निर्णय नं. ८६९५ - जवर्जस्ती करणी ।

ने.का.प. २०६८, अङ्क १०
निर्णय नं. ८६९५
सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह
माननीय न्यायाधीश श्री तर्कराज भट्ट
माननीय न्यायाधीश डा.श्री भरतबहादुर कार्की
मुद्दा नं. २०६६ CF–००११
फैसला मितिः २०६८।३।२३।५
मुद्दाः जवर्जस्ती करणी ।
पुनरावेदक प्रतिवादीः रसुवा जिल्ला लहरेपौवा गा.वि.स. वडा नं. २ घर भै हाल कारागार कार्यालय रसुवामा कैदमा रहेको रामहरि लामिछाने
विरुद्ध
विपक्षी वादीः ऋषेश्वर न्यौपानेको जाहेरीले नेपाल सरकार
शुरु फैसला गर्नेः
मा.न्या.श्री ऋषिप्रसाद अधिकारी
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री दुर्गाप्रसाद उप्रेती
मा.न्या.श्री हरिबहादुर बस्नेत
सर्वोच्च अदालत संयुक्त इजलासः–
मा.न्या. श्री ताहिर अली अन्सारी
मा.न्या.श्री रणबहादुर वम
§ जाहेरी दरखास्त घटनाको सम्बन्धमा उजूरी वा प्रथम सूचना भएकोले यदि जाहेरी नैं नपरे पनि घटनाको बारेमा जानकारी हुन आएमा प्रचलित कानूनी व्यवस्थाबमोजिम प्रहरीले आफै पनि अनुसन्धान गर्नसक्ने अवस्था रहेकोले केवल जाहेरी तुरुन्त नदिएको भन्ने मात्र आधारमा अपराधको गाम्भीर्यताको न्यून मूल्याङ्कन गर्न नमिल्ने ।
§ जाहेरी तत्काल दियो वा दिएन भन्दा पनि अपराध भयो वा भएन र अपराधमा कसको संलग्नता थियो भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ । जाहेरी दरखास्त ढिला पर्नाको बिभिन्न कारण हुन सक्छन् । देशको भौगोलिक अवस्था, घटनास्थलबाट प्रहरी रहेको स्थानको दूरी र बिकटता, समाजको चेतनाको स्तर, सामाजिक परिवेश, यस्तो अपराधबाट पीडितको भाबी जीवनमा पर्नसक्ने प्रभाव तथा अभियुक्तको पीडितउपर पर्ने दबाव वा प्रभाव आदि जस्ता कारणले गर्दा जवर्जस्ती करणी जस्तो कसूरका सम्बन्धमा जाहेरी ढिला पर्नसक्ने हुन सक्छ । तसर्थ जवर्जस्ती करणीजस्तो प्रत्यक्ष रुपमा नारी अस्मितासँग जोडिएको गम्भीर विषयमा जाहेरी दर्खास्त दर्ता गराउन लागेको समयलाई मात्र निरपेक्ष रुपमा मूल्याङ्कन गरेर कसूरको मात्रा र गाम्भीर्यता घटीबढी हुन नसक्ने ।
§ अपराधको घटना जाहेरी दरखास्तबाट मात्र पुष्टि हुने नभै अन्य तथ्यगत प्रमाणको पनि आवश्यकता पर्दछ । त्यस्तै कसूरदारलाई सजायबाट बच्न तत्काल भागेर जाने क्रममा गाउँ समाजले पक्राउ गरी प्रहरी जिम्मा नलगाएको वा प्रहरीले मौकामा पक्राउ गर्न नसकेको भन्ने मात्र कारण पनि कसूर भए नभएको वारे निश्चयमा पुग्ने आधार बन्न नसक्ने ।
(प्रकरण नं.३)
§ घटनाबाट पीडितले घटनाको तत्काल पछि अनुसन्धान अधिकारीसमक्ष र पछि अदालतमा साक्षीसरह व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा १०(क) र (ख) बमोजिम अदालतले प्रत्यक्ष प्रमाणको रुपमा ग्रहण गर्नुपर्ने ।
(प्रकरण नं.५)
§ बिवादरहित र आधारभूत स्वतन्त्र प्रमाणबाट इन्कारी बयान समर्थित हुन नसकेको अवस्थामा प्रमाण विनाको इन्कारी बयान मात्र सफाइ दिने यथेष्ट आधार बन्न नसक्ने ।
(प्रकरण नं.६)
§ ढिलो जाहेरी परेको भन्दैमा जवर्जस्ती करणीको वारदात स्थापित नहुने भनी भन्न नमिल्ने ।
(प्रकरण नं.८)
पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ताहरू बिश्वम्भर कृष्ण पराजुली र प्रदीप लामिछाने
विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता ठोकप्रसाद शिवाकोटी
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क)
§ जवर्जस्ती करणी महलको १, ३, १०, ११ नं.
§ मुलुकी ऐनको प्रारम्भिक कथनको ३(ङ)
§ प्रमाण ऐन, २०३१ को दफा १०(क) र (ख)
फैसला
न्या.रामकुमार प्रसाद शाहः सर्वोच्च अदालतको संयुक्त इजलासमा मिति २०६६।११।२६ मा रायवाझी भै सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) अनुसार पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यस प्रकार छ :–
मिति २०६३।८।१५ गतेको अन्दाजी ५:३० बजेको समयमा मेरी छोरी बर्ष ८ की संगीता न्यौपानेलाई रामहरि लामिछानेले ललाई फकाई रसुवा जिल्ला लहरेपौवा गा.वि.स. वडा नं.३ स्थित वनुवा गाउँ नजिकको जंगलमा लगी जवर्जस्ती करणी गरेको कुरा छोरीले रुँदै आई आमालाई भनेकोमा पछि सोधपुछ गर्दा रामहरि लामिछानेले जवर्जस्ती करणी गरेको कुरा बताएकी हुन् । निजले नै मेरी छोरी संगीता न्यौपानेलाई ललाई फकाई विश्वासमा पारी डरधाक धम्की समेत देखाई जवर्जस्ती करणी गरेकोमा विश्वास लागी जाहेरी गर्न आएको हुँ भन्नेसमेत व्यहोराको ऋषेश्वर न्यौपानेको मिति २०६३।८।२३ र २४ गतेको जाहेरी दरखास्त ।
रसुवा जिल्ला लहरेपौवा गा.बि.स. वडा नं. ३ बनुवा पूर्व बेत्रावती जाने बाटो पश्चिम सिम खेतमा जाने बाटो, उत्तर छारी खोला दक्षिणतर्फ काठघारी यती चार किल्लाभित्र ठूला ठूला ढुंगाका बीचमा झार माडिएको हुँदा अभियुक्त रामहरि लामिछानेले जाहेरवालाको छोरीलाई ऐ.ऐ. गा.बि.स. बनुवास्थित जंगलमा ललाई फकाई लगी जवर्जस्ती करणी गरेको हो भन्ने ओमप्रसाद आचार्य समेतले गरेको मिति २०६३।९।१४ गतेको घटनास्थल प्रकृति मुचुल्का ।
जाहेरवालाको छोरी संगीता न्यौपानेलाई मिति २०६३।८।१५ गतेको दिन अं. १७.३० बजेको समयमा जिल्ला रसुवा लहरेपौवा गा.बि.स. वडा नं. ३ स्थित बनुवा भन्ने ठाउँमा मैले चकलेट दिई ललाई फकार्ई बनुवा भन्ने गाउँको नजिकैको जंगलमा लगी करणी गरेको हुँ । संगीता न्यौपानेलाई करणी गरेपछि निजलाई मैले सो करणी गरेको कुरा नभन्नु र भने मारीदिन्छु भनी डरधाक समेत दिएँ भन्नेसमेत व्यहोराको प्रतिवादीको अनुसन्धानको सिलसिलामा भएको बयान ।
मिति २०६३।८।१५ गते म आफ्नो घरमा थिएँ । उक्त दिन मेरो छोरी स्कूल गएकी थिइन् । त्यसमा अं. १७.३० बजेको समयमा छोरी रुदै कराउँदै बनुवा गाउँ नजिकैको जंगलमा लगी रामहरि लामिछानेले मलाई जवर्जस्ती करणी गरेको भनी आमालाई भनेकोमा पछि मैले सोधपुछ गर्दा मेरो छोरीले रुदै रामहरिले नै जवर्जस्ती करणी गरेको कुरा बताएकी हुन् । उक्त अवस्थामा मेरो छोरी निकै आत्तिएर रोइ कराई गरिरहेकी थिइन् । मेरो छोरीलाई निजले करणी नै गरेको पूर्ण विश्वास लाग्छ भनी जाहेरवाला ऋषेश्वर न्यौपानेले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।
मिति २०६३।८।१५ गते म आफ्नै घरमा थिएँ । संगीता न्यौपानेलाई रामहरि लामिछानेले जवर्जस्ती करणी गरेको सम्बन्धमा हो हल्ला भई मानिसहरू जम्मा भएकोमा के भएको रहेछ भनी जाँदा संगीता न्यौपानेको योनी केही सुत्रिएको र उक्त ठाउँबाट रगत जस्तो रातो तरल पदार्थ निस्किएको थियो । त्यसपछि निजलाई सोध्दा रामहरिले नै ललाई फकाई जवर्जस्ती करणी गरेको भनेकीले र उक्त समयमा संगीता न्यौपानेको शारीरिक अवस्था हेर्दा गम्भीर देखिएकोले निजले करणी गरेको मलाई पूर्ण विश्वास लाग्छ भनी सीता न्यौपानेको र सोही मिलानको बद्रीप्रसाद आचार्य र लक्ष्मी आचार्यले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान कागज ।
संगीता न्यौपानेलाई डर, धाक, धम्की, प्रलोभनसमेत देखाई जवर्जस्ती करणी गरेको कुरा मिसिल संलग्न सबूद प्रमाणबाट पुष्टि हुन आएकाले निज प्रतिवादी रामहरि लामिछानेलाई मुलुकी ऐन जवर्जस्ती करणीको महलको १ नं. अनुसारको कसूर अपराध गरेको देखिन आएको हुँदा निज प्रतिवादीलाई सोही ऐनको नं. ३ को देहाय (१) अनुसारको हदैसम्म सजाय हुन तथा सोही ऐनको १० नं. बमोजिम आधा अंश दिलाई भराइ पाऊँ भन्नेसमेत व्यहोराको अभियोग मागदावी ।
रामहरिले मलाई भेट्दा म दाँई गरेको ठाउँमा थिएँ । मैले दिदीलाई खोज्दै गर्दा तेरो ठूलो ममी धान (खेतमा) पानी लगाउन गएका छन् भनी मलाई पनि लगी तँलाई पैसा दिउँला भनी सुताएर पैसा पनि नदिई करीब आधा घण्टा जति सुताएर तेरो ममी, दिदी, बाबालाई नभन भनीस भने मारिदिन्छु, काटीदिन्छु भन्यो । मेरो बुबालाई भन्न लाग्दा मुख थुनी करणी गर्यो । त्यसपछि मलाई बोकी सुनिता न्यौपानेको घरमा छोडी भागी गए । म बिस्तारै हिंडी आन्टीको घरमा गै टि.भी हेर्न जाँदा मेरो बुबा आई मलाई घरमा लानुभएको हो । उक्त घटना मैले पहिले ठूलो ममीलाई भने, ठूलो ममीले मेरो आमालाई भन्नुभएको हो । निजले मेरो फ्रक फुकाई कट्टु फुकाली निजले पनि आफ्नो कट्टु फूकाली लिङ्ग देखाई मेरो शरीर ढाली घाँसमाथि राखी करणी गरेको हो । मलाई करणी गर्दा मेरो पिसाव फेर्ने ठाउँबाट रगत आयो मलाई दुख्यो र कराउन लाग्दा निजले मेरो मुख थुनेको हो । निजले करणी गरेपछि स्कूल पढ्न गइन जचाएको ठाउँ थाहा भएन । बिनासँग गई दबाई लाउने र खाने औषधि ल्याई खाएको हो भन्नेसमेत व्यहोराको पीडित संगीता न्यौपानेले जाहेरवालाको रोहबरमा अदालतमा गरेको बयान ।
मिति २०६३।८।१५ गते बिहान ऋषेश्वरसंगै मेरो बारीमा मल बोकेको हो । म सँग सो समयमा सीमा लामिछाने र सीता न्यौपाने पनि संगै थिए । सो दिन बेलुका ऋषेश्वर मेरो घरमा आएका थिए । खाना खाउ भन्दा खान मानेनन् । मेरो घडी हराएकाले खोज्न जाउँ भनेका थिए । मलाई थकाई लागेको छ म सुत्छु भन्दा हिड्न जाउँ भनेकाले उनीसंगै गै मेरो ठूलो बुबाको घरमा टि.भी ९.३० बजेसम्म हेर्यौं । सो समयसम्म संगीता न्यौपाने त्यहीँ थिइन् । त्यसपछि म घर गएर सुतेको हुँ । २०६३।८।२० गते काठमाडौ जाँदै गर्दा माछा पोखरीमा बृन्दा आचार्यसँग भेट हुँदा तैले बलात्कार गरेर आइछस् घर जान्छस् कि पुलिस बोलाउँ भनी भनेकाले निजैले ल्याएको हरियो रंगको मिनी टाटामा संगै आउँदा बनुवाको घुम्तीमा गाडी रोकीई पिट्न लाग्दा आमाले छेकी पिटाईबाट बचें र बृन्दाकै घरमा लगी राखे । त्यसपछि बिभिन्न धाक, धम्की, पिटाई गर्दै माओवादीले विभिन्न ठाउँमा लगे, घटना स्वीकार गर्न दवाव दिए । उक्त घटना नस्वीकारे झुण्डाएर मारिदिने कुरा गरेका र मेरो बुबा आमालाई छोराको मुख हेर्ने भए रु.४२,५००।– दिनु नत्र मुख देख्न पाउँदैन भनेकाले हुन्छ भनी आमाले उक्त रकम बुझाएकाले आमासँग भेट्न पाएको हुँ । डर धाक देखाई कुटपीट गर्दै मान्छे लगाई प्रहरीको जिम्मा लगाएका हुन् । प्रहरीले पक्राउ गरेको होइन । मैले जाहेरीको व्यहोराबमोजिम अपराध गरेको छैन । मेरो ज्यान बचाउन प्रहरीमा साबिती बयान दिएको हो । प्रहरीले माओवादीमा दिए जस्तै बयान दिनु भनेकाले सो बयान दिएको हो । अभियोग मागदावी झूठा हो भन्नेसमेत व्यहोराको रामहरि लामिछानेको रसुवा जिल्ला अदालतमा भएको बयान ।
रामहरि निर्दोष हुन् । हामी दिउँसोभरी काम गरी बेलुका संगै सुत्न गएका हौं । कुनै घटना घटेको भए घटना भएको ठाउँमा सर्जमिन मुचुल्का हुनुपथ्र्यो, त्यहाँ नगरी ९ नं. वडामा भएको छ । माओवादीले आफ्नो पार्टीमा नलागेकाले निजलाई साबित गराउन लगाएका हुन् । २०६३।८।१५ गते बेलुका ६.३० बजेदेखि ९.३० बजेसम्म जाहेरवाला निजकी पीडित भनिएकी छोरी संगीता न्यौपाने र प्रतिवादी मेरै घरमा टि.भी. हेरी बसेका हुन् । पीडित संगीता न्यौपाने बिरामी भएको थाहा भएन भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी लालप्रसाद लामिछानेको बकपत्र ।
२०६३।८।१५ गते बेलुका रामहरि लामिछाने राती १० बजेसम्म संगै थिए । निजले संगीता न्यौपानेलाई जवर्जस्ती करणी गरे भन्ने कुरा झूठा लाग्छ । घटना घटेको ठाउँ ३ नं. मा भएकोमा सर्जमिन मुचुल्का ९ नं. मा भयो भन्ने सुनेको हुँ । टि.भी हेरिरहेको अवस्थामा पीडित संगीता न्यौपाने ठिकै थिइन भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी गोबिन्द न्यौपानेको बकपत्र ।
बच्चीले भन्नै नपर्ने मासमा भनेकीले थाहा पाएको हो । त्यस अवस्थामा बच्चीको योनी सुनिएको र रातो पदार्थ देखिएको हो । बच्चीको बयानअनुसार रामहरिले नै करणी गरेको भनेकीले थाहा पाएको हो भन्नेसमेत व्यहोराको लक्ष्मी आचार्यको बकपत्र ।
यो बलात्कारको कुरा संगीता न्यौपानेले भनेर थाहा पाएको हो । यो केस नबुझाउन खोज्दा पनि माओवादीले लगेर प्रहरीलाई बुझाएछन् । यो घटना भएको कुरा संगीता न्यौपानेले भनेर थाहा भएको हो । बनावटी कुरा गर्ने अवस्थाको बच्ची छैन, बलात्कार रामहरिले नै गरेकोमा विश्वास लाग्छ, देख्ने कुरा भएन, अनुमानित कुरा हो भन्नेसमेत व्यहोराको छबिलाल आचार्यको बकपत्र ।
घटना मैले देखेको होइन । संगीता न्यौपानेले आफ्नो आमालाई भनेपछि कुरा बाहिर आएको हो । महिलाहरूले हेरेपछि जवर्जस्ती करणी गरेको हो भन्ने मैले सुनेको हो । घटनास्थलमा झार माडिएको थियो । घटनास्थल प्रकृति मुचुल्का ९ नं. वडामा भएको हो । रामहरिलाई माओवादीले करीव २० दिन भन्दा बढी राखे । यसभन्दा अगाडिको स्थिति हेर्दा रामहरि नराम्रो मानिस थिएन । बच्चाको भनाइअनुसार बलात्कार निजैले गरेको जस्तो लाग्छ भन्नेसमेत व्यहोराको बद्री आचार्यको बकपत्र ।
संगीता न्यौपानेले उसको आमालाई भनेबमोजिम मैले रामहिरले मेरो छोरीलाई करणी गरेको कुरा थाहा पाएको हो । छोरी मेरो डरले भागिछ र म खोज्न गई ल्याएको हो । त्यसै समयमा रामहरिको ठूलो बुबाले गरिस् गरिनस् रु. ५००।– गोडामा राखेर ढोग भन्दा मानेन, पछि पैसा नराखी ढोगी दियो । त्यतिकैमा उ गाडी चडी काठमाडौ जाँदै गरेको अवस्थामा बृन्दा आचार्यले काठमाडौमा फेला पारी ल्याई छलफल गर्दा माओवादीले रामहरिलाई लगेका हुन् । महिलाहरूले छोरीको चेकजाँच गर्न लानेमा बृन्दा आचार्य पनि एक हुन् । महिलाहरू जम्मा भै छोरीको चेकजाँच गरेका हुन् । तीमध्ये कोही डाक्टर थिएनन् । मेरो छोरीको योनीबाट रगत आएको मैले देखेको होइन । रामहरिको चालचलन ठीकै थियो भन्नेसमेत व्यहोराको जाहेरवाला ऋषेश्वर न्यौपानेको अदालतमा भएको बकपत्र ।
मैले प्रतिवादी रामहरिलाई मिनी टाटामा राखी बनुवासम्म ल्याएको हो । त्यस समयमा त्यहाँ माओवादीहरू र ३ नं. वडाका अध्यक्ष जम्मा भै त्यसपछि केरकार शुरु गरे, सो समयसम्म केही भनेको थिएन । त्यसपछि निजलाई माओवादीले लगेका हुन् । पीडित संगीता न्यौपानेलाई निजको आमाबाबु र १ जना माओवादीसहित मैले त्रिशुली अस्पताल लगी उपचार गराई फर्काएको हो । खाने र लगाउने औषधि डाक्टरले दिएका हुन् । पीडितको अवस्था त्यतिबेला हिंड्न नसक्ने थिइन । निजको योनिभित्र फुटेको र बाहिर हेर्दा सुनिएको थियो । डाक्टरले जाँचेको कागज माओवादीले लिएका थिए । योनी फुटेको कुरा डाक्टरले भनेर थाहा पाए भने सुनिएको कुरा म आफैले देखेको हो । निजलाई जाँच गर्ने डाक्टर त्रिशुली अस्पतालकी हुन् । मैले रामहरिलाई काठमाडौबाट ल्याएपछि माओवादीले आफ्नो कव्जामा २५।२६ दिन लिएका हुन भन्ने व्यहोराको बृन्दा आचार्यको बकपत्र ।
जिल्ला अस्पताल रसुवा धुन्चेको दर्ता नं. १४८७ मिति २०६३।८।२४ मा संगीता न्यौपानेको नाउँको बिरामी पूर्जा मिसिल सामेल रहेको पाइन्छ ।
पीडित संगीता न्यौपानेको यौनाङ्ग दुखेको, तीन दिनदेखि राम्रोसँग निन्द्रा नलागेको, यौनाङ्गको भित्री र बाहिरी भागको बायाँतर्फ च्यातिएको, भगोष्ठ च्यातिई घाउ भएको देखिन्छ । योनीभित्र जवर्जस्ती कुनै चिज घुसाई बाहिरी भाग र भित्र भाग च्यातिन सक्तछ । जवर्जस्ती करणीबाट बिरामी पूर्जामा लेखिएको घा र चोट हुन सक्तछ भन्नेसमेत व्यहोराको डा. सौरभ आचार्यको बकपत्र ।
मिसिल संलग्न तथ्य प्रमाण र आधारहरूबाट प्रतिवादी रामहरि लामिछानेले पीडित बर्ष ८ की नाबालिका संगीता न्यौपानेलाई मुलुकी ऐन, जवर्जस्ती करणीको महलको १ नं. को रीतसँग जवर्जस्ती करणी गरेको हुँदा निज प्रतिवादीलाई सोही जवर्जस्ती करणीको ३ नं.को दफा १ बमोजिम १२ बर्ष कैद हुने र प्रतिवादीबाट पीडित संगीता न्यौपानेले रु.१,५०,०००।– जवर्जस्ती करणीको १० नं. बमोजिम क्षतिपूर्तिबापत भराई लिन पाउने ठहर्छ भन्नेसमेत ब्यहोराको शुरु रसुवा जिल्ला अदालतको मिति २०६४।८।२५ को फैसला ।
जाहेरवाला ऋषेश्वर न्यौपानेले मिति २०६३।८।२३ गते बेत्रावती चौकीमा दिएको जाहेरीमा छोरी अचेत अवस्थामा फेला परेकी भनेका छन् र निजले मिति २०६३।८।२४ गते जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी व्यहोरामा छोरीले रुदै आई आमालाई भनेकी भनी एक आपसमा विरोधाभाषपूर्ण जाहेरी दिएका रहेछन् । पीडित भनिएकी संगीता न्यौपानेलाई त्रिशुली अस्पतालमा बृन्दा आचार्यले जचाउँन लगेको भनिएकोमा सोसम्बन्धी प्रमाण कागजात पेश भएको अवस्था छैन । जाहेरी दरखास्तमा व्यक्त नभएको कुरा बकपत्रमा व्यक्त गर्नु, पीडितलाई आधिकारिक व्यक्तिबाट स्वास्थ्य जाँच गरिएको छैन । घटना घटेको समय २०६३।८।१५ गतेबाट लगभग १ महिनापछि २०६३।९।१४ गते घटनास्थल प्रकृति मुचुल्का गरिनुले घटना स्वयं प्रमाणित हुन सकेको छैन । वास्तविक वारदात मिति २०६३।८।१५ गते हो वा २०६३।८।२५ गते हो सो यकीन गर्न घटनास्थल प्रकृतिका मानिसले सकेका छैनन् । साक्षीहरूको बकपत्र र घटनास्थल प्रकृति मुचुल्का प्रमाण ऐन २०३१ दफा ५४ को विपरीत छ । वादी पक्षका साक्षी बद्री आचार्यले घटनास्थल प्रकृति मुचुल्का गैरवारदातस्थलमा तयार पारेको स्वीकार गरेका छन् । सबै साक्षीहरूले घटना घटेको सुनेको मात्र भनेका छन् । मलाई माओवादीले गैरकानूनी कब्जामा लिएर करीव ३ हप्तासम्म राखी मेरो आमासंगबाट रु.४२,५००।– गैरकानूनी असूल गरी मलाई प्रहरीमा बुझाएको कुरा वादी पक्षको साक्षीको भनाईबाट र मेरा साक्षीले पनि अदालतमा आई बकपत्र गरी स्थापित भएको छ । मलाई गैरकानूनी कब्जामा राखी रु.४२,५००।– बुझ्ने माओवादी पार्टीका अर्जुन अवस्थीलाई अदालतले प्रमाणको रुपमा बुझेको छैन । मिति २०६३।८।२४ को OPD Ticket मा उल्लेख नभएको तथ्यलाई स्थापित गराउने उद्देश्यले डा. सौरभ आचार्यले गरेको बकपत्रको कानूनी मूल्य (Legal value) स्वतः शून्य छ । जवर्जस्ती करणीको महलको साविक १० नं. परिवर्तन (संशोधन) भैसकेको अवस्थामा संशोधन खारेज भैसकेको कानूनी दफाले व्यवस्था गरेअनुरूप मबाट कथित पीडित संगीता न्यौपानेलाई आधा अंश दिलाई पाउन मागदावी लिएको कुरा गैरकानूनी छ । अभियोग मागदावी अदालत आफैले वादीको रुपधारण गरी दावी परिवर्तन गरी वादीले दावीनै नलिएको मबाट क्षतिपूर्तिबापत रु.१,५०,०००।– भराउने गरी भएको फैसला स्वतः बदरभागी भएकाले झूठा अभियोग दावीबाट सफाइ पाऊँ भन्नेसमेत ब्यहोराको प्रतिवादी रामहरि लामिछानेले पुनरावेदन अदालत पाटनमा गरेको पुनरावेदनपत्र ।
पीडित संगीता न्यौपानेको अधिकारप्राप्त अधिकारीसमक्षको साबिती बयान, पीडितको बकपत्र तथा पीडितको स्वास्थ्य परीक्षण गराएको बिरामीपूर्जा, साथै स्वास्थ्य परीक्षण गर्ने डाक्टरको बकपत्र समेतबाट पुष्टि भएको अवस्था एकातर्फ देखिन्छ भने अर्कोतर्फ यी पुनरावेदक प्रतिवादी उपर झूठा जाहेरी दिनुपर्ने सम्मको जाहेरवाला र प्रतिवादीबीच कुनै रिसइवी रहेको भन्ने तथ्य पनि स्थापित हुन सकेको नदेखिएकोले केवल अदालतसमक्ष भएको इन्कारी बयानकै आधारमा यी प्रतिवादी बेकसूर रहेछन् भनी मान्न न्याय र कानूनसंगत हुने देखिएन । अतः पीडित वर्ष ८ की नाबालिका संगीता न्यौपानेलाई जवर्जस्ती करणीको महलको १ नं. को अवस्था पारी जवर्जस्ती करणी गरेको हुँदा प्रतिवादीलाई सोही जवर्जस्ती करणीको ३ नं. को दफा १ बमोजिम १२(बाह्र) बर्ष कैद ठहराई प्रतिवादीबाट पीडितले रु.१,५०,०००।– जवर्जस्ती करणीको १० नं. बमोजिम क्षतिपूर्ति भराइदिन पर्ने ठहराएको शुरु रसुवा जिल्ला अदालतको मिति २०६४।८।२५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६४।१२।१४ गतेको फैसला ।
मउपर जुन अभियोगमा मुद्दा दायर भएको छ सो कानूनको हदम्याद नघाई दर्ता भएको छ । मुलुकी ऐन जवर्जस्ती करणीको महलको ११ नं. मा करणी भए गरेको मितिले ३५ दिनभित्र नालेस नदिए लाग्न सक्दैन भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । हदम्यादको प्रश्न कानूनी प्रश्न भएकाले यसलाई अदालतले प्रथमत निरोपण गर्नुपर्ने हुन्छ । पीडित भनिएकी संगीता न्यौपानेको बाबुले मिति २०६३।८।२३ गते इलाका प्रहरी कार्यालय बेत्रावतीमा दिएको उजूरीमा छोरी अचेत अवस्थामा फेला परेको भन्ने र मिति २०६३।८।२४ गते जि.प्र.का रसुवामा दिएको जाहेरी छोरीको आमाले भनेपछि वारदातबारे थाहा हुन आएको भनी एउटै वारदातको तथ्य फरक पारी जाहेरी दिएको प्रष्टै छ । घटनास्थल प्रकृति मुचुल्का पनि बनावटी र झूठा हो भन्ने कुरा मिति २०६३।८।१५ गते भनिएको घटनाको एक महिना पछाडि २०६३।९।१४ गते त्यो मुचुल्का तयार पारिएको छ । जवर्जस्ती करणी भएकै हो भने घटनास्थल प्रकृति मुचुल्का गराउन ढिलो गर्नुको कारण घटना काल्पनिक हो भन्ने प्रष्ट देखिन आउँछ । ने.क.पा. माओवादीले म निजहरूको पार्टीमा नहिंडेको र स्थानीय अन्तरबिरोधको आडमा बनावटी कुरा बनाई हप्तौसम्म मलाई कब्जामा लिई चरम यातना दिएर संगीता न्यौपानेलाई करणी गरेकै हो भन्ने ब्यहोराको बनावटी कागज गराई मेरो ज्यान बेपत्ता बनाइदिने धम्की र यातना दिई आमाबाट रकम बुझी पीडित भनिएकी संगीता न्यौपानेलाई नदिई स्वयं माओवादी कार्यकर्ताले बुझेको कारण घटना वास्तविक नभै काल्पनिक रुपमा सिर्जना गरेको हो भन्ने पुष्टि हुन्छ । प्रस्तुत झूठा मुद्दा तथा हदम्याद समेतको आधारमा मलाई दोषी करार गरेको रसुवा जिल्ला अदालतको मिति २०६४।८।२५ गतेको फैसलालाई सदर गरेको मिति २०६४।१२।१४ गतेको पुनरावेदन अदालत पाटनको फैसला बदर गरी आरोपित कसूरबाट सफाइ पाऊँ भन्ने व्यहोराको प्रतिवादीको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।
मुलुकी ऐन, जवर्जस्ती करणीको महलको ११ नं. को हदम्यादको सन्दर्भ समेतबाट पुनरावेदन अदालत पाटनको मिति २०६४।१२।१४ को फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको आदेश ।
जवर्जस्ती करणी जस्तो गम्भीर अपराधमा कसूर स्थापित हुन शंकारहित तवरबाट आरोपको पुष्टि हुनुपर्ने फौजदारी न्यायको मान्य सिद्धान्तविपरीत प्रस्तुत मुद्दामा प्रतिवादीलाई केवल शंका बाट अभिप्रेरित भई अनुसन्धान कार्यलाई समेत प्रभावित पारी अस्वाभाविक तवरबाट गरिएको अनुसन्धान र सो अनुसन्धानको आधारमा लगाइएको आरोपबमोजिम कसूर ठहर गरेको शुरु रसुवा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको नदेखिंदा उक्त फैसला उल्टी भै प्रतिवादी रामहरि लामिछानेले आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री ताहिर अलि अन्सारीको राय ।
यसमा प्रतिवादी रामहरि लामिछानेले बर्ष ८ की संगीता न्यौपानेलाई जवर्जस्ती करणी गरेको कुरा स्थापित भएकाले सो अपराधमा प्रतिवादी रामहरि लामिछानेलाई जवर्जस्ती करणीको १ नं. को कसूरमा सोही महलको ३ नं. को दफा (१) बमोजिम १२ बर्ष कैद हुने र प्रतिवादीबाट पीडितले रु.१,५०,०००।– जवर्जस्ती करणीको महलको १० नं. बमोजिम क्षतिपूर्तिबापत भराई लिन ठहर्याएको शुरु रसुवा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी रामहरि लामिछानेलाई सफाइ दिने ठहराएको मा.न्या श्री ताहिर अली अन्सारीज्यूको रायसँग सहमत हुन नसकिएकोले प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पठाइ दिनु भन्ने माननीय न्यायाधीश रणबहादुर बमको राय ।
नियमबमोजिम आजको पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू श्री बिश्वम्भर कृष्ण पराजुली र प्रदीप लामिछानेले प्रस्तुत वारदात २०६३।८।१५ गते घटेको भनिएको छ । एउटै घटनाको तथ्यमा फरक–फरक मितिमा फरक–फरक जाहेरी दिइएको छ । वारदात ३ नं. वडामा घटेको भनिएको छ तर घटनास्थल प्रकृति मुचुल्का वडा नं. ९ मा भएको छ । राजनीतिक दवावमा कसूर साबित गर्न लगाई सोहीबमोजिम प्रमाण संकलन गरिएको छ । मिति २०६३।८।१५ मा वारदात घटेको भनी २०६३।८।२३ र २०६३।८।२४ गते जाहेरी परी मिति २०६३।१०।७ मा अभियोग दायर भएको छ जुन मुलुकी ऐन जवर्जस्ती करणीको महलको ११ नं. मा उल्लिखित हदम्याद नाघेको अवस्था समेत भएकोले प्रतिवादीलाई सफाइ दिने गरेको माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीको राय सदर हुनुपर्छ भनी बहस गर्नुभयो ।
विपक्षी नेपाल सरकारको तर्फबाट विद्वान सहन्यायाधिवक्ता ठोकप्रसाद शिवाकोटीले घटनास्थल प्रकृति मुचुल्का घटना भएकै ठाउँमा गरेको हो । एउटा जाहेरीको व्यहोरा अर्को जाहेरीसँग सामान्य कुरा फरक पर्नु स्वभाबिक हो । वारदात भएको हो वा होइन र आरोपित व्यक्तिको संलग्नता उक्त घटनामा थियो वा थिएन भन्ने कुरा हेर्नुपर्ने हुन्छ । पीडित संगीता न्यौपानेको बिरामी पूर्जामा लेखिएको व्यहोरालाई जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाका डा. सौरभ आचार्यले गरेको बकपत्र समेतबाट जवर्जस्ती करणी पुष्टि भैरहेको अवस्थामा ज्यान बचाउन मौकामा साबिती बयान दिएको भन्ने प्रतिवादीको काल्पनिक बयानको आधारमा सफाइ दिने अवस्था नहुँदा पुनरावेदन अदालतको फैसला सदर गरेको माननीय न्यायाधीश रणबहादुर बमको राय सदर हुनुपर्छ भनी बहस गर्नुभयो ।
विद्वान कानून व्यवसायीहरूको बहस जिकीर सुनी पुनरावेदन पत्रसहितको सम्पूर्ण मिसिल कागजात अध्ययन गरी हेर्दा यस अदालतको संयुक्त इजलासमा माननीय न्यायाधीश ताहिर अली अन्सारीले व्यक्त गरेको राय वा माननीय न्यायाधीश रणबहादुर बमले व्यक्त गरेको रायमध्ये कसको राय सदर हुने हो वा कानूनबमोजिम के हुनुपर्ने हो भन्ने सम्बन्धमा निर्णय दिनु पर्र्नेे देखिन आयो ।
मिति २०६३।८।१५ गते अन्दाजी ५:३० बजेको समयमा मेरी छोरी बर्ष ८ की संगीता न्यौपानेलाई रामहरि लामिछानेले ललाई फकाई रसुवा जिल्ला लहरेपौवा गा.वि.स. वडा नं.३ स्थित बनुवा गाउँ नजिकको जंगलमा लगी जवर्जस्ती करणी गरेको भन्ने ऋषेश्वर न्यौपानेको मिति २०६३।८।२३ र २४ गतेको जाहेरी दरखास्त परी प्रतिवादी रामहरि लामिछानेले संगीता न्यौपानेलाई डर, धाक, धम्की, प्रलोभनसमेत देखाई जवर्जस्ती करणी गरेको कुरा मिसिल संलग्न सबूद प्रमाणबाट पुष्टि हुन आएको भनी निजलाई मुलुकी ऐन, जवर्जस्ती करणीको महलको १ नं. को कसूरमा सोही ऐनको नं. ३ को देहाय (१) अनुसारको हदैसम्म सजाय हुन तथा सोही ऐनको १० नं. बमोजिम आधा अंश दिलाई भराइ पाउँन समेत मागदावी लिई अभियोग पत्र दायर भएको प्रस्तुत मुद्धामा शुरु रसुवा जिल्ला अदालतले प्रतिवादी रामहरि लामिछानेले पीडित बर्ष ८ की नाबालिका संगीता न्यौपानेलाई मुलुकी ऐन, जवर्जस्ती करणीको महलको १ नं. विपरीत जवर्जस्ती करणी गरेको हुँदा निज प्रतिवादीलाई जवर्जस्ती करणीको ३ नं.को दफा १ बमोजिम १२ बर्ष कैद हुने र प्रतिवादीबाट पीडित संगीता न्यौपानेले रु.१,५०,०००।– जवर्जस्ती करणीको १० नं. बमोजिम क्षतिपूर्तिबापत भराई लिन पाउने भनी ठहर गरेउपर पुनरावेदन परी पुनरावेदन अदालत पाटनले रसुवा जिल्ला अदालतको फैसला सदर गरे पश्चात् प्रतिवादीहरूको यस अदालतमा पुनरावेदन पर्न आएको र यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम आज यस इजलाससमक्ष पेश हुन आएको देखिन्छ ।
२. निर्णयतर्फ विचार गर्दा पुनरावेदकले कानूनले तोकेको हदम्याद नघाई अभियोग दायर भएको भन्ने मुख्य पुनरावेदन बहस जिकीर रहेकोले सर्वप्रथम प्रस्तुत मुद्दामा वारदात घटेको हो होइन र सो वारदातमा यी प्रतिवादीको संलग्नता छ छैन भन्ने तर्फ तथ्यभित्र प्रवेश गर्नुभन्दा अगाडि हदम्याद सम्बन्धमा विचार गर्नुपर्ने देखियो । मुलुकी ऐन जवर्जस्ती करणीको महलको ११ नं. मा भएको कानूनी व्यवस्था हेर्दा “जवर्जस्ती करणीको कुरामा सो भए गरेको मितिले पैंतिस दिनभित्र नालिस नदिए लाग्न सक्दैन” भन्ने उल्लेख भएको पाइन्छ । उल्लिखित कानूनी व्यवस्थाबाट जवर्जस्ती करणीको वारदातमा सो वारदात घटेको मितिले पैतीस दिनभित्र नालिस दिई सक्नुपर्ने अनिवार्य व्यवस्था गरेको देखिन्छ । प्रस्तुत मुद्दामा २०६३।८।१५ मा वारदात घटेको भनी २०६३।८।२३ र २०६३।८।२४ गते जाहेरी परी सोही जाहेरीको आधारमा अनुसन्धान भई मिति २०६३।१०।७ मा अभियोग पत्र दायर भएको देखिन्छ । यसबाट जवर्जस्ती करणीको वारदात घटेको मितिले ३५ दिनभित्र अभियोजनकर्ता प्रहरीसमक्ष जाहेरी दरखास्त परेको भन्ने देखिन्छ । अब जाहेरी दरखास्तलाई नालिस भन्न मिल्ने हो वा होइन भन्ने सम्बन्धमा विचार गर्दा मुलुकी ऐन, प्रारम्भिक कथनको ३(ङ) मा नालिस भन्नाले उजूर समेतलाई सम्झनु पर्छ भनी परिभाषा गरिएको पाइन्छ । यसमा ८ बर्षकी नाबालिक पीडितका बाबुले जवर्जस्ती करणी भएको भन्ने वारदातको बारेमा जानकारी पाएपछि प्रतिवादीको समेत नाम किटानी रुपमा उल्लेख गरी अनुसन्धान गरी आवश्यक कारवाही गरी पाउनको लागि सम्बन्धित अधिकारीसमक्ष दिएको जाहेरी दरखास्तलाई उजूरी होइन भन्न सकिने अवस्था देखिंदैन । यस स्थितिमा जाहेरी दरखास्तलाई मुलुकी ऐनको प्रारम्भिक कथनको ३(ङ) ले गरेको उजूरीको परिभाषाले समेट्ने नैं देखियो । तसर्थ वारदात घटेको मिति २०६३।८।१५ बाट पैतीस दिनभित्रै अर्थात् मिति २०६३।८।२३ र २०६३।८।२४ गते जाहेरी परी सोही जाहेरीको आधारमा अनुसन्धान भई दायर भएको मुद्दालाई हदम्यादबिहीन भन्न मिल्ने नदेखिंदा पुनरावेदक प्रतिवादीतर्फका विद्वान अधिवक्ताहरूको जिकीरसँग सहमत हुन सकिएन ।
३. मिति २०६३।८।१५ को वारदातलाई लिएर मिति २०६३।८।२३ र ऐ.२४ गते जाहेरी परेकोले वारदात नै काल्पनिक छ भन्ने पुनरावेदकको पुनरावेदन जिकीर र पुनरावेदक तर्फका विद्वान कानून व्यवसायीहरूको बहस जिकीर रहेको देखिन्छ । तर जाहेरी दरखास्त घटनाको सम्बन्धमा उजूरी वा प्रथम सूचना भएकोले यदि जाहेरी नैं नपरे पनि घटनाको बारेमा जानकारी हुन आएमा प्रचलित कानूनी व्यवस्थाबमोजिम प्रहरीले आफै पनि अनुसन्धान गर्न सक्ने अवस्था रहेकोले केवल जाहेरी तुरुन्त नदिएको भन्ने मात्र आधारमा अपराधको गाम्भीर्यताको न्यून मूल्याङ्कन गर्न मिल्दैन । जाहेरी तत्काल दियो वा दिएन भन्दा पनि अपराध भयो वा भएन र अपराधमा कसको संलग्नता थियो भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ । जाहेरी दरखास्त ढिला पर्नाको बिभिन्न कारण हुन सक्छन् । देशको भौगोलिक अवस्था, घटनास्थलबाट प्रहरी रहेको स्थानको दूरी र बिकटता, समाजको चेतनाको स्तर, सामाजिक परिवेश, यस्तो अपराधबाट पीडितको भाबी जीवनमा पर्नसक्ने प्रभाव तथा अभियुक्तको पीडितउपर पर्ने दबाव वा प्रभाव आदि जस्ता कारणले गर्दा जवर्जस्ती करणी जस्तो कसूरका सम्बन्धमा जाहेरी ढिला पर्नसक्ने हुन सक्छ । तसर्थ जवर्जस्ती करणीजस्तो प्रत्यक्ष रुपमा नारी अस्मितासँग जोडिएको गम्भीर विषयमा जाहेरी दर्खास्त दर्ता गराउन लागेको समयलाई मात्र निरपेक्ष रुपमा मूल्याङ्कन गरेर कसूरको मात्रा र गम्भीरता घटीबढी हुन सक्दैन । अपराधको घटना जाहेरी दरखास्तबाट मात्र पुष्टि हुने नभै यसको पुष्टि हुनको लागि अन्य तथ्यगत प्रमाणको पनि आवश्यकता पर्दछ । त्यस्तै कसूरदारलाई सजायबाट बच्न तत्काल भागेर जाने क्रममा गाउँ समाजले पक्राउ गरी प्रहरी जिम्मा नलगाएको वा प्रहरीले निजलाई मौकामा पक्राउ गर्न नसकेको भन्ने मात्र कारण पनि कसूर भए नभएको वारे निश्चयमा पुग्ने आधार बन्न सक्दैन । तसर्थ मिति २०६३।८।१५ को वारदातको सम्बन्धमा मिति २०६३।८।२३ र ऐ.२४ गते परेको जाहेरीलाई ढीलो गरी परेको र सोही कारणबाट अपराधको गम्भीरता कम भएको भनी अन्यथा मान्न मिल्ने देखिएन ।
४. अब जवर्जस्ती करणीको वारदात भए नभएको तथा सो वारदातमा प्रतिवादी रामहरि लामिछानेको सलग्नता छ वा छैन र यस अदालतको संयुक्त इजलासमा व्यक्त राय मध्ये कसको राय सदर हुने भन्ने सम्बन्धमा विचार गर्दा प्रतिवादी रामहरिले पीडित संगीता न्यौपानेलाई जवर्जस्तीकरणी गरेकोले कारवाही गरिपाऊँ भनी जाहेरवाला ऋषेश्वर लामिछानेले मिति २०६३।८।२३ गते इलाका प्रहरी कार्यालय बेत्रावतीमा र मिति २०६३।८।२४ गते जिल्ला प्रहरी कार्यालय रसुवामा किटानी जाहेरी दिएको देखिन्छ । प्रतिवादीले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा जाहेरवालाको छोरी संगीता न्यौपानेलाई मिति २०६३।८।१५ गतेको दिन अं. १७.३० बजेको समयमा आफूले चकलेट दिई ललाई फकाई बनुवा भन्ने गाउँको नजिकैको जंगलमा लगी करणी गरेको हुँ । संगीता न्यौपानेलाई करणी गरेपछि निजलाई मैले सो करणी गरेको कुरा नभन्नु र भने मारिदिन्छु भनी डरधाक समेत दिएको हुँ भनी कसूर गरेकोमा साबित भई बयान गरेको देखिन्छ ।
५. पीडित संगीता न्यौपानेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान र अदालतमा गरेको बकपत्रमा समेत रामहरि लामिछानेले पैसा दिउँला भनी आफ्नो फ्रक र कट्टु खोली घाँसमाथी ढाली खुट्टा च्यापी जवर्जस्ती करणी गर्दा मेरो पिसाव फेर्ने ठाउँबाट रगत आयो, मलाई दुख्यो र कराउन लाग्दा मेरो मुख थुनी तेरो दिदी, मम्मी बाबालाई भनिस भने मारी काटी दिन्छु भनी डर धाक धम्की दिएका हुन् भनी उल्लेख गरेको पाइन्छ । त्यस्तै निज पीडित व्यक्ति संगीता न्यौपानेको शारीरिक परीक्षण गरी डाक्टरले दिएको प्रतिवेदनबाट निज संगीताको योनीको भित्री र वाहिरी भाग वायाँ तर्फ च्यातिएको, भगोष्ठ च्यातिई घाउ भएको भन्ने देखिएको छ । यसबाट प्रतिवादी रामहरिले अनुसन्धानको क्रममा गरेको साबिती बयान मेडिकल रिपोर्टको स्वतन्त्र प्रमाणबाट समर्थित हुन आएको देखिन्छ । पीडित व्यक्ति घटना वा अपराधको प्रत्यक्षदर्शी साक्षी पनि भएकोले निजले घटनाको तत्काल पछि व्यक्त गरेको कुरालाई प्रमाणयोग्य मान्नुपर्ने हुन्छ । प्रमाण ऐन, २०३१ को दफा १०(१) को खण्ड (क) घटनाबाट पीडित व्यक्तिले घटनाको तत्काल पछि व्यक्त गरेको कुरालाई अदालतले प्रमाणमा लिनुपर्ने कानूनी व्यवस्था भएबमोजिम पीडित संगीताले घटनाको तत्काल पछि आफ्नो आमासमक्ष र प्रहरीसमक्ष समेत व्यक्त गरेको र पछि अदालतमा समेत साक्षीसरह सो कुरा व्यक्त गरेको पाइन्छ । घटनाबाट पीडित नावालिकाले घटनाको तत्काल पछि पहिले अनुसन्धान अधिकारीसमक्ष र पछि अदालतमा साक्षी सरह व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा १०(क) र (ख) बमोजिम अदालतले प्रत्यक्ष प्रमाणको रुपमा ग्रहण गर्नुपर्ने हुन्छ । यसका अतिरिक्त अनुसन्धानको क्रममा बुझिएका लक्ष्मी आचार्य, बृन्दा आचार्य, बद्री आचार्य, सीता न्यौपाने, छबिलाल आचार्य र जाहेरवालासमेतले अदालतसमक्ष उपस्थित भै बकपत्र गर्दा पनि पीडितले भनेका घटनासम्बन्धी कुरालाई समर्थन हुने गरी बकपत्र गरेको पाइन्छ ।
६. पीडित संगीता न्यौपाने ८ बर्षकी अति नै कलिलो उमेरकी नाबालिका रहेको भन्ने तथ्यमा विवाद छैन । प्रतिवादी १९ बर्ष उमेर पुगेको युबक रहेको भन्ने निजको बयानबाट देखिंदा निजले जवर्जस्ती करणी गर्ने मनसायले पीडितलाई आक्रमण गर्दा पीडितले प्रतिबाद गर्ने र शरीरमा संघर्षका चिन्हहरू हुने भन्ने अवस्था अत्यन्त न्युन रहन्छ । शरीरमा संघर्षका चिन्ह नदेखिए पनि योनीमा जवर्जस्ती करणी गर्दा लाग्न गएको चोटका चिन्ह प्रष्ट देखिएको तथ्य मिति २०६३।८।२४ को पीडितको शारीरिक जाँच गरी मेडिकल अधिकृतले गरिदिएको जाँचपूर्जाबाट पुष्टि भएको देखिन्छ । पीडितको यौनाङ्गको भित्री र बाहिरी भाग बायाँतर्फ च्यातिएको, भगोष्ठ च्यातिई घाउ भएको, भनी पीडितको शारीरिक जाँच गरी प्रतिवेदन दिने जिल्ला स्वास्थ्य कार्यालय धुन्चे, रसुवाका डा. सौरभ आचार्यले अदालतमा समेत साक्षीसरह बकपत्र गरेको पाइंदा पीडितउपर जवर्जस्ती करणी भएको भन्ने तथ्यमा शंका गर्ने अवस्था देखिंदैन । यसरी मेडिकल रिपोर्टबाट पीडितको योनिमा जवर्जस्ती करणी भएको लक्षण पाइएको अवस्थाबाट प्रतिवादीले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साविती बयान समर्थित भैरहेको देखिन्छ । प्रतिवादी रामहरिले अदालतमा इन्कारी वयान गरेको भएपनि यस्तो तथ्यगत र प्रत्यक्ष प्रमाणलाई खण्डन गर्ने र प्रतिवादीको अदालतसमक्षको इन्कारी बयानलाई पुष्टि गर्ने पर्याप्त प्रमाण तथा आधार र कारण निजले पेश गरेको मिसिलबाट देखिंदैन । अदालतमा प्रतिवादीले गरेको इन्कारी बयान स्वयंमा प्रमाण हुँदैन । प्रतिवादीको इन्कारी बयान तथ्यपूर्ण, बिवादरहित एवं अन्य स्वतन्त्र प्रमाणबाट समर्थित पनि हुनुपर्दछ । प्रतिवादीउपरको अभियोग पीडितको कथनबाट प्रत्यक्ष प्रमाणको रुपमा प्रमाणित हुने अवस्थामा प्रतिवादीले पनि यस्तै प्रत्यक्ष प्रमाणबाट आफ्नो इन्कारी बयानलाई स्थापित र प्रमाणित गराउनु पर्ने हुन्छ । बिवादरहित र आधारभूत स्वतन्त्र प्रमाणबाट प्रतिवादीको इन्कारी बयान समर्थित हुन नसकेको अवस्थामा प्रमाण विनाको इन्कारी बयान मात्र प्रतिवादीलाई सफाइ दिने यथेष्ट आधार बन्न सक्दैन ।
७. अर्कोतर्फ जाहेरवालाले आफ्नै नाबालिका छोरीलाई पीडित बनाएर प्रतिवादीलाई जवर्जस्ती करणी जस्तो जघन्य अपराधमा आधारहीन एवं अकारण फसाउनु पर्ने सम्मको पूर्ब रिसइवी तथा तथ्यगत कारण भएको भनी प्रतिवादीले जिकीर लिएको र सोको मनासिब आधार र यथेष्ट प्रमाणसमेत पेश गरेको मिसिलबाट देखिंदैन । करणी गर्ने व्यक्तिको नाम स्पष्ट रुपमा उल्लेख गरी आफ्नो छोरीलाई जवर्जस्ती करणी गरेको भनी बाबुले जाहेरी दिएको वास्तविक तथ्यलाई अन्यथा प्रमाणित नभएसम्म सामान्य रुपमा लिनु हुदैन । साथै नाबालिकाले यी प्रतिवादीले आफूलाई जवर्जस्ती करणी गरेको थियो भनी घटनाको तत्काल पछि अनुसन्धानको क्रममा प्रहरीसमक्ष र अदालतमा प्रत्यक्ष प्रमाणको रुपमा गरेको बकपत्रलाई केवल प्रतिवादीको प्रमाणरहित इन्कारी बयान मात्रको आधारमा काल्पनिक र बनावटी भनी भन्न मिल्ने हुँदैन ।
८. यसरी जाहेरी दरखास्त, घटनास्थल प्रकृति मुचुल्का तथा पीडितको शारीरिक जाँच गरी दिएको मेडिकल प्रतिवेदन, प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष गरेको साबिती वयान, घटनाबाट पीडित व्यक्तिको वयान, मौकामा कागज गर्नेहरूको भनाई समेतबाट यी प्रतिवादीले संगीता न्यौपानेलाई डर त्रासमा पारी मानिसहरूको सहजै उपस्थिति हुन नसक्ने एकान्तस्थल जंगलमा लगी जवर्जस्ती करणी गरेको तथ्य समर्थित हुन आउँछ । यस अवस्थामा ढिलो जाहेरी परेको भन्दैमा जवर्जस्ती करणीको वारदात स्थापित नहुने भनी भन्न मिल्दैन । यदि यस्तो तर्क गर्ने हो भने शारीरिक रुपमा कमजोर, नाबालिका तथा महिलामाथि हुने यौनजन्य अपराधबाट प्रतिवादीले सहजै उन्मूक्ति पाउन सक्ने सम्भावनाको विकास हुन पुग्दछ । जुन फौजदारी न्याय प्रणालीको लागि नै एउटा प्रमुख चुनौती हुन सक्दछ ।
९. तसर्थ, माथि बिबेचित आधार कारणबाट पुनरावेदक प्रतिवादी रामहरि लामिछानेले बर्ष ८ की नाबालिका संगीता न्यौपानेलाई वारदातको दिन जवर्जस्ती करणी गरेको कुरा निजको प्रहरीसमक्ष भएको साविती वयान, मेडिकल प्रतिवेदन तथा घटनाबाट पीडित व्यक्तिले घटनाको तत्काल पछि व्यक्त गरेको निजको कथन र पछि अदालतमा साक्षीसरह निजले गरेको वकपत्र समेतको आधारभूत ठोस प्रमाणबाट स्थापित भएकाले निज प्रतिवादीलाई जवर्जस्ती करणीको १ नं. को कसूरमा सोही महलको ३ नं. को दफा (१) बमोजिम १२ बर्ष कैद हुने र प्रतिवादीबाट पीडितले रु. १,५०,०००।– जवर्जस्ती करणीको महलको १० नं. बमोजिम क्षतिपूर्तिबापत भराई लिन पाउने समेत ठहर्याएको शुरु रसुवा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गर्ने गरी माननीय न्यायाधीश श्री रणबहादुर वमबाट व्यक्त राय मनासिव हुँदा सो राय सदर हुने ठहर्छ । फैसलाको जानकारी पुनरावेदकलाई एवं महान्यायाधिवक्ताको कार्यालयलाई दिई मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छौं ।
न्या.तर्कराज भटृ
न्या.डा.भरतबहादुर कार्की
इति संवत् २०६८ साल असार २३ गते रोज ५ शुभम्
इजलास अधिकृतः कृष्णमुरारी शिवाकोटी