शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७२४८ - लिखत वदर

भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक:

निर्णय नं.७२४८     ने.का.प.२०६० अङ्क ७.८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी

संवत् २०५७ सालको दे.पु.नं. ...६९७०

फैसला मितिः२०६०।५।२५।५

 

मुद्दाः लिखत वदर ।

 

पुनरावेदक

प्रतिवादीः भ.पु.जि. चित्तपोल गा.वि.स.वडा नं.१ वस्ने सीता थापा

विरुद्ध

विपक्षी

वादी  : ऐ.ऐ. वस्ने नरेन्द्रवहादुर थापा समेत

 

§  दाता तोरणवहादुर थापाले प्रतिवादी सीता थापालाई ०५१।१०।१३ मा राजिनामा गरि दिएको विवादित सम्पत्ति पैत्रिक होइन भन्ने र तोरणवहादुर थापाले आफुखुस गर्न पाउने स्वआर्जनको सम्पत्ति हो भन्ने कुराको मिसिल संलग्न कागजातवाट पुष्टि समर्थन हुन नआएकोले र सगोलको त्यस्तो पैत्रिक सम्पत्ति सीता थापालाई राजिनामा गरि दिंदा निज तोरणवहादुर थापाले अन्य अंशियारहरुको मन्जुरी लिएको भन्ने कुरा पनि देखिन नआएकोले उक्त सम्पत्ति घर व्यवहार चलाउन विक्री गरेको उल्लेख गरेको भएता पनि के कस्तो घर व्यवहार चलाउनका लागि सो सम्पत्ति विक्रि गर्नु परेको हो भन्ने जस्ता मुलभूत कुराहरुको पुष्टि समर्थन हुन नसकिरहेकोले दाता तोरणवहादुरवाट पुनरावेदिका सीता थापाले राजिनामा गराई लिएको जग्गाको लिखतवदर नहुने भन्न मिल्ने स्थिति नदेखिने ।

(प्र.नं. ९)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः

विपक्षी वादी तर्फवाटः

अवलम्वित नजिरः

 

फैसला

            न्या.मीनबहादुर रायमाझीः पुनरावेदन अदालत, पाटनको मिति ०५४।११।२९ को फैसला उपर प्रतिवादी सीता थापाको मुद्दा दोहोर्याई हेरी पाउन यस अदालतमा निवेदन परी यस अदालतवाट मिति ०५७।२।३ मा निस्सा प्रदान भै पुनरावेदनको लगतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं फैसला यसप्रकार छ ।

            २.    हामी वादी प्रतिवादीहरु वीच हाल सम्म रीतपूर्वक अंशवण्डा भएको छैन । हामी समेतको अंश हक लाग्ने भ.पु.जि. चित्तपोल गा.वि.स. वडा नं. १(ग) कि.नं. ७३६ क्षे.फ. १(०(०, ऐ.ऐ. कि.नं. ७२८ क्षे.फ. ०(३(० र ऐ.ऐ. कि.नं. ८५४ क्षे.फ. ०(६(२ समेतका तीन कित्ता जग्गा हामीलाई थाहा पत्तै नदिई मन्जुरी वेगर तोरणवहादुरले आफ्नी मन परेकी वुहारी सिता थापालाई मिति २०५०।१०।१३ का दिन राजिनामा लेखी मा.पो.का. भक्तपुरवाट र .नं. २९५० को लिखत गरि दिएको कुरा मिति २०५१।८।५ मा थाहा भएको । उक्त तिन कित्ता जग्गाको मिति २०५०।१०।१३ मा भएको लिखत मध्ये हामीहरुको हकमा कित्तै पिच्छे पाँच खण्डमा तीन खण्ड लिखत वदर गरी पाउँ भन्ने मिति २०५१।८।१५ को चिनिमैया थापा, लक्ष्मी थापा, तथा नरेन्द्रवहादुर थापाको संयुक्त फिरादपत्र ।

            ३.    घर गृहस्थी र व्यवहार समेत चल्न नसक्ने भई वाध्य भएर व्यवहार चलाउन दर्ता भएको उक्त जग्गा राजिनामा पारित गरी लिनु दिनु गरेको   हो । जस अनुरुप पिता पिुर्खाका पालाको सम्पत्ति मध्ये अचल सम्पत्तिमा आधासम्म कसैको मन्जुरी वेगर आफूखुस गर्न पाउने छ। आफूखुस गर्न पाउने सम्पत्ति मध्येवाटै मैले प्र. मध्येकी सीतालाई राजिनामा पारित गरी दिएको लिखत वदर हुन नसक्ने हुंदा दावि खारेज गरी पाउँ भन्ने समेत व्यहोराको तोरणवहादुर थापा र सीता थापा समेत जना २ को संयुक्त प्रतिउत्तर पत्र ।

            ४.    वादीको माग दावी वमोजिम ५ भागको ३ भाग लिखत वदर हुने ठहर्छ भन्ने भक्तपुर जिल्ला अदालतको मिति २०५२।३।२०।३ को फैसला ।

            ५.    ५ खण्डको ३ खण्ड लिखत वदर हुने भनि भ.पु.जि.अ.वाट भएको फैसला वदर गरी लिखत वदर नहुने ठहर गरी पाउ भन्ने समेत व्यहोराको सिता थापाको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।

            ६.    यिनै पक्ष विपक्ष भएको अंश दपोट हक कायम मुद्दामा आज यसै इजलासवाट झगडिया झिकाउने आदेश भएकोले प्रस्तुत मुद्दामा पनि अ.वं. २०२ नं. वमोजिम झगडिया झिकाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने २०५४।८।१८।४ को पुनरावेदन अदालत, पाटनको आदेश ।

            ७.    घर व्यवहार चलाउन भन्नेले के कस्तो प्रकारको घर व्यवहार हो सो समेत खुलाउन नसकेको हुँदा प्रतिवादीको जिकिर संग सहमत हुन सकिएन । वादीको माग दावी वमोजिम ५ भागको ३ भाग लिखतवदर हुने ठहराएको शुरु भक्तपुर जिल्ला अदालतको मिति २०५२।२।२०।३ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको २०५४।११।२९।६ को पुनरावेदन अदालत, पाटनको फैसला ।

            ८.    नियम वमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी प्रस्तुत मुद्दामा पुनरावेदन अदालतपाटनवाट  मिति ०५४।११।२९  मा  भएको फैसला मिले नमिलेको के रहेछ ? सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।

            ९.    यसमा वण्डा नभएको हामी सवैको हक लाग्ने कि.नं. ७३६, ७२८ र ८५४ समेतका ३ कित्ता जग्गा हामीलाई थाहा जानकारी नदिई र मन्जुरी समेत नलिई तोरणवहादुरले सीता थापालाई ०५०।१०।१३ का दिन राजिनामा गरि दिएको कुरा ०५१।८।५ मा थाहा भएकोले ०५०।१०।१३ मा भएको लिखत मध्ये कित्तैपिच्छे ५ खण्डको ३ खण्ड लिखत वदर गरी पाउँ भन्ने समेत वादीहरुको शुरु फिराद दावी जिकीर र घर व्यवहार चलाउनलाई उक्त जग्गा राजिनामा गरिदिएको हो । पिता पुर्खाको पालाको सम्पत्ति मध्ये आधासम्म मन्जुरी वेगर आफुखुस गर्न पाउने हुन्छ । तसर्थ, आफुखुस गर्न पाउने सम्पत्ति मध्येवाटै सीता थापालाई राजिनामा गरि दिएकोले लिखत वदर हुनु पर्ने होइन भन्ने समेत प्रतिउत्तर जिकीर भएकोमा शुरु भक्तपुर जिल्ला अदालतले वादि दावी वमोजिम ५ भागको ३ भाग लिखत वदर हुने ठहर गरी गरेको फैसला उपर प्रतिवादी सीता थापाको पुनरावेदन अदालत पाटनमा पुनरावेदन परेकोमा पुनरावेदन अदालत, पाटनले वादि दावी वमोजिम लिखत वदर हुने ठहर गरी मिति ०५४।११।२९ मा भएको फैसला उपर प्रतिवादी सीता थापाको मुद्दा दोहोर्याई हेरी पाउँ भनी यस अदालतमा निवेदनपरी यस अदालतवाट मिति ०५७।२।३ मा मुद्दा दोहोर्याई हेर्नका लागि निस्सा प्रदान भै पुनरावेदनको लगतमा दायर हुन आएको प्रस्तुत मुद्दामा निर्णयतर्फ बिचार गर्दा  दाता तोरणवहादुर थापाले प्रतिवादी सीता थापालाई ०५१।१०।१३ मा राजिनामा गरि दिएको विवादित सम्पत्ति पैत्रिक होइन भन्ने र तोरणवहादुर थापाले आफुखुस गर्न पाउने स्वआर्जनको सम्पत्ति हो भन्ने कुराको मिसिल संलग्न कागजातवाट पुष्टि समर्थन हुन नआएकोले र सगोलको त्यस्तो पैत्रिक सम्पत्ति सीता थापालाई राजिनामा गरि दिंदा निज तोरणवहादुर थापाले अन्य अंशियारहरुको मन्जुरी लिएको भन्ने कुरा पनि देखिन नआएकोले र उक्त सम्पत्ति घर व्यवहार चलाउन विक्री गरेको उल्लेख गरेको भएता पनि के कस्तो घर व्यवहार चलाउनका लागि सो सम्पत्ति विक्रि गर्नु परेको हो भन्ने जस्ता मुलभूत कुराहरुको पुष्टि समर्थन हुन नसकिरहेकोले दाता तोरणवहादुरवाट पुनरावेदिका सीता थापाले राजिनामा गराई लिएको जग्गाको लिखतवदर नहुने भन्न मिल्ने स्थिति देखिएन । तसर्थः विवादित जग्गाको ५ भागको ३ भाग लिखत वदर हुने ठहर गरेको पुनरावेदन अदालत, पाटनको मिति ०५४।११।२९ को फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ । पुनरावेदक प्रतिवादी सीता थापाको पुनरावेदन जिकीर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गोविन्दबहादुर श्रेष्ठ

 

इतिसंवत् २०६० साल भाद्र २५ गते रोज ५ शुभम .......................................

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु