निर्णय नं. ७२८७ - निर्णय वदर

निर्णय न.७२८७ ने.का.प.२०६० अङ्क ९.१०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
सम्वत् २०५५ सालको दे.पु.नं. ..४७२५
फैसला मितिः २०६०।३।२६।५
मुद्दाः– निर्णय वदर ।
पुनरावेदक
प्रतिवादीः काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १४ कुलेश्वर वस्ने सानु महर्जन
विरुद्ध
विपक्षी
वादीः ऐ. वडा नं. १२ टेकु वस्ने याक भिसा भन्ने सूर्यभक्ति श्रेष्ठ
§ वादीले वनाएको घरले चर्चेको जग्गा वाहेक अरु जग्गाको मोही नामसारी हुने नहुने तर्फ कानून वमोजिम निर्णय गर्न गुठीमा पठाउने यस अदालतको मिति २०५१।६।३ को फैसला कायम रहेको अवस्थामा गुठीले मोही नामसारी तर्फ निर्णय गरेको कुराका सम्वन्धमा प्रस्तुत मुद्दामा विचार गर्नुपर्ने स्थिति नहुने ।
§ गुठी संस्थान ऐन, २०३३ दफा ३९(२) को उपदफा (१) वमोजिम प्रशासकले वा प्रशासकको काम गर्ने प्रशासकीय प्रमुखले गरेको निर्णयमा चित्त नवुझ्ने व्यक्तिले सो निर्णय उपर ३५ दिन भित्र पुनरावेदन अदालतमा पुनरावेदन दिन सक्नेछ भन्ने कानूनी व्यवस्था रहेको देखिएको हुँदा गुठी संस्थान ऐन, २०३३ को दफा ३९ को अधिकारक्षेत्र भित्र रही सो भित्रको विषयमा निर्णय गरेको खण्डमा मात्र पुनरावेदन अदालतमा पुनरावेदन लाग्ने कुरा ऐ. को उपदफा २ ले प्रष्टरुपमा तोकेको हुँदा प्रस्तुत मोही नामसारी र कित्ताकाटको विषय उक्त दफा ३९ को विषयवस्तु भित्र पर्ने नदेखिने ।
§ न्याय प्रशासन ऐन, २०४८ को दफा ८ अनुसार पुनरावेदन लाग्ने हो कि त भन्नलाई पनि गुठी तहसिल कार्यालयको सो निर्णय उपर पनुरावेदन अदालतमा पुनरावेदन लाग्न सक्ने अवस्था देखिदैन भनी यस अदालतवाट सिद्धान्त प्रतिपादन भएको देखिएको परिप्रेक्ष्यमा पुनरावेदन अदातलले प्रस्तुत मुद्दामा पुनरावेदकिय क्षेत्राधिकार ग्रहण गरेको मिलेको नदेखिने ।
§ मुलुकी ऐन अदालती वन्दोवस्तको ३५ नं. ले पनि आफूले हेर्न हुने मुद्दा वाहेक अरु मुद्दा हेरे छिनेको भए वदर हुने देखिदा उल्लेखित कानून र प्रतिपादित सिद्धान्त समेतका आधारमा आफू कहाँ पुनरावेदन नै नलाग्ने विषयमा वादी सूर्यभक्तिको पुनरावेदन ग्रहण गरी गुठी संस्थान काठमाडौं गुठी तहसिल कार्यालयको निर्णय वदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०५५।१।४ को फैसला मिलेको नदेखिंदा वदर हुने ।
(प्र.नं. १३ र १४)
पुनरावेदक प्रतिवादी तर्फवाटःविद्वान अधिवक्ता श्री हिरा रेग्मी
विपक्षी वादी तर्फवाटःविद्वान अधिवक्ता श्री धनबहादुर वस्नेत
अवलम्वित नजिरः
फैसला
न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको मिति २०५५।१।४ को फैसाल उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार प्रतिवादीको तर्फवाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र फैसला यसप्रकार छ
२. श्री पचली भैरव गुठीमा दरिएको नापीका वखत का.न.पा.वडा नं. २(क) हाल वडा नं. १२ परेको कि.नं. १२ को ०(११(३ क्षे.फ. जग्गा का.न.पा. वडा नं. १४ वस्ने सानु महर्जन पुनरावेदक भई पुनरावेदन अदालत पाटनले मिति २०४९ पौष २ मा प्रतिवादीले वनाएको घरले चर्चेको जग्गा वाहेक अरु जग्गाको मोही नामसारी हुने नहुने तर्फ कानून वमोजिम निर्णय गर्नु भनी गुठी संस्थानलाई लेखी पठाउने गरी गरेको फैसलामा चित्त नवुझी सो निर्णय वदर गरी पाउं भनी श्री सर्वोच्च अदालतमा पुनरावेदन गरेकोमा मिति २०५१ साल आश्विन ३ गते श्री सर्वोच्च अदालतले २०४९ साल पौष २ मा पुनरावेदन अदालत पाटनले गरेको फैसला सदर हुने ठहर्छ भनी फैसला भएको कि.नं. १२ को क्षे.फ. ०(११(३ जग्गाको पश्चिम टेकु दोभान जाने मूल सडक संग पश्चिमी मोहडा पुरै जोडिने गरी चौडाई ११ फिट र सो देखि पूर्वपटृी लम्वाई ९३ फिट भएको घर एक अवस्थित रहेको छ । सो जग्गाको फिल्डवुक उतारमा पुनविर महर्जन मोही भनी लेखिए तापनि श्री पचली भैरव गुठीका गुठियारहरुलाई प्रत्येक वर्ष वडा दशै घटस्थापनाका दिन पूजाआजा गरी गुठी चलाउन प्रत्येक सालको १६ पाथी चिउरा र ५ धार्नी मासु समेत वुझाउँदै अएकी छु । मिति २०२७ साल कार्तिक १२ गते गुठीका तत्कालीन थकाली काजिमान महर्जन समेतका १२ जना गुठियारहरुले उक्त जग्गामा घर वनाउन पन्जुरनामाको कागज गरी दिएकोले नक्सा वमोजिम मिति २०२८।१२।२२ मा घर तयार गरी आजसम्म सोही घरमा वस्दै आएकी छु । तोकिए वमोजिम कुत वुझाउदै आएको हुँदा वास्तविक जोताहा मोही म मात्र भई अन्य कोही नभएको हुँदा उक्त जग्गाको मोहियानी जोताहा मोही म मात्र भई अन्य कोही नभएको हुँदा उक्त जग्गाको मोहियानी हक कायम गरी पाउँ भन्ने याक मिसा भन्ने सूर्य भक्ति श्रेष्ठको निवेदन ।
३. श्री पचली भैरव गुठीमा दरिएको परापूर्वकाल देखि नै जोत भोग गरी आएको सर्भे नापीका वखत का.न.पा. वडा .नं. २(क) वडा नं. १२ को कि.नं. १२ क्षे.फ.०(११(३ कायम भएको जग्गाको जोताहा महलमा म निवेदकको वावु पुनविर महर्जनको नाम कायम भएको वावुको मृत्यु पछि मैले नै जोत भोग गरी आइरहेको छु । वावु पुनविरको मृत्यु पछि मैले जोत भोग गरी आइरहेको उक्त जग्गाको सम्वन्धमा मिति २०३९।११।१९ को गुठी संस्थानको निर्णय वमोजिम समेत मेरो नाउँमा मोही नामसारी हुनुपर्नेमा गुठी संस्थानले सोही मिति २०३९।११।१९ को निर्णय कार्यान्वयन नगरी पुनः गुठी संस्थानवाट मिति २०४२।९।३ मा वाटो विवाद समाप्त भई आएपछि मात्र मोही कायम गर्नु भन्ने निर्णय भयो उक्त निर्णय उपर निर्णय वदर मुद्दा परी मिति २०५१।३।३ मा सम्मानित सर्वोच्च अदालतवाट प्रतिवादीले वनाएको घरले चर्चेको जग्गा वाहेक अरु जग्गाको मोही नामसारी गर्ने नगर्ने विषयमा निर्णय गर्ने क्षेत्राधिकार यस गुठी संस्थानलाई रहे भएको हुँदा त्यस तर्फ निर्णय गर्नु भनी अन्तिम फैसला भैसकेको हुँदा सो फैसला अनुसार यस गुठी संस्थानवाट मेरो नाममा मोही नामसारी गरी सो को प्रमाण पत्र पाउँ भन्ने समेत व्यहोराको सानु महर्जनको निवेदन ।
४. पचली भैरव गुठीको साविक का.न.पा. वडा नं. २(क) कि.न. १२ को क्षे.फ.०(११(३ को जग्गा मेरो वावु पुनविर महर्जनको नाममा मोही दर्ता भै कायमी भएकोमा उल्लेखित कित्ता जग्गा हाल नापीमा हाम्रो अनुपस्थितिका कारण जोताहा महल खाली भै का.न.पा. वडा नं. १२ को क्षे.फ. ०(१०(० नयाँ नापीमा कायम भै दर्ता समेत भैसकेको जग्गाको गुठी संस्थानको पूर्व निर्णय मिसिल तथा सर्वोच्च अदालतको फैसला समेत अनुसार मेरा नाउँमा मोही कायम नामसारी गरी जग्गाधनी दर्ता प्रमाणपूर्जा पाउँ भन्ने सानु महर्जनको निवेदन ।
५. प्रस्तुत विषयमा गुठी संस्थान केन्द्रिय कार्यालयको मिति २०३९।११।१९ तथा गुठी संस्थान के.का. को मिति २०४२।१०।१३ को निर्णय तथा सर्वोच्च अदालतको मिति २०५१।६।३ को फैसला समेत अनुसार प्रतिवादीले वनाएको घरले चर्चेको जग्गा वाहेक अरु जग्गा पुनविर महर्जनका हकदार छोरा सानु महर्जन नाममा नामसारी गरी सोही अनुसार पक्का गरी मा.पो.का. को स्रेस्तामा जनाई जानकारी पठाई दिन मा.पो.का. काठमाडौंमा अनुरोध गर्नुपर्ने देखि निर्णयार्थ पेश गरेको छु । गुठी लगत तथा तहविल कार्यालयको मिति २०५२।७।३ को पत्रवाट गुठियार नदेखिएको भनी जवाफ प्राप्त भएकोले माथि लेखिए वमोजिम नामसारी समेतको लागि संलग्न फायल नै मालपोत कार्यालयमा पठाउने गरी सदर भएको भन्ने समेत व्यहोराको काठमाडौं गुठी तहिसल कार्यालय कालमोचनको मिति २०५२।७।५ को टिप्पणी आदेश ।
६. शुरुले मोही नामसारी गरी पाउं भन्ने मुद्दामा मिति २०५२।७।५ मा प्रत्यर्थी सानु महर्जनको माग दावी वमोजिम मोही नामसारी हुने तथा विवादित कित्ता जग्गा कित्ताकाट गर्ने गरी निर्णय गरेकोमा चित्त वुझेन । सर्वोच्च अदालतको फैसला वमोजिम घरले चर्चेको जग्गा छुटृयाउँदा तथा वाँकी जग्गामा मोहियानी हक नामसारी गर्ने नगर्ने विषयमा निर्णय गर्दा मलाई कुनै सूचना नदिई सुनुवाईको सिद्धान्त विपरीत गरेको निर्णय वदर गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदकको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
७. यसमा काठमाडौं गुठीले निर्णय गर्दा प्रत्यर्थीलाई वुझी निर्णय गर्नुपर्नेमा सो गरेको पाइएन । तसर्थ प्राकृतिक न्याय सिद्धान्त विपरीत भएको फैसला विचारणिय हुँदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ वमोजिम विपक्षी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।
८. यसमा घरले चर्चेको जग्गामा पुनरावेदकको हक रहेको भन्ने श्री सर्वोच्च अदालतको मिति २०५१।६।३ को फैसलाले निर्दिष्ट गरे वमोजिम तथ्य स्थापित भएपछि सो जग्गाको कित्ताकाट गरी नामसारी गर्दा निजलाई सूचना नदिई गरेको गुठी संस्थान काठमाडौं गुठी तहसिल कार्यालयको मिति २०५२।७।५ र २०५२।७।१९ को निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरीत भई सो नमिलेको हुँदा वदर गरी दिएको छ । अव पुनरावेदकलाई समेत सूचना दिई पुनः निर्णयको लागि प्रस्तुत मिसिल गुठी संस्थान गुठी तहसिल कार्यालय काठमाडौंमा पठाई दिने ठहर्छ भन्ने समेतको मिति २०५५।१।४ को पुनरावेदन अदालत पाटनको फैसला ।
९. गुठीले वावुको जग्गा छोराको नाममा नामसारी गर्ने निर्णय गर्ने निर्णय गरे उपर पुनरावेदन अदालतलाई पुनरावेदन सुन्ने अधिकार छैन । गुठी संस्थान ऐन, २०३३ को दफा ३९ अनुसार गुठी संस्थानका प्रशासकले रैकरमा दर्ता भएको गुठी सम्पत्तिलाई पुनः रैकरमा दर्ता गरी रैकरको लगत कटृा गर्ने गरी भएको निर्णय उपर मात्र ऐ. ऐनको दफा ३९(२) अनुसार पुनरावेदन अदालतमा पुनरावेदन लाग्ने हो । सो वाहेक गुठी संस्थानवाट भएको कुनै पनि निर्णयमा पुनरावेदन अदालतमा पुनरावेदन लाग्ने व्यवस्था छैन तसर्थ पुनरावेदन अदालतको फैसला वदर गरी गुठी संस्थानको निर्णय यथावत कायम राखी पाउँ भन्ने समेत व्यहोराको पुनरावदेक प्रतिवादी सानु महर्जनले यस अदालतमा गरेको पुनरावेदन ।
१०. यसमा सम्वत २०४७ सालको दे.नि.नं. १४८ को पुनरावेदन वादी नारायण भक्त देशेमरु विपक्षी प्रतिवादी सम्सेरवहादुर देशेमरु समेत भएको छुट गुठी जग्गामा यस अदालतवाट मिति २०५५।३।१०।४ मा भएको निर्णयमा प्रतिवादित सिद्धान्त समेतको आधारमा गुठी संस्थानले मोही नामसारी गर्ने गरेको निर्णय उपर पुनरावेदन अदालतमा पुनरावेदन लाग्ने व्यवस्था गुठी संस्थान ऐन, २०३३ ले गरेको नदेखिएको हुँदा पुनरावेदन अदालत पाटनले प्रस्तुत मुद्दामा निवेदक सानु महर्जनले वावु पुनविर महर्जनको नाउँवाट निवेदक सानु महर्जनको नाममा नामसारी गरे उपरको पुनरावेदन सुनी गरेको निर्णय उक्त गुठी संस्थान ऐन, २०३३ को दफा ३९ को प्रतिकूल हुँदा अ.वं. २०२ नं. वमोजिम विपक्षीलाई झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०५८।६।१७ को आदेश ।
११. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दासंग सम्वन्धित सम्पूर्ण मिसिल कागजथात अध्ययन गरी पुनरावेदक प्रतिवादी तर्फवाट विद्वान अधिवक्ता श्री हिरा रेग्मीले प्रस्तुत विषयमा गुठी संस्थान ऐन, २०३३ को दफा ३९ अनुसार पुनरावेदन अदालतमा पुनरावेदन लाग्ने अवस्था नै नहुँदा पुनरावेदन सुनी इन्साफ गरेको मिलेन भन्ने समेतको र प्रत्यर्थी तर्फवाट विद्वान अधिवक्ता श्री धनबहादुर वस्नेतले प्रत्यर्थीको घरले चर्चेको आफ्नो हक भोगको जग्गालाई उनाउ व्यक्तिले आफ्नो वनाउन सक्ने हुदैन मोही तेरो मेरोमा गुठीलाई निर्णय गर्ने अधिकार छैन भनी गर्नु भएको वहस समेत सुनियो । प्रस्तुत मुद्दामा पुनरावेदन अदालतले गरेको फैसला मिलेको छ छैन भन्ने कुराको इन्साफ गुर्नपर्ने देखिन आयो ।
१२. इन्साफ तर्फ विचार गर्दा विवादित साविक कि.न. १२ को जग्गाको फिल्ड वुक उतारमा पुनविर महर्जन मोही भनी लेखिएतापनि गुठियारको मन्जुरी लिई सो जग्गामा मिति २०२८।१२।२२ मा घर तयार गरी वसी आएको तथा वास्तविक जोताहा मोही समेत आफू भएको हुँदा मोहियानी हक कायम गरी पाउँ भन्ने सूर्य भक्ति श्रेष्ठको निवेदन भएकोमा आफ्नो वावु पुनविर जग्गाको जोताहा महलमा मोही भएको देखिएपछि आफ्नो नाममा मोही नामसारी हुनुपर्ने भन्ने सानु महर्जनको समेत निवेदन परी शुरु गुठी तहसिल कार्यालयले घरले चर्चेको जग्गा वाहेक अरु जग्गा सानु महर्जनको नाममा नामसारी समेतको लागि संलग्न फायल मालपोत कार्यालय पठाउने गरी टिप्पणी सदर गरे उपर घरले चर्चेको जग्गा छुट्याउँदा र अन्य वाँकी जग्गामा मोहियानी नामसारी गर्ने नगर्ने विषयमा निर्णय गर्दा आफूलाई सुनुवाईको मौका नदिएको भनी पुनरावेदिका वादी सूर्यभक्ति श्रेष्ठले पुनरावेदन अदालतमा पुनरावेदन गरेको देखिन्छ । पुनरावेदन अदालतले पुनरावेदिका सूर्यभक्तिको पुनरावेदन ग्रहण गरी यसै विषयमा सर्वोच्च अदालतको मिति २०५१।६।३ को फैसला अनुसार निज सूर्यभक्तिले वनाएको घरले चर्चेको जग्गामा निजको हक स्थापित भइसकेको देखिँदा सो जग्गाको कित्ताकाट गरी नामसारी गर्दा गुठी तहसिलले यी प्रत्यर्थी सूर्य भक्तिलाई प्राकृतिक न्यायको सिद्धान्त समेत विपरीत सूचना नदिई गरेको निर्णय नमिलेको हुँदा पुनः निर्णयार्थ मिसिल शुरु गुठी तहसिल कार्यालय काठमाडौंमा पठाई दिने गरी गरेको निर्णयमा चित्त नवुझाई गुठी संस्थान ऐन, २०३३ को दफा ३९ को अवस्था वाहेक अन्य अवस्थामा गुठीको निर्णय उपर पुनरावेदन अदालतमा पुनरावेदन नै लाग्न नसक्नेमा पुनरावेदन अदालतले पुनरावेदन ग्रहण गरी इन्साफ गरेको मिलेन भनी यी पुनरावेदक प्रतिवादीले प्रस्तुत पुनरावेदन गरेको पाइएको हुँदा पुनरावेदन अदालतमा यी प्र्रत्यर्थीको पुनरावेदन लाग्न सक्ने हो होइन ? भन्ने कुराको समेत विचार गर्नुपर्ने देखिन आइ सो परिप्रेक्ष्यमा समेत पुनरावेदन अदालतको फैसला मिलेको छ छैन निर्णय गर्नुपर्ने हुन आएको छ ।
१३. प्रस्तुत मुद्दाका पक्षहरुले शुरुमा उठाएको विवाद हेर्दा मोही तेरो मेरोको प्रश्न मुख्य रुपले विवादको रुपमा रहेकोमा यस अदालतको मिति २०५१।६।३ को फैसला समेतवाट विवादित साविक कि.नं. १२ को जग्गामा प्रस्तुत मुद्दाका वादी सूर्यभक्तिले वनाएको घरले चर्चेको जग्गा वाहेक वाँकी जग्गाको मोही नामसारी गर्ने नगर्ने सम्वन्धमा कानून वमोजिम निर्णय गर्न गुठी संस्थानमा लेखी पठाउने निर्णय भए पश्चात गुठी संस्थानले सो घरले चर्चेको जग्गा वाहेक अन्य जग्गाको मोहियानी पुनविर महर्जनका हकदार प्रतिवादी सानु महर्जनको नाममा नामसारी गर्ने गरी गरेको मिति २०५२।७।५ को निर्णयमा चित्त नवुझाई यी वादी सूर्यभक्तिले पुनरावेदन अदालतमा पुनरावेदन गरेको पाइन्छ । यी वादीले घरले चर्चेको जग्गाको मात्र कित्ताकाट भयो घरसंग सम्वन्धित चर्पि सेफ्टीटैंकी तथा पानी धारो समेतलाई छुट्याएर कित्ताकाट गर्न मिल्ने हैन मलाई नवुझी प्राकृतिक न्याय सिद्धान्त विपरीत निर्णय गरियो भन्ने समेत जिकिर लिएको पाइन्छ । उल्लेख भए वमोजिम यी वादीले वनाएको घरले चर्चेको जग्गा वाहेक अरु जग्गाको मोही नामसारी हुने नहुने तर्फ कानून वमोजिम निर्णय गर्न गुठीमा पठाउने यस अदालतको मिति २०५१।६।३ को फैसला कायम रहेको अवस्थामा गुठीले मोही नामसारी तर्फ निर्णय गरेको कुराका सम्वन्धमा प्रस्तुत मुद्दामा विचार गरिने स्थिति भएन ।
१४. अव गुठी तहिसल कार्यालयले मोही नामसारी समेत गरे उपर पुनरावेदन अदालतमा पुनरावेदन लाग्न सक्ने हो, होइन ? भन्ने तर्फ विचार गर्दा गुठी संस्थान ऐन, २०३३ को दफा ३९(१) र (२) को कानूनी व्यवस्था हेर्न पर्ने देखियो । उल्लेखित दफा ३९(१) मा गुठी तैनाथी जग्गा गुठी अधिनस्त जग्गामा गुठी अधिनस्थ जग्गा गुठी रैतान नम्वरी जग्गामा वा गुठीको घर वा जग्गा रैकरमा दर्ता भएको प्रमाणित हुन आएमा प्रशासकले वा प्रशासकको काम गर्ने प्रशासकीय प्रमुखले त्यस्तो गुठीको घर वा जग्गा साविकको गुठी तैनाथी जग्गा गुठी अधिनस्थ जग्गा वा गुठी रैतान नम्वरीमा नै दर्ता गर्न सक्नेछ । त्यसरी दर्ता भइसकेपछि सो घर वा जग्गाको पहिले दर्ता भएको लगत कटृा हुने व्यवस्था उल्लेख गरी ऐ. दफा ३९(२) ले उपदफा (१) वमोजिम प्रशासकले वा प्रशासकको काम गर्ने प्रशासकीय प्रमुखले गरेको निर्णयमा चित्त नवुझ्ने व्यक्तिले सो निर्णय उपर ३५ दिन भित्र पुनरावेदन अदालतमा पुनरावेदन दिन सक्नेछ भन्ने कानूनी व्यवस्था रहेको देखिएको हुँदा गुठी संस्थान ऐन, २०३३ को दफा ३९ को अधिकारक्षेत्र भित्र रही सो भित्रको विषयमा निर्णय गरेको खण्डमा मात्र पुनरावेदन अदालतमा पुनरावेदन लाग्ने कुरा ऐ. को उपदफा २ ले प्रष्टरुपमा तोकेको हुँदा प्रस्तुत मोही नामसारी र कित्ताकाटको विषय उक्त दफा ३९ को विषयवस्तु भित्र पर्ने देखिएन । अव न्याय प्रशासन ऐन, २०४८ को दफा ८ अनुसार पुनरावेदन लाग्ने हो कि त भन्नलाई पनि गुठी तहसिल कार्यालयको सो निर्णय उपर पनुरावेदन अदालतमा पुनरावेदन लाग्न सक्ने अवस्था देखिदैन भनी यस अदालतको संयुक्त इजलासवाट मिति २०५९।१।१३ मा फैसला भएको सम्वत २०५४ सालको दे.पु.नं. ४२८७ पुनरावेदिका नानिमैया महर्जन विरुद्ध सुवोध गौतम भएको निर्णय वदर मुद्दामा समेत सिद्धान्त प्रतिपादन भएको देखिएको परिप्रेक्ष्यमा पुनरावेदन अदातलले प्रस्तुत मुद्दामा पुनरावेदकिय क्षेत्राधिकार ग्रहण गरेको मिलेको देखिएन । मुलुकी ऐन अदालती वन्दोवस्तको ३५ नं. ले पनि आफूले हेर्न हुने मुद्दा वाहेक अरु मुद्दा हेरे छिनेको भए वदर हुने देखिन्छ । तसर्थ उल्लेखित कानून र प्रतिपादित सिद्धान्त समेतका आधारमा आफू कहाँ पुनरावेदन नै नलाग्ने विषयमा वादी सूर्यभक्तिको पुनरावेदन ग्रहण गरी गुठी संस्थान काठमाडौं गुठी तहसिल कार्यालयको निर्णय वदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०५५।१।४ को फैसला मिलेको नदेखिंदा वदर हुन्छ । दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.मीनबहादुर रायमाझी
इति सम्वत २०६० साल असार २६ गते रोज ५ शुभम् .. ।