निर्णय नं. १५९२ - उत्प्रेषणको आदेश जारी गरि पाऊँ ।

निर्णय नं. १५९२ ने.का.प. २०३९ अङ्क १०
फुलबेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेसरी बास्तोला
सम्वत् २०३९ सालको रि.फु.नं. ६०
आदेश भएको मिति : २०३९।१०।२१।६ मा
निवेदक : जि.महोत्तरी मनराकट्टी गा.पं.वार्ड नं.६ बस्ने अरुणकुमार सिंहराजपुत
विरुद्ध
विपक्षी : श्री महाप्रबन्धकज्यू, साझा प्रकाशन, (साझा संस्था लिमिटेड) केन्द्रिय कार्यालय ललितपुर समेत
विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ
(१) एक महिनाको तलब दिने गरी निवेदकलाई सेवाबाट अवकास दिने गरेको निर्णयमा कुनै त्रुटि नदेखिने ।
(प्रकरण नं. १५)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया
उल्लिखित मुद्दा :
आदेश
न्या.बासुदेव शर्मा
१. सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ (ख) अनुसार यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्नानुसार छ :
२. म साझा प्रकाशनको सहायक द्वितीय पदमा भैरहवा उपशाखाको निमित्त ०३३।६।२२ का दिन नियुक्त भई ०३६।४।१ देखि सहायक प्रथम श्रेणीमा बढुवा समेत गरी विराटनगर क्षेत्रीय शाखामा सरुवा गरियो । विराटनगर क्षेत्रीय शाखाका प्रमुखले मलाई समय कुसमयमा आफ्नो निजी काममा नियमित तबरले घरेलु नोकर सरह काम लिन खोज्नु भएकाले मैले इन्कार गरेपछि मसँग चिढिई चाहिँदो नचाहिँदो रिपोर्टहरु पठाउन थाल्नु भयो । शाखा प्रमुखले लाए अ¥हाएको कार्यालय सम्बन्धी काममा अटेर गर्ने, संस्थालाई आवश्यक परेको बेलामा पनि बढी समय नदिने, कार्यालयको समयमा निषेधित अम्मल सेवन गर्ने, आफ्नो कार्यप्रति जिम्मेवारी बहन नगर्ने, आदी कार्यहरु तपाईबाट भई संस्थाका विभिन्न तहबाट बारम्बार सम्झाउँदा पनि उपरोक्त किसिमका अनुत्तरदायित्व पूर्ण कार्यहरु गर्न नछोडेको भनी आरोप लगाउँदै नियमावलीको परिच्छेद ८ को दफा ७ को उपदफा १।२।३ को आचरण नगर्नु भएकाले स्पष्टीकरण दिनुहोला भनी पत्र दिइयो । मैले रजिष्ट्री पत्रद्वारा स्पष्टीकरण पठाएँ, मेरो स्पष्टीकरणप्रति कुनै वास्ता नराखी कुनै कारण नदेखाई नियमावलीको परिच्छेद १७ को दफा ८ अनुसार मिति ०३७।८।२९ देखि एक महिनाको तलब दिई साझा प्रकाशनको सेवाबाट अवकास दिइयो । सोउपर केन्द्रियकार्यालय समक्ष अपील गर्दा अपिल नलाग्ने भनी जानकारी दिइयो ।
३. पर्याप्त कारणहरु भन्नाले अभिलेखबाट प्रमाणित र त्यस्तो कामदारलाई संस्थाले समय समयमा दिएको चेतावनी सजाय तथा नसिहत समेत माथि आधारित हुनु पर्दछ । मलाई अवकाश दिनु पर्ने कुनै कारणहरु अवकास पत्रमा उल्लेख नभएकोले नियमावलीको परिच्छेद १७ को दफा ८ को प्रतिकूल छ । आचरण सम्बन्धी कुनै कुराको उल्लंघन गरेको कुरा प्रमाणित हुन आयो भने ऐ.परिच्छेद ७ को दफा १ अन्तर्गत सजाय गरिने हो न कि त्यसको आधारमा सेवाबाट अवकास दिने हो । मलाई मिति ०३७।७।१८ र ०३८।८।६ को पत्रहरुद्वारा सोधिएका स्पष्टीकरणमा सजायको प्रस्ताव नभएको हुनाले मैले सो सन्दर्भमा आफ्नो सफाई पेश नगर्दै मलाई आचरण सम्बन्धी कुरा उठाई अवकास दिईएकोले प्राकृतिक न्यायको सिद्धान्त विपरीत छ । महाप्रवन्धकज्यूको अवकास सम्बन्धी पत्र तथा केन्द्रिय कार्यालयको पुनरावेदन नलाग्ने निर्णयलाई बदर गरी मेरो सेवामा बहाल गर्नु भनी प्रतिरक्षीहरुको नाउँमा परमादेश समेत जारी गरी पाउँ भन्ने समेत रिट निवेदन जिकिर ।
४. विपक्षबाट लिखितजवाफ मगाउनु भन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्चको ०३८।८।२९।२ को आदेश ।
५. अवकाश दिने अधिकारी (महाप्रवन्धक) लाई निवेदकको सेवा अनावश्यक छ भन्ने अनुभव भई सोही दफा ८ बमोजिमको रीत पुर्याई अवकास दिने निर्णय समेत गरिएको छ । प्रशासकीय काम कारवाहीको सिलसिलामा प्रशासकीय तवरले स्पष्टीकरण सम्म मागिएको हो । निवदकले त्यसलाई अवकास सम्बन्धी निर्णयसँग जोड्ने प्रयत्न गर्नु भएको विलकुल गलत तथा निराधार छ। नियमावलीको परिच्छेद १७ को दफा ८ अनुसार सेवाबाट अवकास दिने निर्णय गर्दा सजायको प्रस्ताव गर्नु पर्ने कानूनी व्यवस्था नभई एक महिनाको अग्रीम सूचना दिई अथवा एक महिनाको अग्रिम बेतन दिई निर्णय गर्न पाउने कानूनी व्यवस्था भए अनुरुप निवदेकलाई एक महिनाको अग्रिम वेतन दिई सेवाबाट अवकास दिइएकोले प्राकृतिक न्याय सिद्धान्त विपरीत भयो भन्ने समेतको निवेदन जिकिर गैरकानूनी तथा गलत समेत भएकोले रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत साझा प्रकाशन केन्द्रिय कार्यालय पुल्चोकका महाप्रबन्धकको लिखितजवाफ ।
६. त्यस्तो अवकास सम्बन्धी निर्णय माथि पुनरावेदन लाग्ने उक्त नियमावलीमा कानूनी व्यवस्था नभएकोले निवेदकले दिएको निवेदनमा विचार गरिएको छैन । रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत साझा केन्द्रिय सञ्चालक समिति र साझा केन्द्रिय कार्यालय, पुल्चोकका सदस्य सचिव समेतको लिखितजवाफ ।
७. प्रस्तुत विषयमा निवेदकलाई दिएको अवकास पत्रमा निजलाई कुनै आरोप लगाएर नोकरीबाट अवकास गरेको भन्ने देखिँदैन । उपरोक्त उल्लिखित साझा कामदार प्रकाशन नियमावली, २०३३ को परिच्छेद १७ को नियम ८ मा संस्थालाई कुनै स्थायी कामदारको सेवा अनावश्यक भएको पर्याप्त कारणहरु अनुभव हुन आएमा एक महिनाको अग्रिम वेतन दिई नियुक्त गर्ने अधिकारीले अवकास दिन सक्ने व्यवस्था गरे अनुसार निवेदकको सेवा यस संस्थालाई अनावश्यक भएको भन्दै नियुक्त गर्ने अधिकार प्राप्त अधिकारी, महाप्रवन्धक साझा प्रकाशन केन्द्रिय कार्यालयले निवेदकलाई ०३७।८।२९ देखि एक महिनाको अग्रिम बेतन दिई साझा प्रकाशनको सेवाबाट अवकाश दिइएकोमा कुनै कानूनको त्रुटि गरेको देखिन नआई कानून अनुरुप निर्णय गरेको देखिन आएकोले रिट निवेदन खारेज हुने ठर्हछ भन्ने समेत माननीय न्यायधीश श्री धनेन्द्रबहादुर सिंहको राय ।
८. निवेदकसँग साझा कामदार प्रशासन नियमावली अनुसार माग गरिएको स्पष्टीकरण र तत्सम्बन्धी कारवाही र निवेदकलाई उक्त नियमावलीको परिच्छेद १७ को नियम ८ अनुसार नोकरीबाट हटाउने विषय एकै नभई बेग्ला बेग्लै प्रकृया तथा कुरा हुन् । उक्त नियमावलीको परिच्छेद १७ को नियम ८ को व्यवस्था विभागीय कारवाही र सजायसँग सम्बन्ध राख्दैन । एउटालाई अर्कोसँग गाँस्ने स्थिति उक्त नियमावलीमा देखा पर्दैन । उक्त नियमावली अनुसार सजाय सम्बन्धलाई लिएर कारवाही उठेको व्यक्तिले गरे विराएको देखिएमा सोही नियमावली अनुसार जे जस्तो सजाय हुनु पर्ने हो त्यस्तै सजाय गरिने हो । तर, उक्त नियमावली अनुसार सजाय गर्नको लागि स्पष्टीकरण लिई कारवाही उठेको व्यक्तिलाई उक्त नियमावली अनुसार सजाय नगरी परिच्छेद १७ को नियम ८ अनुसार अवकास दिँदा शुध्द मनको प्रयोग भएको भन्ने स्थिति हुँदैन । यस्तो अवस्थामा अवकास दिँदा सजाय स्वरुप अवकास दिएको हुन जाने हुँदा साझा केन्द्रिय कार्यालयको मिति ०३७।८।२२ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दिने ठर्हछ र निजलाई निजको पदमा पुनःस्थापनाको लागि साझा प्रकाशन केन्द्रिय कार्यालयको नाममा परमादेश समेत दिने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय भई ०३८।१२।२९ मा फैसला भएको रहेछ ।
९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी यस बेञ्च समक्ष ०३९।९।१०।३ मा पेश भई आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा निवेदक तर्फका विद्वान अधिवक्ता श्री कमलनारायण दासले मेरो पक्षलाई ०३७।७।१८।२ मा र ०३७।८।६ मा साझा कामदार प्रशासन नियमावली, २०३३ को परिच्छेद ८ को नियम ७ को उपनियम १,२,३ अनुकुल आचरण नगरेको भनी स्पष्टीकरण माग गरी मेरो पक्षले जवाफ पेश गरी सकेको अवस्थामा सो सम्बन्धी कारबाइको टुङ्गो नलाग्दै एकाएक उपर्युक्त नियमावलीको परिच्छेद १७ को नियम ८ बमोजिम अवकास दिने गरेको निर्णय उत्प्रेषणका आदेशद्वारा बदर गरी पाउँ भन्ने समेत बहस गर्नु भयो । विपक्षी साझा केन्द्रीय कार्यालय तर्फबाट उपस्थिति विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडियाले निवेदकसँग मागिएको स्पष्टीकरणहरु कारवाहीका निमित्त मागिएका नभई प्रशासकीय कार्यको सिलसिलामा मागिएका पत्राचार सम्म भएको कुरा रिट निवेदक स्वयंले रिट निवेदनको प्रकरण ७ (ग) मा स्वीकार गरेको छ । साझा कामदार प्रशासन नियमावलीको परिच्छेद १७ को नियम ८ बमोजिम रिट निवेदकलाई अवकास दिने गरेको निर्णय कानून अनुरुप हुँदा रिट खारेज गरी पाउँ भन्ने समेत बहस गर्नु भयो ।
१०. विद्वान अधिवक्ताहरुको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा रिट निवेदकलाई मिति ०३७।८।२९ देखि अवकास दिने गरेको विपक्षी कार्यालयको निर्णय कानून अनुरुप छ छैन भन्ने कुरामा निर्णय दिनु परेको छ ।
११. यसमा निर्णयतर्फ विचार गर्दा साझा कामदार प्रशासन नियमावली, ०३३ को परिच्छेद ८ को नियम ७ को उपनियम १,२,३ अनुसार आचरण नगरेको भन्दै ०३७।७।१८ र ०३८।८।६ मा स्पष्टीकरण मागिएकोमा मैले रजिष्ट्री पत्रद्वारा स्पष्टीकरण पठाएको अवस्थामा नियमावलीको परिच्छेद ८ को नियम ७ को उपनियम १,२,३ को अपराध गरेको भन्ने अभियोग लगाई ऐ.परिच्छेद १७ को नियम ८ अन्तर्गत अवकास दिएको हुनाले नियमावलीको परिच्छेद ८ को नियम ७ को उपनियम १,२,३ र परिच्छेद १७ को नियम ८ को त्रुटिपूर्ण प्रयोग हुन गएको छ भन्ने जिकिर रिट निवेदनमा देखियो ।
१२. साझा कामदार प्रशासन नियमावली, २०३३ को परिच्छेद १७ को नियम ८ मा “कुनै पदको दरवन्दी खारेज भए अथवा संस्थालाई कुनै स्थायी कामदारको सेवा अनावश्यक भएको पर्याप्त कारणहरु अनुभव हुन आएमा एक महिनाको अग्रिम सूचना दिई अथवा एक महिनाको अग्रिम बेतन दिई नियुक्ती गर्ने अधिकारीले अवकास दिन सक्ने छन्” भन्ने व्यवस्था देखिन्छ । उपर्युक्त नियमावलीको नियम ८ बमोजिम मिति ०३७।८।२९ देखि एक महिनाको तलब दिई साझा प्रकाशनको सेवाबाट अवकास दिएको कुरा रिट निवेदक स्वयमले स्वीकार गरेका छन् ।
१३. निवेदकलाई दिएको अवकास पत्रमा कुनै आरोप नलगाई माथि उल्लेख गरिए बमोजिम माग गरिएको स्पष्टीकरणको आधारमा सजाय गरेको नभई सो नियमावलीको परिच्छेद १७ को नियम ८ मा संस्थालाई निजको सेवा अनावश्यक भएको कुरा उल्लेख गर्दै एक महिनाको अग्रिम वेतन दिई नियुक्त गर्ने अधिकार प्राप्त अधिकारी, महाप्रबन्धक साझा प्रकाशन केन्द्रिय कार्यालयले निवेदकलाई ०३७।८।२९ मा अवकास दिएको देखिन्छ ।
१४. साझा कामदार प्रशासन नियमावलीको परिच्छेद ८ को नियम ७ को उपनियम १, २, ३ को उल्लंघन भएको आरोप लगाउँदै निवेदकलाई स्पष्टीकरण मागिएकोले सजाय स्वरुप परिच्छेद १७ को नियम ८ प्रयोग गरिएको हो कि भन्नालाई विपक्षी साझा प्रकाशन केन्द्रीय कार्यालय पुल्चोकको लिखितजवाफमा निवेदकलाई प्रकासकीय काम कारवाईको सिलसिलामा प्रशासकीय तवरले स्पष्टीकरण सम्म मागिएको भन्ने कुरा उल्लेख भएको र रिट निवेदकले पनि सोही कुरालाई समर्थन हुने किसिमसँग रिट निवेदनको प्रकरण ७ (ग) मा सोधिएका स्पष्टीकरणहरुमा नियमावलीको परिच्छेद ८ को नियम ७ को उपनियम १, २, ३ का आचरण सम्बन्धी कुराहरुको किन उल्लंघन गर्नु भएको हो ? भनी सोधनी सम्म भएको, सजायको प्रस्ताव नभएको भन्ने कुरा स्वीकार गरेको देखिएकोले नियमावलीको परिच्छेद ८ को नियम ७ को उपनियम १, २, ३ को उल्लंघन गरेवापत सजाय स्वरुप परिच्छेद १७ को नियम ८ को प्रयोग नगरेको कुरा स्पष्ट हुन आउँछ ।
१५. अतः उपर्युक्त कारणहरुबाट अधिकार प्राप्त अधिकारीले ०३७।८।२९ बाट एक महिनाको तलब दिने गरी निवदकलाई सेवाबाट अवकास दिने गरेको निर्णयमा कुनै त्रुटि नदेखिँदा रिट निवेदन खारेज गर्ने गरेको डिभिजनबेञ्चका माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय मनासिव ठर्हछ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
हामीहरुको सहमति छ ।
न्या.सुरेन्द्रप्रसाद सिंह
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०३९ साल माघ २१ गते रोज ६ शुभम् ।