निर्णय नं. ७२८६ - कर्तव्य ज्यान

निर्णय न.७२८६ ने..का.प.२०६० अङ्क ९.१०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी
सम्वत् २०५८ सालको फौ.पु.नं. २९७१
सम्वत २०५९ सालको साधक नं. ४२०
नि.नं ६९६५,७४१३
फैसला मितिः २०६०।१०।२३।६
मुद्दाः– कर्तव्य ज्यान ।
पुनरावेदक
प्रतिवादीः पाल्पा जिल्ला वराङदी गा.वि.स. वडा नं. ९ घर भै कारागार शाखा नख्खुमा थुनामा वस्ने कमलप्रसाद वस्याल
विरुद्ध
विपक्षी
वादीः छवि नेपालको जाहेरीले श्री ५ को सरकार
वादीः छवि नेपालको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादीः पाल्पा जिल्ला वराङदी गा.वि.स. वडा नं. ९ घर भै कारागार शाखा नख्खु ललितपुरमा थुनामा वस्ने कमलप्रसाद वस्याल समेत
§ वियरको वोतल जम्मा गर्ने हेतु प्रतिवादी एवं मृतक रहेको वारदात स्थलमा पुगेका र खानपान गरेको देख्ने विष्णु शरण जंगमले प्रतिवादी कमलप्रसाद वस्याललाई सनाखत गरेको, यस स्थितिमा वियर र रक्सी खाएको आसपासमा रहेको मृतकको लास प्रतिवादी कमलप्रसाद वस्यालको प्रहरीमा भएको साविती वाहेकको अन्य कारणवाट परेको भन्न मान्न सकिने अवस्था देखिन नआएको अवस्थामा कमलप्रसाद वस्यालको प्रहरीको साविती अन्यथा भन्न नसकिने ।
§ मुख्य मार्ने मतलवमा पसेका र मार्न वचन दिने केशव नेपाल, मार्ने कार्यमा हात हाल्ने, मार्ने कृष्ण भन्ने ओलाङ जेलिङ राना नै देखिन आएवाट निजहरुका हकमा पुनरावेदन अदालत पाटनले गरेको इन्साफ मुनासिव देखिंदा साधक सदर हुने ।
§ प्रतिवादी पुनरावेदक कमलप्रसाद वस्याल उपर ज्यान सम्वन्धीको १३(३) नं. को अभियोग भएतापनि निजले मार्न निमित्त लाठा ढुंगा र साधारण हातहतियारले कुटी हानी रोपी घोची वा अरु यस्तै ज्यान मार्ने कार्य गरेको मिसिलवाट देखिन आउदैन । ज्यान सम्वन्धिको १३(३) को दावीमा सो अवस्था विद्यमान हुन जरुरी हुन्छ । ज्यान सम्वन्धीको १३(३) को अवस्था विद्यमान नभएको अवस्थामा दावीकै भरमा १३(३) आकर्सित हुन नसक्ने ।
§ प्रतिवालीले ज्यान मार्नको निमित्त वचन दिने र मार्नलाई संयोग पारि दिन निमित्त वारदातमा गै मर्ने मानिसको जिउमा हातहाली पक्रि दिने कार्य पनि गरेको देखिन नआएको अवस्थामा ज्यान सम्वन्धिको १३(४) आकर्षित हुन सक्ने पनि देखिन नआउने।
§ प्रतिवादी कमलप्रसाद वस्याल ज्यान मार्ने कार्यमा मुख्यभै षडयन्त्र गर्ने व्यक्ति नदेखिएतापनि मार्ने कार्यको निमित्त वारदात स्थलमा पुर्याई रक्सी खुवाउने कार्यमा सहयोगीको रुपमा देखिन आउने ।
§ ज्यान मार्ने कार्यमा षडयन्त्र गर्ने व्यक्ति एक वा एक भन्दा वढी रहन सक्दछन, षडयन्त्र भित्र रहेका व्यक्ति षडयन्त्रको कार्य सम्पन्न हुनु पुर्व षडयन्त्रको योजनावाट वाहिरीन सक्ने सम्भावना पनि रहन सक्ने हुँदा षडयन्त्रको कार्यवाट वाहीरिएका षडयन्त्रको परिणाम हासिल गर्ने कुनै कार्यमा कृयाशिल नरहेका व्यक्तिको निमित्त ज्यान सम्वन्धीको १६ नं. आकर्षित हुने नदेखिने।
§ षडयन्त्रको समूह भित्रका भिन्न भिन्न व्यक्तिको भिन्न भिन्न जिम्मेवारी हुनसक्ने हुंदा त्यस्तो षडयन्त्र भित्र पसी लक्षीत परिणाम हासिल गर्न सहयोग पुर्याउने वा क्रियाशील हुने व्यक्तिका सम्वन्धमा ज्यान सम्वन्धिको १६ नं. आकर्षित नहुने भन्न सकिने अवस्था देखिदैन र ज्यान सम्वन्धी महलको व्यवस्था हेर्दा ज्यान मार्ने कार्यमा क्रियाशील रहेको व्यक्तिहरुका सम्वन्धमा ज्यान मार्ने कार्यमा संलग्न रहेका व्यक्तिले गरेको कार्य अनुसारको सजायको व्यवस्था भएको नै हुंदा षडयन्त्र भित्र रहि लक्षित परिणाम हासिल गर्न क्रियाशीलल रहने मुख्य षडयन्त्रकारी देखि वाहेकका व्यक्तिलाई ज्यान सम्वन्धीको १६ नं. ले उन्मूक्ति प्रदान गर्न खोजेको देखिन नआउने ।
§ पुनरावेदक प्रतिवादी कमलप्रसाद वस्याल मार्ने षडयन्त्र भित्र रहेको र मार्ने कार्यको निमित्त आफुले वारदात स्थलमा लगी रक्सी खुवाउने कार्यमा सहयोग पुर्याएको देखिंदा निजलाई ज्यान सम्वन्धिको १६ नं. अनुसार १० बर्ष कैद भै ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम जन्मकैद हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको इन्साफ उल्टी हुने ।
(प्र.नं. २७ देखि २९)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताहरु श्री विश्वकान्त मैनाली श्री शम्भु थापा, श्री मोतीबहादुर थापा र श्री कृष्णप्रसाद सापकोटा
विपक्षी वादी तर्फवाटःविद्वान सहन्यायाधिवक्ता श्री पुष्पराज कोइराला, विद्वान अधिवक्ता श्री रेवन्तबहादुरक कुँवर
अवलम्वित नजिरः
फैसला
न्या.मीनबहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम पुनरावेदन अदालत पाटनको फैसला उपर प्रतिवादी कमलप्रसाद वस्यालको पुनरावेदन परि सो्ही ऐनको दफा १० वमोजिम साधक समेत दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।
२. मिति ०५२।२।२९ गते दधिकोट गा.वि.स. वडा नं. ४ स्थित जंगलमा एकजना व्यक्तिको लास छ भन्ने जानकारी हुन आएकोले सो ठाउंमा गै हेर्दा नामथर वतन खुल्न नआएको व्यक्ति मृत अवस्थामा भएको र लासलाई उन्यूले छोपिएको अवस्थामा भएकोले कानून वमोजिम गरी पाउं भन्ने प्र.अ. कृष्णप्रसाद कोइरालाको प्रतिवेदन ।
३. खोल्सामा उन्यूले छोपेको अवस्थामा मृतकको लास रहेकोले उन्यू हटाई हेर्दा शरिरमा वस्त्र नभएको लासको दाया कोख मुनी निलडाम भएको सो को दुई इन्च मुनी अर्को निलडाम भएको दाहिने कानको जरवुट्टी मुनीको भागमा निलो कैलो रातो डाम चोट भएको काँध दरखराएको जस्तो निलडाम भएको भन्ने समेत व्यहोराको लास प्रकृति मुचुल्का ।
४. तपाइको भाई एक्सीडेन्ट भएको छु तु आउन भनि नेपालीले खवर गरेकोले वुटवलवाट काठमाडौं वीर अस्पतालमा आई वुझ्दा भाई ज्योतिकुमार नेपाल दधिकोटमा मृत अवस्थामा भएकोले लास प्रकृति मुचुल्का समेत गरी पोष्टमार्टमको लागि भक्तपुर अस्पतालको मुर्दा घरमा लगेको छ भन्ने कुरा थाहा पाई मुर्दा घरमा गै हेर्दा मेरो भाईको लास रहेको भनी वुझ्दै जांदा मिति ०५३।२।२८ गते मृतक भाई ज्योतिकुमार नेपाल कमलप्रसाद वस्याल एक जना नाम थाहा नभएको मानिस समेत घटनास्थल भनिएको ठाउंमा सांझ सम्म वियर खाएर वसेको भन्ने थाहा हुंदा निजहरुले नै ज्योतिकुमारलाई सोही स्थानमा कर्तव्य गरी मारी भागेकोमा मलाई पुरा विश्वास हुंदा निजहरुको खोज तलास गरी पक्राउ गरी कानून वमोजिम कारवाही गरी पाउं भन्ने समेत व्यहोराको छवि नेपालको जाहेरी दरखास्त ।
५. मिति ०५३।२।२८ गते अनन्त लिगेश्वर माहादेव स्थानमा भजन भएकोले मप्रसाद खान भनी गएको थिए नाम थर वतन थाहा नभएको ३ जना मानिसहरु मन्दिरको पेटीमा अडेस लागि वसेका रहेछन । तिनीहरु दर्शन गरी फर्किए हाल नाम थाहा हुन आएका मृतक ज्योतिकुमार नेपालले वियरको वोतल वोकी ३ जना डाडातिर हिडेर गएको पहिले देखी निजहरुले वियर खान जान्छन शिशिहरु लगेर विक्रि गर्छु भनी निजहरुले वियर खाएको नजिकै लुकेर बसे निजहरुले वियर खान थाले सांझ ७।१५ बजे सम्म पनि खाई रहेका थिए सो ठाउंवाट निजहरु नगएकोले मलाई डर लागि म फर्कि घरमा आई बसे भोलीपल्ट विहानै निजहरुले खाएको वियरको शिशि लिन जांदा सो ठाउंमा २ जना मध्येका ज्योतिकुमार नेपाल खोल्सामा उन्यूले छोपिएको अवस्थामा नाङगै लडिरहेको देखि आत्तिएर भागी घरमा आई घर छिमेकीहरुलाई भन्दा सवै जना सो ठाउंमा गै हेर्दा मान्छेनै मरेको भनी थाहा भएपछि प्रहरीमा खवर गरेका हुन निजको मृत्यु के कसरी भएको हो मलाई थाहा भएन । निज मृतकले वियर खाने अवस्थामा निलो हाफ टिसर्ट निलो पेन्ट र खैरो छालाको जुत्ता लगाएका थिए । अर्को एक जना शरिर हट्टाकट्टा हुनेले लगाएको लुगा याद गरिन देखेमा राम्रोसंग चिन्दछु अर्को मोटो कालो दारी जुंगा पालेको पावरवाला चस्मा लगाएको थियो सो वेला निजले पुरा बाहुला भएको शर्ट रातो गुलाफी रंगको पाइन्ट लगाएका थिए देखिएमा राम्रो संग चिन्दछु भन्ने हुलिया समेत उल्लेख गरी विष्णु शरण, जंगमले लेखाई दिएको कागज ।
६. बिष्णु शरण जंगमले कमलप्रसाद वस्याललाई चिनी सनाखत गरेको कागज ।
७. मिति २०५३।२।२८ मा ज्योतिकुमार नेपाल, कृष्णराज र म भै रेष्टुरेन्टमा बसी वियर भोड्का खाई त्यसै वेला कृष्णले आज सूर्य विनायक तिर घुम्न जाउं भनी भनेकाले हुन्छ भनी त्यसवाट निस्की गै कृष्ण र ज्योतिकुमारले वियर र भोडका किनेर प्लाष्टिकको झोलामा लिएर रत्नपार्कवाट ३ नै जना बसचढी भक्तपुरको सल्लाघारीमा वसवाट उत्रि कटुन्जेको वाटो हुदै दधिकोट माथिको डाडामा जादै गर्दा ज्योति केही अगाडि भएको वेलामा कृष्णले मलाई आत्तिनु पर्दैन केशव पनि आई पुग्छु भनेका छन भन्ने कुरा गरेका थिए हामी ३ जना अनन्त लिगेश्वर महादेव स्थानमा ७.३० वजे को समयमा पुग्दा मन्दिरमा भजन भइरहेको रहेछ । पालैपालो दर्शन गरी ज्योतिले अव हुन्छ खाई पिई जाउं मास्तीर भनी अगाडि गएकाले हामी पनि गयौ र तीनै जना वसेर खान थाल्यो र खादै जांदा अं. १९.१५ वजेको समयमा मलाई पनि रक्सिको नसा ज्यादै लाग्न थाल्यौं र ज्योतिलाई पनि नसा लागेको थियो म पिसाव फेर्न भनी अलि परतिर लागे सोही वेला कृष्णले ज्योतिको घाटी थिची दुवै घुडाले ज्योतिको हात थिची घाटी दवाई रहेको र यो गद्दार हो यस्ले कतिको घरवास वर्वाद गरी दियो भन्दै दुवै हातले घाँटी थिची मैले ठिक छ मार्न भनी ल्याएको हो कृष्णले सकि हाल्छ नी भनी म तलतिर झरी अडेस लाएर बसिरहेको थिएँ। केही समय पछि कृष्णले प्लाष्टिकको झोलामा ज्योतिले लगाएको कपडाहरु समेत राखी ल्याएको र अर्को झोलामा वियर र भोडकाको खाली सिसिहरु राखी ल्याएको देखि किन कपडाहरु पनि ल्याएको भन्दा कपडा मात्र होइन चक्कु भएको भए त्यस्को पनि काटेर ल्याउने थिए भनेका थिए । त्यसपछि २२:०० वजे तिर नयां ठिमीमा आइ ट्याक्सीमा वसी दुवै जना केशवको डेरा भन्दा केही वरै ट्याक्सीवाट उत्री केशवको डेरामा गै सुतें, कृष्ण कहां गयो मलाई थाहा छैन म केशवको डेरामा गएपछि केशवले काम सकियो भनी सोधेकाले मैले कामकुरा भई सक्यो भनी वताई दिए भोलीपल्ट कसैले पनि मलाई शंका नगरुन भनी विर अस्पतालमा गै ज्योतिकुमार नेपाल आएका छन भनी सोधेको थिएँ, पछी भक्तपुर अस्पतालमा वेवारिसी लास छ भनी भनेको हुंदा थाहा पाई भ.पु. अस्पतालमा आई हेर्दा निज ज्योतिकै लास रहेछ चिनी हाले सोही वेला मलाई प्रहरीले पक्राउ गरेको हो भन्ने समेत व्यहोरोको प्रतिवादी कमलप्रसाद वस्यालले जिल्ला प्रहरी कार्यालयमा गरेको वयान ।
८. ज्योति नेपाल पनि म तथा मेरो श्रीमान केशव नेपाल बसेकै घरमा अर्को कोठामा वस्ने गरेका थिए । ज्योतिकुमार भतिजो भएकोले मैले राम्रोनै गरी आएको थिए, पछि मेरो श्रीमानले ज्योतिकुमार नेपालसंग लागेकी छ भनी रिसाउने गर्न थाल्नु भएकोले कोठावाट निकाली दिएको, यसलाई वरवाद गनुपर्छ भनेकोले मैले तपाई के भन्नु हुन्छ भन्दा चुप लागेर वस भन्नु भयो । माघ देखि म माइतीमा बसी आएकी छु । फागुनमा एक पटक केशव नेपाललाई भेटन आउनु भयो, त्यसपछि हाल सम्म आएको छैन भन्ने समेत व्यहोराको सुनिता शर्माले जिल्ला प्रहरी कार्यालयमा गरि दिएको कागज ।
९. मिति ०५३।२।२८ गते मैले हाल नाम थाहा हुन आएको ज्योतिकुमार नेपाललाई मन्दिरमा देखेको व्यक्तिको लास रहेछ । निजलाई साथमा आउने कमलप्रसाद वस्याल, कृष्ण भन्ने सोलाङ जोलिङ रानामगरले नै कर्तव्य गरी मारेकोमा विश्वास लाग्दछ । को कसले मार्न लगाएका हुन वा के हो ? मलाई थाहा भएन भन्ने मदन मिश्र समेतका मानिसहरुले लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।
१०. प्रतिवादी कमलप्रसाद र कृष्ण राना भन्ने ओलाङ जेलिङ राना मगरले प्र. केशव नेपालले मृतक ज्योति नेपाललाई मारी दिनु भनी दिएको वचन मानी मार्ने नियतले मृतक संग हेलमेल गरी विभिन्न षडयन्त्र गरी मृतकलाई घटनास्थलमा मार्ने पूर्व योजना अनुसार लगी रक्सी खाई मिति ०५३।२।२८ गतेमा दुवै जना भै घाटी थिची मारी दिएको कुरा पुष्टी हुन आएको देखिंदा प्रतिवादी केशव नेपालले गरेको कसूर मु. ऐन ज्यान सम्वन्धी महलको १ नं. १३(४) र १६ नं. वमोजिमको देखिदा निजलाई सोही महलको १३(४) र १६ न. वमोजिम सजाय हुन र प्र. कमलप्रसाद वस्याल र कृष्ण राना भन्ने ओलाङ जेलिङ रानाले गरेको कसूर सोही महलको १ नं. १३ (३) नं. वमोजिम को देखिंदा सोही महलको १३(३) नं. वमोजिम सजाय गरी पाउं भन्ने दावी गरेको अभियोग पत्र ।
११. २०५३।२।२८ गते म र ज्योतिकुमार अनन्त लिगेश्वर महादेवको स्थानमा ५।५५ वजेको समयमा पुगी भजन किर्तन सुनी देवताको दर्शन गरी मन्दिरमा एकछिन वसी मन्दिर भन्दा केही माथि गै वियर खायौं मलाई र ज्योतिकुमारलाई भोडका र वियरको नसा लाग्यो म सुस्त सुस्त तलतिर लागे अलि तल आएर भित्तामा आड लिएर वसिरहेको थिए केही वेरपछि कृष्ण राना पनि आए उनलाई नसा लागेको थिएन मैले ज्योतिकुमार खोइत भन्दा आउदैछ भने मलाई नसा ज्यादै लागेको थियो म कृष्ण राना मगर हिड्दै दधिकोट आयो र दधिकोटमा सोद्धा मोटरसाइकलमा गै सक्यो भनी भनेकोले हामी भक्तपुर ठिमीवाट ट्याक्सीमा चडी काठमाडौं आयो र आ–आफ्नो डेरामा गै सुत्यौ । पूर्व योजना नभएको भए ज्योतिले भनेको ठाउं सुर्य विनायकनै जाने थियौ । यस्को पछाडि पुरा योजनाको षडयन्त्रकारी नै केशव नेपाल र कृष्ण राना संग जेलमा वस्दा खेरी धेरै आत्मीयता वलियो भएको हुंदा सवै योजना कृष्ण रानालाई वताएको होला र निज ज्योतिकुमारलाई कृष्ण रानाले मारेको हुन सक्छ, मैले होइन भन्ने समेत व्यहोराको प्रतिवादी कमलप्रसाद वस्यालले अदालतमा गरेको वयान ।
१२. मृतक ज्योति नेपाल मेरो भतिजा नाताको हुन, मृतक र मेरो श्रीमती वीच अनैतिक सम्वन्ध थियो भन्ने कुरा झुट्टा हो, यस सम्वन्धमा मलाई कुनै जानकारी छैन । निज ज्योति नेपाललाई मार्नको लागि मैले कुनै व्यक्ति लगाएको पनि छैन र लगाउनु पर्ने अवस्था पनि छैन, मृतकको मृत्यु के कसरी किन र कोबाट भएको हो यस सम्वन्धमा मलाई केही जानकारी छैन । कमल वस्याल र कृष्ण भन्ने ओलाङ जेलिङ राना मगर संग मेरो कुनै घनिष्टता र नजिकको कुनै सम्वन्ध छैन, सामान्य चिनजान सम्म छ, घटना घटेको दिन म आफ्नो डेरामा नयां वानेश्वर काठमाडौंमा नै छु । मृतक ज्योति नेपाललाई मार्नु पर्ने कारण समेत केही नभएको हुंदा मैले कमल वस्याल समेतलाई लगाई ज्योति नेपाललाई मार्न पर्ने अवस्था छैन । घटना घट्नु भन्दा अघि पछि पनि निज कमल वस्याल मेरो डेरामा आउने जाने गरेको छैन । मैले खुकुरी किनेको भन्ने कुरा झुट्टो हो । म राजनैतिक कार्यकर्ता भएकोले यस्तो प्रपंन्च रचिएको हुन सक्छ, कमल वस्यालसंग मेरो कुनै रिसइवी छैन । म भारतमा जागिरको लागि पहिले देखिनै प्रयासरत रहेको थिए र म ०५३ जेष्ठ अन्तिम हप्तामा भारत गए पछि भारतवाट मैले घरमा चिठी लेखी जवाफवाट मात्र मैले ज्योति नेपालको मृत्यु भएको भन्ने कुरा थाहा पाएं । मेरो श्रीमती सुनिता नेपाल सुत्केरी वस्न माइत गएको हो, निजसंग मेरो अहिले पनि राम्रो सम्वन्ध रहेको छ । ज्योतिले हाम्रो घर वरवाद गरेको पनि छैन र मैले सुनितालाई ज्योतीसंग लागेको भन्ने कुरा पनि भनेको छैन । ज्योति नेपाल, कमल वस्याल र कृष्ण राना मगर वीच के कस्तो चिनजान छ थाहा छैन । निजहरु घटना घटेको ठाउंमा गएको मेरो सरोकार नभएको हुंदा मलाई केही पनि थाहा छैन । वरामदी मुचुल्कामा उल्लेख भएको खुकुरी मेरो होइन मेरो घर कोठाबाट वरामद भएको पनि होइन, मैले निजलाई मार्ने षडयन्त्र पनि नगरेको र मार्न नलगाएको र यस घटना सम्वन्धमा मलाई थाहा नभएकोले म निर्दोष छु त्यसैले सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी केशव नेपालले अदालतमा गरेको वयान ।
१३. मृतक ज्योती नेपाल संग मेरो कुनै चिनजान छैन । निजको मृत्यु कसरी भयो सो मलाई थाहा छैन । यो मुद्दामा मलाई किन प्रतिवादी वनाइयो मलाई थाहा छैन । प्रतिवादी कमलसंग मेरो कुनै चिनजान तथा आजसम्म निजलाई मैले देखेको समेत छैन । मैले नदेखेको मानिसले मृतक ज्योती नेपाललाई मैले घाटी थिची मारेको भनि किन पोल उजुर गरे मलाई थाहा छैन । उक्त मुद्दाका प्रतिवादीहरु संग मेरो कुनै सरोकार र मलाई कुनै कुरा समेत थाहा नभएकोले अभियोग दावी झुठा हो भन्ने समेतको प्रतिवादी कृष्ण भन्ने ओलाङ जेलिङ राना मगरले अदालतमा गरेको वयान ।
१४. प्रतिवादीहरु केशव नेपालका साक्षी लक्ष्मण ज्ञवाली प्रतिवादी ओलाङ जेलिङ रानामगरको साक्षी जानकी गौतम, प्रतिवादी कमल वस्यालको साक्षी ऋषिराम वस्याल तथा जाहेरवाला छवि नेपाल वादीका साक्षी विष्णु सरण जंगम, वस्तुस्थितिका मुचुल्का मानिस श्रीराम न्यौपाने समेतले आ आफ्नो पक्षको मिलान गरी गरेको वकपत्र मिसिल सोमेल रहेछ ।
१५. मृतकको पेट फुलेको र पेटमा तरल पदार्थ भएको र खाएको चिज सवै नपची केही त्यसै वांकी भएको लाशको घाटीमा निलडाम तथा घाटी सुनिएको र छाला खुइलेको समेत दुवै तर्फ देखिएको हातको औलाको छाप थियो कि थिएन सुनिएको कारणले स्पष्ट रुपले नदेखिएको भन्ने लाश पोष्ट मार्टम गर्ने डा. इन्द्रप्रसाद प्रजापतिले अदालतमा गरेको वकपत्र ।
१६. विष्णु शरण जंगमले घटना स्थलमा प्रतिवादीहरु केशव नेपाल र ओलाङ जेलिङ नभएको भनी वकपत्र गरेको समेत कारणवाट निज प्रतिवादीहरु केशव नेपाल र कृष्ण भन्ने ओलाङ जेलिङ राना मगरले अभियोग दावीवाट सफाइ ठहर्छ । घटना हुनुभन्दा लगतै अगाडि मृतक संगै कमलप्रसाद वस्यालले रक्सी खाएको कुरा विष्णु शरण जंगमले देखेकोले Deductive way वाट हेरिदा निज प्रतिवादी कमलप्रसाद वस्याललाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(३) वमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ भन्ने भक्तपुर जिल्ला अदालतको मिति ०५५।७।११।५ को फैसला ।
१७. शुरु फैसलामा चित्त वुझेन मृतक ज्योति नेपाललाई मैले मारेको होइन । मार्नु पर्ने कारण पनि छैन । वादीका कुनै पनि साक्षीहरुले मैले मृतकलाई मारेको देखेको भनी भनेका छैनन। पोष्टमार्टम रिपोर्ट विवादास्पद छ । प्रहरीद्धारा करकापमा पारी गराएको वयानवाट समेत मलाई कसूरदार ठहर्याई सर्वश्वसहित जन्मकैद हुने गरी भएको शुरु फैसला फौज्दारी न्याय तथा सर्वोच्च अदालतको २०४१ सालको नि.नं. २०८९ मा प्रतिपादीत सिद्धान्त समेतको प्रतिकुल भएकोले वदर गरी झुठा अभियोग दावीवाट फुर्सद पाउं भन्ने प्रतिवादी कमलप्रसाद वस्यालको मिति ०५५।१०।२१ को पुनरावेदन पत्र ।
१८. प्रतिवादी कमलप्रसाद वस्याललाई अभियोग दावी वमोजिम सजाय गर्ने गरेको फैसलामा चित्त वुझेको र अन्य प्रतिवादीलाई अभियोग दावीवाट सफाइ दिने गरेको हदमा शुरु फैसलामा चित्त वुझेन । केशव नेपालको षडयन्त्र तथा भनाइमा लागि म र ओलाङ जेलिङ राना मगरले मृतक ज्योति नेपाललाई मार्न भक्तपुरमा लगेको समेत भनी प्रतिवादी कमल वस्यालले अधिकार प्राप्त अधिकारी तथा अदालतमा समेत वयान गरेको देखिएको र सुनिता नेपाल र ज्योति नेपाल वीचको संवन्धवाट प्रतिवादी केशव नेपालले मृतकलाई मार्ने सम्मको षडयन्त्र गरेको कुरा मिसिल साथ रहेका प्रमाणहरुवाट पुष्टी भएको अवस्थामा समेत प्रतिवादीहरु केशव नेपाल र कृष्ण भन्ने ओलाङ जेलिङ रानामगरलाई सफाइ दिने गरेको शुरु फैसला सो हदसम्म उल्टी गरी सवै प्रतिवादीहरुलाई अभियोग दावी वमोजिम सजाय गरी पाउं भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर ।
१९. मृतक ज्योतिकुमार नेपाल कर्तव्यवाट मरेकोमा शंका गर्ने ठाउं देखिदैन । निजको मृत्यु ०५३।२।२८ मा भएको भन्ने पोष्टमार्टम गर्ने डाक्टरले गरेको वकपत्रमा पोष्ट मार्टम ०५३।२।३० मा भएको र मृतकको मृत्यु सो भन्दा ३६ घण्टा अगाडि भएको भन्ने र ०५३।२।२९ मा लाश वरामद भई राखेकोबाट पुष्टी हुन्छ । सो ०५३।२।२८ को मितिमा प्रतिवादीहरु वारदात घटना भएको दधिकोट गा.वि.स. वडा न. ४ मा वेलुकासम्म रहेको भन्ने उक्त घटना स्थलमा प्रतिवादीहरुलाई देखेको भन्ने कृष्ण जंगमको वकपत्रवाट देखिन्छ । प्रतिवादीहरु मध्ये कमलप्रसाद वस्यालले अधिकार प्राप्त अधिकारी समक्ष र अदालतमा वारदातको दिन वेलुका अवेलासम्म वारदातस्थलमा रही मृतक समेतसंग वियर आदि खाएका र प्रतिवादी मध्येको कृष्ण भन्ने ओलाङ जेलिङ राना मगरले मृतकलाई घांटी थिची मारेको भन्ने वयान गरी राखेको देखिन्छ । प्रतिवादीहरु ओलाङ जेलिङ र केशव नेपालले अदालतमा वयान गर्दा कसूर गरेमा इन्कार रही वयान गरेको पाइन्छ । प्रतिवादी मध्येको कमलप्रसादले प्रतिवादी केशव नेपाल र अर्का प्रतिवादी कृष्ण भन्ने ओलाङ जेलिङ घटना वारदात भएको स्थानमा वारदात मितिमा रहेको र मृतक संग वियर रक्सी खाएको र मृतकलाई कर्तव्य गरेको व्यहोरा सवै खुलाई वयान गर्नु पर्ने कारण खुलाई दिन सकेको पाइदैन । मृतकको लाश जांच प्रतिवेदन हेर्दा (घाँटी थिची) (Throtling Asphysia) वाट मृत्यु भएको उल्लेख भै घाटीमा निलो, कालो, रातो, डाम रहेको भन्ने देखाएकोले निज प्रतिवादी कमलप्रसादको वयानको पुष्टी भै राखेको देखिन्छ । वारदात मिति ०५३।२।२८ मा प्रतिवादीहरुलाई वारदात स्थलमा देख्ने भनेको कृष्ण जंगमको वकपत्रवाट प्रतिवादीहरुको इन्कारी वयान सत्य सांचो रहेछ भन्न सकिने देखिन आएन । प्रतिवादीहरु संग ०५३।२।२८ मा मृतकले वियर रक्सी समेत खाए पश्चात सो को भोली पल्ट ०५३।२।२९ मा लाश वरामद भै राखेको र सो लास जांच प्रतिवेदन समेतवाट कर्तव्यवाट मृत्यु भएको देखिएको छ । त्यसरी कर्तव्य गर्नमा प्रतिवादीहरुको संलग्नता रहेको भन्ने चश्मदित गवाह नभएको अवस्थामा यो यस्को कर्तव्यवाट मृत्यु भएको भन्न सकिने हुदेैन । प्रतिवादीहरु ३ नै जना वारदात घटना स्थलमा गई मृतक समेतसंग वियर रक्सी खाई मृतकलाई कर्तव्य गरी मार्नमा संलग्न रहेको भन्ने लासजांच प्रतिवेदन, कृष्ण जंगमको वकपत्र तथा प्रतिवादी कमलप्रसाद वस्यालको वयानवाट पुष्टी भएको र को, कसको कर्तव्यबाट मृत्यु भएको भन्ने प्रमाणित हुन सकेको नदेखिंदा प्रतिवादी मध्येको कमलप्रसाद वस्याललाई मात्र ज्यान सम्वन्धी महलको १३(३) वमोजिम सर्वश्वसहित जन्मकैद गर्ने र अन्य प्रतिवादीहरु २ लाई प्रतिवेदन दावीवाट सफाइ दिने गरी भएको हदसम्मको फैसला मिलेको देखिएन । प्रतिवादीहरु कमलप्रसाद वस्याल केशव नेपाल तथा कृष्ण भन्ने ओलाङ जेलिङ राना मगर समेतको कर्तव्य वाट मृतक ज्योतिकुमार नेपालको मृत्यु भएको कुरा माथि उल्लेखित आधार प्रमाणवाट देखिन आएकोले प्रतिवादीहरुलाई ज्यान सम्वन्धीको १३(३) वमोजिम जन्मकैद गर्नु पर्नेमा प्रतिवादीहरु केशव नेपाल र कृष्ण भन्ने ओलाङ जेलिङ रानामगरलाई सफाइ दिने गरेको भक्तपुर जिल्ला अदालतको फैसला केही उल्टी हुने र प्रतिवादीहरु कमलप्रसाद वस्याल कृष्ण भन्ने ओलाङ जेलिङ रानामगरलाई ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम जन्मकैद हुने र अर्का प्रतिवादी केशव नेपालले वारदात घटना गराउन वचन दिएको तथ्य अन्य प्रतिवादीहरुलाई वहकाई ज्यानमार्ने षडयन्त्र समेत गरेको देखिएकोले निजलाई ज्यान सम्वन्धी महलको १३(४) वमोजिम जन्मकैद हुन्छ भन्ने समेतको पुनरावेदन अदालत पाटनको मिति २०५८।६।३ को फैसला ।
२०. सो फैसलामा चित्त वुझेन । जाहेरी दरखास्तमा मैले मृतकलाई कर्तव्य गरि मारेको भन्ने कुनै प्रत्यक्ष तथा तथ्यगत व्यहोरा उल्लेख छैन । वारदात संग सम्वन्धित कुनै पनि प्रत्यक्ष जानकारी जाहेर वालालाई छैन । विष्णु शरण समेतले अनुमानको आधारमा म समेतले मारेको भनि वकपत्र गरेको पाइन्छ । निजले अदालतमा वकपत्र गर्दा कस्ले मारे मलाई थाहा छैन भनि वकपत्र गरेको छ । घटना वारदातवाट ज्योतिकुमार नेपालको कर्तव्य गरि मार्नु मराउनुमा मेरो संलग्नता सहभागिता पुष्टि हुने कुनै प्रत्यक्ष वा परिस्थितिजन्य अवस्थाको विद्यमानता छैन । मैले अधिकार प्राप्त अधिकारी र अदालत समक्ष गरेको वयानमा ज्योतिकुमार नेपाललाई मारेको भन्ने तथ्यलाई स्वीकारेको छैन । मृतकको ज्यान लिनमा मेरो पनि सहभागिता संलग्नता थियो भन्ने निश्चित र विश्वासनीय प्रमाणको अभावमा कसूरदार ठहर गरेको फैसलामा अनुमान वाहेक गडाउ गर्ने कुनै पनि प्रमाणको उल्लेख हुन नसकेवाट ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम जन्मकैदको सजाय हुने ठहराएको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण भएकोले सो फैसला वदर गरि आरोपित कसूरवाट पूर्ण रुपमा सफाइ पाउं भन्ने समेतको प्रतिवादी कमल वस्यालको यस अदालतमा परेको पुनरावेदन पत्र ।
२१. पुनरावेदन अदालत पाटनको फैसला वमोजिम सो अदालतवाट मिसिल प्राप्त भई साधकको दायरीमा समेत दर्ता भई प्रतिवादी कृष्ण भन्ने ओलाङ जेलिङ रानामगरको हकमा जुद्धवहादुर रानाको वि.न. ६९६५ र प्रतिवादी केशव नेपालको हकमा कुलचन्द्र नेपालको नि.न. ७४१३ वाट न्याय प्रशासन ऐन, २०४८ को दफा १०(४) वमोजिम पुनरावेदन सरहको निवेदन जिकिरका आधारमा न्याय पाउं भन्ने समेत व्यहोराको निवेदन समेत साथै पेश भएको रहेछ ।
२२. मृतक ज्योतिकुमार नेपाललाई कर्तव्य गरि मार्ने वारदात कसैले चश्मदीतको रुपमा नदेखेको स्थितिमा अधिकार प्राप्त अधिकारी समक्ष प्रतिवादी कमलप्रसाद वस्यालको सावितिको आधारमा तिनै अभियुक्तलाई कसूरदार ठहर्याएको पुनरावेदन अदालत पाटनको निर्णय फरक पर्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम छलफलको लागि उपस्थित हुन महान्यायाधीवक्ताको कार्यालयलाई सूचना दिई पेश गर्नु भन्ने समेतको यस अदालतको आदेश ।
२३. नियम वमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढि यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्र सहितको सम्पूर्ण मिसिल कागजात अध्ययन गरि पुनरावेदक प्रतिवादी कमलप्रसाद वस्यालको तर्फवाट विद्वान अधिवक्ताहरु श्री विश्वकान्त मैनाली, श्री शम्भु थापा, श्री मोतीवहादुर थापा र श्री कृष्णप्रसाद सापकोटाले हामीहरुका पक्ष कमलप्रसाद वस्यालको मृतक ज्योति नेपाललाई मार्ने कार्यमा संलग्नता रहेको मिसिल संलग्न प्रत्यक्ष वा परिस्थिति जन्य कुनै पनि प्रमाणले पुष्टि गरेको छैन । केवल शंका र अनुमानको आधारमा मात्र कर्तव्य ज्यान जस्तो गंभीर प्रकृतिको फौज्दारी अभियोगमा सजाय हुन सक्तैन । प्रतिवादी कमल वस्यालको मृतकलाई मार्नु पर्ने सम्मको पूर्व रिसइवी पनि संकलित सवुद प्रमाणवाट देखिएको छैन । केवल मृतक ज्योती नेपाल र प्रतिवादी केशव नेपालको श्रीमती सुनिता नेपाल वीचको अनैतिक सम्वन्ध रहेको भन्ने आधारमा केशव नेपाल मृतकलाई मार्ने समेतको षडयन्त्रमा संलग्न रहेको र मृतक संग संगै वसी रक्सी खाएको भनि वारदातको श्रृखंला संग प्रतिवादी कमल वस्यालको संलग्नता जोडिएको छ । सो कुरा अन्य स्वतन्त्र प्रमाणवाट पुष्टी हुन नसकेको स्थितिमा निजले अधिकार प्राप्त अधिकारी र अदालतमा वयान गर्दा स्विकारेको भन्ने आधारमा मात्र ज्यान जस्तो फौज्दारी अभियोग शंकारहीत तवरवाट पुष्टि भएको मान्न मिल्ने अवस्था छैन। मृतक संग संगै वसि रक्सि खाएको भन्ने कुराले मात्र ज्यान मार्ने षडयन्त्रमा पसेको भनि अर्थ गर्न समेत मिल्दैन । सो वाहेक अन्य कुनै सवुद प्रमाण वादी पक्षवाट प्रस्तुत हुन नसकेको स्थितिमा कमल वस्याल उपरको आरोपित कसूर ठहर गरि सजाय गर्ने गरेको पुनरावेदन अदालतले फैसला नमिलेकोले उल्टी भै पुनरावेदक प्रतिवादीले आरोपित कसूरवाट पूर्णरुपमा सफाइ पाउनु पर्दछ भन्ने वहस प्रस्तुत गर्नु भयो । त्यसै गरि वादी श्री ५ को सरकारको तर्फवाट विद्वान सहन्यायाधिवक्ता श्री पुष्पा राज कोइरालाले मृतक ज्योती नेपालको कर्तव्यवाट मृत्यु भएको भन्ने कुरामा विवादै छैन । अभियुक्त कमल वस्यालले अधिकार प्राप्त अधिकारी र अदालतमा समेत आरोपित कसूर स्वीकार गरेका छन । केशव नेपालको श्रीमती सुनिता नेपाल र मृतक ज्योति नेपाल वीचको अनैतिक सम्वन्धको जरियावाट मृतकलाई मार्ने षडयन्त्रभै सो षडयन्त्रकारीको भूमिकामा समेत कमल वस्यालको प्रत्यक्ष संलग्नता रहेको र सो वमोजिमको कार्य समेत भएवाट निज प्रतिवादी उपरको अभियोग पुष्टि भै रहेकोले पुनरावेदन अदालतले निजलाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सजाय गर्ने गरेको फैसला मिलेको हुंदा सदर हुनु पर्दछ भनि वहस प्रस्तुत गर्नु भयो ।
२४. जाहेर वालाका तर्फवाट विद्वान अधिवक्ता श्री रेवन्तवहादुर कुँवरले मृतकको मृत्यु घाटी थिचिएको कारण भएको भन्ने शव परीक्षण प्रतिवेदनवाट देखिएको छ । प्रतिवादी कमल वस्यालले अर्का प्रतिवादी ओलाङ जेलिङ रानाले मृतकको घाटी थिची रहेको आफुले देखेको भनि वारदातको तथ्यलाई अदालतमा सिमेत स्विकार गरेको अवस्था छ । मृतक र अर्का प्रतिवादी केशव नेपालको श्री मति सुनिता नेपाल संगको अनैतिक सम्वन्धको जरियावाट उठेको प्रस्तुत मुद्दामा वारदात हुनु पूर्व नै मार्ने षडयन्त्र रचेको, पूर्व योजना वमोजिमको कार्य समेत भएको स्थितिमा मृतकलाई मार्नमा निजको संलग्नता नरहेको भन्न नमिल्ने हुंदा पुनरावेदन अदालतले आरोपित कसूरमा सजाय गर्ने गरेको फैसला मनासिव हुंदा सदर हुनु पर्दछ भनि वहस प्रस्तुत गर्नु भयो ।
२५. प्रस्तुत मुद्दामा उपरोक्त विद्वान कानून व्यवसायीहरुको वहस पुनरावेदन जिकिर एवं मिसिल संलग्न सवुद प्रमाण समेतको आधारमा निर्णय तर्फ विचार गर्दा शुरु भक्तपुर जिल्ला अदालतले प्रतिवादी केशव नेपाल र कृष्ण भन्ने ओलाङ जेलिङ रानाले सफाइ पाउने र प्रतिवादी कमलप्रसाद वस्याललाई सर्वस्वसहित जन्मकैद हुने ठहराएको फैसला केही उल्टी गरि पुनरावेदक प्रतिवादी कमल वस्याल र कृष्ण भन्ने ओलाङ जेलिङ रानामगरलाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम जन्मकैद हुने र अर्का प्रतिवादी केशव नेपाललाई ज्यान सम्वन्धीको १३(४) नं. वमोजिम जन्मकैद हुने ठहराएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ वा छैन ? विचार गर्नु पर्ने देखियो ।
२६. प्रतिवादी मध्येका कमल वस्यालको पुनरावेदन पर्न आएको भै निजको हकमा न्याय प्रशासन ऐन, २०४८ को दफा १०(३) वमोजिम पुनरावेदनको रोहवाट नै इन्साफ हुने, कृष्ण भन्ने ओलाङ जेलिङ राना मगरलाई ज्यान सम्वन्धी महलको १३(३) र प्रतिवादी केशव नेपाललाई १३(४) नं. वमोजिम सजाय हुने ठहर भए उपर निजहरुको पुनरावेदन पर्न नआएको, निजहरुका हकमा न्याय प्रशासन ऐन, २०४८ को दफा १०(४) वमोजिम जुद्धवहादुर राना र कुलचन्द्र नेपालको निवेदन पर्न आएको देखिएकोमा यस अदालत पूर्ण इजलासवाट निवेदक दिनेवा भन्ने अहमुद्दिन खाँ को हकमा मोफियुद्दिन खाँ विरुद्ध श्री ५ को सरकार भएको कर्तव्य ज्यान मुद्दामा अदालतको आदेशलाई पालना गरेर थुनामा वस्नु पर्ने व्यक्ति आफै नआई हकमा दिएको निवेदनको आधारमा हेर्न नमिल्ने (ने.का.प. २०५८, अंक ७।८, नि.नं. ७०१५, पृष्ठ ३६६ मा प्रकाशित) भन्ने प्रतिपादित सिद्धान्त वमोजिम निजहरुका सम्वन्धमा परेको निवेदन र रहनु भएका विद्वान अधिवक्ताहरुको वहस जिकिर सुनिरहनु पर्ने अवस्था नभै साधकको रोहवाट हेर्नुपर्ने हुन आयो ।
२७. लास जांच प्रतिवेदनको अध्ययनवाट मृतक ज्योतीकुमार नेपालको मृत्युको कारण Aspexia Throtling उल्लेख भएको देखिन आयो । मृतकको मृत्यु लास जांच प्रतिवेदनमा उल्लेख भए देखि वाहेक अन्य कारणवाट भएको भनी शंका गर्नु पर्ने अवस्था मिसिलको तथ्य वाट देखिन नआएको र पुनरावेदक तर्फवाट रहनु भएका विद्वान अधिवक्ताहरुले पनि अरुनै कारण वाट मृत्यु हुन सक्ने अवस्था रहेको भनी जिकिर लिन सकेको अवस्था नभएवाट मृतकको मृत्यु Throtling को कारण कर्तव्य वाट नै भएको भन्ने तथ्यमा कुनै विवाद देखिन आएन । छवी नेपालको ०५३।२।३० गते परेको जाहेरीमा ०५३।२।२८ को दिन ज्योती नेपाल, कमलप्रसाद वस्याल, र अर्को नाम थाहा नभएको व्यक्ति समेत ३ जनाभै घटना भएको ठाउंमा गई साँझ सम्म वियर खाएको भन्ने थाहा पाएको आधारमा निजहरुले नै मारेमा विश्वास लाग्दछ भनी जाहेरी परेको देखिन आयो। पुनरावेदक कमलप्रसाद वस्यालले प्रहरी समक्ष कागज गर्दा आफ्नो भाइ लक्ष्मणप्रसाद मार्फत केशव नेपाल संग चिना जान भै दोस्ती वढेको, केशव नेपालले ज्योतीकुमार नेपाल र आफ्नो श्रीमती वीच शारीरिक सम्वन्ध रहेको कारण आफूलाई ठूलो पिर परेको भै कित आफै मर्नु पर्ने, कि मार्नुपर्ने अवस्था सम्म परेको, ज्योती नेपालसंग आफूले चिनाजान दोस्ती वढाइ रक्सी वियर खाने नखाने पत्ता लगाएको, साथमा लगी रक्सी खुवाउने कार्यमा सहयोग गर्न आफू तयार रहेको, ०५३ साल जेष्ठ २८ गते कृष्ण, ज्योती र आफू दधिकोट गएको, कृष्णले वियर मात्र खाएको ज्योती र आफूले वियर मा भोडका मिसाइ खाएको र रक्सीको नसा दुवैलाई लागेको, यसै मौका आफुलाई पिसाव लागी अलिमाथि डेल्टातर्फ गएको वखत पिसाव फेरी तल आउंदा कृष्ण रानाले ज्योती नेपालको घांटीमा दुवै हातले अठ्याई घोडा चढी दवाई यो गद्दार हो कत्तिको घर वरवाद गरिसक्यो भन्दै घांटीमा हातले दावी थिचीरहेको देखि ठिकैछ मार्न भनी ल्याएको रक्सीले अचेत छ, कृष्णले सकिहाल्छ भनी आफू तलतिर झरेको व्यहोरा उल्लेख गरेको देखिन आयो । सुनिता नेपाललाई प्रहरीले वुझेकोमा आफ्नो श्रीमानले ज्योतीसंग लागेकी छस हाम्रो घर वर्वाद गरि दियो त्यसलाई वर्वाद गर्नु पर्छ भनी भनेको तथ्य उल्लेख छ । पुनरावेदक कमलप्रसाद वस्याल अदालतमा आई वयान गर्दा केशव नेपाल, कृष्ण राना वसी ज्योती नेपाललाई वदला लिने योजना वनाएको आफु पनि त्यस वखत साथै रहेको, ०५३।२।२८ का दिन कृष्ण राना, ज्योती नेपाल र आफू वारदात स्थलमा भै वियर भोडका खाएको तथ्यलाई स्वीकार गरेको अवस्था देखिन्छ । प्रतिवादी कृष्ण भन्ने ओलाङ जेलिङ राना मगर केशव नेपाल अभियोगमा इन्कार रहेकाछन । वियरको वोतलको लोभमा वोतल जम्मा गर्ने हेतु वियर खाइरहेको स्थानमा पुगेका बर्ष १३ का विष्णु शरण जंगम अदालत समक्ष उपस्थि भै कमलप्रसाद वस्याललाई सनाखत गरेको र तीनजनाले वियर खाएको देखेको तथ्य पुष्टी भै रहेको अवस्था पनि पाइयो । मिसिलवाट देखिएका उपरोक्त तथ्यका आधारमा मृतकको मृत्यु कर्तव्यवाट नै देखिन आएको अवस्थामा प्रतिवादीहरुको के कस्तो संलग्नता रहेको वा नरहेको सो तर्फ विचार गर्दा यस घटनाको मुख्य कारकको रुपमा केशव नेपालको श्रीमती सुनिता नेपाल र ज्योतीकुमारको अनैतिक सम्वन्धनै रहेको देखिन्छ । केशव नेपालले आफ्नो श्रीमती सुनिता नेपालको मृतक ज्योतीकुमारसंग शारीरिक सम्वन्ध रहेको कारण आफू पनि वर्वाद भएको र मृतकलाई पनि वर्वाद गर्ने उद्देश्यवाट प्रतिवादी पुनरावेदक कमलप्रसाद वस्यालसंग सम्वन्ध राखेका, कित आफै मर्नु पर्ने यात मृतकलाई मार्नु पर्ने अवस्था परि मार्न आफैले प्रयास गरेको, आफू असफल भएपछि कमलप्रसाद वस्याल संग मार्न निमित्त सहयोग मागेको, अन्ततः साथमा लगी रक्सी खुवाउन सहयोग गर्ने कार्यमा कमलप्रसाद वस्याल सहमत भै ०५३ साल जेष्ठ २८ गते प्रतिवादी कृष्ण भन्ने बलाङ जेलिङ राना मृतक ज्योतीकुमार र आफु दधिकोट गएको, दाधेकोट वारदात स्थलमा गै आफू र ज्योतीकुमारले वियरमा भोडका मिसाई खाएको र कृष्ण भन्ने ओेलाङ जेलिङ रानाले वियर मात्र खाएको ज्योती नेपाललाई रक्सीको नसा लागेपछि कृष्ण भन्ने ओलाङ जेलिङ रानाले आफु पिसाव फेर्न अलिक पर गएको अवस्था ज्योती नेपालको घाटीमा अठ्याई घोडा चढी यो गद्दार हो कत्तिको घर वरवाद गरि सक्यो भनी मारेको तथ्य प्रतिवादी कमल वस्यालले प्रहरी समक्ष गरेको कागजमा उल्लेख गरेकोमा अदालतमा वयान गर्दा पनि वारदातको दिन आफू मृतक र कृष्ण भन्ने ओलाङ जेलिङ राना घटना स्थलमा गै वियर रक्सी खाएको तथ्यलाई स्वीकार गरेको छ । वियरको वोतल जम्मा गर्ने हेतु प्रतिवादी एवं मृतक रहेको वारदात स्थलमा पुगेका र खानपान गरेको देख्ने विष्णु शरण जंगमले प्रतिवादी कमलप्रसाद वस्याललाई सनाखत गरेको, यस स्थितिमा वियर र रक्सी खाएको आसपासमा रहेको मृतकको लास प्रतिवादी कमलप्रसाद वस्यालको प्रहरीमा भएको साविती वाहेकको अन्य कारणवाट परेको भन्न मान्न सकिने अवस्था देखिन नआएको यस अवस्थामा कमलप्रसाद वस्यालको प्रहरीको साविती अन्यथा भन्न सकिने अवस्था देखिएन । यस्मा मुख्य मार्ने मतलवमा पसेका र मार्न वचन दिने केशव नेपाल, मार्ने कार्यमा हात हाल्ने, मार्ने कृष्ण भन्ने ओलाङ जेलिङ राना नै देखिन आएवाट निजहरुका हकमा पुनरावेदन अदालत पाटनले गरेको इन्साफ मुनासिव देखिंदा साधक सदर हुने देखिन्छ ।
२८. अव प्रतिवादी पुनरावेदक कमलप्रसाद वस्यालका सम्वन्धमा विचार गर्दा निज उपर ज्यान सम्वन्धीको १३(३) नं. को अभियोग भएतापनि निजले मार्न निमित्त लाठा ढुंगा र साधारण हातहतियारले कुटी हानी रोपी घोची वा अरु यस्तै ज्यान मार्ने कार्य गरेको मिसिलवाट देखिन आउदैन । ज्यान सम्वन्धिको १३(३) को दावीमा सो अवस्था विद्यमान हुन जरुरी हुन्छ । ज्यान सम्वन्धीको १३(३) को अवस्था विद्यमान नभएको अवस्थामा दावीकै भरमा १३(३) आकर्शित हुन सक्ने देखिदैन । निजले ज्यान मार्नको निमित्त वचन दिने र मार्नलाई संयोग पारि दिन निमित्त वारदातमा गै मर्ने मानिसको जिउमा हातहाली पक्रि दिने कार्य पनि गरेको देखिन नआएको अवस्थामा ज्यान सम्वन्धिको १३(४) आकर्षित हुन सक्ने पनि देखिन आएन । निजको प्रहरीमा भएको कागजमा मृतकलाई साथमा लगी रक्सी खुवाउने कार्यमा सहयोग गर्न आफु तयार रहेको तथ्यलाई स्वीकार गरेको छ । ०५३।२।२८ गते कृष्ण राना, मृतक ज्योती नेपाल र आफू वारदात स्थलमा वियर खाएको स्वीकारेकोले निजको प्रहरीको कागजलाई पुष्टी गरी रहेको अवस्था छ । प्रतिवादी कमलप्रसाद वस्याल ज्यान मार्ने कार्यमा मुख्यभै षडयन्त्र गर्ने व्यक्ति देखिदैन तथापी मार्ने कार्यको निमित्त वारदात स्थलमा पुर्याई रक्सी खुवाउने कार्यमा सहयोगीको रुपमा देखिन आएको छ ।
२९. ज्यान सम्वन्धी को १६ नं. ले ज्यान मार्ने काममा वा ज्यान मर्न सक्ने कुनै कुरामा मूख्यभै षडयन्त्र गर्ने वा त्यस्तो काम गर्न लगाउनेलाई ज्यान मरेको रहेछ भने दश बर्ष देखि पन्ध्र बर्ष कैद सजाय गर्नु पर्छू भन्ने व्यवस्था गरेकोमा कमलप्रसाद वस्यालका तर्फवाट रहनु भएका अधिवक्ताहरुले ज्यान मार्ने कार्यमा मुख्य भै षडयन्त्र गर्ने र काम गर्न लगाउने कमलप्रसाद नभएवाट निजहरुको हक्मा १६ नं. आकर्षित हुन नसक्ने भन्ने तर्क राख्नु भएको छ । ज्यान मार्ने कार्यमा षडयन्त्र गर्ने व्यक्ति एक वा एक भन्दा वढी रहन सक्दछन, षडयन्त्र भित्र रहेका व्यक्ति षडयन्त्रको कार्य सम्पन्न हुनु पुर्व षडयन्त्रको योजनावाट वाहिरीन सक्ने सम्भावना पनि रहन नसक्ने हैन । षडयन्त्रको कार्यवाट वाहीरिएका षडयन्त्रको परिणाम हासिल गर्ने कुनै कार्यमा कृयाशिल नरहेका व्यक्तिको निमित्त ज्यान सम्वन्धीको १६ नं. आकर्षित हुने देखिदैन । षडयन्त्र भित्र रहि षडयन्त्रवाट हासिल गर्न खोजेको परिणामको निमित्त क्रियाशील रहि परिणाम हासिल गर्ने व्यक्ति षडयन्त्र भित्र पर्ने हुन्छन । विद्वान अधिवक्ताको तर्कसंग सहमत हुने हो भने मुख्य वाहेक अन्य षडयन्त्रमा परेका व्यक्तिहरुका सम्वन्धमा उक्त १६ नं. आकर्षित हुने देखिदैन। षडयन्त्रको समूह भित्रका भिन्न भिन्न व्यक्तिको भिन्न भिन्न जिम्मेवारी हुनसक्ने हुंदा त्यस्तो षडयन्त्र भित्र पसी लक्षीत परिणाम हासिल गर्न सहयोग पुर्याउने वा क्रियाशील हुने व्यक्तिका सम्वन्धमा ज्यान सम्वन्धिको १६ नं. आकर्षित नहुने भन्न सकिने अवस्था देखिदैन र ज्यान सम्वन्धी महलको व्यवस्था हेर्दा ज्यान मार्ने कार्यमा क्रियाशील रहेको व्यक्तिहरुका सम्वन्धमा ज्यान मार्ने कार्यमा संलग्न रहेका व्यक्तिले गरेको कार्य अनुसारको सजायको व्यवस्था भएको नै हुंदा षडयन्त्र भित्र रहि लक्षित परिणाम हासिल गर्न क्रियाशीलल रहने मुख्य षडयन्त्रकारी देखि वाहेकका व्यक्तिलाई ज्यान सम्वन्धीको १६ नं. ले उन्मूक्ति प्रदान गर्न खोजेको देखिन आउँदैन । पुनरावेदक प्रतिवादी कमलप्रसाद वस्याल मार्ने षडयन्त्र भित्र रहेको र मार्ने कार्यको निमित्त आफुले वारदात स्थलमा लगी रक्सी खुवाउने कार्यमा सहयोग पुर्याएको देखिंदा निजलाई ज्यान सम्वन्धिको १६ नं. अनुसार १० बर्ष कैद हुने ठहर्छ । ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम जन्मकैद हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको इन्साफ उल्टी हुन्छ। अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए वमोजिम प्रतिवादी केशव नेपाल र कृष्ण भन्ने ओलाङ रानाको हकमा पुनरावेदन अदालतले गरेको इन्साफ मुनासिव ठहरी साधक सदर भएकाले पुनरावेदन अदालतको फैसला वमोजिम लगत कायम गरि कानून वमोजिम असुल गर्नु भनि शुरु भक्तपुर जिल्ला अदालतमा लेखी पठाई दिनु –– १
पुनरावेदक प्रतिवादी कमलप्रसाद वस्यालको हकमा पुनरावेदन अदालतको फैसला केही उल्टी भै निजलाई ज्यान सम्वन्धीको १६ नं. वमोजिम १० बर्ष कैद हुने ठहरेकाले पुनरावेदन अदालतको फैसलाले राख्ने गरेको जन्मकैदको लगत कट्टा गरि १० (दश) बर्ष कैदको लगत राखी कानून वमोजिम असुल गर्नु भनि शुरु भक्तपुर जिल्ला अदालतमा लेखी पठाई दिनु ...२
दायरी लगत कट्टा गरि मिसिल नियमानुसार वुझाई दिनु ––––३
उक्त रायमा सहमत छु ।
न्या.केदारप्रसाद गिरी
इति सम्वत् २०६० साल माघ २३ गते रोज ६ शुभम्......