निर्णय नं. ९११० - उत्प्रेषण/परमादेश

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल
माननीय न्यायाधीश श्री सुशिला कार्की
आदेश मिति M २०७०।८।१३।५
०६८–WO–१०१७
विषय M उत्प्रेषण, परमादेश
निवेदक M ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.८ बस्ने शेरबहादुर महर्जनसमेत
विरूद्ध
विपक्षी M नेपाल बैंक लिमिटेड प्रधान कार्यालय, काठमाडौंसमेत
निवेदकका तर्फबाट M विद्वान अधिवक्ताद्वय श्री केदार दाहाल र ध्रुवप्रसाद चौलागाईं
विपक्षीका तर्फबाट M विद्वान अधिवक्ता श्री अच्युत भण्डारी
- जुन निकायले रोक्का राखेको हो भनी मालपोत कार्यालयमा रोक्का रेकर्ड देखिएको छ सो निकायले के कुन कारण परी निवेदन दावीको जग्गा रोक्का राख्नु परेको हो सोको स्पष्ट जवाफ सम्वन्धित निकायको अभिलेखको आधारमा दिन सक्नुपर्ने ।
- स्पष्ट जवाफ दिन रोक्का राख्ने निकायले नसकेको अवस्थामा कानूनअनुरूप नै रोक्का रहेको होला भनी अनुमान गर्नु पनि उचित हुँदैन । मालपोत कार्यालयले जुन निकायले रोक्का राखेको हो भनी खुलाएको छ सो निकायले विवरणसहितको रोक्का राख्नुपर्नाको कारण आफ्नो अभिलेखवाट नदेखिएको भनी खुलाई रहेको अवस्थामासमेत बिनाकारण लामो समयसम्म व्यक्तिको सम्पत्ति रोक्का राख्न नहुने ।
(प्रकरण नं.२)
अवलम्बित नजीर M
सम्बद्ध कानून M
आदेश
न्या.गिरीश चन्द्र लाल M नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ M
हामी निवदकहरू हाम्रो बाजे मंगलाल ज्यापुको नाममा दर्ता रहेको ललितपुर जिल्ला, ललितपुर नगरपालिका वडा नं. ५क १ कि.नं. १६२ को ज.रो. ०–३–०–० र ऐ.ऐ. कि.नं. १७३ को ज.रो. ०–१२–०–०समेतका जग्गाहरू ललितपुर जिल्ला अदालतको मिति २०५१।९।१८ को फैसला र मिति २०५६।४।७ को बण्डा मुचुल्काबमोजिम मालपोत कार्यालय, ललितपुरमा दा.खा. गर्न जाँदाको अवस्थामा उक्त जग्गाको मोठ रोक्का भिडाउँदा रोक्का सि.नं. ५ र २५ मा मंगलाल ज्यापुको नाउँको वडा नं. ५क कि.नं. १६२, १७२ नेपाल बैंक लिमिटेड प्रधान कार्यालयबाट रोक्का देखिन्छ भनी उल्लेख भएको अवस्था छ । उक्त दुई कित्ता जग्गाहरू अदालतबाट रोक्का भएको हकमा अदालतबाट नै रोक्का फुकुवा गर्न सकिने अवस्था छ । तर बैंकबाट रोक्का गरेको कुरामा मालपोत कार्यालय, ललितपुरमा पत्र पठाउँदासमेत पत्र बुझ्ने र दर्ता गर्ने कामसमेत बैंकले गरेन भन्ने जवाफ मालपोत कार्यालयबाट दिइयो भने मालपोत कार्यालयले पठाएको पत्र बैंकले बुझेको पनि देखिएन । यसै गरी हामी निवेदनले समेत बैंकमा यस बैंकबाट हाम्रो जग्गा रोक्का गरिएको भन्ने जानकारी भयो त्यसैले के कति कारणले रोक्का भएको हो वा भूलबाट रोक्का हुन गएको हो यकीन जानकारी पाऊँ भनी मिति २०६८।११।४ मा निवेदन लिई जाँदासमेत बैंकले हाम्रो निवेदन दर्ता र दरपीठ केही नगरी फर्काउने काम गरियो । हाम्रो जग्गा के कति कारणले रोक्का गरेको हो भन्ने सम्बन्धमा मालपोत कार्यालय, ललितपुरले बैंकले रोक्का गरेको भन्ने र बैंकले कुनै जानकारी नदिने र जग्गा फुकुवा गरिपाऊँ भन्ने हाम्रो निवेदन दर्ता दरपीठसमेत केही नगर्ने कार्य गरी नेपालको अन्तरिम संविधान, २०६३ को धारा १९ द्वारा प्रदान गरिएको सम्पत्ति सम्बन्धी अधिकारमा आघात पुग्ने काम विपक्षीहरूबाट हुन गएको छ । यसरी हाम्रो सम्पत्ति अनधिकृतरूपमा रोक्का राख्ने र फुकुवा गरिपाऊँ भनी निवेदन दिँदा केही जवाफ नदिने विपक्षीहरूको कार्य विरूद्धमा हामीले न्यायिक उपचार प्राप्त गर्ने अन्य कुनै वैकल्पिक उपचारको बाटोसमेत नभएकोले बाध्य भई यो निवेदन लिई आएका छौं । अतः हाम्रो बाजे मंगलाल ज्यापुको नाममा दर्ता रहेको ललितपुर जिल्ला, ललितपुर नगरपालिका वडा नं. ५क १ कि.नं. १६२ को ज.रो. ०–३–०–० र ऐ.ऐ. कित्ता नं. १७३ को ज.रो. ०–१२–०–०समेतका जग्गाहरू रोक्का गर्ने गैरकानूनी निर्णय भए सम्बन्धित कार्यालयबाट झिकाई उत्प्रेषणको आदेशद्वारा बदर गरी उक्त जग्गाहरू फुकुवा गर्नु गराउनु भनी विपक्षीहरूको नाममा परमादेशलगायत जो चाहिने आज्ञा आदेश वा पूर्जी पाऊँ भन्ने निवेदन दावी ।
यसमा के कसो भएको हो, निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो, यो आदेश प्राप्त भएको मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र सम्बन्धित कागजात साथै राखी लिखित जवाफ पठाउनु भनी विपक्षीलाई सूचना पठाई लिखित जवाफ प्राप्त भए वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६९।१।२५ को आदेश ।
यस कार्यालयको रेकर्डअनुसार रजिष्ट्ररको सि.नं. १९ मा पुन च.नं. ५४१४ मिति २०४९।११।२२ मा कि.नं. १६२ पुनरावेदन अदालत, ललितपुरको रोक्का रही ललितपुर जिल्ला अदालत च.नं. ९२९० मिति २०५५।३।४ को पत्रले पुनरावेदन अदालत, ललितपुरबाट फुकुवा भएपछि पुन रोक्का राख्ने आदेश प्राप्त भई सि.नं. ३६ मा रोक्का कायम भएको भन्ने व्यहोरा देखिएको, सि.नं. ५ मा नेपाल बैंक लिमिटेडको रोक्का फुकुवा भएपछि ललितपुर जि.अ.को च.नं. ९२९० मिति २०५५।३।४ को पत्रले रोक्का रहेको देखियो । उक्त रोक्का रजिष्टरको सि.नं. ३६ मा समेत वडा नं. ५क को कि.नं. १७३, १६२ जग्गा रोक्का राखी ल.पु.जि.अ.को च.नं. २८८ मिति २०६१।११।३ मा कि.नं. १७३ र १६२ को जग्गा भाग ५ को दुईभाग फुकुवा जनिएको देखिए तापनि अन्य सि.नं.का जग्गासमेत रोक्का रहिरहेको अवस्था छ । उक्त जग्गाहरू यस मालपोत कार्यालयले रोक्का नराखी अन्य निकायबाट रोक्का राख्न अनुरोध भै रोक्का राखिएको हुँदा मालपोत ऐन, २०३४ को दफा ८ख(२)बमोजिम रोक्का राख्ने सम्बन्धित निकाय वा संस्थाबाट फुकुवा गर्ने आदेशपत्र लेखी नआएसम्म मालपोत कार्यालयले फुकुवा गर्न नमिल्ने हुँदा यस कार्यालयलाई विपक्षी बनाई लिएको जिकीर खारेज गरी झूठ्ठा दावीबाट फुर्सद पाऊँ भन्ने मालपोत कार्यालयको लिखित जवाफ ।
यसमा मालपोत कार्यालय, ललितपुरको मिति २०६४।९।१६ को पत्रमा उल्लिखित कित्ता जग्गा रोक्का राख्न अनुरोध गर्ने नेपाल बैंक लि. प्रधान कार्यालयले आफ्नो नामको म्याद बुझी उक्त जग्गा के कति कारणले रोक्का राखेको हो लिखित जवाफ पेश नगरी अटेर गरी अदालतको काम कारवाहीमा अवरोध पुर्याउने कार्य राम्रो होइन । अतः मालपोत कार्यालय, ललितपुरको च.नं. ३४३८ मिति २०६४।९।१६ को पत्रको प्रतिलिपि साथै राखी लिखित जवाफ नलिएको स्पष्ट कारण खोली रोक्का सम्बन्धमा भएका आधार प्रमाणसहित पेशीको दिन छलफलमा उपस्थित हुनु भनी लेखी पठाई अग्राधिकार दिई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०७०।३।१२ को आदेश ।
निवेदकले दायर गरेको उत्प्रेषण परमादेशको निवेदनको म्याद सूचना यस नेपाल बैंक लिमिटेडमा मिति २०६९।३।१२ मा प्राप्त भएको, सो विषयमा रिट निवेदन पर्नुअगावै मालपोत कार्यालय ललितपुरबाट रोक्का रहनुपर्ने कारण खुलाई रोक्का राख्नु नपर्ने भए फुकुवा पठाई दिनु हुन भनी मिति २०६८।१।२८ मा च.नं. ७५८ को पत्र प्राप्त हुन आएको । रोक्का राखेको पत्रको प्रतिलिपि उपलब्ध गराइदिनुभएका बखत रोक्काको सम्बन्धमा आवश्यक जानकारी गराउने भनी यस बैंकबाट प.स.नं. ७४।५० मिति २०६८।२।१७ को पत्रबाट मालपोत कार्यालय, ललितपुरलाई लेखी पठाएकोमा सोको जवाफ प्राप्त नभएको उपरोक्त म्याद प्राप्त भएपछि यस विभागबाट कर्मचारी खटाई के कारणले रोक्का भएको रहेछ बुझ्न पठाउँदा २०३७ सालतिर यस बैंकको रोक्का रहेको भन्ने रोक्का रेकर्डमा देखिएको अतः कुनै विवरण तथा रोक्कापत्र नभएको भन्ने जानकारी प्राप्त भएको । म्याद प्राप्त भएपछि उपत्यकाभित्रका साथै शाखा, उपशाखा र प्रधान कार्यालय जोखिम व्यवस्थापन डिभिजन कार्यालय, काठमाडौं अफिस लेखा विभाग कर्मचारी सापटी तथा औषधि फाँट (घरकर्जा) बाट कर्जा कारोबार भए नभएको सम्बन्धमा कारोबारको विवरण माग गर्दा सम्पूर्ण उपत्यका शाखा, उपशाखाबाट र प्रधान कार्यालयका उल्लिखित फाँट विभागबाट कर्जाको कुनै रेकर्डमा राखेको रेकर्ड नदेखिएको भनी जानकारी प्राप्त भएको र तत्कालीन अवस्थामा प्रधान कार्यालयबाट सुरक्षणबापत पास गराई लिएको लिखतहरूको अभिलेख हेर्दासमेत उक्त अचल सम्पत्ति पास गराई रोक्का राखेको अभिलेख नदेखिएकोले मालपोत कार्यालयमा रोक्का रहेको भनिएतापनि सोको कुनै अभिलेख फेला नपरेको कारणले नै सो विषयमा यो यति कारणले रोक्का राखेको भनी किटान गरी लिखित जवाफ लगाउन नसकिएको भन्ने नेपाल बैंक लि.प्र.का. कानून विभागको मिति २०७०।७।६ को पत्र ।
नियमबमोजिम देनिक पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री केदार दाहाल र ध्रुवप्रसाद चौलागाईंले निवेदकको बाजे मंगलाल ज्यापुको नाममा दर्ता रहेको ललितपुर जिल्ला, ललितपुर नगरपालिका वडा नं. ५क १ कि.नं. १६२ को ज.रो. ०–३–०–० र ऐ.ऐ. कित्ता नं. १७३ को ज.रो. ०–१२–०–०समेतका जग्गाहरू के कारणले रोक्का रहेको हो सो को कुनै अभिलेख फेला नपरेको कारणले सो विषयमा लिखित जवाफ नलगाईएको भनी रोक्का राख्ने नेपाल वैंक लिमिटेड प्रधान कार्यालय कानून विभागको मिति २०७०।७।६को पत्र प्राप्त भैरहेको अवस्था छ । जग्गा रोक्का राख्ने निकायले नै रोक्का राख्नपर्नाको यकिन जवाफ दिन नसकिरहेको अवस्थामा बिनाकारण व्यक्तिको सम्पत्ति रोक्का राख्न नसकिनेमा गैरकानूनीरूपमा निवेदकको जग्गा रोक्का राखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर गरी उक्त जग्गाहरू फुकुवा गर्नु गराउनु भनी विपक्षीहरूको नाममा परमादेशको आदेश जारी गरी पाऊँ भनी गर्नुभएको बहस सुनियो ।
विपक्षी नेपाल बैंक लि. प्रधान कार्यालय, काठमाडौंका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अच्युत भण्डारीले निवेदन दावीका जग्गाहरू के कारणले नेपाल बैंक लिमिटेड प्रधान कार्यालयवाट रोक्का रहेको हो सोको कुनै अभिलेख फेला नपरेको कारणले सो विषयमा लिखित जवाफसम्म नलगाईए पनि ने.बैं.लि.प्रधान कार्यालय कानून विभागको मिति २०७०।७।६ को पत्रमा भएको व्यहोरा खुलाईएको छ । जग्गा रोक्का राख्नुपर्नाको कारण हालको अवस्थामा नखुलिरहेको जग्गा फुकुवा गर्न परमादेशसमेतको आदेश जारी गरी पाऊँ भन्ने निवेदन दावी खारेज गरी पाऊँ भनी गर्नुभएको बहस सुनियो ।
2. यसमा निवदकहरूको बाजे मंगलाल ज्यापुको नाममा दर्ता रहेको ललितपुर जिल्ला, ललितपुर नगरपालिका वडा नं. ५क १ कि.नं. १६२ को ज.रो. ०–३–०–० र ऐ.ऐ. कि.नं. १७३ को ज.रो. ०–१२–०–०समेतका जग्गाहरू ललितपुर जिल्ला अदालतको मिति २०५१।९।१८ को फैसला र मिति २०५६।४।७ को बण्डा मुचुल्काबमोजिम मालपोत कार्यालय, ललितपुरमा दा.खा. गर्न जाँदाको अवस्थामा उक्त जग्गाको मोठ रोक्का भिडाउँदा मंगलाल ज्यापुको नाउँको वडा नं. ५क कि.नं. १६२, १७२ का जग्गाहरू नेपाल बैंक लिमिटेड प्रधान कार्यालयबाट रोक्का देखिएकोमा उक्त बैंकबाट के कति कारणले रोक्का भएको हो वा भूलबाट रोक्का हुन गएको हो यकीन जानकारी पाऊँन निवेदकले माँग गरेकोमा निवेदन दर्ता वा दरपीठ केही नगरी फर्काउने र मालपोत कार्यालय, ललितपुरले पनि नेपाल बैंकले रोक्का गरेको भनी रोक्का राख्नुको कारण नै नखुलाई गैरकानूनीरूपमा जग्गा रोक्का राखी सम्पत्ति सम्बन्धी अधिकारमा आघात पार्ने काम गरेकोले उक्त जग्गाहरू रोक्का गर्ने कार्य तथा सोको कुनै गैरकानूनी निर्णय भए सम्बन्धित कार्यालयबाट झिकाई उत्प्रेषणको आदेशद्वारा बदर गरी उक्त जग्गाहरू फुकुवा गर्नु गराउनु भनी विपक्षीहरूको नाममा परमादेशसमेतको आदेश जारी गरीपाऊँ भन्ने निवेदन दावी रहेको देखिन्छ । प्रस्तुत रिट निवेदनमा विपक्षी बनाईएका नेपाल बैंक लि.ले जग्गा रोक्का राखेको भनी भनिएको भएपनि नेपाल बैंक लि.ले प्रस्तुत रिट निवेदन सम्बन्धमा लिखित जवाफ प्रस्तुत गरेको पनि देखिएन । यस अदालतमा मिति २०७०।३।१२।४ को आदेशबमोजिम नेपाल बैंक लि.बाट मिति २०७०।७।६ मा लेखिएको १।एल।७६।१५८ को पत्रमा उपत्यकाभित्रका साथै शाखा, उपशाखा र प्रधान कार्यालय जोखिम व्यवस्थापन डिभिजन कार्यालय, काठमाडौं अफिस लेखा विभाग कर्मचारी सापटी तथा औषधि फाँट (घरकर्जा) बाट कर्जा कारोबार भए नभएको सम्बन्धमा कारोबारको विवरण माँग गर्दा सम्पूर्ण उपत्यका शाखा, उपशाखाबाट र प्रधान कार्यालयका उल्लिखित फाँट विभागबाट कर्जाको कुनै रेकर्डमा राखेको रेकर्ड नदेखिएको भनी जानकारी प्राप्त भएको र तत्कालीन अवस्थामा प्रधान कार्यालयबाट सुरक्षणवापत पास गराई लिएको लिखतहरूको अभिलेख हेर्दासमेत उक्त अचल सम्पत्ति पास गराई रोक्का राखेको अभिलेख नदेखिएकोले मालपोत कार्यालयमा रोक्का रहेको भनिएतापनि सोको कुनै अभिलेख फेला नपरेको कारणले नै सो विषयमा यो यति कारणले रोक्का राखेको भनी किटान गरी लिखित जवाफ लगाउन नसकिएको भनी नेपाल बैंक लि.का. कानून विभागको पत्र देखिन्छ । उल्लेखित पत्रानुसार के कुन कारणले रोक्का राखेको भनी स्पष्ट गर्न सकिएकोसमेत देखिएन । वरू उपत्यकाभित्रका उक्त बैंक अधीनस्थ निकाय शाखा प्रशाखामा कुनै ऋणसमेतको अभिलेख नदेखिए, नभेटिएको भनी खुलाएको पाईयो । जुन निकायले रोक्का राखेको हो भनी मालपोत कार्यालयमा रोक्का रेकर्ड देखिएको छ सो निकायले, के कुन कारण परी निवेदन दावीको जग्गा रोक्का राख्नु परेको हो सोको स्पष्ट जवाफ सम्वन्धित निकायको अभिलेखको आधारमा दिन सक्नुपर्ने हुन्छ । त्यसरी स्पष्ट जवाफ दिन रोक्का राख्ने निकायले नसकेको अवस्थामा कानूनअनुरूप नै रोक्का रहेको होला भनी अनुमान गर्नु पनि उचित हुँदैन । यसको अतिरिक्त मालपोत कार्यालयले जुन निकायले रोक्का राखेको हो भनी खुलाएको छ सो निकायले विवरणसहितको रोक्का राख्नुपर्नाको कारण आफ्नो अभिलेखवाट नदेखिएको भनी खुलाई रहेको अवस्थामासमेत बिनाकारण लामो समयसम्म व्यक्तिको सम्पत्ति रोक्का राख्नु हुँदैन ।
3. त्यसकारण रिट निवेदनमा उल्लिखित विपक्षी नेपाल बैंक लि.ले निवेदन दावीको जग्गा रोक्का राख्नुपर्नाको कुनै स्पष्ट आधार कारण खुलाउन नसकेको देखिनाले नेपाल बैं. लि.को तर्फबाट मालपोत कार्यालय, ललितपुरले निवेदन दावीको जग्गा रोक्का राखेको कार्य उत्प्रेषणको आदेशले बदर गरी नेपाल बैंक लिमिटेडको तर्फबाट रहेको रोक्का फुकुवा गरी दिनु भनी विपक्षीहरूका नाउँमा परमादेशको आदेशसमेत जारी हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम मंगलाल ज्यापुका नाउँमा दर्ता रहेको ललितपुर जिल्ला, ललितपुर नगरपालिका वडा नं. ५क १ कि.नं. १६२ को ज.रो. ०–३–०–० र ऐ.ऐ. कित्ता नं. १७३ को ज.रो. ०–१२–०–० का जग्गाहरूमा नेपाल बैंक लि.को तर्फबाट मालपोत कार्यालय, ललितपुरले राखेको जग्गा रोक्का उत्प्रेषणको आदेशद्वारा बदर भई उक्त जग्गा फुकुवा गरिदिनु भनी विपक्षीहरूका नाउँमा परमादेशको आदेशसमेत जारी हुने ठहरेकोले आदेशबमोजिम उक्त जग्गा फुकुवा गरिदिनु भनी सम्बन्धित मालपोत कार्यालयलाई लेखि पठाई दिनू ।
यो मिसिलको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. सुशीला कार्की
इति संवत् २०७० साल मङ्सिर १३ गते रोज ५ शुभम्................।
इजलास अधिकृत M हर्कबहादुर क्षेत्री