निर्णय नं. ७२९८ - निर्णय वदर समेत

निर्णय नं.७२९८ ने.का.प.२०६० अङ्क ११.१२
संयुक्त इजलास
का.मु.सम्माननीय प्रधानन्यायाधीश श्री हरिप्रसाद शर्मा
माननीय न्यायाधीश श्री रामनगीना सिंह
सम्बत् २०५७ सालको दे.पु.नं ...६२२१
फैसला मितिः २०६०।११।८।६
मुद्दा :– निर्णय वदर समेत ।
पुनरावेदक
वादी : भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ७ गोलमढी बस्ने न्हुच्छे भक्त सायजु
विरुद्ध
प्रत्यर्थी
प्रतिवादीः गुठी संस्थान केन्द्रिय कार्यालय काठमाडौं समेत
§ प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनवाट फैसला हुंदा यी पुनरावेदक स्वयं अदालतमा उपस्थित रही अदालतवाट भएको फैसला अनुसार शुरु भक्तपुर जिल्ला अदालतमा हाजिर हुन गएको अवस्था रहेको देखिएकोले निजलाई पुनरावेदन अदालत पाटनवाट पुनरावेदनको म्याद दिइएको कार्यलाई कानूनसम्मत मान्न नमिल्ने ।
§ पुनरावेदक स्वयंले पुनरावेदन अदालत पाटनवाट भएको फैसला लिखित रुपमा स्वीकार गरी सो फैसला अनुसार शुरु भक्तपुर जिल्ला अदालतमा तारेखमा रही पूर्पक्ष गरिरहेको अभिलेखवाट देखिइरहेको हुंदा पुनरावेदन अदालतवाट भएको फैसला सोही मितिबाट नै यी पुनरावेदकलाई जानकारी भएको मान्नु पर्ने ।
§ यी पुनरावेदकले पुनरावेदन अदालत पाटनवाट फैसला भएको लामो समय पछि मिति २०५५।१२।२६ मा पुनरावेदनको म्याद पाउं भनी पुनरावेदन अदालत पाटनमा निवेदन गरी उक्त अदालतवाट यी पुनरावेदकलाई पुनरावेदनको म्याद दिनु भनी भएको आदेश अनुसार मिति २०५६।८।२१।३ मा पुनरावेदनको म्याद पाएको भनी मिति २०५६।९।१९ मा यस अदालतमा दर्ता गर्न ल्याएको पुनरावेदन पत्र कानून वमोजिमको म्याद भित्र दर्ता हुन आएको मान्न नमिल्ने ।
(प्र.नं. १३ र १४)
पुनरावेदक वादीतर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री तिर्थराज वसौला
प्रत्यर्थी प्रतिवादीतर्फवाटः
अवलम्वित नजिरः
फैसला
का.मु.प्र.न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालत पाटनवाट मिति २०५५।३।२५ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) अनुसार यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा तथा ठहर निम्नानुसार छ :–
२. हिटीचोक सदावर्त गुठी लगतमा दर्ता भएको सर्भे नापी हुंदा भक्तपुर न.पा.वडा नं. २ (क) कि.नं. ४२ को १–२–० ऐ.ऐ.कि.नं. ४५ को ०–१–१ ऐ.ऐ.वडा नं. २(घ) कि.नं. १०९ को २–६–२ समेतका जग्गाको दर्तावाला मोही रत्नवीर कर्माचार्य समेत र जोत मोही कि.नं. १०९ मा पिता न्हुच्छेवहादुर सायजु र अन्य कित्ताहरुमा म फिरादी न्हुच्छे भक्त सायजु कायम भएकोमा पिता २०४८ सालमा परलोक हुनु भएपछि निजको हक खाने एकमात्र छोरा म भएकोले उक्त कि.नं. १०९ को जग्गा समेत मेरो हक हुन आई मैले नै जोत भोग गरी आएको जग्गाहो । बिपक्षी चन्द्रवीर कर्माचार्य समेतले गुठी तहसील तथा.खर्च कार्यालयमा उक्त जग्गाहरु ३ खण्डको २ खण्ड दर्ता फोडी पाउं भनी २०३४।५।२४ मा गुठी संस्थान ऐन, २०३३ को दफा २६(३) वमोजिम निवेदन गरेकोले मैले ३ खण्डको २ खण्ड जग्गा छुट्याउन मेरो मन्जुर छैन भनी वयान गरेको थिए । बिपक्षले २०३८।१२।१० देखि तारेख गुजारी बसेकोमा पाँच बर्ष पछि पुनः जग्गा छुट्याउने सम्बन्धमा मेरो नाउंमा म्याद तामेल भएकोले जग्गा छुट्याई दिन मन्जुर छैन । बिपक्षले तारेख गुजारी वसेकोमा हाल कारवाही गर्न मिल्दैन । बिपक्षीलाई क्षतिपूर्ती वुझाई जोतपोत मेरा नाउंमा दर्ता गरी पाउं भनी लिखित जवाफ दिएको थिएं । मिति २०५०।३।२९ मा गुठी संस्थान ऐन, २०३३ को प्रथम संशोधन द्वारा संशोधित दफा २६(२) बमोजिम मालपोतको दशगुणा क्षतिपूर्ति रु. २२७।९५ दाखेल गर्न जांदा निवेदन समेत दर्ता नगर्नुको साथै दरपिठ समेत नगरी क्षतिपूर्तिको रकम नबुझेकोले क्षतिपूर्तिको रकम वुझी दर्तावालाको लगत कट्टा गर्नु भन्ने परमादेश जारी गरी पाउं भनी पुनरावेदन अदालत पाटनमा रिट निवेदन गरेकोमा ०५०।९।७ मा मुलतवीमा रहेको छ । पुनरावेदन अदालतमा रिट निवेदन परेकोले प्रस्तुत मुद्दा मुलतवीमा राखी पाउं भनी निवेदन दिएकोमा समेत वास्ता नगरी कित्ताकाट गरी कित्ताकाट समेत भईसकेको भनि लिखित जवाफ दिइयो । गुठी संस्थान केन्द्रिय कार्यालयवाट भक्तपुर गुठी तहसिल तथा खर्च कार्यालयवाट मिति २०५०।४।२१ मा भएको निर्णयको नक्क्ल सारी हेर्दा उल्लेखित जग्गा छुट्याउने वारे दर्तावाला र जोताहाका वीच कारवाही भएकोमा दुबै पक्ष मिल्न मन्जुर नगरेकोले गुठी संस्थानको ०४७।४।१८ को आदेशानुसार कित्ताकाटका लागि मालपोत कार्यालयमा लेखि पठाई दुवै पक्षको तारेख टुटाई दिने गरी गैरकानूनी निर्णय गरेको थाहा भएकोले फिराद गर्न आएको छु । बिपक्षीले मिति २०३८।१२।१० मा तारेख छोडेपछि डिसमिस फैसला गर्नुपर्नेमा नगरी ५ बर्ष पछि मुद्दाको कारवाही गरी गुठी संस्थानले अनधिकृत आदेश जारी गरी बिपक्षी कार्यालयले मेरो पुनरावेदन अदालतमा परमादेशको रिट पर्दापर्दै मिति २०५०।४।२१ मा माथि उल्लेखित भक्तपुर नगरपालिका वडा नं. २(घ) कि.नं. १०९ को क्षे.फ.२–६–२ मध्ये ३ खण्डको २ खण्ड पश्चिमतर्फ दर्तावालालाई र वांकी १ खण्ड पूर्वतर्फवाट जोताहा म फिरादीलाई छुट्याई कित्ताकाट गर्न मालपोत कार्यालय भक्तपुरलाई लेखी पठाई तारेख टुटाई गरिएको गैरकानूनी निर्णयको आधारमा कित्ताकाट गरी सिध्दीवीर र चन्द्रवीरका नाउंमा भएको दर्ता समेत वदर गरी पाउं भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. वादीले कानून वमोजिम दर्तावालाहरुले कि.नं.४२,४५ र १०९ समेतमा ३ खण्डको २ खण्ड छुट्याई भएको निर्णय कित्ताकाट दर्ता समेतको कारवाही समेत दर्ता वदरमा कि.नं. ४२ र ४५ दुई कित्ता उपर मात्र फिराद परेकोमा हालको छुटेको कि.नं.१०९ समेतका सोही एउटै बिषयमा एकै पटक लाग्ने फिरादमा अघिको रुप विचार गरी पुनः अर्को नालेस गरेकोले खारेज गरि पाउं भन्ने समेत व्यहोराको सिद्धीवीर कर्माचार्य समेतको प्रतिउत्तर पत्र ।
४. हिटीचोक सदावर्त गुठीको भ.पु.न.पा. वडा नं. २(क) कि.नं. ४२ को १–२–० ऐ.ऐ. कि.नं. ४५ को ०–१–१ जग्गा शहरी क्षेत्र भित्रको हुंदा गुठी संस्थान ऐन, २०३३ को दफा २६(३) अनुसार १ खण्ड जोताहा र २ खण्ड हामी दर्तावालाको नाउंमा दर्ता गरी पाउं भन्ने रत्नवीर कर्माचार्य र चन्द्रविर कर्माचार्यको निवेदन परेको र हिटीचोक सदावर्त गुठीको भक्तपुर नगरपालीका.वडा नं. २(ग) कि.नं. ४० को ०–१५–० जग्गा मध्ये १ खण्ड जोताहा र २ खण्ड दर्तावालाका नाउँमा दर्ता गरी पाउं भनी निजैहरुको अर्को निवेदन परेकोमा उक्त दुवै निवेदन सम्बन्धमा कारवाही भई दुवै पक्षलाई मिलाउन कोशिस गर्दा मिल्न मन्जुर नगरेकोले कानूनले निर्दिष्ट गरे वमोजिम एक खण्ड जोताहालाई र दुई खण्ड दर्तावालालाई छुट्याई दर्ता गरी दिने निर्णय कानून वमोजिम भएको हुँदा वदर हुनुपर्ने होइन भन्ने समेत व्यहोराको गुठी संस्थान केन्दिय कार्यालय र गुठी तहसिल तथा खर्च कार्यालय भक्तपुरको संयुक्त प्रतिउत्तर पत्र ।
५. वादी दावीको जग्गाको ३ खण्डको २ खण्ड दर्ता फोडी प्रतिवादीको नाउंमा दर्ता गर्ने गरी गुठी तहसिल तथा खर्च कार्यालय भक्तपुरले गरेको २०५०।४।२१ को निर्णय दर्ता वदर गरी वादी दावी वमोजिम हक कायम गरी दर्ता हुने ठहर्छ भन्ने समेत व्यहोराको भक्तपुर जिल्ला अदालतको मिति २०५२।९।१३।५ को फैसला ।
६. चालु ऐनद्वारा प्रदत्त हक सुविधा छुट्याई पाउन निवेदन दिई सोही वमोजिम भोग चलन समेत गरिआएकोमा पछि संशोधनवाट कटौती गरे पनि पूर्व ऐनले पाएको, भोगेको सुविधामा असर नपर्ने कानून व्याख्या सम्बन्धी ऐनको समेत गलत र त्रुटीपूर्ण व्याख्या गरि गुठी तहसिल तथा खर्च कार्यालय भक्तपुरको ०५०।४।२१ को निर्णय अनुसार मालपोत कार्यालयवाट भएका दर्ता सम्बन्धी काम वदर गरेको शुरु फैसला पूर्णतयाः उल्टाई इन्साफ पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
७. यसै लगाउको दे.पु.नंं ५९६ को मुद्दामा आजै बिपक्षी झिकाउने आदेश भएकोले यसमा पनि बिपक्षी झिकाई आएपछि वा सो अवधि नाघेपछि पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५४।२।३१।६ को आदेश ।
८. भक्तपुर जिल्ला अदालतवाट भएको फैसला द्विविधापूर्ण र विवादास्पद भई फैसलाले निदान गर्न खोजेको के हो ? सो स्पष्ट नभएको र सोही अदालतवाट यसै लगाउका दे.पु.नं. ११००, र ११०१ मुद्दा समेतमा ०५२।९।१३ मा फैसला हुँदा सोही तथ्यमा ०३८।१२।१० पछि तारेखमा नबसेको अवधिलाई तारिख गुजारेको भन्ने अर्थ गरी डिसमिस हुनुपर्ने भन्ने व्यहोरा उल्लेख गर्दै भएको फैसलामा समेत सो कानूनी प्रश्नमा फरक फरक दृष्टिकोण उल्लेख गरी भएको फैसला नमिलेको हुँदा सो फैसला वदर गरि दिएको छ । अब सो सम्बन्धमा एकै इजलासवाट दावी र जिकिरको कुरामा सिमित रही केहि वुझ्नु पर्ने भए वुझी पुनः फैसला गर्नु भनी प्रस्तुत मिसिल निर्णयको लागि शुरु भक्तपुर जिल्ला अदालतमा पठाई दिने समेत ठहर्छ भन्ने समेत व्यहोराको पुनरावदेन अदालत पाटनको मिति २०५५।३।२५ को फैसला ।
९. शुरु जिल्ला अदालतवाट कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४(ग) मा भएको कानूनी व्यवस्थाको व्याख्या गरी गुठी तहसिल तथा खर्च कार्यालय भक्तपुरको मिति २०५०।४।१२ को निर्णय बदर गरेको भन्ने स्पष्ट रुपमा उल्लेख गरेकोमा उक्त फैसलालाई द्विविधापूर्ण र विवादास्पद भनी गरेको पुनरावेदन अदालत पाटनको फैसला त्रुटीपूर्ण भएकोले उक्त फैसला उल्टी गरी भक्तपुर जिल्ला अदालतवाट भएको फैसला सदर गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदक वादीको यस अदालतमा परेको पुनरावेदनपत्र ।
१०. नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीकातर्फवाट विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा अधिवक्ता श्री तीर्थराज वसौलाले प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनले शुरु फैसला बदर गरी पुनः निर्णय गर्नु भनी दुवै पक्षलाई शुरु अदालतमा हाजिर हुन जानु भनी तारेख तोकी मिसिल समेत पठाई दिने ठहर गरेको छ । फैसला हुंदाको दिन नै सो फैसलाको प्रतिलिपि प्राप्त गर्न नसकिने हुंदा पुनरावेदनको म्याद पाएको वा फैसलाको नक्कल सारेको मितिवाट मात्र पुनरावेदनको म्याद शुरु हुने हुंदा प्रस्तुत पुनरावेदन म्याद नाघी दायर भएको मान्न मिल्दैन । फैसला हुंदाका दिन शुरु अदालतमा हाजिर हुन जानु भनी तारेख तोकिएकोले सो अनुसार शुरु अदालतमा हाजिर हुन जांदैमा फैसलाको यथार्थः आधार जानकारी पाएको मान्न नमिल्ने भएकोले समेत प्रस्तुत पुनरावेदनलाई म्याद नाघी दायर भएको मान्न मिल्दैन । यसैले मुद्दाको औचित्य भित्र प्रवेश गरी न्याय निरोपण हुनुपर्दछ भनी गर्नु भएको बहस समेत सुनियो ।
११. विद्वान कानून व्यवसायीहरुको वहस जिकिर समेत सुनी निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनवाट मिति २०५५।३।२५ मा भएको फैसला उपर यस अदालतमा मिति २०५६।९।१९ मा पर्न आएको प्रस्तुत पुनरावेदन पुनरावेदन अदालत पाटनवाट फैसला हुंदा पुनरावेदक उपस्थित भई शुरु भक्तपुर जिल्ला अदालतमा हाजिर हुन जानु भनी तारेख तोकी पाएकोले अ.बं. १९७ नं. वमोजिमको म्याद नाघी पर्न आएको भनी दरपीठ भएको र सो दरपीठ आदेश बदर गरी पाउँ भनी अ.बं. १७ नं. बमोजिम परेको निवेदनमा यस अदालत एक न्यायाधीशको इजलासवाट मिति २०५७।३।३० मा भएको आदेशमा पुनरावेदन अदालत पाटनवाट भक्तपुर जिल्ला अदालतमा हाजिर हुन जान तारेख तोकी पाएपछि सो मिति देखि नै पुनरावेदनको म्याद कायम हुने हो वा पुनरावेदनको म्याद दिएको ठीक वेठीक के हो ? भन्ने सम्बन्धमा प्रस्तुत मुद्दा इजलास समक्ष पेश हुंदा इजलासवाटै विचार हुने भनी पुनरावेदन दर्ता गर्न आदेश भए अनुसार प्रस्तुत पुनरावेदन दर्ता भएको देखिएकोले सर्वप्रथम यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन कानूनको म्याद भित्र दर्ता भए नभएको भन्ने सम्बन्धमा प्रारम्भिक रुपमा निरोपण गरिनु पर्ने देखिन आयो ।
१२. यस सम्बन्धमा विचार गर्दा पुनरावेदन अदालत पाटनबाट प्रस्तुत मुद्दामा शुरु भक्तपुर जिल्ला अदालतवाट भएको फैसला बदर गरी वुझ्नुपर्ने केही भए वुझी पुनः फैसला गर्नु भनी मिसिल पठाई दुवै पक्ष झगडियालाई शुरु जिल्ला अदालतमा हाजिर हुन जानु भनी तारेख तोकी पठाई दिने ठहर गरी मिति २०५५।३।२५ मा निर्णय भएको देखिन्छ । सो फैसला भएपछि सोही दिन उक्त अदालतवाट यी पुनरावेदकलाई मिति २०५५।६।२ मा भक्तपुर जिल्ला अदालतमा हाजिर हुन जानु भनी तारेख तोकिएको र त्यस अनुसार निज पुनरावेदकले पुनरावेदन अदालत पाटनबाट शुरु फैसला बदर हुने गरी फैसला भई उल्लेखित मितिको तारेख तोकी पाएकोले पुनरावेदन अदालतवाट मिसिल प्राप्त नभएसम्म धरौटी तारेखमा रहन पाउँ भनी मिति २०५५।६।२ मा भक्तपुर जिल्ला अदालतमा निवेदन गरी तारेखमा रहंदै आएको शुरु मिसिल संलग्न सम्बन्धित निवेदन तथा तारेख पर्चावाट देखिन आउंछ ।
१३. मुलुकी ऐन अदालती वन्दोवस्तको महलको १९३ नं. मा भएको कानूनी व्यवस्था अध्ययन गर्दा अड्डावाट मुद्दा फैसला गरेपछि हाजिर रहेको झगडियालाई सो फैसला वांची सुनाई पुनरावेदन लाग्ने वा नलाग्ने व्यहोरा र पुनरावेदन लाग्ने भए पुनरावेदन सुन्ने अड्डाको नाम समेत वताई दिनुपर्ने र झगडीया हाजिर नरहेको अवस्थामा मात्र झगडियाको नाममा पुनरावेदनको म्याद दिइनुपर्ने कानूनी व्यवस्था भएको पाइन्छ । त्यस्तै सोही महलको १९७ नं. मा मुद्दा फैसला गर्ने अड्डावाट पुनरावेदनको म्याद दिनुपर्नेमा सो म्याद नै नदिएको अवस्थामा मात्र झगडियाले फैसलाको नक्कल लिएको मितिवाट समेत पुनरावेदनको म्याद कायम गर्न सकिने कानूनी व्यवस्था भएको पाइन्छ । उपरोक्त दुवै कानूनी व्यवस्था मुद्दा फैसला हुंदा झगडीया हाजिर नरहेको अवस्थामा मात्र आकर्षित हुने अवस्थाको देखिएको र प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनवाट फैसला हुंदा यी पुनरावेदक स्वयं अदालतमा उपस्थित रही अदालतवाट भएको फैसला अनुसार शुरु भक्तपुर जिल्ला अदालतमा हाजिर हुन गएको अवस्था रहेको देखिएकोले निजलाई पुनरावेदन अदालत पाटनवाट पुनरावेदनको म्याद दिइएको कार्यलाई कानूनसम्मत मान्न मिल्ने देखिन आएन ।
१४. पुनरावेदक स्वयंले पुनरावेदन अदालत पाटनवाट भएको फैसला लिखित रुपमा स्वीकार गरी सो फैसला अनुसार शुरु भक्तपुर जिल्ला अदालतमा तारेखमा रही पूर्पक्ष गरिरहेको अभिलेखवाट देखिइरहेको हुंदा पुनरावेदन अदालतवाट भएको फैसला सोही मितिबाट नै यी पुनरावेदकलाई जानकारी भएको मान्नु पर्ने हुन्छ । यसका अतिरिक्त पुनरावेदन अदालत पाटनवाट मिति २०५५।३।२५ मा शुरुको निर्णय वदर गरी पुनः फैसला गर्नु भनी भक्तपुर जिल्ला अदालतमा मिसिल पठाउने गरी मिति २०५५।३।२५ मा निर्णय भई मिति २०५५।६।२ को तारेख समेत तोकी पाएकोमा फैसलाको जानकारी भएको मितिवाट कानूनका म्याद भित्र अ.बं. १९७ नं. अनुसार फैसलाको नक्कल सारी पुनरावेदन गर्नेतर्फ निवेदकले क्रियाशिलता नदेखाई पुनरावेदन अदालतवाट भएको फैसला स्वीकारै गरी रहेको स्थिति समेत देखिन आउंछ । यसैले मिलेन । यसर्थःपुनरावेदन गर्ने कानून वमोजिमको म्याद नाघी दायर हुन आएको प्रस्तुत पुनरावेदन हदम्यादको अभावमा खारेज हुने ठहर्छ । पुनरावेदन पत्र नै खारेज हुने ठहरेकोले मुद्दाको औचित्यभित्र प्रवेश गरी निर्णय गरिरहन परेन । मिसिल नियमानुसार वुझाई दिनु ।
उपर्युक्त रायमा सहमत छु ।
न्या.रामनगिना सिंह
इति सम्बत् २०६० साल फागुन ८ गते रोज ६ शुभम्