शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७२४६ - कर्तव्य ज्यान

भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक:

निर्णय नं. ७२४६    ने.का.प.२०६० अङ्क ७.८

 

संयुक्त इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली

सम्बत् २०५९सालको फौ.पु.नं. ..३३०७

फैसला मितिः २०६०।८।२६।६

 

मुद्दाः कर्तव्य ज्यान ।

 

पुनरावेदक

प्रतिवादीः  जिल्ला केलाली दोदोधारा गा.वि.स.वडा नं. ७ घर भै  हाल कारागार शाखा कैलालीमा थुनामा रहेकी लक्षीमा वादि

विरुद्ध

बिपक्षी

वादीः  लालवहादुर वादीको जाहेरीले श्री ५ को सरकार

 

§  अपराध गर्दाको अवस्था र निजले लाश अन्यत्र लगी राख्नु तथा लुगा र घटनास्थलमा लागेको रगतहरु पखाल्ने गरेको कारणवाट निजले आफ्नो अपराध दवाउन छिपाउन खोजेको हो कि भन्नलाई निज प्रतिवादी अदालतमा समेत आफ्नो कसूरमा सावित भई वयान गरेकोले न्यायिक प्रक्रियामा अपराधवाट वच्न खोजेको भन्न मिल्ने स्थिती नदेखिने।

§  प्रतिवादीहरु मागी खाने आर्थिक दुरावस्थाका भएका र ८, ८ जना छोराछोरी हुँदा पनि त्यस्तो मगन्ते परिवारको जीविकाको कुनै फिक्री नगरी विवाह भएको समय २३ बर्ष देखि नै सधै रक्सी खाई झै झगडा कुटपिट गरी रहने, कुनै कमाई धमाई नगरी आफ्नो परिवार प्रतिको कुनै जिम्मेवारी वोध नगर्ने, छोराछोरीलाई समेत विना कारण कुटपिट गरी घरवाट लखेटिदिने एक प्रकारले मानिसको अनुहारमा दानव र पशुतुल्य व्यवहार रहेको लोग्ने सुकुवादीको सधैको उपरोक्त वमोजिमको व्यवहारवाट ८,८ वटा छोरा छोरीकी आमा एक अवला महिला प्रतिवादी लक्षीमा वादीमा मृतक लोग्ने प्रति असाध्यै घृणा उत्पन्न हुनु स्वभाविक देखिन आएको र त्यस्तो दुःखदाई जीवनवाट बिरक्तिई असन्तुलित मनस्थिति रहेको अवस्थामा प्रस्तुत अपराध हुन गएको देखिन आउँदा निज प्रतिवादीले कुनै नियोजित तरिकाले प्रस्तुत अपराध गरेको नदेखिने ।

§  आफ्नो र आफ्नो छोराछोरीलाई जीवन पर्यन्त दुःख दिने गरेवाट त्यस किसिमको मनस्थिति उत्पन्न भै सो अपराध गरेको र निजका ससाना छोराछोरी समेत भएको स्थितिमा निजलाई ऐनले तोके वमोजिम सजाय गर्दा चर्को पर्ने भै अपराध गर्दाको पारीवारिक अवस्था, प्रतिवादीको विरक्तिपूर्ण दुःखदाई जीवन, नावालक छोराछोरी समेत भएको र मागी खाने निम्नस्तरको महिला मनस्थितिलाई समेत विचार गर्दा निज प्रतिवादीलाई ७ बर्ष सम्म कैदको सजाय गर्दा न्यायोचित देखिन आउने ।

(प्र.नं. २४)

 

पुनरावेदक प्रतिवादी तर्फवाटःविद्वान अधिवक्ता श्री यमुना भटृराई

विपक्षी वादी तर्फवाटः

अवलम्वित नजिरः

 

फैसला

            प्र.न्या.केदारनाथ उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :

            २.    परिवार सहित मागी खान भनि जि.कैलाली पन्डौन गा.वि.स. वडा नं. ९ मा गएको मेरो छोरा सुकुवादी को मिति २०५०।११।२१ गते राती मृत्यु भएको भन्ने थाहा पाई घटनास्थल गई हेर्दा निज छोरा सुकुवादीलाई कर्तव्य गरी मारेको शंका लागि आवश्यक कारवाही गरि पाउं भन्ने समेत व्यहोराको जाहेरी ।

            ३.    मृतक सुकुवादीको शरीर सडिगली किरा परेको लासको घाटीमा एकै ठाउँमा २ पटक काटेको, रुद्रघण्टी समेत काटिएको भन्ने घटनास्थल प्रकृति मुचुल्का तथा लास प्रकृति मुचुल्का ।

            ४.    मागी खाने भनी परिवार सहित मेरो घरमा आई बसेका सुकुवादीले मदिरा सेवन गरी झगडा भएवाट निजको श्रीमती लक्षीमा वादीले मिति २०५७।११।२१ गते राती सकुवादीलाई हसियाले काटी मारेकी र लास बोकी लगेको समेत देखेकी हुं भन्ने श्रीमती जितेनी कामी र कौशिला कामी समेतले मौकामा गरेको वयान कागज ।

            ५.    गगने कामीको मुलढोका भित्रपट्टी फलामे हसिया र पाली वरन्डामा फलामे फोरुवा समेत वरामद भएको भन्ने वरामदी मुचुल्का ।

६.    मेरो लोग्ने सुकु वादी सधै जाँड रक्सी खाई झगडा गरी रहने र मिति ०५७।११।२१ गते राती पनि झगडा गरी मलाई कुटपिट पनि गरेकोले राती सुतेको अवस्थामा धारिलो हतियार प्रयोग गरी मारेको हुं । यसमा अरु कसैको संलग्नता छैन भन्ने समेत व्यहोराको अभियुक्त लाक्षीमा वादीको साविति वयान ।

            ७.    मिति २०५७।११।२१ गते सांझ वावु आमाको झगडा हुंदा म समेतलाई कुटपिट गर्दा आमा लक्षीमा र म समेत भागी दुर्गाकुमारी कामीको घरमा गई सुतेका र मिति २०५७।११।२२ गते बिहान मृतक वुवा सुकुवादीको लास देखेको हुं सधै जाँड रक्सी खाई झगडा गरिरहने हुंदा वुवालाई आमा लक्षीमा वादीले नै काटी मारेको हुनुपर्दछ भन्ने समेत व्यहोराको मृतकको छोरा घनश्याम वादी र हर्कवहादुर वादीको करीव एकै मिलानका कागज ।

            ८.    मिति २०५७।११।२१ गते सुकुवादीलाई कस्ले कर्तव्य गरी मारेको हो भन्ने वार्ड अध्यक्ष उद्धववहादुर खडका समेतले खवर पठाएकोले सुनि थाहा पाएको हुं लक्षीमा वादीले मलाई भनेकी होइनन् भन्ने कृष्णवहादुर वुचा मगरको कागज ।

            ९.    वरामद भएको फोेरुवा देखाउंदा देखे चिने उक्त फोरुवा मेरो हो घटनाका दिन बारीमा थिए भन्ने श्रीमती कौशिला कामीको सनाखत कागज ।

            १०.    मिति २०५७।११।२२ गते विहान वाटो छेउमा मृतक सुकुवादीको लास देखेकी हुं अपरिचित व्यक्तिले कर्तव्य गरी मारेको र मेरो इज्जत लुटि गए पनि श्रीमती लक्षीमा वादीले भनेकी हुन् । अन्य केहि थाहा छैन भन्ने समेत व्यहोराको श्रीमती दुपता पुन मगर,नर वहाादुर घर्ति मगर र वार्ड अध्यक्ष उद्धववहादुर खडका समेतको कागज ।

            ११.    मेरो घरमा आई बसेको वादीले मिति २०५७।११।२१ गते सांझ श्रीमती र छोरा छोरी समेत संग झगडा गरेको थाहा पाएको हुं श्रीमती लक्षीमा वादीले आफ्नो श्रीमानलाई कर्तव्य गरी मार्दाका अवस्थामा म सुतिसकेकोले थाहा पाइन वारदात मेरो घर आगनमा भएको र लक्षीमाले आफ्नो लोग्नेलाई मारेको कुरा पनि सुनेको हुं भन्ने समेत व्यहोराको गगने कामी र राती वारदात भएको थाहा पाइन ०५७।११।२२ गते बिहान घटनास्थलमा सुकुवादीको लाश देखेकी हुं लक्षीमा वादीले नै काटी मारेको हुनुपर्छ भन्ने श्रीमती दुर्गा कुमारी खाते कामि समेतको कागज ।

            १२.   हसिया देखाउंदा चिने उक्त हसिया मेरो हो हसिया मेरो घासको भारीमा थियो भन्ने समेत व्यहोराको श्रीमती दुर्गा कुमारी खाते कामीको  कागज ।

            १३.   मिति २०५७।११।२२ गते बिहान सुकुवादीको लास देखेका  हौं सोद्धा अपरिचित व्यक्तिले कर्तव्य गरी मारेका हुन भनेतापनि वारदात हुंदा कौशिल्या कामी समेतले देखिकी रहिछन निज लक्षीमा वादीले नै कर्तव्य गरी मारेकी हुनुपर्छ भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्काका मानिसहरुको भनाइ ।

            १४.   मिति २०५७।११।२१ गते राती सुकुवादी सुति निदाएको मौकामा निजको श्रीमती लक्षीमा  वादीले धारिलो हतियार प्रयोग गरी कर्तव्य गरी मारेकोले मुलुकी ऐन ज्यान सम्बन्धीको १ नम्वरमा परिभाषित कसूर अपराध गरेकाले निजलाई सोही ऐनको १३(१) नं.वमोजिम सजाय गरी पाउं भन्ने व्यहोराको अभियोग दावी ।

१५.   २०५७।११।२१ गतेको सांझ मृतक रक्सी खाई मलाई कुटपिट गर्न लागे मेरो कपडाको पोको वनाई जलाई दिन्छु भनि काखिमा च्यापी राखेको राती निज मृतकले नसाको सुरमा सुतेपछि सो ठाउँ भन्दा केहि पर नाम थाहा नभएको मानिसको घरवाट  हसिया खोजी मृतक सुतेको ठाउमा गई घाटीमा एक चोट हानेपछि श्वास र भोजन नली काटीन गै निजको मृत्यु भएको हो । अरु कसैको सहयोग छैन भन्ने समेत व्यहोराको लक्षीमा वादीले कैलाली जिल्ला अदालतमा गरेको वयान ।

            १६. मेरो श्रीमानलाई माओवादीहरुले हत्या गरी मारे सतगत गर्न आउनुप¥यो भनि पत्र लेखि पठाएपछि म उक्त स्थल पुगेको हुं, पुगेपछि प्रतिवादीलाई प्रहरीले पक्राउ गरी लगेका हुन । प्रतिवादी प्रहरी समक्ष वयानमा आफैले सुकुवादीलाई कर्तव्य गरी मारेको हुं भनेकि हुंदा निजले नै मारेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको जाहेरवालाले कैलाली जिल्ला अदालतमा गरेको वकपत्र ।

            १७.   अपराध हुंदा प्रयोग गरेको हसिया वरामद भै सनाखत भएको, मौकामा वुझिएका मानिसहरुको लेखाई समेतका आधार प्रमाणवाट प्र.ले आफ्नो लोग्नेलाई कर्तव्य गरी मारेको देखिंदा निजलाई अभियोग दावि अनुसार सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । घटनाको विवरण मार्नुपर्ने कारण पारीवारिक स्थिति एवं प्रतिवादीको इजलास समक्ष व्यक्त गरिएको भावना, साथमा रहेको २ बर्षे वालक समेतलाई दृष्टिगत गर्दा सर्वश्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्ने देखिंदा निजलाई १२ बर्ष कैदको सजाय भएमा पनि कानूनको मकसद पुरा हुने चित्तमा लागेकाले अ.वं. १८८ नं. अनुसार हुनुपर्ने राय साथ १८६ नं. वमोजिमको मिति २०५८।३।२० को कैलाली जिल्ला अदालतको साधक जाहेरी फैसला ।

            १८.   प्रस्तुत घटना घट्दा मनसाय र तयारी समेतको अभाव देखिन्छ भने अर्को तर्फ प्रतिवादीले अदालतमा वयान गर्दा मृतकको व्यवहारवाट अतिनै पीडित भई वैराग्य लागि घटना घटाएकी हुं भनेवाट प्रतिवादीलाई अपंतिरोधात्मक आवेग उत्पन्न भै मानसिक सन्तुलन मानवीय नियन्त्रण भन्दा वाहिर गै भएको अवस्थामा यदि यहां सानो पनि अवरोध भएको भए घटना नै नघटने अवस्था छ, तसर्थ प्रस्तुत मुद्दामा १४ नंं आकर्षित हुने भएकोले सोही वमोजिम गरी न्याय दिलाई शुरु फैसला वदर उल्टी गरि पाऊ भन्ने समेत व्यहोराको मिति २०५८।६।११ मा लक्षीमा वादीको पुनरावेदन दिपायलमा परेको पुनरावेदन पत्र ।

            १९.    मृतक सुकुवादीको लाश प्रकृति मुचुल्का हेर्दा मृतकको घाँटी अगाडि रुद«घण्टी सम्म काटिएको, एक ठाउंमा २ वटा चोट हानेको घाउ समेत भएको उल्लेख भएको, मिसिल साथरहेको मृतक लाशको फोटो समेतका आधारवाट मृतकको मृत्यु कर्तव्यवाट भएको कुरामा कुनै विवाद  देखिंदैन ।

            २०.   उक्त कर्तव्य प्रतिवादी लक्षीमा वादीवाट भएको हो होइन भनि हेर्दा अनुसन्धान अधिकारी समक्ष भएको वयानमा निज मृतक लोग्नेलाई आफैले धारिलो हंसियाले हिर्काई मृत्यु भएको भनी वयान गरेकी र सो कुरा अदालतमा समेत स्वीकारेको देखिन्छ । निजको सो वयान लाश प्रकृति मुचुल्का मिसिल साथ रहेका मृतक सुकुवादीको फोटो समेतवाट समर्थन हुन आएकोले निज प्रतिवादी लक्षीमा वादीलाई शुरु कैलाली जिल्ला अदालतवाट ज्यान सम्बन्धीको १३(१) नं. वमोजिम सजाय गर्ने गरी भएको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ ।

            २१.   शुरु कैलाली जिल्ला अदालतवाट अ.वं. १८८ नं. वमोजिमको रायतर्फ विचार गर्दा मृतक अत्यधिक मादक पदार्थ सेवन गरी अचेत भै सुतेको अवस्थामा निज प्रतिवादीले ज्यान  मार्ने सम्मको योजना वनाई कु्रर तरिकाले धारिलो हतियारले काटी मारी सो अपराध देखिने प्रमाण समेत लुकाउने प्रयास गरेको देखिएको अवस्थामा अ.वं. १८८ नं. वमोजिम कम सजाय गर्ने गरी व्यक्त गरेको जिल्ला अदालतको राय वदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत दिपायलको ०५८।९।२२ को फैसला ।

            २२.   कर्तव्य ज्यान जस्तो गम्भीर प्रकृतिको मुद्दामा कसूरदार कायम गर्न शंकारहित तवरवाट पुष्टि हुनुपर्ने हुन्छ । प्रस्तुत मुद्दाको शंकास्पद जाहेरी लाश सडी गली शव परीक्षण हुन नसकेको अवस्था, प्रकृति र अन्य तथ्यगत कुराहरु नै नखुलेको स्थितिमा मृतकको घाटी काटिएको देखिएवाट मृतक सुकवादीको मृत्यु कर्तव्यवाट नै भएको हो भनी पुनरावेदन अदालत दिपायलले लिएको आधार काल्पनिक छ । फौज्दारी मुद्दामा प्रतिवादीको साविती मात्र न्याय निरोपणको आधार हुन सक्दैन । प्रमाण ऐन २०३१ को दफा १८ वमोजिम तहकिकात वा जांचवुझको सिलसिलामा तयार भएको लिखतमा उल्लेख भएको कुनै कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रुपमा अदालतमा उपस्थित भै वयान गरेमा मात्र प्रमाणमा लिन मिल्ने हुन्छ । यसरी उपरोक्त वमोजिमका तथ्य र आधारको उचित मूल्याङ्ककन र विश्लेषण गरी भएको फैसला त्रुटीपूर्ण छ । वदर गरी पाउं भन्ने प्रतिवादी लक्षीमा वादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

२२.   नियम वमोजिम पेश भएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको शुरु मिसिल अध्ययन गरी पुनरावेदक लक्षीमा वादीका तर्फवाट विद्वान अधिवक्ता यमुना भट्टराईको वहस समेत सुनी पुनरावेदन अदालत दिपायलको निर्णय मिलेको छ, छैन भन्ने प्रश्नतर्फ विचार गर्दा प्रतिवादी स्वयंले निजको लोग्ने मृतक सुकवादी सधै जाँड रक्सी खाई घरमा आउने, झगडा र कुटपिट गर्ने गरी आफ्ना छोराछोरी समेतलाई घरवाट लखेट्ने गरेको कारणवाट प्रतिवादी पिडित भएको, र वारदातको राती समेत निज मृतक सुकवादीले रक्सी खाई झै झगडा गरेकोले छिमेकीको घरमा सुत्न गएकोमा राती आई आफ्नो घरवाहिर सुतेको लोग्नेलाई हँसियाले काटी मारेको कुरामा अदालतमा समेत सावित भै वयान गरेको देखिन आउंछ । उक्त साविती लाश जाँच मुचुल्कावाट समेत समर्थित भएको देखिन आउंछ । निजका छोराहरुले वावु सधैं रक्सी खाई झगडा गर्ने, कुटपिट गर्ने गरेको तथ्यलाई समर्थन गरी लेखाई दिएको र सो तथ्यलाई जितिनी कामी समेतको प्रहरीमा भएको कागज समेतवाट पुष्टि भएको अवस्थामा प्रतिवादी लक्षीमा वादीलाई ज्यान सम्बन्धीको १३(१) वमोजिम सजाय गर्ने गरेको इन्साफ मिलेकै देखिन आउंछ ।

            २४.   शुरु कैलाली जिल्ला अदालतले कानून वमोजिम सजाय गर्दा चर्को पर्ने भनी लगाएको अ.वं. १८८ नं. रायको हकमा पुनरावेदन अदालत दिपायलवाट पतिको हत्या गरी लाश लुकाएको भनि सो रायलाई समर्थन नगरेको सम्बन्धमा विचार गर्दा पुनरावेदन अदालतको रायमा उल्लेख भए वमोजिम मृतकको लाश कतै खाल्टो खनी लुकाएको भन्ने नदेखिई रुखको फेदमा लगेर राखेको सम्म देखिन आउंछ । अपराध गर्दाको अवस्था र निजले लाश अन्यत्र लगी त्यसप्रकार राख्नु तथा लुगा र घटनास्थलमा लागेको रगतहरु पखाल्ने गरेको कारणवाट निजले आफ्नो अपराध दवाउन छिपाउन खोजेको हो कि भन्नलाई निज प्रतिवादी अदालतमा समेत आफ्नो कसूरमा सावित भई वयान गरेकोले न्यायिक प्रक्रियामा पुनरावेदन अदालत दिपायलको रायमा उल्लेख भए झै अपराधवाट वच्न खोजेको भन्न मिल्ने स्थिती देखिएन । प्रतिवादीहरु मागी खाने आर्थिक दुरावस्थाका भएका र ८, ८ जना छोराछोरी हुँदा पनि त्यस्तो मगन्ते परिवारको जीविकाको कुनै फिक्री नगरी विवाह भएको समय २३ बर्ष देखि नै सधै रक्सी खाई झै झगडा कुटपिट गरी रहने, कुनै कमाई धमाई नगरी आफ्नो परिवार प्रतिको कुनै जिम्मेवारी वोध नगर्ने, छोराछोरीलाई समेत विना कारण कुटपिट गरी घरवाट लखेटिदिने एक प्रकारले मानिसको अनुहारमा दानव र पशुतुल्य व्यवहार रहेको लोग्ने सुकुवादीको सधैको उपरोक्त वमोजिमको व्यवहारवाट ८,८ वटा छोरा छोरीकी आमा एक अवला महिला प्रतिवादी लक्षीमा वादीमा मृतक लोग्ने प्रति असाध्यै घृणा उत्पन्न हुनु स्वभाविक देखिन आएको र त्यस्तो दुःखदाई जीवनवाट बिरक्तिई असन्तुलित मनस्थिति रहेको अवस्थामा प्रस्तुत अपराध हुन गएको देखिन आउछ निज प्रतिवादीले कुनै नियोजित तरिकाले प्रस्तुत अपराध गरेको भन्ने नदेखिई आफ्नो र आफ्नो छोराछोरीलाई जीवन पर्यन्त दुःख दिने गरेवाट त्यस किसिमको मनस्थिति उत्पन्न भै सो अपराध गरेको र निजका ससाना छोराछोरी समेत भएको स्थितिमा निजलाई ऐनले तोके वमोजिम सजाय गर्दा चर्को पर्ने भै अपराध गर्दाको पारीवारिक अवस्था, प्रतिवादीको विरक्तिपूर्ण दुःखदाई जीवन, नावालक छोराछोरी समेत भएको र मागी खाने निम्न स्तरको महिला मनस्थितिलाई समेत विचार गर्दा निज प्रतिवादीलाई ७ बर्ष सम्म कैदको सजाय गर्दा न्यायोचित देखिन आउने हुंदा अ.वं. १८८ नं. वमोजिम निज प्रतिवादी लक्षीमा वादीलाई ७ बर्ष कैद हुने ठहर्छ । अरुमा तपसिल वमोजिम गर्नु ।

 

तपसिल

माथी ठहर खण्डमा उल्लेख भए वमोजिम प्रतिवादी लक्षीमा वादीलाई ज्यान सम्बन्धीको १३(१) बमोजिम सजाय हुने ठहरी अ.वं. १८८ नं. वमोजिम ७ बर्ष कैद हुने ठहरेकोले पुनरावेदन अदालत दिपायलको फैसला वमोजिमको लगत कट्टा गरी शुरु कैलाली जिल्ला अदालतको मिति ०५८।३।२० को फैसलाको तपसिल १ अनुसार राखिएको लगतमा सो व्यहोरा जनाई निज प्रतिवादी लक्षीमा वादी ०५७।११।२८ देखि थुनामा रहेको देखिंदा सो मितिवाट ७ बर्षको कैद ठेकी असुल गर्नु भनि शुरु कैलाली जिल्ला अदालतमा लेखि पठाई दिनु ........   १

कैलाली जिल्ला अदालतको फैसला वमोजिम प्रतिवादीको अंश सर्वश्व गर्नु नपर्ने भएकाले सो अनुसार राखिएको  लगत कट्टा गर्न सो अदालतमा लेखि पठाईदिनु ... १

यो फैसलाको जानकारी प्रतिवादी लक्षीमा वादीलाई दिई मिसिल नियमानुसार गरी बुझाई दिनु ..........

                                               

उक्त रायमा म सहमत छु ।

 

न्या.चन्द्रप्रसाद पराजुली

 

इति सम्बत्  २०६० साल मंसिर २६ गते रोज ६ शुभम्

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु