निर्णय नं. ७२८३ - खिचोला हक कायम

निर्णय नं. ७२८३ ने.का.प.२०६० अङ्क ९.१०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल
माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु
सम्बत् २०५६ सालको दे.पु.नं.६२३४
फैसला मितिः २०६०।९।३।५
मुद्दा :– खिचोला हक कायम ।
पुनरावेदक
वादीः भ.पु.जि.भ.पु.न.पा. वडा नं.५ बस्ने कृष्ण दास नापित
बिरुद्ध
विपक्षी
वादीः ऐ.ऐ.बस्ने शिवकुमार त्यात समेत
§ मिति २०५३।५।३१ मा भक्तपुर नगरपालिकाबाट हक बेहकमा अदालतमा जाने भनी सुनाउने निर्णयबाट वादीलाई नालेस गर्नुपर्ने कारण परेको र सोही मितिलाई नै थाहा पाएको मिति मान्नु पर्ने भै सो मितिले ३५ दिन २०५३।७।४ मा पुग्नेमा २०५३।७।१० सम्म विजयादशमी बिदा र ११ गते आइतवार परेकोले सोको भोलीपल्ट अड्डा खुलेको दिन २०५३।७।१२ मा प्रस्तुत फिराद परेको देखिदा वादी बखतवहादुर श्रेष्ठ समेत प्रतिवादी इन्द्र गोपाल श्रेष्ठ समेत भएको जग्गा खिचोला मुद्दामा नगरपञ्चायतले हक कायम गराई ल्याउनु भनी सुनाएकोमा दुवै पक्षले हक कायम गराउन अदालतमा नगई पछिबाट खिचोला गरेको भनी सोही मितिबाट मुद्दा गर्नुपर्ने कारण परेको भनी तर्क गर्न नमिल्ने ।
§ भक्तपुर नगरपालिकाले अदालतबाट हक बेहकमा निर्णय गराई ल्याउनु भनी सुनाएको मिति २०५३।५।३१ बाट ऐनका म्याद भित्र परेको फिरादलाई यिनै प्रतिवादीहरुले २०५२।२।२१ मा दिएको उजुरी निवेदनलाई नै मुद्दा गर्नुपर्ने कारण मानी सोही मितिबाट ज.मि.को १८ नं.र ज.प.को १७ नं.को हद म्याद ६ महिना भित्र उजुर नगरेको भन्ने आधारमा प्रस्तुत फिराद खारेज गर्ने गरेको पुनरावेदन अदालत, पाटनको मिति २०५६।९।१३ को फैसला मिलेको नहुँदा बदर हुने ।
(प्र.नं. १३)
पुनरावेदक वादी तर्फवाटःविद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपाली
विपक्षी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर
अवलम्वित नजिरः
फैसला
न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत, पाटनको मिति २०५६।९।१३ को फैसला उपर चित्त नबुझी वादीतर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :–
२. मेरो पुर्खादेखि बसोबास गरी भोगचलन गरी आएको भक्तपुर जिल्ला नगरपालिका वडा नं.५ भार्छे टोलको पूर्व गणेशमान नापितको घर पश्चिम पूर्णवहादुर सुवालको घर उत्तर नवदुर्गाको चोक र दक्षिण सडक यति चार किल्ला भित्रको घर र सो घरसँग उत्तर पट्टी जोडिएको पाताल समेतको घर जग्गा र सोही घर जग्गादेखि पूर्व संधियार गणेशमान नापितको स्ववासी बसोबास भोगचलनको ऐ.को पूर्व विकुलाल नापितको घर पश्चिम पिता गणेशदास नापितको माथि उल्लेखित घर जग्गा उत्तर नवदुर्गाको चोक र दक्षिण मुलबाटो यति चार किल्ला भित्रको व्लक नं.४÷९४ को दक्षिण मोहडा पूर्व पश्चिम लम्वाई हात ९ र उत्तर पट्टी जोडिएको पूर्व पश्चिाम लम्वाई हात ८।। को ३ तल्ले पक्की घर र सो घर देखि उत्तर पट्टी जोडिएको पूर्व पश्चिम लम्वाई हात ८।। र उत्तर दक्षिण हात ७ को पाताल समेतको घर जगा र पाताल जग्गा समेत निज गणेशमान नापितसँगबाट मिति २०१८।१२।६ मा मेरो पिता गणेश दास नापितले तत्कालीन भक्तपुर रजिष्ट्रेशन अड्डा मार्फत फार्छे पारित गरी पिताले हक भोगचलन गरी आउनु भएको हो । उल्लेखित स्ववासी र किनुवा घर समेत भ.पु.जि.न.पा.वडानं.५ याछे टोलको पूर्व विकुलाल नापितको घर पश्चिम पूर्णवहादुर सुवालको साझा क्लिास उत्तर आफ्नै चोक (पाताल) र विलवहादुर श्रेष्ठको बगैंचा दक्षिण सडक यति चार किल्ला भित्रको घर भत्काई नक्सा बमोजिम बनाउन मेरो पिता गणेश दास नापितको नाममा भ.पु.न.पा.बाट मिति २०३८।४।२२ मा नक्सा पास पुर्जि प्राप्त भएको छ । सो नक्सा दर्खास्तमा चारै तर्फका संधियारहरु समेतका नाममा म्याद सूचना जारी भै उक्त मेरो घर देखि उत्तर पट्टीको (पाताल) चोक रहे भएको तथ्यमा कसैको उजुरी पर्न आएन । पिता आफ्नै कालगतिले मिति २०३८।४।३० मा परलोक हुनु भै म कृष्ण दासले उक्त स्वीकृत नक्सामा केही संशोधन गरी बनाउने स्वीकृत मिति २०३९।१०।७ मा प्राप्त गरी सोही बमोजिम नयाँ घर बनाई घरदेखि उत्तरपट्टीको पाताल चोकमा मेरो हक भोगचलन कायम रही आएका हो । उल्लेखित घर जग्गा र सो देखि उत्तरको पाताल जग्गा समेत भक्तपुर शहरी क्षेत्रमा सर्भे नापी नक्सा हुँदा भक्तपुर जिल्ला न.पा.वडा .नं.५ कि.नं.५६० क्षेत्रफल ०–३–१–२ कायम भै म फिरादी कृष्ण दासका पिताको नाममा दर्ता भै मेरो नाममा जग्गा धनी प्रमाण पुर्जा समेत प्राप्त गरेको छु। कि.नं.५६० को पाताल जग्गा देखि उत्तरपट्टीको मेरो आफ्नै साविक देखिको पर्खाल र ढोका समेत पुरानो निर्णय भई भत्के बिग्रेकोले उक्त घर र घर पाताल देखि उत्तरतर्फको पूर्व पश्चिम फिट ३३। र उत्तर दक्षिण ११ चौडा फिट १’९” र उचाई फिट ८ को पर्खाल साविक बमोजिम मर्मत गरी पाउन भक्तपुर नगरपालिकामा निवेदन दिई कार्यालयबाट निरीक्षण गराउँदा समेत सोही बमोजिम देखिन आएकोले साविक बमोजिम पर्खाल मर्मत गर्न न.पा.प्रमुख ज्ञानवहादुर न्याईच्याईबाट मिति २०५२।१।२५ मा स्वीकृत प्राप्त गरेको छु । प्राप्त स्विकृति अनुसार साविक पर्खाल भत्काई साविक बमोजिम मर्मत गरी बनाई तयार भै सकेको अबस्थामा विपक्षीहरु जना ७ ले उल्लेखित मेरो कि.नं.५६० को उत्तरपट्टीको अघि साविक देखि पर्खाल घेरिएको पाताल जग्गा र सो पाताल जग्गामा रहेको अघिको आफ्नै निजी ईनार (हाल प्रयोगमा नआएको लाईन दुर्गाको मुकुट बनाउने घरको दक्षिणतर्फको चोकमा भएको ईनार चित्रकारहरुले नवदुर्गा मुकुट बनाउन उक्त ईनारको पानी प्रयोग गर्ने बुझिएकोले रोक्न लगाई पाउँ भनी मिति २०५२।२।२१ मा उजुरी दिई मलाई उपस्थित गराउने आदेश भै कारवाही चलिरहेको अबस्थामा न.पा.का नगर निरीक्षक दिलिपकुमार समेत भै मिति २०५२।२।२४ का दिन उक्त पर्खाल भत्काई अवगतार्थ न.पा.मा प्रतिवेदन चढाएको मिसिलबाट देखिन आएको छ । विपक्षीहरुको उजुरी उपर भ.पु.न.पा.बाट मिति २०५३।५।३१ मा हक बेहकमा सुनाएको निर्णय पर्चा अनुसार र पश्चिम संधियार वीरवहादुर श्रेष्ठले समेत मेरो पाताल चोक स्वीकारेको निजतर्फ मैले फिराद गरेको छैन । विपक्षीहरुको उजुरीमा लेखिएका नवदुर्गाको मंखुडो बनाउने द्यौछे घर र सो देखि दक्षिणतर्फको चोक समेत नापीमा भ.न.पा.वडा नं.५ कि.नं.३४१ कायम भै नाप नक्सा भएको र सो देखि दक्षिणतर्फको कि.नं.५६० को मेरो तापाल चोक र घर जग्गा समेत छुट्टयाई लगाएको पर्खाल समेतले नवदुर्गाको द्योछे घर चोक र मेरो घर चोक पाताल छुट्टा–छुटै कि.नं.मा नाप नक्सा भै सम्बन्धित व्यक्ति वा निकायबाट स्वीकारी आएको बास्तविक तथ्य विपरीत विपक्षीहरुले मेरो पाताल चोक र सोमा रहेको मेरो निजी ईनार समेतलाई सार्वजनिक सम्पत्ति मैले मिच्न लागेकोले पर्खाल बनाउने रोक्काको निवेदन दिई मेरो निर्विवाद हक भोगचलन दर्ताको कि.नं.५६० को उत्तरतर्फको पूर्व पश्चिम लम्वाई फिट २८’१०” र उत्तर दक्षिण फिट ६’१०” तथा पूर्वतर्फ पूर्व पश्चिम फिट ५ र उत्तर दक्षिण फिट ११ को पर्खाल भित्रको घर देखि उत्तरको क्षेत्रफल ०–०–३ को पाताल चोकमा विपक्षीहरुले सार्वजनिक भनि मोल रु.५,०००।– पर्ने जग्गामा लिखित खिचोला गर्नु भएकोले विपक्षीहरुको खिचोला मेटाई मेरो यथावत हक कायम गरी पाउँ भन्ने वादीको फिराद दावी ।
३. विपक्षीले प्रस्तुत मुद्दा भ.पु.न.पा.बाट मिति २०५३।५।३१ मा हक बेहकमा सुनाएको आधारमा फिराद गर्न आउनु भएको रहेछ । यसमा हामी प्रतिवादीहरुले विपक्षीले सार्वजनिक जग्ग ईनार मिची निर्माण कार्य गरेकोमा मिति २०५२।२।२१ मा उजुरी गरिएपछि प्रथमतः सोही मितिमा खिचोला शुरु भएको मान्नु पर्ने र यसरी नै २०५२।२।२४ मा उक्त पर्खाल भत्काएको हुनाले सो मितिमा स्थल खिचोला नै भै सकेको मान्नु पर्ने र विपक्षीले हामीले लिखित खिचोला गरेको अर्थात २०५२।२।२१ कै मितिमा खिचोलामा उजुर गर्नुपर्ने हो । तर विपक्षीले हालसम्म कही कतै कुनै उजुर गर्नु भएको छैन । भ.पु.न.पा.बाट मिति २०५३।५।२१ मा भएको निर्णय पनि विपक्षीको उजुरी वा दावी उपर कारवाही भएको निर्णय होइन र उक्त निर्णय पनि हामी प्रतिवादीहरुको उजुर अन्तर्गत कारवाही भै फैसला निर्णय भएको हो । एकातिर न.पा.कारवाही चल्दाचल्दैको अबस्थामा हद म्याद कायम हुन्छ भन्नलाई पनि न.पा.मा विपक्षीले कुनै कारवाही चलाएको होईन । हामी प्रतिवादीहरुको उजुरी अन्तर्गत चलेको कारवाहीबाट विपक्षीको खिचोलामा नालेस गर्ने हद म्याद कायम हुन सक्तैन । मिति २०५२।२।२१ को लिखित खिचोला तथा मिति २०५२।२।२४ को स्थलगत खिचोला उपर सिधै २०५३।७।१२ मा परेको फिराद ज.मि.को १, १८ ज.प.को १७ नं.को हद म्याद विपरीत परेको विपक्षीको फिराद हद म्यादको आधारमा खारेज गरी पाउँ । विपक्षी वादीको फिराद दावी अनुसारको कि.नं.५६० को उत्तरतर्फको ईनार परापूर्वकालदेखि चित्रकारहरुले नवदुर्गाको मुुकुट बनाउन उक्त ईनारको पानी प्रयोग गर्न ईनार हो भन्ने उक्त ईनारको प्रयोगको सम्बन्धमा कथन भएको मानी आएको छ । विपक्षीको दावी अनुसार विपक्षीको आफ्नो निजी एकलौटी ईनार जग्गा भएको भए सो सम्बन्धमा विपक्षीले पटक–पटक नक्सा पास गर्दा वा कुनै लिखतमा वा ४ किल्लामा सो कुरा उल्लेख भएको हुनुपर्ने हो तर विपक्षीले माथि लेखे बमोजिम आफ्नो बाँकी जग्गामा घर बनाउँदा यिनै जग्गामा घर निर्माण गरी बाँकी जग्गा नछोडी हाल आएर पुनः जग्गा बाँकी भएको भन्ने खालको झुठ्ठा फिराद दिन आउनु भएबाट विपक्षीले उक्त ईनार तथा जग्गाको सम्बन्धमा कही कतै कुनै कुरा उल्लेख भएको प्रमाण पेश गर्न सक्नु भएको छैन । विपक्षीको गैरकानूनी फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको प्रतिउत्तर पत्र ।
४. कि.नं.५६० वादीको नाममा लगत श्रेस्ता कायम भएकोमा यहाँ विवाद उठेको छैन। कुनै पनि जग्गाको सम्बन्धमा त्यस्तो मुल प्रमाण आधार नै लगत श्रेस्ता हुने र सो लगत श्रेस्ता बदर नभएसम्म त्यसलाई अन्यथा भन्ने मिल्ने पनि देखिएन । प्रतिवादीले उक्त जग्गा सार्वजनिक भन्ने जिकिर लिएता पनि कि.नं.५६० को श्रेस्ता उपर उजुर दावी गर्न सकेको पाईएन। अतः विवादित पर्खाल भित्रको जग्गा कि.नं.५६० भित्र परेको देखिएको र सो कित्ताको श्रेस्ता वादीका नामबाट बदर भएको समेत नदेखिई प्रतिवादीले सार्वजनिक भन्ने जिकिर लिएबाट खिचोला गरेको देखिंदा वादी दावी बमोजिम हक कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु भक्तपुर जिल्ला अदालतको मिति २०५५।९।२९।४ को फैसला ।
५. शुरु जिल्ला अदालतले हामीलाई हराई गरेको फैसलामा चित्र बुझेन । ज.मि.को १८ ज.प.को १७ ले तोेकेको म्याद दिलाइ नगरपालिकाको काम कारवाही आदेशले बढाउन सकिदैन । यसर्थ, २०५२।२।२१ को लिखत खिचोला तथा २०५२।२।२४ को स्थलगत खिचोला उपर २०५३।७।१२ गते अर्थात १ वर्ष भन्दा पछि परेको फिरादलाई हद म्याद भित्रको भन्न कदापि मिल्दैन । यसर्थ, विपक्षीको नालेश खारेज हुनुपर्ने थियो । तर अदालतबाट त्यसो नगरी हद म्याद नाघी परेको फिरादबाट कारवाही गरी गरिएको फैसला बदर भागी छ । शुरुको फैसला बदर गरी विवादित ईनार समेत रहेको जग्गा माथि सार्वजनिक ठहर्याई न्याय इन्साफ पाउँ भन्ने समेत व्यहोराको पुनरावेदकको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
६. यसमा विपक्षी वादी कृष्ण दास नापितले मिति २०३७।१२।२ मा साविक भक्तपुर नगरपञ्चायतमा घर बनाउने सन्दर्भमा निवेदन दिएको अबस्थामा दावीको विवादित जग्गामा उत्तरतर्फको बगैंचा पर्खालमा उजुरी परेको सन्दर्भमा उजुरी परेको पर्खाल बोहक गरी मुद्दा परेको बाहेकको नक्सा पास गरी पाउन निवेदन परेको देखिएको अबस्थामा उसै बखत विवाद उठी सो बाहेक नक्सा पासको मांग गरेको तथ्यतर्फ विवेचना नै नगरी हद म्याद भित्र फिराद परेको भन्ने समेत उल्लेख गरी वादी दावी बमोजिम खिचोला ठहर गरेको समेतको फैसला प्रमाणको मूल्यांकनको सन्दर्भमा फरक पर्न सक्ने देखिंदा अ.वं.२०२ नं.बमोजिम प्रत्यर्थी झिकाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।
७. पुनरावेदक प्रतिवादीहरुले २०५२।२।२१ मा सार्वजनिक जग्गाहरु मिची निर्माण कार्य गरेको भनी वादीको विरुद्धमा उजुरी गरी लिखित खिचोला गरेको र २०५२।२।२४ मा परेको स्थलगत खिचोलाबाट ज.मि.को १८ नं.तथा ज.प.को १७ नं.को हद म्याद भित्रको प्रस्तुत फिराद नदेखिएकोले खारेज हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत, पाटनको फैसला ।
८. कुनै निकायमा कुनै विषयमा हक बेहक सम्बन्धी प्रश्न उठ्दा जग्गा नामसारी मांग गर्दा तेरो मेरो पर्न आउँदा सम्बन्धित विवादको निप्टारा गर्ने हक बेहकमा अदालतमा उजुर दिई अन्तिम निर्णयमा ठहरे बमोजिम गर्ने भएको निर्णय पर्चा गरेको मितिले ३५ दिन ऐनका म्याद भित्रै परेको फिरादलाई हदम्याद नाघेको भन्न मिल्दैन । भक्तपुर नगरपालिकालाई हक बेहकमा निर्णय गर्ने अधिकार नभएकोले त्यहाँबाट हक बेहकमा अदालत जानु भनी सुनाएको मितिले ऐनका म्याद भित्रै परेको फिरादलाई हदम्यादको आधारमा खारेज गर्ने गरेको पुनरावेदन अदालत, पाटनको फैसला बदर गरी पाउँ भन्ने समेत व्यहोरावको कृष्णदास नापितको पुनरावेदन पत्र ।
९. यसमा जुन समयमा मुद्दा गर्नुपर्ने कारण पर्छ । त्यसैलाई थाहा पाएको भन्नु पर्ने र कानून बमोजिमको नगरपालिकाको निर्णयबाट जाँचबुझ गरी हक बेहकमा नालिस गर्न जानु भनी सुनाएको तथा आफ्नो दर्ता श्रेस्ता बमोजिमको हक भोगको जग्गामा खिचोला गरे भनी दिएको फिराद खारेज गर्ने ठहराएको पुनरावेदन अदालत, पाटनको फैसला ने.का.प.२०४६ अं.१ पृ.१७ नि.नं.१४०८ मा प्रतिपादित सिद्धान्त प्रतिकुल देखिंदा अ.वं.२०२ नं.बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने यस अदालतको मिति २०५७।१२।३ को आदेश ।
१०. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फका विद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपालीले भक्तपुर नगरपालिकाबाट प्रस्तुत विषयमा हक बेहकमा अदालत जानु भनी मिति २०५३।५।३१ मा सुनाएकोमा सो मितिले साविक नगरपालिका ऐन, २०४८ को दफा ५७(३) को म्याद भित्रै प्रस्तुत फिराद परेकोमा ज.मि.को १८ र ज.प.को १७ नं.को म्याद भित्र नपरेको भनी खारेज गर्नु सोही ऐनको वर्खिलाप हुँदा पुनरावेदन अदालतको फैसला बदर भै शुरु जिल्ला अदालतको फैसला सदर हुनु पर्दछ भनी गर्नु भएको बहस तथा प्रतिवादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले वादीले सार्वजनिक जग्गामा ईनार बनाएको भनी प्रतिवादीहरुले मिति २०५२।२।२१ मा उजुरी दिइसकेपछि सोही मितिलाई मुद्दा गर्नुपर्ने कारण मानी ऐनका म्याद भित्र वादीले खिचोला मुद्दा दिनुपर्नेमा २०५३।५।३१ मा हकबेहकमा सुनाएको आधारमा हद म्याद कायम गरी आएको फिरादलाई ज.मि.को १८ र ज.प.को १७ नं.बमोजिमको हद म्याद भित्रको भन्न नमिल्ने हूँदा फिराद खारेज गर्ने गरेको पुनरावेदन अदालतको फैसला सदर हुनुपर्दछ भनी गर्नु भएको बहस सुनी मिसिल अध्ययन गरी हेर्दा दावी बमोजिम खिचोला ठहराएको शुरु फैसलालाई हद म्यादको आधारमा फिराद नै खारेज हुने ठहराएको पुनरावेदन अदालतको फैसला मिले, नमिले सम्बन्धमा नै निर्णय दिनुपर्ने देखियो ।
११. निर्णयतर्फ विचार गर्दा, मेरो कि.नं.५६० को उत्तर पट्टीको साविक देखि पर्खाल घेरिएको पाताल जग्गा र सो पाताल जग्गामा रहेको अघिको निजी ईनारमा विपक्षीहरुले लिखित खिचोला गरेकोले खिचोला मेटाई पाउँ भन्ने वादी वादीले सार्वजनिक जग्गा र ईनार मिली पर्खाल लगाएकोले मिति २०५८।२।२१ मा उजुर परेको हुँदा सोही मितिलाई खिचोला गरेको मान्नु पर्ने भै सोको ऐनका म्याद भित्र नपरेको फिराद खारेज गरी पाउँ भन्ने प्रतिउत्तर भै दावी बमोजिम खिचोला ठहराएको फैसलामा हद म्यादको आधारमा फिराद नै खारेज हुने ठहराएको पुनरावेदन अदालत, पाटनको फैसला उपर प्रस्तुत पुनरावेदन परेको देखियो ।
१२. यसमा वादीको घर जग्गा र सो देखि उत्तर पाताल जग्गा समेत भक्तपुर शहरी नापीमा भ.पु.न.पा.वडा नं.५ कि.न..५६० क्षेत्रफल ०–३–१–२ कायम भै वादीका बाबुका नाममा नापी भएकोमा घर देखि उत्तरको उक्त पाताल जग्गामा भएको पर्खाल समेत मर्मत गर्न भक्तपुर नगरपालिकामा वादीले निवेदन दिई मिति २०५२।१।२५ मा स्वीकृति प्राप्त गरी पर्खाल मर्मत गरिसकेपछि प्रतिवादीहरुले उक्त पाताल जग्गा र सोमा रहेको पुरानो निजी ईनारलाई चित्रकारहरुले नवदुर्गाको मुकुट बनाउन सोही ईनारको पानी समेत प्रयोग गर्ने गरेकोमा वादीले उक्त पाताल र सार्वजनिक ईनार मिची पर्खाल लगाउन लागेकोले सो रोकी पाउँ भनी भक्तपुर नगरपालिकामा २०५२।२।२१ मा उजुरी दिएकोमा नगरपालिकाबाट उक्त पर्खाल मिति २०५२।२।२४ मा भत्काई सकेकोमा विरवहादुर श्रेष्ठले मेरो कि.नं.५५९ को पर्खालमा ढोकाको चौकोस घुसाई निर्माण कार्य गर्न लागेकाले सो रोक्का गरी पाउँ भनी उजुर गरेको साथै मैले लगाएको पर्खाल विपक्षीले भत्काएकोले क्षतिपूर्तिको दावी गरी कृष्ण दास नापितको निवेदन समेत परेकोमा विवादित स्थानमा ढोका नदेखिएकोले इनार र सोले चर्चेको जग्गा सम्बन्धमा प्रमाणको मूल्यांकन गरी यसको उसको भनी निर्णय गर्ने अधिकार नगरपालिकालाई नभएकोले हक बेहकमा अदालत जानु भनी दुवै पक्षलाई सुनाई दिने भनी मिति २०५३।५।३१मा भक्तपुर नगरपालिकाबाट निर्णय भएको देखिन्छ ।
१३. प्रतिवादीको उजुरीबाट कारवाही चली मिति २०५३।५।३१ मा भक्तपुर नगरपालिकाबाट हक बेहकमा अदालतमा जाने भनी सुनाउने निर्णयबाट वादीलाई नालेस गर्नुपर्ने कारण परेको र सोही मितिलाई नै थाहा पाएको मिति मान्नु पर्ने भै सो मितिले ३५ दिन २०५३।७।४ मा पुग्नेमा २०५३।७।१० सम्म विजयादशमी बिदा र ११ गते आइतवार परेकोले सोको भोलीपल्ट अड्डा खुलेको दिन २०५३।७।१२ मा प्रस्तुत फिराद परेको देखिन्छ । वादी बखतवहादुर श्रेष्ठ समेत प्रतिवादी इन्द्र गोपाल श्रेष्ठ समेत भएको जग्गा खिचोला मुद्दामा नगरपञ्चायतले हक कायम गराई ल्याउनु भनी सुनाएकोमा दुवै पक्षले हक कायम गराउन अदालतमा नगई पछिबाट खिचोला गरेको भनी सोही मितिबाट मुद्दा गर्नुपर्ने कारण परेको भनी तर्क गर्न मिल्ने देखिंदैन । यस्तोमा नगरपञ्चायतले सुनाएको मितिबाट हद म्यादको गणना गर्नुपर्ने (ने.का.प.२०४६ पृ.१७ नि.नं.३६९०) भनी यस अदालतबाट नजिर सिद्धान्त समेत प्रतिपादन भै सकेको परिप्रेक्ष्यमा भक्तपुर नगरपालिकाले अदालतबाट हक बेहकमा निर्णय गराई ल्याउनु भनी सुनाएको मिति २०५३।५।३१ बाट ऐनका म्याद भित्र परेको फिरादलाई यिने प्रतिवादीहरुले २०५२।२।२१ मा दिएको उजुरी निवेदनलाई नै मुद्दा गर्नुपर्ने कारण मानी सोही मितिबाट ज.मि.को १८ नं.र ज.प.को १७ नं.को हद म्याद ६ महिना भित्र उजुर नगरेको भन्ने आधारमा प्रस्तुत फिराद खारेज गर्ने गरेको पुनरावेदन अदालत, पाटनको मिति २०५६।९।१३ को फैसला मिलेको नहुँदा बदर गरी दिएको छ । कानून बमोजिम जो–जे बुझ्नु पर्छ बुझी सवुत प्रमाणको मूल्यांकन गरी ठहर निर्णय गर्नु भनी हाजिर रहेका पक्षलाई पुनरावेदन अदालत, पाटनको तारेख तोकी मिसिल समेत पठाई दिने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।
तपसिल
यसमा प्रस्तुत मुद्दा पुनः इन्साफको लागि पुनरावेदन अदालत, पाटनमा जाने हुँदा पुनरावेदन अदालत, पाटनको मिति २०५६।९।१३ को फैसलाको तपसिल खण्डमा उल्लेखित विवरण कार्यान्वयन नगर्नु भनी भक्तपुर जिल्ला अदालतमा लेखी पठाई दिनु–
मिसिल नियमानुसार गरी बुझाई दिनु––२
उक्त रायमा सहमत छु ।
न्या.शुसिला सिंह सिलु
इति सम्बत् २०६० साल पुष ३ गते रोज ५ शुभम्–––––––