २२ हेल्थ इन्सपेक्शन समूहको क्रम संख्या ग बमोजिम अ.हे.व.मा चार वर्ष सम्म अटुट रुपले काम गरी सि.अ.हे.व.को तालिम प्राप्त वा ६ वर्ष अटुट काम गरेको व्यक्तिले सि.अ.हे.व. पदको लागि बढूवाको लागि सम्भाव्य उमेदवार हुन पाउने व्यवस्था भए बमोजिम हामी  निवेदकहरु अघि नै सम्भाव्य उम्मेदवार भइसकेको र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ८९ र ९० (क)(६) बमोजिम सहायक पांचौ तहमा तह मिलान गरिसकिएकोमा सो अनुसार पद मिलान नगरिएको नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १५ अनुसूचि ७ क्र.सं. २१ हेल्थ इन्सपेक्सन समूह सहायक पाचौं तहको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट अ.हे.व.वा सि.एम.ए.कोर्ष उत्तीर्ण गरी सि.अ.हे.व.तालिम प्राप्त वा मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान विषय लिई एस.एल.सी. उत्तीर्ण गरी सम्बन्धित विषयमा कम्तिमा ६ महिना तालिम प्राप्त हुनुपर्ने व्यवस्था गरियो । निजामती सेवा ऐन २०४९, तथा नियमावली, २०५० अनुसार सि.अ.हे.व. पदका लागि सम्भाव्य उम्मेदवार भइसकेकोमा नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १५ अनुसूचि ७ क्र.सं. २१ अनुसार हेल्थ इन्सपेक्शन समूहको सहायक पांचौ तहका लागि तोकिएको न्यूनतम योग्यता सम्बन्धी नयां प्रावधान निजामती सेवा ऐन, २०४९ को दफा ५८, निजामती सेवा नियमावली, २०५० को नियम ७५(क)(२), नेपाल स्वास्थ्य सेवा (गठन, समूह, श्रेणी विभाजन र नियुक्ति) नियमहरु २०५१ नियम ७ अनुसूचि ३ क्र.सं. २२, हेल्थ इन्सपेक्शन समूहको क्रम संख्या (ग) को प्रतिकूल भएको र सो व्यवस्थाबाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११,१२(२)(ङ) तथा १७ द्वारा प्रत्याभूत निवेदकहरुको मौलिकहकमा अनुचित बन्देज लाग्न गएकोले नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १५ को अनुसूचि ७ क्र.सं. २१ हेल्थ इन्सपेक्शन समूहको सहायक पांचौ तहका लागि तोकिएको न्यूनतम योग्यताको प्रावधान संविधानको धारा ८८(१) बमोजिम बदर घोषित गरी नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिम सहायक पांचौ तहमा मिलान गरिसकेको हामी निवेदकहरुलाई नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूचि ३ (ज) मा सहायक पांचौ तहमा उल्लेखित सि.अ.हे.व. पदमा पद मिलान गरी पदस्थापन गर्नु गराउनु भनि परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गरी पाउं भन्ने समेत व्यहोराको निवेदन पत्र ।

५.    यसमा निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? विपक्षीहरुबाट लिखित जवाफ मगाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत, एक न्यायाधीशको इजलासको मिति २०५९।१०।२७ को आदेश ।

६.    निवेदकहरुले सि.अ.हे.व. पदको लागि आवश्यक पर्ने शैक्षिक योग्यता प्राप्त गरेको, तालिम प्राप्त गरेको भन्ने जिकिर लिन सकेका छैनन् । अ.हे.व. र सि.अ.हे.व. को शैक्षिक योग्यता नै फरक भएकोले तोकिएको शैक्षिक योग्यता प्राप्त गरेकाहरुको हकमा लोकसेवा आयोगको मिति २०५९।९।२२ को र अर्थ मन्त्रालयको मिति २०५९।९।५ को सहमती अनुसार तोकिएको योग्यता पुगेका अ.हे.व.हरुलाई सि.अ.हे.व.को पद नाम दिइने व्यवस्था भएको छ । निवेदकहरुले सो अनुसारको आवश्यकता पूरा गरेको देखाउन नसकेकोले रिट निवेदन खारेज गरी पाउं भन्ने समेत व्यहोराको स्वास्थ्य मन्त्रालयको लिखित जवाफ ।

७.    नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९० (क)(६) बमोजिम तीन वर्ष सेवा अवधि पूरा भएका राजपत्र अनंकित द्वितीय श्रेणीका कर्मचारीलाई सहायक पांचौ तहमा तह मिलान गर्ने व्यवस्था भए अनुसार निजामती सेवा ऐन नियम बमोजिम राजपत्र अनंकित द्वितीय श्रेणी प्राविधिक पद अ.हे.व. मा नियुक्ति भएका निवेदकहरुलाई सहायक पांचौ तहमा तह मिलान गर्दा निजहरुको सेवा शर्त सुविधामा कुनै कमी भएको छैन । निजहरुले तत्काल पाएको कुनै शर्त सुविधाहरु  कटौति पनि गरिएको छैन । नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९० को व्यवस्था श्रेणीबाट तहमा मिलान गर्दा विशेष परिस्थितिको लागि गरिएको व्यवस्था हो । हाल स्वास्थ्य सेवामा सहायक पांचौ तहमा हेल्थ इन्सपेक्शन समूहका अ.हे.व., सि.अ.हे.व. हेल्थ असिष्टेन्ट जस्ता ८ प्रकारका नामाकरण भएका पदहरु छन् । श्री ५ को सरकारले अ.हे.व.हरुलाई ६ महिना सि.अ.हे.व. तालिम दिने व्यवस्था गरिरहेको र सो तालिम पछि सि.अ.हे.व. को पदमा पद परिवर्तन गरिहेको छ । त्यस अनुसार निवेदकहरु पनि सहायक पांचौ तहको सि.अ.हे.व. पदमा परिवर्तन हुन सक्ने भएकोले विना तालिम सि.अ.हे.व. पदमा परिवर्तन गरी पाउं भन्न नमिल्ने हुंदा रिट निवेदन खारेज गरी पाउं भन्ने समेत व्यहोराको स्वास्थ्य सेवा विभागको लिखित जवाफ ।

८.    निजामती सेवा ऐन बमोजिम माथिल्लो पदको सम्भाव्य उम्मेदवार हुंदैमा माथिल्लो पदमा स्वतः बढुवा हुने नभई कानूनले तोकेका अन्य शर्तहरु पनि पूरा भएको हुनुपर्ने व्यवस्था भएकोले निजको माग दावी बमोजिम बढुवा हुन पाउनु पर्छ भन्ने जिकिर कानूनसम्मत नदेखिएकोले वा निवेदन खारेज गरी पाउं भन्ने समेत व्यहोराको सामान्य प्रशासन मन्त्रालयको लिखित   जवाफ।

९.    नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र नियमावली २०५५ मा हेल्थ इन्सपेक्शन समूहको सहायक पांचौ तहको अ.हे.व. पदबाट सि.अ.हे.व. पदमा पद मिलान हुने व्यवस्था छैन । नियमावलीको नियम १५ मा तोकिएको न्यूनतम योग्यता नभएकाहरुलाई सि.अ.हे.व. पदमा उम्मेदवार बनाउन नमिल्ने भएकोले रिट निवेदन खारेज गरी पाउं भन्ने समेत व्यहोराको लोकसेवा आयोगको लिखित जवाफ ।

१०.    नियमानुसार पेश भएको प्रस्तुत रिट निवेदनमा निवेदक तर्फबाट विद्वान अधिवक्ता श्री पुष्पा भूषालले निवेदकहरु निजामती सेवाको राजपत्र अनंकित द्वितीय श्रेणीमा कार्यरत कर्मचारीहरु हुन् । नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार साविकको निजामती सेवा भित्रको स्वास्थ्य सेवालाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार नेपाल स्वास्थ्य सेवामा परिवर्तन गरिंदा ऐनको दफा ९० को खण्ड (क) को उपखण्ड (६) मा निजामती सेवाको राजपत्र अनंकित द्वितीय श्रेणीमा ३ वर्ष सेवा अवधि पूरा भएकालाई सहायक पांचौ तहमा मिलान गर्ने व्यवस्था अनुसार निवेदकहरुलाई तह पांचमा मिलान गरिसकिएको छ । नेपाल स्वास्थ्य सेवा निमायवली २०५५ को अनुसूचि ७ मा नेपाल स्वास्थ्य सेवामा रहने पद र तहको व्यवस्था छ । सो अनुसूचि अनुसार हेल्थ इन्सपेक्शन समूहमा पांचौ तहमा सि.अ.हे.व. रहने उल्लेख गरिएको छ । निवेदकहरु साविक निजामती सेवा ऐन नियम अनुसार सो पदमा बढुवा हुन योग्यता पूरा गरिसकेका र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ लागू भएपछि पांचौ तहमा तह मिलान समेत भइसकेकोले निजहरुलाई सि.अ.हे.व. कायम गरिनु पर्छ । विपक्षीहरुले निवेदकहरु जस्तै समान अवस्थाका अ.हे.व. हरुलाई सि.अ.हे.व.मा बढुवा गरिसकेको अवस्थामा समान हैसियत राख्ने निवेदकहरुलाई साविक निजामती सेवा ऐन नियम तथा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसारको सुविधाबाट बन्चित गर्ने गरी अनुसूचि २१ मा सि.अ.हे.व.को लागि आवश्यक पर्ने थप योग्यता तोकिएको व्यवस्था निजामती सेवा ऐन नियम तथा संविधान विपरीत भएकोले सो व्यवस्था बदर घोषित गरी निवेदन माग बमोजिमको आदेश जारी हुनुपर्छ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो ।

११.    विपक्षी तर्फबाट विद्वान सह न्यायाधिवक्ता श्री राजनारायण पाठकले रिट निवेदकहरुले निजामती सेवा ऐन, २०४९ तथा नियमावली, २०५० तथा नेपाल स्वास्थ्य सेवा नियमहरु २०५१ का जुनजुन कानूनी व्यवस्थाको आधारमा रिट निवेदन गर्नु भएको हो ती ती व्यवस्थाहरु नेपाल स्वास्थ्य सेवा ऐन २०५३ र नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ ले खारेज गरी सकेकोले खारेज भइसकेको कानूनी व्यवस्थाको आधारमा रिट निवेदन गर्न मिल्दैन । निवेदन पत्रमा नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को कुन व्यवस्था संविधानको कुन प्रावधानसंग वाझिएको भन्ने स्पष्ट दावी छैन । एउटा ऐन नियममा व्यवस्थासंग अर्को ऐन नियमको व्यवस्था वाझिएकोमा संविधानको धारा ८८(१) आकर्षित हुन सक्दैन । निवेदकहरुले ऐनको दफा ९० अनुसार एक तह माथिको तहमा मिलान गरी सो अनुसारको सुविधा समेत पाइसकेको हुंदा स्वास्थ्य सेवामा मिलान भइसकेपछि निजामती सेवा ऐन, नियम अनुसारको सुविधाको दावी गर्न मिल्दैन । सि.अ.हे.व.को लागि आवश्यक पर्ने योग्यता नभएकाले निवेदकहरुलाई सि.अ.हे.व. को पदमा पद मिलान गर्न नमिल्ने हुंदा रिट निवेदन खारेज गरी पाउं भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो ।

१२.   विद्वान कानून व्यवसायीहरुको उल्लेखित वहस जिकिर समेत सुनि निर्णय तर्फ बिचार गर्दा प्रस्तुत रिट निवेदनमा निजामती सेवा ऐन २०४९ तथा निजामती सेवा नियमावली २०५० अनुसार नेपाल स्वास्थ्य सेवाको राजपत्र अनंकित द्वितीय श्रेणीको  अ.हे.व. पदमा कार्यरत निवेदकहरुलाई नेपाल स्वास्थ्य  सेवा ऐन, २०५३  को दफा ९०  को खण्ड (क) को उपखण्ड  (६) अनुसार नेपाल स्वास्थ्य सेवाको सहायक पांचौ तहमा श्रेणी र तह मिलान गरी तलव भत्ता  र अन्य सुविधा तोके बमोजिम हुने गरी पत्र समेत दिइएको र सि.अ.हे.व. पदमा बढुवा हुन निवेदकहरुको योग्यता समेत पुगिसकेको हुंदा नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूचि ३ मा स्वास्थ्य सेवामा रहने सहायक पांचौ तहमा सि.अ.हे.व.रहने व्यवस्था अनुसार सि.अ.हे.व. पद नाम कायम गरिनु पर्नेमा सो नगरि नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १५ संग सम्बन्धित अनुसूचि ७ को क्र.सं. २१ मा हेल्थ इन्सपेक्शन समूहको सहायक पांचौ तहका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट अ.हे.व. वा सि.एम.ए. कोर्ष उत्तिर्ण गरी सि.अ.हे.व. तालिम प्राप्त वा मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान विषय लिई एस.एल.सी. उत्तीर्ण गरी संम्बन्धित विषयमा कम्तिमा ६ महिना तालिम प्राप्त गरेको हुनु पर्ने गरी गरिएको व्यवस्था निजामती सेवा ऐन, २०४९ को दफा ५८, निजामती सेवा नियमावली २०५० को नियम ७५ (क)(२), नेपाल स्वास्थ्य सेवा (गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१ को नियम ७ अनुसूचि ३ को क्र.सं.(ग) प्रतिकूल  हुनुका साथै त्यसबाट नेपाल अधिराज्यको संविधान २०४७ को धारा ११(१), १२(२)(ङ) तथा धारा १७ द्वारा प्रदत्त मौलिक हकमा समेत अनूचित बन्देज लाग्न गएकोले सो व्यवस्था संविधानको धारा ८८(१) बमोजिम बदर घोषित गरी नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९० बमोजिम सहायक पांचौ तहमा तह मिलान भइसकेका निवेदक अ.हे.व.हरुलाई नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को अनुसूचि ३ (ज)(१०) मा व्यवस्था गरिएको सि.अ.हे.व. पदमा पद मिलान गरी पदास्थापन गर्न भनि विपक्षीहरुको नाउंमा परमादेश समेत जारी गरी पाउं भन्ने मूल निवेदन जिकिर लिइएको पाइन्छ। विपक्षीहरुको लिखित जवाफमा अ.हे.व.मा कार्यरत निवेदकहरुको सि.अ.हे.व. पदका लागि आवश्यक पर्ने योग्यता नभएकोले र श्री ५ को सरकारले अ.हे.व. हरुलाई ६ महिने सि.अ.हे.व. तालिम दिने व्यवस्था गरिरहेको र सो तालिम प्राप्त अ.हे.व.हरुलाई स्वास्थ्य सेवाको सहायक पांचौ तहमा परिवर्तन गर्न सक्ने भएको तथा स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूचि ७ को क्र.स. २१ मा उल्लेखित हेल्थ इन्सपेक्शन समूहको सहायक पांचौ तहको पदको निमित्त न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट अ.हे.व. वा सि.एम.ए.कोर्ष उत्तीर्ण गरी सि.अ.हे.व. तालिम प्राप्त भन्ने उल्लेख भएकोले सि.अ.हे.व. को तालिम बिना स्वतः सि.अ.हे.व. पदमा परिवर्तन गर्न नमिल्ने हुंदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत व्यहोराको जिकिर लिइएको पाइन्छ ।

१३.   सर्वप्रथम नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १५ संग सम्बन्धित अनुसूचि ७ को क्रम संख्या २१ मा हेल्थ इन्सपेक्शन समूहको सहायक पांचौ तहका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रावधान निजामती सेवा ऐन नियम तथा संविधानसंग वाझिएको भनि लिइएको निवेदन जिकिरतर्फ बिचार गर्दा सो नियमावलीको नियम १५ मा स्वास्थ्य सेवामा रहने समूह तथा उपसमूहको खुल्ला प्रतियोगिताद्वारा पूर्ति गरिने पदको लागि आवश्यक न्यूनतम योग्यता अनुसूचि ६ मा तथा बढुवाद्वारा पूर्ति गरिने पदको लागि  आवश्यक न्यूनतम योग्यता अनुसूचि ७ मा उल्लेख भए बमोजिम हुने व्यवस्था गरिएको देखिन्छ । सो नियमसंग सम्बन्धित अनुसूचि ७ को क्रम संख्या २१ मा हेल्थ इन्सपेक्शन समूहको सहायक पांचौ तहको पदमा कार्यक्षमताको मूल्याङ्कन र आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा गरिने बढुवाको लागि उम्मेदवार हुन न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट अ.हे.व. वा सि.एम.ए. कोर्ष उत्तीर्ण गरी सि.अ.हे.व. तालिम प्राप्तू भन्ने उल्लेख गरिएको पाइन्छ । नेपाल अधिराज्यको संविधान २०४७ को धारा १२(२)(ङ) मा सबै नागरिकलाई कुनै पेशा, रोजगार, उद्योग र व्यापार गर्ने स्वतन्त्रता हुने प्रत्याभूति गरी सो संग सम्बन्धित प्रतिवन्धात्मक वाक्यांश खण्ड (५) मा कुनै उद्योग, व्यापार, पेशा वा रोजगार गर्नको लागि कुनै शर्त वा योग्यता तोक्ने गरी कानून बनाउन रोक लगाएको मानिने छैन भनि कुनै खास खास सेवाका लागि आवश्यक पर्ने शैक्षिक योग्यता समेत तोक्न सक्ने अख्तियारी प्रदान गरेको देखिन्छ । सो अनुसार नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ तथा नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को कानूनी व्यवस्थाको अधिनमा रही स्वास्थ्य सेवाको हेल्थ इन्सपेक्शन समूहको सहायक पांचौ तहमा बढुवाको लागि आवश्यक पर्ने भनि तोकिएको योग्यता आफैमा संविधानको धारा १२ (२)(ङ) संग वाझिएको मान्न मिल्ने अवस्था देखिन   आएन । साथै स्वास्थ्य सेवामा कार्यरत सबै कर्मचारीहरुका लागि समान रुपमा लागू हुने देखिएकोले अनुसूचिको उल्लेखित व्यवस्थाबाट संविधानको धारा ११ द्वारा व्यवस्थित समानताको हक तथा धारा १७ द्वारा व्यवस्थित सम्पत्ति सम्बन्धी हकमा कानून विपरीत अनुचित बन्देज लगाएको मान्न मिल्ने समेत नदेखिंदा विवादित व्यवस्थाहरु संविधानको धारा ११,१२(२)(ङ) तथा १७ संग वाझिएको भन्ने निवेदन जिकिरसंग सहमत हुन सकिएन ।  नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को अनुसूचि ७ को क्रम संख्या २१ मा रहेको उल्लेखित विवादित व्यवस्था निजामती सेवा ऐन २०४९ को दफा ५८, निजामती सेवा नियमावली २०५० को नियम ७५ (क)(२), नेपाल स्वास्थ्य सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१ को नियम ७ अनुसूचि ३ को क्रम संख्या २२(ग) को प्रतिकूल रहेको भन्ने जिकिरका सम्बन्धमा कुनै ऐन अन्तरगत बनेको नियमको व्यवस्थासंग अर्को ऐन अन्तर्गत बनेको नियमको व्यवस्था वाझिएको छ छैन ? भन्ने सम्बन्धमा विवेचना गरी निर्णय गर्ने विषय संविधानको धारा ८८(१) को अधिकारक्षेत्र भित्र पर्ने नदेखिदा त्यस सम्बन्धमा यस इजलासबाट निरोपण हुन सक्ने देखिन आएन ।

१४.   अब रिट निवेदकहरुलाई सि.अ.हे.व.पदमा पद मिलान गरिनु पर्ने भन्ने दोश्रो निवेदन जिकिरका सम्बन्धमा बिचार गर्दा निवेदकहरु निजामती सेवा ऐन, २०४९ तथा निजामती सेवा नियमावली, २०५० अनुसार नेपाल स्वास्थ्य सेवाको राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) को अ.हे.व. पदमा नियुक्ति भएको भन्ने देखिन्छ । स्वास्थ्य सेवालाई बढी सक्षम सुदृढ सेवामूलक र जनउत्तरदायी बनाउन स्वास्थ्य सेवाको गठन, संचालन र सेवाको शर्त सम्बन्धी व्यवस्था गर्न नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ निर्माण गरिएको सो ऐनको प्रस्तावनामा उल्लेख गरिएको पाइन्छ । सो ऐनले निजामती सेवा ऐन, २०४९ तथा नियमावली, २०५० अनुसार गठन तथा संचालन भएको नेपाल स्वास्थ्य सेवालाई निजामती सेवाबाट झिकी छुट्टै सेवाको रुपमा नेपाल स्वास्थ्य सेवा गठन गरेको देखिन आउंछ । उक्त ऐनको दफा ८९ मा सो ऐन लागू हुनु अघि निजामती सेवा ऐन, २०४९ र सो अन्तर्गत बनेका नियमहरु बमोजिम नेपाल स्वास्थ्य सेवाको समूह वा उप समूहमा बहाल रहेका सबै कर्मचारी सो ऐन अनुसार गठित नेपाल स्वास्थ्य सेवाको तत् तत.् समूह र उपसमूहमा स्वतः परिवर्तन भई बहाल रहेको मानिने व्यवस्था गरिएको र दफा ९० मा निजामती सेवाको स्थायी सेवाबाट सो ऐन बमोजिम गठित नेपाल स्वास्थ्य सेवामा परिवर्तन भई आउने विभिन्न श्रेणीका कर्मचारीहरुलाई विभिन्न तहमा मिलान गरिने व्यवस्था समेत गरेको देखिन आउंछ । ऐनको दफा ९० को खण्ड (क) को उपखण्ड (६) मा तीन वर्ष सेवा अवधि पूरा भएका राजपत्र अनकिंत द्वितीय श्रेणीका कर्मचारीहरु सहायक पांचौ तहमा मिलान हुने व्यवस्था गरिएको पाइन्छ । ऐनको सो व्यवस्था अनुसार निजामती सेवामा कार्यरत निवेदकहरुलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ लागू भएपछि सो ऐन अन्तर्गत गठित नेपाल स्वास्थ्य सेवाको सहायक पाचौं तहमा मिलान गरी सो अनुसारको तलव भत्ता तथा अन्य सुविधा तोकिए बमोजिम हुने गरी निजहरुलाई पत्र समेत दिइएको मिसिल संलग्न पत्रबाट  देखिन्छ । नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ५(१) मा स्वास्थ्य सेवाका विभिन्न तहहरुमा विशेषज्ञ पद लगायत प्राविधिक पदहरु रहने र त्यस्ता पदहरुको पद नामहरु तोकिए बमोजिम हुने व्यवस्था गरिएको पाइन्छ । सो अनुसार नियमावलीको नियम ७ ले स्वास्थ्य सेवाका विभिन्न तहहरुमा रहने पदहरु अनुसूचि ३ मा उल्लेख भए बमोजिम हुनेछन् भन्ने व्यवस्था गरेको र सो संग सम्बन्धित अनुसूचि ३ मा नेपाल स्वास्थ्य सेवाको हेल्थ इन्सपेक्शन समूहको सहायक पांचौ तहमा रहने पदहरुको वर्गीकरण गरिएको पाइन्छ । सोही वर्गीकरणमा अ.हे.व. पद सहायक चौथो तहमा रहने व्यवस्था गरिएको देखिन्छ । सो वर्गीकरणमा  ऐन लागू भएपछि निजामती सेवाको राजपत्रांकित द्वितीय श्रोणीमा ३ वर्ष सेवा अवधि पूरा भएको आधारमा ऐनको दफा ९० को खण्ड (क) को उपखण्ड (६) अनुसार सहायक पांचौ तहमा तह मिलान गरिएका निवेदकहरु जस्ता अ.हे.ब. हरु सो अनुसूचिमा उल्लेखित कुन पदमा रहने स्पष्ट व्यवस्था गरिएको पाइदैन । उक्त अनुसूचिमा निवेदकहरुको सेवा समूहसंग मेल खाने सहायक पांचौ तहमा सि.अ.हे.व.पद रहेको देखिन्छ । नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ तथा नियमावली, २०५५ लागू हुनु भन्दा पूर्व वहालमा रहेको निजामती सेवा ऐन, २०४९ को दफा २१ मा बढुवा हुनको लागि उम्मेदवार हुन सम्बन्धित श्रेणी वा पदभन्दा एक तह मुनिको श्रेणी वा पदमा तोकिए बमोजिम सेवा  अवधिपूरा गरेको हुनुपर्ने भन्ने उल्लेख भएको र निजामती सेवा नियमावली २०५० को नियम ७५ को खण्ड (क) को देहाय (२) मा राजपत्र अनंकित प्रथम श्रेणीको पदमा बढुवाको उम्मेदवार हुन द्वितीय श्रेणीमा ३ वर्ष सेवा अवधि पुगेको हुनु पर्ने व्यवस्था भए अनुसार निवेदकहरु राजपत्र अनंकित प्रथम श्रेणीमा बढुवाको लागि उम्मेदवार हुन योग्यता पुगिसकेको देखिएको परिप्रेक्ष्यमा नेपाल स्वास्थ्य सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१ को अनुसूचि ३ अनुसार सि.अ.हे.व. पदको लागि योग्यता पुगिसकेको भन्ने निवेदन जिकिर समेत रहेको देखिदा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९० को खण्ड (क) को उपखण्ड (६) बमोजिम सहायक पांचौं तहमा तह मिलान भइसकेका निवेदकहरुलाई नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूचि ३ मा नेपाल स्वास्थ्य सेवा हेल्थ इन्सपेक्शन समूहको सहायक पांचौ तहको पद भनि उल्लेख गरिएको सि.अ.हे.व. पदमा पद मिलान  हुन नसक्ने भन्नु कानूनसम्मत देखिन आएन । तसर्थः निवेदकहरुलाई नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूचि ३ मा नेपाल स्वास्थ्य सेवा हेल्थ इन्सपेक्शन समूहको सहायक पांचौ तहको पद भनि उल्लेख गरिएको सि.अ.हे.व. पदमा पद मिलान गरी पदस्थापन गर्नु गराउनु भनि विपक्षी स्वास्थ्य मन्त्रालयको नाममा परमादेश जारी हुने  ठहर्छ । विपक्षीहरुको जानकारीको लागि यो आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमानुसार बुझाई दिनु

 

उपर्युक्त रायमा सहमत छौं ।

न्या.गोविन्दबहादुर श्रेष्ठ

न्या.वलिरामकुमार

 

इति संवत् २०६० साल मंसिर १८ गते रोज ५ शुभम ........

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु