निर्णय नं. ७२६० - जीउमास्ने वेच्ने

निर्णय नं. ७२६० ने.का.प.२०६० अङ्क ७.८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री भैरबप्रसाद लम्साल
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
सम्वत् २०५८ सालको फौ.पु.नं. २४२२
फैसला मितिः २०६०।५।२६।६
मुद्दाः– जीउमास्ने वेच्ने ।
पुनरावेदक
प्रतिवादीः वादीः मकवानपुर जिल्ला पदम पोखरी घर भै केन्द्रीय कारागारमा थुनामा वस्ने प्रेमवहादुर मोक्तान
विरुद्ध
विपक्षी
वादीः शान्तमाया मोक्तानको जाहेरीले श्री ५ को सरकार
§ वारदात हुंदाका अवस्थामा वहाल रहेको मुलुकी ऐन, जिउमास्ने वेच्नेको महलको १ नं. वमोजिम सजायको मागदावी लिएको देखिएपनि जाहेरवालीको जाहेरी दरखास्त २०४९ सालमा मात्र परेको देखिंदा जाहेरी दरखास्त पर्दा वहाल रहेको ऐनमा व्यवस्था भएको कार्यविधि अपनाई अनुसन्धान तहकिकात गर्न नमिल्ने र सो अनुसन्धानवाट संकलित सवुद प्रमाणले प्रमाणको स्थान ग्रहण गर्दैन भन्न नमिल्ने ।
§ आफ्नै दाजु नाताका यि पुनरावेदक समेत भई ललाई फकाई भारत वम्वैको वेश्यालयमा लगि भा.रु.२५,०००।– मा विक्री गरी १० बर्ष सम्म वेश्यावृत्तिगर्न वाध्य वनाएको भनि किटानी साथ अदालतवाट प्रमाणित भएको वयानमा उल्लेख गरेका कुरा प्रमाणमा लिन नहुने भन्न नमिल्ने ।
§ प्रमाणित वयानमा उल्लेख भएका कुरा झुठा हो भन्ने कुराको निज पुनरावेदक तर्फवाट कुनै ठोस सवुद प्रमाण पेश हुन नसकेको स्थितिमा अभियोग मागदावी वमोजिम मुलुकी ऐन जिउमास्ने वेच्नेको १ नं. वमोजिम २० बर्ष कैद गर्ने गरेको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको इन्साफ मिलेकै देखिंदा सदर हुने ।
(प्र.नं. १५)
पुनरावेदक प्रतिवादी तर्फवाटः
विपक्षी वादी तर्फवाटः
अवलम्वित नजिरः
फैसला
न्या.भैरवप्रसाद लम्सालः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम पुनरावेदन अदालत हेटौंडाको फैसला उपर प्रतिवादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।
२. विगत २०३९ साल चैत्र महिनामा मेरो दाजु प्रेमवहादुर मोक्तानले काममा लगाई दिन्छु भनि घरवाट वीरगंजसम्म लगि वीरगंजवाट अर्को नाम थाहा नभएको एकजना समेत २ जनाले मलाई भारत बम्बैको पिल हाउस भन्ने ठाउंमा माया तमाङनीको वेश्याकोठीमा भा.रु.२५,०००।– मा विक्री गरेको र यही २०४९ साल जेष्ठ २ गते घरमा फर्कि आई यो जाहेरी दिएको छु निजहरुलाई पक्राउ गरी कानून वमोजिम कारवाही गरी दण्ड सजाय समेत गरी पाउं भन्ने समेत व्यहोराको शान्तमाया मोक्तानको जाहेरी दर्खास्त ।
३. प्रेमवहादुर मोक्तानले मलाई राम्रो काममा लगाई दिन्छु भनि बारम्वार फकाई २०३९ साल चैत्र महिनामा घरवाट वीरगंजमा लगी त्यंहाबाट मैले नाम थाहा नभएको निजको साथी १ समेत भै मलाई भारतको बम्बै स्थित पिल हाउस भन्ने ठाउमा माया तमाङनीको बेश्याकोठीमा पुर्याई भा.रु.२५,०००।– मा विक्री गरि निजहरु फर्केको र मलाई उक्त कोठीमा जवरजस्ती बेश्या धन्दामा लगाएको र यही २०४९ जेष्ठ २ गते घरमा आएकी हुम, निजहरुलाई पक्राउ गरी कानून वमोजिम कारवाही गरि सजाय समेत गरि पाउं भन्ने समेत व्यहोराको जाहेरवाली एवं पिडित शान्तमाया मोक्तानको बयान कागज ।
४. जाहेरवाली शान्तमाया मोक्तान मेरो काकाको छोरी हुन निजलाई महेन्द्र थिङलामा र म समेत भै भारत बम्बैमा लगी २०३९ साल चैत्र महिनामा विक्री गरि बिक्रि गर्दा आएको भा.रु. २५,०००।– मध्ये महेन्द्र थिङले मेरो भाग भनि भा.रु. ५,०००।– दिएको हो उक्त पैसा खाई मासी सके भन्ने समेत व्यहोराको प्रतिवादी प्रेमवहादुर मोक्तानको अधिकार प्राप्त अधिकारी समक्ष भएको वयान कागज ।
५. जाहेरवाली शान्तमाया मोक्तान ०३९ सालमा घरवाट हराएकी र २०४९ सालमा घरमा आएकी हुन घरमा आउंदा प्रेमवहादुर मोक्तानले समेत मलाई विक्री गरेको भनि जाहेरी दिएकी हुन भन्ने समेत व्यहोराको सर्जमिनका मानिस मानवहादुर गोम्जा समेतले गरि दिएको कागज ।
६. प्रतिवादी प्रेमवहादुर मोक्तानले काममा लगाई दिने बहाना बनाई विश्वासमा पारी फकाई घरवाट हिडाई वीरगंज पुर्याई त्याहाँवाट निजको साथी महेन्द्र थिङ लामा समेत भई निजलाई विभिन्न ठाउं हुदै बम्बैस्थित पिल हाउस भन्ने ठाउंमा माया तमाङनीको वेश्याकोठीमा रु. २५,०००।– मा विक्री वितरण गरेको भन्ने ०४९ सालमा बम्बेबाट जाहेरवाली फर्की आएपछि दिएको जाहेरीवाट र निजको बयान कागज समेतवाट देखिनुको अलावा पक्राउमा परेका अभियुक्त प्रेमवहादुर मोक्तानको वयान कागजवाट देखिएको र वुझिएका व्यक्तिहरुले पनि जाहेरी पुष्टी हुने गरि कागज गरि दिएको देखिन्छ । अनुसन्धान कार्यविधि जिउ मास्ने वेच्ने कार्य नियन्त्रण ऐन ०४३ अन्तर्गतको भएको भएतापनि घटना वारदात ०३९ सालमा भएको भन्ने जाहेरी लगायतवाट देखिंदा सजायको हकमा तत्कालिन प्रचलनमा रहेको ऐन मुलुकी ऐन जीउ मास्ने वेच्नेको महलको १ नं. वमोजिमको अपराधमा निज प्रतिवादीहरु प्रेमवहादुर मोक्तान, महेन्द्र थिङ लामा र माया तमाङनी समेतले गरेकोले निजहरु तिनै जनालाई ऐ ऐनको १ नं. वमोजिम सजाय गरी पाउं भन्ने समेत व्यहोराको अभियोग पत्र माग दावी ।
७. मैले शान्तमाया मोक्तानलाई भारतमा लगी विक्री गरेको होइन, शान्तमाया मोक्तानलाई चिनेको पनि छैन । शान्तमाया मोक्तान काहाँ वस्ने के गर्ने, त्यसको वारेमा मलाई केही पनि थाहा छैन । शान्तमाया भन्नेले मलाई जाहेरी दिएको भन्ने प्रहरीमा आएपछि मात्र मैले थाहा पाएको हुं । मलाई उक्त शान्तमायालाई विक्री गरेको हो होइन केहीपनि थाहा छैन । म समेत भई निज जाहेरवालीलाई विक्री गरेको भन्ने कुरा झुट्ठा हो मैले विक्री गरेको छैन होइन । म माथि लगाइएको अभियोग दावी झुट्ठा हो सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी प्रेमवहादुर मोक्तानले अदालतमा गरेको बयान ।
८. बुझिएका मानिस कृष्णवहादुर घलान, चन्द्रवहादुर गोम्जा, जयलाल घलान, देववहादुर मोक्तान र प्रतिवादी प्रेमवहादुर मोक्तानको साक्षी सवाल सिंह मोक्तान औतार सिंह गोम्जा, इन्द्रवहादुर मोक्तान समेतले अदालतमा आई गरेको बकपत्र ।
९. प्र. माया तामाङनीको वतन नखुलेको र पक्राउ हुन नसकेको कारणवाट एकिन वतन पत्ता लागेमा वा पक्राउ परेमा माग दावी वमोजिम कारवाही हुने भनी अभियोग मागदावी लिएवाट केही गरिरहनु नपर्ने र प्र. महेन्द्र थिङ अदालतवाट जारी भएको ७० दिने वारेण्ट तथा म्यादी पूर्जिको म्यादमा हाजिर नभएवाट अ.वं. १९० नं. वमोजिम मुल्तवी रहने ठहर्छ र प्रतिवादी प्रेमवहादुर मोक्तानको हकमा निजले शान्तमाया मोक्तानलाई ललाईफकाई भारत बम्बैको माया तामाङनीको वेश्यालयमा २०३९ साल चैत्रमा भा.रु. २५,०००।– मा विक्री गरी भा.रु. ५,०००।– लिए खाएको समेत देखिंदा प्रतिवादीलाई तत्काल प्रचलित मुलुकी ऐन, जिउमास्ने बेच्ने महलको १ नं. वमोजिमको अपराधमा प्र. प्रेमवहादुर मोक्तानलाई २० बर्ष कैद सजाय हुने ठहर्छ भन्ने समेत व्यहोराकेो २०५६।१२।१६ को शुरु मकवानपुर जिल्ला अदालतको फैसला ।
१०. शुरु फैसलामा चित्त बुझेन । अधिकार प्राप्त अधिकारी समक्षको बयान मेरो इच्छा विरुद्धको वयान हो भन्ने अदालतको वयानमा उल्लेख गर्दागर्दै सो लाई निर्णयाधार वनाउन मिल्ने होइन । अभियोग मुलुकी ऐन जिउमास्ने वेच्नेको महला अन्तर्गत दायर भएको र सो मा जिउमास्ने वेच्ने ऐन, २०४३ को दफा ७(२) को दायित्व थोपरी कसूर प्रमाणित गर्ने भार प्रतिवादीमा हुन्छ भन्नु सरासर गलत छ । वारदात प्रमाणित गर्ने कुनै साक्षी प्रमाण वादी पक्षवाट आउन सकेको छैन । म पुनरावेदक पदम पोखरी गा.वि.स. स्थित आफ्नो घरमा स्थायी वसोवास गरी वडा को जनप्रतिनिधि भई सेवा गरेको, स्थानीय स्कूलको संचालक समितिको सदस्य भई काम गरेको छु । जाहेरी दिए पश्चात घर गाउंवाट अन्यत्र समेत भोगेको छैन । आफ्नो जग्गा किनबेच गरी आएको छु सो मेरा साक्षी प्रमाणवाट पुष्टि भएकोले मेरो चरित्र राम्रो भएको तथ्य पुष्टि भएकोमा सोलाई ध्यान नदिई जाहेरवालीको वयानलाई मात्र आधार वनाएको शुरु फैसला त्रुटिपूर्ण छ । तसर्थ शुरु फैसला उल्टी गरी अभियोग दावीवाट सफाइ पाउं भन्ने व्यहोराको पुनरावेदन जिकिर ।
११. २०३९ को अपराधको सम्वन्धमा वारदात हुंदा प्रचलनमा रहेको कानून मुलुकी ऐन जीउ मास्ने वेच्नेको महल अन्तरगत दावी लिई अभियोग पत्र दायर भई कारवाही चलेको प्रस्तुत मुद्दामा तत्कालीन प्रचलित कानून वमोजिम जाहेरवाला र पिडित व्यक्ति सन्तमाया मोक्तानलाई मुख्य सरकारी गवाहको रुपमा अदालतमा उपस्थित गराई निजको बकपत्रलाई जिरह समेत गरी अभियोग स्थापित हुने वा नहुने भनी निर्णय गर्नुपर्नेमा निज जाहेरवाला मुख्य गवाह अदालतमा उपस्थित नभएकोमा पछि बनेको कानून वमोजिम निजको जाहेरी र बयान प्रमाणित भएको भनी पुनरावेदकलाई कसूरदार ठहराई सजाय गरेको मकवानपुर जिल्ला अदालतको फैसला फरक पर्न सक्ने हुंदा अ.वं. २०२ नं. वमोजिम पुनरावेदन सरकारी वकिल कार्यालय हेटौंडालाई पेशीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने आदेश ।
१२. पुनरावेदक प्रतिवादीकी भतिजी नाताकी जाहेरवालीको जाहेरी दरखास्त ऐनको दफा ६(२) वमोजिम प्रमाणित भएको बयान व्यहोरामा उल्लेख भएको तरीकावाट ललाई फकाई वम्वईको वेश्यालयमा विक्री गरी सोवाट आएको रुपैया मध्ये भा.रु.५०००।– आफुले लिए खाएको कुरामा अधिकार प्राप्त अधिकारी समक्ष सावित भै वयान गरेको र आफ्नो दाजुकी छोरी जाहेरवालीले झुठा व्यहोराको उजुर गरी आफुलाई फसाउन वा सजाय गराउनु पर्ने सम्मको कारण परेको तथ्ययुक्त सवुद समेत पेश दाखिला गर्न सकेको देखिदैन । जहांसम्म प्रस्तुत वारदात हाल वहाल रहेको जीउ मास्ने वेच्ने कार्य नियन्त्रण गर्न वनेको ऐन २०४३ पूर्वको भएको र कसूर गरेको होइन भन्ने प्रमाणको भार प्रतिवादी माथी हुने र पीडित केटीको वयान प्रमाणित गराउने व्यवस्था समेत मुलुकी ऐन जीउ मास्ने वेच्ने महलमा नभएको अवस्थामा पछि वनेको ऐनले गरेको प्रावधान वमोजिमको प्रक्रिया अपनाई सोवाट उठेको काम कार्यवाहीलाई पुनरावेदक प्रतिवादीको विरुद्ध प्रमाण ग्रहण गरी कसूरदार ठहर गरेको नमिलेको भन्ने प्रश्न छ त्यसतर्फ हेर्दा जाहेरवाली पीडीत केटी पुनरावेदक प्रतिवादीको भतिजी नाताको भई निजले समेत विदेश भारतमा लगी विक्री गरकेो भन्ने किटानी जाहेरी भएको र जाहेरीलाई पुष्टी गर्ने निजको प्रमाणित वयान रहेको देखिएको र निज भारत वम्वैमा वेचिएकी नभई दोश्रो व्यक्ति यो यस ठाउं वस्ने संग विवाह गरी वसेको वा अन्यत्र रहे भएको भनि एकिन लेखाई देखाई गर्न सकेको समेत देखिदैन । जाहेरवाली वेश्यालयमा विक्री भई वेश्यावृत्ति गरी फर्किएको तथ्य अन्यथा नभएको अवस्थामा विक्री भएको र विक्री गर्ने व्यक्तिको सम्वन्धमा सत्य तथ्य व्यहोरा खुल्न सकोस भन्ने उद्देश्यले गराइएको प्रमाणित वयान व्यहोरालाई वारदात पश्चात वनेको ऐनको प्रावधान भएकै कारणले प्रमाण लिन नमिल्ने भनी अर्थगर्न मिल्ने नदेखिंदा जाहेरी दरखास्त, पुनरावेदक प्रतिवादीको वयान व्यहोरा र पीडित केटीको अदालतवाट प्रमाणित भएको वयान व्यहोराको समेतको आधार प्रमाणवाट मुलुकी ऐन जीउमास्ने वेच्ने महलको १ नं. वमोजिम प्रतिवादीलाई २० बर्ष कैद सजाय गर्ने गरेको शुरु मकवानपुर जिल्ला अदालतको मिति २०५६।१२।१६ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत हेटौंडाको मिति २०५७।९।२।१ को फैसला ।
१३. सो फैसलामा चित्त वुझेन । अधुरो अनुसन्धानवाट केवल झुठा जाहेरीको आधारमा पक्राउ गरि २०३९ सालमा भएको अपराध भनि वारदात हुंदा प्रचलनमा रहेको जिउ मास्ने वेच्नेको महल अन्तरगतको दावी लिई कार्वाही चलाएको तर प्रस्तुत मुद्दामा मूख्य सरकारी गवाहाको रुपमा जाहेरवालीलाई अदालतमा वकपत्र समेत नगराई कसूरदार ठहर गरेको फैसला त्रुटीपूर्ण छ । मेरो अदालतमा भएको वयान साक्षीको वकपत्र समेतलाई ध्यानै नदिई प्रहरिमा भएको वयानलाई मात्र आधार मानी मुलुकी ऐन जिउमास्ने वेच्नेको महल अन्तर्गत अनुसन्धान गरि जिउमास्ने वेच्ने कार्य नियन्त्रण ऐन, २०४३ अन्तर्गत सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला प्रचलित नेपाल कानूनको समेत विपरीत हुंदा वदर गरी न्याय पाउं भन्ने समेतको प्रतिवादी प्रेमवहादुर मोक्तानको यस अदालतमा परेको पुनरावेदन पत्र ।
१४. नियम वमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढि यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्र सहितको सम्पूर्ण मिसिल कागजात अध्ययन गरि निर्णयतर्फ विचार गर्दा शुरु मकवानपुर जिल्ला अदालतले मुलुकी ऐन जिउ मास्ने वेच्नेको महलको १ नं. को कसूरमा २० बर्ष कैद हुने ठहराएको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौंडाको इन्साफ मिलेको छ वा छैन ? सोही कुरामा निर्णय दिनु पर्ने देखियो ।
१५. यसमा पुनरावेदक प्रतिवादीले निज उपरको अभियोगको सम्वन्धमा अदालतमा वयान गर्दा जाहेर वाली शान्तमाया मोक्तानलाई नचिनेको र निजलाई भारतमा लगि विक्री गरेको समेत होइन भनि कसूरमा पूर्ण इन्कार रही वयान गरेको भएतापनि अधिकार प्राप्त अधिकारी समक्ष कसूरमा सावित हुदेै आफु र साथी महेन्द्र थिङ समेत भई जाहेर वाली आफ्नो काकाकी छोरी शान्तमायालाई भारतको वम्वैस्थित पिलहाउस भन्ने ठाउंमा पुर्याई माया तमाङनीको कोठीमा भा.रु. २५,०००।–मा विक्री गरि भा.रु. ५०००।– आफुले लिएको भनि कसूरमा सावित भई वयान गरेको देखिन्छ । निजको सो साविती वयान निजकै तर्फका साक्षी रामलाल वाइवाको वकपत्र, जाहेरीवालीको अदालतवाट प्रमाणित वयान समेतका प्रमाणवाट पुष्टि भएको देखिन्छ । जाहांसम्म जिउमास्ने वेच्नेको महल अन्तर्गतको सजाय को मागदावी लिएकोमा जाहेरवालीको वयान निजले अदालत आई वकपत्र नगरे सम्म प्रमाण लिन नमिल्ने भन्ने पुनरावेदकको जिकिर छ सो सम्वन्धमा हेर्दा जिउ मास्ने वेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ११ ले मुलुकी ऐन, जिउमास्ने वेच्नेको महलमा जुनसुकै कुरा लेखिएको भएतापनि यो ऐनमा लेखिएजति कुरामा यसै ऐन वमोजिम हुने छ भन्ने व्यवस्था गरेको देखिन्छ । वारदात हुंदाका अवस्थामा वहाल रहेको मुलुकी ऐन, जिउमास्ने वेच्नेको महलको १ नं. वमोजिम सजायको मागदावी लिएको देखिएपनि जाहेरवालीको जाहेरी दरखास्त २०४९ सालमा मात्र परेको देखिंदा जाहेरी दरखास्त पर्दा वहाल रहेको ऐनमा व्यवस्था भएको कार्यविधि अपनाई अनुसन्धान तहकिकात गर्न नमिल्ने र सो अनुसन्धानवाट संकलित सवुद प्रमाणले प्रमाणको स्थान ग्रहण गर्दैन भन्न मिल्ने देखिदैन । आफ्नै दाजु नाताका यि पुनरावेदक समेतभई ललाई फकाई भारत वम्वैको वेश्यालयमा लगि भा.रु.२५,०००।– मा विक्री गरी १० बर्षसम्म वेश्यावृत्ति गर्न वाध्य वनाएको भनि किटानी साथ अदालतवाट प्रमाणित भएको वयानमा उल्लेख गरेका कुरा प्रमाणमा लिन नहुने भन्न मिलेन । सो प्रमाणित वयानमा उल्लेख भएका कुरा झुठा हो भन्ने कुराको निज पुनरावेदक तर्फवाट कुनै ठोस सवुद प्रमाण पेश हुन नसकेको स्थितिमा अभियोग मागदावी वमोजिम मुलुकी ऐन जिउमास्ने वेच्नेको १ नं. वमोजिम २० बर्ष कैद गर्ने गरेको शुरु मकवानपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौंडाको इन्साफ मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन । दायरी लगत कट्टा गरि मिसिल नियम वमोजिम वुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.चन्द्रप्रसाद पराजुली
इति सम्वत् २०६० साल भाद्र २६ गते रोज ६ शुभम्..................................