शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५९० - उत्प्रेषण

भाग: २४ साल: २०३९ महिना: पौस अंक:

निर्णय नं. १५९०     ने.का.प. २०३९ अङ्क ९

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३८ सालको रि.नं. १६३७

आदेश भएको मिति : २०३९।७।२५।५ मा

निवेदक      : जि मोरङ्ग विराटनगर नगर पञ्चायत वार्ड नं.१४ बस्ने धर्मराज विष्ट

विरुद्ध

विपक्षी : जि.का.भूमिसुधार मोरङ्ग, वि.न.पं.,विराटनगर, जि.मोरङ्ग कदमा गा.पं. वार्ड नं.२ बस्ने       शेख महमहीद मियाँसमेत

विषय : उत्प्रेषण

(१)                जग्गा दर्ता तिरोको लगत कसिएको छ छैन, सम्बन्धित कार्यालय नबुझी फिल्डबुकमा लेखिएको आधारमा जग्गाको क्षेत्रफल र किसिमलाई कायम मानी कूत बाली बुझाएको भनी गरेको निर्णय त्रुटिपूर्ण देखिने ।

(प्रकरण नं. ११)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वराज पाण्डे

विपक्षी तर्फबाट      : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल

आदेश

न्या.त्रिलोकप्रताप राणा

१.     नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यस प्रकार रहेछ :

२.    जिल्ला मोरङ्ग प्रगन्ना बरियाती मौजेदार बैरियाको साविक नापि बमोजिम रैति नं.३३१ को अब्वल दरको पोत रु.३३४।१८ लागेको ज.वि.६१११ जग्गा हाल नापी हुँदा जि.मोरङ्ग कदमाहा गा.पं.वार्ड नं.२ (ख) मा परेको उक्त जग्गा मध्ये ३० जग्गाको ०३३ सालको कूत नबुझाएकोले कूत दिलाई भराई मोहीबाट निष्कासन गरी पाउँ भनी विपक्षी कार्यालयमा निवदन दिँदा उक्त जग्गा हाल नापीमा ज.वि.२१७१७ हुन आएको र जग्गाको किसिम अब्बल नभई दोयम हुनाले सो अनुसार हुन आउने कूत धान ३३।५।१० मध्ये धान मन २४ को प्रचलित बजार भाउ रु.५६। प्रति मनले हुन आउने रु.१२६०।कदमाहा गा.पं.. मा धरौटी राखेको भन्ने महमद्दिन मियाँको प्रतिउत्तर परेकोमा भू.सु.शाखाबाट उक्त प्रतिउत्तरलाई आधार मानी नापीको फिल्डबुक हेरी ज.वि.२११७१७ र किसिम दोयम भएकोले निवेदन खारेज हुने भनी विपक्षी कार्यालयबाट भएको निर्णय जग्गा नापजाँच ऐन, २०१९ को दफा ८ (३) र दफा १० (३) को विपरीत भएको छ । किनभने उक्त ऐनले तोकेको म्यादभित्र हक पुग्ने व्यक्तिले दिएको निवेदन खारेज गर्न नहुनेमा खारेज गरिएको छ । जग्गाको क्षेत्रफल वा किसिम सम्बन्धी कुनै प्रकारका उजुरी सुन्ने वा निर्णय गर्न नपाउने ने.का.प.०२२ निर्णय नं. २२१ मा तोकिएको अधिकारीले मात्र ऐनको अधिकार प्रयोग गर्न सक्ने गरी भएको प्रतिपदित सिद्धान्तको समेत विपरीत भएको विपक्षी भू.सु.का.को निर्णय वदरभागी छ । त्यस्तो त्रुटिपूर्ण निर्णयबाट मेरो संवैधानिक तथा कानूनी हक हनन् भएकोले उत्प्रेषणको आदेशद्वारा विपक्षी कार्यालयको ०३५।१।५।३ को निर्णय बदर गरी हनन् भएको हक संरक्षण गरी पाउँ भन्ने रिट निवेदन भएकोमा सबूत प्रमाणको मूल्यांकन गरी अधिकारक्षेत्र भित्र रही भू.प्र.का.बाट निर्णय भएको देखिएकोले रिट निवेदन खारेज हुने ठर्हछ भनी लिखितजवाफ नै नमगाई मिति ०३५।२।१२।५ मा यस अदालतबाट निर्णय भएपछि प्रस्तुत मुद्दा सम्वत् ०३४ सालको रि.नं.१०६५ निवेदक घरनीकुमार चौधरी विरुद्ध जि.का. भू.प्र.शाखा, सुनसरी समेतसँग रुलिंग बाझिएकोले फुलबेञ्चमा पेश गर्ने आदेश पाउँ भन्ने रिट निवेदकको पुनः निवेदन परी आदेश निमित्त सम्माननीय प्र.न्या.को सिंगलबेञ्चमा पेश हुँदा प्रस्तुत मुद्दा उक्त रि.नं.१०६५ को निवेदन घरनीकुमार चौधरी विरुद्ध जि.का.भू.प्र.शाखा सुनसरी समेतसँग रुलिंग बाझिएको देखिएन भन्ने मिति ०३६।५।२५।२ मा आदेश भए पश्चात जटिल कानूनी प्रश्नको महत्व विचार गरी मुद्दा स्पेशलबेञ्चमा पेश गर्ने आदेश पाउँ भनी रिट निवेदकले दिई स.प्र.न्या.को सिंगलबेञ्चमा पेश हुँदा प्रस्तुत मुद्दामा जटिल कानूनी प्रश्न उठेको हुँदा स.अ.नियमावली, २०२९ को नियम ३४(ख) बमोजिम स्पेशलबेञ्चमा पेश गरी दिनु भन्ने मिति ०३७।९।४।४ को आदेशानुसार स्पेशलबेञ्चमा पेश हुँदा प्रस्तुत मुद्दामा विपक्षीहरुबाट लिखितजवाफ लिई निर्णय दिनु पर्ने हुँदा निवेदकलाई झिकाई तारेखमा राखी विपक्षीहरुबाट लिखितजवाफ लिई निर्णय दिनु पर्ने हुँदा निवेदकलाई झिकाई तारेखमा राखी विपक्षीहरुबाट लिखितजवाफ मगाई डिभिजनबेञ्चमा पेश गर्नु भन्ने समेत स्पेशलबेञ्चबाट मिति ०३८।१।१९।६ मा भएको आदेश अनुसार प्राप्त लिखितजवाफहरुको जिकिर संक्षेपमा यस प्रकार रहेछ :

३.    जग्गाधनीले उजूरीमा दावी लिएको ज.वि.३० र किसिम अब्बल भन्ने देखिए तापनि श्रेस्ता प्रमाण त्यस अनुसारको पेश गर्न नसकेको र हाल कि.नं.नखुलेको २०२५ सालमा सर्भे भै सकेपछि साविक कि.नं.र २ नं. १२० को ज.वि.२१५१७ १/२ किसिम दोयम भएकोमा मोही शेष महमद्दीन मिया कायम भएको र ०३३ सालको बाली सम्बन्धमा मोहीको प्रतिउत्तर जिरह अनुसार कदमाहा गा.पं.का. बुझ्दा नियम बमोजिम म्याद भित्रै धरौटी राखेको व्यहोरा लेखी आएकोले बाली नबुझाएको भन्न नमिल्ने हुँदा यस्तो अवस्थामा भू.सु.ऐन अनुसार मोही निष्कासन गर्ने प्रश्न आएन । तसर्थ, यस्तो निर्णयबाट विपक्षीको हक हनन् नभएकोले रिट निवेदन खारेज गरी पाउँ भन्ने विपक्षी कार्यालयको लिखितजवाफ रहेछ ।

४.    म मोहीले जोतेको जग्गाको किसिम दोयम भएको र क्षेत्रफल २१७१७ भएको स्वीकार गरेको र सो क्षेत्रफल र किसिमको विपरीत आफूलाई फाइदा हुने र म मोहीलाई नोक्सानी हुने गरी माग गरेकोे निवेदन गैरकानूनी हुँदा त्यस्तो निवेदन खारेज गरी पाउँ भन्ने समेत विपक्षी शेख महमद्दीन मियाँको लिखितजवाफ रहेछ ।

५.    कदमाहा गा.पं.को नाउँमा रीतपूर्वक म्याद तामेल भएको तर लिखितजवाफ पेश नभएको ।

६.    तारेखमा रहेका निवेदकका वा.ओमकारमानलाई रोहवरमा राखी निवेदक तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री विश्वराज पाण्डे र विपक्षी कार्यालयका तर्फबाट खटी उपस्थित हुनु भएको विद्वान सरकारी अधिवक्ता श्री भैरबप्रसाद लम्सालको बहस समेत सुनियो । निवेदन माग बमोजिम आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो को निर्णय दिनुु परेको छ ।

७.    यसमा मिति ०३८।१।१९ को स्पेशलबेञ्चको आदेशबाट प्रस्तुत निवेदन डिभिजनबेञ्चमा आएको र उक्त स्पेशलबेञ्चको आदेश कायमै रहेको यस बेञ्चले अन्यथा गर्न मिलेन ।

८.    ३ विगाहा ५ कठ्ठा अब्बल जग्गाको ०३३ सालका कूत धान विपक्षी मोही शेष महमद्दिन मियाँले नदिएकाले सो दिलाई मोही निष्कासन गरी पाउँ भन्ने निवेदकले जि.का.भू.सु.शाखा मोरङ्गमा निवेदन परेकोमा फिल्डबुक उत्तार मगाई हेर्दा जग्गा विगाहा २१५१७ १/२ दोयम देखिएको र सो जग्गाको हुने बाली कूत पञ्चायतमा धरौट राखेकोले बाली नबुझाएको भन्ने मिति ०३५।१।५ को जि.का.भू.सु.शाखा मोरङ्गको निर्णयबाट देखिन्छ ।

९.    निवेदकले ०३३ सालमा जग्गाधनी प्रमणपूर्जा पाएको वा उक्त क्षेत्रमा ज.ध.प्रमाणपूर्जा समेत ०३३ सालमा वितरण भएको लिखितजवाफबाट देखिन्न ।

१०.    नापी हुँदा फिल्डबुकमा लेखिए अनुसार जग्गा दर्ता भई मोठ लगत कायम भएको भन्ने पनि मिसिलबाट देखिन्न ।

११.    जग्गा नापजाँच ऐन, २०१९ को दफा ७ मा कुनै जग्गा नापजाँच हुँदा कसैले बढी जग्गा खाएको देखिन आएमा सो जग्गा नापजाँच भई मालमा दाखिल भएको सालदेखि सो बढी जति जग्गाको तिरो लिने गरी सो जग्गा खाई आएको व्यक्तिको नाउँमा दर्ता हुनेछभन्ने लेखिएको पाइन्छ । सो बमोजिम जग्गा दर्ता तिरोको लगत कसिएको छ, छैन सम्बन्धित कार्यालय बुझेको देखिन्न । उक्त कुरा नबुझी फिल्डबुकमा लेखिएको आधारमा जग्गाको क्षेत्रफल र किसिमलाई कायम मानी कूत बाली बुझाएको भनी गरेको जि.का.भू.सु.शाखा मोरङ्गको ०३५।१।५ को निर्णय त्रुटिपूर्ण देखिँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठर्हछ । अब कानून बमोजिम रीत पुर्‍याई पुनः निर्णय गर्नु भनी जि.का.भू.सु.शाखा मोरङ्गका नाममा परमादेशको आदेश जारी गरिएकोछ । जानकारी निमित्त आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०३९ साल कार्तिक २५ गते रोज ५ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु