शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७२५७ - उत्प्रेषण समेत

भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक:

निर्णय नं. ७२५७    ने.का.प.२०६० अङ्क ७.८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री वलिराम कुमार

सम्वत् २०५८ सालको रिट नं. २६७५

आदेश मितिः २०६०।७।४।३

 

विषयः उत्प्रेषण समेत ।

 

निवेदकः काठमाडौ जिल्ला काठमाडौं म.न.पा.वडा नं. ३ वालुवाटार वस्ने भवानी देवी भट्टराई

विरुद्ध

विपक्षीः भूमिसुधार कार्यालय बानेश्वर काठमाडौ समेत

 

§  तामेली व्यहोरामा पटक पटक वुझाउन जाँदा वुझी नलिएको भन्ने उल्लेख भएकोमा टाँस गर्दा घरमा जेठानीहरु मात्र भएको निजी घर नरहे नभएको भन्ने उल्लेख गरेको देखिन्छ । तर निज जग्गाधनीको वतन काठमाडौं महानगरपालिका वा.नं. ३ वालुवाटार रहे भएको भन्ने निज ज.ध. निवेदिकाकै निवेदनवाट दोखिन आउँछ । यसरी फरक ठेगानामा विवादास्पद तवरले लेखिएको तामेली व्यहोरालाई रितपूर्वक म्याद तामेल गरे भएको भन्न नमिली प्रत्यर्थिको जग्गा वाँडफाँडको सम्वन्धमा कानून बमोजिम सूचना दिई उचित सुनुवाईको मौका दिइएको भन्न मिल्ने नदेखिने ।

§  जग्गाधनीको जग्गा वाँडफाँड गर्नु पूर्व निजको कानून बमोजिम सुनुवाईनै नगरी प्राकृतिक न्यायको सिद्धान्त विपरीत जग्गा वाँडफाँड गर्ने गरेको प्रत्यर्थी भूमिसुधार कार्यालय काठमाडौको मिति ०५६।६।११ को निर्णय त्रुटीपूर्ण देखिंदा उक्त निर्णय सो हदसम्म उत्प्रेषणको आदेशद्वारा वदर हुने ।                     

(प्र.नं. ७)

 

निवेदक तर्फवाटः

विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री महेन्द्रवहादुर कार्की

अवलम्वित नजिरः

 

आदेश

            न्या.वलिरामकुमारः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत यस अदालतमा पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार रहेको  छ ।

            २.    का.जि.कपन गा.वि.स.वा.नं. ६ (क) कि.नं. १३९ को क्षेत्रफल १० र कि.नं. १०४ को क्षे.फ. १२ जग्गा मेरो निर्विवाद हक स्वामित्वको भएकोमा विपक्षी सेन विक्रम खड्काको निवेदन माग बमोजिम विपक्षी भूमिसुधार कार्यालयले मेरो दुवै कित्ताको दक्षिण तर्फ आधा जग्गा जग्गाधनीलाई र उत्तर तर्फ आधा जग्गा मोहीलाई कायम हुने गरी जग्गा बाँडफाँड गरी दिने र भूमि सम्वन्धी ऐन २०२१ को दफा २६ (६) १,,३ बमोजिम वाँडफाँड भएको जग्गा ज.ध. मोहीका नाउँमा दा.खा. गरी मोही लगत कट्टा गरी दिने भनी सम्वन्धित मा.पो.का. चावहिलमा र लगत शाखालाई जानकारी पठाई दिने ठहर्छ भनी ०५६।६।११ मा निर्णय भएको नक्कल सारी थाहा पाएं। विपक्षीहरुको निर्णय भूमि सम्वन्धी ऐनको व्यवस्था र नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१) एवं १७ द्वारा प्रत्याभूत हक मा गम्भीर आघात पुगेको हुँदा भु.सु.का. काठमाडौंको २०५६।६।११ को निर्णय उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको निवेदन पत्र ।

            ३.    यस्मा के कसो भएको हो निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश प्राप्त भएको मितिले वाटाको म्याद वाहेक १५ दिन भित्र लिखित जवाफ पेश गर्नु भनी विपक्षीहरुका नाउँमा म्याद जारी गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति ०५८।४।१६ को आदेश ।

            ४.    भूमिसुधार कार्यालय काठमाडौवाट मिति २०५६।६।११ को निर्णयानुसार लेखि आए बमोजिम कि.नं. ३५३ र ३५५ जग्गा धनीका नाउंमा र ३५२ र ३५४ मोहीका नाउँमा कायम भै ३५२ र ३५४ कृषि विकास वैंक चावहिलको च.नं. ८५६ मिति ०५७।१।१२ को पत्रले रोक्का रहेको हुंदा रिट निवेदन खारेज गरी पाउं भन्ने समेत व्यहोराको मालपोत कार्यालय चावहिलको लिखित जवाफ ।

            ५.    नापी शाखाको फिल्डवुक, जग्गाधनी दर्ता श्रेस्ता, गा.वि.स.को सिफारिश, मोही सेन विक्रम खड्काको निवेदन माग जग्गाधनीहरुका नाउंमा जारी भएको म्यादमा उपस्थित भै कुनै प्रश्न नउठाएका समेत आधारमा जग्गा बाँडफाँड भएको हो । रिट निवेदन निरर्थक छ भन्ने समेत व्यहोराको विपक्षी भूमिसुधार कार्यालय काठमाडौको लिखित जवाफ ।

            ६.    नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदन समेतको मिसिल कागजात अध्ययन गरी प्रत्यार्थी कार्यालयहरुको तर्फवाट विद्वान उपन्यायाधिवक्ता श्री महेन्द्रवहादुर कार्कीले गर्नु भएको वहस समेत सुनी यस्मा निवेदन माग बमोजिमको आदेश जारी हुने हो होइन भनी निर्णय दिनुपर्ने हुन आयो ।

            ७.    निर्णयतर्फ विचार गर्दा जि.काठमाडौं कपन गा.वि.स.वा.नं. ६ कि.नं. १३९ तथा कि.नं. १०४ को जग्गा मोही नै नभएको व्यक्तिलाई म जग्गाधनीलाई कुनै जानकारीनै नदिई आधा आधा वाँडफाँड गरी कित्ताकाट गरी मोहीका नाउंमा दा.खा. नामसारी हुने समेत गरेको विपक्षीहरुको निर्णय उत्प्रेषणको आदेशद्वारा वदर गरी जो चाहिने आज्ञा आदेश समेत जारी गरी पाउँ भन्ने नै निवेदन माग दावी रहेकोमा नापी फिल्डवुक, जग्गाधनी दर्ता श्रेस्ता, गा.वि.स.को सिफारिश तथा कार्यालयवाट जग्गाधनीका नाउँमा जारी भएको म्यादमा हाजिर भै कुनै प्रतिवाद गर्न नसकेको समेत आधारमा जग्गा वाँडफाँड गरे गराएको हो भन्ने प्रत्यर्थिहरुको लिखित जवाफ रहेको पाइयो । यस्मा प्रत्यार्थी सेन विक्रम खड्काले भूमिसुधार कार्यालयमा आफुले जोतभोग गर्दै आएको आप्mनो मोही हक भएको जग्गा जग्गाधनीले वाँडफाँड गर्न नमानेकाले वाँडफाँड गरी मोही लगत कट्टा गरी पाउं भनी विभिन्न जग्गाहरुका जग्गा धनीहरुलाई विपक्षी वनाई मिति ०५४।१२।९ मा निवेदन दिई सोही मितिमा सनाखत समेत गरी दिएको र निजको निवेदन बमोजिम कारवाही हुंदा जग्गाधनी मध्येका यी निवेदिका भवानी देवी पौडेलका नाउंमा २०५५।२।१५ मा जारी भएको म्याद निज निवेदक सेन विक्रम खड्काले आप्mनो दर्खास्तमा देखाएको घर ठेगाना का.म.न.पा.वा.नं. ४ वालुवाटारमा मिति २०५५।७।१३ मा तामेल गर्दा तामेली व्यहोरामा पटकपटक गै सम्पर्क गर्दा निज भवानी उपाध्यायले बुझी नलिएका,े साविक घरमा निजका जेठानीहरु मात्र बसोबास गरी रहेको र घर ढोकामा टाँस गर्नलाई निजको निजी घर नभएकोभन्ने व्यहोरा उल्लेख गरी ४ नं. वडा समितिको सूचना पाटीमा १ प्रति टाँस गरेको देखिन्छ । तर साक्षी तथा रोहवरमा वस्ने व्यक्तिहरु के कुन नगर वा गा.वि.स.को रहे भएको भन्ने स्पष्ट खुलाउन सकेको नदेखिनुका साथै काम तामेल गर्ने व्यक्ति के कुन कार्यालय र कुन दर्जाका कर्मचारी हुन सो समेत स्पष्ट उल्लेख गरेको पाइएन । तामेली व्यहोरामा पटक पटक वुझाउन जाँदा वुझी नलिएको भन्ने उल्लेख भएकोमा टाँस गर्दा घरमा जेठानीहरु मात्र भएको निजी घर नरहे नभएको भन्ने उल्लेख गरेको देखिन्छ । तर निज जग्गाधनीको वतन काठमाडौं महानगरपालिका वा.नं. ३ वालुवाटार रहे भएको भन्ने निज ज.ध. निवेदिकाकै निवेदनवाट दोखिन आउँछ । यसरी फरक ठेगानामा विवादास्पद तवरले लेखिएको तामेली व्यहोरालाई रितपूर्वक म्याद तामेल गरे भएको भन्न नमिली प्रत्यर्थिको जग्गा वाँडफाँडको सम्वन्धमा कानून बमोजिम सूचना दिई उचित सुनुवाईको मौका दिइएको भन्न मिल्ने देखिन आएन । यसरी जग्गा धनीको जग्गा वाँडफाँड गर्नु पूर्व निजको कानून बमोजिम सुनुवाईनै नगरी प्रकृतिक न्यायको सिद्धान्त विपरीत जग्गा वाँडफाँड गर्ने गरेको प्रत्यर्थी भूमिसुधार कार्यालय काठमाडौको मिति ०५६।६।११ को निर्णय त्रुटीपूर्ण देखिंदा उक्त निर्णय सो हदसम्म उत्प्रेषणको आदेशद्वारा वदर हुने ठहर्छ । विपक्षीहरुलाई यो आदेशको प्रतिलिपि पठाई मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा सहमत भै निर्णय सुनाई सकेपछि सहयोगी माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय परलोक हुनु भएको हुंदा दस्तखत हुन नसकेको व्यहोरा प्रमाणित गर्दछु ।

 

न्या.वलिराम कुमार

 

इति संवत् २०६० साल कार्तिक ४ गते रोज ३ शुभम्.....................

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु